काठमाडौं:   यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी ...

बाँके:    अज्ञात रोगका कारण यहाँको नरैनापुरमा एकै परिवारका तीन जना र एक बालकसहित चार जनाको मृत्यु भएको छ । नरैनापुर गाउँपालिका–३ गेग्ली गाउँमा चार जनाको ज्यान गएको नरैनापुर स्वास्थ्य शाखाका प्रमुख नागेन्द्रकुमार शाहले जानकारी दिनुभयो ।       उहाँका अनुसार एकै परिवारका ७५ वर्षीय शान्ति पासी, उहाँकी २६ वर्षीया बुहारी उषा पासी र सोही परिवारकी एक वर्षकी नाबालिकाको यही भदौ १४, १५ र १६ गते मृत्यु भएको हो ।  “सुरुमा उषा पासीलाई सामान्य टाउको दुख्यो, त्यसपछि पेट दुख्यो र दुईदेखि तीन पटकसम्म पखाला लागेको रहेछ”, परिवारको भनाइलाई उद्धृत गर्दै स्वास्थ्य शाखा प्रमुख शाहले भन्नुभयो, “झाडापखाला नै हो भनेर हामीले भन्न सक्दैनौँ । किनकी दुईदेखि तीन पटकसम्म भएको दिसालाई झाडापखाला भन्न मिल्दैन ।” उषाका श्रीमान् छोटेलाल पासीका अनुसार उषालाई केही दिन अघिदेखि टाउको र पेट दुख्नुका साथै ज्वरो आएपछि नजिकै रहेको भारतीय क्लिनिकमा उपचार गरिएको थियो । उपचारको क्रममा उषाको ज्यान गएको श्रीमान् छोटेलालको भनाइ छ ।  “टाउको दुख्यो, पटे दुख्यो भन्दै थिइन् । पछि एक दुई चोटी पातलो दिसा गरिन् । उनको उपचार चलिरहेको थियो । तर उपचार चल्दै गर्दा हामीलाई छाडेर गईन्”, छोटेलालले भन्नुभयो ।  श्रीमती उषाको मृत्यु भएको एकदिन नबित्दै ७५ वर्षीया उहाँकी ठुलीआमा शान्ति पासीको पनि उस्तै दुखाइको कारण मृत्यु भयो ।  “मेरो श्रीमतीको १४ गते मृत्यु भयो । भोलिपल्ट नै हामीसँगै बस्दै आउनुभएकी ७५ वर्षीया ठुलीआमा पनि श्रीमतीको जस्तै दुखाइका कारण मृत्यु भयो”, उहाँले भन्नुभयो, “एकै पटक परिवारका दुई सदस्य गुमाउनुको पीडा त छँदै थियो । भोलि पल्टै मेरो डेढ वर्षीया भतिजी नन्दनी पासीको पनि उस्तै लक्षणले ज्यान गयो ।”       तीन दिनमा एकै परिवारका तीन जनाको ज्यान गएको सोही गाउँमा १६ गते उस्तै लक्षण, दुखाईले १२ वर्षीय बालक सुफियान अलि सेखको पनि ज्यान गएको नरैनापुर स्वास्थ्य शाखा प्रमुख शाहले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु भएका चारै जनाको उपचार भारतीय सीमासँग जोडिएको ‘प्राईभेट क्लिनिक’मा भएको थियो ।  उहाँले भन्नुयो, “यो खबर आजै मात्र हामीले थाहा पायौँ । थाहा पाउनासाथ स्वास्थ्यकर्मीको टोलीले अहिले गाउँमै पुगेर बिरामीको उपचार गरिरहेका छौँ ।” नरैनापुर–३ का वडाध्यक्ष अजय मिश्रका अुनसार अहिलेसम्म ४० जनाको स्वास्थ्य जाँच गराइएको छ । जसमा सात जनाको अवस्था गम्भीरबाट विस्तारै सामान्य बन्दै गएको छ ।  नरैनापुरमा भएको उक्त घटनाबारे बुझ्न प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपाल नं ३० गण नेपालगञ्ज बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीसहितको टोली अनुगमनमा पुगेको थियो ।  अनुगमन पश्चात प्रजिअ रिजालले नरैनापुरको स्वास्थ्य चौकीमा औषधि अभाव हुन नदिन स्वास्थ्य कार्यालयलाई निर्देशन दिनुभएको छ । 

पोखरा:   गण्डकी सरकारका मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ले मन्त्री पदबाट राजीनामा दिएका छन् ।  उनले भौतिक पूर्वाधार विकास मन्त्रालयबाट वन तथा वातावरण मन्त्रालयको जिम्मा दिएपछि असन्तुष्ट बन्दै राजीनामा दिएका हु्न् ।  मुख्यमन्त्री सुरेन्द्राज पाण्डेले सोमबार मन्त्रिपरिषदमा हेरफेर र विस्तार गरेका थिए । त्यस क्रममा मनाङेले सम्हाल्दै आएको भौतिक पूर्वाधार मन्त्रालय एमालेको भागमा र मनाङेलाई वन तथा वातावरण मन्त्रालय परेको थियो । पाण्डेले एमालेलाई पनि सरकारमा सामेल गर्दै मन्त्रिपरिषद हेरफेर गरेका हुन् । तर मनाङेले भने असन्तुष्टि जनाउँदै सोमबारै मुख्यमन्त्रीलाई राजीनामा बुझाए । उनको राजीनामा मुख्यमन्त्री पाण्डेले स्वीकृत गरेका छन् ।  

काठमाडौं:    तारा एयरले पोखरा–जोमसोम गन्तव्यमा भोलि मङ्गलबारदेखि पुन:उडान सुरु गर्ने भएको छ । प्रतिकूल मौसमका कारण उडान बन्द भएको उक्त गन्तव्यमा नियमित उडान गर्न लागिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।  पर्यटकीय ‘सिजन’ सुरु हुन लागेको र मौसम पनि खुल्ने समय भएकाले उडान नियमित हुन लागेको तारा एयरका प्रमुख हवाई सुरक्षा अधिकृत सुदर्शन बर्तौलाले बताउनुभयो ।  उहाँका अनुसार जोमसोमको नियमित उडानका लागि तारा एअरले एउटा विमान पोखरामै रात्रि विसान गर्नेछ । कम्पनीका अनुसार हालका लागि मौसम अनुकूल भए दैनिक पाँच वटा उडान गर्नेगरी तालिका मिलाइएको छ ।  तारा एयरको उडान पोखराको पुरानो विमानस्थलबाटै सञ्चालन हुनेछ । मुस्ताङ जिल्लामा अवस्थित जोमसोम बिमानस्थल समुन्द्री सतहबाट दुई हजार सात सय ३६ मिटर उचाइमा रहेको छ भने यस एअरपोर्टको लम्बाई सात सय ३९ मिटर रहेको छ । असोज ४ देखि रामेछाप–दुक्ला उडान       यसैगरी पर्यटक सिजनका लागि तारा एअरले रामेछाप–लुक्ला– रामेछापका लागि असोज ४ अर्थात् सेप्टेम्बर २० देखि नियमित उडान गर्ने तालिका सार्वजनिक गरेको छ ।  सगरमाथा क्षेत्रमा जाने पर्यटकका लागि विभिन्न वायुसेवा कम्पनीले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लासम्म पर्यटक सिजनमा उडान गर्दै आएका छन् । यस्तै यो सिजनका लागि तारा एअरको दुई वटा ट्वीनअटर विमानले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लाका लागि दैनिक १० देखि १५ उडान गर्ने तालिका बनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधिक हवाई ट्राफिक बढेसँगै पछिल्लो समय एयरलाइन्सहरुले रामेछापको मन्थलीलाई आधार बनाई लुक्लाका लागि उडान भर्दै आएका हुन् । रामेछाप विमानस्थलमा ताराका दुईवटै विमानले रात्रि बिसान गरी डिसेम्बर १५ सम्म नियमित उडान गर्ने तालिका रहेको जानकारी तारा एयरले जानकारी दिएको छ । ताराले रामेछापदेखि लुक्लाको साथै काठमाडौँदेखि लुक्ला, फाप्लु, पोखराबाट जोमसोम तथा नेपालञ्जबाट रारा, हुम्ला, बाजुरा, जुम्ला, डोल्पालगायतका दुर्गम क्षेत्रमा उडान सेवा दिँदै आएको छ । विमानस्थलमा धावनमार्ग विस्तार, एकैपटि उडान चाप भइरहेको व्यवस्थापनमा सहज हुने सुरक्षा अधिकृत बर्तौलाको भनाइ छ । उहाँले रामेछाप विमानस्थलमा नेपाल नागरिक उड्डयन प्राधिकरणले यात्रुको सुविधाका लागि राम्रो प्रबन्ध गरेकाले एयरलाइन्सको उडानमा सहज हुने बताउनुभयो ।  उक्त विमानस्थलमा आठ वटा पाकिङ्ग, एक्सरे मेसिन पनि जडान भएकाले यात्रुलाई सजिलो भएको छ । यस्तै लुक्लामा एक्सरे मेसिन सञ्चालनमा आएकाले यात्रु व्यवस्थापनमा सहज हुने कम्पनीले जनाएको छ ।

‘‘गुणस्तरीय शिक्षा अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ पोखरा १ मोहरियाटोलमा सञ्चालित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा सिपिएस अभिभावकीय तालिम तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।   लावण्य इन्टरनेसनल काठमाडौँका प्रबन्धक निर्देक मनोज पण्डितको प्रमुख आतिथ्यतामा तथा गण्डकी प्रदेशका बजार व्यवस्थापक प्रमुख हरि खनालको आतिथ्यतामा  कार्यक्रम सम्पन्न गरिएको हो ।   कार्यक्रममा बोल्दै उहाँले विद्यालय प्रशासन, शिक्षक र अभिभावकको संयुक्त प्रयासबाट नै नानीबाबुलाई संस्कारयुक्त असल बनाउन सहयोग पुग्ने बताउनुभयो ।   साथै लावण्य र सि.पि.एस.को बारेमा पनि प्रष्ट्याउनु भएको थियो ।   कार्यक्रममा कक्षा नर्सरी, एलकेजी र युकेजीका विद्यार्थीहरुले आफूले सिकेका कुराहरु प्रस्तुत गरेका थिए ।   विद्यालयकी सि.पि.एस. प्रमुख रोजिना लगुनले शिक्षक तथा अभिभावक बिचमा सहजीकरण गर्नुभएको थियो ।   विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रमको सञ्चालन शिक्षिका माया क्षेत्रीले गर्नुभएको थियो ।  

पर्सा:    देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जबाट मोटरसाइकल अयातामा उलेख्य वृद्धि भएको छ । सो नाका प्रयोग गरी जिप र कारको आयातमा भने कमी आएको छ ।       गत आर्थिक वर्ष २०८०/८१ को साउनको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा जिप र कारको आयातमा ४० प्रतिशतले कमी आएको छ । सो अवधिमा मोटरसाइकलको आयात शत् प्रतिशतले बढेको छ ।       गत आर्थिक वर्षको साउन महिनामा वीरगञ्ज नाकाबाट रु ४६ करोड ७७ लाखका तीन हजार पाँच सय ७१ थान मोटरसाइकल आयात भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी राघुलाल कर्णले जानकारी दिनुभयो । चालु आवको साउनमा भने रु ९४ करोड ४८ लाखका सात हजार एक सय ५० थान मोटरसाइकल आयात भएका थिए ।        वीरगञ्ज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको साउन महिनामा रु २० करोड ६० लाखका एक सय २७ थान जिप र कार आयात भएका थिए भने चालु आवको सोही अवधिमा रु १४ करोड ४४ लाखको ७६ थान मात्र जिप र कार आयात गरिएको छ ।  भारत तथा तेस्रो मुलुकबाट पाटपुर्जा भित्र्याइए नेपालमै पेट्रोलबाट चल्ने मोटरसाइकल एसेम्वल्ड गर्ने आयातकर्तालाई सरकारले राजस्वमा ५० प्रतिशत छुट दिएका कारण आयात वृद्धि भएको सूचना अधिकारी कर्णले बताउनुभयो ।       गत आर्थिक वर्षको साउन महिनामा मोटरसाइकल आयातबाट रु ४४ करोड २१ लाख राजस्व सङ्कलन भएको थियो । चालु आवको सोही अवधिमा भने रु ८८ करोड ६४ लाख राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

काठमाडौं:    प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल अध्ययन भ्रमणमा रहेको भारतीय राष्ट्रिय रक्षा महाविद्यालय (एनडिसी) का शिक्षार्थीहरुको प्रतिनिधिमण्डलले आज भेट गरेको छ ।      प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले उक्त कलेजले रक्षा मामिलामा गर्दै आएको प्राज्ञिक योगदानको प्रशंसा गर्दै दक्षिण एसियाली राष्ट्रहरुको शान्ति र समृद्धिका लागि साझा प्रयास हुनुपर्नेमा जोड दिनुभयो ।  उहाँले गौतम बुद्ध र महात्मा गान्धीजस्ता व्यक्तित्वको जन्म भएको यस क्षेत्रमा हिंसा तथा विवाद उत्पन्न हुनु यहाँको संस्कृति र सभ्यता विपरीतका विषय हुने बताउनुभयो ।       प्रधानमन्त्री ओलीले नेपाल र भारतबीचको समान संस्कृति, रहनसहन र सभ्यताको चर्चा गर्दै दुई देशबीचको मित्रता अभिवृद्धि हुँदै गएको उल्लेख गर्नुभयो । भेटका अवसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, कलेजका प्रतिनिधि सन्दीप एस सन्दुलगायत सहभागी हुनुहुन्थ्यो ।

काठमाडौं:   नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकार)को २३औँ राष्ट्रिय सम्मेलन आगामी असोज पहिलो साता हुनेभएको छ ।      क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले आगामी असोज २ देखि ५ गतेसम्म सम्मेलन काठमाडौँमा गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । उहाँले अहिलेसम्मका लागि जिल्ला अधिवेशन भइरहेको समेत बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएको छ ।       सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको केन्द्रीय कमिटी चयन गर्ने महासचिव दीपेश पुनले जानकारी दिनुभयो । उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्नेछन् ।       यस्तै, वर्तमान केन्द्रीय कमिटीले सम्मेलनमा सहभागी हुनका लागि आ–आफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।       सम्मेलनको उद्घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान र बन्द सत्र कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभा हलमा हुने छ । क्रान्तिकारीले यही भदौ २० गतेसम्म जिल्ला अधिवेशन गरिसक्नुपर्ने निर्देशन दिएको छ ।

काठमाडौं:    चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डिसीले आज पदभार ग्रहण गर्नुभएको छ ।  आज बोर्डको कार्यालयमा पुगेर ज्ञानशास्त्र चलचित्रको निर्माण इजाजतपत्रको टिप्पणीमा सदर गरेर विधिवत् पदभार ग्रहण गर्नुभएको बोर्ड सदस्य एवं प्रवक्ता खेतुलाल विसीले जानकारी दिनुभयो ।  गत बिहीबारको मन्त्रिपरिषद् बैठकले उहाँलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।  अध्यक्ष डिसी टेलिभिजन तथा रेडियो कार्यक्रमका निर्माताका रुपमा पनि चिनिनुहुन्छ । निवर्तमान अध्यक्ष भुवन केसीको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त रहेको थियो ।

कैलाली:    कैलालीमा सर्पले डस्दा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका– ९ वनदेवी टोल बस्ने माया विकको ५ वर्षीय छोरा अरुण रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बालक विकलाई गएराति निजकै घरमा सुतिरहेको अवस्थामासर्पले डसेर घाइते भएको र उपचारको क्रममा राति १ः ५० बजे सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । त्यसैगरी गएराति नै सर्पले डसेर कैलालीको गोदावरी नगपालिका– ६ लालपुरका अन्दाजी ३३ वर्षीय सागर विष्ट घाइते भएका छन् ।  विष्टलाई निजकै किराना पसलको घर आगनमा दाँहिने खुट्टामा सर्पले डसेर घाइते भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । उनलाई कुन सर्पले टोकेको हो भन्ने जानकारी नएको र घाइते विष्टको अवस्था मध्यम रहेको जनाइएको छ ।