धादिङ: धादिङको थाक्रे गाउँपालिका–१० गढीमा तीन वटा चितुवा मृत फेला परेको छ । गढीस्थित अदुवाबारीमा दुई वटा र मकैबारी एक वटा चितुवा मृत अवस्थामा आज भेटिएको हो । घाँस काट्न गएको बेला स्थानीयले देखेर खबर गरेपछि प्रहरीसहित टोली आफू घटनास्थलमा पुगेको वडा नम्बर १० का वडाध्यक्ष गोकुल लामिछानेले जानकारी दिनुभयो । मृत अवस्थामा फेला परेको चितुवा बैरेनी सवडिभिजन वन कार्यालयलाई बुझाइएको छ । थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
चितवन: भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम एक साताभित्र सुरु हुने भएको छ । भरतपुर महानगरपालिका र हिमालयन कालिञ्चोक विविआर जेभिले आज संयुक्त रुपमा स्थलगत अनुगमनपछि निर्माण कम्पनीले एक साताभित्र निर्माणको काम सुरु गर्ने जनाएको हो । धुर्मुस सुन्तली फाउण्डेशनले रङ्गशाला निर्माणका लागि ल्याएर बाँकी रहेको सामानको लगत सङ्कलनको काम आजैदेखि सुरु गरिएको छ । महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीसहित निर्माण व्यवसायीका प्रतिनिधिहरुले स्थलगत अनुगमन गरेको हो । फाउण्डेशनले निर्माणका लागि ल्याएको सामानको मुचुल्का तयार गरे लगत्तै निर्माणका लागि काम थालिने निर्माण कम्पनीका विकास गौतमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आइतबारदेखि सरसफाइलगायत काम सुरु हुन्छन् ।” रङ्गशाला निर्माणस्थलमा रहेको झाँडी पन्छाउने, सरसफाइ गरेर कामलाई तीव्रता दिइने उहाँले बताउनुभयो । महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालका अनुसार फाउण्डेशनले निर्माणका लागि ल्याएका सामान महानगरपालिकाले व्यवस्थापन गर्नुपर्ने हुँदा मुचुल्का उठाउने काम सुरु गरिएको बताउनुभयो । प्राविधिक टोलीसहित मुचुल्का उठाएपछि निर्माण कम्पनीले आफ्नो काम सुरु गर्ने उहाँले बताउनुभयो । रङ्गशाला निर्माणका लागि गत असार २३ गते महानगरपालिका र निर्माण कम्पनीबीच सम्झौता भएको थियो । महानगरपालिकाका प्रमुख रेनु दाहालका अनुसार रु ७८ करोड ५० लाख ९१ हजार एक सय ८९ मा निर्माण सम्पन्न गर्ने गरी दुई पक्षीय सम्झौता भएको छ । धुर्मुश–सुन्तली फाउण्डेशनले निर्माण गर्न नसकेर हस्तान्तरण गरेको रङ्गशाला ३० महिनामा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको उहाँले बताउनुभयो । संयुक्त अनुगमनपछि महानगर प्रमुख दाहालले एक सातामा निर्माणको काम सुरु गर्ने गरीठेकेदार कम्पनीले कामलाई अघि बढाएको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माणको वातावरण बनाइ दिने काम महानगरपालिकाको हो । समयमा काम सम्पन्न गर्ने जिम्मेवारी निर्माण कम्पनीको हो ।” पहिलो चरणमा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता गराउन मिल्ने गरी मैदान र स्टेडियम निर्माणको काम हुने उहाँले बताउनुभयो । तीन तहको सरकारको साझेदारीमा बन्न लागेको रङ्गशाला समयमा नै निर्माण सम्पन्न गरी अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता गराइने उहाँले बताउनुभयो । कम्पनीले खेल मैदान, पिच, प्रोटेक्सन वाल, दुई वटा टावर बिल्डिङ र थप १० हजार क्षमताको प्याराफिट निर्माण गर्नेछ । निर्माणाधीन रङ्गशाला करिब तीन वर्षदेखि अलपत्र अवस्थामा थियो । रङ्गशालाको सबै काम पूरा गर्न रु तीन अर्बभन्दा बढी खर्च लाग्ने छ । पहिलो चरणको काम पूरा भएपछि दोस्रो चरणको निर्माण सुरु हुने महानगरपालिकाले जनाएको छ । महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले निर्माणका क्रममा देखिएका समस्या सामूहिक रुपमा समाधान गर्दै जाने बताउनुभयो । निर्माण व्यवसायीलाई चाँडो काम सुरु गरेर समयमा नै सम्पन्न गर्न उहाँले निर्देशन दिनुभयो । त्रिभुवन विश्वविद्यालयसँग ३० वर्षका लागि जग्गा भाडामा लिएर रङ्गशाला निर्माणअघि बढाइएको हो । रङ्गशाला त्रिभुवन विश्वविद्यालयको नाममा रहेको २० बिघा छ कठ्ठा जग्गा बन्ने छ । विसं २०७५ माघ १६ गते महानगरपालिका र फाउण्डेशनबीच निर्माणका लागि सम्झौता भएको थियो । अधिकारीले फाउण्डेशनले काम गर्न नसकेर महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरेसँगै सङ्घ र प्रदेशसँग समन्वय गरेर रङ्गशाला निर्माण गर्न लागिएको बताउनुभयो ।
मकवानपुर: मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० स्थित राप्ती खोलामा बगेर आज एकको मृत्यु भएको छ । उपमहानगरपालिका–१ स्थित तरकारी बजारमा मजदुरी गर्दै आएका ३५ वर्षीय राजु पन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । खोलाले बगाइ ल्याएको छ भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले तत्काल उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल ल्याएको र तत्कालै डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
काठमाडौं: नेपाल सरकारले कायम मुकायम मुख्यसचिव लीलादेवी गड्तौलालाई आज मुख्य सचिवमा नियुक्त गरेको छ । मुलुकको प्रशासनिक इतिहासमा उहाँ नै प्रथम महिला मुख्यसचिव हुन सफल हुनुभएको हो । वर्तमान सरकारले नै उहाँलाई असार ३१ गते निमित्त मुख्यसचिवबाट कामु मुख्यसचिवको जिम्मेवारी दिएको थियो । विसं २०२३ साल भदौ १५ मा ते¥हथुममा जन्मनुभएकी गड्तौला विसं २०५२ मा नेपालको निजामति सेवाको न्याय समूहको शाखा अधिकृतबाट राष्ट्र सेवामा प्रवेश गर्नुभएको थियो । विसं २०६३ मा उपसचिव, विसं २०७० मा सहसचिव, २०७७ मा सचिवमा बढुवा हुनुभएको थियो । उमेर हदका कारण उहाँ आउँदो भदौ १५ बाट सेवा निवृत्त हुनुहुनेछ । ‘जस्तो कर्म ग¥यो, त्यस्तै फल प्राप्त हुन्छ’ भन्ने विश्वास राख्ने नवनियुक्त मुख्यसचिव गड्तौलाले निजामति सेवामा राम्रै कर्म गरेको परिणामकारूपमा यो जिम्मेवारी प्राप्त भएको राससलाई प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्री केपी ओलीको नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्ले मलाई कामु मुख्यसचिवको जिम्मेवारी दिएको थियो । दश दिनपछि मुख्यसचिवमा आज नियुक्त गरेको छ । यो सरकार महिलाप्रति उदार छ भन्ने देखियो, न्याय सेवाको कर्मचारीलाई मुख्यसचिवको जिम्मेवारी दिनुभएको छ, वर्तमान सरकारप्रति धन्यवाद छ ।” इमान्दार भएर काम गरेमा कही न कही मूल्याङ्कन र अवसर प्राप्त गर्ने रहेछ भन्ने सन्देश समस्त निजामति कर्मचारीमा गएको बताउँदै मुख्यसचिव गड्तौलाले महिलालाई माथिल्लो तहको जिम्मेवारीमा दिन हिचकिचाउँछन् भन्ने भाष्य परिवर्तन हुँदैगएको धारणा व्यक्त गर्नुभयो । निजामति कर्मचारीमा प्रवेश गरेका कर्मचारीमा मुख्यसचिव बन्ने लक्ष्य हुने बताउँदै उहाँले भन्नुभयो, “त्यसमा केही पुगिन्छ, कोही पुगिन्न । केही सचिव र सहसचिवमा पुगिन्छ, कोही तलैबाट बाहिरिनुपर्छ । भाग्यछ भन्दैमा डोकोमा दूध अडिन्न, कर्म गर्नुपर्छ, राम्रो कर्म गरे राम्रो फल पाइन्छ ।” राज्यबाट जनतालाई प्रदान गरिने सेवाप्रवाहमा सहज र सरल तुल्याउन सम्पूर्ण राष्ट्रसेवक निजामति कर्मचारी मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याउदै मुख्यसचिव गड्तौलाले संसद्मा अड्किरहेको निजामति विधेयकलाई अघि बढाउन र राम्रो कर्म गर्ने कार्यलाई प्रोत्साहन र प्रेरणा प्रदान गर्न लागि पर्ने दृढता व्यक्त गर्नुभयो ।
काठमाडौं: दुर्घटनामा घाइते हुनुभएका सौर्य एयरलाइन्सका क्याप्टेन मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था सामान्य रहेको काठमाडौँ मेडिकल कलेजले जनाएको छ । अस्पतालका निर्देशक प्राडा मीना थापाले विज्ञप्ति जारी गर्दै उपचाररत केसीको स्वास्थ्यमा अन्य जटिलता नदेखिएको बताउनुभएको छ । बुधबार विहान सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा दुर्घटनाग्रस्त हुँदा सोही विमानका चालक शाक्यलाई घाइते अवस्थामा उद्धार गरिएको थियो । विमानमा सवार अन्य १८ जनाको मृत्यु भइरसकेको छ । शाक्यलाई उद्धार गरी सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजको सघन उपचार कक्षमा उपचार सुरु गरिएको थियो । “क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था सामान्य छ । उहाँको अनुहार, आँखा, नाक तथा टाउकोमा चोट लागेको छ, ढाडको एउटा हड्डी साथै देव्रेपट्टीका तीन वटा करङ्ग भाच्चिएका छन्”, विज्ञप्तिमा भनिएको छ । अस्पतालले विमान दुर्घटनामा मृत्यु भएकाप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारमा हर्दिक समवेदना व्यक्त गरेको छ ।
काठमाडौं: सरकारले नेपाल सरकारको कायम मुकायम मुख्य सचिव लिलादेवी गड्तौलालाई मुख्य सचिवमा नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । त्यसैगरी राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र सदस्यहरुको मनोनयन पनि सो बैठकले गरेको छ । आयोगको उपाध्यक्षमा पाल्पाका डा शिवराज अधिकारीलाई नियुक्त गरेको उहाँले जानकारी दिनुभयो । अधिकारी त्रिभुवन विश्वविद्यालयमा अर्थतन्त्र प्राध्यापक हुनुहुन्छ । बैठकले आयोगका सदस्यहरुमा डा आरपी बिछार, डा रमेशप्रसाद सिंह, डा प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा जयबहादुर टण्डन र गङ्गादत्त अवस्थीलाई नियुक्त गरेको छ ।
खजुरा (बाँके): बाँकेको जमुनाह सीमा नाकाहुँदै भारतबाट गत आर्थिक वर्ष २०८०/०८१ मा रु एक अर्ब ११ करोड, ६१ लाखको आलु आयात गरिएको छ । सो अवधिमा चार करोड ४९ लाख ८४ हजार ६ सय ६९ किलो आलु भारतबाट आयात गरिएको हो । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालका अनुसार आर्थिक वर्ष २०७९/०८० भन्दा गत आवमा रु १८ करोडको आलु बढी आयात गरिएको हो । आर्थिक वर्ष २०७९/०८० मा रु ९३ करोड ६० लाख ६९ हजार बराबरको तीन करोड ७५ लाख ८५ हजार ८८ किलो आलु आयात गरिएको थियो । आलु आयातबाट आव २०७९/०८० मा रु १४ करोड ७७ लाख २२ हजार तथा गत आव २०८०÷८१ मा रु २७ करोड २२ लाख ४४ हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी लम्सालले बताउनुभयो । अघिल्लो आवको तुलनामा गत आवमा रु १३ करोड राजश्व वृद्धि भएको छ । पछिल्लो समय बाँके, बर्दिया, दाङ, सल्यानलगायतका जिल्लामा आलु उत्पादन उल्लेखनीय मात्रामा बढ्दै गए पनि भारतबाट आयात भने नघटेको कृषि ज्ञान केन्द्रका प्रमुख सकील अहमदले बताउनुभयो । उहाँका अनुसार आलु र प्याजमा आत्मनिर्भर बन्न सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भए पनि आयातमा कमी आउन सकेको छैन ।
काठमाडौँ: सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचान भएपछि मात्र हस्तान्तरण गरिने भएको छ । कतिपय शवहरु जलेर पहिचान गर्न कठिन भएकाले डिएनए परीक्षणसमेत गर्नुपर्ने सम्भावना रहेको हुँदा प्रक्रिया पूरा भएपछिमात्र क्रमशः हस्तान्तरण हुने जनाइएको छ । शव परीक्षण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भइरहेको छ । अस्पतालका निर्देशक प्राडा दिनेश काफ्लेले भन्नुभयो, “शव पहिचान नभइकन दिन मिल्दैन । १२ वटा शवको परीक्षण सकिएको छ, अहिले तीन वटा शव परीक्षण भइरहेको छ । पहिचान नभएकाहरुको डिएनए गर्नुप¥यो भने नतिजा आउन दुई हप्ता लाग्छ । परेन भने भोलि बेलुकासम्म सबै शवको परीक्षण सकिन्छ होला । प्रक्रिया मिलेपछि पर्सिबाट आफन्तलाई हस्तान्तरण गर्न सकिन्छ ।” उहाँले विज्ञहरु संवेदशीलपूर्वक काममा खटिएको र शव पहिचान भएर प्रक्रिया पूरा भएपछि सकेसम्म छिटो हस्तान्तरण गरिने जानकारी दिनुभयो ।