भरतपुर: शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मतगणना अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्रमा गरिने भएको छ । मतगणनाको तयारीको काम भईरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलका अनुसार केन्द्रको ‘सी’ ब्लकमा मतगणना गर्ने तयारी गरिएको हो । सो ब्लकमा सिसिटिभि जडानको काम सकिएको छ भने तार जाली लगाउने काम भईरहेको जनाइएको छ । सात समुहमा मतगणना गर्न सकिने गरी तयारी थालिएको पौडेलले जानकारी दिनुभयो । “आयोगले ५ गते सम्म गणनाको काम सक्न निर्देशन दिएको छ, सोही अनुसार तयारी गरेका छौ”, उहाँले भन्नुभयो । तर, महानगरमा खस्ने मतको अनुपातमा आयोगले तोकेको मितिभन्दा दुई दिन ढिला हुनसक्ने कार्यालयले अनुमान गरेको छ । वि सं २०७४ को मत गणनाको क्रममा मत पत्र च्यातिएपछि अहिलेको गणनामा त्यस्तो नहोस भनेर सबै खालको तयारी गरिएको पौडेलले बताउनुभयो । भरतपुर महानगरमा २९ वडा छन् । जहाँ १ लाख ८५ हजार ७ सय ५२ मतदाता छन् । महानगरमा लागि ६५ मतदान स्थाल २०२ मतदान केन्द्र रहेको छ । विगतको स्थानीय तहको निर्वाचनमा मतगणनाको क्रम भएको घटना दोहोरीन नदिन तीन तहको सुरक्षाकर्मी परिचालनका साथै पर्याप्त कर्मचारी खटाईने प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गले बताउनुभयो ।
काठमाडाैं: आसन्न निर्वाचनका लागि आजदेखि छ दिनसम्म विद्यालय बन्द हुने भएका छन् । निर्वाचनका लागि धेरैजसो सामुदायिक तथा निजी विद्यालयमा मतदान केन्द्र राखिएको, धेरै शिक्षक निर्वाचनमा खटाएको र शिक्षक तथा कक्षा १२ मा अध्ययनरत विद्यार्थी मतदानका लागि गाउँ फर्किने भएकाले आजदेखि अगामी जेठ २ गतेसम्मका लागि विद्यालय बन्द गरिने भएको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई मतदान केन्द्र कायम भएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन बिदा दिन निर्देशन दिए पनि शनिबार, १ गते आइतबार तथा २ गते बुद्धजयन्तीको सार्वजनिक बिदा परेकाले छ दिन विद्यालय तथा कार्यालय बन्द हुने भएको हो । सरकारले हरेक शुक्रबार ४ बजेसम्मनै पठनपाठन सञ्चालन गर्ने र बर्खे तथा हिउँदे बिदा घटाएर हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ । सरकारले आगामी जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शिक्षा मन्त्रालयले यसलाई कार्यान्वयन गराउन शिक्षा विकास तथा समन्वय एकाइ सानोठिमीलाई परिपत्र गरेको छ । शिक्षा मन्त्रालयले बुधबार सरकारी तथा निजी विद्यालयमा पनि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । शुक्रबार ४ बजेसम्म नै पठनपाठन गर्ने तथा बर्खे र हिउँदे बिदा घटाएर हप्तामा दुई दिन बिदा दिने व्यवस्था मिलाउन शिक्षामन्त्रीस्तरीय निर्णय गरी बुधबार शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीलाई निर्देशन गरेपछि केन्द्रले ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइलाई परिपत्र गरेको हो । केन्द्रले देशका ७७ वटा जिल्ला समन्वय एकाइ तथा देशभरका स्थानीय तह एवं विद्यालयलाई पनि हप्तामा दुई दिन सार्वजनिक बिदा कार्यान्वयन गर्न परिपत्र गरेको केन्द्रका निर्देशक रामचन्द्र शर्माले जानकारी दिनुभयो । राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले निर्दिष्ट गरेअनुसार पाठ घण्टा र कार्य घण्टामा नघट्ने गरी पठनपाठनका कार्य सञ्चालन गर्न आइतबार बिदा दिँदा अपुग भएका समय हिउँदे, वर्षे र अन्य बिदामा कटाइ पूर्ति गर्ने व्यवस्था गर्ने गरी वार्षिक क्यालेण्डर तयार पार्न स्थानीय सरकारलाई निर्देशन गरेको छ । यस अवधिमा हिउँदे तथा वर्षे बिदा ५० दिनलाई घटाएर ३० दिन बिदा एकैट पटक दिने वा पटक पटक गरी दिने भन्नेबारेमा स्थानीयले तहले क्यालेन्डर बनाउन सक्ने व्यवस्था गरिएको छ ।
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै, कसैको प्रभावमा नपरी स्वतन्त्ररुपमा योग्य उम्मेदवारको छनौटका लागि मतदानमा संलग्न हुन सम्पूर्ण प्रदेशवासीमा अपिल गरेका छन् । स्थानीय तह निर्वाचन २०७९ का सन्दर्भमा मंगलबार आह्वान पत्र जारी गर्दै मुख्यमन्त्री पोखरेलले भनेका छन्, ‘ हाम्रो मत नै मुलुक रुपान्तरणको आधार भएकाले मतदानको अधिकार विवेकपूर्णरुपमा प्रयोग गर्नुहुनेछ भन्नेमा विश्वस्त छु ।’ स्थानीय तह जनताको समीपमा रहेर जनताको हेरक गतिविधिमा साथ दिने सरकार हो भन्दै मुख्यमन्त्री पोखरेलले लोकतन्त्रमा विश्वास गर्ने, जनताको अधिकारको रक्षा गर्न सक्षम, विकासप्रेमी, इमान्दार, कर्तव्यनिष्ठ र सेवा भावले ओतप्रोत उम्मेदवारलाई छनौट गर्न सकेमा मात्र आगामी ५ वर्ष हामीले चाहे बमोजिमको सेवा प्राप्त गर्न सकिने उल्लेख गरेका छन् । लोकतन्त्रको महत्वपूर्ण आधार र सुन्दर पक्ष नै आवधिक निर्वाचन हो । संविधानसभामार्फत् २०७२ मा जारी भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधानमा व्यवस्था भए बमोजिमको ३ तहको सरकारमध्ये जनताको समीपमा रहेको स्थानीय तहको १ कार्यकाल सफलतापूर्वक सम्पन्न भई विशेष अनुभवका साथ मुलुक अहिले स्थानीय तहको दोस्रो कार्यकालका लागि निर्वाचनमा जुटिरहेको छ । मुख्यमन्त्रीले भनेका छन्, ‘यस सुखद घडीमा सम्पूर्ण प्रदेशवासीमा वधाई ज्ञापन गर्न चाहन्छु । यसै क्षणमा हामीलाई उन्नत अवस्थाको शासन प्रणाली उपलब्ध गराउन बलिदानी गर्नुहुने सम्पूर्ण सहिदप्रति हार्दिक श्रद्धाञ्जली प्रदान गर्दै अग्रजहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।’ लामो र कठोर बलिदानीपूर्ण संघर्षबाट नेपाली जनताले प्राप्त गरेका उपलब्धि बचाई राख्नका लागि आवधिक निर्वाचन अनिवार्य शर्त रहेको मुख्यमन्त्रीले उल्लेख गरेका छन् । आह्वानपत्रमा भनिएको छ, ‘वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई भयरहित, स्वच्छ एवं मर्यादित तबरले सम्पन्न गर्ने, गराउने दायित्य सरकारसँगै राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र एवं आमसञ्चार माध्यमसमेतको हो ’ राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षणमा खटिने राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संघसंस्था एवं सरोकारवाला सबै निश्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन अग्रसर हुनका लागि उनले आह्वान गरेका छन् । धेरैभन्दा धेरै प्रदेशवासीको संलग्नतामा स्थानीय तहको निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गर्दै कोरोनाको त्रास कायमै रहेकाले सामाजिक दुरी र स्वास्थ्य मापदण्ड अनपाउन उनले अनुरोध गरेका छन् ।
उतर राई, पोखरा: युुवा बौद्ध संघ नदिपुुरले आयोजना गरेको रक्तदान कार्यक्रममा ३४ युुनिट रगत संकलन भएको छ । २५६६ औ बुद्ध जयन्तीको अवसरमा युुवा बौद्ध संघद्धारा सञ्चालित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दोश्रो दिन आज (सोमबार) ‘रक्तदान जिवनदान, जिवनदान महादान’ भन्ने नारा सहित बुुद्ध विहार अगाडि आयोजना गरिएको कार्यक्रम संयोजक शरण शाक्यले जानकारी दिए । विहार प्रमुख भिक्षु धज्जवन्तोले स्थानिय बासिन्दा (रक्तदाता) भुुपेन्द्र श्रेष्ठलाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रम शुुभारम्भ गरे । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका अक्षयकोष दाता एवम् ईच्छाशक्ति मोवाई प्रालिका सञ्चालक इच्छामान बुद्धाचार्यले सङ्घको विभिन्न उल्लेखनीय कामहरुको प्रशंसा गर्दै शुुभकामना व्यक्त गरे । यसैगरि ज्ञानमाला सङ्घका अध्यक्ष श्याम शाक्य,रक्त सञ्चार प्रमुुख महेन्द्र केसी लगायतले बोलेका थिए । सामाजिक व्यक्तित्व, स्थानीय बासिन्दाहरु सहभागिता रहेको उक्त कार्यक्रममा नेपाल रोडक्रस सोसाइटी कास्की तथा क्षेत्रीय रक्तसञ्चार सेवा केन्द्र पोखराको प्राविधिक सहयोगमा रहेको थियो ।
काठमाडौँ, सामान्यतया अल्छी स्वभाव, काम गर्न आनाकानी गर्ने, भनेको नमान्नेजस्ता व्यवहार देखाउने मान्छेलाई गाली गर्नुपर्दा भनिन्छ ‘यो त कस्तो गधा रहेछ ?’ तर, कामचोर प्रवृत्तिलाई गधासँग दाँजेर बोल्ने नेपाली समाजको बानीलाई परिवर्तन गर्नुपर्ने माग राख्दै नेपालमा पहिलोपटक गधा दिवस मनाउन थालिएको छ । मे ८ तारिखलाई गधा दिवसका रूपमा मनाउने घोषणासँगै एनिमल नेपाल संस्थाले सरोकारवाला सबै निकाय तथा नागरिक समाजका व्यक्तिसँग विभिन्न कार्यक्रम आयोजना गर्न लागेको छ । सो संस्थाले गधा, घोडा, खच्चरले यातायात क्षेत्रमा पु-याएको योगदानलाई कदर गर्नुपर्ने र उसको अवमूल्यन गर्न नहुने माग राख्दै सचेतना जगाउने उद्देश्यले यस वर्षदेखि सप्ताहव्यापी गधा दिवस मनाउन लागेको छ । तराईदेखि हिमालसम्म विशेषगरी सामान ढुवानीका लागि प्रयोग गरिने यस्ता जनावरलाई सकुन्जेल काम गराउने र काम गर्न नसक्ने भएपछि छाडा छाड्ने प्रवृत्तिले ती जनावरको वंशविनाश हुनेसम्मको समस्या पर्ने गरेको बताइएको छ । हाल नेपालमा गधा, खच्चर र घोडा एक लाख ५० हजारभन्दा बढीको सङ्ख्यामा ढुवानी व्यवसायका लागि प्रयोगमा रहेको सो संस्थाले जनाएको छ । सो संस्थाले ललितपुर जिल्लाको गोदावरी नगरपालिकाअन्तर्गत डुकुछापमा समस्यामा परेका, घाइते, बूढा भइसकेका खच्चर, गधा तथा घोडाको स्याहार केन्द्र स्थापना गरेको छ । विशेषगरी काठमाडौँ उपत्यकाका इँटा उद्योगमा काम गराउन भित्रिएका गधा, खच्चर तथा घोडा अशक्त, वृद्ध तथा घाइते भएपछि सडकमा छाड्ने गरिएको छ । समस्यामा परेका त्यस्ता जनावरलाई स्याहार केन्द्रमा लगेर पालन गर्ने गरिएका संस्थाका प्रमुख हरिप्रसाद जोशीले बताउनुभयो । उहाँका अनुसार केन्द्रमा पौष्टिक आहार प्रदान गर्ने तथा उपचार गर्ने गरिएको छ । हाल केन्द्रमा ५० भन्दा बढी समस्यामा परेका गधा, खच्चर र घोडा संरक्षण गरिँदै आएको छ । घोडा, खच्चर, गधा विशेषज्ञ डा. सजना थापाका अनुसार यी जनावरले काम गर्न सकुन्जेल काममा लगाउने र अशक्त, रोगी भएपछि जथाभावी छाड्ने प्रवृत्तिले ती जनावरको बाँच्न पाउने अधिकारको हनन हुने गरेको बताउनुभयो । उहाँले गधा दिवसका अवसरमा यी जनावरले पु-याएको योगदानबारे सचेतना जगाउने, यी जनावरबारे अध्ययन अनुसन्धान गर्न चाहने विश्वविद्यालयका प्राध्यापक, विद्यार्थीसँग अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । अर्का विशेषज्ञ डा. अतिश यादवका अनुसार इँटा व्यवसाय र उच्च हिमाली क्षेत्रको सम्पूर्ण जनजीवनका लागि यातायातको सेवा प्रवाह गर्दै आएका यी जनावरको योगदानलाई सरकारले अध्ययन अनुसन्धान गरी यिनको बाँच्न पाउने अधिकारको सुरक्षा गर्नुपर्ने बताउनुभयो । नेपालबाहेक बेलायत, इजिप्ट, भारत, पाकिस्तानलगायतका अफ्रिकी मुलुकमा ढुवानीको साधनमा प्रयोग हुने यी जनावरको हक–अधिकारका लागि काम हुँदै आएको छ । बेलायतले त अन्य मुलुकमा समस्यामा परेका गधा, खच्चर तथा घोडालाई ल्याएर संरक्षण, हेरचाह गर्ने गरेको सो संस्थाले जनाएको छ । गाेरखापत्रबाट साभार
उतर राई, पोखरा: प्राज्ञिक विद्यार्थी परिषद नेपाल पोखरा महानगर इकाई समितिद्वारा आयोजित रक्तदान कार्यक्रममा ३६ युुनिट संकलन भएको छ । ‘रक्तदान जिवनदान, जिवनदान महादान’ भन्ने नारा सहित मजदुर तथा विद्यार्थी दिवसको अवसरमा विन्ध्यवासिनी मन्दिर परिषरमा आयोजना गरेको संयोजक एवम् प्राज्ञिक विद्यार्थी परिषद् पोखरा महानगरका अध्यक्ष रविमोहन बरालले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्राध्यापक हिमराज गिरीले परिषद्का उपाध्यक्ष दिपक रेग्मीलाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रम शुुभारम्भ गरे । सो अवसरमा बोल्दै गिरीले परिषदको विभिन्न उल्लेखनीय कामहरुको प्रसंशा गर्दै शुभकामना व्यक्त गरे । परिषदले सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान कार्यक्रममार्फत सकरात्मक सन्देश प्रवाह गरेको उनले धारणा राखेका थिए । सामाजिक व्यक्तित्व, विद्यार्थीहरु लगायत स्थानीयहरुको सहभागिता रहेको उक्त कार्यक्रममा रक्त सञ्चार सेवा केन्द्र गण्डकीको प्राविधिक सहयोग रहेको थियो । परिषदका अध्यक्ष रविमोहन बरालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन दिप्सन गुरुङले गरेका थिए ।
उत्तर राई, पोखरा: युवा बौद्ध संघ नदीपुरले २५६६ औं बुद्ध जयन्तीको अवसरमा आजदेखि सप्ताहव्यापी कार्यक्रमको आयोजना थालेको छ । आगामी जेठ २ गते सम्म सञ्चालन हुने उक्त कार्यक्रमको पहिलो दिन (शनिबार) निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । उक्त स्वास्थ्य शिविरमा करिब ३ सय बढिले सेवा लिएको कार्यक्रम संयोजक डा. भाइरत्न शाक्यले जानकारी दिए । उनका अनुसार शिविरमा हाडजोर्नी, दन्तरोग, नाक, कान, घाँटीलगायतका परीक्षण गरिनुका साथै औषधिसमेत उपलब्ध गराइएको थियो । संघका अध्यक्ष सुदीप प्रधानाङ्गले आगामी आइतबार रक्तदानको आयोजना गरिएको बताउँदै वडाबासी एवं सम्पूर्ण पोखरेलीलाई सहभागितको लागि अनुरोध गरे । त्यस्तै, सोमबार साइकल र्यालीको समेत आयोजना गरिने उनले बताए । पोखरा साइकल सिटीको सहयोगमा आयोजना हुने उक्त र्याली घेछेलिङ गुम्बा दीपहुँदै, सुुखवति गुम्बादेखि अनदुँस्थित शान्ति स्तुपासम्म हुने र्याली संयोजक रवि उदासले बताए । बुद्ध जयन्तीको अवसरमा वृहत कार्यक्रम आगामी जेठ २ गते आयोजना गरिने आयोजकले जनाएको छ ।
काठमाण्डौंः विवाद र चर्चाका पर्याय बनेका केशव स्थापितले काठमाण्डौंमा एक सयवटा गफ गर्ने ठाउँ बनाइदिने प्रतिबद्धता जनाएका छन् । नेकपा एमालेबाट काठमाण्डौं महानगरमा मेयरका प्रत्यासी रहेका स्थापितले राजधानीमा युवा गफिने, जीवनका कथा हाल्ने स्थानको अभाव भएको भन्दै उक्त योजना सुनाएका हुन् । सञ्चारकर्मीसँगको भेटघाटमा स्थापितले भने, ‘अहिलेका युवावर्गलाई राजधानीमा पार्क र भेटघाट गर्ने स्थानको अभाव छ, उनीहरुलाई सार्वजनिक स्थलको अभाव छ ।’ यससँगै स्थापितले ‘घरघरमा स्वास्थ्य नारी कार्यक्रम’, ‘ट्राफिक व्यवस्थापन’ र ‘फोहोर व्यवस्थापन’लगायतका योजनासमेत सुनाएका छन् ।
पोखराः नेपाल मुक्ति जातिय उत्पीडित समाजका केन्द्रीय सदस्य किसान सुनारले स्थानीय तहको निर्वाचनमा समाजको साथ नेकपा एमालेलाई रहेको बताएका छन् । एमाले पोखरा १५ ले वडामा रहेका दलित तथा बिपन्न वर्गलाई निर्वाचनमा समेट्न तथा मतदाता शिक्षा प्रदान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सुनारले उक्त धारणा राखेका हुन् । कार्यक्रममा केन्द्रिय सदस्य किसान सुनारले जसले एउटा व्यक्तिलाई पाउदेखि शिरसम्म चप्पल जुत्ता र लुगा सिलाइदिएर लाज ढाकी सुरक्षित बनाउने काम गर्यो उही व्यक्तिलाई यो समाजले दलितको सँज्ञा दिएको आरोप लगाए। उनले नाङ्गै खुट्टा हिँड्नेलाई चप्पल बनाएर अथवा मानिसको लाज छोप्नलाई कपडा सिलाइदिएर दलित नभएको भन्दै मानिसको सोचमा परिवर्तन आउनुपर्नेमा जोड दिए। दलित भएकै कारण अपहेलित गर्ने कार्य भइरहेको उल्लेख गर्दै उहिलेदेखि नै दलितलाई समय अनुसार व्याख्या गर्ने गरिएको उनले आरोप लगाए। समाजले समानरुपले स्विकार्न नसकेपनि दलितको भोट भने चल्ने गरेको बताउँदै फेरी यहि समाजले समानताको हिसाबले हेर्न नसकेको गुनासो पोखे। उनले भने – “हाम्रो आक्रोश र गुनासो यहि हो, हामीलाई समाजले समान नजरले हेरोस्।“ उनले यस प्रथाको अन्त्यका लागि नेकपा एमालेलाई भोट दिन भेलामा उपस्थितलाई आग्रह गरे। यस्तै अध्यक्षका उम्मेदवार तोरण बानियाँले भोली आफूहरु निर्वाचित भएको खण्डमा पाँच जनाले मात्रै योजनाहरु पूरा गर्न नसक्ने भन्दै सबैको सहमती, सहकार्य र सहअस्तित्वको खाँचो पर्ने बताए। उनले वडा नं –१५ एउटा परिवार भएको बताउँदै परिवारमा एक जना सदस्य पनि असन्तुष्ट रहेको खण्डमा त्यो परिवार राम्रोसँग चल्न नसक्ने भन्दै यहाँका सबै जातजाती, बिभिन्न धर्ममा आस्था राख्ने व्यक्तिहरु लगायत सबै वडावासीको साझा र सभ्य नागरिक बस्ने वडा बनाउन चाहेको बताए ।