पोखरा:   गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाउनुभएको छ ।   पोखरा १७ सीतापाइला स्थित पोखरा वृद्धाश्रममा शनिबार बिहान पुगेर प्रदे...

तनहुँः    पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा भासिएको सडकबाट एउटा कार र मोटरसाइकल खसेको छ ।   निरन्तर परेको वर्षाका कारण आज बिहान भासिएको सडकबाट कार र मोटरसाइकल खसेको हो ।       मोटरसाइकल खसे पनि मोटरसाइकल चालक भने सकुसल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।   कार भने नदीमा पुगेको छ । “कार पहिराले पुरिएको छ, माथिबाट हेर्दा अलि अलि मात्रै देखिएको छ”, उहाँले भन्नुभयो, “कारमा कति मान्छे थिए भन्ने खुलेको छैन ।” उद्धार टोली घटनास्थलमा पुग्ने क्रममा रहेको खड्काले बताउनुभयो । घटनास्थलमा नेपाली सेनाको टोली जाँदैछ । 

काठमाडौँ :    काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको सम्बन्धमा सहमति जुटेको छ । गए राति अबेरसम्म भएको वार्तामा आन्दोलनरत स्थानीय, जनप्रतिनिधि र काठमाडौँ महानगरबीच सिसडोल, बञ्चरेडाँडा कुँडुले ल्याण्डफिल्ड साइडमा फोहोर व्यवस्थापनको समस्या समाधान गर्न १८ बुँदे सहमति जुटेको हो । सहमतिअनुसार रातिको समयमा मात्रै काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन गर्नुपर्ने छ ।        त्यसैगरी फोहोर व्यवस्थापन गर्दै आएको क्षेत्रको वैज्ञानिक अध्ययन गरी प्रभावित क्षेत्र छुट्याउने, सिसडोल, बञ्चरेडाँडा ल्याण्डफिल्ड क्षेत्रको फोहोरको दुर्गन्ध हटाउनुपर्ने, फोहोर बोक्ने गाडीबाट लिच्चड नचुहिने व्यवस्था एक महिनाभित्र गरिसक्नुपर्नेजस्ता विषयमा सहमति भएको छ ।   प्रभावित क्षेत्रका तर्फबाट भएको सहमतिपत्रमा नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १ र २ का अध्यक्ष तथा धादिङको धुनिबेँसी नगरपालिका वडा नम्बर १ र ३ का अध्यक्षले हस्ताक्षर गर्नुभएको छ । काठमाडौँ महानगरपालिकाको तर्फबाट प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले हस्ताक्षर गर्नुभएको छ ।     गत सोमबार साँझ पनि सहरी विकासमन्त्री, काठमाडौँ महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेँसी नगरपालिकाका प्रतिनिधिबीच मङ्गलबारदेखि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन गर्न ११ बुँदे सहमति गरे पनि सिसडोलका स्थानीयले पुनः अवरोध गरेपछि फोहोर व्यवस्थापन हुन सकेको थिएन ।   यसअघि भएको सहमतिको व्यवास्ता गर्दै बोकेर बञ्चरेडाँडा पुगेको गाडीलाई स्थानीयले ढुङ्गामुडा गरेपछि प्रहरी र स्थानीयबीच झडपसमेत भएको थियो । स्थानीयको निरन्तर अवरोधका कारण विगत १३ दिनदेखि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन हुन सकेको थिएन ।

काठमाण्डौँ :     आजको मौसम प्रणालीमा नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र पश्चिमी तथा मध्य भूभागमा स्थानीय वायुको प्रभावका साथै भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ ।            उक्त मौसमी प्रणालीको प्रभावले अहिले प्रदेश १, मधेस प्रदेश र बाग्मती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही, प्रदेश १, मधेस प्रदेश, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको छ । राजधानी काठमाडौँ उपत्यकामा बिहान पारिलो घाम लागेको छ । उपत्यकाको आकाशमा सामान्य तुवालो लागेको देखिन्छ ।           दिउँसो प्रदेश १, मधेश प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका  केही स्थान तथा मधेस प्रदेशसहित अन्य प्रदेशका पहाडी भेगका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको अधिकतम २६ दशमलव ५ र न्यूनतम तापक्रम १९ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।

काठमाडौँ:  मुलुकको शैक्षिक केन्द्रको रूपमा स्थापित त्रिभुवन विश्वविद्यालय । नामै काफी छ । यो देशको जेठो विश्वविद्यालय पनि हो ।   तर यही विश्वविद्यालयमा विभिन्न बहानामा तालाबन्दी हुन्छ । शैक्षिक क्रियाकलापभन्दा अन्य क्रियाकलाप नै बढी हुने गरेको छ । कहिले विद्यार्थी सङ्गठनले, कहिले प्राध्यापकसँग जोडिएका सङ्घसंस्थाले विश्वविद्यालयमा तालाबन्दी गर्दा सबै शैक्षिक क्रियाकलापसमेत प्रभावित हुने गरेको छ ।   सरोकारवाला निकायले ध्यान नदिँदा शैक्षिक स्थल अराजकताको भुमरीमा फसेको छ । ज्ञान बाँढ्ने थलो लगातार तालाबन्दीको शिकार हुँदा पनि विश्वविद्यालयको व्यवस्थापन तथा सम्बद्ध अधिकारीले ध्यान नदिँदा चौतर्फी आलोचना भइरहेको छ ।   किन तालबन्दी हुन्छ र के माग राखिन्छ भन्ने बारेमा आमरूपमा जानकारी दिइँदैन । विश्वविद्यालयमा तालाबन्दी गर्नु राम्रो हो कि होइन ? यो प्राज्ञिक विषयभित्र पर्छ वा पर्दैन भन्ने बारेमा त्यस्ता काम गर्नेले नै उत्तर देलान् वा नदेलान् तर त्यस्ता विषयले धेरैलाई नैतिक प्रश्न उठाइदिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समेत सो विषयले प्राथमिकता पायो ।   विश्वविद्यालय ज्ञान बाँढ्ने थलो हो कि आन्दोलन वा तालाबन्दी गर्ने थलो हो भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराए । बैठकमा विनियोजन विधेयक, २०७९ को विभिन्न शीर्षकमाथिको छलफलमा शिक्षा विज्ञान तथा प्रविधि, खानेपानी, अर्थ र रक्षा मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफल गरियो । छलफलमा सहभागी सांसद राजेन्द्र गौतमले त्रिभुवन विश्वविद्यालयमा भइरहेको तालाबन्दीको संस्कारबाट कहिले मुक्ति पाइएला भन्ने जिज्ञासा राख्नुभयो ।   अर्का सांसद योगेश भट्टराईले पनि विश्वविद्यालयभित्र फैलिएको तालाबन्दीको रोगको उचित निरुपण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद भट्टराईले शेयर धितोकर्जामा लगाइएको सीमा नभत्काउन आग्रह गर्नुभयो । केही शीर्ष नेताको बोलीका कारण शेयर बजार प्रभावित भएको भन्दै सुधारका लागि तत्काल पहल थाल्नुपर्नेमा उहाँको जोड थियो ।   सांसद घनश्याम खतिवडाले पाँच महिनादेखि त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी भएको र संस्कृत विश्वविद्यालय एक महिनादेखि तालाबन्दी भएको भन्दै यस्तो समस्याको समाधान कहिले होला भनेर जिज्ञासा राख्नुभयो ।   यस्तै केही सांसदले शैक्षिक क्षेत्रमा सरकारले ध्यान दिन नसकेको, बजेट नबढेको तथा विद्यालयलाई ‘मर्ज’ गर्ने विषयमा दीर्घकालीन सोच नभएकामा गुनासो गर्नुभयो । शिक्षा राज्यको दायित्व भए पनि त्यसतर्फ ध्यान नदिइएको तथा उचित बजेटको प्रबन्ध नभएकामा सांसदहरुले किन त्यस्तो भयो भन्ने जिज्ञासा राख्नुभयो ।   सांसद चित्रलेखा यादवले सार्वजनिक शिक्षाको कायापलट नभएसम्म मुलुकको कायापलट नहुने धारणा राख्नुभयो । उहाँले गुणस्तरीय शिक्षालाई सुनिश्चित गर्ने माध्यमको प्रभावकारिता अबलम्बन गर्न नसकिएको बताउनुभयो ।   आगामी आर्थिक वर्षको बजेटमा सरकारले शिक्षामा पहुँच विस्तार गर्नुका साथै पूर्वाधार निर्माण र गुणस्तर सुधार गरी उत्पादनशील र नवप्रवर्तनशील मानव पूँजी विकास गर्ने लक्ष्य राखेको छ । तथ्य र विज्ञानमा आधारित शिक्षा प्रवद्र्धन गर्ने, प्रदेश र स्थानीय तहको सहकार्यमा रोजगारमूलक र जीवनोपयोगी शिक्षा प्रदान गर्न विद्यालय शिक्षा क्षेत्र सुधार कार्यक्रम कार्यान्वयनमा ल्याइने विषय बजेटमा समावेश छ ।   शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई रोजगारीसँग, रोजगारीलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यका साथ विद्यार्थीलाई कक्षा कोठाबाटै व्यावसायिक ज्ञान र सीप प्रदान गर्न कार्यक्रम सञ्चालन गर्ने विषयलाई बजेटले प्रमुख प्राथमिकतामा राखेको छ । हाल १४० वटा विद्यालयमा सञ्चालित पढ्दै कमाउँदै कार्यक्रमलाई थप १०० विद्यालयमा विस्तार गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।   शिक्षासँगै सीप भन्ने अभियानका साथ माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई सीपमूलक तालिम प्रदान गर्ने गरी पाठ्यक्रम विकास गर्ने कार्यक्रम छ । माध्यमिक तह उत्तीर्ण भएसँगै स्वावलम्बी बन्न सक्ने गरी विद्यार्थीलाई कुनै एक व्यावसायिक दक्षता हासिल गराई रोजगार वा स्वरोजगार बन्न सक्षम बनाइने बजेटमा उल्लेख छ ।   प्राविधिक विषयको स्नातक तह र अन्य विषयमा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई स्थानीय तहको योजना निर्माण र ग्रामीण विकासमा योगदान गर्ने गरी न्यूनतम ९० दिन स्वयंसेवामा लगाउन सम्बन्धित विश्वविद्यालयले आवश्यक व्यवस्था मिलाउने छ । सरकारी तथा निजी विद्यालयमा रहेको फरक कम गर्नका लागि सामुदायिक विद्यालयका प्रधानाध्यापकको शैक्षिक नेतृत्व, सीप तथा व्यवस्थापन क्षमता अभिवृद्धि गर्न तालिमको व्यवस्था गर्ने विषय बजेटमा समावेश गरिएको भन्दै सांसदहरूले प्रसन्नता व्यक्त गर्नुभयो । तर शैक्षिक सत्र शुरु भइसक्दा पनि पुस्तक नपाउनु दुःखद भएको धारणा राख्नुभयो ।   विद्यार्थीको शैक्षिक नतिजाका आधारमा विद्यालय व्यवस्थापन तथा शैक्षिक सुधारका लागि प्रधानाध्यापकबाट पेश भएको प्रस्ताव विद्यालय व्यवस्थापन समितिबाट स्वीकृत भएमा सोबमोजिमको योजना कार्यान्वयन गर्न रु पाँच लाखसम्म प्रधानाध्यापकले खर्च गर्न पाउने व्यवस्था मिलाइएको छ ।   नयाँ र उदीयमान विषयमा उच्च शिक्षाको अध्ययनको अवसर स्वदेशभित्रै प्रदान गरी उच्च शिक्षाका लागि विदेश जाने प्रवृत्ति न्यून गर्न सार्वजनिक निजी साझेदारी अवधारणामा अन्तर्राष्ट्रियस्तरको सूचना प्रविधि अध्ययन प्रतिष्ठान स्थापना गर्न सहजीकरण गर्ने लक्ष्य छ । उच्च शिक्षाको अध्ययन अध्यापन कार्यलाई अनुसन्धानमा आधारित बनाउन त्रिभुवन विश्वविद्यालयलाई सेन्टर अफ एक्सिलेन्सका रूपमा विकास गर्ने कार्यक्रम छ । सांसद दीपकप्रकाश भट्टले सरकारको यो नीतिप्रति प्रसन्नता व्यक्त गर्नुभयो ।   उहाँले त्यसका लागि स्पष्ट कार्यक्रम र बजेटको आवश्यकता औँल्याउनुभयो । आगामी आवमा सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि रु. ७० अर्ब पाँच करोड विनियोजन गरेको छ । त्यस्तै शिक्षा क्षेत्रतर्फ प्रदेशमा रु पाँच अर्ब ३२ करोड र स्थानीय तहमा रु एक खर्ब २१ अर्ब एक करोड हस्तान्तरण गरिने भएको छ ।   प्रतिनिधिसभाको आजको बैठकमा सांसद पुष्पा भुषाल गौतमले खानेपानी उत्पादन बढाउनका लागि नयाँ नीति जरुरी रहेको औँल्याउनुभयो । उहाँले पानी निर्यातमा कत्तिको ध्यान पुगेको छ भनी सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले नयाँ अर्थतन्त्रबाट नयाँ नीति युवा पुस्ताले खोजेको छ भन्दै सबै सरकारी स्कुललाई नमूना स्कुल बनाउन सुझाव दिनुभयो ।   सांसद विन्दा पाण्डेले शैक्षिक क्यालेन्डर निस्किने बेलामा नै पाठ्यपुस्तक उपलब्ध गराउनु जरुरी रहेको बताउनुभयो । उहाँले दक्ष जनशक्तिको अभावमा शैक्षिक गुणस्तर बढ्न नसकेको बतानुभयो । उहाँले हिंसा, विभेद अत्याचार र कुसंस्कृतिको अन्त्य गर्ने भन्ने विषयमा विद्यालय शिक्षा देखिनै बालबालिकालाई जानकारी दिनु जरुरी रहेको बताउनुभयो ।   सांसद महेश बस्नेतले सरकारले काठमाडौँको फोहर व्यवस्थापन गर्न नसकेको भन्दै अर्थतन्त्र सुधारमा ध्यान जान नसकेको बताउनुभयो । उहाँले सेनेटरी प्याड उत्पादन गर्ने स्वदेशी कम्पनीलाई निरुत्साहित गरेको आरोप लगाउनुभयो ।   सांसद छक्कबहादुर लामा, डा पुष्पाकुमारी कर्ण कायस्थ, रेनुका गुरुङ, जीवनराम श्रेष्ठ, भीमसेनदास प्रधान, रामेश्वर राययादव, सरलाकुमारी यादव, मोतिलाल दुगढ, गोपालबहादुर बम, देवेन्द्रराज कँडेल, प्रमोद शाह, झपटबहादुर रावल, डिला संग्रौला पन्त, सरलाकुमारी यादव, लिलादेवी सिटौला, चन्द्रकान्त चौधरी, विजय सुब्बा, मानबहादुर विश्ववकर्मालगायतले बैठकमा भाग लिनुभएको थियो ।

काठमाण्डौँ :      कुनै पनि सरकारी निकायका कर्मचारी नियुक्त गर्दा त्यसको कामका आधारमा छनोट गरिन्छ । सोही आधारमा शैक्षिक योग्यताको क्रम निर्धारण गरिन्छ ।      काम र शैक्षिक योग्यतालाई ध्यान दिएर निश्चित प्रक्रिया पूरा गरेर मात्रै कर्मचारी चयन गरिन्छ । संवैधानिक निकायको रुपमा रहेको लोकसेवा आयोगले परीक्षालगायतका कार्यक्रम सञ्चालन गर्दछ तर, एउटा सरकारी निकायले भने शैक्षिक योग्यता नमिल्ने व्यक्तिलाई नियुक्ति गरेर गैरकानुनी काम गरेको पाइएको छ ।      अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरेको मुद्दाअनुसार राष्ट्रिय चिया तथा कफी विकास बोर्डले कृषि प्राविधिक  र लेखापाल पदमा कर्मचारी नियुक्त गर्दा शैक्षिक योग्यता नमिल्ने कर्मचारी नियुक्त गरेको पाइएको हो ।      आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार २०७२ असोज २ गते गोरखापत्रमा प्रकाशित सूचनाअनुसार विभिन्न पदमा पदपूर्तिका लागि विज्ञापन गरेको थियो । बोर्डका कार्यकारी निर्देशकले पदपूर्ति समितिको संयोजक  रही कृषि  प्राविधिक र लेखापाल पदमा योग्यता नमिल्ने व्यक्तिलाई नियुक्ति गरेका थिए ।      शैक्षिक योग्यता हेर्ने परीक्षण गर्न सावधानी अपनाउनुपर्नेमा तोकिएको न्यूनतम शैक्षिक योग्यता नमिल्ने व्यक्तिको दरखास्त फारम स्वीकृत गर्ने र गर्न आदेश दिने काम गरेको पाइएको आयोगको ठहर छ ।      गैरकानुनीरुपमा दरखास्त स्वीकृत गर्ने कर्मचारीले प्रचलित कर्मचारी सेवा शर्त विनियमावली अनुसारको शैक्षिक योग्यताको तथ्यलाई लुकाएको पाइएको छ । आयोगले बोर्डका तत्कालीन कार्यकारी निर्देशक शेषकान्त गौतम, दरखास्त स्वीकृत गर्ने कर्मचारी तत्कालीन प्रशासन प्रमुख रघुपति चौधरी, कृषि विकास अधिकृत गौरव लुइँटेल र लेखा अधिकृत टङ्कप्रसाद ओलीविरुद्ध मुद्दा दायर गरिएको छ ।    आयोगले आरोपी विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को सोही दफाबमोजि सजायको मागदाबी गरिएको सहायक प्रवक्ता भण्डारीले जानकारी दिनुभयो । 

पोखरा:  पोखरामा जारी ब्रेकिङ बाउण्ड्रिज एमसिसी अन्तर विद्यालय छात्र छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा सिद्धार्थ मावि र भद्रकाली मावि विजयी भएका छन् ।   पहिलो खेलमा सिद्धार्थले शुक्रराज वलभद्र माविलाई ६ विकेटले पराजित गरेको थियो । अर्को खेलमा भद्रकालीले महेन्द्र माविमाथि ८ विकेटको जित निकाल्यो ।   पहिला व्याटिङ गरेको भद्रकालीले ६३ रनमै सम्पूर्ण विकेट गुमाएको थियो । खेलमा १ ओभर बलिङ गर्दै ३ रन खर्चिएर ४ विकेट लिएका सिद्धार्थका शन्देस नेपाली म्यान अफ द म्याच भए ।   अर्को खेलमा पहिला व्याटिङ गरेको महेन्द्र माविले १५ ओभरमा सम्पूर्ण विकेट गुमाएर ५९ रन  मात्रै बनाउन सक्यो । प्रत्युत्तरमा भद्रकालीले ८.४ ओभरमै ६० रनको लक्ष्य भेटाएको थियो ।   भद्रकालीका असिम गुरुङ्गले १८ बलमा ६ चौकाको मद्धतमा २६ रन बनाए ।   बलिङतर्फ ३ ओभरमा २ मेडन सहित २ विकेट लिएका भद्रकालीका रविन गुरुङ्ग म्यान अफ द म्याच भएका थिए ।

पोखरा:  भूमिअधिकारबाट वञ्चितहरुको हक अधिकार सुनिश्चित गर्नका लागि वकालत गर्दै आएको भूमिअधिकार मञ्च काक्कीका प्रतिनिधि मण्डलले पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यलाई भेटी ३ बुदें माग पत्र पेश गरेका छन् ।   मञ्चका कास्की जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङको नेतृत्वमा प्रदेश सदस्यहरु रामबहादुर लामिछाने र टेकबहादुर पुन, कास्की जिल्ला सदस्य हरिकुमारी गुरुङ र पोखरा महानगर अध्यक्ष लेखमाया थापाको टोलीले आज मागपत्र पेश गरेका हुन् ।   मेयर आचार्यले मागपत्र ग्रहण गर्दै  भूमिहिनको पक्षमा काम गर्ने बताए । उनले आगामी २÷३ वर्ष भित्रमा समस्या समाधानको लागि पहल गर्ने उल्लेख गरे ।    सो पत्रमा पोखरा महानगरपालिका र ३३ वटै वडाहरुमा राष्ट्रिय भूमि आयोजको सहजीकरण समितिमा मञ्चको तर्फबाट १ महिला र १ पुरुषलाई मनोनित गर्नुपर्ने उल्लेख गरिएको छ ।   त्यसैगरी पत्रमा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थीत बासिन्दालाई भोगाधिकारको आधारमा सोही स्थानमा जग्गाको नाप नक्सा गरी निस्सा उपलब्ध गराई पूर्जा सहितको व्यवस्था गर्न माग गरिएको छ ।   विगत २०६८ सालमा नेपाल सरकारले गठन गरेको सुकुम्बासी समस्या समाधान आयोगले भूमिहिन सुकुम्बासीहरुलाई छानविन गरी उक्त बस्तीहरुमा जग्गा नाप नक्सा समेत तयार गरी सुकुम्बासी परिचयपत्र वितरण गरेको हुनाले उक्त प्रमाणलाई आधारमानी निजहरुलाई सोही स्थानमा श्रेस्ता कायम गरी पूर्जा वितरण गरियोस् भन्ने पत्रमा उल्लेख गरिएको मञ्चका कास्की जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङले जानकारी दिए ।

पोखरा:   गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र संयुक्त राष्ट्र संघका सहायक महासचिव कान्नी विंगाराजा नेतृत्वकोे टोलीबीच मुख्मन्त्री कार्यालयमा बिहीबार औपचारिक भेट भएको छ ।   उक्त अवसरमा नेपालका लागि फ्रान्सका राजदूत गिल्स बौरबाओ, नेपालका लागि संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका नेपाल प्रतिनिधि आइसाने मेडागान्गोडा लाबे, इसिमोडका महासचिव एवं कोइकाका नेपाल प्रतिनिधि लगायत सहभागी थिए ।   गण्डकी प्रदेशका तर्फबाट पर्यटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेल, नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्ले, प्रमुख सचिव रविलाल पन्थ, सचिव ज्ञानेन्द्र पौडल, मुख्यमन्त्रीका राजनीतिक सल्लाहका खड्गबहादुर कमाल भेटमा सहभागी थिए ।     संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) को एसिया प्यासिफिक रिजनल ब्युरो डाइरेक्टर समेत रहेकी कान्नीसँगको भेटमा मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश देशको पर्यटकीय राजधानी भएकाले पर्यटन क्षेत्रको समग्र विकासमा सहकार्य गर्नेे इच्छा व्यक्त गरे ।   उनले भने, ‘संघीयताको सुदृढीकरण, सेवा प्रवाहको प्रभावकारिता, जनप्रतिनिधि तथा कर्मचारीको क्षमता अभिवृद्धि, तथ्यांक तथा अभिलेख व्यवस्थापन र अनुभवहरुको आदान प्रदानमा यहाँहरुको सहयोगको अपेक्षा मैले गरेको छु ।’ गण्डकी प्रदेश सरकारले युएनडिपी सँगको सहकार्यमा ‘दिगो पर्यटन पुनरुत्थान परियोजना’ सञ्चालन गर्न नेपाल सरकारले स्वीकृति दिएको जानकारी उनले गराए । युएनडिपीको कार्यालय पोखरामा खोल्न पनि उनले आग्रह गरे ।   सहायक महासचिव कान्नी विंगाराजाले दिगो पर्यटन विकासका लागि नेपालसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताइन् । ‘दिगो पर्यटन पुनरुत्थान परियोजना’ सञ्चालनका लागि नेपाल सरकारले अनुमति दिएकोमा उनले खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘साझा समस्या समस्या समाधान गर्न साझा प्रयत्न जरुरी छ । गरिबी, भोकमरी अन्त्यका लागि दिगो विकासका लक्ष्य हासिल गर्न सबैले सँगै यात्रा गर्नुपर्छ ।’   मुख्यमन्त्री पोखरेलले सुशासनको प्रत्याभूति, संघीयताको सुदृढीकरण र विकासका कार्यमा प्रदेश सरकारको ध्यान केन्द्रित भएको छ । ‘हामी अहिले कोभिडले थला पारेको सामाजिक तथा आर्थिक अवस्थालाई पुनरुत्थान गर्न अग्रसर छौं । विषम परिस्थिति पार गर्दै गर्दा स्वास्थ्य, शिक्षा र समग्र विकास प्रणालीलाई फरक ढंगबाट सम्बोधन गर्नका लागि आवश्यक तयारी थालिसकेका छाैं,’ उनले भने ।   पर्यटन, उद्योग, कृषि आदिको पुनरुत्थानका लागि गण्डकी सरकारले काम आरम्भ गरिसकेको उनले बताए । दिगो विकास लक्ष्यलाई आन्तरिकीकरण गरी कार्यान्वयनमा लैजानुका साथै दिगो विकास लक्ष्य हासिल गर्न नसकिने हुँदा यसको स्थानीयकरणको कार्य थालेको उनले बताए ।   मुख्यमन्त्री पोखरेलले मित्रराष्ट्र फ्रान्सले दशकौंदेखि नेपालको विकासमा पुर्‍याउँदैं  आएको सहयोगका लागि राजदूतमार्फत् फ्रान्स सरकार र फ्रान्सेली जनताप्रति हार्दिक आभार व्यक्त गरे ।   यसैगरी नेपालले विकासका विविध आयाम र प्रविधिमा दक्षिण कोरियाबाट सहयोग पाउनुका अतिरिक्त नेपाली श्रमिकहरुले त्यहाँ सेवा गर्ने अवसर पाएको मुख्यमन्त्रीले बताए । गण्डकी विश्व विद्यालय र गण्डकी प्रदेश प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानले कोइका समक्ष राखेको प्रस्तावबारे उनले स्मरण गराए । इसिमोडले गरेका अनुसन्धान नेपालका लागि उपयोगी हुँदै आएको भन्दै मुख्यमन्त्री पोखरेलले पर्वतमालाको संरक्षण र वातावरण संरक्षणमा इसिमोडले खेलेको भूमिको प्रशंसा गरे ।   मुख्यमन्त्री पोखरेल, सहायक महासचिव कान्नीसहितको टोलीले मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय परिसरमा वृक्षरोपण गरेको छ । सांकेतिक रुपमा गमलामा रोपिएका बिरुवा उपयुक्त ठाउँमा सारेर चौतारी निर्माण गरिने पर्यटन मन्त्री कँडेलले जानकारी गराए ।     सहायक मन्त्रीसहितको टोलीले बिहीबार पोखराको सराङकोट, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय लगायत स्थानको अवलोकन गरेको छ ।

सप्तरी :    वर्षासँगै परेको चट्याङ लागेर सप्तरीको बोदेबर्साइन नगरपालिका–३ मधुवनमा आज दुई जनाको मृत्यु भएको छ ।   गाईबस्तु चराउन गएका ५६ वर्षीय रामजी यादव र ८० वर्षीय सत्यनारायण यादवलाई चट्याङ लागेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।      वर्षा भइरहेको बेला एउटै छातामा ओत लागेका दुवैमाथि चट्याङ परेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बोदेबर्साइनले जनाएको छ । यता घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  ।