काठमाण्डौँ : नेपाल प्रज्ञा प्रतिष्ठानको ६५औँ वार्षिकोत्सवको अवसर पारेर पठन संस्कृतिको विकास गर्ने उद्देश्यले १५ दिने पुस्तक प्रदर्शनी आयोजना गरिएको छ । प्रदर्शनीमा प्रतिष्ठानले २०३० सालदेखि २०७९ को जेठसम्म प्रकाशन भएका पुस्तक बिक्रीमा राखेको हो । रु तीनदेखि रु दुई हजार ७० सम्म मूल्यका पुस्तक प्रदर्शनीमा राखिएको जनाइएको छ । आज सुरु भएको प्रदर्शनी यही असार १९ गतेसम्म प्रतिष्ठानको भानुभक्त कक्षमा चल्ने छ । प्रदर्शनीमा भाषा, साहित्य, बाल साहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद र दर्शनलगायत विषयसँग सम्बन्धित पुस्तक र कविता, प्रज्ञा, समकालीन साहित्य, थायभू, आँगन लगायतका धेरै विषयका पठनीय एवं अति उपयोगी करिब ५०० थरिका पुस्तक एवं पत्रपत्रिका समावेश गरिएको छ । नेपाली बृहत् शब्दकोश र प्रज्ञा नेपाली अङ्ग्रेजी शब्दकोशलगायत शब्दकोषमा १५ प्रतिशत छुटको व्यवस्था रहेको छ । प्रतिष्ठानबाट सुरु प्रकाशन भएदेखि २०७९ सालसम्मका पुस्तकमा ४० प्रतिशतसम्म छुटको व्यवस्था रहेको जानकारी पनि व्यवस्थापक सुधीर ढङ्गेलले दिनुभयो । माटोको ममता, महेन्द्र प्रवचन माला जस्ता रु तीनदेखि नेपाली बृहत् शब्दकोषको रु एक हजार ८९५ सम्मका पुस्तक प्रदर्शनीमा राखिएको उहाँले बताउनुभयो । यसभन्दा अघिका प्रदर्शनीमा साहित्यमा अनुसन्धान गरिरहेका विद्यार्थी बढी पुस्तक किन्न आउने गरेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले वर्षमा कम्तीमा तीन पटक पुस्तक प्रदर्शनी आयोजना गर्ने गरेको छ । पृथ्वी जयन्तीको अवसर पारेर पुस, नयाँ वर्षको अवसर पारेर वैशाख र प्रतिष्ठानको वार्षिकोत्सवको अवसर पारेर असारमा प्रदर्शनी आयोजना हुने गरेको छ । प्रदर्शनीमा बाल साहित्यका पनि धेरै पुस्तक बिक्री हुने गरेका छन् । दैनिक ३०० सयभन्दा बढी पाठक प्रदशर्नी अवोकन गर्न आउने गरेका छन् । दैनिक रु २० हजार बराबरका पुस्तक बिक्री हुने गरेको समेत व्यवस्थापक ढुङ्गेलले बताउनुभयो । यसपटकको प्रदर्शनीमा प्रतिष्ठानले हालै प्रकाशनमा ल्याएका ‘आधुनिक नेपाली नारी कथा’, ‘पूर्वी नेपालका मालिक लोकभाका’, विशेश्वरप्रसाद कोइरालाको उपन्यास ‘हिटलर र यहुदी’ को अङ्ग्रेजी संस्करण, यादव खरेलको ‘यस्तै रहेछ यहाँको चलन’, विष्णुप्रसाद शर्मा पराजुलीको ‘कर्णालीमा प्रचलित दर्शन परम्परा’,केशवशरण अर्यालले तात्पर्य चण्डिका व्याख्यासहित नेपाली अनुवाद गर्नुभएको ‘प्रशस्तपादभाष्य’, डा सर्वराज आचार्यको ‘भानुभक्तको जीवनीका मतान्तरको तुलनात्मक विश्लेषण’, अनुवादक गोपाल अश्क र सम्पादक प्रा डा उषा ठाकुरको ‘प्रज्ञा नेपाली समालोचना’ को हिन्दी अनुवाद पुस्तक पनि प्रदर्शनीमा राखिएको छ । यसैगरी पुरुषोत्तम चौधरीको ‘थारु अभिचार पद्दति’, डा मुकुन्द शर्माको ‘नेपाल भाषाको दाफा भजन’ र नेपाल भाषाका महाकवि गिरिजाप्रसाद जोशीले लेख्नुभएको तथा नारद बज्राचार्यले अनुवाद गर्नुभएको ‘विपात्र’ उपन्यास पनि प्रदर्शनीमा राखिएको प्रतिष्ठानले जनाएको छ । प्रदर्शनीको उद्घाटन गर्दै नेपाल प्रज्ञा –प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले हरेक नेपालीका हात हातमा पुस्तक पु¥याउन प्रदर्शनी आयोजना गरी प्रचारप्रसार गरिएको जानकारी दिनुभयो । यस्ता प्रदर्शनीले पठन संस्कृतिलाई जोड दिन सहयोग गर्ने उहाँको भनाइ छ । प्रज्ञाबाट प्रकाशित पुस्तक विशेष भएकाले साझा प्रकाशन र निजी प्रकाशनमार्फत सातै प्रदेशमा पु¥याएर प्रज्ञाको गरिमा बढाउन लागिएको जनाइएको छ । हरेक नेपालीको हात र मनमा प्रज्ञाका पुस्तक पुर्याउने अभियानका रुपमा पनि प्रदर्शनीलाई अघि बढाइएको छ ।
काठमाण्डौँ ः नेपाल धितोपत्र बोर्ड सम्बद्ध कर्मचारी युनियनले लगानीकर्ताका तर्फबाट राखिएका कतिपय माग बोर्डको कार्यक्षेत्रभन्दा बाहिरका विषय भएको स्पष्ट पारेको छ । धितोपत्र बजारको सुधारको माग राख्दै विगत केही दिनदेखि जारी आन्दोलनप्रति आज धारणा सार्वजनिक गर्दै कर्मचारी युनियनले वित्तीय बजारका अन्य नियमनकारी निकाय र नेपाल सरकार अर्थ मन्त्रालयको पहलकदमीमा मात्रै माग सम्बोधन हुनसक्ने स्पष्ट पारेको छ । युनियनका अध्यक्ष राजुबहादुर जिसी र वरिष्ठ उपाध्यक्ष गौरव विष्टले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिअनुसार बोर्ड आफैले पूरा गर्न सक्ने लगानीकर्ताका यथोचित माग यथाशीघ्र सम्बोधन गर्न बोर्ड नेतृत्व समक्ष र अन्य माग सम्बोधन गर्न नेपाल सरकार समक्ष माग गर्दै कार्यालय परिसरको सुरक्षा एवं बोर्डका कर्मचारीलाई सुरक्षित कार्यस्थललको प्रत्याभूति गराउन माग गरेको छ । बोर्डमा नयाँ नेतृत्व भर्खरै आएको र देखिएका समस्या समाधानका लागि प्रयास गरिरहेको उल्लेख गर्दै यूनियनले कार्यालय परिसरमा जारी राखिएको आमरण अनशनलाई बोर्डको कर्मचारी यूनियनले गम्भीरताका साथ लिएको विज्ञप्तिमा उल्लेख छ ।
काठमाण्डौँ : मदन भण्डारी स्पोर्टस एकेडेमीले ७१औँ मदन जयन्तीको अवसरमा विभिन्न विधामा राष्ट्रव्यापी खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको छ । एकेडेमीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहकार्यमा क्रिकेट, भलिबल, रेस्लिङ, बुद्धिचाल, बास्केटबल, फुल कन्ट्याक कराते र तेक्वान्दो प्रतियोगिताको आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार भैरहवा, दमक, वीरगन्ज र जनकपुरमा ट्यालेन्ट हन्टसहित यु–१४, यू–१६ र यु–१८ क्रिकेट प्रतियोगिता हुनेछ । क्रिकेट यही असार २० गतेसम्म सञ्चालन हुनेछ । क्रिकेटको विजेताले रु ३० हजार पाउनेछ भने दोस्रो हुने टोलीले रु २० हजार हात पार्नेछ । त्यसैगरी खुला कलेजस्तरीय भलिबल प्रतियोगिता असार ८ देखि १३ गतेसम्म काठमाडौँमा र बुटवलमा असार ११ देखि १३ गतेसम्म हुनेछ । झापामा असार १८ गते रेस्लिङ प्रतियोगिता हुनेछ । बुटवल र काठमाडौँमा असार ११ देखि १६ गतेसम्म विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिता सञ्चालन गरिनेछ । यस्तै अन्तर कलेज उपत्यकास्तरीय बास्केटबल असार १५ देखि १७ गतेसम्म काठमाडौँमा हुनेछ । असार १७ र १८ गते राष्ट्रियस्तरको फूल कन्ट्याक्ट कराते काठमाडौँमा हुनेछ भने असार २० र २१ गते उपत्यकास्तरीय तेक्वान्दो प्रतियोगिता ललितपुरमा हुनेछ । यस्तै असार २२ गते काठमाडौँमा विभिन्न खेल विधाका प्रशिक्षक एवं व्यवस्थापकलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
काठमाण्डौँ : सत्तारुढ नेकपा(माओवादी केन्द्र) सम्बद्ध नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको अध्यक्षमा मणिरत्न श्रेष्ठ चयन हुनुभएको छ । राजधानीमा शनिबारदेखि जारी केन्द्रीय समितिको बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । यस्तै महासचिवमा प्रेम खनाल चयन हुनुभएको छ । महासङ्घले आगामी माघमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । महासङ्घको कूल १५५ सदस्यीय केन्द्रीय समिति रहेको छ । स्थानीय र प्रदेश समिति पनि छिट्टै चयन गर्ने महासङ्घले जनाएको छ । आज बिहान मात्रै माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै कर्मचारीलाई देश र जनताको हितमा काम गर्न निर्देशन दिनुभएको थियो । उहाँले सङ्घीय निजामती विधेयक पारित हुन नदिन निजामती कर्मचारी भित्रैको उच्च नेतृत्व लागिपरेकाले त्यसकाविरुद्ध सङ्घर्ष गर्न आग्रह गर्नुभएको थियो । महासङ्घका फ्याक्सन इञ्चार्जसमेत रहनुभएका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देश र जनताको हित र भलो चिताइ आफ्नो भूमिका इमान्दार भएर निर्वाह गर्न कर्मचारीलाई निर्देशन दिनुभएको थियो । देशभरका कर्मचारीको ट्रेड युनियनमध्ये महासङ्घ पनि एक हो ।
भरतपुर : चितवन र आसपासका क्षेत्रमा भरपर्दो विद्युत् सेवा प्रदान गर्ने लक्ष्यका साथ सुरु भएको नयाँ भरतपुर २२०र१३२ किलोभोल्ट (केभी) सवस्टेसनको निर्माण करिब ८० प्रतिशत सकिएको छ । भरतपुर महानगरपालिका–११ आँपटारीमा निर्माणाधीन सवस्टेसन निर्माण दुई महिनाभित्रमा सम्पन्न गरी सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतका निर्माणाधीन सवस्टेसनको मुख्य सिभिल संरचनाको काम अन्तिम चरणमा छ । ‘ग्यास इन्सुलेटेड सवस्टेसन (जिआइएस)’ प्रविधिमा आधारित सवस्टेसनका अधिकांश उपकरण निर्माणस्थलमा ल्याइसकिएको छ । अब ती उपकरणको जडान मात्र बाँकी छ । सवस्टेसनमा १६०र१६० एमभिए क्षमताका दुई वटा पावर ट्रान्सफर्मर रहने छन् । पावर ट्रान्सफर्मर राख्ने सिभिल संरचना निर्माण भइसकेको छ भने ट्रान्सफर्मर जडान गर्न बाँकी छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सवस्टेसन निर्माणस्थलको भ्रमण गरी दुई महिनाभित्र काम सम्पन्न गर्न आग्रह गर्नुभएको छ । आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीसँग निर्माण प्रगति बेहोरिरहेको समस्यालगायतका विषयमा छलफल गरी दुई महिनाभित्र सवस्टेसन सञ्चालनमा ल्याउन निर्देशन दिनुभयो । आयोजनाअन्तर्गत नयाँ भरतपुर र लमजुङको उदीपुरमा सवस्टेसन निर्माणका लागि भारतीय कम्पनी एल एण्ड टीसँग करिब दुई वर्षअघि ठेक्का सम्झौता भएको थियो । कोभिड–१९ को महामारीका कारण सवस्टेसन निर्माण प्रभावित भएको थियो । तनहुँमा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजना पनि नयाँ भरतपुर सवस्टेसनमा नै जोडिनेछ । मस्र्याङ्दी र त्यसका सहायक नदीबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार ६०० मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ । चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको डबल सर्किट प्रसारण लाइनको लम्बाइ करिब ११३ किलोमिटर छ । आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सवस्टेशनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ । दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदीपुर सवस्टेशन निर्माणाधीन छन् । तेस्रो प्याकेजअन्तर्गत खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुई वटा सवस्टेसन निर्माण भइरहेको छ । यस प्याकेजअन्तर्गत खुदी र धारापानीमा सबस्टेसन निर्माणाधीन छन् । नेपाल सरकारको लगानी र युरोपेली लगानी बैंक (इआइबी)को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १६ अर्ब रुपैयाँ छ ।
हुम्ला : हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको एक विद्यालयको छात्रबासमा बस्दै आएका ठूलो सङख्याका विद्यार्थीलाई ठेउला (चिकेनफक्स) रोग देखिएको आशङ्का गरिएको छ । वडा नं ४ को याल्वाङ गाउँको महाबौद्ध माध्यमिक विद्यालयका विद्यार्थीमा ठेउलासँग मिल्ने लक्षण देखिएकाले उक्त रोगको आशङ्का गरिएको हो । स्वास्थ्यसेवा कार्यालयका प्रमुख प्रेमबहादुुर सिंहले एक विद्यार्थीमा देखिएकोे ठेउला अन्य ५७ विद्यार्थीमा सरेको बताउनुभयो । विद्यार्थीमा लागेको रोगको लक्षण पूरै ठेउलासँग मिल्दोजुल्दो रहेको देखिएको हो, उहाँले भन्नुभयो । ती विद्यार्थीका अनुुहार, शरीर र पाखुुराभरि ठेउला जस्तै फोका आएका छन् । बिरामी विद्यार्थीको शरीरमा देखिएको लक्षण हेर्दा ठेउला भएको हुनसक्ने भएकाले उपचार गर्न र परीक्षणका लागि नमूना सङ्कलन गर्न चिकित्सकको एक टोली विद्यालयतर्फ लागेको छ । चिकित्सकबाट परीक्षण गरेपछि त्यसको आधिकारिक पुष्टि हुने भन्दै बिरामी विद्यार्थीलाई आइसोलेसनमा राखिएको बताइएको छ । विद्यालयमा पुुगेपछि बिरामी विद्यार्थीको उपचार र नमूना सङ्कलनसँगै गरिने भएको छ। यसको जानकारी विश्व स्वास्थ्य सङ्गठन र सुर्खेतस्थित रोग नियन्त्रण महाशाखालाई गराइसकिएको छ । स्वास्थ्य सेवा कार्यालयका अनुसार यो भाइरसबाट सर्ने सरुवा रोग भएका कारण अन्य मानिसमा सर्ने डर छ ।
पोखरा: पोखरा महानगरपालिका १४ स्थित सेती दोभानमा एक युवकको शव फेला परेको छ । सेती नदी किनारमा आज बिहान करिब ११ बजे सडेगलेको अवस्थामा शव फेला परेको हो । अन्दाजी २५/२६ वर्षको उक्त शवको सनाखत हुन नसकेको कास्की प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरिक्षक किरण रावत नेतृत्व टोलीले मुचुल्का गरि उक्त शव पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान पठाइएको बताइएको छ ।
काठमाण्डौँ : अर्थमन्त्री जनार्दन शर्मासँग विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले विश्व बैंकसँग लामो समयदेखि रही आएको सम्बन्ध र विकास साझेदारीको स्मरण गर्दै सहयोगको प्रशंसा गर्नुभयो । “नेपालको विकास प्रयासमा विश्व बैंक लामो समयदेखि एउटा भरपर्दो साझेदार संस्थाका रूपमा रहिआएको छ”, भेटमा उहाँले भन्नुभयो । विश्व बैंकले कोभिड–१९ पछिको परिस्थितिसँग जुध्न प्रदान गरेको १२२ मिलियन अमेरिकी डलर बराबरको वित्तीय सहयोगका लागि मन्त्री शर्माले धन्यवाद दिनुभएको थियो । पछिल्लो समय नेपालका लागि विश्व बैंकको वित्तीय सहयोग उल्लेखनीयरूपमा बढ्दै गएको छ । सन् १९६९ मा १६।९ लाख अमेरिकी डलरको वित्तीय सहयोगबाट नेपालसँग विश्व बैंकको सहकार्य सुरु भएको थियो । विश्व बैंकसँग हालसम्म तीन अर्ब अमेरिकी डलर बराबरको २५ आयोजनामा सहकार्य भएको छ । केही महत्वपूर्ण आयोजना सम्झौताको चरणमा रहेको र हाल सञ्चालित आयोजना निक्कै महत्वपूर्ण र दूरगामी प्रकृतिको रहेको मन्त्री शर्माले बताउनुभयो । “विश्व बैंकसँगको वित्तीय सहकार्यमा सञ्चालित आयोजना समयमै सम्पन्न गरी सोको लाभ जनतालाई हस्तान्तरण गर्न हामी सबैको प्रयास रहनेछ”, मन्त्री शर्माले भन्नुभयो । सो अवसरमा आर्थिक वर्ष २०७९र८० को बजेट मूलतः आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित भएको उहाँले जानकारी गराउनुभएको थियो । “मैले भर्खर प्रस्तुत गरेको बजेटका माध्यमबाट अर्थतन्त्रलाई आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र बञ्चितीकरणबाट समावेशीतातर्फ लाने गरी प्रस्थान बिन्दुका रुपमा उल्लेख गरेको छु”, उहाँले भन्नुभयो । सो अवसरमाा विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले बजेट समावेशी र सबै क्षेत्रलाई समेट्ने गरी आएकामा खुसी लागेको बताउनुभयो । उहाँले नेपालको विकास साझेदारका रुपमा सहभागी हुन पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा पनि वित्तीय सहयोगमार्फत नेपालको समग्र विकास प्रणालीमा सघाउ पुर्याउने जानकारी गराउनुभएको थियो ।
चितवन : चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघको गतिविधि बढेसँगै नियन्त्रणमा लिइएका बाघले यहाँका खोर भरिएका छन् । हाल कसरामा दुईवटा र सौराहामा दुई खोरमा बाघ रहेका छन् । थप बाघ नियन्त्रण गर्नुपरेमा खोरमा रहेका बाघलाई छोड्नु वा अन्यत्र पठाउनुको विकल्प निकुञ्जसँग छैन । निकुञ्जको मुख्य कार्यालय कसरामा दुईवटा खोरमा बाघ छन् । तीमध्ये एउटा बाँकेबाट ल्याइएको झण्डै आठ वर्षको भाले बाघ हो । दोस्रो निकुञ्जकै देवनगर वेलसहर सामुदायिक वनमा दुई वर्षअघि नियन्त्रणमा लिइएको अन्दाजी १० वर्षको भाले बाघ हो । निकुञ्जको वन्यजन्तु अस्पताल सौराहामा यही वैशाख २७ गते राप्तीबाट नियन्त्रणमा लिइएको अन्दाजी १० वर्षको भाले बाघ रहेको छ । निकुञ्जका अनुसार भरतपुरको राधाकृष्ण सामुदायिक वनमा गएको बिहीबार नियन्त्रणमा लिइएको अन्दाजी सात वर्षको भाले बाघ वन्यजन्तु अस्पतालको खोरमा राखिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार कसरामा दुईवटा बाघ अट्ने गरी एउटा खोर बन्दै छ । झण्डै एक महिनामा सक्ने गरी काम भइरहेको उहाँले जानकारी दिनुभयो । कसरामा रहेका दुई खोरमध्ये एउटा कच्ची खोर हो भने एउटा पक्की हो । कच्चीलाई पनि मर्मत गरेर तयारी अवस्थामा राखिँदै छ । हाल सो खोरमा बाघ रहेकाले छोडेपछि वा नयाँमा सारेपछि खोरको मर्मत गरिने छ । आचार्यले भन्नुभयो, “तत्काल बाघ नियन्त्रण गर्नुपर्ने भएमा हामीसँग ठाउँ छैन । भइरहेकालाई अवस्था हेरेर छोड्नुको विकल्प छैन ।” यसवर्ष धेरै बाघ नियन्त्रणमा लिनुपर्ने अवस्था आएको उहाँले जानकारी दिनुभयो । चालू आर्थिक वर्षमा हालसम्म बाघको आक्रमणबाट १६ जनाको मृत्यु भएको छ । जसमध्ये एक जना कर्मचारीको निकुञ्जभित्र मृत्यु भएको हो । दुई जनाको दाउन्नेको जङ्गलमा र १३ जनाको मध्यवर्ती वन क्षेत्रमा बाघले खाएर मृत्यु भएको हो । उहाँका अनुसार साउनयता चार वटा बाघलाई नियन्त्रणमा लिइएर खोरमा राखिएको थियो । तीमध्ये एउटा छोडेपछि मरेको छ भने अर्को एउटालाई छोडेर अनुगमन गरिँदै आएको छ । बाघको आक्रमणबाट धेरै मानिसको मृत्यु भएको यो हालसम्मको उच्चदर हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार अघिल्लो आर्थिक वर्षमा बाघको आक्रमणबाट पाँच जनाको मृत्यु भएको थियो । बाघको सङ्ख्या बढेका कारण बाघ धेरै देखिएको र घटना भएको अनुमान गरिएको छ । सन् २०१८ मा गरिएको गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा बाघ रहेका थिए । त्यतिबेला देशभरको सङ्ख्या २३५ रहेको थियो । यस वर्ष बाघ गणना भइसकेको छ । विश्व बाघ दिवसको अवसरमा तथ्याङ्क सार्वजनिक गरिँदै छ ।