सडक निर्माण लक्ष्य अघिनै सक्दै , ढिलासुस्ती हटाउन सकिने उदाहरणीय बन्यो पात्लेखेत सडक
म्याग्दी | असार ९, २०७९
सांकेतिक तस्बिर
म्याग्दी : ढिलासुस्तीका कारण धेरैजसो विकास आयोजना थलिएका म्याग्दीमा एउटा सडक निर्माण भने लक्ष्यअघिनै सकिएको छ ।
निर्माण व्यवसायीमा इच्छाशक्ति, कार्यस्थलमा काम गर्ने वातावरण, सम्बन्धित निकायको सहजीकरण र समन्वय हुने हो भने ढिलासुस्ती हटाउन सकिने उदाहरण बेनी नगरपालिकाको गलेश्वर–काउलेगौडा–गिठिनी–पात्लेखेत सडक योजना बनेको छ ।
बेनी नगरपालिका–९ काउलेगौडा क्षेत्रमा सडक स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा सञ्चालन भएको योजना सम्झौता भन्दा दुई महिनाअघिनै सकिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले जानकारी दिनुभयो ।
“गत मङ्सिरमा ठेक्का सम्झौता भएको योजनाको काम २०७९ जेठ मसान्तसम्म सम्पन्न गर्नुपर्ने थियो”, उहाँले भन्नुभयो, “निर्माण व्यवसायीले २०७८ चैतमै काम सकेर हस्तान्तरण गर्नुभयो ।” रु दुई करोड ३० लाख विनियोजन गरिएको सो सडक निर्माण गर्न पर्वतको बुद्ध निर्माण सेवाले २०७८ मङ्सिर २६ गते रु एक करोड ४३ लाख ५९ हजारमा ठेक्का सम्झौता गरेको थियो ।
बेनी नगरपालिकाका सवइञ्जिनियर चन्द्रबहादुर थापाले पाँच मिटर चौडाइका दरले ५५० मिटर ढलान, ६७० घनमिटर ग्याविन जाली र ६६० घनमिटर स्टोन मेसिनरी पर्खाल निर्माण गरिएको जानकारी दिनुभयो । काउलेगौडा क्षेत्रमा १६० मिटर पक्की नाली निर्माणका साथै माटो कटिङ र फिलिङ गरिएको छ ।
काउलेगौडाका विदुर विक सडक स्तरोन्नतिपछि सवारीसाधन सञ्चालन, आवतजावतमा सहजता र जोखिम घटेको बताउनुहुन्छ । निर्माण कम्पनीका सञ्चालक सागर श्रेष्ठले पर्याप्त निर्माण सामग्री जुटाएर मजदुर र उपकरण परिचालन गरी लक्ष्यअघिनै सम्झौताअनुसारको काम सकेको बताउनुभयो ।
साँघुरो, कच्ची, नाली नभएको र ग्रेड तथा घुम्ती नमिलेको सडक स्तरोन्नतिका लागि बेनी नगरपालिकाले गत आर्थिक वर्षदेखि क्रमागत योजना सुरु गरेको थियो । गत वर्ष दुई किलोमिटर क्षेत्रमा एक हजार ५५९ घनमिटर ग्याविन पर्खाल, ९६१ मिटर पक्की पर्खाल, पाँच स्थानमा क्रस ड्रेन, ३०४ मिटर सडक ढलान र २६१ घनमिटर मेसिनरी पर्खाल निर्माण गरिएको थियो ।
बेनी नगरपालिका–९ र १०, रघुगङ्गा गाउँपालिका–५, ६ र ८ वडावासीले जिल्ला सदरमुकाम बेनी आवतजावतका लागि उक्त सडक प्रयोग गर्छन् । काउलेगौडा, पात्लेखेत, झिँ, पाखापानी र कुइनेका बासिन्दा लाभान्वित हुने उक्त सडकलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइने नगरपालिकाले जनाएको छ ।
कर्णाली प्रदेशको मुख्य पर्यटकीय गन्तव्य मध्येको रारा ताल हिउँले ढपक्कै ढाकिएको छ । आइतबार रातिदेखि परेको हिउँले रारा क्षेत्रमा चाँदीले छोपिएजस्तो सेताम्मे भएको छ । रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अन...
हेमजा: कास्कीको हेमजामा १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ । आगामी चैत २७ गतदेखि वैशाख ५ गतेसम्म 'सुन्दर ठाउँ हेमजा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔं, आलु एक परिकार ...
गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...

