काठमाडौं:   पूर्व राष्ट्रपति विद्या भण्डारीले अब पुनस् एमालेमा रहेर पाटीको राजनीतिक यात्रालाई निरन्तरता दिने बताउनु भएको छ । मदन भण्डारी फाउन्डेशनले आज काठमाडौँमा गरेको कार्यक्रमा पूर्वराष्ट्रपति भण्डारल...

काठमाडौं:    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ ।  पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहितको तीन सदस्यीय कार्यदलले सिफारिस गरेका नामलाई अनुमोदन गरेसँगै केन्द्रीय कमिटीले पूर्णता पाएको हो ।       केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले आजको बैठकले दुई सय ५१ केन्द्रीय सदस्य मनोनित गरेको र अब १८ पदाधिकारी छनोट गरिने जानकारी दिनुभयो । गत असार १६ देखि २० गतेसम्म सम्पन्न महाधिवेशनले तीन पदाधिकारी र ९० केन्द्रीय सदस्य चयन गरेको थियो । अब केन्द्रीय कमिटी तीन सय ४४ सदस्यीय बनेको छ ।      पार्टीमा केन्द्रीय सदस्यका लागि आकांक्षी धेरै भएपछि नेताहरूको योगदान, कार्यक्षमता तथा भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर विधानअनुसार बनाइएको क्लष्टर तथा सातै प्रदेशबाट सिफारिस नामावलीका आधारमा कार्यदलले केन्द्रीय सदस्य तोकेको पाण्डेयले बताउनुभयो ।       आगामी बैठकबाट पदाधिकारी, विभाग र आयोग तथा नेताहरूको जिम्मेवारीसमेत बाँडफाँट गरिने जनाइएको छ ।  

इलाम:     इलाममा मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु भएको छ । अन्य दुई जना गम्भीर घाइते भएका छन् ।      झापाबाट माई नगरपालिकातर्फ आउँदै गरेको ना ४८ प ८६३८ नम्बरको मोटरसाइकल जिल्लाको माई नगरपालिका–२ स्थित सितली र नमस्ते चोक जोड्ने गरुवा खोला पुलमा आज साँझ ६ बजे अनियन्त्रित भई दुर्घटना भएको थियो ।       तीन जना सवार मोटरसाइकल दुर्घटनामा परी मोटरसाइकलको बीचमा सवार माई नरपालिका–१० गजेनी भञ्ज्याङका २६ वर्षीय दिनेश कार्कीको घटनास्थलमा नै मृत्यु भएको छ । अन्य दुई गम्भीर घाइते भएको स्थानीय लोदिया प्रहरी चौकी दानाबारीका हवल्दार सरोजकुमार यादवले जानकारी दिनुभयो ।       मोटरसाइकल चालक माई नगरपालिका–१० गजेनी भञ्ज्याङकै ३२ वर्षीय विनोद लिम्बू र पछाडि सवार सोही ठाउँका १६ वर्षीय रोशन लिम्बू गम्भीर घाइते भएका छन् । विनोदको टाउको र बाँयाँ खुट्टामा गम्भीर चोट लागेको छ भने रोशनको बायाँ हात र मुखमा चोट लागेको छ । उनीहरु दवैको झापाको विर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको यादवले जानकारी दिनुभयो ।      मोटरसाइकल लोदिया प्रहरी चौकीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले जनाइएको छ । 

काठमाडौं:     हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित छ । मनसुनको प्रभावले आज बिहान देशभर आंशिकदेखि साधारणतया बदली रही देशभर केही स्थानमा हल्का वर्षा भइरहेको छ ।       जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मधेस प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।       आज दिउँसो कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती र  गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

पोखरा:   नेपाल मगर पत्रकार संघ कास्कीको तेस्रो जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन भएको छ ।  नवनिर्वाचित कार्यसमितिलाई नेपाल मगर संघ कास्कीका अध्यक्ष राम थापामगरले प्रमाण पत्र वितरण गरे । भने, निर्वाचन मण्डलका संयोजक एमबी आस्थामगरले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए ।  साउन १५ गते सुरज थापा मगरको अध्यक्षतामा ११ सदस्यीय नेपाल मगर पत्रकार संघ कास्कीको कार्यसमिति सर्वसम्मत चयन भएको थियो । संघको उपाध्यक्षमा चेतबहादुर थापा (प्रविण), सचिवमा कविता घर्तीमगर, सहसचिवमा बलबहादुर रोकामगर र कोषाध्यक्षमा सुमन थापामगर चयन भए थिए ।  यस्तै सदस्यहरुमा दुर्गा रानामगर, आशामाया मगर, राकेश थापामगर, सोनु रानामगर, राज बुढामगर र जुना थापामगर चयन भएका थिए ।  मगर पत्रकार संघ कास्कीको पहिलो बैठकले गोविन्द सिङ्जाली मगर र गीता रानामगरलाई सदस्यमा मनोनित गरेको सचिव कविता घर्तीमगरले जानकारी दिईन् ।  मगर पत्रकार संघ कास्कीको पदस्थापन कार्यक्रममा बोल्दै नेपाल मगर संघ कास्कीका अध्यक्ष राम थापामगरले मगर संघ र पत्रकारहरुबीच सहकार्य गर्दै अगाडि बढ्ने बताए ।  ‘नेपाल मगर संघ र पत्रकार संघबीच सहकार्य गर्दै अगाडि बढ्न जरुरी छ’, थापाले भने, ‘मगर समुदायमा भाषा संस्कृति लोप हुँदै गएको छ यसको संरक्षणको लागि पनि मगर संघ र पत्रकारहरुबीच सहकार्य हुन जरुरी छ ।’  उनले यातायात व्यवसायीको आन्दोलनमा क्रममा पत्रकार बिनु थापामगर र सुरज थापामगर माथि सांघातिक रुपमा आक्रमण गर्ने जो भएपनि कारवाही गर्न माग गरे । कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकीका सचिव अर्जुन गाहामगर, मिना थापामगर, समाजसेवी तिलक तिवारी लगायतले बोलेका थिए । 

तनहुँ:     पछिल्लो छ वर्षको अवधिमा तनहुँमा चितुवाको आक्रमणबाट १४ जना बालबालिकाको मृत्यु भएको छ । गत साउन ३ गते राति बन्दीपुर गाउँपालिका–५ फलामडाँडामा चितुवाको आक्रमणबाट १३ वर्षीय बालकको मृत्यु भएसँगै चितुवाको आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको हो ।       घर नजिकै बसेका बेला राति चितुवाको आक्रमणबाट १३ वर्षीय सुन्दर अछामीको मृत्यु भएको थियो । चितुवाको आक्रमणबाट घाइते उनलाई बन्दीपुर अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो ।      बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले डेढ वर्षपछि बन्दीपुरमा पुनः चितुवा आक्रमण भएकाले स्थानीयवासी त्रसित बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय चितुवा आतङ्क थिएन, डेढ वर्षपछि पुनःआक्रमण भएर बच्चाको मृत्यु भयो । स्थानीयवासी त्रसित छन् ।” साँझ र रातिका बेला बालबालिकालाई एक्लै नछाड्न र घरबाहिर ननिस्किन सचेत गराइएको थापाको भनाइ छ ।       डिभिजन वन कार्यालय तनहुँका अनुसार चितुवाको आक्रमणबाट विसं २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, विसं २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका ४ वर्षीया रन्जिता लम्साल, मङ्सिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ, विसं २०७६ जेठ २४ गते भानु नगरपालिका–२ भकुण्डथोक निवासी नौ वर्षीया पुष्पा अधिकारी, असोज २१ गते भानु नगरपालिका–१ जामुनेगैह्राका चार वर्षीय आशिष बानियाँ र भानु नगरपालिका–२ फुस्रेटारमा सात वर्षीय ऋतिक रोकाको मृत्यु भएको थियो ।      त्यस्तै विसं २०७६ पुस १४ गते शुक्लागण्डकी नगरपालिका–३ रातमाटाका २२ महिनाका बालक रविन नेपाली, पुस २० गते आँबुखैरेनी गाउँपालिका–१ रानागाउँका ८ वर्षीय पुजन सिंजाली, माघ १३ गते बन्दीपुर गाउँपालिका–४ लोहीपाखाका १० वर्षीय इशक सुनार, विसं २०७७ साउन २२ गते शुक्लागण्डकी नगरपालिका–२ का डेढ वर्षीय नारायण रानाको चितुवाको आक्रमण मृत्यु भएको सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिनुभयो ।       यसैगरी विसं २०७९ जेठ ३१ गते बन्दीपुर गाउँपालिका–१ बोडीस्वाँराका पाँच वर्षीय सुपिम्र बगाले मगर, कात्तिक ४ गते बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा ११ वर्षीय विना चेपाङ र कात्तिक १५ व्यास नगरपालिका–१२ छिर्कनेमा पाँच वर्षीय अरविन कुँवरको मृत्यु भएको छ ।       चितुवाको आक्रमणबाट व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिकामा बालबालिकाको मृत्यु भएको छ ।       मृग, वन कुखुरालगायत वन्यजन्तु मानिसले शिकार गरिदिँदा वनमा शिकारको अभाव भई चितुवाले मानिसको शिकार गर्न थालेको सहायक वन अधिकृत पण्डितको भनाइ छ । चितुवाको आक्रमणबाट मृत्यु भएका प्रत्येकका परिवारलाई रु १० लाख राहत उपलब्ध गराउने प्रावधान रहेको छ ।       चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउन, एक्लै नहिँड्न आग्रह गरिएको छ । चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउने, झाडी सफा गर्न तथा बच्चा तथा वृद्धहरुको विशेष ख्याल र रेखदेख गर्न उहाँले आग्रह गर्नुभएको छ । 

काठमाडौं:      प्रत्येक वर्ष साउन कृष्ण चतुर्दशीका दिन नेवार समुदायमा मनाइने घण्टाकर्ण अर्थात गठामङ्गल पर्व आज भक्तपुरका नेवार समुदायले पनि भव्य र पृथक शैलीमा मनाएका छन् ।       नेवार समुदायले परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झना स्वरूप आज साँझ भक्तपुरका टोलटोलबाट हरियो नर्कट, निगालो र गहुँको छ्वालीबाट तीनखुट्टे राक्षसको रूप बनाएर टोलटोल घुमाउदै दोबाटो र चौबाटोमा पु¥याइ जलाएर पर्व मनाइएको हो ।           किंवदन्तीअनुसार प्राचीन समयमा नेपालमण्डलमा गठामङ्गल नाम गरेको एउटा दानव थियो । उसले सत्य वचन सुन्नुपर्ला भनेर सधैँ कानमा घण्टी झुन्ड्याएर हिँड्ने गथ्र्यो । त्यसपछि उसलाई घण्टाकर्ण भन्न थालियो । त्यसले दोबाटोमा ढुकेर बटुवासँग पैसा उठाउने र मन लागेको खानेकुरा खाने गथ्र्यो । उसको गतिविधिबाट मानिस आतङ्कित थिए । एकदिन घण्टाकर्ण मर्यो, ऊ मरेपछि खुसियाली मनाएसँगै यो पर्व मनाउने प्रचलन सुरू भएको जानकारहरू बताउँछन् ।       भक्तपुरको भेलुखेल र दत्तात्रयमा भने पृथकशैलीमा यो पर्व मनाउने परम्परा छ । निगालोको चोयाबाट पूर्ण राक्षर रूपी गठामङ्गल बनाइ बाहिर कपडाले मोडेर विभिन्न रङ्ग लगाइ टोलटोलमा घुमाएर जगातीमा बिसर्जन गरिन्छ । यो पृथक शैली भक्तपुरका भेलुखेल र दत्तात्रयमा मात्रै रहेको स्थानीय बाबुरत्न द्यौलाले जानकारी दिनुभयो ।       इतिहासविद् एवं संस्कृतविद् डा पुरुषोत्तमलोचन श्रेष्ठ सातौं शताब्दीदेखि चल्दै आएको यो परम्परा महादेवसँग जोडिएको बताउनुहुन्छ । महादेवलाई मन पराउने राक्षसको रूपमा गठामङ्गल वीर शैव सम्प्रदायअन्तर्गत रहेको उहाँको भनाइ छ ।  “आजको दिनलाई महादेव उत्पत्तिको दिनसमेत मानिने गरिन्छ । आजदेखि रोपाइँ सकेर रमाईलो गर्ने, चाँडबाडको परम्परा सुरू हुने दिनका रूपमा पनि मानिने गरिन्छ । आज केटाकेटीले बाटोमा डोरी टाँगेर पैसा (जगात्) माग्ने र साँझ राँको बाली उक्त राक्षसको प्रतीकलाई घिसार्दै जलाउने प्रचलन छ”, संस्कृतविद् डा श्रेष्ठले भन्नुभयो ।       गोपाल वंशावलीअनुसार गठामङ्गललाई सत्य, रज र तम गुण मानेर भैरवको प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन छ भने टोलटोमा राँको बालेको छ्वालीको आगोमा बालबालिकालाई सेकाएर रोगव्याधी नाश हुने र भूतप्रेतले नछुने जनविश्वास रहेको संस्कृतकर्मी रामेश्वर वैद्य बताउनुहुन्छ ।  भक्तपुरमा यौनसँग पनि यसलाई दाज्ने गरिन्छ । राक्षस रूपी गठामङ्गललाई शरीरको रूप दिएर परालको लिङ्ग बनाइ दुई वटा भोगटेको अण्डकोष बनाएर अश्लील गीतहरु गाउँदै चोकचोकबाट निकालेर दोबाटो चौबाटोमा लगेर जलाएर भष्म गर्ने परम्परा वर्षौदेखि चल्दै आएको उहाँ बताउनुहुन्छ ।       यहाँका बासिन्दाले राँको बालेर भूत भगाउँने भन्दै पुत्लाका रूपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पुर्याउछन् । अश्लील गाली र गीत गाउँदै मनोरञ्जन गरेर घण्टाकर्ण राक्षसलाई जलाइन्छ । परम्परादेखि नै यो पर्व मनाउँदा अश्लील शब्द प्रयोग गर्ने छुट रहेको संस्कृतकर्मी वैद्यको भनाइ छ ।       घण्टाकर्णको दाहसंस्कार गरी फर्किदा बाटोमा पर्ने धारा, ढुङ्गेधारा, कुँवा, पोखरी, इनार आदिमा पुगेर चोखिने प्रचलन रहेको छ । फर्केर घर पुगेपछि छ्वाली बालेर धुवाले घर सेक्ने र घरको ढोकामा किला ठोकेर सम्हेबजी खाने प्रचलन छ ।       आजकै दिनदेखि नेवारी समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउन सुरू गरिन्छ । गाईजात्राका बेला प्रदर्शन गरिने भैरवलगायतका विभिन्न नाच, व्यङ्ग्यात्मक नाटकको प्रशिक्षण पनि आजैबाट गरिन्छ । यहाँको नवदुर्गा नाचका लागि आजकै दिनदेखि मुखुण्डो बनाउने कार्य सुरू हुन्छ ।    शक्तिपीठमा घुइँचो         यसैगरी भक्तपुरका विभिन्न शक्तिपीठहरूमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । साउन शुक्ल चतुर्दशीका दिन मनाइने घण्टाकर्ण अर्थात गठामङ्गल पर्वको अवसरमा आज बिहानैदेखि विभिन्न शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको थियो ।      नेवार समुदायले आज बिहानै स्नान गरी शुद्ध भएर घरघरमा लिपपोत गर्ने, विभिन्न शक्तिपीठको दर्शन गरी त्यहाँबाट ल्याएको जल घरघरमा छर्कने प्रचलन रहँदै आएको छ । नेवार समुदायले रोपाइँ सकिएको पर्वको रूपमा पनि गठमङ्गललाई ‘सिनाज्या ब्यंकेगु’ अर्थात् रोपाइँ सकिएको पर्वको रूपमा पनि मनाउने प्रचलन छ । आज फलामको औँठी लगाउने प्रचलन पनि छ ।

काठमाडौं:   काठमाडौं  महानगरपालिका-९ शम्भुमार्गस्थित एक गेष्टहाउसमा एक महिला र एक पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।       जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बाजुरा त्रिवेणी नगरपालिका–४ का २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी अन्दाजी १९÷२० वर्षीया करिश्मा सार्की मृत अवस्थामा फेला परेको जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, “उनीहरु यही साउन १५ गतेदेखि उक्त गेष्ट हाउसमा बस्दै आएको र आज दिउँसो १२ बजेसम्म खाना खानका लागि बोलाउँन जाँदा ढोका नखोलेपछि दिउँसो १ बजे प्रहरीलाई खबर गरिएको जानकारी प्राप्त भएको छ  ।” प्रहरीले गेष्टहाउसको ढोका खोली हेर्दा महिला घाटी काटिएको र पुरुष पङ्खामा डोरीले पासो लगाई झुन्डिएको अवस्थामा फेला पारेको थियो ।  घटनाका विषयमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ भने शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । 

धनगढी:   कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले नरभक्षी बाघलाई नियन्त्रणमा लिएको छ ।   बुधबारदेखि कञ्चनपुरको दोधारा चाँदनीमा देखिएको बाघलाई आज बिहान बेहोस गर्ने इन्जेक्सन (डार्ट) गरी नियन्त्रणमा लिइएको हो ।   नेपाल आर्मीका मेजर नवीन बोहराका अनुसार नियन्त्रणमा लिइएको उक्त बाघलाई अहिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा लगिएको छ ।   बिहीबार मात्रै सो बाघको आक्रमणमा परी दोधारा चाँदनी नगरपालिका –२ की २३ वर्षीय हिरा शाहको मृत्यु भएको थियो ।   धान खेतमा काम गरिरहेकी उनको शव नजिकैको उखुबारीमा फेला परेको थियो ।  

काठमाडौं:    सरकारले मत्स्येन्द्रनाथको भोटो देखाउने दिन यही साउन २० गते आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।       त्यस दिन काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा आज जारी सूचनामा उल्लेख छ  । सरकारले परम्परागत रुपमै भोटो देखाउने जात्राका अवसरमा प्रत्येक वर्ष उपत्यकामा सार्वजनिक बिदा दिँदै आएको छ ।