काभ्रेपलाञ्चोक:   बिपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको छ । जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकोमा भदौ १५ गतेसम्म १२ घण्टा रोक लगाइएको ज...

काठमाडौं:     स्थानीय बजारमा आज सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । अन्तर्राष्ट्रिय बजारसमेतमा उकालो लागेको सुन आज प्रतितोला रु एक लाख ५३ हजार कायम भएको छ ।      नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला सुन प्रतितोला रु एक लाख ५३ हजारमा कारोबार हुने गरी निर्धारण भएको छ । मङ्गलबार प्रतितोला रु एक लाख ५२ हजार दुई सयमा कारोबार भएको छापावाल सुन आज रु आठ सयले वृद्धि भई नयाँ रेकर्ड कायम गरेको हो ।      यस्तै, चाँदीको मूल्य तोलामा रु १५ ले बढेको छ । मङ्गलबार प्रतितोला रु एक हजार आठ सय २० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय ३५ निर्धारण भएको छ । 

काठमाडौं:      प्रधानमन्त्री केपी शर्मा ओलीले साना–साना पुँजीबाट उत्पादन वृद्धि हुने धेरै उद्योगहरु स्थापना र विस्तार गर्नुपर्ने बताउनुभएको छ ।      ‘स्टार्ट अप नेशन–२०३०’ कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नवीन र सिर्जनशील सोचका साथ युवा र महिलाले कामका लागि विदेश नगइ स्वदेशमै रोजगारी र आयका अवसर खोज्न सक्ने बताउनुभयो ।  आन्तरिक उत्पादनबाट आयात विस्थापन गर्न, गरिबी घटाउन, राष्ट्रिय आत्मविश्वास वृद्धि गर्न र दिगो विकासका लक्ष्यहरु हासिल गर्न युवा उद्यमशीलतालाई व्यापक बनाउन जोड दिनुभयो ।       यस्ता उद्यमलाई सम्पत्ति राखेर नभइ परियोजनाका आधारमा बैंकले ऋण दिनुपर्ने आग्रह गर्दै प्रधानमन्त्री ओलीले केही ठग तत्वहरु छिरेर समग्र सहकारीलाई बदनाम गर्न खोजे पनि सरकारले सहकारीलाई राम्रोसँग अगाडि बढाउने स्पष्ट गर्नुभयो ।       “हामीले प्रविधि, सीप र पुँजीका आधारमा सिङ्गो देशलाई उत्पादनमा परिणाम देखिने गरी उद्यमशीलता वृद्धि गर्नुपर्ने छ । सरकारले लगानी गरेका कुनै पनि स्टार्ट अप असफल हुनुहुन्न । यसलाई अभियानका रूपमा लैजानुपर्छ । देशको समृद्धिका लागि सरकारले निजी क्षेत्रलाई गर्नुपर्ने सहजीकरणमा कमी गर्दैन”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी सरकारमा झन्डा हल्लाउन आएका होइनौं । यो उमेरमा मलाई फेरि प्रधानमन्त्री हुनु थिएन । केही गर्नका लागि जिम्मेवारीमा आएको हो ।”      उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योगमन्त्री  दामोदर भण्डारी, श्रममन्त्री शरतसिंह भण्डारी, नेपाल उद्योग वाणिज्य महाङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत सहभागी रहेको उक्त कार्यक्रम दुई दिनसम्म सञ्चालन हुने बताइएको छ ।

दाङ:     मकैबाट पनि चटपटे बनाइन्छ भन्दा आश्चर्य लाग्नसक्छ । देशका अधिकांश स्थानमा भुटेका चना, भुजा, चाउचाउलगायत खाद्यपदार्थ मिसाएर बनाइने चनाचटपटे मकैबाट पनि तयार गर्नसकिन्छ भन्ने सबैलाई थाहा छैन ।  तर, दाङको देउखुरी क्षेत्रमा व्यावसायिक रूपमा मकैखेती हुने भएकाले सारती अधिकारी मकै चटपटे बेच्दै आउनुभएको छ । राप्ती गाउँपालिका–३ मसुरिया निवासी अधिकारी मकैको चटपटेबाट आम्दानी पनि प्रशस्त गर्दै आउनुभएको छ । सुरुमा आफूले पनि भुजा, चाउचाउको चनाचटपटे बनाउने गरेको तर पछि यसमा प्रयोग हुने मेसिन र तालिम गाउँपालिकाबाट निःशुल्क पाएपछि नयाँकाम सुरु गरेकोे बताउनुभयो ।  “घरमा त्यसै बस्नुभन्दा व्यवसायमा जोडिएपछि दुई–चार पैसा आवश्यक परेका बेला अरुसँग माग्नुपर्ने बाध्यता अन्त्य भएको छ”, उहाँले भन्नुभयो । चटपटे बनाउन प्रयोग गरिने मेसिन निःशुल्क पाएपछि अझ सहज भएको उहाँ बताउनुहुन्छ ।  मेसिन मकै उसिन्ने, अचार बनाउनेलगायत काममा प्रयोग हुने गरेको छ । अन्यको भन्दा मकैको चटपटे सबैले मन पराएर खाइदिने हुँदा व्यवसाय गर्ने हौसला पनि उहाँमा बढ्दै गएको छ । २८ वर्षीया सारती सोही वडाको खुरुरिया पुलनिर विगत चार वर्षदेखि चटपटेसँगै पानीपुरीको व्यवसाय पनि गर्दै आउनुभएको छ । यो व्यवसायबाट दैनिक रु एक हजारदेखि एक हजार पाँच सयसम्म आम्दानी हुने भएकाले मासिक रु २०–२५ हजार बढीको कारोबार गर्दै आएको उहाँले बताउनुभयो ।  “ मासिक रु १०–१२ हजार बचत हुने गरेको छ”, उहाँले भन्नुभयो । अघिपछिको तुलनामा शनिबार अझ अलि बढी व्यापार हुने उहाँले बताउनुभयो । 

तनहुँ:   बिजुलीको लाइन काटेपछि यहाँका उपभोक्ताले धमाधम विद्युत् महसुल बुझाउन थालेका छन् । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले लाइन काटेर रु दुई करोड ५० लाखभन्दा बढी बक्यौता सङ्कलन गरेको छ ।  उक्त कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा लाइन काटेर रु दुई करोड ६८ लाख ४५ हजार सात सय बक्यौता सङ्कलन गरेको हो ।  केन्द्रका प्रमुख विजय रेग्मीका अनुसार एक हजार चार सय ३६ जना ग्राहकको लाइन काटिएकामा एक हजार दुई सय ७३ ग्राहकले बक्यौतावापतको रकम बुझाएका छन् । एक हजार चार सय ३६ ग्राहकबाट रु तीन करोड ५० लाख ५६ हजार छ सय ७४ बक्यौता उठ्नुपर्ने थियो तर, ७६ दशमलव ५७ प्रतिशत बक्यौता असुली भएको छ ।  आर्थिक वर्ष २०७९/८० मा कार्यालयले नौ सय १८ ग्राहकको लाइन काटेकामा रु एक करोड ८४ लाख ६५ हजार चार सय ५२ बक्यौता सङ्कलन गरेको थियो । उक्त आर्थिक वर्षमा सात सय ८६ ग्राहकको लाइन बक्यौता रकम तिरेपछि पुनः जडान गरिएको थियो । त्यतिबेला रु तीन करोड ६४ लाख ५७ हजार छ सय ८२ बक्यौता उठ्नुपर्ने थियो ।  केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा रु ५३ करोड ९४ लाख ३१ हजार छ सय १३ बराबरको विद्युत बिक्री गरेको छ । रेग्मीका अनुसार त्यस अवधिमा रु ५४ करोड २० लाख ६० हजार दुई सय ७८ विद्युत रकम सङ्कलन भएको थियो । केन्द्रले त्यस वर्ष सात दशमलव ९२ प्रतिशत विद्युत् चुहावट नियन्त्रणको लक्ष्य राखेकामा १२ दशमलव ७९ प्रतिशत विद्युत् चुहावट नियन्त्रण गरेको थियो । विद्युत् चुहावट नियन्त्रणका लागि केन्द्रले नचलेका मिटर निःशुल्क बदली, नाङ्गो तार हटाइ केबल विस्तार, कन्डक्टर साइज स्तरोन्नति, ट्रान्सफर्मर लोड सेन्टर थपलगायत काम गरेको प्रमुख रेग्मीले बताउनुभयो । 

जुम्ला:     अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।  सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो खस्दा आज बिहानदेखि उक्त राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीले बताउनुभयो ।  अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको छ सूचना अधिकारी जिटीले बताउनुभयो । पानी पर्नेबित्तिकै कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो खस्ने गरेको छ । 

पोखरा:    पोखरामा कर्मचारी मिलन केन्द्रले सुरु गरेको प्राकृतिक तथा सांस्कृतिक सम्पदा सरसफाइ अभियानको दोस्रो शृङ्खला आज बेगनासतालको सरसफाइ गरेर सम्पन्न भएको छ । सामाजिक उत्तरदायित्व बहन गर्दै केन्द्रको संयोजनमा प्रत्येक महिनाको ५ गते पोखरा क्षेत्रका प्राकृतिक एवं सांस्कृतिक सम्पदालाई सरसफाइ गर्नेगरी अभियान थालिएको केन्द्रका अध्यक्ष लोकनाथ आचार्यले जानकारी दिनुभयो । केन्द्रका संरक्षक कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले प्राकृतिक सम्पदाको संरक्षण हामी सबैको दायित्व भएको बताउँदै यस किसिमका कार्यक्रमले सरसफाइप्रति सर्वसाधारण जागरुक हुने विश्वास व्यक्त गर्नुभयो । आजको सरसफाइ बेगनासताल अगाडिको उद्यान, बाँध हुँदै तालको किनार र आसपास केन्द्रित गरिएको थियो । सरसफाइमा सुरक्षा निकायका प्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, नागरिक समाजका अग्ुवा, स्थानीय पर्यटन व्यवसायीलगायत सहभागी थिए ।

हुम्ला:   हुम्लाको दक्षिण भेगको चङ्खेली गाउँपालिकामा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दका अनुसार कर्णाली प्रदेश२००१च ०९२२ नम्बरको जिप चङ्खेली–२ गर्खाबाट देउली बजारतर्फ गइरहेको मुगु सडकको गौरीसल्लामा दुर्घटना भएको छ । चालकसहित सातजना सवार जिपमा पाँचजना सख्त घाइते भएको र दुईजनाको अवस्था सामान्य र छ ।  दुर्घटनामा गम्भीर घाइते भएकामा चङ्खेली गाउँपालिकाका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तिलबहादुर शाही, १५ वर्षीय रविन शाही र मुगुको छायाँनाथ नगरपालिका–१३ का ४० वर्षीय पृथ्वी रावत र रमेश मल्ल सख्त घाइते छन् । बाजुरा बुढीनन्दा नगरपालिका–४ का सावरी चालक महेन्द्रविक्रम शाह र चङ्खेली–२ का मायादेवी शाही सामान्य घाइते भएका छन् ।  दुर्घटना हुनासाथ मिमी प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक बालकृष्ण खण्डाको नेतृत्वमा खटिएको सातजनाको टोली घटनास्थलमा पुगेर उनीहरूको उद्धार गरिएको हो । गौरीसल्लामा दुर्घटना भएको जिप सोही स्थानको मोडमा मोड्ने क्रममा सडकबाट एक सय ५० मिटर तल खसेको थियो । 

काठमाडौं:    प्रधानमन्त्री केपी शर्मा ओलीका धर्मपत्नी राधिका शाक्यले नेपाल प्रहरी श्रीमती सङ्घको मानवीय कार्य प्रशंसनीय भएको बताउनुभएको छ ।      सो सङ्घको ४०औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले मानवीय सेवाको कार्य सबैभन्दा पवित्र भएको र प्रहरी सङ्गठनको गरिमा कायम राख्न प्रहरी र तिनका परिवारको उत्तिकै भूमिका हुने बताउउनुभयो । जुनसुकै समयमा राष्ट्रका लागि समर्पित हुने प्रहरीहरु सम्मानका हकदार भएको उहाँको भनाइ थियो ।       “प्रहरी श्रीमानहरुलाई अगाडि बढाउन श्रीमतीहरुको महत्वपूर्ण योगदान हुुन्छ । त्यस्तै महिला प्रहरीहरुलाई श्रीमानको सहयोग बिना कार्यक्षेत्रमा खट्न गाह्रो हुन्छ । एकापसमा सहयोग आदान–प्रदानबाट नै मानवीय सेवाबाट प्रहरीले उत्कृष्टता प्रदर्शन गर्न सक्छ”, प्रथम महिला शाक्यले भन्नुभयो, “प्रधानमन्त्री ओली गृहमन्त्री भएदेखि नै आफू र प्रहरी सङ्गठन तथा प्रहरी परिवारसँग भावनात्मक सम्बन्ध रहँदै आएको छ । वास्तवमा प्रहरीलाई राष्ट्रको जिम्मेवारीलाई बुझेर संयम, शान्ति र धैर्यका साथ कार्यक्षेत्रमा लाग्न परिवारको अहम् रहेको हुन्छ । यो भूमिकाको निरन्तरता रहोस् भन्ने शुभकामना दिन चाहान्छु ।”       उहाँले सङ्घमा जवानहरुका श्रीमतीलाई पनि जोडेर मानवीय सेवामा लाग्ने थप अवसर दिन आग्रह गर्नुभयो । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलगायत सहभागी कार्यक्रममा माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा सफल हुने प्रहरी परिवारका छोराछोरीलाई सम्मान गरिएको थियो ।

झापा:     झापाको शिवसताक्षी नगरपालिका–८ बाट श्रीमतीको हत्या अभियोगमा एकजनालाई पक्राउ गरिएको छ ।  सामान्य घरायसी विवादमा आज साँझ आफ्नी ५३ वर्षीया श्रीमती रञ्जना गौतम अधिकारीको हत्या गरेको अभियोगमा ओमप्रकाश अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।  घरायसी विवाद अधिकारीले धारिलो हतियार प्रहार गर्दा निजकी श्रीमतीको घटनास्थलमै मृत्यु भएको उहाँले बताउनुभयो । अभियुक्तलाई घटनालगत्तै  नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।