पोखरा: पोखरा महानगरपालिका भित्र सञ्चालित सार्वजनिक यातायातको प्रदूषण जाँच सुरुआत गरिएको छ । यातायात व्यवस्था कार्यालयले आज पोखरा यातायात प्रालि अन्तर्गत सञ्चालित बसहरुको प्रदूषण परीक्षण गरेको हो । मापदण्ड भन्दा बाहिर रहेका सवारी साधन सञ्चालनमा रोक लगाउन सवारी साधनहरुको प्रदूषण जाँच सुरु गरिएको यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख अशोक गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य दिनमा प्रदूषण परीक्षका लागि भीडभाड हुने भएकाले सार्वजनिक बिदाका दिनमा समेत सेवा सञ्चालन गरिएको हो । पोखरा यातायात प्रालि अन्तर्गत सञ्चालनमा रहेका तीन सय ७८ बसको प्रदूषण परीक्षण गरिने कार्यालयले जनाएको छ । प्रदूषण परीक्षणमा अनुत्तीर्ण सवारीहरुलाई पुनः मर्मतका लागि पठाइने र उत्तीर्ण भएपछि मात्र सञ्चालन अनुमति प्रदान गरिने कार्यालय प्रमुख गौतमले बताउनुभयो । “पोखरा पर्यटकीय राजधानी समेत हो । यहाँ गाडीबाट निस्कने धुँवा बढी हुने गरेको स्थानीयवासीको गुनासो आएपछि कडाइका साथ जाँच गर्न लागेका हौँ । आज पोखरा यातायात प्रालिका बसहरुको यान्त्रिक परीक्षण र प्रदूषण जाँचपासको काम गरेका छौँ । आगामी दिनमा निजी विद्यालयद्वारा सञ्चालित बसहरुको समेत परीक्षण गछौँ ।” कार्यालय प्रमुख गौतमले भन्नुभयो । जाँचपास गर्दा बढी प्रदूषण देखाएका गाडीलाई तत्काल मर्मत र सर्भिसिङका लागि पठाउने गरिएको कार्यालयका मेकानिकल इन्जिनियर अब्दुल्ला हवारीले बताउनुभयो । बसहरुको सर्भिसिङपछि बसको अनुत्तीर्ण हुने दर कम भएको उहाँले बताउनुभयो । कार्यालयले प्रदूषण बढी भएका तथा जाँच अनुत्तीर्ण भएका गाडी सञ्चालनमा रोक लगाउने जनाएको छ ।इन्जिनियर हवारीका अनुसार परीक्षण मेसिनले गाडीको धुँवाको ‘डेन्सिटी’ हेर्ने र ३० प्रतिशत सम्म आउने उत्तीर्ण र त्यो भन्दा बढी आउने अनुत्तीर्ण हुने जानकारी दिनुभयो । “परीक्षणको नतिजा तत्कालै प्राप्त हुने गरेको छ । बढी प्रदूषण देखाएर फेल भएका गाडी सञ्चालन गरे यातायात व्यवस्था ऐन अनुसार दुई हजारदेखी १० हजारसम्म कारवाही हुन्छ ।” उहाँले भन्नुभयो । पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रसाद गुरुडले बसहरुले बढी धुँवा फालेको गुनासो पछि व्यवसायीले रु दुई लाख ५० हजारसम्म खर्च गरेर इन्जिन लगायत सबै परीक्षण गराएको जानकारी दिनुभयो । गाडीको पार्टपुर्जा बाहेक गाडीमा प्रयोग गरिने इन्धनको कारणले समेत धुँवा बढी फालेको हुन सक्ने भएकाले त्यसको समेत जाँच गर्न उहाँले माग गर्नुभयो । अध्यक्ष गुरुङले भन्नुभयो, “गुनासो आएपछि व्यवसायीले गाडी मर्मत गरेको हो । मर्मत सम्भार गर्दा समेत धुँवा फालिरहेको छ । के कारणले धुँवा फालिरहेको हो भनेर हामीलाई इन्जिनियरले बताइदिनुपर्दछ ।”
चितवन: बालरोग विशेषज्ञले शिशुलाई स्तनपान गराउँदा ‘मोबाइल फोन’ प्रयोग नगर्न आमालाई आग्रह गर्नुभएको छ । विश्व स्तनपान सप्ताहको अवसरमा यहाँ आयोजित छलफल कार्यक्रममा चिकित्सकहरुले मोबाइल चलाउँदा आमा र शिशु दुवैलाई फाइदा नगर्ने बताउनुभएको हो । विश्व स्तनपान सप्ताहका अवसरमा कान्तिपुर हेल्थ अनलाइनद्वारा आज भरतपुरमा आयोजित ‘स्तनपानको महत्वः चिकित्सक–पत्रकार छलफल कार्यक्रम’ मा भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा श्वेताकुमारी गुप्ताले स्तनपान गराउँदा आमाले मोबाइल प्रयोग गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “आमाले मोबाइल चलाएर स्तनपान गराउँदा बच्चाले दूध खायो खाएन, अघायो, अघाएनलगायत केही कुरा पनि जानकारी हुँदैन ।” उहाँले बच्चाको माया ममता पनि कम हुने जाने बताउनुभयो । उहाँले भन्नुभयो, “स्तनपान गराउने समयमा शिशुलाई सुमसुमाउनु पर्छ, अन्यत्र ध्यान दिनुहुँदैन ।” स्तनपान गराउँदा आमा र शिशु दुवैको आसनमा विशेष ध्यान दिन जरुरी रहेको बालरोग विशेषज्ञ डा गुप्ताले बताउनुभयो । शिशुलाई जन्मिएदेखि छ महिनासम्म आमाको दूधबाहेक पानीको आवश्यकता नपर्ने उहाँको भनाइ छ । बालरोग विशेषज्ञ डा गुप्ताले भन्नुभयो, “नियमित स्तनपान गर्ने शिशुमा निमोनिया, झाडापखाला, दम जस्ता रोगहरु लाग्ने सम्भावना कम हुन्छ ।” बच्चाको शरीरिक विकासका लागि सकेसम्म आमाको दूध खुवाउनुपर्ने बताउँदै उहाँले काममा जानुपरेमा आमाको दूध सङ्कलन गरेर राखेर भए पनि खुवाउन सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “आमाको दूध सङ्कलन गरेर कोठाको तापक्रममा राखेमा ४ देखि ६ घण्टा र फ्रिजमा राखे २४ घण्टासम्म खुवाउन सकिन्छ ।” फ्रिजमा राखेरको दूध सिधैँ नतताउन सुझाव दिँदै उहाँले भन्नुभयो, “तातो पानीमा अर्को भाडा राखेर दूधलाई तातो बनाउनुपर्छ, सिधैँ तताउनुहुँदैन ।” शिशु जन्मिएको छ महिनापछि मात्रै पुरक खाना खुवाउन उपयुक्त हुने उहाँले बताउनुभयो । अस्पतालमा शल्यक्रिया गरेर जन्मिएका नवजात शिशुहलाई दूध खुवाउन दिने गरी सरकारले नियम बनाउन सके यस्ता बच्चालाई आमाको दूध खुवाउन सकिने उहाँले बताउनुभयो । अहिले शल्यक्रियाबाट जन्मिएका बच्चालाई सुरुआतमा बजारको पाउडर दूध खुवाउनुपर्ने अवस्था रहेको जनाउँदै उहाँले यसको अन्त्य गर्न सके बच्चा र आमा दुवैको स्वास्थ्य राम्रो हुने बताउनुभयो । कार्यक्रममा भरतपुर अस्पतालकका स्त्री तथा प्रसूति रोग विभागका प्रमुख विशेषज्ञ प्रा डा सुनिलमणि पोखरेलले शिशुलाई नियमित आमाको दूध खुवाउँदा बच्चा र आमा दुवैलाई फाइदा हुने बताउनुभयो । नवजात शिशुलाई जन्मिएको छ महिनासम्म आमाको दूध मात्रै खुवाउन सके उसको स्वास्थ्य र शारीरिक विकास राम्रो हुने उहाँले बताउनुभयो । शिशुलाई दिनमा ८ देखि १२ पटक दूध खुवाउन सके बच्चाका लागि फलदायी हुने उहाँको भनाइ छ । स्तनपानले गर्दा आमालाई हुने फाइदाका विषयमा बोल्दै उहाँले स्तनपान नियमित गराउने आमालाई स्तन र डिम्बासयको क्यान्सर हुने सम्भावना न्यून हुने बताउनुभयो । प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा पोखरेलका अनुसार नियमित स्तनपान गराउँदा महिलामा हुने रक्तस्रावमा कमी आउने गर्दछ । बच्चा जन्मिएको एक घण्टा भित्रमै आमाको दूध खुवाउन सके सालनाल छुटिनदेखि स्तन गानिने र पिप जम्ने जस्ता समस्याबाट छुटकारा पाउन सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कम्तीमा पनि दुई वर्ष बच्चालाई आमाको दूध खुवाउनुपर्छ । जसले गर्दा आमा र बच्चा बीचको ममतादेखि हरेक कुरामा सहयोग पु¥याउँछ ।” पछिल्लो समय शारीरिक सुन्दरताका लागि शिशुलाई आमाको दूध नखुवाउने गरेको पाईएको भन्दै उहाँले यस्तो गर्दा बच्चाको शारीरिक, मानसिक वृद्धि विकासमा समस्या पर्नुका साथै आमामा विभिन्न किसिमका समस्या देखिन सक्ने जानकारी दिनुभयो । पछिल्लो समय स्तन ठूलो भयो भन्दै त्यसलाई घटाउने औषधि खोजी गर्नेहरु पनि आफू के मा आउने गरेको भन्दै डा पोखरेले भन्नुभयो, “स्तनपान गराइसकेपछि विभिन्न व्यायाम गरेर मोटोपन र स्तन घटाउन सकिन्छ ।” कार्यक्रममा डा पोखरेलले पछिल्ला वर्षहरुमा भरतपुर अस्पतालमा प्रसूति गराउन आउनेको सङ्ख्या घटेको जानकारी दिनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा नौ हजारभन्दा धेरैले अस्पतालबाट सेवा लिएका छन् । यो तथ्याङ्क अघिल्लो आर्थिक वर्षमा १२ हजारभन्दा बढी रहेको थियो । उहाँका अनुसार स्थानीय तहहरुले गाउँगाउँमा नगर स्वास्थ्य क्लीनिक तथा स्वास्थ्य सेवाको पहुँच पु¥याएर सोही स्थानमा प्रसूति सेवा सञ्चालन गर्नु र सन्तान उत्पादन गर्ने युवा अवस्थाका जनशक्तिहरु विदेशपलायन हुनुले सेवा लिन आउनेको सङ्ख्यामा कमी आएको हो । कार्यक्रममा कान्तिपुर हेल्थका प्रधान सम्पादक तिलक रिमालले स्तनपानको महत्वलाई व्यापक प्रचारप्रसार गर्नुपर्ने जनाउँदै कार्यस्थलमा स्तनपानका लागि सहज वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो ।
पोखरा: पत्रकार सुरज थापामगर र बिनु थापामगरमाथि सांघातिक आक्रमण गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पत्रकार माथि सांघातिक आक्रमण गरेको आरोपमा पोखरा महानगरपालिका–१७ बस्ने १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो । घटनापश्चात फरार भएका १७ वर्षीय किशोरलाई शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए । यो पनि पढ्नुहोस फलोअप: पत्रकार सुरज र विनुमाथि सांघातिक आक्रमण गर्ने ४ जना पक्राउ गत आइतबार गण्डकी प्रदेशमा भएको यातायात व्यवसायीको आन्दोलनको रिपोर्टिङ गर्न पोखराको लखन चोक (पृथ्वीचोक) पुगेका पत्रकार बिनु थापामर र सुरज थापामाथि सांघातिक आक्रमण भएको थियो । घटनामा संग्लन पाँच जना गत आइतबार नै पक्राउ परेका थिए । ग २० प ३९७३ नम्बरको स्कूटरको पछाडी सवार बिनाकुमारीले क्यामेराबाट भिडियो खिच्दै गर्दा आन्दोलनरत समूहले पत्रकारमाथि सांघातिक आक्रमण गरेका थिए ।
काठमाडौं: नेपालको राष्ट्रिय महिला तथा पुरुष बिच भलिबल टोली भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ । महिलातर्फ कमला पुन र मनिषा चौधरीको जोडीले उज्वेकिस्तानका खेलाडीलाई २–० सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । भुटानको राजधानी थिम्पुमा आज भएको सेमिफाइनल खेलमा पुन र चौधरीको जोडीले उज्वेकिस्तानका खेलाडीलाई २–० सोझो सेटमा पराजित गरेको हो । नेपालले उज्वेकिस्तानलाई २१–१३ र २१–१२ अङ्कले हराएको हो । यस्तै पुरुषतर्फ मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले माल्दिभ्सका खेलाडीलाई २–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको छ । उक्त प्रतियोगितामा पुरुषतर्फ १० तथा महिलातर्फ सात टोली सहभागी छन् ।
पोखरा: युवा व्यवसायी किसान सुनार पोखरामा सम्मानित भएका छन् । चेम्बर अफ कमर्स गण्डकीका अध्यक्ष सुनार पोखरा चेम्बर अफ कमर्स कास्कीको पाँचौ साधारण सभा तेस्रो जिल्ला अधिवेशनको अवसरमा सुनार सम्मानित भएका हुन् । पोखरा चेम्बर अफ कमर्स कास्कीका संस्थापक अध्यक्षसमेत रहेका उनलाई संस्थाप्रति योगदान दिएको भन्दै सम्मान अर्पण गरिएको हो । उनलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सम्मान अर्पण गरिन् । सो अवसरमा बोल्दै शिक्षामन्त्री भट्टराईले उद्यमशिलतालाई शिक्षासँग जोड्न आवश्यक रहेको बताइन् । उनले व्यवहारिक शिक्षा नीति नहुँदा युवाहरु विदेशीनु पर्ने बाध्यता रहेको बताउदै त्यसतर्फ आफ्नो ध्यानाकर्षण भएको धारणा राखिन् । मन्त्री भट्टराईले आफ् जिम्मेवारी पूर्ण रुपमा निभाउन कटिबद्ध रहेको बताउदै जनताको मन जित्ने गरी काम गर्ने प्रतिबद्धतासमेत व्यक्ति गरेकी थिइन् । कार्यक्रममा संघीय सांसद दामोदर बैरागी, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख भरतमणी पाण्डे, आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख शिव शर्मा, एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री, नेपाल पर्यटन बोर्डका पूर्व सदस्य बासु त्रिपाठी लगायतले शुभकामना व्यक्त गरेका थिए । संस्थाको कार्यक्रमबारे प्रचारप्रसारमा सहयोग गरेको भन्दै पत्रकार श्याम कुँवरलाई र सचिवालय व्यवस्थापनमा भूमिका निर्वाह गरेको भन्दै अन्य व्यक्तिहरुलाईसमेत सम्मान अर्पण गरिएको थियो ।
बर्दिया: कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–२ स्थित उखुबारीमा ड्रोनको सहायताले पत्ता लगाइएको पाटेबाघलाई लट्ठ्याउने प्रविधि (डार्ट)बाट नियन्त्रणमा लिएर बर्दिया ल्याइएको छ । घाँस काटिरहेको अवस्थामा स्थानीय २६ वर्षीया हीरादेवी शाहको ज्यान लिएको उक्त बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जस्थित रम्भापुर पोस्टको खोरमा राखिएको छ । नियन्त्रणमा लिइएको पाटेबाघ १२ वर्षको भाले हो । बाघको एउटा दाँत हल्लिएको, अन्य दाँत खिइएका, नङ्ग्रा भाँचिएका, पञ्जा, खुट्टा कमजोर, ढाडमा घाउ भएको एउटा खुट्टाको घाउमा कीरा परेको निकुञ्जका पशु चिकित्सक आयुष महर्जनले बताउनुभयो । घटनास्थल क्षेत्र सीमावर्ती भारतीय जङ्गल नजिक रहेकाले बिरामी बाघ उतैबाट आएको हुनसक्ने अनुमान गरिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका खोरमा छ वटा समस्याग्रस्त पाटेबाघ राख्नसक्ने क्षमता छ । यहाँ तीनवटा बाघ बिरामी छन् । आर्थिक अभावका कारण पर्याप्त मासु खुवाउन नसकिएको गुनासो उहाँको छ । बाघको सरसफाइ, खुला ठाउँ, उपचार, अनुगमनमा पनि समस्या छ ।
गोरखा: उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा पहिरोमा बेपत्ता भएका थप एक जनाको शव सातदिनपछि फेला परेको छ । आरुघाट गाउँपालिका–८, लामागाउँका २४ वर्षीया रमेश परियारको शव आज विहान भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । परियारको शव घटनास्थलदेखि करिब दुई किलोमिटर तल रेसे खोलामा फेला परेको प्रनाउ श्रेष्ठले बताउनुभयो । ट्याक्टर चालक परियार घटनाको अघिल्लो दिन शनिबार साँझ रेसेमा पुगेर स्थानीय जीतबहादुर गुरुङको कृषि फार्ममा बास बस्ने क्रममा राती गएको पहिरोमा परेर बेपत्ता हुनुभएको थियो । गत आइतबार रेसेमा गएको भीषण पहिरोमा परेर पाँच जना बेपत्ता भएका थिए । बेपत्ता भएका ७० बर्षीय सुलाल कान्छा गुरुङ, ३७ वर्षीय जीतबहादुर गुरुङ, ३३ वर्षीय रेशम गुरुङ र ३५ वर्षीय कान्छी गुरुङको यसअघि नै शव फेला परेको थियो । पहिरोमा परेर सोही ठाउँका ३५ वर्षीय दिलीप गुरुङ र २७ वर्षीय खमबहादुर गुरुङ घाइते भएका थिए । घाइतेहरुको काठमाण्डौस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
लेखनाथ: सत्ताइस वर्षीया निग्मा शेर्पा वर्षौंदेखि बस्दै आएको घर सेती बाढीले बगाइदिएपछि डेढ वर्षीया छोरी काखमा च्याप्दै, नदी किनारको चौरमा त्रिपालभित्र बिहानको खाना पकाउँदै हुनुहुन्थ्यो । उहाँको एकमात्र साहारा ३१ वर्षीय श्रीमान् प्रेम शेर्पा दुई वर्षदेखि बेखबर हुनुहुन्छ । “छोरी पेटमै हुँदा रोजगारीका लागि साउदी अरब जानुभएको हो । तर गएकै समयदेखि फोन सम्पर्क छैन, सुनेकी छु विदेशमा अर्की श्रीमती लिएर बस्नुभएको छ”, निग्माले भन्नुभयो, “मजदुरी गरेर छोरी पाल्दै आएकी थिएँ, भएको एउटा बास पनि सेती बाढीले बगाइदियो, भाग्यले ज्यान जोगायौं, अब छोरीबाहेक मेरो कोही रहेन ।” सेती नदीमा गत असार २२ गते आएको बाढीले पोखरा–१४ स्थित गस्ती टोलका निग्मासहित ३९ परिवारको घर बगाइदिएको छ । ती परिवारको २५ दिनदेखि त्रिपालमुनिको बास छ । तीमध्ये केही परिवार आफन्तकहाँ बस्दै आएका छन् । “पतिले त छाड्नुभयो, बस्दै गरेको बास पनि बगायो कस्तो दुःख आइलाग्यो”, शेर्पाले भन्नुभयो, “मजदुरी गरेर पेट पाल्दै आएकी थिएँ, त्यो पनि अहिले छैन, बास पनि छैन, डेढ वर्षकी छोरी लिएर त्रिपालमुनि बस्नुपरेको छ, वर्षा हुँदा सुत्ने र खाना पकाउने ठाउँमा पोखरी बन्छ”, शेर्पाले भन्नुभयो, “राति बादल मडारिँदा बाढीले बगाउने हो कि भन्ने डर लागिरहन्छ, यस्तो दुःख मैले कहिलेसम्म भोग्नुपर्ने हो ? ।” प्रेमसँग प्रेम विवाह गर्नुभएकी निग्माले भन्नुभयो, “विवाह गर्दा सुखसँग बाँच्ने सपना देखेकी थिएँ । तर विवाह गरेको दुई तीन वर्षमै वर्षमै यस्तो दुःख भोग्नुप¥यो ।” धादिङबाट पोखरा आएर बस्नुभएकी निग्माको प्रेमसँग पोखरामा भेट भएपछि दुवैबीच प्रेम विवाह भएको थियो । निग्माका वृद्ध बुवा राम श्रेष्ठ पनि सोही टोलमा ३० वर्षदेखि बस्दै आउनुभएको छ । “बिहान बेलुकाको खाना विभिन्न सङ्घसंस्थाबाट प्राप्त सहयोगबाट चल्दै आएको छ, त्रिपाल पनि संस्थाले नै उपलब्ध गराएको हो, त्रिपाल राखेर बस्दै गरेको जग्गा पनि सरकारको कृषि कार्यालयअन्तर्गतको रहेको र त्यो कार्यालयले त्यहाँबाट हट्न भनेको छ, अब कहाँ गएर बस्ने हो, थाहाँ छैन”, शेर्पाले भन्नुभयो । जग्गा पाइहाले पनि घर बनाउन सक्ने उहाँको अवस्था छैन । शेर्पा मात्र हैन यहाँका ३८ परिवारको दुःख उस्तै छ । गस्ती टोलकै २९ वर्षीया यमकुमारी मगरको पीडा पनि कम्ता छैन । सेती नदीको बाढी घरमै आउन थालेपछि लत्ताकपडा र भाँडाकुँडा लिएर भाग्दै सुरक्षित ठाउँमा आएको पाँच जनाको परिवार पनि त्रिपालमुनि बस्दै आएको छ । मजदुरी गरेर खाने यो परिवारलाई बिहानबेलुकाको छाक टार्नै मुस्किल छ । “पति मजदुरी गर्नुहुन्छ । मैले तीन बालबच्चाको स्याहारसुसार गरेर बस्दै आएकी थिए । तर ३० वर्षदेखि बस्दै आएको घर बाढीले बगाइदिएपछि बिचल्ली भएको छ, पतिले मजदुरी गर्न जान पाउनुभएको छैन, सधैं सङ्घसंस्थाको सहयोग पाइँदैन”, मगरले भन्नुभयो, “बाससम्मको व्यवस्था भयो भने मजदुरी गरेर खान्थ्यौँ ।” बाढीबाट विस्थापितमध्ये सुस्मा श्रेष्ठ तामाङकै घरमा शरण लिएर बस्दै आउनुभएको छ । सुस्मा ६ महिना र दुई वर्षका दुई छोरा लिएर तामाङको घरमा शरण लिएर बस्नुभएको छ । विस्थापित ३९ परिवारलाई त्रिपालको व्यवस्था ‘असल छिमेकी’ संस्थाले गराएको हो । उक्त टोलका अधिकांश परिवार बालुवा बोक्ने काम गर्दै आएका थिए ।
सुनसरी: सुनसरीको इटहरी उपमहानगरपलिका–६ पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट शुक्रबार एक साइकलयात्रीको मृत्यु भएको छ । इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश नं १–०२–००१ ख ९२९४ नम्बरको ट्रकले ठक्कर दिँदा भोजपुरको षडानन्द नगरपालिका–१४ का ४२ वर्षीय रामचन्द्र श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी इटहरी–४ स्थित दिदीको घरमा बस्दै आएका थिए । ट्रक चालक धरान–१३ का ४५ वर्षीय गोविन्दबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।