काठमाडौं:   यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी ...

काठमाडौं:    राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारा ओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गर्नुभएको छ ।      शीतल निवासमा आयोजित एक कार्यक्रमकाबीच पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो । साथै उहाँका प्रशिक्षक कविराज नेगी लामालाई पनि बधाई तथा शुभकामना दिनुभयो ।       सम्मानपछि राष्ट्रपति पौडेलले पलेशालाई शुभकामना दिँदै यसबाट देशको शीर उँचो पार्ने काम भएको र अर्को पटक राष्ट्रले स्वर्ण पदकको अपेक्षा गरेको बताउनुभयो । सम्मान कार्यक्रममा नेपाली सेनाको एक टुकडीले मङ्गलधुन बजाएर स्वागत गरेको थियो ।       कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, पदक विजेता पलेशाका बाबु आमा र खेल संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो । पलेसाले पेरिस पारा ओलम्पिकमा तेक्वान्दोको ‘के–४४’ विधाअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कास्य पदक जित्नुभएको थियो ।

पोखरा:   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकार सफल हुन कर्मचारीको ठुलो भूमिका रहने बताउनुभएको छ । निजामती कर्मचारी दिवस २०८१ को सन्दर्भ पारेर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले वुधवार आयोजना गरेको प्रदेश निजामती सेवा, स्थानीय सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । ‘संघ, प्रदेश, स्थानीय जुनसुकै तहका कर्मचारी जसले जहाँ बसेर काम गरेपनि सबैले इमान्दारीताका साथ गर्नुपर्छ, जनतालाई सरल र सहज सेवा दिनुपर्छ’ उहाँले भन्नुभयो ।  सरकार असफल हुँदा त्यसको मुख्य जिम्मेवारी सरकारका प्रमुख र राजनीतिक व्यक्तिलाई दिने गरिएपनि सरकारको अंगको रुपमा रहेका कर्मचारीको कार्यशैली र क्षमतामापनि असफलता झल्किने उहाँले बताउनुभयो । मुख्यमन्त्री पाण्डेले भन्नुभयो ‘सरकारलाई सफल बनाउनु जनप्रतिनिधि र कर्मचारी सबैको ड्युटी हो, आफ्नो ड्युटी प्रति सबै प्रतिवद्ध हुनुपर्छ ।’ कर्मचारीको वृत्तिविकास, न्यायोचित र व्यवस्थित सरुवा लगायतका विषयमा अन्तरक्रियामा सहभागी कर्मचारी संघ, संगठनहरुले चासो राखेका थिए । संघीय निजामती ऐन नबन्दा प्रदेश निजामती ऐन कार्यन्वयनमा समस्या भएको गुनासो उनीहरुको थियो । जवाफमा मुख्यमन्त्री पाण्डेले प्रदेश निजामती सेवा ऐनमा देखिएका तत्काल संवोधन गर्नुपर्ने विषय प्रदेश सभाबाट तत्काल संशोधनको तयारी गरिएको बताउनुभयो । साथै उहाँले संघीय निजामती ऐन निर्माण भएपछि पनि छुटेका विषय औचित्य हेरी संशोधन सहित सम्बोधन गरिने बताउनुभयो ।    प्रदेश कर्मचारी कल्याणकारी कोष स्थापनाका लागि चालु वर्ष प्रदेश सरकारले १ करोड विनियोजन गरेको बताउँदै उहाँले प्रदेश भित्रका स्थानीय तहलाईपनी कोषमा सहभागी गराउने बताउनुभयो ।  कर्मचारी सरुवा र वृत्तीविकासका सन्र्दभमा उचित मापदण्ड बनाएर लागु गर्ने विषयमा सबै कर्मचारी ट्रेड युनियनलाई एकमत भएर सहयोग गर्नु उहाँले अनुरोध गर्नुभयो । प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा कर्मचारी ट्रेड युनियनका प्रमुखहरु, जनप्रतिनिधिहरु, मन्त्रालयका सचिवहरु लगायतको उपस्थिति थियो ।

काठमाडौं:    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि एशियाली विकास बैङ्क ९एडिबी० का देशीय निर्देशक अर्नाउड काउकोइसबीच भेटवार्ता भएको छ ।            सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको उक्त भेटमा ऊर्जा क्षेत्रमा एडिबीको सहयोगमा सञ्चालित आयोजनाको प्रगति र आगामी दिनमा गर्ने सहकार्यबारे छलफल भएको थियो ।  भेटमा मन्त्री खड्काले नेपालको ऊर्जा विकासमा एडिबीले गरेको सहयोगप्रति धन्यवाद दिनुभयो । उहाँले आगामी दिनमासमेत सरकारलाई एडिबीको सहयोग निरन्तर हुने विश्वास व्यक्त गर्नुभयो ।      मन्त्री खड्काले एडिबीको लगानीमा निर्माण भएका आयोजनालाई यथाशीघ्र सम्पन्न गर्न सरकार लागिपरेको उल्लेख गर्दै निर्माणका क्रममा देखिएका चुनौतीलाई सरकारले चाँडो सम्बोधन गर्ने बताउनुभएको ऊर्जा सचिव गोपालप्रसाद सिग्देलले जानकारी दिनुभयो ।       दुई ठूला राजनीतिक दल मिलेर  दरिलो सरकार गठन भएकाले ढुक्क भएर लगानी गर्न मन्त्री खड्काले एडिबीलाई आग्रह गर्नुभयो । उहाँले नेपाल मध्यम आय भएको देशमा रुपान्तरण हुने बाटोमा अगाडि बढेकाले एडिबीको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।        भेटमा एडिबीका प्रतिनिधि  काउकोइसले एडिबीको सहयोगमा सञ्चालित आयोजनाको प्रगति र आयोजना निर्माणमा देखिएका समस्याबारे मन्त्री खड्कालाई जानकारी गराउनुभएको थियो । उहाँले एडिबीले नेपालको विकासको क्षेत्रमा लामो समयदेखि साथ र सहयोग दिँदै आएको बताउनुभयो ।            भेटमा मन्त्रालयका सचिव  सिग्देल, ऊर्जा विज्ञ प्रवल अधिकारीलगायतले ऊर्जा क्षेत्रको विकासका लागि एडिबीले गरेको सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो । 

काठमाडौं:    काठमाडौँ महानगरपालिकाले पेरिस पारालिम्पिक, २०२४ मा कास्य पदक प्राप्त गर्ने पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई रु पाँच लाख नगदसहित सम्मान गरेको छ ।      महानगरपालिका कार्यालय काठमाडौँ प्लाजामा आज आयोजना गरिएको कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ९बालेन०ले सम्मानपत्र तथा उपप्रमुख सुनिता डङ्गोलले पलेशालाई रु पाँच लाखको चेक हस्तान्तरण गर्नुभयो ।      सम्मान कार्यक्रममा महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, सामाजिक समितिका संयोजक रामकुमार केसी, तेक्वान्दो एशोसिएशनका अध्यक्ष प्रकाश शमशेर राणा, ओलम्पियन सङ्गीना वैद्य, पलेशाका मातापिता पनिता र प्रदीप गोवर्धनसहित खेल क्षेत्रका पदाधिकारी तथा खेलाडी सहभागी हुनुहुन्थ्यो ।        पलेशाले गत शुक्रबार फ्रान्सको पेरिसमा भएको पारालिम्पिक्समा के–४४ विधा अन्तर्गत महिला ५७ किलो मुनिको तौल समूहमा कास्य पदक प्राप्त गरेकी थिइन् । उनले उक्त प्रतिस्पर्धामा सर्वियाकी मरिजा मिकेभलाई १५–८ अङ्कले पराजित गरेकी थिइन । ओलम्पिकमा नेपाली खेलाडीले प्राप्त गरेको यो नै पहिलो पदक हो ।    

काठमाडौं:    पछिल्लो दुई  कारोबार दिन उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज उच्च अङ्कले घटेको छ । नेप्से परिसूचक ९० दशमलव ७३ अङ्क अर्थात् तीन दशमलव २० प्रतिशतले घटेर दुई हजार सात सय ३९ दशमलव ४६ को विन्दुमा कायम भएको हो ।           आज तीन सय २० कम्पनीको दुई करोड ६५ लाख ८४ हजार एक सय ९२ कित्ता शेयर एक लाख ३७ हजार एक सय ६३ पटक खरिदबिक्री हुँदा रु १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार दुई सय १५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।  आज सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूह पाँच दशमलव १५ र होटल तथा पर्यटन समूह चार दशमलव ७४ प्रतिशतले घटेको छ ।       बैंकिङ तीन दशमलव १७, विकास बैंक दुई दशमलव २९, जलविद्युत् तीन दशमलव ५९, लगानी तीन दशमलव ५६, जीवन बीमा तीन दशमलव ७१ र उत्पादन तथा प्रशोधन समूह दुई दशमलव ५५ अङ्कले घटेको छ । त्यस्तै लघुवित्त एक दशमलव ३८, म्युचुअल फन्ड एक दशमलव ३७, निर्जीवन बीमा दुई दशमलव ७३, व्यापार दुई दशमलव ६८ र अन्य समूह तीन दशमलव ३८ प्रतिशतले घटेको छ ।      एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कुमारी इक्विटी फण्डको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।      कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको रु ३० करोड ५२ लाख ६१ हजार तीन सय ११ बराबरको खरिदबिक्री भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने अपि पावर कम्पनी लिमिटेडको सात लाख १९ हजार तीन सय ३९ कित्ता शेयर किनबेच भएको छ ।

तनहुँ:  तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा आज दिउँसो अजिङ्गर भेटिएको छ ।  आयोजनाको चरण–१ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणस्थलमा अजिङ्गर भेटिएको हो ।       उक्त अजिङ्गरलाई आयोजनाको वन्यजस्तु संरक्षण व्यवस्थापन योजनाबमोजिम जिल्लास्थित डिभिजन वन कार्यालयसँगको समन्वयमा उद्धार गरिएको जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो ।  उद्धार गरिएको अजिङ्गरलाई डिभिजन वन कार्यालयले सुरक्षित स्थानमा लगेर छोड्ने उहाँले बताउनुभयो ।        दुई दिनअघि पनि व्यास नगरपालिका–२ अमरापुरीस्थित एउटा रूखमा अजिङ्गर भेटिएको थियो । उक्त अजिङ्गरलाई पनि वन कार्यालयले उद्धार गरेको थियो । 

कास्की:   पोखरामा वरिष्ठ संस्कृतिकर्मी चलचित्रक निर्देशक निर्माता, गीतकार, संगितकार तथा तमु संसार त्रैमासिक पत्रिकाका प्रधान सम्पादक स्व. लोकबहादुर गुरुङको दशौं स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ ।   लोकबहादुर गुरुङ स्मृति प्रतिष्ठानले उनको सम्झनामा आज (बुधबार) लोक सर स्मृतिग्रन्थको विमोचन र शिक्षण पेशामा क्रियाशिल एक शिक्षकलाई सम्मान गर्दै स्व. लोकबहादुर गुरुङको स्मृति दिवस मनाएको हो ।   कार्यक्रमका प्रमुख अथितिसमेत रहेकी गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले उक्त स्मृतिग्रन्थको विमोचन र लमजुङको सिङ्दीस्थित हिमालय माविका शिक्षक युवराज गुरुङलाई नगद रु ५१ हजार, दोसल्ला, फेटा तथा सम्मानपत्र अर्पण गरिन् ।   सो अवसरमा बोल्दै प्रदेश सांसद गुरुङले स्वर्गीय लोकबहादुर गुरुङ बहुआयामिक व्यक्तित्व भएको स्मरण गरिन् ।   गुरुङको असामयीक निधनले परिवारलाई मात्रै नभई सिंगो तमु समुदाय र देशलाई नै अपुरणीय क्षति भएको धारणा राखिन् । लोकबहादुर उनको आफ्नो पनि प्रेरणाको स्रोत भएको उल्लेख गर्दै सांसद गुरुङले उनको मार्गनिर्देशनलाई सधै शिरोपर गर्ने बताइन् ।   यस्तै सम्मानित व्यक्तित्व युवराज गुरुङले विगत २ दशकदेखि शिक्षण पेशालाई कर्मक्षेत्र बनाउदै आएको स्मरण गर्दै यसको पछाडि स्व. लोकबहादुरको देन रहेको बताए ।     ‘लोक सरकै प्रेरणाकै कारण आज म यो स्थानमा छु । उहाँ हेडसर भएकै कारण मैले उहाँको आचरणलाई अनुसरण गरेको थिए, उनले भने, ‘म आज जुन ठाउँमा छु त्यो उहाँकै कारणले छु ।’ उनले आफुले पाएको सम्मानले शिक्षण क्षेत्रमा थप काम गर्न हौसला मिलेको बताए ।   यस्तै प्रतिष्ठानका अध्यक्ष तथा गण्डकी प्रदेश सभाका सदस्य वेद बहादुर गुरुङ (श्याम) ले स्वर्गीय लोकबहादुरको गुणलाई शब्दले बयान गर्न नसकिने बताए ।   उनले गुरुङ समुदायको सांस्कृतिक पक्षलाई उजागर गर्न स्व. लोकबहादुर गुरुङको योगदान महत्वपूर्ण रहेको बताउदै बिर्सन नहुने बताए ।   ‘हाम्रो समुदायको लोक संस्कृतिलाई जगेर्ना र  उजागर गर्न उहाँको ठुलो योगदान छ । त्यसैले उहाँ एउटा समयले जन्माएको पात्र हुनुहुन्थयो । उहाँको देनलाई हामीले कहिल्यै बिर्सनु हुदैन,’ गुरुङले भने  ।    उनले प्रतिष्ठानको कोषमा हाल ४७ लाखभन्दा बढी रकम रहेकोसमेत जानकारी दिएका थिए ।   वरिष्ठ संस्कृतिकर्मी स्व. लोकबहादुरको विगत १० वर्ष अघि निधन भएको थियो ।    प्रतिष्ठानका अध्यक्ष तथा गण्डकी प्रदेश सभाका सदस्य वेद बहादुर गुरुङ (श्याम) को सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानकी सदस्य गौरी तमुले गरेकी थिइन् भने, कार्यक्रम सञ्चालन सचिव रोशनी गुरुङले गरेकी थिइन् ।

बागलुङ (ढोरपाटन):    बागलुङको निसी, भूजी र तमान क्षेत्रका अधिकांश स्थानीय पुस्तौँदेखि पशुपालनमा आवद्ध छन् । उच्च पहाडी क्षेत्र भएकाले भेडापालनमा यहाँका किसान सक्रिय छन् । भेडाबाट मासुसँगै ऊनको कपडासमेत बिक्री हुँदा किसान उत्साहित हुँदै आएका हुन् ।      दशक अगाडिसम्म भेडाको ऊनबाट बनेका कपडा गोठालाले बढी प्रयोग गर्ने गरेकामा अहिले विदेशमा पुग्ने गरेको छ । विदेशबाट माग बढ्न थालेपछि भेडापालक किसान उत्साहित बनेका छन् । भेडाको ऊनबाट बन्ने काम्लो, बख्खु, घुमलगायत कपडाले घाम पानी छेक्ने, वर्षौँ टिक्ने र न्यानो हुने भएकाले माग बढेको किसान बताउँछन् ।      यहाँका अधिकांश स्थानीयले सयौँको सङ्ख्यामा भेडापालन गर्छन् । काम्लो, बख्खु, घुमलाई गोठालाको कपडा भन्ने गरिन्छ । एउटै परिवारले पाँच सयदेखि एक हजार पाँच सयसम्म भेडाबाख्रा पाल्ने गरेका ढोरपाटन नगरपालिका–९ का बिर्खबहादुर पुनले बताउनुभयो ।  “भेडाबाख्राको सङ्ख्या बढी भएकाले ऊन प्रशस्त उत्पादन हुन्छ । मासु र ऊनका कपडाबाट भेडापालक किसानले राम्रो आम्दानीसमेत गर्दै आएका छन्”, उहाँले भन्नुभयो ।      मासु स्थानीयस्तरमा बिक्री हुने गरेको भन्दै त्यसबाट बन्ने कपडा देशविदेशमा निर्यात हुने गरेको पुनले जानकारी दिनुभयो । ऊनबाट बन्ने कपडाको माग नेपाली बजारमाभन्दा विदेशमा बढी हुने गरेको उहाँको भनाइ छ ।      पहिले–पहिले गोठालाले लगाउने ऊनका कपडा अहिले विदेश निर्यात हुँदा अचम्म लाग्ने पुनले बताउनुभयो । एक दशक अगाडि काम्लो, बख्खु, घुम लगाउने मान्छेलाई लेकाली र गोठालाको सङ्ज्ञा दिने गरिएकामा अहिले विदेशमा बस्नेको रोजाइमा यी कपडा पर्न थालेको उहाँले जानकारी दिनुभयो ।      पुनले एउटा काम्लो, हापदुला बुन्न समय बढी लाग्ने भन्दै ती सामान विदेश पठाउँदा आम्दानी पनि प्रशस्त हुने बताउनुभयो । एउटा ऊनको कपडाको मूल्य न्यूनतम रु १५ हजारदेखि रु ६० हजारसम्म पर्ने उहाँले जानकारी दिनुभयो ।      आफूहरुले लेकमा उत्पादन गर्ने काम्लो, बख्खु, घुम जापान, कोरिया, अमेरिका, अष्ट्रेलिया, बेलायतलगायत देशमा निर्यात हुने गरेको पुनले बताउनुभयो ।       “हामीहरुले घुम, काम्लो ओड्दा भेडाको ऊनको कपडा लगाउने मान्छे भनेर हेपेर गोठाले भन्थे । अहिले धेरैले ऊनको कपडा चाहियो भन्नुहुन्छ, खुसी लाग्छ । गाउँघरसँगै विदेशबाट बढी माग गर्नुहुन्छ” उहाँले भन्नुभयो, “भेडा पालेर पहिले मासु बेच्थ्यौँ ।  अहिले त्यसको रौँबाट बनेका कपडा बेच्न थालेका छौँ । नयाँ प्रविधिको प्रयोग गरी कपडा बुन्दा सहज हुन्थ्यो होला, हामीसँग प्रविधि नहुँदा पुरानै सीपको प्रयोगबाट कपडा बनाउने गरेका छौँ ।”      निसीखोला गाउँपालिका–६ का वीरमानबुढा मगरले आफूहरु सानो हुँदा चप्पल, सिरक, डसना र अन्य कपडा पाउन मुस्किल हुने गरेको स्मरण गर्दै उतिबेला ऊनबाट बनेका कपडा प्रयोग गर्ने गरेको बताउनुभयो । पछिल्लो समय भेडा पाल्ने किसान घट्दै गएको भन्दै ऊनको कपडाको माग भने बढ्दै गएको उहाँको भनाइ छ ।       मगरले चार पुस्तादेखि भेडा पाल्दै आएको सुनाउँदै आफूपछिको पुस्ताले चासो नदिएको गुनासो पोख्नुभयो । उहाँले भन्नुभयो, “पुस्ताले परम्परागत सीप सिक्न मान्दैनन्, हाम्रो पालामा कपडाको अभाव थियो, अभावले ऊनको कपडा बनाएर लगाउन सिकायो । अहिले बजारमा आधुनिक कपडा पाउँछ, त्यही भएर युवापुस्ता सीप सिक्न चाहदैनन् । अहिले यहाँबाट विदेश गएकाले फोन गरेर मलाई काम्लो, हापदुला चाहियो पठाइदिनुस् भन्छन् ।”      तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलालबुढा मगरले ऊनका कपडा बनाउनका लागि किसानलाई आधुनिक प्रविधिसँग जोड्ने योजना बनाइएको बताउनुभयो ।  तमानखोलाका अधिकांश किसानले भेडापालन गर्दै आएको भन्दै किसानलाई आधुनिक उपकरणसहित आधसनिक सीप सिकाउने योजनामा पालिका रहेको उहाँले जानकारी दिनुभयो ।       किसानलाई भेडापालनतर्फ आकर्षित गर्ने र आयआर्जनसँग जोड्ने गरी योजनाबद्ध रुपमा काम गरिरहेको अध्यक्ष बुढा मगर बताउनुभयो । 

काठमाडौं:    युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले बुधबार पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले गत साता चाँडै नै मन्त्रिपरिषद् पुनरगठन गर्ने घोषणा गर्नुभएपछि उहाँको राजीनामा आएको हो ।       कुलेबाको राजीनामाको अनुरोधलाई अर्को पूर्ण बैठकमा सांसद्हरूले छलफल गर्ने संसद्का सभामुख रुस्लान स्टेफनचुकले आफ्नो फेसबुक पेजमा बताउनुभएको छ ।       ल्भिभमा रातभर भएको आक्रमणमा कम्तीमा सात जनाको मृत्यु र ३५ जना घाइते भएका बेला विदेशमन्त्रीको राजीनामा आएको सहरका मेयर एन्ड्री सदोवीले बुधबार बिहान बताउनुभयो । उहाँले मृत्यु हुनेमा एक बालक र एक चिकित्साकर्मी रहेको र घाइतेहरूको अवस्था चिन्ताजनक रहेको जानकारी दिनुभयो ।       उक्त आक्रमण दुई ब्लालेस्टिक क्षेप्यास्त्रद्वारा युक्रेनको पोल्टावामा एउटा सैन्य एकेडेमी र नजिकैको अस्पतालमा आक्रमण भएको एक दिनपछि भएको हो । पोल्टावामा भएको आक्रमणमा ५० भन्दा बढीको मृत्यु र दुई सयभन्दा धेरै घाइते भएका थिए । युक्रेनी अधिकारीहरूले युद्ध सुरु भएपछिको यो सबैभन्दा घातक रुसी आक्रमणमध्येको एक भएको बताएका छन् ।       पोल्टावा मिलिट्री इन्स्टिच्युट अफ कम्युनिकेसनको मुख्य भवनमा क्षेप्यास्त्रहरू प्रहार हुँदा भवनका धेरै तला क्षतिग्रस्त भएका थिए ।       धेरै मानिस बम आश्रय स्थलतर्फ जाँदै गर्दा हवाई आक्रमणको चेतावनी जारी भएलगत्तै क्षेप्यास्त्रहरू प्रहार भएका थिए । युक्रेनको रक्षा मन्त्रालयले आक्रमणलाई ‘बर्बरतापूर्ण’ भनेको छ ।      पोल्टावा किएभबाट करिब तीन सय ५० किलोमिटर दक्षिणपूर्वमा रहेको छ । रुसको सीमा नजिकै रहेको यो सहर किएभ र युक्रेनको दोस्रो सबैभन्दा ठूलो सहर खार्किभ बीचको मुख्य राजमार्ग र रेलमार्गमा छ ।       यो आक्रमण अगस्ट ६ मा रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सेनाको घुसपैठको केही सातापछि भएको हो । युक्रेनी सेना रुसको कुर्स्क सीमा क्षेत्रमा आफ्नो पकड बनाउन कोसिस गरिरहेको छ र रुसी सेनाले पुर्वी युक्रेनमा गहिराइसम्म आफ्नो मार्ग बनाएको छ ।