काठमाडौं:   सभामुख देवराज घिमिरेले संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा समावेश ‘कुलिङ पिरियड’सम्बन्धी प्रावधानमा गरिएको छेडखानी छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन ...

काठमाडौं:     बाँचिरहेको जिन्दगीका बेलामा कहीँकतै प्रदीप गिरीले भन्नुभएको थियो, “मृत्यु नै जीवनको अन्तिम पाना हो ।” यो जीवन र जगत्लाई जसरी प्रदीप गिरीले बुझ्नुभयो जिन्दगीलाई शास्त्रीय ऐनाबाट हेर्ने, जिउने र बुझ्नेहरू सायदै हुन्छन् यो संसारमा ।  उहाँले बाँचेको निजी जीवन, राजनीतिक र सामाजिक जीवनको त्यो अद्भूत संयोग सायदै कसैको जीवनमा हुन्छ । नेपाली समाज अनि राजनीतिमा एउटा कहिल्यै नभिभ्ने ‘दीप’ हो प्रदीप गिरी ।  समाजवादी चिन्तकको छवि बनाउनुभएका प्रदीप गिरीले कहिल्यै लालचको जिन्दगी जिउनु भएन । कहिल्यै लाभको पद खोज्नु भएन । राजनीतिलाई कहिल्यै आफ्नो स्वार्थको भ¥याङ बनाउनु भएन ।       समाज परिवर्तनको एउटा अभियान वा आन्दोलन र राजनीतिलाई फरकफरक आँखाले हेर्ने अनि त्यही आदर्शलाई जिन्दगीको बाँच्ने शैलीमा ढाल्नसक्ने एउटा अलौलिक क्षमता लिएर जन्मिने यस्ता मान्छे जगतमा बिरलै हुन्छन् ।  समकालीन नेपाली समाज र राजनीतिमा त्यही एउटा दुर्लभ नाम पनि हो, प्रदीप गिरी । विसं २००४ मा सिरहाको बस्तीपुरमा जन्मिनुभएका प्रदीप गिरीका पिता मित्रलाल आफैँ नेपाली काँग्रेसका नेता हुनुहुन्थ्यो । बुबाका औँला समाएर उहाँले यो धर्तीमा आफूलाई उभ्याउन र पाइला चाल्न सिक्नुभयो । बुबाकै दीक्षाले उहाँभित्र राजनीतिको चेत पनि उज्यालिइसकेको थियो ।       एउटा राजनीतिक परिवारमै हुर्के बढेका उहाँले सानै उमेरदेखि राजनीतिक शास्त्रका ठेलीहरूदेखि दर्शनशास्त्रका मोटामोटा किताबहरू कण्ठै पारिसक्नुभएको थियो । उहाँ जन्मिदाको समय राणा शासन थियो । एक सय वर्ष जहाँनीया शासन चलाइसकेको राणाका ती अन्तिम दिनहरू थिए । थिचिएका अनि मिचिएका नेपाली समाज भित्रभित्र राणाविरुद्ध विष्फोटक तयारीमा थियो । यसको परिणाम २००७ फागुन ७ गते नेपालका राजनीतिक दल, दरबार र राणाहरूबीच भएको एउटा समझदारीले देशमा प्रजातन्त्र आयो ।       नेपालमा जन्मिए पनि उहाँको शिक्षादीक्षा भने भारतमै भएको थियो । १३ वर्षको उमेरदेखि नै राजनीतिको सक्रिय बाटोमा आफूलाई हिँडाउन सुरु गरिसक्नु भएका उहाँ त्यसपछि समाजवादका एक साधकका रुपमा स्थापित हुनुभयो ।  भारतमै बसेर राजनीतिमा पाइला सार्दै गर्दा त्यो बेला नेपालमा राजा महेन्द्रले जनताको प्रजातान्त्रिक अधिकारमाथि ‘कु’ गरिसकेका थिए । २०१७ सालदेखि उहाँले जुन राजनीतिक बाटोमा आफ्ना पाइलाहरू अघि बढाउन खोज्दै हुनुहुन्थ्यो, त्यसपछिका ३० वर्षहरू फेरि दरबारसँग लड्दालड्दै बिते ।  भारतमा चलिरहेको स्वतन्त्रता आन्दोलनलाई कलिलो दिमागमै छापिसक्नुभएको उहाँलाई पञ्चायतविरोधी आन्दोलनमा अघि बढ्न झन सजिलो भयो ।       भारतमै पढ्ने बेलामा उहाँले बिपी कोइरालाको नाम धेरैपटक सुनिसक्नुभएको थियो । अरुजस्तै उहाँको मनमा पनि बिपीको एउटा अलग्गै तस्बिर छापिइसकेको थियो । भारतमै भएको एउटा कार्यक्रममा उहाँले बिपीलाई भेट्ने मौका पाउनुभयो । त्यही भेट नै उहाँको राजनीतिक जीवनको एउटा मोड बनिदियो ।  त्यही कार्यक्रममा उहाँले बिपीलाई प्रतिप्रश्न सोध्नुभयो । हत्तपत्त बिपीलाई प्रतिप्रश्न सोध्ने आँट कसैले पनि गर्दैनथे, यहाँसम्म कि अन्तर्वार्ता लिने पत्रकारहरूले समेत । एउटा कुनाबाट आफूलाई अप्रत्याशित त्यसमा पनि आलोचनात्मक प्रश्न गर्ने त्यो स्कुले ठिटो बिपीको नजरमा परिसकेको थियो ।  बिपीको त्यही नजर लागेको केटो २०२४ सालमा ‘नेपाल छात्र सङ्घ बनारस’को निर्वाचित उपाध्यक्ष बन्यो । बिपीभन्दा ३० वर्ष कलिला उहाँका राजनीतिक पाइलाहरू त्यसपछि फटाफट अघि बढ्न थाले ।       नेपाली कांग्रेसभित्र बिपीको राजनीतिक, सामाजिक र साहित्यिक दर्शन अनि सिद्धान्तहरूलाई आलोचनात्मक विवेचना गर्ने सायद उहाँ एक्लो प्राणी नै होला । र, पनि उहाँले आफ्नो राजनीतिक जीवनभरि बिपीकै व्यक्तित्व, विचार अनि राजनीतिक सिद्धान्तलाई अपनाइरहनुभयो ।  खासगरी राष्ट्रवादका सन्दर्भमा उहाँ र बिपीबीच जहिल्यै सैद्धान्तिक र व्यावहारिक मतभेदको खाडल रहिरह्यो । तथापि, बिपीले निर्माण गरेको राजनीतिक सिद्धान्त र क्षितिजबाट प्रदीप कहिल्यै टाढा हुनुभएन तर कहिल्यै प्रश्न गर्न छोड्नुभएन ।  युगभन्दा अलि चाँडै जन्मिएका बिपीलाई सायदै त्यो बेलाको समाजले चिन्यो । त्यस्तो रिक्तता बिपी आफैँले पनि अनुभव गरेको भनेर आफ्ना आत्मकथाहरूमा कताकता उल्लेख गर्नुभएको छ । उहाँको एउटै चिन्ताको बिषय हुन्थ्यो– शास्त्रीय बहस गर्ने समकालीन नै भएनन् ।       बिपीका अघि सधैंँ छाती तन्काएर उभिने उहाँ एउटा त्यस्तो तातोरातो युवा हुनुहुन्थ्यो, जसले बिपीसँग समाजवादका शास्त्रीय आयामहरूका बारेमा बहस गर्ने हिम्मत राख्थ्यो । अनि राष्ट्रवादका मुद्दामा बिपीसँग सवालजवाफ गर्ने हैसियत राख्थ्यो ।  बिपीलाई सिधासिधा प्रश्न सोध्न हिम्मत राख्ने उहाँलाई त्यही निहुँमा बिपीका विरोधी आँखाले हेर्नेहरूको कमी त थिएन तर पनि उहाँको अध्ययन अनि विश्लेषण क्षमताका अघि ती आलोचना र विरोधी नजरहरू कहिल्यै माथि उठ्न सकेनन् । उहाँको त्यो क्षमताका अघि ती सबै सधैंँ दबित रहे ।       यो आदत उहाँको आफ्नो निजी जीवनमा उत्तिकै थियो । जसले आफ्नाबारेमा प्रश्न गर्छ वा आलोचना गर्छ उसलाई नै उहाँले सधैँ नजिक राख्नभयो । अर्थात् न उहाँ प्रश्न गर्न डराउनुभयो न आफूमाथि आउने प्रश्नहरूलाई पन्छाएर भाग्नुभयो ।  त्यही राजनीतिक कुशलता र क्षमताले नै उहाँ आफ्नो राजनीतिक दर्शनको पथमा सधैँ प्रदीप्त भइरहनुभयो । राजनीतिक जीवनका आफ्नै सिद्धान्तहरू हुन्छन् । जिन्दगी बाँच्ने आफ्नै शैली हुन्छ । त्यसलाई जिउने आफ्नै स्वभाव हुन्छ । उहाँ जीवनभरि त्यस्तै रहनुभयो, जस्तो यो समाजले चिनेको प्रदीप थियो ।        एकपटक उहाँले बिपीलाई एउटा आग्रह गर्नुभएको थियो– ‘सान्दाजु अब म आफूलाई समाजवादको अध्ययनमा सक्रिय बनाउँछु । समाजवादीहरूसँग सम्पर्क बढाइदिनुप¥यो ।’  बिपीले भारतीय समाजवादी नेताहरूलाई पत्र लेखेरै उहाँलाई भेट्न र सम्बन्ध बढाउन सहजीकरण गरिदिनुभएको थियो । त्यसबाटै उहाँमा समाजवादको ब्याख्या विश्लेषण मात्रै होइन, त्यसको व्यावहारिकीकरणमा पनि आफूलाई अब्बल सावित गर्नुभयो । यसरी उहाँ एउटा राजनीतिक व्यक्ति मात्रै नभएर सिङ्गो वैश्विक समाजवादी आन्दोलनका एक प्रणेताका रुपमा आफूलाई स्थापित गर्नुभयो ।       उहाँको एउटा खासियत के पनि थियो भने उहाँले आफू बाँचिरहेको सामाजिक संरचनालाई ठाडै चुनौती दिनुभयो । त्यो भनेको उहाँमा एक प्रकारको बिद्रोही स्वभाव पनि जिउँदो र जाग्दो थियो ।  यसका कारण उहाँ परिवार र समाजबाट अलग हुनु परे पनि आफ्नो सिद्धान्तबाट कहिल्यै डग्मगाउनु भएन । उहाँले सधैँ भन्नुहुन्थ्यो– ‘यो समाज अनि सामाजिक संरचना हामी आफैँले आफ्नो सुविधाका लागि बनाएको हो । र त्यसलाई भत्काउन सक्ने पनि हामी आफैँ नै हो ।’  कुनै बेला दलित समुदायका व्यक्तिलाई आफ्नो भान्सेका रुपमा राख्दा उहाँ परिवारबाटै बहिष्कृत हुनुपरेको थियो । तर उहाँ कहिल्यै त्यसबाट विचलित हुनुभएन र बरु आफूलाई सधैंँ त्यस्तै दलित, पिछडिएका अनि सिमान्तकृत वर्गकै बीचमा राख्नुभयो ।  जीवनको अन्तिमसम्मै उहाँका सहयोगी त्यस्तै समुदायका व्यक्ति थिए । उहाँको त्यही अडिग विचारका कारण नेपाली काँग्रेसले आफ्नो समावेशी नीति नै बनायो ‘कदमजम’ । यो नीति नेपाली काँग्रेसले अबलम्बन गर्नुको पछाडि प्रदीपकै योगदान थियो ।        समाजवादपछि उहाँको अर्को विद्वता भनेको माक्र्सवादको अध्ययन हो । खासगरी कम्युनिष्टहरूले आफ्नो सिद्धान्तको ग्रन्थ नै ठान्ने माक्र्सवादलाई सरलीकृत गर्ने उहाँले कुनै बेला कम्युनिष्ट स्कुलमा कम्युनिष्टहरूलाई माक्र्सवाद पनि पढाउनुभएको थियो ।  यसकारण उहाँलाई आदर्श मान्ने कम्युनिष्टहरूको पनि कमी छैन । फरक विचारधार भए पनि उहाँले मुद्दा मिल्नेहरूसँग सधैँ सम्बन्ध बढाउँदै लैजानुभयो । चाहे युद्ध गरिरहेको माओवादी होस् वा अधिकारका लागि आन्दोलन गरिरहेको मधेसवादी दलहरू ।  युद्ध गरिरहेको तत्कालीन माओवादीविरुद्ध सारा रज्यशक्ति र राजनीतिक दलहरूसमेत एकातिर हुँदा प्रदीप एक्लै माओवादीको पक्षमा उभिनुभयो । उहाँले सधैँ माओवादीले उठाएका मुद्दाहरूको सम्बोधन हुनुपर्छ भनिरहनुभयो ।  माओवादीलाई संसदीय बाटोमा ल्याउन पनि उहाँको धेरथोर भूमिका रह्यो । अनि मधेसमा आन्दोलन गरिरहेका तथा उनीहरूले उठाइरहेका मुद्दा र मागका विषयमा पनि उहाँ आफ्नै पार्टी नेपाली कांग्रेसभन्दा माथि उठेर लड्नुभयो । मधेसको अधिकारका लागि उहाँले त्यहाँ संघर्षरत सबै पक्षसँग सम्बन्ध बलियो बनाउनुभयो ।       विसं २०७२ मा संविधानसभाले संविधान जारी गर्दा त्यसमा हस्ताक्षर नगर्ने एक सांसद उहाँ पनि हुनुहुन्छ । उहाँको यो संविधानप्रति सधैँ एउटै मत रह्यो– यो अपुरो संविधान छ । त्यसको संशोधन जरुरी छ । संविधान अझै संशोधन हुन सकेको त छैन तर अब संविधान संशोधनकै लागि सत्तागठबन्धन बनिरहेको यो बखत भने उहाँ हामीमाझ हुनुहुन्न ।  उहाँले सधै भन्नुहुन्थ्यो–‘जुनसुकै वाद होस् या सिद्धान्त त्यसले अन्ततः जनताको जीवनमा समृद्धि ल्याउनुपर्छ । जनताले त्यो महसुस गरेको दिन सबै सिद्धान्त र वादहरू बराबर हुन्छन् । त्यसैले कसैलाई वाद र सिद्धान्तका आधारमा हेरिनु हुँदैन । बरु मुद्दाका आधारमा उनीहरूलाई आफ्नो पराई सम्झनुपर्छ ।’ बिपीपछि शक्तिशाली सभापतिका रुपमा रहेका गिरिजाप्रसाद कोइरालासँग उहाँको सधैँभरि मतभेद यही कुरामा रहिरह्यो ।       पार्टीको नीति र सिद्धान्तभन्दा माथि उठेर ‘गणतन्त्र’को अभियान चलाउन प्रेरित गर्ने उहाँ कहिल्यै पनि कसैको नियन्त्रित घेराभित्र रहनुभएन । आफ्नो ब्रह्म, सिद्धान्त र विचारले जे देख्यो उहाँले त्यसै गर्नुभयो ।  यहाँसम्म कि विचारमा असहमति बढ्दै जाँदा उहाँ मूल पार्टीबाट अलग पनि हुनुभयो तर कहिल्यै आफ्नो आत्मसिद्धान्त विपरीत सम्झौता गर्नुभएन । त्यसैले कतिपयले उहाँलाई अराजक भनेर पनि आलोचना र टिप्पणी गर्छन् ।  तथापि उहाँ आफ्नै स्वभावमा बाँच्ने रमाउने व्यक्तित्व हुनुहुन्थ्यो । त्यसैले उहाँमा कहिल्यै लोभलालच जागेन अर्थात उहाँले अपनाउनु भएको राजनीतिक सिद्धान्तले कहिल्यै पनि लाभको पदमा बस्न सिकाएन । मन्त्री बन्न आएका कतिपय प्रस्तावहरूलाई उहाँले ठाडै अस्वीकार गर्नुभयो ।  कहिल्यै कुनै राजनीतिक भाग खोज्नुभएन र आफूलाई अनि आफ्नाहरूलाई पनि त्यसका लागि रोज्नुभएन । तर जनताका कामका लागि भने उहाँ सधैंँ अघि लागेर खटिनुभयो । त्यसैको परिणाम हो उहाँले चुनावमा भोट माग्न कहिल्यै जानु भएन । बरु मतदाताहरू उहाँलाई भेट्न आएरै शुभेच्छा दिन्थे, अनि चुनावमा भोट हालेर उहाँलाई जिताउँथे ।      एउटा कुलीन परिवारमा जन्मिए पनि उहाँमा न कहिल्यै धन सम्पत्तिको लोभ रह्यो, न त्यसको रवाफ । उहाँ सधैंँ आफूलाई भूइँमान्छेका रुपमा उभ्यानुभयो । भूइँमान्छेहरूसँग रहनुभयो । समाजवादलाई आफ्नो आदर्श ठान्नेहरूको सबैभन्दा ठूलो गुण यही नै हो र समाजवादको असली अभ्यास नै यही हो ।  आफूलाई कहिल्यै बिलासी संस्कारमा नढालेका उहाँको यही सन्तपन नै आमनागरिकका लागि अनुराग बन्यो । आफ्ना आदर्श र सिद्धान्तहरूलाई उहाँले कतिसम्म व्यवहारमा उतार्नुहुन्थ्यो भन्ने यो एउटा बलियो उदाहरण हो ।  आफ्ना सारा सम्पत्तिलाई आफ्नै बस्तीमा आश्रम बनाएर उहाँले बेसहाराहरूलाई साहार दिने कोसिस गर्नुभयो । मृत्यु शैय्यामा जीवन चियाइरहँदा पनि धिपधिपारहेको त्यो उहाँभित्र उत्तिकै प्रदीप्त ज्योति थियो ।  परिवार अनि आफन्तहरूको घेरामा कहिल्यै नअटाएका उहाँका लागि बरू यो खुला संसार नै परिवारजस्तै थियो । त्यसैले त उहाँले नदीछेउमा आश्रम बनाउनुभयो । असहायहरूलाई पढ्न लेख्न सिकाउनुभयो । जातपातको भाषा कहिल्यै जान्न चाहनुभएन । सबै मान्छे बराबर देख्नुभयो ।  बरु आफूलाई सधैँ फकीर बनाइराख्नुभयो तर वंश अनि अंशमा कहिल्यै हक खोज्नुभएन । त्यो आफ्नो निजी जीवनमा पनि होइन र राजनीतिक जीवनमा पनि ।       कहिल्यै उहाँ सत्तामा जान चाहनुभएन । कहिल्यै त्यो चाह वा मोह पनि राख्नुभएन । राजनीतिक रुपमा एक नेता अनि शासक बन्ने चाहनाबाट उन्मुक्त उहाँ सधैँ जीवन दर्शनको खोजमै तत्लीन रहनुभयो । वंशका लागि कहिल्यै चिन्ता गर्नुभएन । सम्बन्ध र प्रेमलाई पनि कहिल्यै उहाँले महत्व दिनुभएन । परिवार अनि आफन्तहरूको घेरामा कहिल्यै नअटाउनुभएका उहाँका लागि बरू यो खुला संसार नै परिवारजस्तै थियो । अनि अरूका लागि प्रदीप बन्नुभएको थियो ।       भौतिक संरचनाको निर्माण मात्रै विकास होइन र त्यसले मात्रै समृद्धि ल्याउँदै भन्ने मान्यता राख्ने उहाँले विकासे संरचनाहरूले जनताको जीवनमा के चाहिँ परिवर्तन ल्यायो भनेर मूल्याङ्कन गर्नुपर्ने ठान्नुहुन्थ्यो ।  उहाँले विकासे अभियानलाई कहिल्यै समाजवादको जग मान्नुभएन । अर्थतन्त्रको उदारीकरणसँगै राज्य नागरिकप्रतिको आफ्नो दायित्वबाट बिमुख हुनु हुँदैन भनेर सधैँ खबरदारी गरिरहनुपर्ने उहाँको मान्यता थियो ।  यसैलाई लोकतान्त्रिक समाजवादका रुपमा ब्याख्या पनि गर्न सकिन्छ । राजनीतिक, आर्थिक तथा सामाजिक जीवनका दर्शन र सिद्धान्तका ठेलीहरू कन्ठस्थ पार्नुभएका उहाँ कहिल्यै एकाङ्की हुनुभएन ।  ज्ञानको भारीले उहाँलाई कहिल्यै थिचेन बरु उहाँ चङ्गाजस्तै फुरुङ्ग हुनुहुन्थ्यो, भूइँमान्छेहरूसँग रमाउँदा, उनीहरूसँग संवाद गर्दा र उनीहरूका समस्याको समाधान गरिदिँदा ।       उहाँको जीवनगाथा एउटा सानो आलेखमा अट्ने खालको हुँदै होइन । उहाँले बाँचेको जीवन अनि उहाँले अपनाएको जीवनशैलीका फेहरिस्त लेख्ने हो भने त जीवन दर्शनको एउटा सिङ्गो ठेली नै बन्छ । उहाँ एक नेता मात्रै हुनुहुन्न, राजनीतिज्ञ मात्रै पनि हुनुहुन्न उहाँ जीवनका साधकमात्रै होइन र  त्यसका लागि साधना मात्रै पनि गर्नुभएन । चिन्ता र चिन्तनमात्रै पनि गर्नुभएन । बरु जस्तो हुनुहुन्थ्यो त्यस्तै बाँचीदिनुभयो । जस्तो जीवन बाँच्नुभयो, त्यस्तै विचार निर्माण गरेर जानुभयो । एउटा त्यस्तो विचारको बत्ती जलाएर उहाँ जानुभएको छ, त्यसले नेपाली समाज र राजनीतिलाई जुगौँजुगसम्म आलोकित बनाइरहनेछ । (लेखक राजनीतिक विशलेषक हुनुहुन्छ)

चितवन:    पहिरोका कारण पृथ्वीराजमार्ग एकतर्फी रुपमा सञ्चालन भएको छ ।       इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार आज बिहान ६ः३५ बजे  पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोला र फिस्लिङको बीचमा लेदोसहित पहिरो खस्दा  सडक एकतर्फी अवरुद्ध बनेको हो ।       पानी परिरहेकाले पहिरो पन्छाउन कठिनाइ भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले बताउनुभयो । मेसिन तयारी अवस्था रहेको र पानी रोकिएपछि पहिरो पन्छाइने निरीक्षक भण्डारी बताउनुभयो । 

पोखरा:  एकाबिहानै बुलौदीमा कार दुर्घटना भएको छ ।   पोखरा महानगरपालिका वडा नम्बर ६ र ७ जोड्ने बुलौदीमा हल्लाचोकबाट जिरो किलोमिटरतर्फ आउँदै गरेको बा ५च ४२२५ नम्बरको कार दुर्घटना भएको हो ।    यद्यपी मानवीय क्षति भने नभएको स्थानीयले जनाएका छन् ।   उनीहरुका अनुसार बिहान ५ बजे कार सडकको डिभाडरमा चढेको थियो     कारमा दुई जना सवार रहेका दुइजना सामान्य घाइते भएको बताइएको छ ।   उक्त स्थानमा प्राय सवारी दुर्घटना भइरहन्छ ।   

काठमाडौँ:   प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ ।   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार खराब मौसम तथा कम ‘भिजिविलिटी’का कारण पोखरा र भरतपुर गन्तव्यमा उडान प्रभावित भएको हो ।   विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले आन्तरिक उडान सामान्य प्रभावित रहे पनि अन्तर्राष्ट्रिय उडान नियमित भइरहेको जानकारी दिनुभयो ।   “मौसम खराब रहेकाले भिजिविलिटी कमजोर हुदाँ पोखरा र भरतपुर गन्तव्यमा उडान हुन सकेको छैन”, उहाँले भन्नुभयो, “अन्य पहाडी क्षेत्रका विमानस्थलमा पनि सामान्य उडान प्रभावित भएको छ ।”   बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार पोखरा र भरतपुरमा अहिलेसम्म कुनै पनि उडान भएको छैन ।   वर्षा कम भएसँगै भिजिविलिटीमा सुधार आए केहीबेरपछि उडान हुने जानकारी आएको उहाँले बताउनुभयो ।   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।   हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेकाले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । सबै प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।   गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

काठमाडौँ:   पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापानमा हुने वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बिदाई गर्नुभएको छ ।   अध्यक्षले दाहालले खुमलटारमा आयोजित एक कार्यक्रममा उहाँहरूलाई बिदाइ गर्नुभएको हो ।   त्यस अवसरमा अध्यक्ष दाहालले पदक जित्न नेपाली खेलाडीहरू सफल हुने विश्वास व्यक्त गर्नुका साथै उहाँहरूको सफलताको कामना गर्नुभयो ।   कार्यक्रममा नेपाल वादोरियो कराते डो सङ्घका केन्द्रीय पदाधिकारी, नेपाल कराते महासङ्घका उपाध्यक्ष श्याम शेर्पा र सचिव बि.आरलगायत सहभागी हुनुहुन्थ्यो ।   यही भदौ ८ र ९ गते जापान टोकियोमा हुने नवौँ वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगिता २०२४ मा नेपाली खेलाडीहरू एलन श्रेष्ठ, सुस्मिता वाइबा, अनिल उपरकोटी र आरोन शेरचन सहित ६ सदस्यीय टोली सहभागी हुँदैछ ।

खोटाङ:   झट्ट हेर्दा बालुवा र सिमेन्ट प्रयोग गरेर कालीगढले बनाएजस्तो देखिने सेतो रङका आकर्षक ढुङ्गाले ककनीडाँडा ढपक्कै ढाकिएको छ ।   प्राकृतिक रुपमै आकर्षक विभिन्न आकृति देखिने ढङ्गैढुङ्गाले बनेको ककनीडाँडा एक सय ६० रोपनी क्षेत्रफलमा फैलिएको छ ।   त्रिधार्मिकस्थल हलेसीबाट करिब ३० मिनेटको उकालो पैदलयात्रामा पुगिने पर्यटकीयस्थल ककनीडाँडामा ‘रक गार्डेन’ (ढुङ्गे बगैँचा) निर्माणाधीन अवस्थामा छ ।   लामो समयदेखि स्थानीय बासिन्दा घुमफिर र वनभोज जाने ककनीडाँडालाई स्तरोन्नति गरेर आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षकस्थल बनाउन हलेसी तुवाचुङ नगरपालिका लागिपरेको हो ।   प्राकृतिक रुपमै सजिसजाउ भएका ढुङ्गालाई थप सजाउने, ढुङ्गाका बीचबीचमा सुहाउँदो फूल रोप्ने, ठाउँ–ठाउँमा ढुङ्गे गेट (प्रवेशद्धार) बनाउने, ढुङ्गे धारा निर्माण गर्ने, ढुङ्गा कुँदेर महादेवलाई भस्मासुरले लखेटेको दृश्य झल्काउने मूर्ति बनाउने, प्राकृतिक ढुङ्गालाई नचलाइकन कालो, सेतो र रातो रङको ढुङ्गा मिश्रण गरेर फूलको आकृति बनाउने, विभिन्न कला तथा संस्कृति झल्कने सजावट गर्ने काम भइरहेको छ ।   हलेसी तुवाचुङ–७ महादेवस्थानस्थित ककनीडाँडामा निर्माणाधीन रक गार्डेनलाई नगरपालिकाले ‘बुङालुङ’ नामकरण गरेको छ ।   विश्वको सर्वोच्च शिखर सगरमाथालगायत हिमालको तस्बिर कैद गर्ने, दृश्यावलोकन गर्ने र मनोरञ्जन गर्ने ढुङ्गाकै स–साना गेट निर्माण गर्ने र रक गार्डेनका रुपमा विकास गर्ने चारैतिर घेराबार तथा पर्खाल लगाउने काम नगरपालिकाले गरिरहेको छ ।   यसैगरी, एक क्षेत्रबाट अर्को क्षेत्र पुग्न ढुङ्गाकै कलात्मक सिँढी निर्माण गर्न, पर्यटक विश्रामका लागि डाँडाडाँडामा काठका बिसौनी राख्नेगरी तयारी गरिएको छ ।   यसबाहेक रक गार्डेनमा विद्युत्, खानेपानीको व्यवस्था, विश्रामस्थल, केबलकार, भोजनालयलगायत संरचना निर्माण गर्नेसम्मको परिकल्पना गरिएको छ । भस्मासुर राक्षसले महादेवलाई लखेट्दा ककनीडाँडामा महादेवको पाइला परेपछि ढुङ्गाको कलात्मक आकृति निस्किएको किंवदन्ती छ ।   निर्माणाधीन अवस्थामै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको ककनीडाँडा हलेसी भएर जाने सरकारको १०० वटा पर्यटकीय गन्तव्य मुन्दुम ट्रेल (पदमार्ग)को प्रवेशस्थलमा पर्दछ ।   किराती सभ्यतासँग सम्बन्धित मुन्दुम ट्रेल हलेसीबाट सुरु भएर रुपाकोट, टेम्के, मैयुङ हुँदै सालपा सिलिचुङसम्मको निर्धारण गरिएको छ ।   हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी र ककनीडाँडा नजिकै किरात सभ्यताको उद्गमस्थल मानिने तुवाचुङ–जायजुम अवस्थित छ ।   सरकारले निर्धारण गरेको १०० वटा गन्तव्यमा पर्ने मुन्दुम ट्रेलको प्रवेशस्थलमा अवस्थित ढुङ्गै÷ढुङ्गाले बनेको रमणीयस्थल ककनीडाँडामा निर्माण सुरु गरिएको रक गार्डेनलाई महत्वका साथ हेरिएको छ ।   लामो समयदेखि प्रयोगविहीन ककनीडाँडामा नगरपालिकाको पहलमा आधुनिक किसिमको रक गार्डेन निर्माण सुरु गरिएपछि स्थानीय बासिन्दा पनि हर्षित बनेका छन् ।   ककनीडाँडामा रक गार्डेन निर्माण सुरु गरिएलगत्तै आसपासका जग्गा घडेरीका रुपमा किनबेच सुरु भएको नगर प्रवक्ता एवं महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो ।   उहाँले भन्नुभयो, “निर्माणाधीन अवस्थाका रक गार्डेन हलेसी आउने पर्यटकका लागि अर्को गन्तव्यस्थल बनेको छ । रक गार्डेन घुम्न तथा अवलोकन गर्नलाई अहिलेसम्म कुनै टिकट लिनुपर्दैन । निर्माण सम्पन्नपछि ठेक्का लगाएर प्रवेश शुल्क लिने योजना छ । यसले नगरको आन्तरिक आयस्रोत वृद्धिमा सघाउ पुग्ने अपेक्षा गरेका छौँ ।”   फलामे डण्डी तथा तार प्रयोग गरेर निर्माण गरिएका घेराबाराभित्र रहेको रक गार्डेनमा गार्ड हाउस, रेष्टुरेन्ट, प्रमुख प्रवेशद्धार, शौचालय, टिकट काउण्टर निर्माण गरिएको छ ।   निर्माणाधीन अवस्थामा रहेको रक गार्डेनबाट सर्वोच्च शिखर सगरमाथालगायत विभिन्न हिमश्रृङ्खला, छिमेकी जिल्ला सोलुखुम्बु, ओखलढुङ्गा, भोजपुर र रामेछाप तथा तराईका विभिन्न फाँट अवलोकन गर्न सकिन्छ ।   रक गार्डेनलाई कतिपयले म्युजिक भिडियो छायाङ्कन गर्ने स्थलका रुपमा विकसित हुन थालेको छ ।   हलेसी नजिकै रहेको रक गार्डन काठमाडौँबाट मध्यपहाडी लोकमार्गमार्फत गाडीमा सिन्धुली–खुर्कोट–घुर्मी–जयरामघाट हुँदै आउन सकिन्छ ।   तराईका जिल्लाबाट सिराहको मिर्चैया–उदयपुरको कटारी–घुर्मी–जयरामघाट तथा धरान–धनकुटा–भोजपुर–चखेवाभञ्ज्याङ–दिक्तेल हुँदै पनि यहाँ आउन सकिन्छ भने मध्यपहाडी लोकमार्गअन्तर्गत जयरामघाट–हलेसी सडकबाट रक गार्डेन पैदल २०–२५ मिनेटमा र सवारीसाधनमा करिब १० मिनेटमा पुगिन्छ ।   चट्टानै–चट्टानको प्राकृतिक संरचनामध्ये ५६ रोपनी जग्गालाई समेटेर रक गार्डेन बनाइने विस्तृत परियोजना प्रतिवेदनमा उल्लेख छ ।

सुर्खेत:    कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्का घटनामा परी ज्यान गुमाएका परिवारलाई रु छ करोड बराबरको राहत रकम उपलब्ध गरएको छ ।   विसं २०७६ चैतदेखि साउन पहिलो साता २०८१ सम्म तीन सय ४४ पीडितपरिवारलाई प्रदेश सरकारले सामूहिक बीमावापत रु छ करोड ८८ लाख राहतस्वरूप उपलब्ध गराएको हो ।   पहिलो चरणमा विभिन्न प्राकृतिक विपद्मा परी ज्यान गुमाएका ५९ जनाका परिवारलाई बीमावापत रु एक करोड १८ लाख रकम प्रदान गरिएको थियो ।   प्रतिव्यक्ति रु दुई लाखका दरले दोस्रो चरणमा ४७ जनालाई रु ९४ लाख, तेस्रो चरणमा ६६ जनालाई रु एक करोड ३२ लाख र चौथो चरणमा एक सय ७२ जनालाई रु तीन करोड ४४ लाख बीमा रकम प्रदान गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।   उक्त रकम राष्ट्रिय बीमा कम्पनीमार्फत उपलब्ध गराइएको हो ।   मन्त्रालयले आव २०८०/८१ को साउनदेखि असार मसान्तसम्म भूकम्प, बाढी, पहिरो, चट्याङ, आगलागीजस्ता प्राकृतिक विपद्बाट मृत्यु भएका एक सय ७१ जनाका परिवारलाई रु तीन करोड ४२ लाख भुक्तानी गरेको छ ।   विशेषगरी जाजरकोट भूकम्पमा परी मृत्यु भएका एक सय ५१ व्यक्तिका परिवारलाई रु दुई लाखका दरले रु तीन करोड बीमामार्फत भुक्तानी गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् व्यवस्थापन शाखाका प्रमुख कृष्णबहादुर रोकायाले जानकारी दिनुभयो ।    उहाँका अनुसार कागजी प्रक्रिया नमिलेका कारण जाजरकोट भूकम्पबाट मृत्यु भएका तीनजनाको रकम भुक्तानी प्रक्रियामा रहेको छ ।   त्यसैगरी गत वर्ष भूकम्पबाहेक अन्य विपद्मा परी मृत्यु भएका २० जनाका परिवारलाई रु ४० लाख बीमामार्फत भुक्तानी गरिएको छ ।   कर्णालीका १७ लाख व्यक्तिको विपद् सामूहिक दुर्घटना बीमा गरेअनुसार बीमा रकम उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।

पोखरा:   पोखराबाट प्रशारण हुने पब्लिक फोरके टेलिभिजनले हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रम गर्ने भएको छ ।    टेलिभिजनमा नियमित रुपमा पब्लिक लाइभ दाहोरीसमेत सुरुआत गर्ने गरी भदौं ७ गतेदेखि तीज विशेष कार्यक्रम गर्न लागेको हो ।   कार्यक्रम भदौं ७ गतेदेखि हरेक दिन दिउँसो २ बजेको समाचारपछि तिज विशेष लाइभ दोहोरी तथा मौलिक तिजे भाकाहरुको प्रशारण हुनेछ ।    सोही कार्यक्रमको पुन: प्रशारण राती ९ बजेपछि हुनेछ । अश्लिल र छाडा बन्दै गएको तीजमा मौलिक तीज भाकाहरु पस्कन तीज विशेष कार्यक्रम आयोजना गरिएको टेलिभिजनका प्रबन्ध निर्देशक मन क्षेत्रीले जानकारी दिए ।     तीज विशेष कार्यक्रम ऋषिपञ्चमीसम्म सञ्चालन हुनेछ । त्यसपछि भने हरेक हप्ता पब्लिक लाइभ दोेहोरीसमेत सञ्चालन हुने प्रबन्ध निर्देशक क्षेत्रीले बताए ।    ‘तीज भाकाहरु पर्व गीत हुन् । पर्व गीतको मौलिकता जोगाउन आमा दिदिबहिनीका गीतहरु स्टुडियोमा रेकर्ड गरिने दैनिक प्रशारण गरिनेछ,’ उनले भने, ‘परम्परागन लोक भाकालाई प्राथमिकता दिनु हाम्रो दायित्व हो ।’    तीज गीतको नाममा विकृति मौलाएको बेला पब्लिक टेलिभिजनले मौलिक तीज गीतलाई प्राथमिकता दिनु महत्वपूर्ण भएको वरिष्ठ लोकगायीका प्राज्ञ हरिदेवी कोइरालाले बताइन् ।    तीज विशेष कार्यक्रममा हरिदेवी कोइराला, पार्वती जिसी, मामा गुरुङ, सरिता सारु, मञ्जु विक, सरस्वती लामिछाने, सिमा सारुमगर, कमला सुनार, जीवन दाहाल, रामजी पौडेल, शिवहरि ढुंगाना, टेक क्षेत्री, अनिल चापागाईं, नेत्र खड्काले प्रस्तुती दिनेछन् ।   बागलुङबाट सरस्वती खड्का र अञ्जु जिसीले आफ्नो प्रस्तुती पस्किनेछन् ।   बाटुलेचौरका गन्धर्व आमा समूहहरुले परापूर्वककालदेखि गाउँदै आएका परम्परागन गीतहरुसमेत प्रस्तुत हुने टेलिभिजनका प्रबन्ध निर्देशक क्षेत्रीले बताए । कार्यक्रम पब्लिक टेलिभिजनसहित फेसबुक र युट्युबको माध्यमबाट प्रशारण हुनेछ ।    

पोखरा:   गण्डकी प्रदेशको राजधानी पोखरामा मुख्य कार्यालय रहेको सिटीवान टेलिभिजनले हरितालिका तीजको अवसरमा तीज गीत प्रतियोगिता गर्ने भएको छ ।   सांस्कृतिक पक्षहरुको संरक्षण गर्ने उद्देश्यले  “तीजको बेला सिटीवानको सांस्कृतिक मेला, तेस्रो खुल्ला तीज गीत प्रतियोगिता–२०८१” आयोजना गर्ने भएको हो ।    टेलिभिजनका प्रवन्ध निर्देशक अनिशा श्रेष्ठले पछिल्लो समयमा डिजिटल प्रविधिको प्रयोगका कारण नेपालीहरुका संस्कृतिहरु लोप हुन लागेको भन्दै मेलाको आयोजना गरिएको जानकारी दिइन् ।   उनका अनुसार तेस्रो संस्करणको मेला यही भाद्र १५ र १६ गते बिहान ९ः०० बजेदेखि गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा हुनेछ ।   करिब ६० समूहको सहभागिता रहने अपेक्षा गरिएको श्रेष्ठले बताइन् ।   सो प्रतियोगीतामा विपद् व्यवस्थापनमा महिलाको भूमिका, महिला हिसां, पर्यटन प्रर्वद्धन, सरसफाई, वैदेशिक रोजगार, उधमशिलता, शिक्षाको महत्व, स्थानीय सरकार तथा लागूपदार्थ दुव्र्यसनी जस्ता सामाजिक विषयलाई प्राथमिकतामा राखेर प्रतिस्पर्धिले गीत गाउनुपर्ने बताइएको छ ।   सो प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार, द्धित्तीय पुरस्कार ३० हजार, तृतिय पुरस्कार २० हजार, सान्त्वना पुरस्कार १० हजार, उत्कृष्ट नृत्य ५ हजार, उत्कृष्ट भेषभूषा ५ हजार, उत्कृष्ट शब्द ५ हजार रहेको छ ।    प्रतियोगितामा भाग लिनका लागि दर्ता शुल्क नलाग्ने बताइएको छ ।   राउण्ड टेबलमा ‘तीज संस्कृति र आजको आवश्यकता’    मेलाको अवसरमा ‘तीज संस्कृति र आजको आवश्यकता’ शीर्षकमा प्रदेश स्तरीय राउण्ड टेबल कार्यक्रम संचालन गर्ने मेलाका संयोजक चिनु गुरुङ्गले जानकारी दिइन् ।    उनका अनुसार मेलामा सहभागी सबैलाई दर संस्कृितको बारेमा जानकारी दिने कार्यक्रमसमेत रहेको छ ।    कार्यक्रम सम्पन्न गर्न करिब १२ लाख खर्च हुने अनुमान गरिएको टेलिभिजनले जनाएको छ ।