तनहुँ : केही वर्षदेखि तनहुँमा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दो छ । बर्सेनि चितुवाको आक्रमणबाट मानिसको मृत्यु हुने र घाइते हुने क्रम रोकिएको छैन । केही दिनदेखि पुनः चितुवाको त्रास बढेको छ । अहिले बन्दीपुर गाउँपालिकामा चितुवाको आतङ्क बढेपछि स्थानीयवासी त्रसित बनेका छन् । बन्दीपुर गाउँपालिकामा चार दिनको अवधिमा तीन पटक चितुवाको आक्रमण भएको छ । चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ भने एक बालिका र एक पुरुष घाइते भएका छन् । मङ्गलबार घरको आँगनमै खेलिरहेका बेला चितुवाको आक्रमणमा परेर बन्दीपुर–१ का पाँच वर्षीय सुप्रिम रिलामीको मृत्यु भएको छ । चितुवाको आक्रमणमा परेका बालकको शव घरभन्दा दुई सय मिटरमाथि जङ्गलमा भेटिएको थियो । शनिबार बन्दीपुर–४ टावरमा चितुवाको आक्रमणमा परेर आठ वर्षीया रियाना थापा र आइतबार बन्दीपुर–१ मा ३५ वर्षीय भीमलाल गरञ्जा घाइते हुनुभएको थियो । चितुवाको आक्रमण बढेपछि स्थानीयवासी त्रसित बनेको बन्दीपुर–१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले बताउनुभयो । घरछेउमै चितुवाको आक्रमण हुन थालेपछि घरबाहिर निस्कन पनि डर हुन लागेको बन्दीपुर–४ का सन्तोष थापाले बताउनुभयो । बन्दीपुर गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष करुणा गुरुङले चितुवाको त्रास न्यूनीकरण गर्नका लागि सरोकारवाला निकायबाट अल्पाकालीन र दीर्घकालीन समाधान खोजिनुपर्ने बताउनुभयो । चितुवाको आक्रमण बढेपछि चितुवा नियन्त्रणका लागि खोर राखिए पनि खोरमा चितुवा पर्न सकेको छैन । डिभिजन वन कार्यालय तनहुँको सहयोगमा बन्दीपुर–१ बाघदलेमा आइतबार फलामे खोर राखिएको थियो । सहायक वन अधिकृत काशिराज पण्डितले चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउन, एक्लै नहिँड्न आग्रह गर्नुभयो । “चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाऔँ, झाडी सफा गरौँ, एक्लै नहिँडौँ,” उहाँले भन्नुभयो, “बच्चा तथा वृद्धहरुको विशेष ख्याल र रेखदेख गरौँ ।” मृग, वन कुखुरालगायत वन्यजन्तु मानिसले सिकार गरिदिँदा वनमा सिकारको अभाव भई चितुवाले मानिसको सिकार गर्न थालेको वनको भनाइ छ । “मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्नेतर्फ सबै लाग्नुपर्छ,” उहाँले भन्नुभयो । डिभिजन वन प्रमुख कोमलराज काफ्लेले भन्नुभयो, “चितुवा सक्रिय हुने समय र आनीबानी बुझ्न सकिए यसबाट बच्न सकिन्छ ।” चितुवाको आक्रमणबाट पाँच वर्षमा १२ बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणबाट ज्यान गुमाउनेमा १२ वर्षभन्दा कम उमेरका बालबालिका छन् ।
काठमाण्डौँ : विपद्को पूर्वतयारी नहुँदा मनसुन सुरु भएसँगै गौरीगञ्ज गाउँपालिका–१ होक्लाबाडी बस्तीका बासिन्दामा चिन्ता थपिन सुरु भएको छ । गत कात्तिकमा आएको बेमौसमी वर्षाका कारण कनकई नदीको बाँध फुटेर सो क्षेत्र टप्पुमा परिणत भएको छ । बस्तीको वरिपरि रहेका खोलामा बर्सातसँगै पानीको बहाव बढ्न थालेपछि उनीहरुलाई अब कसरी जीउधन बचाउने भन्ने चिन्ताले पिरोल्ने गरेको स्थानीयवासीको भनाइ छ । होक्लावाडी बस्तीको पूर्व र उत्तरमा कनकाई नदी, पश्चिममा बनियानी खोला बगिरहेको छ । बस्तीमा पूर्वबाट बाँध फुटाएर पसेको कनकाई नदी रोक्न जनताको तटबन्धन कार्यक्रमअन्तर्गत ६०० मिटर ढुङ्गा जालीको बाँध बाँधिएको छ । पूर्वत्तरमा भने बजेट अभावमा स्थानीयवासीले नै बोरामा बालुवा भरेर बाँसको टाटी लगाएर २०० मिटर अस्थायी कच्ची बाँध बनाएका छन् । “बालुवा न हो ठूलो पानी आउने बित्तिकै खोलाले लगिहाल्छ, ढुक्क हुने अवस्था छैन,” स्थानीयवासी राजभक्त सुनुवारले भन्नुभयो, “विपद्को पूर्वतयारी कहीँ कतैबाट अहिलेसम्म भएको छैन ।” उहाँका अनुसार सो क्षेत्रमा हाल १०३ घर परिवारको बसोबास छ । जिल्लाकै डुबान र बाढीको अति जोखिम स्थानका रुपमा रहेको होक्लाबाढीका बासिन्दा असार, साउन, भदौ महिनाभरि ढुक्कले सुत्न नसक्ने अवस्था रहेको बताउँछन् । वरिपरि खोला रहेकाले सो क्षेत्रका बासिन्दा बर्सातको समयमा ज्यान जोगाउनसमेत अन्यत्र जान नसक्ने बताउँछन् । स्थानीय जनप्रतिनिधिसमेत रहनुभएका सुनुवारले बस्तीमा खोला पसेपछि विगतदेखि अपाङ्ग, ज्येष्ठ नागरिक, सुत्केरी, महिला तथा बालबालिकालाई स्थानीय क्षेत्रमा रहेको इन्द्रेणी आधारभूत विद्यालयमा राख्ने गरेको बताउनुभयो । उहाँले इलामको राँके, कन्याम र मैनाचुलीमा रहेको बाढी मापन केन्द्रबाट खोलामा पानीको बहाव बढेको र सुरक्षित स्थानमा बस्नका लागि मोबाइलमा म्यासेज पठाएपछि स्कुलतिर सबैलाई बोलाउने गरेको बताउनुभयो । “मर्न कसैलाई मन हुँदैन, बाँच्नु त पर्यो नि”, उहाँले भन्नुभयो, “रात, साँझ केही भनी म्यासेज आएपछि सुरक्षित रहन स्कुलतिर जान्छौँ ।” उहाँका अनुसार जिल्लाका अन्य निकाय अझैसम्म गाउँमा आएर विपद् पूर्वतयारीका लागि आवश्यक तयार नगरे पनि लुथरन विश्व फेडेरेशन नेपालले भने सो क्षेत्रका बासिन्दाका समस्याबारे बुझ्ने, परामर्श दिने, छलफल गर्ने काम गरिरहेको बताउनुभयो । उहाँले बाढीबाट प्रभावित भएमा होक्लाबाडीवासीका लागि झूल, खाना पकाउने, एलपी ग्यासका सिलिन्डर, दाउरा, ओच्छ्याउनका लागि म्याट लगायतको व्यवस्था गरिदिएको बताउनुभयो । गाउँपालिका अध्यक्ष फूलमती राजवंशीले भने विपद् प्रकोप क्षेत्रको अनुसन्धान र चाहिने सामग्रीका बारेमा अध्ययन गर्न बाँकी रहेको बताउनुभयो । “अध्ययन गर्न बाँकी छ, प्रभावित क्षेत्रको अवस्थाबारे अहिले नै केही भन्न सक्दिन ।”उहाँले भन्नुभयो । विगतको तथ्याङ्कलाई हेर्ने हो भने पालिकाको वडा नं १ मात्र होइन छवटै वडा बाढीको जोखिममा छन् । जिल्लाको राजमार्ग उत्तरभन्दा दक्षिणी क्षेत्रमा बढी डुबान र कटान हुने गरेको नेपाल रेडक्रस सोसाइटी झापा जनाएको छ । रेडक्रसका अनुसार झापा, गौरीगञ्ज, कचनकवल र बाह्रदशी गाउँपालिका पानीको निकास जाने ठाउँ नहुँदा बढी डुबानको जोखिममा रहेका छन् ।
म्याग्दी : म्याग्दीमा मल र मजदुर नपाउँदा यहाँका कृषकलाई धानबाली लगाउन समस्या भएको छ । प्रमुख खाद्यबाली धान लगाउने याम शुरु भएपनि रासायनिक मलको आपुर्ति नहुँदा कृषक चिन्तित भएका हुन् । उच्च पहाडी र सिँचाइको सुविधा पुगेको क्षेत्रमा जेठको अन्तिम सातादेखि धान रोपाइ शुरु भएको छ । मल अभावमा यसपाली मकै र धानको उत्पादन प्रभावित हुने मंगला गाउँपालिका–२ का कृषक रामकुमारी खत्रीले चिन्ता गर्नुभयो । “मकैमा रासायनिक मल हाल्न पाइएन”, उहाँले भन्नुभयो “धान रोप्ने समय भएपनि मल नपाउँदा उत्पादन घट्ने चिन्ता छ ।” गाउँमा युवा जनशक्ति नहुँदा धान लगायत खेतीबाली लगाउन मजदुर अभावको समस्या देखिएको छ । अर्म, पर्म जस्ता खेतीबाली लगाउने गरिने सामाजिक परम्परा हराउँदै गएको मंगला–५ का मनबहादुर मगरले बताउनुभयो । “मजदुर पाइन छाडेपछि समथर फाँटमा गोरुको विकल्पमा ट्रयाक्टर र मिनिट्रेलरले खेतबारी खनजोत गर्न थालेका छौ”, उहाँले भन्नुभयो “खेतीबाली लगाउन र भित्र्याउन मजदुर नपाएर दुःख हुन थाल्यो ।” मजदुरलाई ज्याला दिएर लगाएको खेतीबाली मल अभाव, असिना, रोगकिराले उत्पादन बढाउन चुनौती भएको कृषक मगरको भनाइ छ । म्याग्दीको रणवाङ, छिसवाङ, पिपलबोट, घतान, पिप्ले, भगवती, घार, बरञ्जा, देविस्थान, ताकम लगायतका ठाउँका कृषक धानबाली लगाउन मलको प्रतिक्षामा छन् । धानसँगै बारीमा कोदो रोप्न थालेका छन् । तीन हजार ८८५ हेक्टरमा धान खेती हुन्छ । कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष १३ हजार ३६० मेट्रिक टन धान उत्पादन भएको थियो । नियमित वर्षा भएकाले सिँचाइ सुविधा पुगेको र पहाडी क्षेत्रमा कृषक धान रोपाइमा जुटेका कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरन सिग्देलले बताउनुभयो । वर्षा नियमित भएकाले कृषकलाई धान रोप्न सजिलो भएको उहाँको भनाइ छ । म्याग्दीमा गौरी, जेठो बुडो, जर्नेली, पहँले, मार्सि, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छ्रे, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २ लगायतका उन्नत जातका धान खेती हुने गर्छ । लेकाली क्षेत्रका कृषकले भिरालो जमिनमा गर्न सकिने र सिँचाइ आवश्यक नपर्ने घैया जातको धान खेती हुन्छ ।
हेटौडा : बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–१ पिप्लेकी २७ वर्षीया महिला रहेकी छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ घर भई हाल राप्ती नगरपालिका बस्ने ४५ वर्षीय पूर्णबहादुर घलानले बन्धन बनाएर शारीरिक यातना दिएकी ती महिलाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । काठमाडौँबाट चितवन राप्ती नगरपालिका–१ पिप्ले भाउजूको घर आएकी २७ वर्षिया महिला बाटो अलमलमा परेको बेला घलानले भाउजूको घर पु¥याइदिन्छु भनेर उनलाई बन्धक बनाएको प्रहरीले जनाएको छ । लामो समयसम्म आफ्नै घरमा राखी ती महिलालाई घलानले पटकपटक यौन हिंसा गरेका कारण रक्तस्राव भएपछि उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । घटनाको विषयमा जानकारी पाएपश्चात् मृतक महिलाको भाउजू भीमकुमारी तामाङले प्रहरीलाई खबर गरेको र पीडक हाल प्रहरीको नियन्त्रणमा रहेको कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।
कास्की: ‘स्वाद र स्वास्थ्य’ नारासहित सेवा प्रदान गर्दै आएको हट एण्ड स्पाइसीले आफ्नो नयाँ शाखा अमरसिंहमा विस्तार गरेको छ । पोखरा महानरपालिका १० अमरसिंहचोकस्थित मेगा बैंकसँगै हट एण्ड स्पाइसीले मायाज कस्टम केकसहित रेष्टुरेण्ट आज (बुधाबार) देखि सञ्चालनमा ल्याएको हो । उक्त रेष्टुरेण्टको उद्घाटन नवनिर्वाचित पोखरा १० का वडाध्यक्ष राजेश गुरुङले गरे । सो अवसरमा बोल्दै गुरुङले सफलताको शुभकामना व्यक्त गरे । विभिन्न ठाउँमा शाखाहरु विस्तार गर्नु आफैमा प्ररणादायी कार्य रहेको वडाध्यक्ष गुरुङले धारणा राखे । ‘यो त उदाहारणीय काम हो । सरकारले गर्न नसकेको काम तपाइहरुले गर्नुभएको छ, उनले भने, ‘२ सय भन्दा बढि कर्मचारीलाई रोजगार दिनुभएको छ । यतिमात्र नभई प्रशिक्षणको व्यवस्था पनि रहेछ जसले आत्मनिर्भर बन्न सघाउ पुग्छ ।’ वडाध्यक्ष गुरुङले युवाहरुलाई दक्ष र आत्मनिर्भर बनाउने काममा हट एण्ड स्पाइसीले योगदान दिएको भन्दै प्रशंसा गरेका थिए । हट एण्ड स्पाइसीले आफ्नो शाखाहरुलाई वर्गीकरण गरेको बताउदै पोखरामा ४ वटा क वर्गका शाखा रहेको सञ्चालक ज्ञान गुरुङले बताए । उनका अनुसार सेवाकेन्द्र क वर्गका शाखाहरु सहित पोखरामा एक दर्जन शाखाहरु रहेका छन् । उनले पोखराको बगर, नदीपुर, ड्यामसाइड, अमरसिंह लगायतको स्थानबाट सेवा प्रदान गर्दै आएको बताउदै भने, ‘हामीले अनलाइनमार्फत पनि खाजाका परिकारहरु डेलिभरी गर्छाै । बगको क्षेत्रबाट आयो भने बगरबाट सप्लाई हुन्छ । यस्तै जुन ठाउँबाट नजिक पर्छ त्यही आसपासको शाखाबाट खाजा उपलब्ध गर्दै आएका छौं ।’ उनले अमरसिंह क्षेत्रको ग्राहकलाई मध्यनगर गर्दै नयाँ शाखा सञ्चालनमा ल्याएको बताए । उनका अनुसार स्पाइसीले सन् २०१२ देखि सेवा सञ्चालन गरेको थियो । एक दशकसम्म सेवा प्रवाह गरेको यस रेष्टुरेण्टको शाखा गण्डकी प्रदेशका अधिकांश जिल्लाहरुमा विस्तार भैसकेको व्यवस्थापक सन्देश गुरुङले जानकारी दिए । उनका अनुसार सो कम्पनीमा करिब २ सय बढि कर्मचारी रहेका छन् । पाइदैन धुम्रपान र मध्यपानजन्य पदार्थ स्वाद र स्वास्थ्य’ भन्ने नारासहित सञ्चालनमा रहेको हट एण्ड स्पाइसी रेटुरेष्टमा मध्यपान जन्य र धुम्रपानजन्य पदार्थको विक्रि नगरिने सञ्चालक ज्ञान गुरुङले बताए । उनले ग्राहकको स्वास्थ्यलाई मध्यनजर गरि मध्यपान र धुम्रपान विक्रिमा प्रतिबन्ध लगाएको प्रष्ट पारे । ‘हाम्रो लक्ष्य नै स्वाद र स्वास्थ्य हो । उनले भने, ‘त्यसैले ग्राहकको स्वास्थ्यलाई ख्याल गर्दै हानिकार चिजबस्तुहरु विक्रि गर्दैनौं । मध्यपान र धुम्रपानको सेवाबाट हामी विल्कुल टाढा छौं ।’ उनले हट एण्ड स्पाइसीमा स्वास्थ्यबर्दक खाजाहरु प्रदान गर्दै आएकै कारण फरक पहिचान बनेको धारणा राखेका थिए ।
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्रीलाई अस्पताल भर्ना गरिएको छ । अस्वस्थ भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । दाङको तुल्सीपुरमा स्थानीय एकराज बस्नेतको घरमा पुगेर लफडा गरेपछि विवादमा तानिएकी मन्त्री खत्रीलाई बुटवल ल्याएर लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवालयका अनुसार मानसिक तनावका कारण स्वास्थ्यमा समस्या देखिएपछि खत्रीलाई अस्पताल भर्ना गरिएको हो ।
काठमाण्डौँ : नेपाल प्रहरीले ट्रिनिटी कलेजका सुरक्षा गार्डलाई खुकुरी प्रहार गर्ने चार विद्यार्थीलाई पक्राउ गरेको छ । प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरी टोलीले ट्रिनिटी कलेजका सुरक्षा गार्डलाई खुकुरी प्रहार गर्ने म्याग्दीका १८ वर्षीय जोसेन बानिया, रामेछापका १८ वर्षीय विपिन खत्री, ओखलढुङ्गाका १८ वर्षीय प्रतीक खतिवडा र काठमाडौँ टोखाका १८ वर्षीय प्रतीक खतिवडालाई मङ्गलबार पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले १० दिनपहिले कलेजमा बास्केटबल खेल्दा भएको विवादलाई लिएर कलेजमा दुई पक्षबीच भएको झैझगडा मिलाउने क्रममा रिसिवी साँधेर सुरक्षा गार्डमाथि खुकुरी प्रहार गरिएको अनुसन्धानमा खुलेको जानकारी दिनुभयो । विद्यार्थीको खुकुरी प्रहारबाट सुरक्षा गार्डको बायाँ कानमुनि चोट लागेको र उनको अहिले मोडल अस्पताल बागबजारमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उक्त घटनाको बारेमा प्रहरी वृत्त सिंहदरबारले अनुसन्धान गरिरहेको जनाएको छ ।
काठमाण्डौँ : प्रतिनिधिसभाको आजको बैठकमा काठमाडौँको वसन्तपुर डबलीमा अनशनरत बलात्कार पीडित भनिएकी निहारिका राजपुतलाई न्याय दिन माग गरिएको छ । आजको बैठकमा पूर्वमन्त्री तथा नेकपा (एमाले) का सांसद थममाया थापाले बलात्कारीलाई कारबाही गर्नुपर्ने माग गरी छ दिनदेखि अनशन बस्दासमेत सरकारले कुनै वास्ता नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । विसं २०७६ कात्तिक ६ गते साँझ नाबालिग हुँदा निहारिकामाथि धनुषाको भीमेश्वर नगरपालिका–३ बस्ने शिवराज श्रेष्ठले नसालु पदार्थ खुवाएर बलात्कार गरेको र गर्भ बसेको आरोप छ । उहाँ आफूमाथि बलात्कार गर्ने श्रेष्ठलाई अदालतले सफाइ दिएको भन्दै न्यायको माग गरी अनशन बस्दै आउनुभएको छ । सांसद थापाले भन्नुभयो, “सडकमा न्यायको माग गर्दै निहारिका छ दिनदेखि अनशन बस्दै आउनुभएको छ, बलात्कारपछि राज्यका सबै तहमा न्यायको भिख मागिरहनुभएको छ, तर सरकारको ध्यान पुग्न सकेको छैन, सो घटनाबारे छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्छ ।” अनशनरत निहारिका आफ्ना २१ महिने बच्चाको डिएनए परीक्षण गर्नुपर्ने, चार महिनाअघि उच्च अदालत जनकपुरमा दर्ता गराएको मुद्दाको सुनुवाइ छिटो हुनुपर्ने लगायतका माग राखेर अनशन बस्नुभएको हो । जिल्ला अदालत धनुषाले उहाँमाथि बलात्कार भएको भन्ने दाबी नपुग्ने भन्दै शिवराजलाई सफाइ दिने फैसला सुनाएको थियो । सो फैसलाविरुद्ध उच्च अदालत जनकपुरमा पुनरावेदन दर्ता भएको छ । सांसद थापाले महिला हिंसा, हत्या र बलात्कार जस्ता घटना दिन प्रतिदिन बढ्दै गएको बताउँदै कानुन कार्यान्वयन गरी दोषीमाथि कडा कारबाहीको माग गर्नुभयो ।
काठमाण्डौँ : प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले धितोपत्र बजारको स्थायित्व र लगानीकर्ताको विश्वास कायम गराउन नियामक निकायको ध्यानाकर्षण गराउनुभएको छ । आजको बैठकमा विशेष समय लिएर सांसद थापाले समग्र अर्थतन्त्रको परिसूचकका रुपमा रहने शेयर बजारको स्थायित्व र सबलताले लगानिकर्ताको मात्र नभई समग्र अर्थतन्त्र उन्नयनतर्फ लाने हुँदा हाल धितोपत्र बजारमा देखिएका समस्याका बारेमा सदनलाई स्पष्ट पार्न माग गर्नुभयो । उहाँले सामान्य अवस्थामा शेयर बजार तलमाथि हुने, तरलता अभावले बजारमा प्रभाव पर्ने नियमित प्रक्रिया भएता पनि केही नीतिगत कारणले बजार अस्थिर हुन नहुने बताउँदै धितोपत्र बजारको नीति दिगो र अर्थतन्त्रलाई सबलीकरण गर्ने खालको बनाउन माग गर्नुभयो । अहिलेको बजारमा साना लगानीकर्ता अझ बढी मारमा परेको र आम लगानीकर्ताको सुरक्षाका बारेमा सरकार र नियामकले गरिरहेका कामका बारेमा जानकारी गराउन थापाले सरकारको ध्यानाकर्षण गराउनुभयो । कांग्रेस महामन्त्री थापाले गत लामो समयदेखि अस्थिर रहेको शेयरबजारको संरक्षण र लगानीकर्ताको प्रोत्साहनका लागि कार्यक्रम ल्याउन सरोकारवालाको ध्यानाकर्षण गराउनुभएको हो । शेयरबजारको स्थायित्व, सबलताले लगानीकर्ताको मात्र नभएर समग्र अर्थतन्त्रको सबलीकरणमा योगदान पुग्छ भन्दै उहाँले शेयरबजारको स्थायित्व कायम गर्न, शेयरबजारमाथि विश्वास कायम गर्न अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक र नियामक धितोपत्र बोर्डले केकस्ता काम गरिरहेका छन् भनी प्रश्न गर्नुभयो । साथै उहाँले साना लगानीको संरक्षणका लागि भइरहेका कामहरुबारे सदनलाई जानकारी गराउन माग गर्नुभयो । नेता थापाले भन्नुभयो, “विसं२०७८ भदौ २८ गते नेप्से परिसूचक बढेर तीन हजार १९८ को उच्चतम विन्दुमा पुगेको थियो । यही जेठ ३१ गते घटेर एक हजार ९९९ मा झरेको छ । यसले शेयरबजारको विश्वसनियतामा नकारात्मक असर पर्नाका साथै साना लगानीकर्ता उठ्न नसक्नेगरी थला पारेको छ । अस्थिर नीतिका कारण लगानी बजार धराशयी बनेको छ, यसको तत्काल समाधान खोजिनुपर्छ ।” ।