काठमाण्डौँः सशस्त्र प्रहरी बलले पूर्वपश्चिम राजमार्गबाट चोरी छिपाइ लाँदै गरेका लाखौँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । जिल्लाको बर्दिबास–४ माइस्थानस्थित सशस्त्र प्रहरीको नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयबाट खटेको गस्ती टोलीले रु ५२ लाख १० हजार मूल्य बराबरको अवैध सामानसहित आइतबार एक जनालाई पक्राउ गरेको हो । ना३ख ४७८७ नम्बरको ट्रकमा राखेर पश्चिमतर्फ लैजाँदै गरेको अवस्थामा संघीय सरकारको स्वास्थ्य मापदण्डको लोगो नभएको गुट्खा तथा विद्युतीय सामानसहित काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका–१ का यमबहादुर श्रेष्ठलाई पक्राउ गरिएको बाहिनी मुख्यालयले जनाएको छ । पक्राउ परेका श्रेष्ठलाई बरामद भएको सामान र ट्रकसहित आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको बाहिनी मुख्यालयले जनाएको हो । यसअघि भन्सार छलीका सामान सीमा क्षेत्र वरपर नै फेला परे पनि यस घटना भने जिल्लाको सीमा भारतीय सीमानाका भिठ्ठामोरबाट ५० किलोमिटर उत्तर बरामद भएको हो । सामानबाहेक नियन्त्रणमा लिइएको ट्रकको मूल्य २० लाख करिब भएको जनाइएको छ ।
काठमाण्डौँ : प्रतिनिधिसभा सदस्य डा. डिला सङ्ग्रौलाले स्वास्थ्य बीमाबारे सरकारको दृष्टिकोण प्रष्ट पार्न माग गर्नुभएको छ । स्वास्थ्य मन्त्रालयका लागि विनियोजित बजेटमाथि आज भएको छलफलमा भाग लिँदै उहाँले अहिले नेपालमा झन्डै २० निजी स्वास्थ्य बीमा कम्पनी तथा ३५० भन्दा बढी निजी अस्पताल रहेको उल्लेख गर्नुभयो । “निजी बीमा कम्पनीले मुनाफामा मात्रै आँखा लगाइरहेका हुन्छन, प्रिमियम तिर्न नसक्ने न्यून आय वर्गको जोखिम उनीहरु व्यहोर्न चाँहदैनन् । जोखिम राज्यले व्यहोर्ने र मुनाफा निजी कम्पनीले कमाउने मोडेलमा हामी जानुहुँदैन”, सांसद सङ्ग्रौलाले भन्नुभयो । नेपालमा स्वास्थ्य उपचारमा हुने खर्चको झण्डै ५० प्रतिशत नेपालीले आफ्नै खल्तीबाट व्यहोर्ने गरेको उहाँको भनाइ थियो । “महँगो उपचार गर्न नसकेर वर्षेनी हजारौँ परिवार गरिबीको रेखामुनी पुग्ने गरेका छन् । अन्तर्राष्ट्रिय परिवेशमा हेर्ने हो भने मातृ मृत्युदर र बाल मृत्यदर अझै उच्च छ । निजी अस्पतालको उपचार आमनेपालीको पहुँचमा छैन, अधिकांश सरकारी अस्पतालमा भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध छैन । यस्तो अवस्थामा आगामी आव स्थानीय तहमा निर्माण सम्पन्न गरिने भनिएका ६५५ आधारभूत अस्पतालमा दक्ष जनशक्ति, उपकरण र औषधि पु¥याउन सरकारसँग कस्तो योजना छ ?”, उहाँले प्रश्न गर्नुभयो । कोशी अञ्चल अस्पतालको स्तरोन्नति गर्न सांसद सङ्ग्रौलाले माग गर्नुभयो । मातृ मृत्यु दर घटाउन गर्भवतीलाई पोषण कार्यक्रम, स्वास्थ्य जाँच र सुरक्षित सुत्केरी सेवालाई प्रभावकारी बनाउने, मानव विकास सूचकाङ्कमा पछि परेका २५ जिल्लाका विपन्न परिवारका सुत्केरीलाई एकमुष्ट रुपमा रु पाँच हजार पोषण खर्च उपलब्ध गराउने घोषणा स्वागतयोग्य भएको उहाँको भनाइ थियो । सहरी विकास मन्त्रालयअन्तर्गत आगामी आवभित्र विपन्न, दलित र सिमान्तकृत नागरिकका लागि एक लाख घर निर्माण गर्ने कुरा बजेटमा उल्लेख छ, तर कुन जिल्लामा कति वटा घर कहिलेसम्म कुन निकायले निर्माण सम्पन्न गर्ने हो भन्ने बजेटमा केही उल्लेख नभएको भन्दै उहाँले यस्तो कार्ययोजनाविना यो प्रस्ताव पनि चुनावी भाषणमा सीमित हुने खतरा रहेको बताउनुभयो । “व्यवस्थित शहरी विकास भन्नासाथ सार्वजनिक यातायात, फोहोर व्यवस्थापन, महिलाका लागि सुरक्षित काम गर्ने वातावरण, गुणस्तरीय शिक्षा, स्वास्थ्य, युवालाई रोजगारी, वृद्धवृद्धालाई टहलिन खुला उद्यान, सफा स्वच्छ हावा, सफा पिउने पानीलगायत पर्छन् । काठमाडौँमा नै फोहर उठाउन महिनौँ लाग्यो । एउटा ‘होलिस्टिक भिजन’ लिएर काम गर्न सहरी विकासमन्त्रीलाई आग्रह गर्दछु”, सांसद सङ्ग्रौलाले भन्नुभयो ।
पोखरा : पवित्र वचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो वार्षिक सामाजिक उत्तरदायित्व अन्तर्गत आईतबार रक्तदान कार्यक्रम गरेको छ । पोखरा–२६, कालिकाचोक स्थित कंधनीडाँडा भाट समाज भवनमा आयोजित उक्त कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि संस्थाका सल्लाहकार संयोजक तथा अन्तराष्ट्रिय एथलेटिक्स खेलाडी खड्गबहादुर रानाभाटले पहिलो रक्तदाता वसन्त वञ्जराभाटलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गर्नुभएको थियो । उहाँले रक्तदान जस्तो अरु कुनै पुण्य काम नभएको भन्दै नियमित रक्तदानले व्यक्ति निरोगी हुने बताउनु भयो । सो अवसरमा सहकारीका अध्यक्ष बुद्धिबहादुर रानाभाटले संस्थाले हरेक वर्ष रक्तदान गर्दै आएको वताउँदै कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । प्रमुख अतिथि खड्गबहादुर रानाभाट तथा संस्थाका अध्यक्ष बुद्धिबहादुर रानाभाटले रक्तदान दातालाई प्रमाण पत्र तथा क्षेत्रिय रक्त संचार केन्द्रका प्रतिनिधिलाई मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा पोखरा–२६ का वडा अध्यक्ष नरेन्द्र थापा, सहकारीका निर्वतमान अध्यक्ष शिवबहादुर रानाभाट, भाट समाज गण्डकी प्रदेश अध्यक्ष चन्द्रबहादुर रानाभाट, सत्यता बचत तथा ऋण सहकारीका अध्यक्ष तथा पोखरा २६ का निर्वतमान वडा सदस्य खड्कबहादुर रानाभाट, भाट समाज कास्कीका अध्यक्ष सुर्यबहादुर रानाभाट, पुर्व अध्यक्ष रमेशबहादुर रानाभाट, जग्गादाता वसन्त वञ्जराभाट र माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ की वडा सदस्य गंगा रानाभाटले शुभकामना व्यक्त गरेका थिए । सहकारीका अध्यक्ष बुद्धिबहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत ऋण लगानी संयोजक यामबहादुर रानाभाटले र संचालन सचिव तथा कार्यक्रम संयोजक चन्द्रु रानाभाटले गर्नुभएको थियो ।
काठमाण्डौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा लायन्स क्लबले स्वास्थ्य, शिक्षा र प्राकृतिक विपद्का क्षेत्रमा गरेको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा लायन्स क्लब अफ इन्टरनेसनलले आज आयोजना गरेको अभिनन्दन तथा सम्मान कार्यक्रममा उहाँले क्लबले नेपालको अस्पताल, विद्यालय र बालगृह सञ्चालनमा पुर्याएको योगदानको चर्चा गर्नुभयो । “नेपालमा लायन्स क्लबले अस्पताल, विद्यालय,क बालगृहलगायत सञ्चालन गरिरहेको छ”, राष्ट्रपति भण्डारीले भन्नुभयो, “यस्ता परियोजना सञ्चालन गर्दा न्यून प्रशासनिक खर्च लाग्ने गरेको सुन्दा खुशी लाग्यो ।” कृषिमा व्यवसायीकरण र आधुनिकीकरण गर्न राज्यले ध्यान दिइरहेको र देशलाई रोजगार तथा आत्मनिर्भर बनाउन सामाजिक संस्थाको ठूलो भूमिका उहाँले उल्लेख गर्नुभयो । राष्ट्रपति भण्डारीले भूकम्प, बाढीपहिराजस्ता समस्याले वर्षाको समयमा ठूलो धनजनको क्षति पुर्याउने गरेको हुँदा राज्यका साथसाथै सामाजिक संस्थाले पनि प्रकोप न्यूनीकरणमा सहयोेग गर्नुपर्ने बताउनुभयो । उक्त समारोहमा क्लबले राष्ट्रपति भण्डारीलाई अभिनन्दन गरेको थियो । कार्यक्रममा लायन्स क्लबले नेपालमा गरेको कामको विषयमा वृत्तचित्र समेत प्रस्तुत गरेको थियो । वृत्तचित्रमा आखाँ अस्पताल निर्माण, भूकम्पपछि १८ सामुदायिक विद्यालय निर्माण गरेर समुदायमा हस्तान्तरण तथा त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गरी बल्ड बैंक स्थापना गर्ने तयारी भइरहेको जस्ता विषय समेटिएका थिए । सो अवसरमा क्लबका संस्थापक मूलचन्द राठी र किसनलाल दुगडलाई सम्मान गरिएको थियो । यस्तै प्रजातन्त्र ल्याउन १०० तोला सुन दिएर सहयोग गर्नुभएकी इन्दुदेवी नौखलाई पनि सो अवसरमा राष्ट्रपति भण्डारीले सम्मान गर्नुभएको थियो । कार्यक्रममा समाजसेवीत्रय नन्दकिशोर राठी, मुकुन्दराज पाण्डे र शेषनारायण श्रेष्ठलाई राष्ट्रपति भण्डारीले सम्मान गर्नुभएको थियो । क्लबका अध्यक्ष रेवतबहादुर कार्कीले नेपालमा शिक्षा, स्वास्थ्य र प्राकृतिक प्रकोपको क्षेत्रमा सक्दो सेवा गर्ने प्रयास गरिरहेको र आगामी दिनमा पनि प्रयास जारी रहने बताउनुभयो । नेपालमा पहिलो पटक सन् १९७१ मा लायन्स क्लब अफ विराटनगरका नाममा पूर्वप्रधानमन्त्री स्व मात्रिकाप्रसाद कोइरालाको नेतृत्वमा स्थापना भएको थियो । अहिले नेपालमा करिब दुई हजार क्लब स्थापना भइसकेका छन् । लायन्स क्लबको मुख्य उद्देश्य समाज सेवा गर्ने हो । क्लबले खासगरी शिक्षा, स्वास्थ्य र प्राकृतिक विपद्को समयमा सहयोग गर्दै आएको छ ।
कैलाली: कैलाली उद्योग वाणिज्य सङ्घको अध्यक्षमा पुष्पराज कुँवरको प्यानल निर्वाचित भएको छ । शुक्रबार भएको सङ्घको निर्वाचनबाट कुँवर ६७८ मतसहित निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी सुरेन्द्र राठीले ३५५ मत प्राप्त गर्नुभएको छ । यसैगरी वरिष्ठ उपाध्यक्षमा पुष्करराज ओझाले ६१२ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी हरिशङ्कर ठाकुरले ४१९ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्ष (उद्योग) मा दिनेश लम्सालले ६२१, उपाध्यक्ष (एशोसिएट) मा मनोज अग्रवालले ५१६, उपाध्यक्ष (वस्तुगत) मा लक्ष्मणराज पन्तले ५४६ मतसहित निर्वाचित हुनुभएको छ । महासचिवमा ओमबहादुर विष्टले ५१४ मतसहित निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी सिद्धराज पनेरुले ४८१ मत प्राप्त गर्नुभएको छ । कोषाध्यक्षमा भीमराज ओझा (अब्बु) ले ६८० र सचिवमा सुरेश पाण्डेयले ३९९ मतसहित निर्वाचित हुनुभएको छ । सदस्यहरुमा तिलकबहादुर बोहरा, कविन्द्र पन्त, रवि कुँवर, अम्बिका भण्डारी, कोपिला कुँवर, लोकराज भट्ट, प्रकाशकुमार चन्द, रुपेश खड्का, श्यामराज जोशी, राधिकाकुमारी चौधरी, शम्भु लामिछाने, सुरेन्द्रबहादुर कठायत, कृष्णाकुमारी विष्ट, वासुदेव भट्ट, मिलन कुँवर, सुरेन्द्रकुमार बोहरा र रिता जोशी निर्वाचित भएका छन् । संघको चुनावमा जम्मा एक हजार ९५ मत मात्र खसेको थियो ।
काठमाण्डौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनमा व्यवस्था गरिएका श्रमिकका हक, अधिकार कार्यान्वयनमा सरकार प्रतिबद्ध भएर लाग्ने बताउनुभएको छ । नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले योगदानमा आधारित सामाजिक सुरक्षा ऐनलाई पूर्णरूपमा कार्यान्वयन गर्न सरकारले कुनै कसर बाँकी नराख्नेमा जोड दिनुभयो । सामाजिक सुरक्षामा निजी तथा अनौपचारिक र वैदेशिक रोजगारीमा सहभागी भएकालाई पनि समावेश गरिने प्रधानमन्त्री देउवाको भनाइ छ । “श्रमिकका हक, अधिकार संरक्षणका लागि नेपाल ट्रेड युनियन कांग्रेसले उठाएका सबै माग पूरा गर्न अहिले कांग्रेसको एकल सरकार होइन, गठबन्धनमा सहमति जुटेअनुसार श्रमिकलाई हक, अधिकार दिन कञ्जुस्याइँ गरिँदैन, कर्मचारीको तलब वृद्धि, ज्येष्ठ नागरिकलाई ६८ वर्षमै सामाजिक सुरक्षा भत्ताले पनि श्रमिकलाई हक, अधिकारका लागि सहयोग गरेको छ”, उहाँले भन्नुभयो । श्रम बजारलाई चलायमान बनाउन सबै पक्षले मिलेर काम गर्नुपर्नेमा प्रधानमन्त्री देउवाको जोड थियो । खोपले कोभिड नियन्त्रणमा आए पनि रुस र युक्रेनबीचको युद्धले औद्योगिक क्षेत्र प्रभावित हुँदा श्रमिक वर्गलाई परेको प्रभाव अन्त्य गर्दै रोजगारी सिर्जनामा सरकारले काम गर्ने उहाँको वाचा थियो । नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले यसअघि प्रधानमन्त्री देउवाकै कार्यकाल वि.सं २०७४ मा आएको श्रम ऐन कार्यान्वयनमा ढिलाइ भएको उल्लेख गर्नुहुँदै देउवाकै अहिलेको कार्यकालमा त्यसको पूर्ण कार्यान्वन गर्न माग गर्नुभयो । “पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा तामझामका साथ नयाँ युगको सुरुआत भन्दै प्रत्येक विद्युत्का पोलमा विज्ञापन गरेर सामाजिक सुरक्षा कार्यान्वयन सुरु गरिएको दाबी गरे पनि केही हुन सकेन, चार वर्षमा नभएको काम अब केही समयमै गरेर देखाउन प्रधामन्त्री देउवासमक्ष अनुरोध गरेका छौँ”, उहाँले भन्नुभयो । सातै प्रदेशमा श्रम अदालत स्थापना गरी साना–साना कामका लागि श्रमिकलाई केन्द्रीय राजधानीमै आउनुपर्ने बाध्यता अन्त्य गर्न पनि अध्यक्ष आचार्यले सरकारको ध्यानाकर्षण गराउनुभयो । तीनै तहबीच श्रमिकलाई समन्वय गर्ने ढाँचा विकास गर्न पनि नेपाल ट्रेड युनियन कांग्रेसले अनुरोध गरेको छ । आयोजक संस्थाका वरिष्ठ उपाध्यक्ष महेन्द्रप्रसाद यादवले अन्तरिम संविधान, २०६३ मा उल्लेख भएको श्रम आयोग संविधानसभाबाट बनेको २०७२ को संविधानमा छुट्नु दुःखद् भएको बताउनुभयो । कांग्रेसको विधानमा पनि श्रमिकका विषयमा उल्लेख गरेर सम्मान गर्न पनि उहाँले अनुरोध गर्नुभयो । विसं २०३३ मा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा विराटनगर जुट मिलमा कार्यरत श्रमिकले नेपाल ट्रेड युनियन कांग्रेसको स्थापना भएको थियो । स्थापनाकालदेखि नै नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकका हक, अधिकारका साथै प्रजातन्त्र स्थापनाका लागि आन्दोलन गरेको थियो । दुई दिनसम्म चल्ने सम्मेलनमा ७७ वटै जिल्लाका करिब दुई हजार प्रतिनिधिको उपस्थिति रहेको आयोजक समितिका सदस्य इन्द्रमणि उप्रेतीले जानकारी दिनुभयो । सम्मेलनले नेपाल ट्रेड युनियन कांग्रेसको आगामी नीति तथा कार्यक्रममाथि छलफलसहित पारित गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
काठमाण्डौँ : गृहमन्त्री बालकृष्ण खाणले राज्यले गर्न नसकेको काम सहकारीले गरेको बताउनुभएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून) को आयोजना एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहआयोजनामा आजदेखि राजधानीमा सुरु चौथो ‘साकोस शिखर गोष्ठी’ समुद्घाटन समारोहमा गृहमन्त्री खाणले नागरिकको जीवनस्तर सुधारमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले विगतका महिलालाई सशक्त बनाउँदै समाज सुधारमा सहकारीले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले सहकारी अभियानप्रति सरकार सकारात्मक रहेको पनि बताउनुभयो । उहाँले नागरिकलाई समूहबद्ध गराउनाका साथै क्षमता विकास, सम्पत्तिको मालिक बनाउने स्रोतसाधनमाथि पहुँच स्थापित गर्नमा सहकारी अभियानले ठूलो सहयोग गरेको बताउनुभयो । गृहमन्त्री खाणले सहकारी क्षेत्रको बचतलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरी राष्ट्रिय उत्पादन बढाउन सहकारीकर्मीसँग आग्रह गर्नुभयो । सहकारी विभागका रजिस्ट्रार रुद्रप्रसाद पण्डितले अनुत्पादक क्षेत्रमा लगानी बढेको, बढी ब्याज लिने र सेवा शुल्क बढी लिएकोलगायतमा गुनासा बढ्न थालेको भन्दै सचेत हुन आग्रह गर्नुभयो । आफूलाई बैंक नठान्न र बैंकको जस्तो अभ्यासले सहकारीको भलो नहुने पनि उहाँले बताउनुभयो । सहकारी विभागले जारी गरेको ३५ बुँदे एकीकृत निर्देशनलाई कार्यान्वयन गर्न उहाँले सबैमा आग्रह गर्नुभयो । उहाँले सहकारी अभियान र सरकारले समन्वय गरेर अगाडि बढ्नुपर्ने पनि धारणा राख्नुभयो । राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलले सरकारले सहकारीको आयकरको दर बढाएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । उहाँले आयकरको दर पुरानै कायम गर्न पनि सरकारसँग आग्रह गर्नुभयो । त्यस्तै उहाँले बचत तथा ऋण सहकारी संस्थाको नियमनका लागि छुट्टै बचत ऋण ऐनको आवश्यकता औँल्याउनुभयो । कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले कोभिड महामारीले सिर्जना गरेका वित्तीय सक्षमता, स्थिरता र स्वस्थ्यताका विषयको यथोचित सम्बोधन गरिने बताउनुभयो । उहाँले छुट्टै साकोस ऐनको आवश्यकता औँल्याउनुभयो । दुई दिनसम्म चल्ने गोष्ठीमा देशभरका करिब ७०० बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिको सहभागिता थियो । चौथो शिखर गोष्ठीले बचत ऋण सहकारीमा नवीनतम् प्रविधि, सञ्जालीकृत तथा दिगो अभियानमा विशेष जोड दिएको छ ।
भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले व्यवस्थापन मजबुद नहुँदा देशको विकासले गति लिन नसकेको बताउनुभएको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज देकोचाको आयोजनामा आजदेखि सुरु भएको आर्थिक विकासमा व्यवस्थापनको भूमिका विषयमा दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले देश विकासमा आर्थिक व्यवस्थापन मजबुद हुनपर्ने बताउनुभयो । विजुक्छेंले पञ्चवर्षीय विकास योजना सबैभन्दा पहिला रुसबाट सुरु भएको चर्चा गर्दै नेपालमा आफ्ना देशका विज्ञको बेवास्ता गर्दै विदेशीको सल्लाह लिएर योजना बनाउँदा देश विकासमा अगाडि नबढेको आरोप लगाउनुभयो । मोहियानी हक नदिइ कमैयामुक्त घोषणा गरेर जमिन्दारलाई मात्रै फाइदा पुगेको भन्दै उहाँले मुक्त भएपछि कमैयाले खानसमेत नपाएकाले उनीहरुलाई मोहियानी हकको व्यवस्था सरकारले गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवं कजेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापति, उपप्रमुख एवं कलेज व्यवस्थापन समितिका उपाध्यक्ष रजनी जोशी, बागमती प्रदेशका प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं, राष्ट्रिय योजना आयोगका सदस्य डा रामकमार फुँंयाल, त्रिभुवन विश्वविद्यालय योजना महाशाखाका निर्देशक प्रा डा धु्रवकुमार गौतम, ख्वप इञ्जिनीयरिङ कलेजका प्राचार्य सुजन माक, ख्वप कलेजका प्राचार्य रुपक जोशी, ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठलगायतले व्यवस्थापनको महत्वमाथि चर्चा गर्नुभयो । कार्यक्रममा आयोजक कलेजका प्राचार्य रुपक जोशीले सम्मेलनको पहिलो दिन दुई प्राविधिक सेसन हुने र दोस्रो दिन चार प्राविधिक सेसन हुने बताउनुभयो । सम्मेलनमा ४० जनाभन्दा बढी सहभागीले कार्यपत्र प्रस्तुत गरी छलफल गरिने बताउनुभयो ।
पाल्पा: नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता तथा जिल्ला क्षेत्र नम्बर १ का पूर्वसांसद भद्रबहादुर थापामगरको निधन भएको छ । ७० वर्षिया थापामगरको शनिबार बिहान रामपुर नगरपालिका वडा नम्बर १० स्थित आफ्नै निवासमा निधन भएको हो परिवारले जनाएको छ । थापामागर विगत ५ वर्षदेखि मुटुको रोगी थिए । को थिए थापामगर? स्थानीय भानुभक्त माध्यमिक विद्यालयका पूर्व शिक्षक समेत रहेका थापा २०४७ सालमा संविधान जारी भएपछि २०४९ को स्थानीय तह चुनावमा तत्कालीन गेझा गाविसका अध्यक्ष भएका थिए । त्यसपछि उनी २०५४ मा पुनः साविकको वडा नम्बर ४ को अध्यक्षमा निर्वाचितसमेत भएका थिए । त्यसपछि भने उनी पाल्पा जिल्ला विकास समितिको उपसभापति भएका थिए । २०५६ सालको आम निर्वाचनमा पाल्पा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका विजयराज घिमिरेलाई हराउँदै उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । वर्तमान सांसद दलबहादुर राना भने त्यतिबेला नेकपा मालेबाट उम्मेदवार बनेका थिए । उनी तेस्रो स्थानमा थिए । २०६४ सालमा अन्तरिम विधायिका सदस्य रहेका थापा पछिल्लो समय भने एमालेको लुम्बिनी प्रदेश कमिटी सल्लाहकार सदस्यको भूमिकामा थिए । मृतक थापा मगरका श्रीमती, एक छोरा र एक छोरी छन् ।