मकवानपुर : गएरातिको वर्षासँगै खसेको पहिरोले मकवानपुरको सिस्नेरी सडकखण्ड अवरुद्ध भएको छ । सो सडकखण्ड अवरुद्ध भएसँगै यातायात सञ्चालन बन्द भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जाने छोटो दुरीको बाटो बन्द भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङस्थित गएराति वर्षासँगै पहिरो खसेको हो । आज बिहानदेखि उक्त पहिरो स्थानीय सरकार र सडक विभागबाट हटाउने कार्य भइरहेको सो इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिनुभयो । हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ चल्ने सवारीसाधन अन्य बाटो भएर जाने व्यवस्था मिलाईएको छ । गत मङ्गलबार खसेको पहिराले उक्त सडकखण्ड आइतबार मात्र सञ्चालनमा आएको थियो ।
काठमाण्डौँ : मोडल शाक्षी लम्साल र विष्णु खरेल अभिनित ‘माया बस्यो है’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीको यस गीतमा गायक पवन गिरीको स्वर, शब्द र सङ्गीत रहेको छ । गीतलाई वृजेश श्रेष्ठले सङ्गीत संयोजन गर्नुभएको हो । राज पोख्रेलले छायाङ्कन गरेको यस भिडियोलाई विकास दाहालले सम्पादन गर्नुभएको हो । ‘दिनरात सपना देख्छु, तिमीलाई नै सधैँ भेट्छु’, ‘ल है ल है, माया बस्यो है’, ‘तिम्रो साथ आइपुग्दा’ लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ । अनुप चापागाईँको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो गायक गिरीको आधिकारिक च्यानल पवन गिरी ‘अफिसिएल’मार्फत् सार्वजनिक भएको छ । यसअघि गायक गिरीको स्वरमा रहेको ‘बधाई छ’, ‘मिल्टेरिको जुत्ता’, ‘म जे छु’, ‘मलाई एकछिन देऊ’ लगायत थुप्रै गीत सार्वजनिक भइसकेका छन् । निर्माण समूहले भिडियो हेरेर प्रतिक्रिया दिन दर्शकसँग आग्रह गरेको छ ।
कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिका–१ मा पर्ने धानखोलामा पहिराले बगाउँदा दुई जना भारतीय बेपत्ता भएका छन् । प्युठानको स्वर्गद्वारीबाट दर्शन गरी लु२ख २७१६ नम्बरको फोर्सबाट फर्किँदै गर्दा फोर्स गाडीबाट झरेर खोला तर्नेक्रममा पहिराले बगाएको हो । भारतको सिद्धार्थनगर जिल्ला बस्ने वर्ष १७ का निखिल कौशाल, वर्ष १८ सुरज सोनी बेपत्ता भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने खोलमा भारतीय नागरिक फोर्सबाट झरेर आउँदै गर्दा अचानक आएको पहिराले बगाएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । हराएको भारतीय नागरिकको खोजीकार्य जारी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीले जानकारी दिनुभयो ।
काठमाण्डौँ : नेपाल राष्ट्र बैंकले रु १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गर्दै पाँच वर्षे अवधिका लागि उक्त विकास ऋणपत्र बिक्री हुन लागेको जानकारी दिएको हो । बोलकबोलको प्रक्रियाबाट ब्याजदर निर्धारण हुने सो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । सो ऋणपत्रको धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण समेत लिन सकिन्छ । इच्छुक खरिदकर्ता अप्रतिस्पर्धामा पनि सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धीले निष्काशित रकमको ८५ प्रतिशत अर्थात् रु १२ अर्ब ७५ करोड र अप्रतिस्पर्धीले १५ प्रतिशत अर्थात् रु दुई अर्ब २५ करोड बराबरको ऋणपत्र खरिद गर्न सक्नेछन् । खरिदकर्ताले घटीमा रु ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाई रु ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्क बराबर खरिद गर्न पाउनेछ । सो ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत हुने सूचनामा उल्लेख छ ।
कैलाली : विगतका वर्ष कैलालीका किसान जेठ मध्यतिरबाट खेत रोपाइँ सुरु गर्थे । यस वर्ष किसानलाई असार लागिसक्दा पनि खेत रोपाइँ गर्ने अवसर जुरेको छैन । किसानलाई प्रचण्ड गर्मी त्यसैमाथि, वर्षा नभएका कारण खेती गर्न समस्या भएको हो । अत्यधिक गर्मी र सिँचाइ कुलामा पानी नभएपछि टीकापुरका परमभक्त देवकोटाको खेतमा राखएिको धानको बीउ बिग्रियो । उहाँले भर्खरै फेरि बीउ छर्नुभएको छ । विगतमा जेठ मध्यतिर खेत रोप्ने उहाँले असारको पहिलो साता बित्नै लाग्दा पनि बर्सात सुरु नभएपछि रोपाइँ त परै जाओस् बीउसमेत राम्ररी उमार्न सक्नुभएको छैन । “मैले जेठ मध्यतिर राखेको धानको बीउ सुकेर बिग्रियो, बीउ राम्रो नभएपछि फेरि बीउ छरेको छु”, उहाँले भन्नुभयो, “सिँचाइ कुलामा पानी आएको छैन, बोरिङको पानी पर्याप्त भएन । यस वर्ष खेती गर्ने समयमा बीउ छरेका छौँ । खै कस्तो हुन्छ रु” अर्का किसान वीरबहादुर चौधरीले तीन दिनअघि खेत रोपाइँ सुरु गर्नुभयो । कुलामा पानी आउने आशा राखेर उहाँले बोरिङ मोटरबाट खेती रोपाइँ सुरु गर्नुभएको थियो तर अहिले उहाँको रोपाइँ नै बन्द भएको छ । अत्यधिक गर्मीले कुलामा समेत पानी सुकेको र बोरिङ मोटरबाट खेती गर्न सम्भव नभएकाले उहाँले रोपाइँ नै स्थगित गर्नुपरेको हो । “मोटरको सहयोगमा राखिएको बीउ तयार भएको छ । अब ढिलो हुन्छ भनेर रोपाइँ सुरु ग¥यौँ तर पानी अभावमा गर्न सकिएन”, उहाँले भन्नुभयो, “बर्सात नभएका कारण खेत सुक्खा छ । बोरिङको सिँचाइ एकैछिनमा सुक्खा भइसक्छ । वर्षा नभएसम्म खेती गर्न गाह्रो छ ।” टीकापुरको वनगाउँका किसान चित्रबहादुर चौधरी पनि रोपाइँ सुरु गर्ने तर्खरमा हुनुहुन्छ । धानको बेर्ना राखेको महिना दिन पुग्न लाग्दा पनि कुलामा पानी नहुँदा उहाँले अहिलेसम्म रोपाइँको सुरसार गर्नसक्नु भएको छैन । किसानले सामान्यतया बेर्ना २१ देखि ३० दिनसम्म खेतमा रोपी सक्ने गर्छन् । कुलामा पानी नहुँदा राखेको ब्याड अहिलेसम्म रोपी सक्नुपर्ने भएता ब्याड छिपिँदै गइरहेको चित्रबहादुरको गुनासो छ । “किसानलाई सबैभन्दा बढी समस्या छ । न मल पाइएको छ, न सिँचाइ सुविधा छ”, उहाँ भन्नुहुन्छ, “यस्तो समस्यामा सबैभन्दा बढी पीडा किसानलाई छ ।” वर्षा नहुँदा र कुलामा पानी नआउँदा किसानलाई धान रोपाइँ गर्न समस्या छ । लामो समयसम्म वर्षा नहँुदा नदी तथा कुलामा पर्याप्त पानी नभएकाले किसान पानीको अभावमा रोपाइँ सकिरहेका छैनन् । किसान मानबहादुर चौधरी कतिपय किसानले मोटरबाट सिँचाइ गरेर खेती सुरु गरे पनि सम्भव नहुने बताउनुहुन्छ । “सबैतिर नदीमा पानीको सतह कम भएको र मोटरबाट खेतमा पानी लगेर सिँचाइ गर्दा घण्टौ समय लाग्ने गर्छ । यसले किसानलाई थप समस्या भएको छ”, मानबहादुरले भन्नुभयो, “बर्सात नहुँदासम्म सिँचाइका लागि बोरिङ मोटरमा पनि राम्ररी पानी नआउने समस्या छ ।” जिल्लामा ७१ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुन्छ । धानखेती हुने क्षेत्रफलमा सबैतिर सिँचाइ सुविधा हुँदैन । कतै नदी, कुलाबाट सिँचाइ हुन्छ भने कतै बोरिङ, मोटर र आकाशे पानीको भरमा खेती हुन्छ तर यस वर्ष कैलालीमा बर्सात नहुँदा किसानले रोपाइँ सुरु गरी सक्नुपर्ने धान खेत अहिलेसम्म बाँझै छन् । जानकी गाउँपालिकाका कृषि शाखा प्रमुख लालवीर चौधरी अत्यधिक गर्मी र मौसममा आएको परिवर्तनका कारण खेतीमा असर गरेको र किसानले मौसम नहेरी छिटो बीउ छर्दा राम्ररी नहुर्केको बताउनुहुन्छ । “किसानले विगतलाई हेरेर बीउ छर्नुभयो, मौसममा आएको परिवर्तनका कारण किसानले राखेको बीउ समेत बिग्रिएको छ”, उहाँ भन्नुहुन्छ, “ कुलामा पानी छैन, मोटरको पानीले खेती गर्न सम्भव हुँदैन, बर्सात भएपछि खेती रोपाइँ गर्न सहज हुन्छ, वातावरण प्रतिकूल असरले उत्पादनमा समेत असर पार्छ ।”
काठमाण्डौँ : लगातारको वर्षासँगै आएको पहिराले सङ्खुवासभाको भोटखोला गाउँपालिका र मकालु गाउँपालिका जाने उत्तर दक्षिण सडकखण्डको खाँदबारी किमाथाङ्का सडक अवरुद्ध भएको छ । मकालु गाउँपालिका–३ नयाँ बस्तीमा पहिरो खस्दा उत्तर दक्षिण सडकखण्ड अवरुद्ध भएको हो । उत्तर दक्षिण सडक अवरुद्ध हुँदा मकालु वडा नम्बर ३, ४ र भोटखोला गाउँपालिका जाने सडक ठप्प भएको उत्तर दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर दीपेश रजकले जानकारी दिनुभयो । सडकखण्ड अवरुद्ध भएपछि मकालु गाउँपालिका केही वडा र भोटखोला गाउँपालिकामा यातायात सेवा बन्द भएको छ । सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ । पहिराले दुई दिनदेखि मकालुका केही वडा र भोटखोला गाउँपालिका जाने सडक पूर्णरुपमा अवरुद्ध भएको सडक कार्यालयका इन्जिनियर रजकले बताउनुभयो । पहिराले मकालु ५ र ३ जोड्ने अरुण नदीको मोटररेबल पुलसमेत जोखिममा परेको छ । पहिराले पुल आसपासको भू–भाग कटान गरेपछि अरुण नदीको पुल जोखिमा परेको उहाँले बताउनुभयो । लगातारको वर्षाले उत्तर दक्षिण सडकखण्डका विभिन्न ठाउँमा पहिरो खसेको सडक कार्यालयका प्रमुख रजकले बताउनुभयो । सडक कार्यालयका प्रमुख इन्जिनियर रजकका अनुसार त्यस क्षेत्रमा अहिले पनि लगातार वर्षा भइरहेको छ । वर्षा नरोकिएसम्म पहिरो हटाउन सकिने अवस्था नभएको सडक कार्यालयका प्रमुख रजकको भनाइ छ । अहिले सदरमुकाम खाँदबारीबाट भोटखोला जाने यातायात मकालु गाउँपालिकाको फ्याक्सिन्दासम्म मात्रै चलेका छन् ।
झापा : झापाको रतुवा खोलामा अविरल वर्षापछि आएको बाढीले जमिन कटान गर्दा १३ घरपरिवार विस्थापित भएका छन् भने २५ घर डुबानमा परेको छ । बाढीले दमक नगरपालिका–७ रेडक्रस भवन पछाडिको खोला किनार नजिक रहेको बस्तीमा बाढीले कटान गर्दा ती घर विस्थापित भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । विस्थापत हुनेमा दमक–७ का खड्ग लिम्बू, राजेस किस्कु, विष्णु लिम्बू, मनोज मास्के, सुवास लिम्बू, भारती तामाङ, रामकुमारी लावती, लाक्पा शेर्पा, गोमा तामाङ, डिकबहादुर गुरुङ, सूर्यमान आचार्य, दीपक गुरुङ र विमल किस्कुको परिवार रहेको छ । उनीहरुको घरमा क्षति पुगेकाले नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी सुरक्षित स्थान र आफन्तको घरतर्फ सारिएको जनाइएको छ । त्यस्तै, सोही खोलामा आएको बाढी आज बिहान गौरादह नगरपालिका–६ स्थित टङ्गुवा बस्तीमा पसेको छ । बाढी पसेपछि त्यहाँका २५ घर डुबानमा परेका छन् । बस्तीमा करिब दुई फिट पानी पसे पनि अन्य क्षति नभएको र पानीको सतह विस्तारै क्रमशः घट्ने क्रममा रहेको प्रहरीले जनाएको छ ।
लमजुङ : डुम्रे–बेँसीसहर सडक दुई लेन बनाउने कार्य तीव्र रुपमा अगाडि बढिरहेको छ । लमजुङ र तनहुँ जिल्लालाई जोड्ने मुख्य सो सडकको नाली बनाउने, चौडाइ पुर्याउन कटिङ गर्ने, टेवा (पर्खाल) उठाउनेलगायतका गरी हालसम्म ३५ प्रतिशत निर्माण सम्पन्न भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी तथा इन्जिनियर पुरुषोत्तम अधिकारीले जानकारी दिनुभयो । तनहुँको डुम्रे बजारदेखि लमजुङतर्फ निर्माण हुने यस सडक अहिले डुम्रे बजार नजिकैबाट दुई लेनको बनाउन थालिएको छ । डुम्रे बजारबाट २२० मिटर अघिदेखि आठ दशमलव तीन किलोमिटर चाम्बाससम्म पहिलो चरणमा दुई लेन सडक बन्ने कार्य तीव्ररुपमा भइरहेको छ । राजमार्गको यस सडकको मापदण्ड दायाँबायाँ ‘राइटअफ वे’ सहित १५/१५ मिटरको हुने उक्त योजना कार्यालयका सूचना अधिकारीले बताउनुभयो । उहाँका अनुसार १०/१० मिटरको लगतकट्टा भइसकेको छ भने, अधिग्रहण गरेकोमध्ये चौडाइ ११ मिटरमा सडक संरचना बन्ने भएको छ । यसअघि तीन दशमलव ७५ मिटरको क्यारिज वे (भारवाहन सडक) रहेकोमा अब सात मिटरको हुने उक्त योजना कार्यालयले जनाएको छ । त्यस्तै, दायाँबायाँ एक÷एक मिटरको ‘सोल्जर’ तथा एक/एक मिटरको नाली निर्माण हुने भएको छ । उक्त कार्यालयका सूचना अधिकारी अधिकारीका अनुसार ८ दशमलव तीन किलोमिटर सडक विसं २०८० कात्तिक २२ गतेसम्म सक्ने गरी आशिष अनेस्ट जेभीले अघिल्लो वैशाख २२ गते सम्झौता गरेको थियो । सडकमा ‘अस्फाल्ट’ किसिमको कालोपत्र हुने भएको छ । त्यस्तै, कालोपत्र सकिएपछि रोड फर्निचर (पेन्टिङ) गर्ने र किलोमिटर पोस्ट राखिने उक्त योजना कार्यालयले जनाएको छ । डुम्रे बेँसीसहर सडक ४२ किलोमिटरको दूरी रहेको छ । यस सडकको तनहुँ डुम्रेदेखि लमजुङकोे सिमाना पाउँदी बजारसम्म २४ किलोमिटरको रहेको छ । सडकका लागि भ्याट र पीएसबाहेक रु ७५ करोड ९४ लाख ९७ हजारको लागत अनुमान गरिएकोमा उक्त जेभीले रु ३८ करोड नौ लाख ८६ हजारमा ठेक्का सम्झौता गरेको छ । यस पहिलो चरणको निर्माण कार्य सम्पन्न भएलगत्तै सडकको अन्य कामसमेत अघि बढ्ने बताइएको छ । छिमेकी जिल्ला तनहुँको डुम्रे बजारबाट विसं २०२९ मा खन्न सुरु गरिएको यस सडक बेँसीसहरसम्मको ४२ किलोमिटरसम्म पुर्याउन करिब साढे एक दशक लागेको थियो । विसं २०४६ मा ट्याक खुलेसँगै विसंं २०५२ देखि सिङ्गल लेनको कालोपत्र थालिएको थियो । सुरु गरेको चार वर्षको अवधिमा ४२ किलोमिटर सडकको कालोपत्र सम्पन्न भएको थियो । डुम्रे बेँसीसहरको यस सडक हुँदै हिमाली जिल्ला मनाङका स्थानीयसमेत आवतजावत गर्ने गर्दछन् । यी सडक दुई लेन भइ कालोपत्र सम्पन्न भएपश्चात् तीन जिल्लाका स्थानीय प्रत्यक्ष लाभान्वित हुने भएका छन् । यस सडक कालोपत्रे भएदेखि आवश्यकताअनुसार समय समयमा मर्मतसम्हार हुन नसक्दा जीर्ण बन्दै गएको स्थानीयको गुनासो छ । दुई लेनको सडक भएमा सडक दुर्घटनासमेत कम हुने स्थानीयको अपेक्षा रहेको छ ।
बैतडी : समयमै वर्षा नहुँदा किसानलाई रोपाइँ गर्न समस्या भएको छ । आकाशे पानीको भरमा धान रोप्दै आएका यहाँका किसान कहिले पानी पर्ला भनेर आकाश हेरेर बसेका छन् । यहाँ अधिकांश क्षेत्रमा आकाशे पानीको भरमा रोपाइँ गर्ने गरिएको छ । यो समय रोपाइँका लागि उत्तम समयको रहेको भए पनि वर्षा नहुँदा समस्या भएको किसानले बताएका छन् । ब्याड राखिएको बीउ रोप्न योग्य भए पनि पानीको अभावमा खेत बाँझै रहेको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका किसान मानसिंह विष्टले जानकारी दिनुभयो । रोप्नका लागि बनाइएको बेर्नासमेत पानीका मूल सुक्दै जाँदा बचाउन मुस्किल भएको छ । उहाँले भन्नुभयो, “हाम्रो खेतमा सिँचाइ सुविधा छैन । आकाशे पानी पर्खिरहेका छौँ । अहिलेसम्म धान रोप्न पाएका छैनौँ, बेर्ना सुक्दै गएका छन् ।” गत जेठ १५ गतेदेखि असार मसान्तसम्म रोपाइँका लागि उत्तम समय मानिन्छ । जिल्लामा हालसम्म बढीमा १५ प्रतिशतमा मात्रै रोपाइँ भएको अनुमान कृषि ज्ञान केन्द्रको छ । बेसीक्षेत्र तथा सिँचाइ सुविधा भएका क्षेत्रमा मात्रै रोपाइँ भएको केन्द्रका कृषि प्रचार अधिकृत नरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । रोपाइँका लागि यो उपयुक्त समय हो । वर्षा नहुँदा यो समयमा रोपाइँ गर्न सकिएको छैन । उहाँले भन्नुभयो, “असारभित्र धान रोप्नका लागि उपयुक्त समय हो तर यो समयमा रोपाइँ गर्न सकिएन भने उत्पादनमा कमी हुन्छ ।” रोप्नका लागि बनाइएको बेर्नालाई एक महिनासम्म रोपिसक्नुपर्छ उहाँले भन्नुभयो, “बेर्नालाई २१ देखि ३० दिनभित्र रोपिसक्नुपर्छ, यो अवधिमा रोप्न सकिएन भने उत्पादन कम हुन्छ ।” यस वर्ष समयमा रोपाइँ सुरु हुन नसक्दा बेर्ना सुक्दै गएका र ढिला रोप्दा रोगकिराको समस्या देखा पर्ने गर्दछ । कृषि प्रचार अधिकृत चन्दले भन्नुभयो, “बेर्नालाई समयमै रोप्न सकिएन भने पछि गएर धानमा रोगकिराले आक्रमण गर्ने, टुप्पो सुक्नेजस्ता रोग देखा पर्छन् र उत्पादनमा ह्रास आउँछ ।” जिल्लाको सुर्नया नदी किनार, चौलानी नदी किनार, पुर्चौडीको हाट, पाटन, पञ्चेश्वरलगायतका बेँसी क्षेत्रमा रोपाइँ भए पनि अन्य क्षेत्रमा बाँकी छ । पाटन नगरपालिकाको पाटन फाँट, सलेना, डिलाशैनी र सिगास गाउँपालिकाका विभिन्न क्षेत्र, दशरथचन्द नगरपालिकाको सेरालाई धानखेतीको पकेट क्षेत्र हुन् । धानबाली बर्खेबालीमध्ये मुख्यबालीको रुपमा रहेको छ । यो बैतडीका बेँसी क्षेत्रमा बढी उत्पादन हुने गरेको छ । बैतडीमा नौ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ ।