पोखरा:   गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाउनुभएको छ ।   पोखरा १७ सीतापाइला स्थित पोखरा वृद्धाश्रममा शनिबार बिहान पुगेर प्रदे...

इलाम:  पिपुल्स पावर लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।   कम्पनीले आगामी असार ८ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा रु छ करोड ३२ लाख ६० हजार मूल्य बराबरको छ लाख ३२ हजार ६०० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गर्ने भएको हो ।   कूल निष्कासनमध्ये आयोजनाबाट असर पर्ने इलाम जिल्लाको इलाम नगरपालिका–१ र ४ का बासिन्दालाई एक लाख ८९ हजार ७८० कित्ता र ती वडाबाहेक इलाम जिल्लाका बासिन्दाले आगामी असार २२ गतेसम्म चार लाख ४२ हजार ८२० कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।   सो अवधिमा मागबमोजिम आवेदन नपरे साउन ५ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता शेयर खरिदका लागि पुनः आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ ।   कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका–१ र ४ मा पर्ने पुवा खोलामा चार दशमलव ९६ मेगावाट क्षमताको पुवा–२ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।   साथै नेपाल बङ्गलादेश बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दुकपुर र इलाम शाखा, ग्लोबल आइएमई बैंकको फिक्कल र इलाम शाखा, प्राइम कर्मशियल बैंकको राँके, मङ्गलबारे, विलौते, तीन घरे र इलाम शाखा कार्यालयबाट आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीलाई केयर रेटिङ्ग नेपालले ‘केयरनपी–बिबी इस्युअर’ रेटिङ प्रदान गरेको छ ।

श्रीमान् गोकर्ण क्षेत्रीको ४३ औं जन्मदिनमा निर्मला क्षेत्रीले अनौठो तर लाभदायक उपहार दिएकी छिन् ।    पोखरा – १७ निवासी निर्मला क्षेत्रीले गोकर्णलाई २० लाख १० हजार रुपैयाँको जीवन बीमा गरिदिएकी हुन् । बीमाको उक्त रकम किस्ताबन्दीमा तिर्दै जाने निर्मलाले जानकारी दिइन् ।    उपहारस्वरुपको बीमा पोलिसी महालक्ष्मी लाइफ इन्स्योरेन्सको ‘जीवन बीमा योजना’ अन्तरगत पर्दछ । निर्मला स्वयं इन्स्योरेन्सकी अभिकर्ता हुन् ।    उपहारस्वरुप बीमा पोलिसी पाएपछि गोकर्णले भने ‘जन्मदिनका केही फरक र अनौठो उपहार पाए, त्यो भन्दा बढी यो मायालु उपहार हो, श्रीमतीलाई धन्यवाद !’   उपहार प्रदान कार्यक्रममा बिमा कम्पनीका क्षेत्रिय प्रबन्धक अखिल धमला र अभिकर्ता रामप्रसाद खतिवडाले आधुनिक जीवनमा बीमाको महत्वबारे प्रकाश पार्दै फजुल र अनावश्यक खर्चमा कटौती गरी बीमामा जोड दिन आग्रह गरे । 

काठमाण्डौँ :     सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार ८०० ले घटेर रु ९७ हजार १०० मा आएको छ ।    पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजार ९००मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ६०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार ४०० थियो ।       त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले घटेर रु एक हजार २४५ कायम रहेको महासङ्घले जनाएको छ ।

डोटी :   जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट जडान गरिएको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले उक्त अक्सिजन प्लान्टको एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ ।    उक्त प्लान्ट उद्घाटनका अवसरमा राज्यमन्त्री रैकाले अक्सिजनका लागि यहाँका नागरिकले भोग्दै आएका समस्या अब सधैँका लागि समाधान भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मानिसको जीवनमा अक्सिजन नभई नहुने भएकाले अक्सिजन नहुँदा डोटीमा निकै समस्या भएको थियो, अब अस्पतालमै अक्सिजन प्लान्ट जडान भएको छ । बिरामीलाई सहज हुने छ ।” उहाँले जिल्ला अस्पतालको स्तरोन्नतिसहित आवश्यक वृत्ति विकासका लागि प्रदेश सरकार सधै सकारात्मक रहेको बताउनुभयो ।   गत आर्थिक वर्षमै जडान हुनुपर्ने भए पनि काम ढिलो भएका कारण हाल आएर प्लान्ट जडान गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर नेपालीले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेश सरकारबाट अक्सिजन प्लान्ट जडानका लागि रु ८० लाख बजेट छुट्याइएको भए पनि ठेक्कामार्फत रु ६५ लाख २५ हजारमा जडान गरिएको अस्पताल प्रशासनले जनाएको छ ।   अक्सिजन प्लान्ट स्थापनासँगै अब अस्पतालमै अक्सिजन उत्पादन हुने छ । उक्त प्लान्ट २४ घण्टामा १४ किलोका १० वटा सिलिण्डर भर्न सक्ने क्षमताको रहेको अस्पतालका सूचना अधिकारी अमरसिंह भाटले जानकारी दिनुभयो । उहाँका अनुसार केही दिनभित्रमै अस्पतालका २५ बेडमा सिधा अक्सिजन आपूर्ति गरिने छ ।   विगतमा अक्सिजन अभावका कारण महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण जिल्लामा दर्जनौँले ज्यान गुमाएका थिए । आउने दिनमा कोरोनाजस्ता घातक रोगको प्रकोप देखिएमा बिरामीको उपचारमा सहजता होस् भन्ने उद्देश्यका साथ उक्त अक्सिजन प्लान्ट जडान गरिएको हो । जिल्लामै अक्सिजन प्लान्ट सञ्चालनमा आउनु खुसीको कुरा भएको स्थानीयवासी अमरबहादुर साउदले बताउनुभयो ।    अक्सिजन प्लान्ट स्थापनासँगै अब जिल्ला अस्पताल डोटीले यहाँका धनगढी, नेपालगञ्जलगायतका सहरमा गएर अक्सिजन खरिद गर्नुपर्ने बाध्यता हटेको छ । जसका कारण अस्पतालले खरिददेखि ढुवानीसम्मको अक्सिजनमा गर्दै आएको खर्चमासमेत बचत अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट नीराजन श्रेष्ठले बताउनुभयो ।    अस्पतालले रु ७०० देखि लिएर एक हजारसम्मका दरले सिलिण्डर खरिद गर्ने गर्दै आएको थियो । खरिद गरिसकेपछि पनि ढुवानी गर्दा त्यत्तिकै रकम खर्च लाग्ने समस्या पनि समाधान भएको छ ।  

काठमाण्डौँ :       साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले यस वर्षका लागि जिम्मेवारी पाएको रासायनिक मल भित्र्याउन सुरुआत गरेको छ ।  तीमध्ये १७  हजार मेट्रिक टन डिएपी मल स्वदेश भित्रिई धमाधम आफ्ना डिपो/बिक्रीकक्षमार्फत वितरण भइराखेको र २२ हजार मेट्रिक टन युरिया मल आगामी असारको पहिलो सातादेखि स्वदेश भित्रिन थाल्ने कर्पोरेशनले जनाएको छ ।   कर्पोरेशनले २० हजार मेट्रिक टन डिएपी र २२ हजार मेट्रिक टन मलसहित एक लाख मेट्रिक टन ल्याउन सरकारबाट स्वीकृति पाएको थियो । डिएपीमध्ये बाँकी तीन हजार मेट्रिक टन भारतको कोलकाता बन्दरगाहमा आइसकेको उसले जनाएको छ ।     कर्पोरेशनका विभागीय प्रबन्धक बज्रेश झाले भन्नुभयो, “१७ हजार मेट्रिक टन अर्थात् चार लाख बोरा डिएपी आफ्ना डिपो÷बिक्री कक्षमार्फत वितरण गरिराखेका छौँ । बाँकी तीन हजार मेट्रिक टन पनि भारतको कोलकाता बन्दरगाहमा आइसकेको छ ।” मल प्रतिबोरा ५० केजीको हुन्छ ।   उहाँका अनुसार २२ हजार मेट्रिक टन अर्थात् चार लाख ४० बोरा युरिया मल  कोलकाता आइसकेको र एक हप्ताभित्र स्वदेश भित्रिन थाल्ने छ ।  विभागीय प्रबन्धक झाले भन्नुभयो, “२२ हजार मेट्रिक टन युरिया कोलकाता आइसकेको र एक हप्ताभित्र स्वदेश भित्रिन थाल्नेछ । स्वेदेश आउनेबित्तिकै डिपो÷बिक्रीकक्षमार्फत बिक्री वितरण सुरु हुन्छ ।”   रोपाइँका समयमा देशभर रासायनिक मलको चरम अभाव भइरहँदा ती मलले किसानलाई केही भए पनि राहत मिल्ने अपेक्षा कर्पोरेशनले लिएको छ । कर्पोरेशनले इण्डोनेसियाबाट युरिया मल झिकाएको हो ।    विश्व कृषि बजारमा इण्डोनेसियाको मल सर्वोत्कृष्ट मानिन्छ । सरकारले यसपटक कर्पोरेशनलाई कूल एक लाख मेट्रिक टन मल आयात गर्न अनुदान दिएको थियो । यो कूल अनुदान आयातको ३० प्रतिशत हिस्सा मात्र हो । बाँकी अर्को सरकारी स्वामित्वको कृषि सामग्री कम्पनीलाई जिम्मेवारी प्रदान गरिएको छ । कृषि मन्त्रालयले यसपटक मलमा मात्र करिब रु ११ अर्बभन्दा बढीको अनुदान प्रदान गरेको जनाइएको छ ।   माटोको उर्वरा शक्ति बढाउन डिएपीको प्रयोग गरिन्छ । रोपाइँपूर्व अर्थात् खेतमा धान रोप्नुअगाडि सो मल हालिन्छ भने रोपिएका बिरुवालाई सपार्न र हलक्क बनाउन युरियाको प्रयोग गरिन्छ । ती दुवै मल अन्न बालीका उत्पादकत्व बढाउन अति आवश्यक मानिन्छ ।    विभागीय प्रबन्धक झाले भन्नुभयो, “कर्पोरेशन सरकारले सुम्पिएको दायित्वलाई पूरा गर्न अग्रणी छ । आयातित मलबाट थोरै भए पनि किसान लाभान्वित हुनेछन् । आगामी दिनमा सरकारले अनुदानको मलको कोटा थपिदिएमा यसको जिम्मेवारी बहन गर्न कर्पोरेशन सक्षम छ ।”   कृषि मन्त्रालयका अनुसार विशेषगरी यस मौसम (सिजन)का धान र मकै बालीका लागि मात्र दुई लाख  मेट्रिक टन रासायनिक मल (डिएपी र युरिया)को आवश्यक पर्दछ  भने वार्षिकरूपमा पाँच लाख मेट्रिक टन मल खपत हुने गर्दछ  । नेपालका ७० प्रतिशत बढी नागरिक कृषि पेशामा संलग्न छन् । नेपालको कूल ग्रार्हस्थ उत्पादन (जिडीपी)मा कृषि क्षेत्रको २७ प्रतिशत योगदान छ । कृषि उत्पादनको मुख्य बाली धानबाली हो र जिडीपीमा धानको योगदान सात प्रतिशत छ । धानबालीलगायत अन्य बालीको उत्पादन वृद्धिका लागि रासायनिक मल नभइ हुँदैन ।   किसानलाई मल प्रदान गर्न खडा भएका सरकारी डिपो सबै मलविहीन छन् । मनसुन सक्रिय सरकार निष्क्रिय बन्दा किसान मारमा परेको जनाउँदै सदनले आइतबार  सरकारलाई तत्काल किसानलाई रासायनिक मल उपलब्ध गराउन निर्देशसमेत गरेको थियो ।  

 काठमाडौँ :    नेपाल प्रहरीले जबर्जस्ती करणीमा संलग्न चार जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित लुङ्ता गेष्टहाउमा २४ वर्षकी युवतीलाई जबर्जस्ती करणीमा सङ्लग्न काठमाडौँका २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोक मेलम्चीका २२ वर्षीय रिन्जेन शेर्पा, सर्लाहीका ३४ वर्षीय उत्तम लामा र होेटलका सञ्चालक सिन्धुपाल्चोकका ३४ वर्षीय झ्याम्पा ढिल्ले शेर्पालाई पक्राउ गरेको हो ।   जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले होटल सञ्चालक शेर्पाको मिलेमतोमा बाँकी तीन जनाले पालैपालो युवतीमाथि जबर्जस्ती करणी गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिनुभयो । प्रहरीले घटना घटेको १६ घण्टाभित्र उनीहरूलाई पक्राउ गरेको हो ।   प्रहरीले पीडित युवतीलाई होटलबाट उद्धार गरी प्रसूतिगृह थापाथली लगेर स्वास्थ्य परीक्षण गरेको प्रवक्ता मैनालीले बताउनुभयो । प्रहरीले पक्राउ परेका चारै जनालाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को करणीसम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

महोत्तरी  ः     महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–३ मा गए राति टेम्पोलाई बोलेरो पिकअपले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ, भने छ जना घाइते भएका छन् ।    मृत्यु हुनेमा बर्दिबास नगरपालिका–३ का २६ वर्षीया कुन्ता ढुङ्गेल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । घाइते ढुङ्गेलको जनकपुरस्थित काव्या अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।   सोही घटनामा परेर टेम्पो चालक बर्दिबास नपा–३ का ४५ वर्षीय ओमबहादुर लुङ्गेली, सोही ठाउँ बस्ने ४२ वर्षीय यादवकुमार ढुङ्गेल, २९ वर्षीया पवित्रा आचार्य, आठ वर्षीया करिष्मा ढुङ्गेल, सिन्धुली जिल्ला दुधौली नपा–२ का ३५ वर्षीय पुरुषोत्तम चालिसे र ३९ वर्षीया पवित्रा चालिसे  घाइते भएका छन् । उनीहरुको उपचार बर्दिबासस्थित जनसेवा अस्पतालमा भइरहेको छ ।   गए राति बर्दिबास नपा–३ स्थित स्मृतिपार्क नजिकैबाट पाटुतर्फ जाँदै गरेको ज १ ह ३५०१ नंको टेम्पोलाई विपरीत दिशाबाट आउँदै गरकोे नम्बर नखुलेको बोलेरो पिकअपले ठक्कर दिँदा दुर्घटना भएको थियो । 

पाल्पा :    सासू–ससुराको राम्रो हेरचाह, पालनपोषण गर्ने असल बुहारीलाई सम्मान गरिएको छ । पाल्पाको निस्दी गाउँपालिका–४ मित्यालको आयोजनामा परिवारका ज्येष्ठ नागरिक तथा सासू–ससुरालाई राम्रोसँग हेरचाह गर्ने बुहारीलाई सम्मान गरिएको हो ।     मित्यालका २७ बुहारीलाई लत्ताकपडा र सम्मानपत्रले सम्मान गरिएको छ । वडाले पहिलोपटक ल्याएको यस कार्यक्रम उदाहरणीय रहेको र सासू–ससुरालाई अपहेलना गर्ने बुहारीलाई थप जिम्मेवारी बन्न सिकाउने स्थानीयवासी धनबहादुर ठाडाले बताउनुभयो ।   वडा कार्यसमिति र सरोकारवालाले टोल–टोलमा पुगेर सासू–ससुरालाई राम्रोसँग लालनपालन, माया–ममता, स्याहारसुसार गर्ने बुहारी छनोट गरी सम्मान गरिएको वडाध्यक्ष सन्तवीर सुनारीले जानकारी दिनुभयो ।    समाजमा हिजोआज छोराबुहारी विभिन्न पेशा, व्यवसायमा व्यस्त रहने हुँदा घरमा एक्लै बस्नुपर्ने बाध्यता छ । पेशा, व्यवसायको व्यस्तता कतिपयले बुढ्यौली टेकेका सासू– ससुरालाई राम्रो स्याहारसुसार गर्न भ्याउँदैनन् भने कतिपयले ज्येष्ठ नागरिक भनेपछि अपहेलना गर्ने प्रवृत्ति छ ।   धनमाया ठाडाले घरका सासू–ससुरालाई राम्रो स्याहारसुसार गरेको भन्दै आफूलाई असल बुहारीका रूपमा सम्मान गरेकामा खुसी लागेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “घरका सासू–ससुरा भनेको हाम्रो अभिभावक हो, जन्मदिने बुवाआमासरह नै हामीले मायाममता, स्याहार संरक्षण गर्नुपर्दछ, उहाँहरूलाई खुसी बनाउन सकियो भने परिवार खुसी हुन्छ, हामीलाई आत्मसन्तुष्ट मिल्नेछ ।”    कतिपय परिवारमा सासू–ससुरा उमेर ढल्कँदै गर्दा घरबाट निकाला गरिदिने, वृद्धाश्रममा लगेर राखिदिने पनि बुहारी हाम्रै समाजमा छन् । ज्येष्ठ नागरिक समाजको अभिभावक, मार्गदर्शक भएकाले उनीहरुको सदैव मायाममता, पालनपोषण गरियो भने परिवार, समाजमा खुसी मिल्नेछ ।

  काठमाण्डौँ  :   सडकमा भारी बोकेर जीविकोपार्जन गर्नेको श्रमिक अधिकार सुरक्षित गर्न नेपाल ट्रेड युनियन कांग्रेसका राष्ट्रिय सम्मेलन प्रतिनिधिले माग गरेका छन् ।    सम्मेलनमा महासचिव योगेन्द्रकुमार कुँवरले पेश गर्नुभएको साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष मोहनकुमार बस्नेतले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनमाथिको छलफलका क्रममा मजदुर सङ्घका काठमाडौँ अध्यक्ष कुमार ढुङ्गेलले सडकमा भारी बोक्नेले बिरामी हुँदा स्वास्थ्य उपचार गर्न नसक्ने अवस्था रहेकाले संविधानमा व्यवस्था गरिएको मौलिक अधिकार सुरक्षित गर्न माग गर्नुभएको हो ।      नेपाल ट्रेड युनियन कांग्रेस सुदूरपश्चिम प्रदेशका अध्यक्ष शान्ति सिंहले महिला स्वास्थ्यकर्मीले रु दुई हजार, तीन हजार र छ हजारसम्ममै स्वास्थ्य सेवा दिनुपर्ने अवस्थालाई सुधार गर्न माग गर्नुभयो । दिनभर काम गरेर पनि न्यूनतम पारिश्रमिकसमेत नपाउने अवस्था सुधार गरिनुपर्ने उहाँको माग थियो ।      ललितपुरका अध्यक्ष कमलकुमार विष्टले कोरोनाकालमा जागिर गुमाउने श्रमिकको रोजगारीको ग्यारेन्टी गरिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल शिक्षक सङ्घ रौतहटका अध्यक्ष रामकृपाल यादव, नेपाल ट्रेड युनियन कांग्रेस सिन्धुपाल्चोकका सचिव हरिश्चन्द्र खड्का, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका श्यामराज सुवेदी, नेपाल सार्वजनिक सेवा कर्मचारी सङ्घका उपाध्यक्ष प्रमिला ढुङ्गाना, ट्रेड युनियन कांग्रेस मोरङका अध्यक्ष सुशील कोइरालालगायतले मजदुर वर्गको आधारभूत आवश्यकता पूरा हुने गरी कानूनी व्यवस्था गरी कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभयो ।      कार्यक्रममा मजदुर फाँटमा लामो समय राजनीति गरी नेपाली कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित हुनुभएका रमा पौडेल, हरिशरण नेपाली, अजयबाबु शिवाकोटी, सुशीला मिश्र भट्ट, माथिल्लो सदनमा सांसद निर्वाचित हुनुभएका कृष्णप्रसाद पौडेल, भूमि आयोगका अध्यक्ष केशव निरौला, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँर, नेपाल बार एशोसियशनका अध्यक्ष गोपालकृष्ण घिमिरे, अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको एसिया प्यासिफिक सदस्य निर्वाचित हुनुभएका नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देललगायतलाई सम्मानसहित स्वागत गरिएको थियो ।      देशभरका करिब दुई हजार प्रतिनिधिको सहभागिता रहेको सम्मेलन आज बेलुकी समापन गरिने जनाइएको छ । सम्मेलनले महासचिव र कोषाध्यक्षको प्रतिवेदन पारित गर्नेछ ।