पोखरा:   गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाउनुभएको छ ।   पोखरा १७ सीतापाइला स्थित पोखरा वृद्धाश्रममा शनिबार बिहान पुगेर प्रदे...

काठमाडौं:  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमलाई स्थगित गरेको छ ।   अस्पतालका कार्यकारी निर्देशक डा दिनेश काफ्लेले आज सूचना जारी गर्दै सरकारको स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमवापतको रकम उपलब्ध नगराएकाले कार्यक्रम स्थगित गर्नुपरेको बताउनुभएको छ ।   “यस अस्पतालबाट सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बिमितको उपचार सेवा गरेवापतको रकम स्वास्थ्य बीमा बोर्डले उपलब्ध नगराएकाले असार १५ गतेदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरिएको छ”, सूचनामा भनिएको छ ।   अस्पतालले २०७७ साल मङ्सिरदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आइरहेको थियो ।

काठमाडौँ:  काठमाडौँको टोखा नगरपालिका–१० गोङ्गबुबाट संरक्षित वन्यजन्तु हिउँ चितुवाको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा धादिङ खानियाबास गाउँपालिका–२ झार्लुङका ४८ वर्षीय खार्पा तामाङ, धादिङ गङ्गाजमुना गाउँपालिका–६ आरुबोटेका ३९ वर्षीय सुकबहादुर घले र सोही गाउँपालिका–६ बस्ने ४१ वर्षीय सूर्यबहादुर घले रहेका छन् ।   गोंगबु क्षेत्रमा अवैधरुपमा संरक्षित वन्यजन्तुको आखेटोपहार ओसारपसार गरी खरिद बिक्री गर्न लागिएकोे सूचनाको आधारमा खोजतलासका लागि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।   खार्पाले बोकेको झोलाभित्र लुकाई छिपाई बेरेर राखेको अवस्थामा वन्यजन्तुको छाला फेला पारीएको र अनुसन्धानका क्रममा तीनै जना संलग्न रहेको पाइएको छ ।   उनीहरूलाई आवश्यक करवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौँमा बुझाइएको व्यूरोले आज एक सूचना जारी गरी जनाएको छ ।

पाल्पा:   जिल्ला समन्वय समिति पाल्पाको प्रमुखसहित सबै पदमा नेकपा एमालेको प्यानल विजयी भएको छ । आज सम्पन्न निर्वाचनको मत परिणामका अनुसार गठबन्धन दलका उम्मेदवारलाई पछि पार्दै नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका हुन् ।   मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाका अनुसार जिल्ला समन्वय समितिको प्रमुखमा ११ मत ल्याएर टङ्कनाथ खनाल विजयी भएका छन् ।  उनका प्रतिस्पर्धी गठबन्धन दलका साझा उम्मेदवार यमलाल तिमिल्सिनाले ९ मत ल्याएका थिए। यस्तै उप-प्रमुखमा एमालेकै काशिका गैरे (ज्ञवाली) निर्वाचित भएकी छन् ।   यस्तै सदस्यहरुमा बसन्ता ज्ञवाली, केशमाया सुनार, (दलित महिला दसस्य) विष्णुकुमारी कँडेल घिमिरे, केशबराज खराल, भविसरा (महिला सदस्य) सारु, रितमान श्रेष्ठ र प्रतापसिंह थापा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।   निर्वाचित सबै पदाधिकारीले ११ मत ल्याएका छन् ।  यस्तै गठबन्धन दलको तर्फबाट उम्मेद्वारी दिएका उम्मेदवारहरुले ९ मत ल्याएका थिए ।   यसैबीच निर्वाचित प्रमुख उपप्रमुख तथा सदस्यहरुका लागि प्रमाण पत्र वितरण र पथ तथा गोपनियताको सपथ ग्रहण पनि आजै सम्पन्न गरेको मुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसीले जानकारी दिए ।

काठमाडौँ:   चालु आर्थिक वर्षमा लक्ष्यको एक तिहाइ सडक मात्रै कालोपत्र हुने भएको छ । पूरक बजेट ढिला आउनु, कोभिड सङ्क्रमण नहट्नु र निर्माण व्यवसायीको ‘कन्सट्रक्सन होलिडे’ का कारण लक्ष्यभन्दा कम मात्रै सडक कालोपत्र हुने देखिएको हो ।   भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आवमा एक हजार ८०० किमी सडक कालोपत्रको लक्ष्य लिएको थियो । गत महिनासम्ममा झण्डै ६०० किमी मात्रै कालोपत्र गरिसकिएको सडक विभागका महानिर्देशक अर्नुनजङ्ग थापाले बताउनुभयो । आठ सय किमी सडक ग्राभेल गर्ने लक्ष्य लिइएकामा हालसम्म २९५ किमी सम्पन्न भएको छ ।   अहिले पनि ‘कन्सट्रक्सन होलिडे’का कारण निर्माण सुस्त छ । उहाँले भन्नुभयो, “यो महिनाको अन्तिमसम्ममा एक डेढ सयसम्म बढ््नसक्छ ।” गत महिनासम्ममा मन्त्रालयको भौतिक प्रगति ५५ प्रतिशत थियो । भुक्तानी कम भएकाले वित्तीय प्रगति भने झण्डै ३९ प्रतिशतमात्रै थियो । कतिपय योजनामा काम हुने तर बजेट नहुने र कतिपयमा बजेट हुने तर काम नहुने समस्या रहेको छ । काम भएको शीर्षकमा पैसा नभएमा काम नभएका शीर्षकबाट त्यसमा रकमान्तर गर्नुपर्ने हुन्छ । अर्थमन्त्रालयमा रकमान्तरका लागि अनुरोध गरिएको र मन्त्रालयले स्वीकृत गरेपछि भुक्तानी गरिने महानिर्देशक थापाले बताउनुभयो । चालु आवमा प्रगति ६० देखि ६५ प्रतिशत पुग्ने अनुमान गरिएको छ । गत वर्षमा सुरु विनियोजनअनुसार ७६ प्रतिशत प्रगति भएको थियो । चालु आवमा गत वर्ष जति प्रगति नहुने उहाँको भनाइ थियो ।   चालु आवमा पूरक बजेट तीन महिना ढिला भएकाले यकिन विनियोजन ढिला मात्रै थाहा भएको महानिर्देशक थापाले बताउनुभयो । पछिल्लो दुई वर्षदेखि कोभिड सङ्क्रमणका कारण निर्माणमा असर पुगिरहेको छ । चालु आवमा पनि सङ्क्रमणका कारण निर्माणमा अवरोध पुगेको भएको मन्त्रालयले जनाएको छ । अहिले युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थ, रड, छडलगायतको निर्माण सामग्रीको भाउ निकै बढेको छ ।   युद्ध अघि ती सामग्रीको भाउ अहिले दोब्बर भएपछि निर्माण व्यवसायीले ‘कन्सट्रक्सन होलिडे’ गरिरहेका छन् । महानिर्देशक थापाले भन्नुभयो, “व्यवसायीले अलकत्राको काम नगरेको, छडको काम कम गरेको र इन्धन लाग्ने काम कम गरेका छन् ।” सरकारले केही वर्ष यता बर्सेनि ३०० पुल निर्माणको लक्ष्य लिँदै आएको छ । गत महिनासम्ममा १०१ पुल निर्माण गरिएको थियो । अरु पुल पनि सम्पन्न भइरहेको महानिर्देशक थापाले बताउनुभयो । कतिपय पुलको मुख्य संरचना निर्माण सकिएर रेलिङ, रङ, पहुँच सडक बन्न बाँकी छ । उहाँले भन्नुभयो, “यो महिनामा गत वर्षभन्दा कम हुँदैन भन्ने विश्वास छ ।” अहिले निर्माणाधीन सडक र पुल समयमा नसकिएमा असार पछि अवधि थप गर्नुपर्ने हुनसक्ने सडक विभागले जनाएको छ ।   ठेक्काको अवधि थप्नका लागि कारण चाहिने महानिर्देशक थापाले बताउनुभयो । योजना समयमा नसकिनु नै प्रमुख कारण भएकाले त्यो अर्काे वर्षका लागि धकेलिन सक्ने उहाँको भनाइ थियो । समग्रमा सडकमा प्रगति कम भए पनि राष्ट्रिय गौरवको आयोजनामा भने चालु आवमा छुट्टाइएको रकमभन्दा बढी खर्च हुने देखिएको छ । अहिले नै ती आयोजनामा सुरुमा भएको विनियोजन रकम खर्च भइसकेको छ । भौतिक प्रगतिका आधारमा पनि उल्लेखीय काम भएको पाइएको विभागका महानिर्देशक थापाले बताउनुभयो ।   मदन भण्डारी राजमार्गमा चालु आवमा रु दुई अर्ब विनियोजन भएकामा हालसम्म रु साढे तीन अर्ब खर्च भइसकेको छ । सो आयोजनामा अझै एक डेढ अर्ब थप खर्च हुने देखिएको छ । हुलाकी राजमार्गमा पनि गत वर्षहरुमा जस्तै धेरै खर्च भएको उहाँले जानकारी दिनुभयो । मध्यपहाडीमा विभिन्न किसिमका विवादले तुलनात्मकरुपमा कम खर्च भएको छ । चालु आवमा लक्ष्यभन्दा कम प्रगति हुने देखिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले विनियोजन बजेट शिर्षकमाथि प्रतिनिधिसभाको बैठकमा बताउनुभएको थियो ।   सरकारले विगतमा सुरु गरेका कतिपय योजनाका स्तरोन्नति आगामी आवमा हुने उहाँले त्यसबखत जानकारी दिनुभएको थियो। चालु आवको पहिलो आठ महिनामा ३२५ किमी सडक कालोपत्र र ८० पुल निर्माण भएको सरकारले गत महिना सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । उक्त सर्वेक्षणअनुसार गत फागुनसम्ममा २६५ किमी सडक खण्डस्मिथ (ग्राभेल) भएको थियोे भने ९५ किमी मर्मत भएको थियो । हालसम्म १६ हजार ९३९ किमी कालोपत्र सडक र आठ हजार हजार ८२१ किमी कच्ची गरी सडकको लम्बाइ ३३ हजार ८७१ किमी पुगेको छ ।   गत असारसम्म १६ हजार ६१४ किमी कालोपत्र, आठ हजार ७१ किमी खण्डस्मिथ र आठ हजार ९३१ किमी कच्ची सडक बनेको थियो ।

पोखरा:  जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषध रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यसहित सप्ताहव्यापी सचेतना कार्यक्रम आयोजना गर्ने भएको छ ।    आगामी ६ गतेदेखि १२ गतेसम्म पोखरामा लागुऔषध विरुद्ध सप्ताहव्यापी सचेतना कार्यक्रम सञ्चालन गरिने आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक रमेश थापाले उक्त अभियानको मुख्य अभियन्ताको रुपमा र्‍यापर आशिष राना लाहुरे रहेको बताए ।  उनका अनुसार मुख्य कार्यक्रम ६ गते पोखरा सभागृहमा आयोजना हुनेछ । उक्त कार्यक्रममा र्‍यापर लाहुरेले प्रस्तुतीसँगै आफ्ना अनुभूती सुनाउनेछन् ।    एसपी थापाले लाहुरेको संलग्नता रहेको उक्त सचेतना कार्यक्रम नेपालमै पहिलोपटक आयोजना हुन लागेको दाबी गरे ।  कास्की प्रहरीले विगत देखि नै लागुऔषध विरुद्ध कार्यक्रम आयोजना गर्दै आएको बताउदै आगामी साता हुने उक्त कार्यक्रमले लागुऔषध नियन्त्रणमा सघाउ पुग्ने विश्वास व्यक्त गरेका थिए ।    लाहुरे भन्छन्, ‘आई डेयर, नो ड्रग्स’ लागुऔषध प्रयोग गर्दै आएका चर्चित र्‍यापर तथा कलाकार आशिष राना लाहुरेले कास्की प्रहरीको हिरासतमा ५६ दिन बिताए । त्यही समयमै उनले प्रण गरे र भने ‘आई डेयर, नो ड्रग्स’ ।  अहिले थुनामुक्त भएपछि कास्की प्रहरीको आयोजना र रिकभरी नेपालको सहयोगमा कार्यक्रम आयोजना गर्ने तालिका बन्यो । उक्त कार्यक्रमको अभियन्ता लाहुरे बनेका छन् ।   उनले पत्रकारहरुसमक्ष बोल्दै हिरासतकै समयमा कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले उनलाई कुलतबाट टाढा रहनुपर्ने भन्दै प्रेरित गरेको उनले बताए । ‘म यही कस्टडीमै हुदाँ खेरिपनि सरहरुको आएर बेलाबेलामा मटिभेसन दिनुहुन्थ्यो । मैले त्यो पोजेटिभिटी पाएर नै म पोजेटिभ भएर निस्केको हो, उनले भने, ‘म भित्र ५६ दिन बसे । त्यही समयमा सरहरुले भविष्यमा यसरी जानुपर्छ एज अ तिमी युवाहरुको भ्वाइस भएको हिसाबले त्यसो गर्दा समाजमा राम्रो रिजल्ट आउँछ भन्ने कारणले नै यो कार्यक्रममा भाग लिगेको हुँ ।’ र्‍यापर रानाले अब लागुऔषध प्रयोगकर्तालाई कुलतमुक्त बनाउने अभियानमा निरन्तर लाग्ने बताउदै आफ्नो नयाँ जीवनको सुरुवात भएको बताए । ‘यही नै मेरो नयाँ जीवनको सुरुवात हो । एक दिनमा एउटा राम्रो काम गर्दै जाऔं, उनले भने, ‘हाडवर्क र डेडिकेसन चाँही हुनुपर्छ । कामको मेहनत र फलहरु अनुसार दिन राम्रो हुदै जान्छ ।’    जन्मदिनमा लाहुरेको ‘बिरामी’को टिजर सार्वजनिक हुने चर्चित र्‍यापर तथा कलाकार आशिष राना लाहुरेले आफ्नो जन्मोत्वसको अवसरमा नयां गीत ‘बिरामी’ को टिजर सार्वजनिक गर्ने बताए ।   उनका अनुसार आगामी ११ गते नयाँ गीतको प्रोमो युट्युबमार्फत सार्वजनिक हुनेछ ।   सो गीतमा लागुऔषध रोकथाम तथा नियन्त्रण सम्बन्धि सन्देश र आफ्नो जीवनको अनुभूती समावेश गरिएको बताए । 

काठमाडौं:  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीमाथि गाली गलौज र हातपात गरेका छन्।   अध्यक्ष अधिकारीलाई आफ्नै कार्यकक्षमा बोलाएर पर्यटनमन्त्री आलेले अश्लील गालीगलौज गर्दै हातपात गरेको अन्नपूर्ण पोष्ट दैनिकले खबर छापेको छ। अन्नपूर्ण पोस्टले सार्वजनिक गरेको अडियोमासमेत पर्यटनमन्त्री आलेले अध्यक्ष अधिकारीलाई कार्यकक्षमै बोलाएर अश्लील गालीगलौज गरेको सुनिन्छ।   आफूले सिफारिस गरेका मान्छेलाई जागिर दिन ढिला गरेको भन्दै मन्त्री आलेले अध्यक्ष अधिकारीमाथि गालीगलौच र दुर्व्यवहार गरेको पर्यटन मन्त्रालय स्रोतलाई उदृत गर्दै अन्नपूर्ण पोस्टले खबर लेखेको छ।मन्त्री आलेले नेपाल एयरलाइन्समा ठूलो मात्रामा मान्छे राख्न (आफूले पठाएका व्यक्तिलाई जागिर दिन) अह्राएका थिए।   अध्यक्ष अधिकारीले केहीलाई जागिर लगाइसकेका थिए। केहीलाई लगाउने प्रक्रियामा थिए। सार्वजनिक भएको अडियोमा मन्त्री आलेले अधिकारीलाई धम्कीसमेत दिएका छन्।यसअघि टेलिफोनमा समेत मन्त्री आलेले अधिकारीलाई अश्लिल गाली गर्दै धम्की दिएका थिए।

काठमाडौं:  जल तथा मौसम विज्ञान विभागले मनसुनी वायुको प्रभावले देशको केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।   विभागले आगामी २४ घण्टाका प्रदेश नं १ र मधेस प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ । उक्त प्रदेशहरूको पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन÷यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि विभागले सबैमा अनुरोध गरेको छ ।   वर्षा नभएका क्षेत्रहरूमा तापक्रमको वृद्धिका कारण हुन सक्ने असरहरूबाट बच्न आवश्यक सतर्कता अपनाउनसमेत अपिल गरिएको छ । हाल प्रदेश नं १, मधेस प्रदेश, बागमती, गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा भई प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको छ ।   विभागका अनुसार प्रदेश नं १, मधेस प्रदेश, बागमती, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरुमा आंशिक बदली रहनेछ ।   प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका केही, लुम्बिनी प्रदेशका थोरै र अन्य प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश नं १ र मधेस प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको रहेको छ ।

कैलाली:  कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।   गए राति गोदावरी नगरपालिका–६ लालपुरमा सुपप्र०१०१०प ९६०३ नंको मोटरसाइकल दुर्घटना हुँदा चालक बाजुराका ३७ वर्षीय हिक्मतबहादुर रावलको मृत्यु भएको हो ।   जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार रावलको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा गए राति नै मृत्यु भएको हो । मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ ।

पोखरा :    पोखरा महानगरपालिका वडा नं. २६ ले आर्थिक बर्ष २०७९/०८० का लागि टोल टोलमा पुगेर योजना छनौट शुरु गरेको छ । वडाले विहिबार सक्नेरी वहुउद्देश्यी सामाजिक भवन, अर्घौ व्याडमिन्टन हल, पिपलवोट जल्धारे र स्याङजाली तमु समाज मद्दतको पाटनमा भेला राखेर योजना छनौट गरेको हो ।     टोलबाट प्राप्त भएका योजनाहरुलाई सूचीकृत गरी प्राथमिकता र आवश्यकताको आधारमा बजेट विनियोजन गरिने वडा अध्यक्ष नरेन्द्र थापाले बताए । वडा भेलालाई सम्वोधन गर्दै, अध्यक्ष थापाले वडा नं. २६ लाई महानगरकै उत्कृष्ट वनाउन सवैको सहयोगको खाँचो औल्याए ।    उनले विगतको बर्ष भन्दा यसपटक वडा विकासका लागि बजेटको सिलिङ बढेर आउने उल्लेख गर्दै, सवै योजना एकैपटकमा सम्पन्न गर्न संभव नभए पनि प्राथमिकताका आधारमा क्रमागत रुपमा अघि वढाईने बताए ।  पाँच बर्षका लागि जनताले सेवकका रुपमा आफ्नो नेतृत्वलाई अभिमत दिएको उल्लेख गर्दै, अध्यक्ष थापाले कार्यकाल सकिएपछि मुल्यांकन गर्न आग्रह गरे ।    कार्यक्रममा वडा सदस्य तिर्थबहादुर राजभाटले वडाको पिछडिएको ठाउँबाट विकासको शुरुवात गरिने उल्लेख गरे । अर्का वडा सदस्य लक्ष्मीदेवी भट्टराईले निर्वाचनमा जनताले दिएको विश्वासलाई खण्डित हुन नदिने उल्लेख गरीन् । वडा सदस्य सुदिपराज ढुंगानाले वडामा समन्यायिक विकास गरिने उल्लेख गर्दै, विकासमा विभेद नगरिने बताए ।  वडा सदस्य सुजता बराल सुनारले वडा भेलाले निर्वाचन पछि जनताको समस्या बुझ्ने अवसर जुटेको बताईन ।    भेलामा पूर्व न्यायाधिस बासुदेव न्यौपाने, नेपाली काग्रेस वडा इकाई सभापति शिव रानाभाट, एमालेका प्रमिला बराल भण्डारी, सुर्य प्रकाश ढुंगाना, रामकृष्ण जि.सि, शर्मिला सुनार, नेकपा माओवादीका मेघराज भण्डारी, नेकपा समाजवादीका मदन प्रकाश बराल, पोष्टराज बराल, राप्रपाका टिकाराम अधिकारी, राष्ट्रिय जनमोर्चाका हरि बराल, भवानी कालिका माविका पूर्व प्रधानाध्यापक हरिप्रसाद अधिकारी, जेष्ठ नागरिक विनिमाधव अधिकारी, स्याङजाली   तमु समाजका अध्यक्ष पूर्व लेप्लटेन मेन बहादुर गुरुङ्ग, सहनशिल आमा समूहका अध्यक्ष कल्पना नेपाली लगायतले योजना छनौटमा सुझाव दिएका थिए । वडा भेला वडा सचिव मीना भट्टराई भण्डारी, कर्मचारी नवराज सापकोटा, इञ्जिनियर राजेश ब    ञ्जरा लगायतले सहजीकरण गरेका थिए ।