काठमाण्डौँ : भक्तपुरको आदर्श चोक नजिक आज बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना भक्तपुर नगरपालिका–२ ब्यासीका १९ वर्षीय निश्चल चौगुठी रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । ले जनाएको छ । मृत्यु भएका अर्का पुरुषको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । भक्तपुरको आदर्श चोक नजिक सूर्यविनायक चोकबाट जगातीतर्फ जाँदै गरेको बा७९प ७८७६ नम्बरको मोटरसाइकललाई जगातीबाट सूर्यविनायक चोकतर्फ आउँदै गरेको बा४ख ५२९८ नम्बरको टिपरले आज बिहान २ बजे ठक्कर दिएको हो । गम्भीर घाइते दुवै जनालाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । उनीहरुको उपचारका क्रममा मृत्यु भएको पाण्डेले बताउनुभयो । टिपर चालक दोलखाको मेलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौँको सुकेधारा बस्ने ३५ वर्षीय धनबहादुर थोकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाण्डौँ : नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ १७ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक (डिआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । प्रहरीको बुधबार बसेको बढुवा समितिको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम (४) अनुसार १७ एसएसपीलाई डिआइजी पदमा बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य–सचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंहले जानकारी दिनुभयो । सिफारिस भएकामध्ये पहिलो नम्बरमा वसन्तबहादुर कुँवर, दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा अशोक सिंह, चौथोमा दीपक थापा र पाँचौँमा श्यामलाल ज्ञवाली हुनुहुन्छ । यस्तै, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणालाई पनि डिआइजी बढुवाका लागि सिफरिस गरिएको छ ।
स्याङ्जा : स्याङ्जाको गल्याङ र चापाकोटलाई जोड्ने सडक ट्रयाक खोलेको २८ वर्षपछि कालोपत्र भएको छ । भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेशबाट विनियोजित बजेटबाट गल्याङ–चापाकोट सडकखण्डको लल्याङदेखि बारीचौरसम्म पाँच किमी सडक ‘अस्फाल्ड प्रविधि’ को प्रयोग गरी कालोपत्र गरिएको हो । कालीगण्डकी नदीको प्रायःजसो किनारबाट निर्माण गरिएको दक्षिण पूर्वी स्याङ्जालाई सिद्धार्थ राजमार्गसँग जोड्ने महत्वपूर्ण सडक हो । दैनिक सयौँको सङ्ख्यामा साना ठूला सवारीसाधन सञ्चालन हुने उक्त सडक घाम लाग्दा निक्कै धुलो र पानी पर्दा हिलाम्य हुने गरेको थियो । सडक कालोपत्र हुन नसकेकोमा भने स्थानीयले पटक–पटक आवाज उठाउँदै आएका छन् । मन्त्रालयले विनियोजन गरेको रु १३ करोड ३४ लाखमध्ये लामा कान्तिपुर जेभी काठमाडौँले रु आठ करोड ८१ लाख ४८ हजारमा ठेक्का सम्झौता गरेको उक्त आयोजनाका इञ्जिनियर सुजन पोखरेलले जानकारी दिनुभयो । कोभिडलगायतका कारण समयमै काम सुरु गर्न नसकेको उहाँले बताउनुभयो । सिद्धार्थ राजमार्गको गल्याङदेखि जिल्लाकै समथर भूभाग रहेको चापाकोटलाई राष्ट्रिय राजमार्गसँग जोड्नका लागि खोलिएको ट्रयाकको स्तरोन्नति हुन नसकेपछि प्रदेशसभामा पटक–पटक आवाज उठाएर काम सुरु भएको गण्डकी प्रदेशसभा सदस्य भागवतप्रकाश मल्लले बताउनुभयो । यहाँका नागरिकको समस्यालाई मध्यनजर गर्दै सदनमा आवाज उठाएपछि विस्तृत अध्ययन प्रतिवेदन तयार गरी बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो । कूल २१ किलोमिटरमध्ये अब बाँकी रहेको १६ किलोमिटर सडक पनि क्रमागतरुपमा रहेकाले कालोपत्र हुँदै जाने उहाँले जानकारी दिनुभयो । “गल्याङ–चापाकोट सडकलाई कालोपत्र गर्नका लागि डिपिआर गरिसकिएको छ”, उहाँले भन्नुभयो, “अब दुई खोलामा पुल÷कल्भर्ट बनाईने छ भने बाँकी रहेको सडकलाई कालोपत्र गर्दै अगाडि बढिने छ ।” गल्याङ नगरपालिकाको केन्द्रदेखि चापाकोट नगरपालिकाको केन्द्रसम्म अर्थात् दुई पालिकालाई सडक सञ्जालमार्फत जोडिने भएकाले पनि उक्त सडकको स्तरोन्नतिमा चासो दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । ट्रयाक खोलिएको लामो समय हुँदा पनि सडक कालोपत्र नहुँदा यात्रुले सास्ती खेप्दै यात्रा गर्नुपर्ने बाध्यता छ । विसं २०७७ फागुनमा ठेक्का सम्झौता भएको उक्त सडक २०७९ भदौसम्ममा सम्पन्न गर्नुपर्ने थियो ।
म्याग्दी : ढिलासुस्तीका कारण धेरैजसो विकास आयोजना थलिएका म्याग्दीमा एउटा सडक निर्माण भने लक्ष्यअघिनै सकिएको छ । निर्माण व्यवसायीमा इच्छाशक्ति, कार्यस्थलमा काम गर्ने वातावरण, सम्बन्धित निकायको सहजीकरण र समन्वय हुने हो भने ढिलासुस्ती हटाउन सकिने उदाहरण बेनी नगरपालिकाको गलेश्वर–काउलेगौडा–गिठिनी–पात्लेखेत सडक योजना बनेको छ । बेनी नगरपालिका–९ काउलेगौडा क्षेत्रमा सडक स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा सञ्चालन भएको योजना सम्झौता भन्दा दुई महिनाअघिनै सकिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले जानकारी दिनुभयो । “गत मङ्सिरमा ठेक्का सम्झौता भएको योजनाको काम २०७९ जेठ मसान्तसम्म सम्पन्न गर्नुपर्ने थियो”, उहाँले भन्नुभयो, “निर्माण व्यवसायीले २०७८ चैतमै काम सकेर हस्तान्तरण गर्नुभयो ।” रु दुई करोड ३० लाख विनियोजन गरिएको सो सडक निर्माण गर्न पर्वतको बुद्ध निर्माण सेवाले २०७८ मङ्सिर २६ गते रु एक करोड ४३ लाख ५९ हजारमा ठेक्का सम्झौता गरेको थियो । बेनी नगरपालिकाका सवइञ्जिनियर चन्द्रबहादुर थापाले पाँच मिटर चौडाइका दरले ५५० मिटर ढलान, ६७० घनमिटर ग्याविन जाली र ६६० घनमिटर स्टोन मेसिनरी पर्खाल निर्माण गरिएको जानकारी दिनुभयो । काउलेगौडा क्षेत्रमा १६० मिटर पक्की नाली निर्माणका साथै माटो कटिङ र फिलिङ गरिएको छ । काउलेगौडाका विदुर विक सडक स्तरोन्नतिपछि सवारीसाधन सञ्चालन, आवतजावतमा सहजता र जोखिम घटेको बताउनुहुन्छ । निर्माण कम्पनीका सञ्चालक सागर श्रेष्ठले पर्याप्त निर्माण सामग्री जुटाएर मजदुर र उपकरण परिचालन गरी लक्ष्यअघिनै सम्झौताअनुसारको काम सकेको बताउनुभयो । साँघुरो, कच्ची, नाली नभएको र ग्रेड तथा घुम्ती नमिलेको सडक स्तरोन्नतिका लागि बेनी नगरपालिकाले गत आर्थिक वर्षदेखि क्रमागत योजना सुरु गरेको थियो । गत वर्ष दुई किलोमिटर क्षेत्रमा एक हजार ५५९ घनमिटर ग्याविन पर्खाल, ९६१ मिटर पक्की पर्खाल, पाँच स्थानमा क्रस ड्रेन, ३०४ मिटर सडक ढलान र २६१ घनमिटर मेसिनरी पर्खाल निर्माण गरिएको थियो । बेनी नगरपालिका–९ र १०, रघुगङ्गा गाउँपालिका–५, ६ र ८ वडावासीले जिल्ला सदरमुकाम बेनी आवतजावतका लागि उक्त सडक प्रयोग गर्छन् । काउलेगौडा, पात्लेखेत, झिँ, पाखापानी र कुइनेका बासिन्दा लाभान्वित हुने उक्त सडकलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइने नगरपालिकाले जनाएको छ ।
धनुषा : धनुषाको औरही गाउँपालिका–३ का सोभित पण्डित मलका लागि नजिकैको डिलरमा धाउँदाधाउँदा थाकिसक्नुभयो । दुई तीन दिनसम्म डिलरमा धाउँदासमेत मल नपाएपछि उहाँ निरास भएर रित्तो हात घर फर्किनुभयो । “धानको बीउ छर्ने बेला मल पाउन सकिएको छैन”, उहाँले भन्नुभयो, “गहुँको याममा जसोतसो मल पाइएको थियो, अहिले त डिलर चहार्दाचहार्दै निरास बनेको छु ।” धानको याममा मल नपाएपछि कसरी खेती गर्ने भन्ने चिन्तामा डुबेको पण्डितको दुःखेसो छ । धान छर्ने तयारीमा रहेका धनुषाधाम नगरपालिका–४ का श्याम यादव पनि मल नपाएपछि निरास बन्नुभएको छ । “गाउँको डिलरदेखि जनकपुरधामस्थित कृषि सामग्री कम्पनी लिमिटेडको कार्यालयसम्म धाएँ, तर मल पाउन सकिन”, उहाँले भन्नुभयो, “कृषि सामग्री कार्यालयमा जाँदा गाउँको डिलरमा जानुभन्छ, डिलरमा जाँदा मल छैन भन्छन् ।” मल नपाएपछि बाली लगाउनै समस्या भएको उहाँको भनाइ छ । धनुषा र महोत्तरीका किसानलाई मल अभाव भएको छ । धानबाली लगाउने तयारीमा जुटेका किसान समयमा पर्याप्त डिएपी मल नपाउँदा निरास बनेका छन् । धानबाली लगाउने बेला मल नपाउँदा किसान बर्सेनि मार खेप्दै आएका छन् । कूल ७६ हजार ५३१ हेक्टर खेतीयोग्य जग्गामध्ये धनुषामा करिब ५५ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिने कृषि ज्ञान केन्द्रका सुचना अधिकारी राजेन्द्रप्रसाद यादवले बताउनुभयो । जनकपुरस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा बर्सेनि डिएपी र युरिया मलको माग बढ्दै गए पनि आपूर्ति घट्दै गएपछि किसान मार खेप्दै आएका छन् । धनुषामा बर्सेनि रासायनिक मलको माग बढ्दै जाँदा आपूर्ति भने घट्दै गएपछि यस्तो अवस्था आएको प्रमुख बेचन साहले बताउनुभयो । चालु आर्थिक वर्ष २०७८÷७९ मा केन्द्रले धनुषा र महोत्तरीका लागि युरिया पाँच हजार मेट्रिक टन र डिएपी चार हजार ५०० मेट्रिक टन माग गरेपनि हालसम्म डिएपी दुई हजार ४९५ मेट्रिक टन र युरिया चार हजार ११४ मेट्रिक टन मात्र प्राप्त भएको प्रमुख साहले बताउनुभयो । “डिएपी सबै बिक्री भइसकेको छ, युरिया ५५ मेट्रिक टन गोदाममा मौज्दात छ”, उहाँले भन्नुभयो । गत आवमा ६ हजार मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन डिएपी मल माग गरेकामा युरिया तीन हजार २०० मेट्रिक टन र डिएपी चार हजार ५०० मात्र आपूर्ति भएको थियो । यस वर्ष ६०० मेट्रिक टन मल ढुवानी समस्याका कारण आउन नसकेको प्रमुख साह बताउनुहुन्छ ।
सल्यान : जिल्लामा लामो समयसम्म परेको खडेरीका कारण वर्षेबाली सुक्न थालेको छ । खडेरीका कारण लगाएको मकै र रोप्न ठिक्क पारेको धानको ब्याड खेतबारीमै सुक्न थालेपछि कृषक चिन्तित भएका छन् । खडेरीका कारण कपुरकोट क्षेत्रमा लगाइएको बेमौसमी तरकारी बारीमै सुक्न थालेको छ । पानी नपरेका कारण खोलानाला सुक्न थालेका छन् । धानको ब्याडमा समेत पानी हाल्न समस्या भएको किसानले बताएका छन् । मकै गोडमेल तथा धान रोप्ने समयमा खडेरी परेपछि उत्पादन घटने चिन्ता हुन थालेको बनगाड कुपिण्डे नगरपालिकाका नवीन पुनले बताउनुभयो । “मकैँ गोडमेल गर्ने बेला भएको छ, पानी नपर्दा सुक्न थालेको छ, बोट सुक्ने डरले कतिपयले गोडमेल नै गर्न छोडिसके”, उहाँले भन्नुभयो, “दिनभरको घामले बोट सुक्न थालेका छन् ।” छत्रेश्वरी गाउँपालिकाका गणेश नेपाली पनि खडेरीले धानको बेर्ना सुक्न थालेको बताउनुहुन्छ । “रोपाइँ गर्ने बेला भइसक्यो, पानी पर्ला र बेलैमा खेती लगाउन पाइएला भनेको पानी पर्ने छाँटकाँट छैन”, उहाँले भन्नुभयो । खोलाका मुहानतिर खेत भएका केहीले रोपाई गरे पनि अन्यले आकासे पानी पर्खेर बसेको उहाँको भनाइ छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार करिब सात हजार हेक्टरमा धानखेती हुँदै आएको छ । करिब १९ हजार हेक्टरमा मकै र ६०० हेक्टरमा कोदोखेती गरिँदै आएको छ । समयमा पानी नपर्दा खाद्यान्न उत्पादनमा कमी आउने देखिएको छ ।
काठमाण्डौँ : मध्यपश्चिमाञ्चल विश्वविद्यालयले दोस्रो दीक्षान्त समारोहको आयव्यय सार्वजनिक गरेको छ । गत वैशाख ६ गते सम्पन्न दीक्षान्त समारोहमा रु ३७ लाख खर्च भएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका डीन एवं दीक्षान्त समारोह प्रचारप्रसार समितिका संयोजक डा लिलाधर तिवारीका अनुसार अथिति सत्कार र यातायाततर्फ रु १३ लाख ७४ हजार खर्च भएको छ । कार्यक्रम सञ्चालन तथा स्थल व्यवस्थापनतर्फ रु पाँच लाख ७० हजार खर्च भएको तिवारीले जानकारी दिनुभयो । यस वर्ष २९ जनालाई विभिन्न पदक प्रदान गरिएको थियो । समारोहमा ५१९ विद्यार्थी दीक्षित भएका थिए । दीक्षान्त समारोहमा शिक्षामन्त्री एवं विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेल, नोबेल शान्ति पुरस्कार विजेता कैलाश शत्यार्थीलगायत सहभागी हुनुहुन्थ्यो । यसअघि विश्वविद्यालयको दीक्षान्त समारोह २०७४ असार १९ गते आयोजना गरिएको थियो ।
कञ्चनपुर : जिल्ला भलिबल सङ्घ कञ्चनपुरको अध्यक्षमा श्यामसिंह मौनीलाई सर्वसम्मत चयन गरिएको छ । सङ्घको बुधबार सम्पन्न साधारणसभाबाट मौनीको अध्यक्षतामा नयाँ कार्यसमितिको टुङ्गो लगाइएको हो । समितिको उपाध्यक्षमा उद्धवबहादुर चन्द, महासचिवमा उत्तमसिंह विष्ट, कोषाध्यक्षमा भरतबहादुर ऐर तथा सदस्यहरुमा नवराज भट्ट, गङ्गादत्त अवस्थी, मानसिंह रावत, तेजबहादुर चन्द, प्रकाशदत्त जोशी र रमेश केसीलाई चयन गरिएको छ । साधारणसभामा सङ्घका केन्द्रीय उपाध्यक्ष हरकसिंह धामी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुबेर खड्का, पूर्व जिल्ला अध्यक्ष मोहन थापालगायतले भलिबल खेलको वृद्धिविकासबारे सल्लाह सुझाव दिएका थिए ।
कपिलवस्तु : कपिलवस्तुको विजयनगर गाउँपालिकाले छात्रालाई साइकल वितरण गरेको छ । छात्रालाई विद्यालयमा नियमित आउन प्रोत्साहन गर्नका लागि निःशुल्क साइकल वितरण गरिएको हो । गाउँपालिकाले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत पालिकामा रहेका ६ माध्यमिक विद्यालयका कक्षा ९ देखि ११ सम्म अध्ययन गर्दै आएका ४१५ छात्रालाई साइकल वितरण गरेको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले महिला सशक्त भएमात्र पालिकाको विकास सम्भव हुने बताउनुभयो । शिक्षा, स्वास्थ्यसहित प्रत्येक निकायमा पछि परेका महिलालाई अगाडि बढाउन पालिका प्रतिबद्ध रहेको उहाँको भनाइ थियो । छोरीलाई शिक्षित र सबल बनाउन ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान सञ्चालन गरिएको छ । साइकल पाएपछि विद्यार्थी विद्यालयमा नियमित आउन थालेका छन् । यसबाट महिलाको शिक्षामा पहुँच वृद्धि हुने अध्यक्ष थापाले बताउनुभयो । छोरीहरूलाई शिक्षा र रोजगारीका साथै आत्मरक्षाका लागि समेत अग्रसर बनाउने लक्ष्यका साथ पालिका अघि बढेको उपाध्यक्ष लक्ष्मी थारुले बताउनुभयो । साइकलले टाढा घर भएका विद्यार्थीलाई विद्यालय आउन सहज हुने गाउँपालिकाका प्रशासकीय अधिकृत गोविन्द भट्टराईले बताउनुभयो । आर्थिक वर्ष २०७७÷७८ मा पनि विजयनगरका ९ र ११ का विद्यालयका २४० छात्रालाई साइकल वितरण गरिएको थियो ।