दार्चुला : अपिहिमाल गाउँपालिका–३ पाथामा बिजुली बत्ती बलेको छ । निर्माण सुरु भएको छ वर्षपछि १०० किलोवाट क्षमताको विद्युत् आयोजनाबाट बत्ती बलेको हो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा पाथाको घट्टेखोलामा निर्माण भएको विद्युतको सफल परीक्षण गरिएको छ । विद्युत गाउँपालिकाका प्राविधिक समुद्रसिंह धामीको टोलीले सफल परीक्षण गरेको हो । विद्युत् परीक्षण सफल भई लामो प्रयासपछि दुर्गम पाथामा बत्ती बलेपछि स्थानीयवासी खुसी छन् । अहिलेलाई पाथा र घाजिरमा विद्युत् दिइएको विद्युत् निर्माण समितिका अध्यक्ष नन्दनसिंह धामीले जानकारी दिनुभयो । अपिहिमाल– ३ र ४ का लागि निर्माण सुरु गरिएको बत्ती अन्य बस्तीसम्म पुर्याउन केही ठाउँमा ट्रान्सफर्मर जडान र शाखा लाइन विस्तार हुनसकेको छैन । हाइटेन्सन लाइन जडान गरिएको भए पनि शाखा लाइन जडान नहुँदा अन्य बस्तीसम्म विद्यूत् पुर्याउन केही समय लाग्ने उहाँले बताउनुभयो । सडक नपुगेको पाथामा विद्युत् निर्माण गर्न झण्डै रु सात करोड लागत खर्च भएको छ । यसमा केन्द्रले रु दुई करोड ८५ लाख, गाउँपालिकाले रु एक करोड ९२ लाख, सङ्घीय सांसदको सांसद विकास कोषमार्फत रु ५० लाख तथा बाँकी रकम जनश्रमदानमार्फत विद्युत् निर्माण गरिएको अध्यक्ष धामीले जानकारी दिनुभयो । विद्युत् पूरै विस्तार भए दुई वडाका ६६६ घरधुरी लाभान्वित हुनेछन् । शाखा लाइन विस्तारका लागि गाउँपालिकाले आगामी वर्ष सहयोग गरे गाउँपालिका उज्यालो हुने उहाँको भनाइ छ । अघिल्लो सरकारले अपि उज्यालो कार्यक्रमअन्तर्गत विशेष प्राथमिकता दिएर विद्युतमा लगानी गरेको थियो । उज्यालो अपिअन्तर्गत अपिहिमाल–२ मा सौर्य विद्युत् जडान गर्ने तयारी छ । यस्तै अपिहिमाल –६ मा १०० किलोवाट क्षमताको जलविद्युत् निर्माणकार्य जारी छ । अपिहिमाल–५ मकरीगाडमा मकरीगाड हाइड्रोपावरले १० मेगावट क्षमताको विद्युत् निर्माणको अन्तिम चरणमा पु¥याएको छ ।
पोखरा: गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेटमा पहिलो प्राथमिकतामा कृषिलाई राखको छ । पोखरामा आज (बिहिबार) आयोजित पत्रकार सम्मेलनमार्फत पहिलो प्राथमिकतामा कृषि र पर्यटनलाई दोस्रो प्राथमिकतामा राखेको आर्थिक मामिला तथा योजनामन्त्री रामजी बरालले बताए । ‘पहिलोचोटी सरकार गठन हुदै गर्दा प्राथमिकतामा राखेको क्षेत्र पर्यटन र कृषि भन्ने कुरा विदितै छ, उनले भने, ‘कृषिलाई फोकस गरिएको छ । कृषिलाई समानिकरण, व्यवस्थित, व्यवसायिककरण, बजारीकरण र उत्पादन वृद्धि नगरिकन प्रदेशमा आयात हुनेको वस्तुहरु छन् तिनलाई क्रमश प्रतिस्थापन गर्नका लागि उत्पादनमै केन्द्रीत हुनुपर्छ । त्यसैले हामीले कृषिलाई बढि फोकस गरेका छौं ।’ मन्त्री बरालले गण्डकी प्रदेशमा कृषिसँगै पर्यटनको अत्याधिक संभावना रहेको बताउदै पर्यटलाई समेत दोस्रो प्राथमिकतामा राखेको बताए । ‘कृषिसँगै पर्यटनलाई पनि जोड्नपर्छ । यो हाम्रो गण्डकी प्रदेशसँग अन्तरसम्बन्धित विषय हो । त्यसका साथ अतिरिक्त स्वास्थ्य, शिक्षालाई पनि विशेष महत्वका साथ अगाडी बढाएका छौं, उनले भने, ‘त्यसैले यो कुरा प्रष्ट पार्न चाहान्छु कि बजेटको प्राथमिकता भनेको एक नम्बार कृषि र दुई नम्बरमा पर्यटन छ । तीन नम्बर स्वास्थ्य छ त्यसैगरि अर्काे भनेको शिक्षा छ । र पूर्वाधार पनि छ ।’ उनले हरेक क्षेत्रसँग पूर्वाधारले प्रत्यक्ष सरोकार राख्ने उल्लेख गर्दै पूर्वाधारको लागि पनि आवश्य बजेट विनियोजन गरेको बताए । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट घोषणा गरेको छ । चालु बजेटको तुलनामा यसपटक ६ अर्ब रुपैयाँ बढी विनियोजन गरिएको हो ।
काठमाण्डौँ : तीन दिनदेखि लगातार परेको वर्षासैँगै आएको बाढी पहिरोबाट त्रिपुरासुन्दरी र गङ्गाजमुना गाउँपालिकाको विभिन्न स्थानका ७५ घरपरिवार विस्थापित भएका छन् ।गङ्गाजमुना –६ बसेरीमा वर्षाका कारण २४ घर विस्थापित भएको छ । उनीहरूले गएरातिदेखि घर छाडेर अन्यत्र गएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार गङ्गाजमुना –६ बुढाथुममा १४, गङ्गाजमुना –५ फूलखर्कमा १४ घर, वडा नं २ रिमा १३ घर विस्थापित जनाइएको छ । विस्थापितका लागि त्रिपाल तथा टेन्टसमेत गाउँमा पुग्न नससकेको गाउँवासीले बताएका छन् । गङ्गाजमुना गाउँपालिका अध्यक्ष भक्त लामाले विपद् परेर विस्थापित भएकाहरूको सङ्ख्या धेरै रहेको जानकारी दिनुभयो । कच्ची सडक खन्दा ध्यान नदिएका कारण धेरै पहिरो आउँदा क्षति पुगेको नव निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीले बताउनुभयो । शुक्रबार बस्ने विपद् व्यवस्थापन समितिको बैठकले पहिरो पीडितलाई राहत उपलब्ध गराउन निर्णय गरिने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिनुभयो ।
भरतपुर : निगुरो टिप्न जाँदा बाघको आक्रमणमा परी एक जना बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका–२७ का २३ वर्षीया रेखा बस्नेतलाई आज बिहान बाघले आक्रमण गरेको हो । स्थानीय राधाकृष्ण सामुदायिक वनमा निगुरो टिप्न गएकामध्ये उनलाई बाघले आक्रमण गरको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार बाघले जङ्गलतर्फ लगेको भन्ने सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, नेपाली सेनासहितको टोलीले खोजीकार्य जारी राखेको छ । हराइरहेका बस्नेतको खोजीका लागि निकुञ्जबाट हात्ती मगाइएको उहाँले जानकारी दिनुभयो ।
तनहुँ : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ रुवाखोलामा पुलबाट आज बिहान ४ः३० बजे टिपर खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–६ मनपाङ बस्ने ४७ वर्षीय रामबहादुर दमै रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मुग्लिनतर्फबाट आँबुखैरेनी आउँदै गरेको ग१क ४४६९ नंको मिनी टिपर पुलबाट अनियन्त्रित भई २०/२५ मिटर तल खस्दा घाइते दमैको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार क्रममा बिहान ६ः१० बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।
धादिङ : त्रिभुवन विश्वविद्यालय इञ्जीनियरिङ अध्ययन संस्थानअन्तर्गत धादिङको बेनीघाट रोराङ–३ रिचोकटारका मनिष प्रजा अल्पसङ्ख्यक चेपाङ समुदायकै पहिलो सिभिल इञ्जीनियर बनेका बताइएको छ । सो संस्थानको गत जेठ ३० गते प्रकाशित नतिजाअनुसार बल्खुस्थित एड्भान्स इञ्जीनियरिङ कलेजबाट उहाँले सिभिल इञ्जीनियर उत्तीर्ण गर्नुभएको हो । । संस्थानाले एक महिनापछि ‘मार्कसिट’ दिनेछ । पिता तिलक चेपाङ र आमा लक्ष्मी चेपाङको कोखबाट विसं २०५५ मङ्सिर ६ गते जन्मिएका मनिष सानैदेखि पढाइमा अब्बल हुनुहुन्थ्यो । उहाँले प्रवेशिका परीक्षामा ८७ प्रतिशत अङ्क ल्याउनुभएको थियो भने विज्ञान विषय लिई अध्ययन गरेका मनिषले कक्षा १२ को परीक्षामा ८४ प्रतिशत अङ्कप्राप्त गरेका जनाइएको छ । नेपाल चेपाङ सङ्घ शिक्षा विभागको संयोजनमा चेपाङ समुदायका ५० बालबालिकालाई संस्थागत विद्यालयहरूको सङ्गठन प्याब्सन र एनप्याब्सनमार्फत सञ्चालित विद्यालयहरूमा निःशुल्क अध्ययन गर्ने व्यवस्था मिलाइएको संयोजक तिलक चेपाङले जानकारी दिनुभो । मलेखुस्थित पशुपति शिक्षा मन्दिरबाट विद्यालय जीवन सुरु गरेका मनिषले काठमाडौँको माउन्ट सिनाई स्कुलबाट ८७ प्रतिशत प्राप्ताङ्कसहित एसइइ उत्तीर्ण गर्नुभको हो । सरकारको सिफारिसमा छात्रवृत्तिसहित अध्ययान गर्नुभएका उहाँ नोबल एकेडेमीमा ८४ प्रतिशत ल्याएर उत्तीर्ण हुनुभयो । मनिष भविष्यमा सफल सिभिल इञ्जीनियर बनेर स्वदेशकै ग्रामीण सडक, पुल, जलविद्युत्, सुरुङ निर्माण क्षेत्रमा सेवा गर्न चाहनुहुन्छ। उहाँले लोकसेवा आयोग प्रतिस्पर्धा गरेर सरकारको पहिलो मुख्यसचिव बन्ने लक्ष्य लिएको बताउनुहुन्छ ।
काठमाण्डौँ : आर्थिक गतिविधिलाई चलायमान बनाउन एवं स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आजदेखि भृकुटीमण्डपमा ‘नेपाल चेम्बर एक्स्पो २०२२’ सुरु हुँदैछ । पाँचौँ संस्करणका रूपमा रहेको कमर्स मेलाको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ । कोभिड–१९ सङ्क्रमण जोखिमका कारण अघिल्ला दुई संस्करण भने रोकिएको थियो । पाँचौँ संस्करणमा व्यापारिक अन्तक्र्रिया, आयात निर्यातको सूचना आदान–प्रदान तथा नेपाली उत्पादनको बजारीकरणलाई जोड दिइएको चेम्बरले जनाएको छ । चेम्बर एक्सपोमा अन्तराष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक क्रियाकलाप, नवीन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न तथा नेपाली उद्योगी व्यवसायीहरूलाई सहयोेग मिल्ने चेम्बरले बताएको छ । मेलामा गुणस्तरीय सामान प्रयोग गर्न एवं उपभोक्ता हितसम्बन्धी जनचेतना अभिवृृद्धि गर्ने दायित्वलाई प्रदर्शनीले प्राथमिकता दिने अपेक्षा गरिएको छ । यस्तै निकासी अभिवृद्धि गर्नेमा पनि चेम्बर मेलाले सहयोग गर्ने विश्वास गरिएको छ । मेलामा घरेलु तथा स्वदेशी उत्पादनका साथै कृषि एवं जडीबुटीजन्य वस्तुहरू, इलोक्ट्रोनिक सामान, गार्मेन्ट्स एवं टेक्स्टायल, छाला जन्य वस्तुहरु, कस्मेटिक, खाद्य तथा दुग्धजन्य सामग्रीहरूको प्रदर्शनी एवं बिक्री गरिने आयोजक चेम्बरले जनाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय एवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा आयोजित अन्तर्राष्ट्रिय मेलामा बङ्गलादेश पार्टनर कन्ट्रीको रूपमा रहेको छ । मेलामा नेपाल, भारत, पाकिस्तानलगायत अन्य राष्ट्रका उद्योगी व्यवसायीसमेत गरी १५० बढी स्टलहरू रहेका छन् । कोभिड–१९ बाट शिथिल अर्थतन्त्रलाई क्रियाशील बनाउने उद्देश्यले विभिन्न राष्ट्रको सहभागितामा अन्तर्राष्ट्रिय एक्सपो आयोजना गरिएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताउनुभयो । अन्तर्राष्ट्रिय मेलाले नेपाली उत्पादनको बजारीकरण गर्न तथा अन्तर्राष्ट्रिय व्यापारिक समुदायलाई सहभागी गराई गतिशील आर्थिक वातावरण निर्माण गर्ने मुख्य उद्देश्य रहेको छ ।
बाँके ः धानको बीउमा हाल्ने रासायनिक मल नपाउँदा बाँकेका किसान निराश छन् । अबको केही दिनमा रोपाइँमा व्यस्त हुने यहाँका किसानले धानको ब्याडमा चाहिने मलका साथै रोपाइँपछि आवश्यक पर्ने युरिया र डिएपी मल हालसम्म पनि पाउन सकेका छैनन् । नेपालगञ्ज–१८ लग्दहवाका मनोजकुमार सोनकर ब्याडमा मल हाल्न नपाए बीउ नसप्रिने र उत्पादनमा कमी आउने बताउनुहुन्छ । ब्याडमा हाल्ने रासायनिक मल खरिदका लागि दैनिक सयौँ किसान नेपालगञ्जस्थित कृषि सामग्री कम्पनी पुग्ने गरेका छन् । उनीहरू रित्तो हात घर फर्किन बाध्य छन् । बीउमा हाल्ने मल नपाएपछि यहाँका किसान भारतीय बजार धाउन बाध्य भएको डुडुवा गाउँपालिका–६ हिरमिनियाका सावितराम यादवले बताउनुभयो । मुख्य बाली धानको ब्याडमा मल हाल्न नपाउँदा किसान चिन्तित बनेका उहाँको भनाइ छ । कृषि सामग्री कम्पनीमार्फत किसानलाई वितरण गरिने अनुदान सहुलियतको मल पर्याप्त आउन सकेको छैन । बाँकेमा धान खेतीका लागि एक हजार २०० मेट्रिक टन डिएपी, तीन हजार मेटिक टन युरिया र ५० मेट्रिक टन पोटास मल आवश्यक पर्छ । न्यून परिमाणमा मात्र मल प्राप्त भएको कार्यालय प्रमुख रमेश पौडेलले बताउनुभयो । हाल ३३५ टन डिएपी मल प्रदेश कार्यालय भैरहवाबाट प्राप्त भएको र सोहीअनुसार आउने क्रममा रहेको उहाँले बताउनुभयो । युरिया तथा पोटास धान रोपाइँको समयमा आउने प्रदेश कार्यालयले जनाएको छ । कार्यालयले बाँकेका १०७ सहकारी संस्थामार्फत किसानलाई मल वितरण गर्दै आएको छ । प्रदेश कार्यालय भैरहवाबाट प्राप्त भएको मल सबै स्थानीय तहमा वितरण गरिरहेको भए पनि आवश्यकता भन्दा न्यून मल पाएपछि किसानलाई कसरी मल वितरण गर्ने भन्ने समस्या भएको जनकल्याण सहकारी संस्था कोहलपुरका अध्यक्ष हरिबहादुर श्रेष्ठले बताउनुभयो ।
चितवन ः पूर्वी चितवनको खैरहनी नगर अस्पतालमा रेबिजविरुद्ध (एन्टी रेबिज) को खोप सेवा सुरु गरिएको छ । जिल्लामा भरतपुर अस्पतालमा मात्रै पाइने यो सेवा खैरहनी नगर अस्पतालले पहिलोपटक सुरु गरेको हो । खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माका अनुसार स्वास्थ्य मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा खोप सेवा सुरु गरिएको हो । दैनिकरुपमा यो सेवा लिन सकिने उहाँले जानकारी दिनुभयो । एन्टी रेबिज खोप हालसम्म जिल्लामा भरतपुर अस्पतालमा मात्रै पाइँदै आएकोमा पूर्वी चितवनका जनतालाई लक्षित गरी आफूहरुले सुरु गरेको उहाँले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत शर्माले यस सेवाबाट खैरहनी मात्रै नभएर पूर्वी चितवनका जनताले सेवा लिनसक्ने बताउनुभयो । यो खोप निःशुल्क पाइन्छ । कुकुर, बिरालो, स्याल, चमेराजस्ता जङ्गली तथा घरपालुवा जनावरको टोकाइबाट सर्ने रेबिज रोगलाई प्राणघातक मानिन्छ । रेबिज एक प्रकारको भाइरस हो ।