गण्डकी: तपाईलाई सबैभन्दा बढी मनपर्ने आफ्नो गीत कुन हो ? गीतकार प्रल्हाद सुवेदीले भन्नुभयो, “म त्यही गीतको खोजीमा छु ।” घुमाउरो जवाफ फर्काउँदै उहाँले गीत लेखनप्रतिको आफ्नो असिम प्रेम र तृष्णालाई उजागर गर्नुभयो । हरेकलाई आफ्नो सिर्जना प्रिय र समान लाग्ने उहाँको बुझाइ छ । गीत लेखनमा दुई दशक बिताउनुभएका सुवेदी आफूलाई सिर्जनकर्मको शैशवकालमा रहेको भन्न रुचाउँछन् । लोक र दोहोरी गीतका सिद्धहस्त सर्जक सुवेदीले आफूले बाँचेको समय र आफ्ना निजात्मक अभिव्यक्तिलाई गीतमा उधिन्ने गरेको सुनाउनुभयो । उहाँका गीतका मुख्य भावभूमि भनेको मानवीय प्रेम, समवेदना र करुणा हुन् । “मेरा अधिकांश गीत प्रेमगीत हुन्, केही सांस्कृतिक विषयवस्तुका पनि छन्”, उहाँले भन्नुभयो, “माया भन्ने विषय प्रेमको सर्वोत्तम विन्दु हो । यसलाई जीवन्त बनाउनु आफ्नो दायित्व हो जस्तो लाग्छ ।” पर्वतको कुश्मा नगरपालिका–१ पाङका सुवेदीले प्रेम, ध्यान र सङ्गीत गरी मानव जीवनका तीन धारलाई आफूले सिरोपर गरेको बताउनुभयो । बुद्ध पुरुष ओशोका अनुयायीसमेत रहनुभएका सुवेदीले सङ्गीत जीवनको सबैभन्दा मिठो अभिव्यक्ति भएको बताउनुभयो । “गीत पनि सङ्गीतकै एउटा पक्ष हो, मैले यसलाई मन्त्र बनाएको छु”, उहाँले भन्नुभयो, “प्रेमगीत मेरा चिनारी हुन्, म गीतको जिज्ञासु पाठक र स्रोता पनि हुँ ।” पौराणिककालका पात्र विष्णुभक्त प्रल्हाद झै उहाँ प्रेमगीतका भक्त हुनुहुन्छ, भन्दा अतियुक्ति हुँदैन । सुवेदीले गीतलेखनमा आफूलाई समर्पित गरेको बताउनुभयो । “सिर्जनलाई जीवनमा अपनाएँ, मैले आफ्नो बाटो पहिलाएँ, अहिले यसैमा यात्रारत छु, आफूप्रति कुनै गुनासो छैन”, उहाँले भन्नुभयो । सुवेदीले हमलसम्म तीन सय बढी गीत नेपाली लोकसङ्गीतलाई दिइसक्नुभएको छ । केही गीतमा उहाँको स्वर र सङ्गीतसमेत छ । स्नातक पढाइका लागि विसं २०६० मा पाङबाट बागलुङ सदरमुकाम झर्नुभएका उहाँले सिर्जना यात्रा पनि त्यहीबाट सुरु भएको थियो । उहाँका केही गीत बागलुङ छँदै सार्वजनिक भएका थिए । विसं २०६१ मा स्वराङ्कन भएको ‘लाइयो माया पढ्ने बेलैमा...’ उहाँको पहिलो गीत हो । उक्त गीतमा गायक याम क्षेत्री र गायिका बिमाकुमारी दुराको स्वर छ । “गीतप्रतिको रुचि सानैदेखिको थियो, क्याम्पस पढ्न बागलुङ झरेपछि त्यो अझै झाङ्गियो”, उहाँले विगत कोट्याउनुभयो, “सिर्जनाप्रेमी साथीभाइसँगको सङ्गत र उठ्बसले पनि प्रेरित गरेको थियो ।” उहाँले बागलुङ बजारका हरेक चोक र गल्लीसँग आफ्ना स्मृति गाँसिएको सुनाउनुभयो । सुवेदीले बागलुङमा हुने चैत्राष्टमी मेलालगायत विभिन्न पर्व र उत्सवमा हुने लोकदोहोरी प्रतियोगितामा पनि भाग लिनुहुन्थ्यो । विसं २०६३ मा स्नातक पूरा गरी थप अध्ययनका लागि उहाँ काठमाडौँ पुग्नुभयो । त्रिभुवन विश्वविद्यालयमा अङ्ग्रेजी साहित्यको अध्ययन सुरु गरेको सुवेदीले सुनाउनुभयो । काठमाडौँमा गीत लेखनको यात्राले थप मलजल पाएको उहाँको भनाइ छ । नेपाली सङ्गीतले व्यावसायिक चरणमा प्रवेश गरिरहेका बेला सुवेदीले ‘नजाउ है सानु पँधेरीमा...’ जस्तो चर्चित गीत लेख्नुभयो । बसन्त थापाको सङ्गीत, कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर रहेको उक्त गीतले उहाँलाई थप उचाइमा पु¥यायो । सुवेदी त्योबेला कीर्तिपूरमा बसेर पढ्नुहुन्थ्यो । एकदिन सखारै ३ बजेतिर कीर्तिपुरको सडकमा निस्कँदा उक्त गीतले जन्म लिएको उहाँले बताउनुभयो । “टहल्दै बाहिर हिँडिरहेका बेला सडकमा आफ्नै छाया देखेपछि ‘नजाउ है सानु पँधेरीमा, आफ्नै छायाले पनि छल गर्छ भन्छन् अँधेरीमा...’ फु¥यो”, गीतको रचनाबारे उहाँले भन्नुभयो, “हिँड्दाहिँड्दै गीतको थेगो तयार भयो, मैले उतिखेरै सङ्गीतकार बसन्त थापालाई पठाएँ, भोलिपल्ट राति उहाँले धुन तयार गरेर मलाई पठाउनुभयो ।” सङ्गीतकार थापाले उक्त गीतका लागि एकैपटकमा धुन तयार पार्नुभएको सुवेदीले बताउनुभयो । त्योबेलाका उदाउँदा गायक कुलेन्द्र विश्वकर्मा, सङ्गीतकार थापा र गीतकार सुवेदीले उक्त गीतमा सहकार्य गर्नुभएको थियो । “कुलेन्द्रजी पनि पर्वतकै, थापा बागलुङको, हामी धवलागिरि क्षेत्रबाट सङ्घर्ष गरेर काठमाडौँ छिरेका कलाकार भएकाले सहकार्यको वातावरण बन्यो, गीत पनि सफल भयो”, उहाँले भन्नुभयो । उक्त गीतमा गायक विश्वकर्मालाई गायिका विष्णु माझीले साथ दिनुभएको छ । भृकृटीमण्डपमा रातभर जाग्राम बसेर उक्त गीतको चलदृश्य छायाङ्कलन गरिएको सुवदीले सम्झनुभयो । त्यसअघि सुवेदीले लेख्नुभएको ‘जोगीको भेषैमा...’ गीतमा पनि कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर छ । ७० को दशकयता सुवेदीको गीत लेखनले झन्झन् तीव्रता पाउँदै गयो । ‘माया हाँसेको...’, ‘शीतल दिने पिपल स्वामी छ...’, ‘अझै कन्य हो...’, ‘बर्बर आँशु झर्दा खेरीमा...’ जस्ता गीतले उहाँलाई अझ प्रखर गीतकारका रुपमा चिनायो । पञ्चेबाजाका गीतमा पनि सुवेदीले कलम चलाउनुभएको छ । प्रेम र करुणाले ओतप्रोत गीत रचनामा पोख्त उहाँका गीतमा संयोगान्त र वियोगान्त कथा पाइन्छन् । उहाँ गीतलाई वाङ्मयको सबैभन्दा सुन्दरतम् उपजका रुपमा लिनुहुन्छ । “थोरै शब्दमा धेरै कुरा अभिव्यक्त गर्ने खुबी गीतले राख्छ, यो काव्यमा सबैभन्दा बढी सम्प्रेष्य विधा हो, गीतका हरेक हरफ र अनुच्छेदले कथा बोकेको हुन्छ”, सुवेदीले भन्नुभयो । गीत लेखेरै आफू बाँचेको उहाँले बताउनुभयो । साहित्यका अरु विधामा लेख्ने रुचि भए पनि गीतलेखनलाई आफूले मूलः रुपमा अपनाएको उहाँको भनाइ छ । सङ्गीतमय पवर्त–बागलुङको प्रकृति, पर्यावरण र सांस्कृतिक परिवेशले सिर्जनातर्फ डो¥याएको सुवेदीले बताउनुभयो । “न्वारानदेखि शङ्ख र भजन सुन्दै हामी हुर्कियौँ, जीवन र प्रकृतिका हरेक कुनाकन्दरामा सङ्गीतको मुर्छन्ना भेटिन्छ”, उहाँले भन्नुभयो, “सृष्टिमा सबै कुरा उपलब्ध छ, हामीले त्यसलाई कलाको माध्यमबाट अभिव्यक्त गर्ने मात्र हो ।” आफूमा गीतसङ्गीतप्रतिको रुचि जाग्नुमा चलचित्रका गीतको प्रेरणा रहेको सुवेदीको भनाइ छ । “गाउँमा रोपाइँ सकियो भने हामी चलचित्र हेर्न बागलुङ बजार जान्थ्यौँ, त्यो बेला रेडियो नेपालमा बज्ने ‘चित्रमाला’ कार्यक्रम पनि खुब सुनिन्थ्यो”, सुवेदीले भन्नुभयो, “रामकृष्ण ढकाल, यम बराललगायत गायकका गीत त्यो बेला चर्चामा थिए ।” पुराना क्यासेटमा चलचित्र र आधुनिक गीत भरेर सुन्ने गरेको उहाँले अनुभव सुनाउनुभयो । चलचित्रका गीत सुन्दासुन्दै आफ्नो कला र सङ्गीतसँग परिचय भएको सुवेदीको भनाइ छ । लोकगायक विष्णु खत्रीलगायतलाई उहाँले आफ्नो प्रेरणाको स्रोत मान्नुहुन्छ । सुरुआती चरणमा पर्वतका गायक याम क्षेत्री र गायक तथा सङ्गीतकार बसन्त थापासँगको साङ्गीतिक सहयात्रालाई उहाँले कहिल्यै नबिर्सने बताउनुभयो । गायक क्षेत्री अमेरिकामा हुनुहुन्छ भने सङ्गीतकार थापासँग उहाँको अहिले पनि सहकार्य जारी छ । सुवेदीले लेखेका र सङ्गीत भरेका गीत ‘ऐना सिसाको...’ गायक थापालगायतको स्वरमा छिट्टै सार्वजनिक हुँदैछन् । उक्त गीतको चलदृश्य छायाङ्कन भइरहेको सुवेदीले जानकारी दिनुभयो । नआफ्नै स्वरमा आउन लागेको गीत ‘पारि वन।।।’ पनि अहिले छायाङ्कनका क्रममा रहेको उहाँले सुनाउनुभयो । सिर्जनाकर्मलाई व्यावसायिक मार्गमा डो¥याउन सुवेदीले ‘भावगङ्गा’ नामको डिजिटल कम्पनी पनि सञ्चालनमा ल्याउनुभएको छ । उहाँको आफ्नै नामको ‘युट्युब च्यानल’ पनि छ । सुवेदीले गीत लेखनबाट प्रतिष्ठित ‘बिन्ध्यवासिनी’, ‘कालिका’लगायतका अवार्ड तथा सम्मान पाइसक्नुभएको छ । शिष्ट र शालिन बान्कीमा घाँटीमा ओशोको माला पहिरेर मन्द मुस्कानसहित गफिनुभएका सुवेदीले आफू नामको भने भोगी नरहेको बताउनुभयो । “बाँचुञ्जेल जीवन यात्राको आनन्द लिनुपर्छ, नाम पनि आखिर पानीको फोका जस्तै हो, मृत्यु शय्यामा जाँदा केबल रित्तो भएर जानुपर्छ”, रासससँगको कुराकानीलाई बिट मार्दै उहाँले कवि तीर्थ श्रेष्ठको कविता सम्झिनुभयो– हामीले लेखेर आएका छौँ हिउँमा आ–आफ्ना नामहरु एकछिनमा हिउँ थपियो भने रहने छैनन् हाम्रा नामहरु हामी रहँदारहँदै नरहने हाम्रा नामहरु हामी नरहँदा कसरी रहलान् हाम्रा नामहरु !
पाल्पाको बगनासकाली गाउँपालिका १ घोरबन्दामा जारी नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि सराई र दमकडा एफसी भिड्ने भएका छन् । हरितालिका तीजको अवसरमा नव जागृति युवा क्लबको अयोजनामा घोरबन्दास्थित कोठिचौर खेलमैदानमा मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक नव जागृति युवा क्लब (कालो) लाई ४–३ गोल अन्तरले पेनाल्टी सुटअउटमा पराजित गर्दै दमकडा फाइनलमा पुगेको हो । निर्धारित समय गोलरहित भएपछि खेल पेनाल्टी सुटअउटमा धकेलिएको थियो । यसअघि सराई एफसीले मणिमुकुन्दलाई २–१ गोल अन्तरले हराउँदै फाइनल पुगेको थियो । अब दमकडा र सराईबीच फाइनल खेल हरितालिका तीज (२१ गते) को दिन कोठीचौर खेल मैदानमा हुने क्लबका कोषाध्यक्ष मनिक गाहामगरले जानकारी दिए । सो प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ६० हजार प्राप्त गर्नेछ । यस्तै उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३० हजार हात पार्नेछ । कुल १३ टिमको सहभागिता रहेको प्रतियोगितामा विधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
बागलुङ (गलकोट): अन्टार्क्टिका पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मालाई गृह जिल्ला बागलुङमा सम्मान गरिएको छ । अन्टार्क्टिकामा पहिलो टेक्ने नेपाली विश्वकर्मालाई बागलुङ नगरपालिकाले रु २५ हजारसहित प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो । रु नौ करोड लागतमा निर्माण गरिएको आधुनिक बागलुङ बसपार्क उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेद्वारा विश्वकर्मालाई सम्मान गरिएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो । बागलुङ–१४ नारायणस्थानमा जन्मनुभएका विश्वकर्मा सन् १९८६ मा पृथ्वीको दक्षिणी ध्रुव अन्टार्क्टिका महादेशमा पुग्ने पहिलो नेपाली हुनुहुन्छ । उहाँ भारतीय सेनामा कार्यरत हुँदा भारतीय सेनाको अनुसन्धान टोलीका साथ प्राविधिकको रुपमा त्यहाँ पुग्नुभएको थियो । प्रसिद्ध प्रबल गोर्खा दक्षिण बाहु दोस्रोबाट सम्मानित र गिनिजबुकमा नाम लेखाउन सफल विश्वकर्माले बागलुङ नगरपालिकाको नाम चिनाउनुभएको नगरपालिकाले जनाएको छ । “बागलुङमा जन्मेर अन्टार्क्टिकामा पुग्ने पहिलो नेपालीका रुपमा देशभर परिचय बनाइसक्दा उहाँको गृह नगरपालिकाले सम्मान गर्न आवश्यक थियो”, नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “बागलुङ जिल्लाको नाम चिनाउन उहाँको महत्वपूर्ण योगदान छ ।” विश्वकर्मा हाल बुटवल उपमहानगरपालिका–११ मा बस्दै आउनुभएको छ । उहाँका नाममा बुटवल उपहानगरपालिकाले ‘भुुवनसिंह मार्ग’ भनेर सडकको नामाकरण गरेको छ । सम्मान ग्रहणपछि विश्वकर्माले प्रबल गोर्खा दक्षिण बाहु दोस्रोबाट सम्मानित हुँदाभन्दा गृह पालिकाले सम्मान गर्दा धेरै उत्साहित भएको बताउनुभयो । उहाँले गृह नगरले सम्झेर गरेको सम्मानप्रति आफू सदैव कृतज्ञ रहने उल्लेख गर्नुभयो । “नेपालका विभिन्न जिल्लामा सम्मान भइसक्दा बागलुङले सम्झेन भन्ने लाग्दथ्यो, बागलुङ नगरपालिकाले भव्य कार्यक्रमकाबीच सम्मान गरेको छ, जन्मगाउँमा केही गर्नका लागि बागलुङ नगरपालिकासँग सहकार्य गर्नेछु”, विश्वकर्माले भन्नुभयो ।
म्याग्दी: सडक, ढल, जथाभावी गरिएको उत्खनन र मानवीय अतिक्रमणका कारण कालीगण्डकी (कालीगङ्गा) को जलसभ्यता सङ्कटमा पर्दै जान थालेको छ । धार्मिक, सांस्कृतिक र जैविक महत्वले युक्त, बहुमूल्य शिला शालिग्राम पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीको उचित व्यवस्थापन र संरक्षण नहुँदा जलसभ्यता सङ्कटमा पर्न थालेको हो । पवित्र कालीगण्डकी नदीको प्राकृतिक रूप पछिल्ला केही वर्षयता नासिँदै गएको छभने गङ्गाजल (नदीको पानी) पनि प्रदूषित हुँदै गएपछि नदीको निर्मलस्वरुप सङ्कटमा परेको सरोकार भएकाहरुले बताएका छन् । मुस्ताङको सदरमुकाम जोमसोमबाट म्याग्दीको सदरमुकाम बेनी हुँदै गुल्मीको रिडीसम्म पुग्दा कालीगण्डकीको निर्मल जलमा सहरबजारका ढल मिसाइँदा गङ्गाजल प्रदूषित बन्दै गएको कालीगण्डकी बचाउँ अभियानका अभियन्ता सागरजीवी उपाध्यायले बताउनुभयो । बहुचर्चित कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला खण्डको स्तरोन्नति थालिएसँगै सडक विस्तार गर्ने क्रममा निस्किएका ढुङ्गा, माटो, ग्रेगर तथा बर्सेनि आउने बाढीपहिरोका कारण् पवित्र नदीको मौलिक स्वरुपमा परिवर्तन आएको वातावरण संरक्षणकर्मीहरुले बताएका छन् । हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त ७६ किलोमिटर खण्डको विभिन्न ठाउँमा पहिरो गएर साँघुरो भएपछि सडक विस्तार गर्ने नाममा त्यहाँका ढुङ्गा र ग्रेगरहरु कालीगण्डकीमा खसाल्ने गरिएकाले नदी प्रदूषित बन्दै गएको अभियन्ता उपाध्यायले उल्लेख गर्नुभयो । डोजर र स्काभेटरले जथाभावी उत्खनन गर्दा कालीगण्डकी नदीको जलचक्र प्रणाली खल्बलिँदै गएको उहाँको भनाइ छ । बालुवा, ढुङ्गाजस्ता नदीजन्य पदार्थको अनियन्त्रित उत्खननका कारण नदीले आफ्नो मौलिक र प्राकृतिक धार परिवर्तन गर्नुका साथै त्यहाँका जलचर प्राणी बसाइँ सर्दै गएपछि नदीको जलचक्र प्रणाली खल्बलिएको वातावरण संरक्षणकर्मी हरि सिग्देलले बताउनुभयो । सर्वोच्च अदालतले नदी उत्खनन, नदीमा फोहर विसर्जन नगर्न अन्तरिम आदेश जारी गरिसकेको भए पनि यी कार्यहरु अझैसम्म नरोकिएका गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । नदीको जलचक्र प्रणाली परिवर्तन हुँदा प्राकृतिक र मानवीय सङ्कट बढ्दै गएको उहाँको भनाइ छ । नदीले मौलिक धार परिवर्तन गर्दा बाढी र पहिरोको जोखिम बढ्नाका साथै तटीय क्षेत्रका बस्तीहरु थप जेखिममा पर्दै जान थालेका छन् । नदी साबिकको भन्दा गहिरो र साँघुरो बन्दै गएको दानाका व्यवसायी इन्द्रमान शेरचनले बताउनुभयो । उहाँका अनुसार जलचक्र प्रणालीमा आएको परिवर्तनले बाढी, पहिरो र नदी कटानको जोखिम उच्च रुपमा बढ्दै गएको छ । कालीगण्डकी नदीको प्राकृतिक बहाव र पर्यावरण प्रतिकूल हुनेगरी कुनै पनि कार्य नगर्न÷नगराउन सर्वोच्च अदालतले दुई वर्षअघि विसं २०७९ साउनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय समेतलाई अन्तरिम आदेश दिएको थियो । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले विवादको अन्तिम आदेश नभएसम्मका लागि कालीगण्डकी नदीको प्राकृतिक बहाव र पर्यावरण प्रतिकूल हुनेगरी कुनै कार्य नगर्न÷नगराउन मन्त्रिपरिषद्को कार्यालय समेतलाई अन्तरिम आदेश दिएको हो । यस्तो छ कालीगण्डकीको महत्व कालीगण्डकी केवल पानीले निकास खोज्दै उँधोतिर बगेको नदी मात्र नभई सिङ्गो पूर्वीय सभ्यता र संस्कृतिको महत्वपूर्ण धरोहरका रुपमा रहेको विषयलाई कसैले बिर्सन नहुने सरोकार भएकाहरुको भनाइ छ । राजा भरतले तपस्या गरेको पवित्र भूमि र भगवान् विष्णुका पाउँले कुल्चिएको पावन भूमिमा बगेको कालीगण्डकी हजारौँ वर्षको मानव चेतनासँग गहिरोसँग अन्योन्याश्रित सम्बन्ध रहेको धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो । “विश्वको एकमात्र शालिग्राम पाइने नदीका रुपमा यसको बेग्लै पहिचान छ । हिन्दूहरुको शव कालीको किनारमा दाहसंस्कार गर्दा मृत्युपछि स्वर्गमा बास हुने जनविश्वास अहिले पनि प्रचलनमा छ”, उहाँले भन्नुभयो । कालीगण्डकी शालिग्राम पाइने पवित्र नदी मात्र नभई पशु, पक्षी, किट, पतङ्गदेखि मानव जातिलाई समेत सेवा पु¥याएको प्राकृतिक सेवक पनि भएको पण्डित भीमनाथ पराजुलीले बताउनुभयो । “कालीगण्डकीको धार्मिक महत्व अवर्णनीय छ । यसको जैविक, सांस्कृतिक र मानवीय दैनिकीसँग गाँसिएको महत्व पनि कम छैन”, उहाँले भन्नुभयो । कालीगण्डकीको मुक्तिनाथबाट देवघाटसम्मको क्षेत्र अत्यन्त पावन क्षेत्र मानिन्छ । यस नदीबाट हजारौँ हेक्टर भूमि सिञ्चित भएको छ । कालीलाई थुनेर ठाउँठाउँमा विद्युत् ऊर्जा निकालिएको छ । नेपालको सबैभन्दा ठूलो भनेर चिनिने कालीगण्डकी हाइड्रोपावर पनि यसै नदीमा रहेको छ । ‘माछापुच्छ्रे गिरि शिखरको पारमा मुक्तिक्षेत्र बल्छन् बत्ती झलमल जहाँ भुलभुले मुलभित्र तिम्रो जन्मस्थल छ पहिलो ज्योतिको दिव्यधाम काली गङ्गा भनन कसरी कुँद्छ्रयौ शालिग्राम ?’ राष्ट्रकवि माधवप्रसाद घिमिरेले कालीगण्डकीलाई शालिग्राम कसरी कुद्छ्यौ ? भनी प्रश्न गरेर लेख्नुभएको यो कवितांशमा कालीगण्डकीको महिमा झल्किएको पण्डित पराजुलीले उल्लेख गर्नुभयो । शालिग्राम कुद्ने विशिष्ट वरदान पाएको कालीगण्डकीको भौतिक अस्तित्वमाथि विकासका नाममा मानवीय प्रहार हुन थालेपछि पवित्र नदीको सभ्यता र अस्तित्व दुवै सङ्कटमा परेको स्थानीय बताउँछन् । नदीको संरक्षण गरी जलसङ्कट अन्त्य गर्न तीनै तहका सरकारत नीति र योजना बनाई कार्यान्वयन गर्नुपर्नेमा उहाँहरुले जोड दिनुभभयो ।
कञ्चनपुर: नापतौलका यन्त्रको दर्ता–नवीकरण गर्नका लागि टोली परिचालन गरिएको छ । व्यवसायीको सहजताका लागि गुणस्तर तथा नाप तौल कार्यालय धनगढीले सहायक निरीक्षक चुडामणि जोशीको संयोजकत्वमा टोली खटाएको हो । टोलीले शुक्लाफाँटा नगरपालिकाको झलारी, वनसमिति, कलुवापुरसँगै बेदकोट नगरपालिकाको दैजी र सिसैयाका व्यापारी र व्यवसायीले प्रयोगमा ल्याउने नाप तौलका यन्त्रहरूको अनुमति प्रदान गर्ने, जाँच गर्ने, पुनःजाँच गर्ने, अनियमित क्रियाकलाप गर्ने व्यापारी–व्यवसायीलाई कारबाही गर्ने अख्तियारीसहित डोर टोलीलाई सात दिनका लागि खटाइएको नापतौल कार्यालयका प्रमुख शम्भु आचार्यले जानकारी दिनुभएको छ । उहाँका अनुसार नापतौलका यन्त्रको प्रयोग प्रचलित कानुनको पालना गरी प्रयोग भए÷नभएकोबारे टोलीले अनुगमन पनि गर्नेछ । टोलीले मङ्गलबारदेखि झलारी बजारमा नापतौलका यन्त्रको अनुमति दिने र जाँच गर्ने कार्य गरेको छ । टोली प्रमुख जोशीले झलारी बजारका ४० बढी व्यापारीका नापतौल यन्त्र नवीकरण गर्नेसँगै पुनः जाँच गरिएको बताउनुभयो । ढक, तराजुलगायत नापतौल यन्त्रमा सामान्य घटबढ देखिए पनि अनियमियता भएको नपाइएको उहाँले बताउनुभयो । उहाँका अनुसार सुनचाँदी, कलकारखाना, उद्योगले प्रयोग गर्ने नापतौलका यन्त्र एक वर्षभित्र र बाँकी अन्य व्यवासायीले प्रयोग गर्ने यन्त्र दुई वर्षभित्र नवीकरण र पुनः जाँच गराउनुपर्ने कानुनी प्रावधान रहेको छ । “नयाँ नापतौलका यन्त्र ३५ दिनभित्र दर्ता गर्दा रु पाँचमात्रै शुःल्क तिर्नुपर्ने प्रावधान छ”, नापतौल कार्यालयका सहायक निरीक्षक जोशीले भन्नुभयो, “निर्धारित समयभित्र दर्ता नगराए रु एक हजारदेखि रु पाँच हजारसम्म शुःल्क तिर्नुपर्ने हुन्छ ।” नापतौलका यन्त्र दर्ता गर्ने प्रक्रिया, नवीकरण र पुनः जाँच गराउने कार्यसँगै कानुनी पक्षबारे व्यापारी व्यवसायीलाई सचेत पार्ने काम भइरहेको उहाँको भनाइ छ ।
पोखरा महानगरपालिका वडा नं –१५ ले आयोजना गरेको तीज गीत प्रतियोगितामा माछापुच्छ्रे चौतारी आमा समूह प्रथम भएको छ । मंगलबार सम्पन्न प्रतियोगितामा वडाका २२ आमा समूहलाई पछि पार्दै माछापुच्छ्रे चौतारी आमा समूह प्रथम बनेको हो । प्रथम भएसँगै सो समूहले नगद रु २० हजार प्राप्त गर्याे । यस्तै चेतना कृषि आमा समूह दोस्रो बन्दै नगद रु १३ हजार ४ सय हात पार्याे । भने, जन जागृति आमा समूह तेस्रो स्थान हासिल गर्दै ९ हजार ४ सयको साथमा प्रमाणपत्र प्राप्त गरेको वडाध्यक्ष तोरण बाँनियाले जानकारी दिए । उनका अनुसार स्यानिमजुवा आमा समूह, स्यानिपाटन आमा समूह र कोलपाटन आमा समूहले सान्त्वना पुरस्कार प्राप्त गरे । उनीहरूले चार–चार हजार नगद र प्रमाणपत्र हात पारे भने, उत्कृष्ट नृत्यमा दुई जनाले तीन – तीन हजार प्राप्त गरे । निर्णायकहरूमा वडा नं १५ निवासी लोकप्रिय गायिका माया गुरुङ, सिता केसी, सिता देवी दुरा, बुद्धिमान दुरा (धम्पु) रहेका थिए । प्रतियोगिताको सञ्चालन गायक रामजी पौड्यालले गरेका थिए । सो प्रतियोगिताको उद्घाटन प्रमुख अतिथिसमेत रहेका गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी दुर्गा सिंह चन्दले गरिन् । उनले समाजमा व्याप्त विभेद विरुद्ध महिलाहरू नै अगाडि सर्नुपर्ने भन्दै महिलाहरूले पनि विभेद नगरी आफू र आफ्नो समाजलाई अब्बल बनाउनुपर्ने धारणा व्यक्त गरेकी थिइन् ।
चितवन: चितवनमा थप एक जनाको डेङ्गीको सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१८ चनौलिका ४१ वर्षीय पुरुष रहेका छन् । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । ज्वरो आएर उपचारका लागि आएका उनको उपचारका क्रममा मृत्यु भएको हो । शुक्रबार अस्पताल भर्ना भएका उनको मङ्गलबार मृत्यु भएको भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कल्याण सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार बिरामीमा कडा खालको डेङ्गी देखिएको थियो । शरिरका विभिन्न भागबाट रक्तश्राव भई अङ्गहरुले काम गर्न छाडेर (मल्टि अर्गान फेलर) उनको मृत्यु भएको हो । उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । यसअघि शनिबार चितवन मेडिकल कलेजमा भरतपुर–२ का ६३ वर्षीय वृद्धको डेङ्गीको सङ्क्रमणका कारण मृत्यु भएको थियो । जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये सात सय ८८ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ । तीन हजार तीन सय ३१ जनाको परीक्षणका क्रममा उनीहरुमा यो रोगको सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये पाँच सय ८० जना चितवनका र अन्य जिल्ला बाहिरका रहेका छन् ।
कञ्चनपुर: जिल्लाको भीमदत्त नगरपालिका–८ स्थित चुरेफेदमा रहेको भम्केनी धाम पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ । यसअघि प्रायः सुनसान रहने भम्केनी धाममा जगतगुरु मोहनशरण देवाचार्यले धार्मिक गतिविधि बढाएपछि दर्शन गर्न आउनेको चहलपहल बढेको हो । यहाँ साविकका ७५ वटै जिल्ला चिनाउने गरी ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण सुरु गरिएको छ । “धाममा धार्मिक गतिविधि बढेपछि यहाँ घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ”, स्थानीय पदम बोहराले भन्नुभयो, “अहिले त चतुराधाम पूर्वको झापासम्मका मानिस यहाँ आउने गरेका छन् ।” द्वापार युगमा पाण्डवले वनवासमा रहँदा यस क्षेत्रमा आइ कुवाबाट पानी निकाल्दा भक्कानिएर पानी आएकाले यसलाई भम्का भनिएको विश्वास छ । “यो सिद्धबैजनाथको भूमि भएकाले यसको विशेष महत्व छ नै त्यसमा पनि पाण्डवले यो क्षेत्रमा बास बसेको किंम्वदन्ती छ ।” स्थानीय महेश जोशीका अनुसार यहाँ दर्शन गर्न आउनेको सङ्ख्या बढ्दो छ । उहाँका अनुसार धाम परिसरमा सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाको पहिचान झल्कने गरी फरक–फरक कुण्ड निर्माण गरिएका छन् । जगतगुरु मोहनशरण देवाचार्यले २०७२ वैशाखदेखि २०७४ माघसम्म नेपाललाई दाहिने पारेर परिक्रममा गर्दा करिब २२ टन तामा र पित्तल सङ्कलन भएको थियो । त्यसबाहेक तीन टन धातु स्थानीयले दान गरेका थिए । सङ्कलन भएका धातुबाट नेपाल आमाको मूर्ति निर्माण सुरु भएको हो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा) को १२औँ सम्मेलनको आज उद्घाटन गर्नुभएको छ । उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले हरेक निर्वाचनले जनताको इच्छा र आकाङ्क्षालाई प्रतिबिम्बन गर्ने भएकाले मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व भएको बताउनुभयो । “कुनै पनि नागरिकले जहाँ रहेर पनि आफ्नो मताधिकार प्रयोग गर्न सक्नुपर्छ । यसका लागि उचित वातावरण बनाउन हाम्रो प्रयास हुनेछ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “बसाइँसराइ, जलवायु परिवर्तन तथा सामाजिक सञ्जालका अवसर र चुनौतीबीच देश—विदेशमा रहेका जनताका चाहना र अपेक्षाबमोजम निर्वाचन प्रक्रियालाई सहज बनाउन हामीले साझा प्रयास गर्न आवश्यक छ ।” हिमाल पग्लिने, समुद्रको तापक्रम बढेर जलवायु परिवर्तनमा पार्ने प्रतिकूल असरका क्रमसँगै मानव जीवनमा आउने चुनौतीबीच लोकतन्त्रको अभिन्न अङ्गका रुपमा रहेको निर्वाचन प्रक्रियालाई अगाडि बढाउनु साझा दायित्व भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । सामाजिक सञ्जालले मतदाताको अधिकारलाई सुसूचित गर्न सघाउनुका साथै मिथ्या सूचना, गलत सूचना र घृणास्पद अभिव्यक्ति प्रवाह पनि गरिरहेको सन्दर्भमा विगतका निर्वाचन व्यवस्थापनका कमजोरीबाट सिक्दै लोकतान्त्रिक मूल्य, मान्यताका साथ स्वच्छ, स्वतन्त्र, जवाफदेही र पारदर्शी निर्वाचनको दायित्व पूरा गर्न सके आम जनताको मताधिकारको सम्मान हुने उहाँले उल्लेख गर्नुभयो । फेम्बोसा वडापत्रलाई यस सम्मेलनले थप प्रभावकारी कार्यान्वयनमा सघाउने प्रधानमन्त्री ओलीको विश्वास थियो । सम्मेलनमा ‘निर्वाचनका जल्दाबल्दा मुद्दा: जलवायु परिवर्तन, सामाजिक सञ्जाल र बसाइँसराइ’ केन्द्रित भई छलफल हुनेछ । उद्घाटनसत्रका अवसरमा उक्त मञ्चका अध्यक्ष भूटानको निर्वाचन आयोगका प्रमुख आयुक्त दासो सोनाम तोब्गेले नेपालको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालाई नेतृत्व हस्तान्तरण गर्नुभयो । सम्मेलनमा नेपालका साथै भारत, भूटान, श्रीलङ्का, माल्दिभ्सलगायत मुलुकका प्रमुख निर्वाचन आयुक्त र प्रतिनिधि सहभागी हुनुहुन्छ । फेम्बोसाको ११औँ सम्मेलन दुई वर्षअघि भूटानको नेतृत्वमा भर्चुअलरुपमा भएको थियो ।

