पोखरा:   गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाउनुभएको छ ।   पोखरा १७ सीतापाइला स्थित पोखरा वृद्धाश्रममा शनिबार बिहान पुगेर प्रदे...

कञ्चनपुर :      कञ्चनपुरको पुनर्वास नगरपालिकामा आज बिहान चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । वर्षासँगै चट्याङ पर्दा पुनर्वास नगरपालिका–६ टाउन बजारका ४० वर्षीय देवेन्द्र श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक रमेशराज मल्लले जानकारी दिनुभयो ।     “चट्याङ पर्दा खेतमा मेड हालिरहेका श्रेष्ठको घटनास्थलमै मृत्यु भयो,” प्रहरी निरीक्षक मल्लले भन्नुभयो, “अहिले शवपरीक्षणका लागि सेती प्रादेशिक अस्पताल लगिरहेका छौँ ।” त्यसैगरी चट्याङ परेर पुनर्वास नगरपालिका–८ ‘क’ गाउँका २५ वर्षीया शारदा थापाको पनि घटनास्थलमै मृत्यु भएको छ ।     प्रहरी निरीक्षक मल्लका अनुसार थापाको खेतमा धान रोप्दै गर्दा खेतमा मेड हाल्ने क्रममा चट्याङ लागेर मृत्यु भएको हो । प्रहरीका अनुसार मृतक थापासँगै रहेका अर्का एक व्यक्तिसमेत सामान्य घाइते भएका छन् । “त्यहाँ पनि घटनास्थलमा प्रहरी पुगेर मुचुल्का उठाउने काम भइरहेको छ,” उहाँले भन्नुभयो, “घटनाबारे विस्तृतमा केहीबेरमा आउँछ ।”

म्याग्दी :        म्याग्दीको मङ्गला गाउँपालिका–२ नयाँबजारका बासिन्दाले निर्माण अलपत्र हुँदा हिलाम्मे भएको सडकमा धान रोपाइँ गरेका छन् । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्डमा पर्ने रणवाङदेखि दुखुखोलासम्मको सडक हिलाम्मे छ । नयाँबजारका बासिन्दा श्रीराम पौडेलले सडक अलपत्र बनाउने निर्माण व्यवसायीलाई दबाब र सरोकारवालाहरूको ध्यानाकर्षण गराउन सडकमा रोपाइँ गरिएको बताउनुभयो ।      “अधुरो र अधकल्चो सडकमा हिलाम्मे, पानीका पोखरी जमेर आवतजावतमा सास्तीका साथै दुर्घटनाको जोखिम बढेको छ,” उहाँले भन्नुभयो, “निर्माण र मर्मतका लागि कसैले वास्ता नगरेपछि बाध्य भएर सडकमै रोपाइँ गरिएको हो ।” रणवाङ, नयाँबजार र सहश्रधाराका २० जनाभन्दा बढीले सडकमा सामूहिक धान रोपेर विरोध जनाएका हुन् ।       पूर्वाधार विकास कार्यालय म्याग्दीसँग मङ्गला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको आठ किलोमिटर सडक कालोपत्र गर्न ठेक्का सम्झौता गरेको बिरुवा–क्याराभान जेभी तीन महिनादेखि सम्पर्कविहीन बनेका छन् ।     विसं २०७८ वैशाखदेखि मङ्सिरसम्म रोकिएको सडक निर्माणका लागि मुख्य ठेकेदारले हिमालयन बिल्डर्सलाई सहायक ठेकेदारका रुपमा गत पुसमा कार्यक्षेत्रमा परिचालन गरेका थिए । मूल ठेकेदारबाट भुक्तानी नपाउँदा सहायक ठेकेदार हिमालयनले गत वैशाखदेखि काम छाडेपछि सडक निर्माण अलपत्र बनेको हो ।       पूर्वाधार विकास कार्यालय म्याग्दीका निमित्त प्रमुख गुरुदत्त अधिकारीले फोन र पत्रमार्फत ताकेता गरिए पनि बिरुवा–क्याराभानका प्रतिनिधिले काम सञ्चालन नगरेको बताउनुभयो । “निर्माण व्यवसायीलाई फोन र पत्रमार्फत ताकेता गरेका  छौँ ,” उहाँले भन्नुभयो, “मन्त्रालयमा जानकारी गराएर बिरुवा–काराभानको जमानत जफतका लागि बैंकमा पत्राचार गरिएको छ ।”       २०७६ जेठ ३१ गते रु २२ करोड ५७ लाख ९३२ मा ठेक्का सम्झौता भएको आयोजना २०७८ जेठमा सकिनुपर्ने थियो । विसं २०७८ चैतसम्म थपिएको सम्झौताको म्याद सकिए पनि समय थपका लागिसमेत ठेकेदारले प्रक्रिया अघि बढाएका छैनन् । हालसम्म करिब ५५ प्रतिशत भौतिक प्रगति भएको छ ।       सहायक ठेकेदारले रणवाङ र रातोढुङ्गा क्षेत्रमा पर्खाल निर्माण तथा बलौटेमा म्याग्दी नदी नियन्त्रणका लागि किनारमा पर्खाल बनाएका थिए । सो खण्डमा पर्ने बाङ्गेपहिरो क्षेत्र पहिरोग्रस्त र जोखियुक्त छ । अधुरो, अधकल्चो, हिलाम्मे र धुलाम्मे सडकमा जोखिमपूर्ण यात्रा गर्नु परेको मङ्गला गाउँपालिका–२ का जीवन कार्कीले बताउनुभयो ।      सडकमा थुपारिएको माटो, ढुङ्गा र खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढाएको छ । लथालिङ्ग अवस्थामा रहेको सडकमा सवारी साधन सञ्चालन गर्न गाह्रो भएको यातायात व्यवसायी शक्ति छिनालले बताउनुभयो । बिरुवा–क्याराभानका प्रतिनिधि सोमनाथ गौचनले बर्खापछि सडक निर्माणलाई तीव्र गति दिने बताउनुभयो ।      बेनी–दरवाङ सडक पूर्वाधार विकास कार्यालयले तीनवटा प्याकेजमा स्तरोन्नति गरिरहेको छ । लामा–समानान्तर जेभीले ठेक्का लिएको बेनी–सिम खण्डको १२ किलोमिटर ५०० मिटर दूरीको बेनीदेखि सिम खण्ड कालोपत्रको अन्तिम चरणमा पुगेको छ । सिमदेखि लाम्पाटा खण्डको चार किलोमिटर सडक कालोपत्र गर्न पुस १८ गते ओमबुद्ध निर्माण सेवा वसुन्धराले रु १० करोड ७० लाख २१ हजारमा ठेक्का सम्झौता गरेको थियो । अठार महिनाको ठेक्का अवधि भएको ओमबुद्धले पहिलो चरणमा सडक विस्तारको काम थालेको छ ।       सडकलाई आठ मिटर फराकिलो बनाएर, सात मिटर चौडाइमा डिबिएसडी कालोपत्र, नाली र पर्खाल निर्माण गर्न लागिएको हो । विसं २०६३ मार्ग खुलेको २४ किलोमिटर दूरीको बेनी–दरवाङ म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने एकमात्र मार्ग हो । यो सडक बाग्लुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्छन् । 

  पाल्पा :      गएराती देखि परेको अबिरल बर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तरगत पाल्पा बुटवल सडक खण्डको सिद्धबाबा क्षेत्रमा सडक अबरुद्ध भएको छ । लेदोसहित ढुङ्गा खस्दा राजमार्ग अबरुद्ध भएको हो ।   निरन्तर बर्षा भएका कारण तत्काललाई सडक खुलाउन सक्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।   थापाका अनुसार दोभान प्रहरी चेक पोष्ट देखि चिडियाखोला सम्म आधा दर्जन स्थानमा ढुङ्गा र पहिरो खसेको छ ।

पोखरा :     पोखरा महानगरपालिका ३ पालिखेचोक स्थित निर्माणाधिन फल्चाको सवाललाई मध्यनजर गर्दै नागरिक समाज कास्कीले पोखरा महानगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।   जाति विशेष तथा धार्मिक सम्पदा निर्माण गर्दा उपयुक्त  स्थान छनौट गरि मापडण्ड अनुसार सम्पदाहरु निर्माण गर्नुपर्ने भन्दै आइतबार पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङलाई नागरिक समाज कास्कीका अध्यक्ष गोकुल बहादुुर कार्की नेतृत्वको टोलीले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।     बढ्दो सवारी चापलाई मध्यनजर गर्दै सडकको स्तरोन्नती गरिएको पाखिलेचोकमा फल्चा निर्माण भइरहेकोले उचित स्थान छनौट गर्नुपर्नै ध्यानाकर्षण पत्रमा उल्लेख छ ।  ‘पालिखेचोकमा सडक चौडा गर्ने  उद्देश्यले त्यहाँ रहेका केही पुराना घरहरुको मुआब्जा बुझाई हटाइएको स्थानमा यो वा त्यो बहानामा संरचना निर्माण गरिनु तत्कालिन समयमा त्यहाँ रहेका घरधनिहरुको अपमान हो भने नालामुख र ज्ञानमार्ग तर्फको बजार विस्तारमाथी अवरोध पुर्याउनुको साथै सडक चौडा गर्दाको भावना, मर्म र उद्देश्य विपरित कार्य हो भन्ने हाम्रो ठहर छ । पत्रमा लेखिएको छ,  त्यस्ता सम्पदा निर्माण गर्दा उपयुक्त स्थान छनोट गर्दा राम्रो हुने कुराप्रति महानगरपालिकाको ध्यानाकर्षण गराउन चाहान्छौं ।’    

काठमाण्डौँ :       सर्वोच्च अदालतले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ कैदीबन्दीको मतदाता नामावाली सङ्कलन तथा अध्यावधिक गर्न अन्तरिम आदेश गरेको छ ।      न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले शुक्रबार सरकारको नाममा उक्त अन्तरिम आदेश गरेको हो । आदेशमा भनिएको छ, “हाल मिति २०७९र३र१ देखि निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अध्यावधिक कार्य सञ्चालन अवस्थामा रहेको हुँदा हाललाई आगामी हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फको निर्वाचन प्रयोजनका लागि कैदीबन्दीको मतदाता नामावली सङ्कलन तथा अध्यावधिक गर्नु गराउनु ।”     विसं २०६४ र २०७० पहिलो र दोस्रो संविधानसभा सदस्य निर्वाचनमा सरकारी सरकारी कार्यालय, स्थानीय निकाय वा नेपाल सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थामा कार्यरत कर्मचारी, सैनिक वा प्रहरी ब्यारेकमा रहेका व्यक्ति वा तत्कालीन अवस्थामा अस्थायी शिविरमा रहेका माओवादी सेनाका लडाकु, कारागारमा रहेका कैदी वा थुनुवाको नाम अस्थायी मतदाता नामावलीमा समावेश गरिएको र मतदान अधिकार दिएको आदेशमा जानकारी गराइएको छ ।      नेपालको संविधानको प्रस्तावनामा बालिग मताधिकारप्रति प्रतिबद्ध रही राष्ट्रको निर्माण गर्ने तथा संविधानमा व्यवस्था गरिएको विचार र अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गरेको साथै कैद सजाय भइ कारागारमा बस्दैमा सबै मौलिक हकहरू स्वतः स्थगन वा निलम्बिन हुन्छ भन्ने नभएको आदेशमा छ ।

काठमाण्डौँ :    सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशभरका सामुदायिक विद्यालय र अस्पतालमा इन्टरनेट सेवा विस्तार गरिने बताउनुभएको छ ।    राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक माथिका जिज्ञासाको जवाफ दिँदै उहाँले आगामी आवदेखि सामुदायिक विद्यालय र अस्पतालमा इन्टरनेट सेवा विस्तारका लागि न्यूनतम ५० प्रतिशत अनुदान दिइने बताउनुभयो ।       उहाँका अनुसार गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्न टेलिमेडिसन सेवा विस्तार गरिने सरकारको योजना छ । सातै प्रदेशका सामुदायिक विद्यालयमा एकै प्रकारको शिक्षा दिइने लक्ष्यअनुसार आगामी आवमा कम्तीमा १०० विद्यालयमा दूरशिक्षा कार्यक्रम लागू गरिने मन्त्री कार्कीले बताउनुभयो ।      डिजिटल साक्षरतालाई अभियानका रूपमा अघि बढाइने जानकारी दिँदै उहाँले सूचनाको सुरक्षित प्रयोग गरी सबै नागरिकको दैनिक क्रियाकलापमा सघाउ पु¥याउन साइबर सुरक्षासम्बन्धी कार्यक्रम अघि बढाइएको बताउनुभयो । साइबर सुरक्षाका सम्बन्धमा जनचेतना बढाउने सामग्री तयार गरिएको र साइबर सुरक्षासम्बन्धी नीतिको मस्यौंदा तयार भइरहेको मन्त्री काकीले बताउनुभयो ।       उहाँले सूचना र प्रविधिको क्षेत्र विश्वमा नै महत्वपूर्ण क्षेत्र भएको र सरकारले देशभर सूचना प्रविधिको गुणस्तर वृद्धि गरी सबैमा पहुँच विस्तार गर्न दूरसञ्चार पूर्वाधार विस्तारलाई जोड दिएको बताउनुभयो । मन्त्री कार्कीका अनुसार देशका ७५३ स्थानीय तहमध्ये ७३५ स्थानीय तहमा ‘फोर जि’ विस्तार सेवा पुगेको छ । चालु आवमा मात्र एक हजार ५९४ किलोमिटर अप्टिकल फाइबर विस्तार भएको र ६४३ मोबाइल टावर निर्माण भएका उहाँले बताउनुभयो । मोबाइल सेवाको गुणस्तरमापन गर्ने क्रममा गरिएको अध्ययनको प्रारम्भिक प्रतिवेदन प्राप्त भएको जानकारी दिँदै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले भन्नुभयो, “यसमा दिइएका सुझावको कार्यान्वयन गरी मोबाइल सेवाको गुणस्तर कायम राख्ने निरन्तरता दिइनेछ ।”       सूचना र प्रविधिले मानवको हरेक क्षेत्रमा प्रभाव पारेको र विशेषगरी आर्थिक तथा शैक्षिक सामाजिक क्षेत्रमा इन्टरनेट सेवाको पहुँच र प्रयोग बढेसँगै सूचना प्रविधि मानव सभ्यताको बहुआयामिक विषयको एक अभिन्न अङ्ग बनेको मन्त्री कार्कीले बताउनुभयो । सरकारले सूचना प्रविधिको सुरक्षित प्रयोग गरी आर्थिक, सामाजिकलगायत क्षेत्रका क्रियाकलापलाई सूचना प्रविधिमैत्री बनाउने कार्यक्रम अघि बढाएको उहाँको भनाइ छ ।       डिजिटल नेपालको अवधारणा कार्यान्वयन गर्न डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनमा जोड दिइएको बताउँदै उहाँले भन्नुभयो, “यसमा तीव्रता दिन छुट्टै आयोजनाको विकास गरी कार्यान्वयनमा लगिएको छ । सरकारी सेवालाई क्रमशः सूचना प्रविधिमार्फत उपलब्ध गराउन सुरु गरिएको छ । कागजरहित सरकारको कार्यान्वयन गर्न केन्द्रीयस्तरको निकायमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू गरिएको छ ।”       दूरसञ्चार विस्तार गर्दा तानिएको अनावश्यक केबल र तारको व्यवस्थित उपयोग गर्न सुरु गरिने मन्त्री कार्कीले बताउनुभयो । आमसञ्चारको विकास र विस्तारमा जोड दिँदै आमसञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीलाई प्रशिक्षण दिन कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना र सञ्चालनको काम अघि बढाइएको उहाँले बताउनुभयो । मन्त्री कार्कीले सञ्चार मध्यमलाई सहज रुपमा लोकल्याणकारी विज्ञापन उपलब्ध गराइने जानकारी दिनुभयो ।       सञ्चार माधयलाई मर्यादित र व्यवस्थित बनाउन नियमनको व्यवस्था गरिएको मन्त्री कार्कीले बताउँदै उहाँले भन्नुभयो, “लामो समयदेखि रोकिएका पत्रिका विज्ञापन वर्गीकरण अन्तिम चरणमा पुगेको र अनलाइन माध्यमबाट पत्रकारलाई परिचयपत्र दिन थालिएको छ । प्रेस पास लिन काठमाडौँ आउनुपर्नै बाध्यता अन्त्य गरिएको र आगामी दिनमा घुम्ती सेवा सञ्चालन गरिनेछ ।”      देशभित्र र बाहिर कम लागतमा नेपाल टेलिभिजनको पहुँच विस्तार गर्न स्याटलाइट सेवा प्राप्त गर्ने प्रक्रिया अघि बढेको मन्त्री कार्कीले बताउनुभयो । उहाँका अनुसार हुलाक सेवालाई समयानुकूल बनाउन कार्यक्षेत्र विस्तार गर्न र पुनःसंरचना गर्न अध्ययन सुरु गरिएको छ । देशभित्रै सुरक्षण मुद्रा गर्न कानुनी र भौतिक पूर्वाधार तयार गर्न जोड दिइएको र आगामी वर्षबाट सुरक्षण छपाइ सुरु गरिने उहाँको भनाइ छ । 

काठमाण्डौँ :     सरकारले औपचारिक रुपमा यस वर्षको १९औँ राष्ट्रिय धान दिवस आगामी असार १५ गते बुधबार खुमलटारस्थित धानबाली अनुसन्धान केन्द्रमा औपचारिक रुपमा मनाइने भएको छ ।      “धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग” भन्ने मूल नाराका साथ खुमलटारको अलवा देशका विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै धान दिवस मनाउने कार्यक्रम रहेको कृषि तथा पशुपक्षी विभागले जनाएको छ ।   विभागद्वारा आज आयोजित पत्रकार सम्मेलनमा कृषि विभागका महानिर्देशक रेवतीरमण पौडेलले कृषि अनुसन्धान परिषद् (नार्क) को खेतमा रोपाइँ गरेर राष्ट्रिय धान दिवस औपचारिक सुरुआत गरिने जानकारी दिनुभयो । सरकारले प्रत्येक वर्ष असार १५ गते धान दिवस मनाउँदै आएको छ ।       धान दिवसलाई रोपाइँ दिवस पनि भनिन्छ । असार १५ गते नेपालमा दही चिउरा खाने चलनसमेत चलिआएको छ । चिउरा धान कुटेर तयार पारिने खाद्यान्न हो । नेपालीको प्रमुख खाद्यन्न बाली धानको गरिमा र महत्व अर्थतन्त्रसँग जोडिएको छ । धानको उत्पादन बढ्दा कूल गार्हस्थ्य उत्पादन ९जिडिपी० मा बढोत्तरी हुन्छ भने घट्दा जिडिपी घट्ने गरेको पाइन्छ ।        विश्व खाद्य सुरक्षाको दृष्टिकोणबाट धान महत्वपूर्ण अन्न बाली हो । विश्वका झन्डै चार अर्ब जनसङ्ख्याको आधारभूत खाद्यान्न चामल हो । धानको नेपालमा आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपमा महत्व छ । नेपालमा १३० जातका धानका बीउ सिफारिस भइसकेका छन् ।       नेपालमा कूल खेतीयोग्य जमिनमध्ये ४७ प्रतिशत जमिनमा रोपाइँ हुन्छ । जसमध्ये तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा माथि छ । नेपालमा कूल खेतीयोग्य जमिन करिब ३१ लाख हेक्टर रहेको छ

धनगढी :     डडेल्धुराको आलीताल गाउँपालिकाका कम्युटर अपरेटर लोकेन्द्र भण्डारीलाई कुटपिट गरेर कार लुट्ने समूहका तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।   उनीहरुलाई कैलालीको गोदावरी नगरपालिका–१ स्थित भित्री सडकमा पर्ने जंगल क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले  बताए ।   उनका अनुसार पक्राउ पर्नेमा भारतको हरियाणा सोनीपथ घर भएका १८ वर्षीय साहिल बादलिसे, २० वर्षीय सन्नी जोट र २१ वर्षीय भगत सिंह रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।   उनीहरुले भण्डारी सवार प्रदेश–३–०१०२३ च ८७२१ नम्बरको कार पनि नियन्त्रणमा लिएका थिए । उक्त कार गोदावरी नगरपालिका–१ स्थित शान्तिनगर जाने भित्री सडकखण्डमा वेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सोमबार बिहान कञ्चनपुरको महेन्द्रनगरबाट भण्डारीको सहयोग मागेर खानीडाँडा घुम्ने भन्दै आएका भारतीय नागरिकले भीमदत्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका–४ को सेल्फी डाँडा नजिकैबाट उनलाई कुटपिट गर्दै लुटेर भागेका थिए ।

काठमाण्डौँ :   उपत्यकाको खानेपानी प्रदूषित भएको कारणले हैजा देखिएको पाइएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा हैजा रोगबारे गरिएको छलफलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले खानेपानी प्रदूषित भएकाले हैजा देखिएको बताउनुभयो ।    महाशाखाले हैजा देखिएको ठाउँ बागबजार, डिल्लीबजार र सानेपामा रहेका पानी परीक्षण गरेको थियो । उहाँले धारापानी, जार, टु्यूवेल, बोरिङको पानी परीक्षण गर्दा प्रदूषित पाइएको बताउनुभयो । उहाँका अनुसार वागबजारको खानेपानी प्रदूषित रहेको छ । यस्तै सानेपामा  परीक्षणका क्रममा ६२ प्रतिशत प्रदूषित भेटिएको उहाँले जानकारी दिनुभयो । “पानी कसरी प्रदूषित भयो भनेर हामीले अध्ययन गरिरहेका छौँ”, उहाँले भन्नुभयो,“अध्ययनका लागि सबै ठाउँको पानीको नमूना सङ्कलन गरिरहेका छौँ ।”   यस्तै बूढानीलकण्ठ नगरपालिकाले गरेको पानीको परीक्षणमा ७२ प्रतिशत प्रदूषित र जारको पानी १५ प्रतिशत प्रदूषित भेटिएको छ । नगरपालिकाले जार, ढुङ्गेधारा, बोरिङको पानी परीक्षण गरेको थियो । यस्तै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले पनि विभिन्न ठाउँको १० वटा खानेपानीको नमूना परीक्षण गरिरहेको छ ।     महाशाखाका निर्देशक डा दासले बल्खु र कोटेश्वरको पानीको सातवटा नमूना लिई परीक्षण भइरहेको जानकारी दिनुभयो । उहाँले महाशाखा र काठमाडौँ उपत्यका खानेपानी कम्पनी लिमिटेडसँग मिलेर खानेपानीको परीक्षण भइरहेको बताउनुभयो । महाशाखाका निर्देशक डा दासले हैजाको सम्भावित रोकथाम र नियन्त्रणका लागि अस्पतालहरुलाई तयारी अवस्थामा राखिएको बताउनुभयो ।    १२ जनामा हैजा   स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। दीपेन्द्ररमण सिंहले अहिलेसम्म १२ जनामा हैजा पुष्टि भइसकेको जानकारी दिनुभयो । तीमध्ये ८ जनाको निको भएर घर फर्किसकेका छन र चार जना उपचाररत रहेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र वयोधा अस्पतालमा ती बिरामीको उपचार भइरहेको छ । सबैभन्दा पहिले असार ५ गते बागबजारका दुई जना युवतीमा हैजा पुष्टि भएको थियो ।