पोखरा : गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका–२५ हेम्जाका ३०० भन्दाबढी घर डुबानमा परेका छन् । वर्षापछि हेम्जाको सुइखेतस्थित चौरासी नहर फुटेर पानी बस्तीमा पस्दा सुन्दरीचोक र म्याग्दीचोकका घर डुबानमा परेको सोही वडाका वडाध्यक्ष मोतिराज तिमिल्सिनाले बताउनुभयो । यसैगरी पहिराले स्थानीय लक्ष्मी विक र रविना परियारको घर पूर्णरुपमा क्षति गरेको र थप १५ घर उच्च जोखिममा रहेको बताइन्छ । डुबान र पहिराका कारण ५०० हाराहारीमा मानिस विस्थापित भएको तिमिल्सिनाले बताउनुभयो । बस्तीमा बाढी पस्न थालेपछि राति नै स्थानीय सुरक्षित स्थानतर्फ लागेकाले मानवीय क्षति हुन पाएको थिएन । उहाँले भन्नुभयो, “भारी वर्षापछि नहर फुटेर बस्तीमा पस्दा र खहरे खोला उर्लिएर आउँदा घर डुबानमा परेका छन् । पहिराले दुई घर र कृषि र पशुपंक्षीतर्फ धेरै क्षति र्पुयाए पनि मानवीय क्षति भएको छैन ।”घर डुबानमा परेपछि स्थानीयलाई सुरक्षित स्थानमा लगिएको थियो । उनीहरु अहिले विद्यालय, मन्दिर तथा आफन्तकामा आश्रय लिएका छन् । जिल्ला प्रहरी कार्यालयका कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले क्षतिको विवरण सङ्कलन भइरहेकाले यकीन विवरण आउन बाँकी रहेको बताउनुभयो । यसैगरी अविरल वर्षाका कारण पोखरा–१६ अर्मलास्थित स्यालघारीमा रामबहादुर मगरको घर, पहिरामा बगेर पूर्ण क्षति भएको छ । अर्को एक घर पहिरामा झुन्डिएका अवस्थामा रहेको र सो क्षेत्रका ११ घर उच्च जोखिमका कारण अन्यत्र स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको सोही वडाका वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले जानकारी दिनुभयो । पहिराबाट विस्थापितका लागि आमासमूह र सहकारी भवनको प्रयोग गरिएको उहाँले जानकारी दिनुभयो ।
चितवन : नेपाल प्रहरी श्रीमती सङ्घ र चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी) बीच सम्झौता भएको छ । नेपाल प्रहरी, पूर्वप्रहरी र अमर प्रहरी परिवारका सदस्यहरुलाई अस्पतालमा २५ प्रतिशत छुटसम्बन्धी सम्झौता गरिएको हो । सम्झौतामा अस्पतालका तर्फबाट निर्देशक प्रा डा दयाराम लम्साल र सङ्घका तर्फबाट अध्यक्ष कुसुमलता सिंहले हस्ताक्षर गर्नुभएको छ । प्रहरी वरिष्ठ उपरीक्षक पोषराज पोखरेल, प्रहरी उपरीक्षक नवराज अधिकारी, अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटालगायतको उपस्थितिमा भएको सम्झौतामा उपचार सेवाहरुमा २५ प्रतिशत र औषधिमा सात प्रतिशत छुट दिने उल्लेख छ । सम्झौताअनुसार नेपाल प्रहरी र पूर्वप्रहरीसहित उनीहरुका परिवार र अमर प्रहरीका परिवारलाई सङ्घले उपलब्ध गराएको परिचयपत्रका आधारमा चितवन मेडिकल कलेजमा उपचार गराउँदा यो सुविधा उपलब्ध गराइने भएको छ । सम्झौताअनुसार सडक दुर्घटना, कस्मेटिक सर्जरी, दाँतको उपचारलगायत प्रहरी कार्यालयमा मुद्दा दर्ता गर्दा हुने उपचारमा भने यो सम्झौता लागू हुनेछैन । यसैगरी नेपाल सरकारको स्वास्थ्य बीमा उपयोग गर्नेहरुलाई पनि यो सम्झौता लागू नहुने अस्पतालका प्रमुख प्रशासक देवकोटाले बताउनुभयो । अस्पतालमा बहिरङ्ग (ओपिडी) र आकस्मिक (इमर्जेन्सी)को टिकट लिएपछि मात्रै यो सम्झौता लागू हुने उहाँले जानकारी दिनुभयो । सङ्घका अध्यक्ष सिंहले सङ्घले नेपालका कुनै पनि क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्दा अस्पतालले चिकित्सकसहितको प्राविधिक सहयोग गर्ने सम्झौता भएको बताउनुभयो । उहाँले यो सम्झौताले नेपाल प्रहरी, पूर्वप्रहरी र अमर प्रहरी परिवारलाई उपचारमा सहज हुने अपेक्षा गर्नुभयो । सङ्घले नेपालमै पहिलो पटक चितवन मेडिकल कलेजसँग यस्तो सम्झौता गरेको अध्यक्ष सिंहले बताउनुभयो । नेपालका जुनसुकै ठाउँमा रहेर पनि सङ्घले उपलब्ध गराएको परिचयपत्रसहित उपचारका लागि आएमा यो सुविधा उपयोग गर्न पाइने भएको छ । यो सम्झौता आउँदो साउन १ देखि २०८१ असार ३० गतेसम्म लागू हुने र पुनः नवीकरण गर्न सकिने जनाइएको छ । प्रमुख प्रशासक देवकोटाले नेपालको मध्यभागमा रहेर अत्याधुनिक उपकरणसहित अतिविशिष्ट सेवाहरुसमेत दिँदै आएको अस्पतालप्रति धेरैको विश्वास बढेको बताउनुभयो । आगामी दिनमा स्वास्थ्य सेवालाई अझै परिस्कृत र सरलीकृत गर्दै उत्कृष्ट सेवा दिँदै जाने प्रतिबद्धता उहाँले जनाउनुुभयो ।
पोखरा : प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल पृथ्वीनारायण क्याम्पस इकाई समितिले दुई दिवसीय जीवनोपयोगी सीपमा आधारित व्यक्तित्व विकास तथा नेतृत्व विकास प्रशिक्षण तालिम सञ्चालन गरेको छ । दुई दिन चल्ने यस तालिमको पहिलो दिन ४० जना बढि विद्यार्थीको सहभागिता रहेको थियो । पृथ्वीनारायण क्याम्पस परिसरमा प्राज्ञिक राष्ट्रिय सह संगठन सचिव रमेश कडेलले प्रशिक्षण दिए भने क्याम्पस इकाई सह संयोजक देवी शिर्पालीले सहजिकरण गरिन् । कार्यक्रमका बोल्दै प्रमुख अतिथि विद्यार्थी कल्याण शाखा प्रमुख बोधराज ढकालले नेतृत्व विकासको बारेमा प्रस्टाए । प्राज्ञिककै अर्की छात्रा क्याम्पस इकाई समितिका सचिव आशामाया मगरले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्यको बारेमा व्याख्या गरे । यसै गरि तालिम प्रशिक्षक कडेलले आत्मा जागरण, अनुभुति, प्रभावकारी सञ्चार र अन्तर्वैयक्तिक सम्बन्धको बारेमा चर्चा गर्दै विद्यार्थीहरुलाई खेलको माध्यमद्वारा मनोरञ्जन पनि गराए । कडेलले भने ‘तिमि आफुलाई जान्न खोज कि तिमि को हौ , तिमि किन छौँ ।’ जिवनमा तिमिले क्षमता, कमजोरी ,अवसर र चुनौतीलाई पहिचान गर्ने सामर्थ राख्नू पर्दछ । यो नै तिम्रो जिवनको सफलता हो । कार्यक्रमको सञ्चालन क्याम्पस छात्रा प्रमुख विप्लवि न्यौपानेले गरेका थिए ।
पोखरा : पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य वस्तुहरुको मुल्य वृद्धिको विरुद्व राष्ट्रिय युवा संघ कास्कीले प्रधानमन्त्रीको पुत्ला जलाएको छ । नेकपा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ कास्कीले मूल्य वृद्धिको विरु राके जुलुस सहित पोखरामा प्रधानमन्त्रीको पुत्ला जलाएर एकोहोरो शंङ्ख बजाउँदै विरोध गरेको हो । विरोधमा सभामा बोल्दै राष्ट्रिय युवा संघ गण्डकी प्रदेशका अध्यक्ष महेन्द्र गुुरुङले मूल्य वृद्धिको विरुद्ध युवा संघले देशभर आन्दोलन सुरु गरेको भन्दै भोलि देखि युवा संघ निरन्तर सडक आन्दोलनमा उत्रने बताए । देशमा मूल्य वृद्धि गरेर सरकारले स्थानिय निर्वाचनको खर्च उठाउन लागेका समेत आरोप लगाए । अध्यक्ष गुुरुङले भने, गण्डकी प्रदेशले ६/६ महिनामा गाडीको नविकरण गर्न लगाएर जनतालाई करको भार थपेको र २० वर्ष पुरानो गाडी विना क्षतिपुर्ति हटाउन लागेको भन्दै यसको विरोध गरे । उनले भने, भोलि देखि सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउछौँ, टोलटोलमा झण्डा हल्लाएर हिड्ने मन्त्रीहरुलाई टोलमा नै विरोध गर्ने र सरकारी गाडी चलाउने चालकहरुले युवा संघलाई हेरेर गाडी चलाउन सुझाव समेत दिदै भोलि देखि आन्दोलन निरन्तर गर्ने भन्दै गुुरुङले सुरक्षाकर्मीहरुले धान्न नसक्ने बताएका छन् ।
काठमाण्डौँ : ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नारासहित उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल र कान्तिपुर पब्लिकेसन्सको आयोजनामा आजदेखि चारदिने ‘सातौँ कान्तिपुर हिसान एडुफेयर–२०२२’ भृकुटीमण्डपमा सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले मेलाको शुभारम्भ गर्दै उच्च शिक्षामा नाममा विदेशमा गएर पढ्ने प्रवृत्ति कम गराएर पुँजी पलायन रोक्नुपर्छ भन्नुभयो । उहाँले विदेशमा अध्ययनका लागि अनुमतिपत्र (एनओसी) लिने वार्षिक एक लाख ११ हजार विद्यार्थी रहेकामा त्यो क्रम रोक्न ‘प्लस टु’ शिक्षाले योगदान दिनसक्ने बताउनुभयो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले शिक्षामा सार्वजनिक–निजी साझेदारीको अवधारणाबाट काम गर्न सकिएमा गुणस्तरीय शिक्षा स्वदेशमै सम्भव हुन्छ भन्नुभयो । हिसानका अध्यक्ष रमेशकुमार सिलवालले उच्च शिक्षाका नाममा ठूलो धनराशि विदेश जानबाट जोगाउन तथा विद्यार्थी, अभिभावक र शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिलाई एकै छानामुनि गुणस्तरीय शिक्षाका बारेमा विस्तृत परामर्श दिन मेलाले सघाउने जानकारी दिनुभयो । मेलाका संयोजक युवराज शर्माले मेलामा विभिन्न ७४ शैक्षिक संस्थाका प्रदर्शनी कक्ष रहनेछन् । मेलामा करिब दुई लाखले भ्रमण गर्ने अनुमान गरिएको छ ।
काठमाण्डौँ : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई ‘बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८’ को कार्यान्वयनमा सहजीकरणका लागि ‘बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि, २०७९’ प्रेसित गरेको छ । निर्देशिकाले स्थानीय तहहरुले अवलम्बन गर्ने योजना तर्जुमा, बालबालिकासँग सम्बन्धित नीति निर्माण र निर्णय प्रक्रियामा बालबालिका, उनीहरुका अभिभावक तथा बालबालिबासँग सरोकार राख्ने संस्थाहरुको सहभागिता र उनीहरुको भूमिका सुनिश्चित गरी बालमैत्री शासन पद्धति स्थापित गर्ने लक्ष्य लिएको छ । सो निर्देशिकाले तोकेका न्यूनतम सूचकका साथै स्थानीय तहले थप गरेका सूचकसमेत हासिल गर्ने, स्थानीय तहमा बालमैत्री शासन कार्यान्वयन गर्ने र बालमैत्री वडा, गाउँपालिका वा नगरपापलका घोषणामा सहजीकरण गर्ने प्रयोजनाका लागि गत जेठ ११ गते मन्त्रीस्तरबाट स्वीकृत कार्यविधि मन्त्रायले सबै स्थानीय तहलाई प्रेसित गरेको छ । कार्यविधिमा बालमैत्री शासन कार्यक्रम कार्यान्वयन सहजीकरण गर्न प्रत्येक गाउँपालिका र नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति रहने, कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन, वार्षिक प्रतिवे्दन तथा अभिलेखीकरण, क्षमता विकास, मानव संशाधन व्यवस्थापन, संस्थागत विकास आदि विषय समावेश गरिएको छ ।
विराटनगर : सङ्घीय सरकारले विराटनगर विमानस्थल विस्तारका लागि अधिग्रहण गरिएका जग्गाको मुआब्जा दिन बजेट विनियोजन नगरेपछि पीडितहरु सङ्घर्षमा उत्रेका छन् । सरकारले विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थलमा स्तरोन्नति गर्ने निर्णय गरेपछि विमानस्थल आसपासका घर घडेरीको जग्गा अधिग्रहण गरी रोक्का गरिराखेको छ । सरकारले मुआब्जा पनि नदिने र रोक्का रहेको घरजग्गा बिक्री र धितोसमेत राख्न नपाउने भएपछि पीडितहरु पीडित सङ्घर्ष समिति बनाएर आन्दोलनमा उत्रेका हुन् । दिनहुँजसो धर्ना दिने, विराटनगर विमानस्थलको बाटो अवरोध गर्ने जिल्ला प्रशासन कार्यालयसहित विभिन्न निकायमा विज्ञप्ति दिनेजस्ता कार्य निरन्तर भइरहेको सङ्घर्ष समितिका अध्यक्ष बेदराज पौडेले जानकारी दिनुभयो । पीडितले विमानस्थल प्रवेशद्वार अवरुद्ध गर्नेसम्म आन्दोलन गर्ने घोषणा गरेका छन् । उनीहरुले सरकारले दुई वर्ष बितिसक्दा पनि बजेटमा विमानस्थलले अधिग्रहणका लागि रोक्का राखेको जमिनको मुआब्जा नदिएको भन्दै सडक आन्दोनल गर्ने निर्णय गरेका हुन् । सोमबार उनीहरुले जिल्ला प्रशासन कार्यालय, मुख्यमन्त्रीको कार्यालय, नागरिक उड्डयन प्राधिकरणको कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई सात दिनभित्रमा आफ्ना माग पूरा गराउनका लागि अल्टिमेटम दिने र सात दिनभित्रमा पनि मुआब्जाको लागि बजेट सुनिश्चित नगरिए र रोक्का गरिएको जग्गा फुक्का नगरिए कडा आन्दोलनमा उत्रिने जनाएका हुन् । हाल विमानस्थलको एक हजार ५०० मिटर लामो धावनमार्ग रहेकामा तीन हजार मिटर पुर्याउन सङ्घीय सरकारले दुई वर्षअघि सर्वसाधारणको १०० दशमलव २६ अर्थात् ४६ बिघा जमिन अधिग्रहण गर्न नागरिक उड्डयन प्राधिकरणलाई २०७७ सालमा अनुमति दिएको थियो । त्यसकै आधारमा प्राधिकरणले ३५० घरसहित अन्य जग्गाधनीको एक हजार ४०० कित्ता जग्गा जमिन दुई वर्षदेखि रोक्का गरिराखेको छ । घरजग्गा दुई वर्षदेखि रोक्का गरेर सरकारले मुआब्जा नदिँदा आफ्नो अचल सम्पत्ति खरिद बिक्री र वित्तीय संस्थामा राखेर कारोबार गर्न नपाउँदा घर व्यवहार नै चौपट भएको पीडितहरुले बताए । विमानस्थल पीडित सङ्घर्ष समितिका सदस्य केशे मगरातीले भन्नुभयो, “सरकारले की त मुआब्जा दिएर उठाउनु पर्यो नत्र रोक्का राखेको हाम्रो घर जग्गा फुकुवा गरेर हामीलाई गरिखान दिनुपर्यो ।” सडक आन्दोलनमा रहेका पीडितहरुले भने, “पहिला स्थानीय प्रशासन र सम्बन्धित निकायलाई एक साताको म्याद राखेर ज्ञापनपत्र दिन्छौँ त्यसपछि राजमार्ग र विमानस्थल जाने बाटो अवरुद्ध गछौँ ।” सरकारले घरजग्गा मुआब्जाका लागि चालु र आगामी वर्षको बजेटमा रकम विनियोजन गरेन । बजेट नै विनियोजन नभएपछि सरकारले मुआब्जा देला भन्ने आश नै भएन । सङ्घर्ष समितिका सदस्य उद्धव कार्कीले भन्नुभयो, “सरकारले दुई वर्षदेखि घरजग्गा रोका राखेर बजेट नै विनियोजन नगरेपछि हाम्रो घरजग्गा फुकुवा गर्नुपर्छ । घरजग्गा रोक्का राखेर सरकारसँग मुआब्जाका लागि कति पर्खने हामीलाई रोक्का अवधिको दुई वर्षको क्षतिपूर्ति पनि चाहिन्छ ।” यो विमानस्थललाई क्षेत्रीयस्तरमा परिणत गर्न आवश्यक पर्ने जग्गाको मुआब्जा सङ्घीय सरकारले ५० प्रतिशत, प्रदेश सरकारले ४० प्रतिशत र विराटनगर महानगरपालिकाले १० प्रतिशत बेर्होने त्रिपक्षीय सहमति भएको थियो । सहमतिमा तत्कालीन नागरिक उड्डयन तथा पर्यटनमन्त्री योगेश भट्टराई, प्रदेशका तत्कालीन मुख्यमन्त्री शेरधन राई र महानगरका तत्कालीन प्रमुख भीम पराजुलीले हस्ताक्षर गर्नुभएको थियो । यो विमानस्थललाई क्षेत्रीयस्तरमा स्तरोन्नति गरेर भारत, बङ्गलादेश, भुटान, चीन, पाकिस्तान, श्रीलङ्का, थाइल्याण्ड र मलेसियामा उडान भर्ने गुरुयोजना थियो । त्यसबाहेक आन्तरिकतर्फ काठमाडौँसहित प्रदेशका विभिन्न १३ स्थान र पोखराका लागि पनि उडान भर्ने तयारी थियो । हाल यो विमानस्थलबाट पूर्वी पहाडी केही जिल्लाबाहेक काठमाडौँका लागि दैनिक ४४ उडान र अवतरण हुँदै आएको छ ।
काठमाण्डौँ : नेकपा (एमाले) बागमती प्रदेशको संसदीय दलले प्रदेश सरकारले प्रस्तुत गरेको बजेट वितरणमुखी भएको जनाएको छ । संसदीय दलले बजेट वितरणका लागि सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँगको राजनीतिक सहमतिको उल्लङ्घन गरेकाले संसदीयरुपमा प्रतिवाद गर्ने निर्णयसमेत गरेको छ । संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको अध्यक्षता तथा पार्टीका स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीको विशेष उपस्थितिमा दुई दिनसम्म बसेको बैठकले एमालेले अब संसद् बैठकमा खेल्नुपर्ने भूमिकाका बारेमा छलफल गरेको संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले जानकारी दिनुभयो । उहाँले बैठकमा सरकारले प्रतिपक्षले निर्वाचन जितेका स्थानीय तह तथा वडामा निकै नै कममात्र बजेट पठाएको तथा आफ्नो दलको उपस्थिति भएको एउटै वडामा ६१ भन्दा बढी योजना राखिएको, गलत मनसाय रोखेर कर छुटको व्यवस्था गरिएको, ३५९ भन्दा बढी योजनाको डुप्लिकेसन रहेको विषयमा छलफल भएको बताउनुभयो । सरकारले बजेट वितरणलाई सामानुपातिक बनाउने विषय तथा प्रतिपक्षी दल एमालेसँग गरेको सहमतिको कार्यान्वयन नभए प्रदेशसभाको आगामी बैठक अवरुद्ध हुनसक्ने उहाँले जानकारी दिनुभयो । प्रदेशसभाको आगामी बैठक यही असार १२ गतेका लागि बोलाइएको छ ।
काठमाण्डौँ : भारतबाट राजस्व छली गरेर ल्याइएको अवैध चिनी प्रहरीले बरामद गरेको छ । वडा प्रहरी कार्यालय नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले यहाँस्थित नन्दनी मिल परिसरबाट करिब ५०० बढी बोरा अवैध चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । “नन्दनी मिलको गोदाम बाहिर बेवारिसे अवस्थामा ठूलो मात्रामा चिनी फेला पारेका हौँ”, उहाँले भन्नुभयो । बाँकेमा विशेष गरी सेटिङमै जमुनाह, हिरमीनिया, साइगाउँ, बेतहनी र खडैचा नाकाबाट दिनहुँ ठूलो परिणाममा चिनी तस्करी हुँदै आएको बताइएको छ । भारतबाट तस्करी गरी ल्याइएको चिनी चर्को मूल्यमा बाँकेसहित बर्दिया, सुर्खेत, दाङलगायतका पहाडी जिल्लामा वितरण गरिन्छ ।