बागलुङ : वर्षौंदेखि बाँझो पल्टिएको जग्गालाई चक्लाबन्दी गरी कृषिउपजको व्यावसायिक खेती थालिएको छ । गलकोट नगरपालिका–४ निलुवामा छरिएर रहेको खेतीयोग्य जग्गालाई एकीकरण गरी कृषि उत्पादन सुरु गरिएको हो । गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आर्थिक सहयोगमा स्थानीय सयपत्री बहुउद्देश्यीय सहकारी संस्था लि ले गत फागुनमा निलुवामा चक्लाबन्दी कार्यक्रम सुरु गरेको थियो । सहकारीका अध्यक्ष चिन्तामणि शर्माले १२४.२६ रोपनी जग्गा चक्लाबन्दी गरी कृषि बाली लगाउन सुरु गरिएको बताउनुभयो । “६० रोपनीमा आलुखेती गरेका छौँ, अरु जग्गामा तरकारी, बीउबिजन र अन्नबालीको लगाउँदैछौँ”, उहाँले भन्नुभयो, “कृषि ज्ञान केन्द्रमार्फत खेती विशेष कार्यक्रम पनि सुरु हुँदैछ ।” सहकारीले स्थानीय ७३ किसानको जग्गालाई चल्काबन्दी गरी एकीकृत गरेको हो । जसबाट २०० बढी गरामा बाँडिएको जग्गा १७ ‘प्लट’मा झरेको छ । सहकारीले प्रतिरोपनी वार्षिक रु दुई हजार तिर्ने गरी आउँदो २०९० सालसम्मलाई जग्गा भाडामा ल्याएको हो । जग्गा चक्लाबन्दी कार्यक्रमका लागि मन्त्रालयले रु ३६ लाख ४९ हजार अनुदान दिएको थियो । मर्मतसुधार, सिँचाइ आदिका लागि आउँदो आवमा पनि प्रतिरोपनी पाँच हजारका दरले मन्त्रालयबाट सहयोग आउने सहकारीले जनाएको छ । यस्तै ७५ प्रतिशत अनुदानमा ट्र्याक्टर पनि उपलब्ध हुने भएको छ । “प्रदेश सरकार र जग्गाधनी किसानको सहयोगमा चक्लाबन्दी खेतीले सार्थकता पाउँदैछ, यसै बाँझो भएर बसेको जग्गामा व्यावसायिक कृषि सुरु भएको छ”, सहकारीका अध्यक्ष शर्माले भन्नुभयो, “खेर गइरहेको जग्गा प्रयोगमा आएपछि किसान पनि खुसी छन् ।” तरकारीजन्य उत्पादनतर्फ आलुसँगै मुला, सिमी, सागलगायतको खेती गर्ने योजनामा सहकारी छ । माटो परीक्षणपछि कृषि क्षेत्रका प्राविधिकले दिएको सुझावका आधारमा यामअनुसारको खेतीपाती गरिने भएको छ । माटो परीक्षणमा सूक्ष्म जैविक तत्वको कमी पाइएकाले यही वर्ष एक सय ट्र्याक्टर गोठे मल हालिने सहकारीले जनाएको छ । माटोमा अम्लीयपन भने नभएको पाइएको छ । निलुवा पशुपालन र खेतीपातीका लागि उर्बर ठाउँ हो । त्यसलाई पहिलेपहिले गोठथरीका रुपमा चिनिन्थ्यो । किसान पशुचौपाया लगेर महिनौँसम्म त्यही गोठथरीमा बस्थे । खेतीपाती गर्थे । पछिल्लो समय भने त्यो चलन हराउँदै गयो । जसका कारण बारी बाँझै पल्टिए । गोठ रित्तिए । निलुवामा ८० भन्दा बढी परम्परागत खरका गोठ छन् । परम्परागत कृषि प्रणालीको झल्को दिने पुराना संरचनालाई संरक्षण गर्ने योजना पनि सहकारीले अघि सारेको छ । जग्गा चक्लाबन्दीमा क्रममा जीर्ण अवस्थामा रहेका १५ वटा गोठ नासिएको जनाइएको छ । वैदेशिक रोजगार, बजारमा निर्भरता, श्रमको अभावजस्ता कारणले कृषिमा आकर्षण घटेका बेला चक्लाबन्दी कार्यक्रमले गाउँका किसानलाई लाभ पु¥याउने गलकोट नगरपालिकाका कृृषि शाखा प्रमुख हरिदत्त सुवेदीले बताउनुभयो । धेरै कित्ता र स्वामित्वमा बाँडिएको जग्गामा ठूलो लगानीको कृषि व्यवसाय गर्न कठिनाइ हुने उहाँको भनाइ छ । “चक्लाबन्दी गरेर जग्गालाई एकीकृत गर्दा भूमिको सदुपयोग बढ्नुका साथै कृषि उत्पादनमा वृद्धि हुन्छ, यसबाट किसानको आयआर्जन थपिन्छ र रोजगारी पनि सिर्जना हुन्छ”, प्रमुख सुवेदीले भन्नभयो । नगरप्रमुख भरत शर्मा गैरेले व्यावसायिक कृषि उत्पादनको केन्द्रसँगै निलुवालाई पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न लगानी र पहल भइरहेको बताउनुभयो । नगरपालिकालगायतको सहयोगमा निलुवा पर्यटकीय क्षेत्र प्रवद्र्धन केन्द्रले त्यहाँ पूर्वाधार निर्माण र प्रवद्र्धनका काम गरिरहेको छ । केही वर्षअघि त्यहाँ मह शिकार महोत्सवकोसमेत आयोजना गरिएको थियो । निलुवामा ५०० मिटर अग्लो महभिर छ । रैथाने वास्तुशैलीका गोठ, मनोरम भू–बनोट, लोभलाग्दो हावापानी र हिमाली दृश्य निलुवाका आकर्षण हुन् ।
काठमाण्डौँ ः नेपाल प्रहरीले अदालत परिसरबाट फरार व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आइतबार साँझ जिल्ला अदालत काठमाडौँमा म्याद थपका लागि लैजाने क्रममा फरार रहेका सप्तरी कचन गाउँपालिका घर भई हाल काठमाडौँको तिलगङ्गा बस्दै आएका अनिल ठाकुरलाई गए राति पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले लागुऔषध मुद्दामा म्याद थपका लागि अदालतबाट फरार ठाकुरलाई तीन घण्टापछि कोटेश्वरस्थित आकाशे पुल नजिकबाट पक्राउ गरिएको जानकारी दिनुभयो । अदालतबाट फरार भएसँगै काठमाडौँ प्रहरीले ललितपुर र भक्तपुर प्रहरीलाई समेत खबर गरी सूक्ष्म तवरले जाँच गर्ने व्यवस्था गरेको थियो । यस्तै, काठमाडौँको प्रमुख नाकामा सुरक्षा व्यवस्था कडा पारिएको प्रवक्ता मैनालीले बताउनुभयो । जिल्ला प्रहरी परिसरको विशेष प्रहरी एकाइ र प्रहरी प्रभाग कोटेश्वरको टोलीले पक्राउ गरेका ठाकुरलाई प्रहरी वृत्त गौशालामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाण्डौँ : नेपालमा उत्पादित कुरिलो अन्तर्राष्ट्रिय बजारमा समेत पुग्न थालेको छ । भरतपुर महानगरपालिका–२५ निवासी सुमन सुवेदीले उत्पादन गर्नुभएको कुरिलो अहिले दुबई र कतार पुगेको छ । एस पारा प्रालिका सञ्चालक सुवेदीले साताको दुई पटक आफ्नो उत्पादन बिक्रीका लागि विदेशसम्म जाने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँको उत्पादन विदेशसम्म पुग्ने गरेको छ । मेरोमा किन्न आउनेमध्ये एक जना विदेशी ग्राहक छन् । उनले सातामा दुई पटक कुरिलो लाने गरेका छन् ।” एक पटकमा ५० किलो कुरिलो विदेश जाने गरेको उहाँले भनाइ छ । आफूहरुले सिधै कुरिलो विदेश पठाउन भने नपाएको उहाँको गुनासो छ । विगत छ वर्षदेखि कुरिलो उत्पादन गर्दै आउनुभएका सुवेदीले अहिले दैनिक ३० जनालाई रोजगारी दिँदै आउनुभएको छ । कुरिलो व्यवसाय दुई बिगाह क्षेत्रफलमा गर्दै आउनुभएका सुवेदीले क्षेत्रफल बढाउने तयारीमा रहेको जानकारी दिनुभयो । कुरिलो व्यवसायबाट मात्रै वार्षिक रु २० लाख आम्दानी गर्ने गरेको उहाँले बताउनुभयो । वार्षिक १५ हजार किलो कुरिलो बिक्री गर्ने गरेको उहाँको भनाइ छ । भरतपुर महानगरमा व्यावसायिकरुपमा कुरिलो खेती आफूले मात्रै गरेको बताउदै उहाँले उत्पादनको समयमा बजार मूल्य नपाउँदा समस्या हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कुरिलो उत्पादनका लागि वैशाखदेखि भदौसम्मको समय उत्तम भए पनि सोही समयमा मूल्यमा गिरावट हुने गरेको छ ।” बजारमा स्वस्थ प्रतिस्पर्धा नहुँदा समस्या रहेको उहाँले गुनसो गर्नुभयो । अहिले बजारमा कुरिलोको मूल्य प्रतिकिलो रु ३०० रहेको छ । कुरिलो मात्रै नभएर तरकारीमा विचौलिया नियन्त्रण हुनसके राम्रो मुनाफा हुने उहाँले जानकारी दिनुभयो । आफू २५ वर्षको उमेरदेखि कृषि कर्ममा लागेको बताउँदै उहाँले नेपालमानै काम गरे विदेशको भन्दा राम्रो आम्दानी लिन सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “कहिले नाफा कहिले घाटा बेहोर्न सक्नुपर्छ । विदेश जानुपर्ने अवस्था आउँदैन ।” उहाँले १८ बिगाह क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ । सो जग्गामध्ये दुई बिगाह आफ्नो हो भने अन्य जग्गा भाडामा लिएर व्यावसायिक रुपमा तरकारी खेती गर्नुभएको हो । सुवेदीको बारीमा अहिले काँक्रो, फर्सी, घिरौला, चिचिन्डा, बोडी, लौकालगायतका तारकारी उत्पादन भइरहेका छन् । उत्पादित तरकारीको अहिले बजार मूल्य न्यून रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “तरकारीको मूल्यको कुरा गर्नेहो भने लागत मूल्य पनि उठ्न कठिन छ ।” बुबाआमाले विसं २०५० देखि गर्दै आएको यो व्यवसाय भएकाले आफूले यसलाई व्यावसायिकरुप दिएको उहाँको भनाई छ । कुरिलो र तरकारीलाई व्यावसायिकरुपमा खेती गर्दै गर्दा पनि अहिलेसम्म राज्यका कुनै निकायको यसतर्फ ध्यान जान नसकेको उहाँको गुनासो छ । उहाँले भन्नुभयो, “राज्यले कृषिमा दिने अनुदान किसानको हितमा छैन ।” शक्तिको आडका आधारमा अनुदान दिइने गरेको जनाउँदै उहाँले वास्तविक किसानले अहिलेसम्म अनुदान पाउन नसकेको बताउनुभयो ।
खोटाङ : बर्सात सुरु भएसँगै आएको भलबाढी तथा पहिरोका कारण जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट अन्तरपालिका जोड्ने सबै ग्रामीण सडक अवरुद्ध भएका छन् । कच्ची अवस्थामा सञ्चालन हुँदै आएको जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध भएपछि दिक्तेल बजार तथा तराईका जिल्ला एवं संघीय राजधानी काठमाडौँ आवतजावत गर्ने यात्रु समस्यामा परेका छन् । हिउँदको समयमा जिल्लाका दशवटै स्थानीय तहमा यातायात सञ्चालन भए पनि अहिले दिक्तेल–काठमाडौँ, दिक्तेल–इटहरी–विराटनगर र दिक्तेल भोजपुर सडकमा मात्र यातायात सञ्चालनमा रहेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले जानकारी दिनुभयो । “कच्ची अवस्थामा सञ्चालन हुँदै आएको सबै ग्रामीण सडक भारी वर्षाका कारण अवरुद्ध भएको छ”, उहाँले भन्नुभयो, “बर्सेनि अवरुद्ध हुँदै आएको सडक बाह्रै महिना सञ्चालनमा ल्याउन सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।” दिक्तेल–बाक्सिला, दिक्तेल–एैँसेलुखर्क, दिक्तेल–पाथेका, दिक्तेल–खार्मी, दिक्तेल–मात्तिम–पञ्चमी, दिक्तेल–रेग्मीटार–रसुवा सडक पूर्ण अवरुद्ध बनेको यातायात व्यवसायीले बताएका छन् । अवरुद्ध ग्रामीण सडक पुनः मर्मत गरेर सञ्चालनमा ल्याउनेबारे अहिलेसम्म कसैको ध्यान नगएको यातायात व्यवसायीको आरोप छ । गत वर्षको तुलनामा यस वर्ष छिटो बर्सात सुरु भएको र लगातारको वर्षादका कारण जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध भएको महासचिव हिङ्माङले बताउनुभयो । यस वर्ष चैतबाटै जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध भएको हो । अवरुद्ध ग्रामीण सडक दशैँअघि सञ्चालन हुने अवस्था छैन । जिल्लाका दशवटै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा निर्माण गरिएका ग्रामीण सडकलाई बाह्रै महिना सञ्चालनमा ल्याउने प्रयास गरे पनि अहिलेसम्म सफल हुन सकेको छैन । सगरमाथा राजमार्गअन्तर्गत तराईका जिल्ला जोड्ने दिक्तेल–गाईघाट सडक खण्डसमेत अवरुद्ध भएकाले आवतजावत तथा दैनिक उपभोग्य वस्तु ढुवानीमा समस्या भएको छ । कालोपत्रको काम सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने समय बितेको लामो समयसम्म पनि ठेकेदार कम्पनीको लापरवाहीका कारण उक्त दिक्तेल–गाईघाट सडक अहिले अलपत्र अवस्थामा छ । कालोपत्र गरेर सञ्चालनमा ल्याइएको दिक्तेल–काठमाडौँ सडकसमेत लगातारको वर्षाका कारण पटकपटक अवरुद्ध हुँदै आएको छ । मध्यपहाडी लोकमार्गमा पर्ने उक्त सडक खण्डको विभिन्न ठाउँमा पहिरो झरिरहनुका साथै भलबाढीले अवरुद्ध हुने गरेको यातायात व्यवसायीले बताएका छन् । यसैबीच, ढलानको काम सुरु गरिएको दिक्तेल बजारको सडकबीचैमा अलपत्र बनेको छ । दिक्तेलस्थित रत्नपार्कको किराँतचोकदेखि सरस्वती माविको प्रवेशद्वारसम्म ढालन गरिएपनि त्यसभन्दा तत्लो भेगको सडक अलपत्र बनेको हो । ढलानको कामबीचैमा छाडेर ठेकेदार कम्पनीले सडक अलपत्र बनाएपछि सबैभन्दा बढी किनमेलका लागि बजार आवतजावत गर्ने ग्राहक तथा विद्यार्थीलाई सास्ती भएको छ । कच्ची अवस्थामा सञ्चालन हुँदै आएको सडक ढलानका लागि स्काभेटर लगाएर सम्याइएको ठाउँमा लगातारको वर्षासँगै भलबाढी आएपछि खाल्डाखुल्डी हुनुका साथै हिल्लाम्मे हुँदा आवतजावतमा समस्या भएको हो । जिल्लाका दशवटै स्थानीय तहको केन्द्र दिक्तेल बजार ढलानका लागि सघन सहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुङ्गाको रु दुई करोड ६८ लाख लागतमा दिक्तेल बजारस्थित सिँचाइ गेटदेखि नेपाल टेलिकमसम्मको सडक ढलानको काम सुरु गरिएको थियो । मध्यपहाडी लोकमार्गले छोएको दिक्तेल बजारको सडक ढिलै भए पनि ढलान हुने भएपछि स्थानीय बासिन्दा हर्षित भए पनि अहिले अलपत्र बनेको हो । हप्ताको दुई पटक बुधबार र शनिबार हटिया लाग्ने दिक्तेल बजारको सडकमा अहिले हिउँदको समयमा धुलो र बर्सातको समयमा हिलोका कारण समस्या हुने गरेको छ । निर्माणाधीन सडक अलपत्र पार्ने ठेकेदार कम्पनीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले लिखितरुपमा पत्राचार गरेर तत्काल रोकिएको काम अगाडि बढाउन निर्देशन दिए पनि निर्माणको काम अगाडि बढाइएको छैन ।
म्याग्दी : वन्यजन्तुको उपभोगका लागि म्याग्दीका सामुदायिक वनमा पोखरी निर्माण भएको छ । डिभिजन वन कार्यालयले चालु आर्थिक वर्ष २०७८/७९ मा जिल्लाका दशवटा सामुदायिक वनमा वन्यजन्तुले पानी पिउने पोखरी निर्माण गरेको हो । मानव र वन्यजन्तुको द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले सामुदायिक वन उपभोक्ता समूहमार्फत पोखरी निर्माण भएको कार्यालयका सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले जानकारी दिनुभयो । “वन्यजन्तु पानी र आहारको खोजीमा मानव बस्तीमा नआउन भनेर जङ्गलमै पोखरी बनाइएको हो”, उहाँले भन्नुभयो, “वनमै पानी र आहार भएपछि वन्यजन्तु मानव बस्तीमा नआउने र द्वन्द्व व्यवस्थापनमा सहयोग पुग्ने उद्देश्यले पोखरी बनाइएको हो ।” सहायक वन अधिकृत क्षेत्रीका अनुसार पोखरी बनाउन कार्यालयमा १७ सामुदायिक वन समूहले प्रस्ताव गरेकोमा छनोट भएका दशवटै समूहले कार्य सम्पन्न गरेका हुन् । प्रतिपोखरी निर्माणका लागि रु एक लाखका दरले बजेट विनियोजन भएकोमा प्रशासनिक खर्च कटाएर रु ९६ हजारका दरले भुक्तानी गरिएको सहायक वन अधिकृत क्षेत्रीले बताउनुभयो । बेनी –९ को गलेश्वर ठूलो सल्लेरी, घोर्लास, धौलागिरि–७ को धारापानी, रघुगङ्गा–२ को कृष्ण तालाबन्दी, मङ्गला–२ को सल्यान सल्लेरी, भदौरेपाखा, रघुगङ्गा–८ को उत्तिसिने, बेनपा–५ को भेडाखोर, पानी पँधेरो देपुर्नेआटी, मङ्गला–३ र ४ को टाड बिसाउना सामुदायिक वनमा पोखरी निर्माण भएको डिभिजन वन अधिकृत मनोज रानाभाटले बताउनुभयो । ६२.७५ वर्गमिटर क्षेत्रफलमा निर्माण भएका सबै पोखरीको क्षमता ६१ हजार लिटर छ । टाड बिसाउना सामुदायिक वन धापुङका दलवीर पुनले जङ्गलको बीचमा खाडल खनेर बनाएको पोखरीमा नजिकैको मुहानबाट पाइपमार्फत पानी लगेर सङ्कलन गरिएको जानकारी दिनुभयो । पोखरी निर्माणले जैविक विविधता संरक्षण, जलवायु अनुकूलन तथा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा योगदान पुग्ने उहाँको भनाइ छ । घोर्लास सामुदायिक वन उपभोक्ता समूह तोरीपानीका ज्ञानबहादुर विकले पोखरीले जङ्गलमा पानीको स्रोत संरक्षण र चिस्यान कायम गराउन सहयोग पुगेकोे बताउनुभयो । जङ्गलमा निर्माण भएको पोखरीको पानीले डढेलो लागेमा यसलाई निभाउन पनि सहज हुने उहाँले बताउनुभयो । पछिल्लो समय रतुवा, मृग, बाँदर, चितुवालगायत वन्यजन्तु मानव बस्तीमा आएर क्षति पुर्याउन थालेका छन् । आहार र पानीका लागि बस्ती नजिक आउने रतुवा, मृतलगायत वन्यजन्तु खोज्दै मानव बस्तीमा पुग्ने चितुवाले मानिस र घरपालुवा जनावरलाई आक्रमण गर्न थालेका बताइएको छ ।
सिन्धुपाल्चोक : मेलम्ची क्षेत्रमा जडान गरिएको पूर्वसूचना प्रणाली (साइरन) को अवस्था परीक्षण गरिएको छ । मनसुनको समयमा हुनसक्ने सम्भावित जोखिमबाट सचेत गराउन गत आवमा मेलम्ची नगरपालिकाको तालामाराङ, मेलम्ची बजार र बाहुनेपाटी बजारमा जडान गरिएको साइरनको अवस्था परीक्षण गरिएको हो । मेलम्ची नगरपालिकाका वातावरण अधिकृत सुजन दुलाल भन्नुभयो, “यसबाट मनसुनको समयमा हुनसक्ने सम्भावित विपद्को जोखिमलाई कम गरी जनधनको क्षतिलाई कम गर्न सहयोग मिल्छ ।” मेलम्चीले गत असारको विनाशकारी बाढीपश्चात् आफ्नै लगानी तथा रामलक्ष्मण इनोभेसन प्रालिको सहयोगमा ‘अर्ली वार्निङ सिस्टम’ (पूर्व चेतावनी प्रणाली) साइरन प्रविधि जडान गरेको थियो । यसैबीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले भौतिक पूर्वाधारसँगै गुणस्तरीय शिक्षामा ध्यान दिन आग्रह गर्नुभएको छ । आइतबार जय बागेश्वरी माध्यमिक विद्यालय हेलम्बु–३ पाल्चोकको नवनिर्मित भवनको शुभारम्भ गर्दै उहाँले प्रतिस्पर्धामा सफल हुने गरी विद्यार्थीलाई अध्यापन गराउन आग्रह गर्नुभयो । उहाँले नेपाली कांग्रेसले हुने र सक्ने काम मात्र बोल्ने जनाउँदै बोलेको काम पूरा गर्ने बताउनुभयो । ‘शिक्षा विकास तथा समन्वय एकाइ’को रु ६९ लाख ७० हजार सहयोगमा सो भवन निर्माण सम्पन्न भएको हो ।
पोखरा: ब्रेकिङ बाउण्ड्रिज एमसिसी अन्तर विद्यालय छात्र/छात्रा क्रिकेट प्रतियोगिता अन्र्तगत छात्रतर्फ अम्मरसिंह तथा छात्रातर्फ भद्रकाली मावि विजयी भएका छन् । पोखरा क्रिकेट एकेडमीको आयोजना तथा मेरोलिवोन क्रिकेट क्लब फाउण्डेशन युके र किडासा युकेको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगिताको फाइनलमा छात्रतर्फ अम्मरसिंहले बाराही माविलाई ७६ रनको फराकिलो अन्तरले पराजित गरेको हो । पहिला व्याटिङ गरेको अम्मरसिंहले पुरा २० ओभरमा ८ विकेट गुमाएर १ सय २२ रनको योगफल तयार पारेको थियो । अम्मरसिंहका सुमन पन्तले २९ रन जोडे । भद्रकालिका बलर अशोक रेग्मीले ४ तथा मनोज कार्कीले ३ विकेट लिए । जितका लागि १ सय २३ रनको लक्ष्य पछ्याएको बाराहीले ४६ रनमै सम्पूर्ण विकेट गुमाएको थियो । अम्मरसिंहका सुदिप भट्टराईले ५ विकेट लिए । छात्रातर्फ भद्रकालीले कालिकालाई २ विकेटले पराजित गर्दै उपाधि जितेको हो । पहिला व्याटिङ गरेको कालिकाले ३५ रन बनाएको थियो । ३६ रनको चुनौती पछ्याएको भद्रकालीले ८ ओभरमा ९ विकेट गुमाउँदै विजयी लक्ष्य प्राप्त गर्यो । भद्रकालिका श्रद्धा गुरुङ्गले ६ विकेट लिइन् । प्रतियोगितामा छात्रतर्फ अम्मरसिंहका सुदिप भट्टराई सर्वोत्कृष्ट खेलाडी बन्दा बाराहीका अशोक रेग्मी उत्कृष्ट बलर र बाराहीकै मनोज कार्की उत्कृष्ट व्याट्स्म्यान भए । छात्रातर्फ अम्मरसिंहकी सजना खत्री सर्वोत्कृष्ट खेलाडी, श्रीकृष्ण माविका मंजली थापा उत्कृष्ट बलर तथा कालिकाकी रिया गुरुङ्ग वेष्ट व्याट्सउमन बनिन् । विजयी खेलाडीहरुलाई गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज गुरुङ्ग, किडासाका सिइओ जेनिस मिलर, नेपाल क्रिकेट संघका कार्यवाहक महासचिव प्रशान्त विक्रम मल्ल, केन्द्रिय सदस्य ऋषिराम गौतम, गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेन्द्र प्रजु, स्पोर्टस फर अलका खड्क रानाभाट, आयोजक समितिका अध्यक्ष बविन कुँवर, कास्की जिल्ला क्रिकेट संघका कोषाध्यक्ष विरेन पुन लगायतले ट्रफि मेडल प्रमाणपत्र पुरस्कार वितरण गरेका थिए ।
पोखरा: ललितपुर मुख्यालय भइ पोखराको नयाँगाउँमा शाखा कार्यालय रहेको ’ग्लो सँस्था’ ले पोखरा –१५ फलेपाटन स्थित श्री सिद्ध उच्च माविका ५२ जना विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा अध्ययनरत ५२ जना विपन्न बालबालिकालाई पठनपाठनमा सहज होस् भन्दै झोला, स्कुल ड्रेस, जुत्ता कापी, किताब लगायतका शैक्षिक सामग्री वितरण गरिएको हो । कार्यक्रममा बोल्दै सँस्थाका संयोजक आगमन राज पौडेलले वार्षीक रुपमा सँस्थाले शैक्षिक सामग्रीहरु वितरण गर्दै आइरहेको बताए । उनले बालबालिकाका लागि मात्र नभएर सीप सिकेर आत्मनिर्भर बन्न चाहने विपन्न तथा बेरोजगार महिला दिदीबहिनीहरु र एकल महिलाका लागि आगामी साउन महिनादेखि निशुल्क सिलाई तालिम शुरु गर्न लागिएको बताए । यस्तै, विद्यालयका प्रधानाध्यापक गुरुदत्त कोइरालाले ग्लो सँस्थाले विद्यालयमा धेरै सहयोगका कार्यक्रमहरु ल्याएको भन्दै कार्यक्रम मार्फत विभिन्न विद्यालय, विद्यालय प्रशासन, विद्यार्थी तथा अभिभावकसँग सम्बन्ध जोड्ने काम गरेको बताए । सँस्थाले यसअघि पनि विद्यार्थीहरुका लागि जाडोमा न्यानो लुगा, स्टेशनरी सामाग्री, जुत्ता, पोशाक, खाजा तथा कम्प्युटर सिक्नका लागि कार्यक्रमहरु संचालन गरेको भन्दै यस्ता सेवा लिएका विद्यार्थीले अझ लगनशिल, मिहेनत र इमान्दारिताका साथ पढाईमा ध्यान दिएर भविष्यमा योग्य नागरिक बन्नुपर्नेमा जोड दिए । शैक्षिक सामाग्री वितरण कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं –१५ का वडाध्यक्ष तोरण बहादुर बानियाँले आर्थिक अभावका कारण पढ्न नपाएका बालबालिकाको पढ्न पाउने अधिकार पूरा गर्ने बताए । २०५२ सालदेखि उक्त सँस्थाले विद्यालयमा विभिन्न सहयोगका कार्यक्रमहरु संचालन गर्दै आइरहेकोमा त्यसको निरन्तरता स्वरूप केहीवर्ष देखि छात्रवृत्ति कार्यक्रम शुरु गरेकोमा उनले खुशी व्यक्त गरे। बानियाँले शैक्षिक सामग्री पाएका बालबालिकाका अभिभावकहरुले पनि अब जिम्मेवार भएर आफ्ना बाबुनानीहरुको पढाई, उनीहरुको आनिबानी र संगतका बारेमा ध्यान दिँदै अगाडि बढाउन प्रेरित गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा वडाध्यक्ष तोरण बहादुर बानियाँ र कार्यपालिका सदस्य मन्दिरा परियारले ५२ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका थिए भने, व्यवस्थापक सरस्वती गिरी, संयोजक आगमन राज पौडेल र प्रधानाध्यापक गुरुदत्त कोइरालाले सामग्री वितरण कार्यमा सहयोग गरेका थिए ।
पोखरा: नाटक ‘केस नम्बर ३११’ मञ्चन जारी रहेको छ । गत शुक्रबारबाट पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन भइरहेको नाटक असार ११ गतेसम्म मञ्चन हुनेछ । नाटक पोखरा थिएटरको प्रस्तुतिमा तयार भएको हो । यो नाटकको लेखन तथा निर्देशन पोखरा थिएटरको व्याच ४ र व्याच ५ का प्रशिक्षार्थीले गरेका हुन् । सहजकर्ताको रुपमा पोखरा थिएटरका अध्यक्ष परिवर्तनले सघाउनु भएको छ । नाटकमा झलक थापा, सुशिल बराल, मनिषा के.सी, अदित भुजेल र एलिसा भोगले अभिनय गर्नुभएको छ । यसैगरी गोपाल भुषाल, अनामिका रिजाल, प्रतीक राउत, प्रतिभा रिमाल, पाल्मती थापा, कमल तामाङ, दिप्सना विश्वकर्मा, सुरज तिवारी तथा दिव्य अमृतको अभिनय समेत हेर्न पाइनेछ । नाटक बुधबार बाहेक हरेक दिन साँझ सवा पाँच बजे मञ्चन गरिनेछ । यसका अलावा शनिबार र आइतबार दिउँसो १ बजे समेत नाटक हेर्न पाइन्छ । यो नाटकको परिकल्पना दिव्य अमृत, दिप्सना विश्वकर्मा, सुशिल बरालले गर्नुभएको हो । हिंसाले पिडितमा पार्न सक्ने मानसिक असरलाई चित्रण गर्ने अभिप्रायले समसामयिक विषयमा नाटक तयार पार्न खोजेको निर्देशकत्रयको भनाई छ । नाटक हेरिसकेपछि महिला हिंसा र मनोविज्ञानका सम्बन्धमा नयाँ अवधारणा बन्ने उहाँहरुको अपेक्षा हो । पोखरा थिएटरमा पहिलो पटक इम्प्रोभाइजेस्नल विधिबाट नाटक तयार पारिएको हो । नाटकमा महिलामाथि हुने घटना र घटनाले पार्ने मानसिक असरलाई नयाँ तरिकाले प्रस्तुत गरिएको छ । यो नाटकले मूलतः डिसोसियटिभ आइडेन्टीटी डिसअर्डरको खोजि गर्न प्रेरित गरेको छ । कलाकारको मेहनतका कारण नाटक आकर्षक बनेको छ । नाटक हेर्न पुगेका दर्शकको प्रतिक्रियाका कारण कलाकार समेत उत्साहित बनेका छन् ।