काठमाण्डौँः वाग्मती प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले प्रत्येक स्थानीय तहमा युवाहरुलाई तालिम र यसपछि रोजगारीको पनि व्यवस्था गरिने बताउनुभएको छ । प्रदेश युवा परिषद् वाग्मती प्रदेशको पहिलो स्थापना दिवसका अवसरमा आज हेटौँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले तालिम दिनु अगाडि स्थानीय तहहरुमा युवाहरुलाई स्वयंसेवकका रुपमा परिचालन गरिने र उक्त स्वयंसेवकको रिपोर्टका आधारमा आवश्यक तालिम र कार्यक्रम तय हुने जानकारी दिनुभयो । युवाहरुलाई उत्पादन, रोजगारी र व्यवसायमा उत्प्रेरित गर्नुपर्ने उहाँको भनाइ छ । प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले राष्ट्रिय युवा नीतिलाई आधार मानेर प्रदेश युवा नीति बनाउँदै गरेको जानकारी दिनुभयो । प्रदेशका युवालाई आधार मानेर कार्यक्रम ल्याइने समेत उहाँले बताउनुभयो । कार्यक्रममा जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सुमन पाख्रिन, प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभाका सदस्य चन्द्र लामा वाग्मती प्रदेशसभाका सदस्य प्रेमबहादुर पुलामी लगायतले युवाहरुले आफ्ना हकअधिकार प्राप्तिका लागि मुखले मात्र नभईकन व्यवहारले काम गर्नुपर्नेमा जोड दिनुभयो ।
काठमाडौँः “छोरीले जन्म लिनु नै पाप हो त ! दिनानुदिन सुनिनसक्नु, हेरिनसक्नु घटना बढिरहेका छन्”, महिला हिंसा, हत्या र बलात्कारका घटनाप्रति लक्ष्य गर्दै भावुक मुद्रामा सांसद आशाकुमारी विकले प्रश्न गर्नुभयो, “हिजो मात्रै सुर्खेतमा सात वर्षीया बालिका गृश्म विक चार दिनपछि मृत फेला परेको र बाँकेको खजुरामा जन्मदिन मनाउन गएकाको सामूहिक बलात्कार जस्ता जघन्य अपराध गर्ने दोषीलाई कारबाही गर्नुको साटो सरकार किन टुलुटुलु हेरेर बसिरहेको छ ?” जनताका आवाजलाई जनप्रतिनिधिले मुखरित गर्ने सार्वभौम संसद्मा सांसदहरुले निकै गम्भीरतापूर्वक यस्ता प्रश्न उठाइरहेका छन् । संसदीय प्रणालीअनुसार व्यवस्थापिकाको जिम्मेवारी पाएको संसद्मा उठेका आवाज र दिइएका निर्देशनलाई कार्यान्वयन गर्नु कार्यपालिका (सरकार) को दायित्व हुन्छ । बाँकेको राप्तीसोनारी निवासी १६ वर्षीया किशोरीमाथि बाँकेकै वैजनाथ बस्ने हेमराज थारूले आफ्नो जन्मदिनको कार्यक्रममा आमन्त्रण गरी अन्य छजना साथीहरुसँग फूलबारी भन्ने स्थानमा लगेर सामूहिक बलात्कार गरेका थिए । त्यसो त गृहमन्त्री बालकृष्ण खाँणले महिला हिंसाका तीलगायत छवटा घटनाबारे सभामुखको रुलिङबमोजिम प्रतिनिधिसभामा मङ्गलबार जानकारी गराउनुभएको थियो । गृहमन्त्री खाणले बाँकेको राप्तीसोनारी निवासी १६ वर्षीया किशोरीमाथि भएको सामूहिक बलात्कारको घटना ज्यादै दुःखद र निन्दनीय भएको उल्लेख गर्दै उहाँले बलात्कारमा संलग्नलाई प्रहरीले पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाइसकेको बताउनुभएको थियो । उहाँले खजुराको धनौजीको प्रहरी चौकीले घटनामा संलग्न सात जनालाई पक्राउ गरेको र स्थानीय प्रशासनको सहयोगमा पीडित किशोरीको उपचार भइरहेको जानकारी दिनुभएको थियो । “यौन हिंसालाई दुरुत्साहन गर्ने, बलात्कार र सामूहिक बलात्कारमा प्रताडित भएका नारीलाई सम्मानजनक जीवनयापनका लागि वातावरण तयार गर्नुपर्ने र त्यसका लागि आवश्यक कानुनी प्रावधानलाई संशोधन र परिमार्जन गर्नुपर्ने आवाजसँग सहमत छु”, गृहमन्त्रीको भनाइ थियो । सरकारको उक्त प्रतिबद्धतालाई स्मरण गराउँदै आज पनि सांसदहरुले ती घटनामा प्रश्न उठाएका हुन् । आजको बैठकमा सांसद गङ्गा चौधरी (सत्गौवा) ले मुलुकमा हत्या, बलात्कार लगायतका घटना बढिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । “बर्दियाको मधुवनकी अस्मिता थारू खेतमा पानी पु¥याउन गएकी घाइते भएर उपचाररत हुनुहुन्छ, जेठ १० गते कौशिल्या सिंहको पनि बाघको आक्रमणबाट मृत्यु भएको छ, पटक पटक गरेर २३ जनाको हत्या भइसक्दा पनि सम्बन्धित निकाय मौन बसेपछि जनताले आवाज उठाउँदा उनीहरुप्रति प्रहरी प्रशासनले हस्तक्षेप गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँछु”, उहाँले भन्नुभयो । सांसद अमृता थापाले देशमा बालिका र किशोरीले बाँच्न पाउनुपर्ने वातावरण सिर्जना हुनुपर्ने बताउनुभयो । हालै इटहरीमा १५ वर्षीया किशोरीलाई विराटनगरका २३ वर्षीय विनोदकुमार मण्डलले गाडी चडाउने बाहनामा बेपत्ता बनाएको घटनाको अहिलेसम्म प्रहरी प्रशासनले चासो नदिएको भन्दै उहाँले तत्काल सत्यतथ्य पत्तालगाई दोषीमाथि कारवाही गर्न माग गर्नुभयो । शून्य समयमा बोल्ने सांसदले देशमा हत्या, हिंसा, बलात्कारलगायतका घटना दिनप्रतिदिन बढिरहेको तथा परीक्षाको मुखमा पनि देशभरका विद्यार्थीले पाठ्यपुस्तक पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । जघन्य अपराधका दोषीलाई कडा कारवाही गर्न र तत्काल पाठ्यपुस्तक छापेर देशभरका विद्यालयमा पुर्याउने व्यवस्था मिलाउन जोडदार माग गर्नुभयो । सांसद् उमाशंकर अरगरियाले किसानलाई मल नभएकामा चिन्ता व्यक्त गर्दै वर्षेनी यस्तो समस्या किन आउँछ भनेर प्रश्न गर्नुभयो । सांसदहरुले कृषिसँग सम्बन्धित विषयमा सरकारले बजेटमा केही राम्रा योजना ल्याएको भन्दै त्यसको व्यवहारिक कार्यान्वयनतर्फ ध्यान दिन आग्रह गर्नुभयो । आज विभिन्न चार मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद योगेशकुमार भट्टराईले कृषि उत्पादन प्रवद्र्धन र प्रोत्साहनसम्बन्धी कार्यक्रमलाई कार्यान्वयनको चरणमा लैजान माग गर्नुभयो । उहाँले बजेटमा लोकप्रिय कार्यक्रमको रुपमा किसान पेन्सनको अवधारणा ल्याइएकामा सरकारलाई धन्यवाद दिँदै कतिवर्षसम्मका किसानलाई यस्तो पेन्सान दिने भन्ने व्यवस्था अपुष्ट रहेको बताउनुभयो । उहाँले किसानले पेन्सन पाउन उनीहरुको सूचिकरण र वर्गीकरण गरिनु अपरिहार्य भएको उल्लेख गर्नुभयो । सांसद भट्टराईले वर्षायाम सुरु भइसक्दा पनि अहिले किसानले मल पाउने अवस्था नरहेको भन्दै तत्काल व्यवस्था गर्न माग गर्नुभयो । सांसद गगनकुमार थापाले बजेटले कृषिलाई उच्च प्राथमिकता दिइनु प्रसंशनीय विषय रहेको भन्दै उत्पादनमूलक उद्योग प्रवद्र्धन र निर्यातजन्य वस्तुको प्रोत्साहनमा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले कृषि उत्पादन बढाउन किसानलाई प्रयाप्त मल, आधुनिक उपकरणको सहजिकरणजस्ता विषयलाई सरकारले सहुलियत दिनुपर्ने खाँचो औंल्याउनुभयो । मल मौज्दात सीमित भएको, हरेक सरकारको पालामा मलको समस्या उस्तै रहने गरेको भन्दै यसको दीर्घकालीन समाधानका लागि विशेष कार्यक्रम ल्याइनुपर्ने उहाँले बताउनुभयो । सांसद अमनलाल मोदीले बजेटले किसानलाई उत्साहित बजाएको भन्दै कृषि उपज खपत र बजारीकरणमा ध्यान दिनुपर्ने खाँचो औंल्याउनुभयो । मन्त्रीहरु नदेखिँदा बैठकमा सांसद विमला विकले संसद् भवनभित्र जहिल्यै पाँच मिनेट घण्टी बज्नुपर्नेमा २५ मिनेटसम्म बज्दा घडी बिग्रियो कि भनेर हेर्दा मन्त्री नआएर लामो समय घण्टी बजेको थाहा लागेको भन्दै व्यङ्ग्य गर्नुभयो । सांसद् डा विजय सुब्बाले सम्बन्धित मन्त्रालयका मन्त्रीहरु पनि उपस्थित नहुँदा मन्त्रालयगत विनियोजन विधेयकमाथिको छलफलको कतिको सार्थकता हुन्छ भनेर प्रश्न गर्नुभयो । सांसद दिव्यमणि राजभण्डारीले प्रतिपक्षी सांसदले मन्त्रीहरुको अनुपस्थितिबारे प्रश्न उठाउँदा आफूहरु पनि नाजवाफ हुनु परेको अनुभव सुनाउनुभयो । आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत कृषि तथा पशुपक्षी मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकहरुमाथि छलफल जारी रहेको छ ।
म्याग्दी: यतिबेला म्याग्दीका ग्रामीण भेगका पाखा र जङ्गलमा ऐँसेलु, काफल, चुत्रो, जानमान्द्रो, मच्छ्यान्नो लगायतका जङ्गली फलफूल पाकेका छन् । तर, गाउँघर युवाविहीन भएका र सहर बजारबाट मानिस गाउँ नउक्लिएकाले पौष्टिकताले युक्त स्वादिष्ट ‘अग्र्यानिक’ जङ्गली फलफूल जङ्गलमा नै कुहेर खेर गइरहेका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण गाउँ पुगेका युवा जङ्गली फलफूलको स्वादमा रमाएका भए पनि यस वर्ष भने ती फलफूल चराको आहारा र कुहेर खेर गएको स्थानीयले बताएका छन् । गत दुई वर्ष विदेश र शहरबाट आएका युवाको गाउँको बसाइले गाउँबस्तीमा चहलपहल बढाएको थियो । “यस वर्ष जङ्गलमा तीजु पाकेर खेर गए, अहिले चुत्रो र ऐँसेलु पाकेको छ, तर खाने मान्छे नहुँदा ती फलफूल त्यत्तिकै जङ्गलमा खेर गइरहेका छन्”, गौश्वाराका चन्द्रकान्त रिजालले भन्नुभयो, “पछिल्लो समय गाउँका बस्ती सुनसान भएका छन् । जङ्गलमा पाकेका मौसमी फलफूल त्यत्तिकै खेर गइरहेका छन् ।” वनस्पति, कृषि र मानवस्वास्थ्यमा पछिल्लो समय जलवायु परिवर्तनका असर प्रत्यक्षरुपमा देखिन थालेका छन् । सामान्यतया चैत–वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष साविकभन्दा पहिले नै फुले । त्यसैगरी काफल र ऐँसेलुजस्ता जङ्गली फल पनि बेमौसममै फल्न सुरु भएको स्थानीय बताउँछन् । फागुनको मध्यदेखि कोपिला लाग्न सुरु हुने लालीगुराँस यस वर्ष भने फागुनको दोस्रो सातामा नै ढकमक्क फुलेका थिए । जिल्लाका जङ्गलमा पुसदेखि नै लालीगुराँस फुल्नाका साथै जङ्गली फलफूल र कन्दमूल पाक्न थालेका थिए । यसरी बेमौसममा नै लालीगुराँस फुल्नु र जङ्गली फलको मौसमी चक्र परिवर्तन हुनुमा तापमानअर्थात जलवायु परिवर्तनको प्रत्यक्ष असर परेकोे वातावरण संरक्षणकर्मी चन्द्रमणि सापकोटाले बताउनुभयो । सापकोटाका अनुसार समय अगाडि नै गुराँस फुल्नु र बेमौसमी फल फल्नु स्वभाविक प्राकृतिक गुण नभएर वातावरणीय असर हो । विश्वमा बढ्दो तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण कतिपय देखिने र धेरै नदेखिने परिवर्तन भइरहेका छन् । अन्य, फूलसमेत बेमौसममा फुल्न थालेको र अन्नबालीमा समेतमा यसको असर देखिएको मङ्गला गाउँपालिकाका हरिकृष्ण पौडेलले बताउनुभयो । “अहिले बेमौसममा नै काफल, तिजु लगायत जङ्गली फल पाकेको र अन्नबालीको फल लाग्ने र खेती गर्ने समय समेतमा नजाँनिदो गरी परिवर्तन आएको छ,” उहाँले भन्नुभयो ।
पोखरा: नेपाल पत्रकार महासंघ कास्कीले डिजिटल पत्रकारिता तालिम सुरु गरेको छ । पोखरा महानगरपालिकाको सहयोगमा महासंघको हलमा आजदेखि तालिम सुरु भएको हो । उक्त तालिम आगामी २७ गतेसम्म संचालन हुनेछ । सो तालिमको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरे । सो अवसरमा बोल्दै मेयर आचार्यले पत्रकारको क्षमता अभिवृद्धिका कार्यक्रममा महानगरको साथ समर्थन रहने प्रतिबद्धता व्यक्त गरे । उनले पोखराको पत्रकारिता क्षेत्रलाई मुलधारमा लैजानुपर्ने आवश्यकता रहेको घारणा राखे । ‘पोखराको पत्रकारिता क्षेत्र अब मुलधारको हुनुपर्छ, उनले भने, ‘सबै काठमाडौंमा मात्र केन्द्रीत हुँदा पोखरा अझै कतिपय विषयमा पछाडी परिरहेको छ, आउनुहोस् सबै मिलेर पोखरा बनाऔं ।’ उनले डिजिटल मिडिया पत्रकारिता तालिमका कारण पत्रकारको क्षमता अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे । सामाजिक रुपान्तरणमा पत्रकारको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले पत्रकारले पनि सत्य, तथ्य सूचना सम्प्रेषण गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । मेयर आचार्यले पोखरा महानगरपालिकालाई सूचनामैत्री महानगर बनाउने तर्फ आफु प्रतिबद्ध रहेको बताए । ‘पोखरा महानगरपालिकालाई सूचनामैत्री महानगर बनाउन म प्रतिबद्ध छु । आवश्यक तयारी हुँदै छ । पत्रकारले पाउनुपर्ने सूचना आदानप्रदानमा देखिएका समस्यालाई छिट्टै समाधान गरिनेछ’ उनले भने । यसैगरि नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले पछिल्लो समयको आवश्यकतालाई परिपूर्ति गर्ने गरी उक्त तालिम संचालन गरिएको बताइन् । उनका अनुसार डिजिटल पत्रकारिता तालिमको माग भएपछि पत्रकार महासंघ कास्कीले पोखरा महानगरपालिकाको सहकार्यमा उक्त तालिम संचालन गरेको हो । तीन दिनसम्म चल्ने तालिममा प्रशिक्षकका रुपमा विकास कार्की, उमेश श्रेष्ठले प्रशिक्षण दिनेछन् ।
काठमाण्डौः सरकारले निःशुल्क विद्युतीय चुलो वितरणका लागि विद्यार्थीसँग आवदेन माग गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आज सूचना प्रकाशित गर्दै लोपोन्मुख आदिवासी जनजाति तथा दलित विद्यार्थीलाई निःशुल्क रुपमा बाँड्नका लागि आवेदन माग गरेको हो । सरकारले काठमाडौँ बाहिरबाट उपत्यकामा आई कोठा भाडामा लिई स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने लोपोन्मुख आदिवासी जनजाति तथा दलित वर्गका विद्यार्थीलाई एलपी ग्यासको बढ्दो मूल्यको समस्यामा राहतको महसुस गराउन र विद्युतीय चुलोको प्रवद्र्धन गर्न चुलो वितरण गर्न थालेको हो । केन्द्रले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शिक्षण संस्थाको सिफारिस र विद्यार्थी परिचयपत्र प्रतिलिपि तथा लोपोन्मुख आदिवासी जनजाति एवं दलित वर्ग खुल्ने परिचयपत्रको प्रतिलिपिसहित आगामी असार ९ गतेसम्म आवेदन दिन माग गरेको छ ।
काठमाण्डौँः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद कृष्णगोपाल श्रेष्ठले राजधानी काठमाडौँको फोहर तत्काल व्यवस्थापन गर्न सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले लामो समयदेखि काठमाडौँमा दुर्गन्ध र फोहरले राजधानीवासी आजित भइसकेको भन्दै तत्काल समाधान खोज्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “काठमाडौँको कुनै सडक, गल्लीको फोहर उठेको छैन । जताततै फोहरको डङ्गुर बनिसक्यो, त्यसैले तत्काल फोहर उठ्नुपर्छ र समस्या समाधान हुनुपर्छ ।” सांसद श्रेष्ठले सिसडोल र बञ्चरे डाँडाका जनप्रतिनिधिबीच सहमति भए पनि फोहर फाल्न नदिने प्रवृत्ति दोहोरिएको भन्दै त्यहाँका जनताको माग सम्बोधन गर्न माग गर्नुभयो । उहाँले फोहर नउठे अब काठमाडौँका जनता चुप लागेर नबस्ने भन्दै फोहर व्यवस्थाापनका लागि बल प्रयोग गरेर नभई सहमति र समझदारीका साथ समाधान खोजिनुपर्नेमा जोड दिनुभयो । सांसद श्रेष्ठले काठमाडौँको फोहर नउठेको विषयमा सरकारको आधिकारिक धारणा माग गर्दै तत्काल फोहर उठ्छ कि उठ्दैन सभामुखमार्फत रुलिङ गर्न माग गर्नुभयो ।
बाँके: बाँकेको राप्तीसोनारी गाउँपालिकाको गाउँगाउँमा नदीजन्य पदार्थको अवैध उत्खनन गरी घाटगद्दी गरेको पाइएको छ । गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले वडा नं २, ४, ५, ६, ८ र ९ का विभिन्न क्रसर उद्योग तथा नदीजन्य पदार्थ राखिएको घाटगद्दी स्थलको अनुगमन गरेका थिए । अनुगमनका क्रममा अधिकांश स्थानमा नदीजन्य पदार्थको अवैध रुपले उत्खनन र घाटगद्दी गरेको पाइएको गाउँपालिका अध्यक्ष तप्त पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार नापजाँच गर्दा अधिकांश स्थानमा अनुमतिभन्दा बढी मात्रामा नदीजन्य पदार्थको अवैध रुपले उत्खनन तथा घाटगद्दी गरेको पाइएको छ । कतिपय स्थानमा अवैध रुपमा उत्खनन गरी घाटगद्दी गरेको भेटिएको छ भने कतै राजश्व रकम कम तिरेको तर सामग्री धेरै राखेको भेटिएको छ । नदी तथा खोला नजिकका जङ्गल र मानव बस्तीको बीचमा समेत नदीजन्य पदार्थको अवैध घाटगद्दी गरेको भेटिएको छ । गाउँपालिकाले क्रसर उद्योग र घाटगद्दीको स्थलगत अनुगमन गरी नियमअनुसार आवश्यक कागजात माग गर्नाका साथै त्यहाँ रहेका नदीजन्य सामग्रीको घाटगद्दी नापजाँच गरेको छ । कतिपय क्रसर उद्योगलाई आफ्ना कागजातसहित सात दिनभित्र गाउँपालिकामा सम्पर्क गर्न र तोकिएको राजश्व बुझाउन निर्देशनसमेत दिइएको छ । गाउँपालिकाले कार्यपालिकाबाट निर्णय नै गरेर नदीजन्य सामग्री आगामी असार मसान्तभित्र अनिवार्य उठाउन सम्बन्धित घाटगद्दिकर्तालाई निर्देशन दिइसकेको छ । अन्यथा उठाउन नसकेको वा बचेको सम्पूर्ण आगामी साउन १ गतेदेखि गाउँपालिकाले सम्बन्धित सरोकारवालाको सहयोग लिएर उक्त सामग्री सिज गर्ने जनाएको छ । गाउँपालिकाले खैरी खोला, मुगुवा खोला, टिकुलीपुरघाट सिधनियाघाट, बग्दैलाघाट, लालपुरघाट, आलिनगर खल्लाटपरीघाट, जलालाघाट, परुवा खोला, झिझरी खोलालाई निषेधित क्षेत्र कायम गरेको छ । अव्यवस्थित रुपमा रहेका पुरानो मौज्दाद माललाई नियम अनुसार उचित व्यवस्थापनका लागि गाउँपालिकाको ‘प्राकृतिक स्रोत तथा खानीजन्य वस्तुको बिक्री तथा निकासीसम्बन्धी कार्यविधि–२०७५’ बमोजिम राजश्व रकम गाउँपालिकामा बुझाउन निर्देशन दिइएको छ । क्रसर उद्योग तथा नदीजन्य पदार्थको घाटगद्दी संयुक्त रुपमा अनुगमन गर्दा धेरै कुराको प्रत्यक्ष रुपमा जानकारी भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले बताउनुभयो । यसले आगामी वर्षको योजना बनाउँदा आन्तरिक आम्दानी कति हुन्छ भन्ने अनुमान गर्न सजिलो भएको उहाँको भनाइ छ । करिब ७० वटा घाटगद्दी नापजाँच गर्दा एउटै घाटगद्दीबाट गाउँपालिकालाई रु डेढ करोडदेखि दुई करोडसम्म राजश्व आउने अनुमान प्रक्षेपण भएको छ । सानो घाटगद्दीबाट पनि रु चार÷पाँच लाख आउने अनुमान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डाँगीले बताउनुभयो । गाउँपालिकाले विगत दुई वर्षदेखि राप्ती सोनारीका नदी खोलामा ठेक्का लगाउन सकेको छैन । दुई वर्षदेखि अवैध रुपमा चलेका क्रसर उद्योगको नियमन र अवैध उत्खनन तथा घाटगद्दी रोक्न गाउँपालिकाले प्रयास गरेको छ ।
चितवन: चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बाघको सङ्ख्या बढेसँगै बाघले मध्यवर्ती क्षेत्रमै बासस्थान बनाउन थालेको छ । बाघको बासस्थान वरपर मानवीय गतिविधि पूर्ववत् अवस्थामा रहँदा हिंस्रक घटना बढ्न थालेका हुन् । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गएको ११ महिनामा १४ जनाको बाघको आक्रमणबाट मृत्यु भएको छ । गत आर्थिक वर्षमा बाघको आक्रमणबाट पाँच जनाको मृत्यु भएको थियो । आक्रमणका घटना अधिकांश मध्यवर्ती सामुदायिक वनमा भएका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार तीनवटा घटना मात्रै निकुञ्जभित्र भएका हुन् । वर्षभरमा भएका सबै घटना निकुञ्ज र मध्यवर्ती वन क्षेत्रभित्र मात्रै भएका हुन् । वनमा न्युरो, घाँस, दाउरा गर्न जानेहरु आक्रमणको सिकार बनेका छन् । निकुञ्जमा हालै गएको फागुनमा बाघ गणना गरिएको थियो । बाघको तथ्याङ्क सार्वजनिक भइसकेको छैन । आउँदो बाघ दिवस जुलाई २९ मा सङ्ख्या सार्वजनिक गरिँदै छ । सन् २०१८ को गणनाअनुसार निकुञ्जमा बाघको सङ्ख्या ९३ रहेको थियो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य सङ्ख्या बढेका कारण मध्यवर्ती क्षेत्रमा बाघले बासस्थान बनाएकाले घटना बढेको अनुमान गर्नुहुन्छ । मानिसहरुले अपनाउनुपर्ने सावधानी कम अपनाउँदा घटना बढ्दै गएको आचार्यको भनाइ छ । बाघ निश्चित क्षेत्रलाई आफ्नो बासस्थान बनाएर बस्ने प्राणी हो । सङ्ख्या बढ्दै गएर निकुञ्जभित्र बासस्थान नपुगेपछि बाघले मध्यवर्ती सामुदायिक वनहरुमा आफ्नो बासस्थान बनाउँदै गएको उहाँ बताउनुहुन्छ । बाघका सम्बन्धमा विद्यावारिधि गर्नुभएका राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा बाबुराम लामिछाने बाघले बुढो भएर, घाइते भएर, हेपिएर आहारा नपाउँदा, मानिसलाई आक्रमण गर्ने बताउनुहुन्छ । बच्चा हुर्काउँदै गरेको बाघले पनि आक्रमण गर्ने सम्भावना बढी हुन्छ । लामिछानेको भनाइमा बाघको सङ्ख्या बढेपछि निकुञ्जको भित्री भागसँगै मध्यवर्ती र वरपरका जङ्गल क्षेत्रमा पनि बाघले बासस्थान बनाउन थालेको छ । ती क्षेत्रहरुमा पूर्ववत् अवस्थामा स्थानीयहरु घाँस दाउरा गर्न जाँदा घटना हुने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यो हाम्रै ठाउँ त हो नि भनेर ढुक्क भएर सावधानी कम अपनाउँदा घटना बढेका हुन् ।” उर्वर ठाउँहरुमा घाँस निहुरो जस्ता वस्तु प्रशस्त पाइने र तिनै ठाउँमा बाघको आहारा प्रजाति बढी पाइने हुँदा जम्काभेट भएर घटना हुने गरेको लामिछानेको भनाइ छ । कतिपय अवस्थामा मान्छेले निहुरिएर काम गर्दा आहारा प्रजाति सम्झेर झुक्किएर पनि बाघले आक्रमण गर्ने गरेको उहाँ बताउनुहुन्छ । पहिले खुल्ला ठाउँ हुँदा जुन ढङ्गले मध्यवर्ती वनको उपभोग स्थानीयवासीले गरेका थिए, अहिले झाडी हुँदा पनि त्यही ढङ्गबाट काम गर्दा जोखिम बढेका छन् । मानिसमाथि आक्रमण अधिकांश वनभित्र भएका छन् । बस्तीमा बाघ आउँनासाथ नियन्त्रणमा लिने गरिएको छ । चालु आर्थिक वर्षमा चारवटा बाघलाई नियन्त्रणमा लिइएको थियो । तीमध्ये दुईवटा मरेका छन् भने दुईवटा कसरामा राखिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यक्रम अधिकृत बाघ विज्ञ डा चिरञ्जीवीप्रसाद पोखरेल बाघको सङ्ख्या बढेका कारण घटनाहरु थपिएको बताउनुहुन्छ । पूर्ववत् अवस्थामा भन्दा फरक ढङ्गले सावधानी अपनाएर काम गरेमा बाघबाट बच्न सकिने उहाँको भनाइ छ । सङ्ख्या बढेसँगै बाघका बासस्थान फैलिँदै गएका छन् । जङ्गलभित्र जानुअघि वन्यजन्तुबाट बच्नका लागि अपनाउनुपर्ने विधिका बारेमा ज्ञान राख्नुपर्ने उहाँ बताउनुहुन्छ । सङ्ख्या बढेकाले मानिसहरुसँग जम्का भेट हुने र घटना बढेको छ । वन क्षेत्रमा आहारा प्रजाति पुगेकै कारण बाघ बस्तीमा पसेका घटना कम भएको पोखरेलको अनुमान छ । बाटोहरु निर्माण गर्दा वन्यजन्तुमैत्री बनाउन सकेमा यस्ता घटना कम हुने उहाँ बताउनुहुन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा रामचन्द्र कँडेल बाघको सङ्ख्या बढेकै कारण आक्रमणका घटना थपिएको बताउनुहुन्छ । बाघ छ भन्ने थाहा पाएर पनि सावधानी विना मानिस जङ्गल जाँदा अकालमै ज्यान गुमाउनु परेको उहाँको भनाइ छ । सामुदायिक वनहरुमा समूहमा प्रवेश गर्ने, हात्ती वा हेरालुको आवश्यकताअनुसार सहयोग लिने गर्न सकेमा घटना कम हुने उहाँले बताउनुभयो । चोरीको नियत साथ सुटुक्क वन पस्नेहरु बढी जोखिममा रहेको कँडेलको भनाइ छ ।
पोखराः गए राति स्याङ्जाको वालिङमा चट्याङ लागेर गोठमा बाँधिराखेका दुई भैँसी मरेका छन् । वालिङ नगरपालिका–६ बगैँचाका हेमबहादुर थापाको गोठमा रहेका दुई भैँसी मरेका स्थानीयवासी रमेश लामिछानेले जानकारी दिनुभयो । ब्याउने भैँसी गए राति २ बजे गोठमा चट्याङ पर्दा मरेका हुन् । गोठमा दुई भैँसीमात्रै थिए । चट्याङका कारण बगैँचा गाउँमा रातिदेखि नै बिजुली छैन । अहिले वडा प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलतर्फ गएको प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।