जलवायु परिवर्तनको असर : खेर जाँदै जङ्गली फलफूल
म्याग्दी | जेठ २५, २०७९

म्याग्दी: यतिबेला म्याग्दीका ग्रामीण भेगका पाखा र जङ्गलमा ऐँसेलु, काफल, चुत्रो, जानमान्द्रो, मच्छ्यान्नो लगायतका जङ्गली फलफूल पाकेका छन् । तर, गाउँघर युवाविहीन भएका र सहर बजारबाट मानिस गाउँ नउक्लिएकाले पौष्टिकताले युक्त स्वादिष्ट ‘अग्र्यानिक’ जङ्गली फलफूल जङ्गलमा नै कुहेर खेर गइरहेका छन् ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण गाउँ पुगेका युवा जङ्गली फलफूलको स्वादमा रमाएका भए पनि यस वर्ष भने ती फलफूल चराको आहारा र कुहेर खेर गएको स्थानीयले बताएका छन् ।
गत दुई वर्ष विदेश र शहरबाट आएका युवाको गाउँको बसाइले गाउँबस्तीमा चहलपहल बढाएको थियो । “यस वर्ष जङ्गलमा तीजु पाकेर खेर गए, अहिले चुत्रो र ऐँसेलु पाकेको छ, तर खाने मान्छे नहुँदा ती फलफूल त्यत्तिकै जङ्गलमा खेर गइरहेका छन्”, गौश्वाराका चन्द्रकान्त रिजालले भन्नुभयो, “पछिल्लो समय गाउँका बस्ती सुनसान भएका छन् । जङ्गलमा पाकेका मौसमी फलफूल त्यत्तिकै खेर गइरहेका छन् ।”
वनस्पति, कृषि र मानवस्वास्थ्यमा पछिल्लो समय जलवायु परिवर्तनका असर प्रत्यक्षरुपमा देखिन थालेका छन् । सामान्यतया चैत–वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष साविकभन्दा पहिले नै फुले । त्यसैगरी काफल र ऐँसेलुजस्ता जङ्गली फल पनि बेमौसममै फल्न सुरु भएको स्थानीय बताउँछन् ।
फागुनको मध्यदेखि कोपिला लाग्न सुरु हुने लालीगुराँस यस वर्ष भने फागुनको दोस्रो सातामा नै ढकमक्क फुलेका थिए । जिल्लाका जङ्गलमा पुसदेखि नै लालीगुराँस फुल्नाका साथै जङ्गली फलफूल र कन्दमूल पाक्न थालेका थिए । यसरी बेमौसममा नै लालीगुराँस फुल्नु र जङ्गली फलको मौसमी चक्र परिवर्तन हुनुमा तापमानअर्थात जलवायु परिवर्तनको प्रत्यक्ष असर परेकोे वातावरण संरक्षणकर्मी चन्द्रमणि सापकोटाले बताउनुभयो ।
सापकोटाका अनुसार समय अगाडि नै गुराँस फुल्नु र बेमौसमी फल फल्नु स्वभाविक प्राकृतिक गुण नभएर वातावरणीय असर हो । विश्वमा बढ्दो तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण कतिपय देखिने र धेरै नदेखिने परिवर्तन भइरहेका छन् ।
अन्य, फूलसमेत बेमौसममा फुल्न थालेको र अन्नबालीमा समेतमा यसको असर देखिएको मङ्गला गाउँपालिकाका हरिकृष्ण पौडेलले बताउनुभयो । “अहिले बेमौसममा नै काफल, तिजु लगायत जङ्गली फल पाकेको र अन्नबालीको फल लाग्ने र खेती गर्ने समय समेतमा नजाँनिदो गरी परिवर्तन आएको छ,” उहाँले भन्नुभयो ।
पोखरा: पोखरा महानगरपालिका–१५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिक एक युवकको हत्या भएको छ । वन विज्ञान अध्ययन संस्थान नजिकै घन प्रहार गरेर हत्या गरेको अवस्थामा अन्दाजी ३०/३५ वर्षीय युवकको ...
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी, पूर्व मुख्यसचिव वैकुण्ठ अर्याल लगायत विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । प्रबन्ध निर्देशक सङ्गीता पहाडीसहित...
काठमाडौं: त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा नेपालमै पहिलोपटक सफलतापूर्वक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया भएको छ । जनकपुरका निवासी २५ वर्षीया एक पारलैङ्गिक(ट्रान्सजेन्डर) व्यक्तिमा पुरुषक...