बैतडी: बैतडीमा सर्पले डस्दा तीन घाइते भएका छन् । जिल्लाका छुट्टाछुट्टै स्थानमा सर्पले डस्दा तीन जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो । जिल्लाको दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिकाका एक÷एक जना सर्पको डसाइबाट घाइते भएका हुन् । बुधबार जिल्लाको दशरथचन्द नगरपालिका–२ मगराउँकी ३५ वर्षीया भावना बोहरा, मेलौली नगरपालिका–३ बागगोठका १८ वर्षीय धीरेन्द्र ठगुन्ना र पञ्चेश्वर गाउँपालिका–४ विनायककी ३० वर्षीया धौली चन्द सर्पले डस्दा घाइते भएका हुन् । बोहरालाई घर नजिकैको मकैबारीमा घाँस काटिरहेका बेला सर्पले डसेको थियो । उनी जिल्ला अस्पताल बैतडीमा उपचार गरेर घर फर्किसकेकी छन् । मेलौली नगरपालिका–३ बागगोठका ठगुन्नालाई बाटोमा हिँडिरहेका बेला बुधबार दिउँसो सर्पले डसेको थियो । पञ्चेश्वर गाउँपालिका–४ विनायककी चन्दलाई खेतबारीमा घाँस काटिरहेका बेला सर्पले डसेको थियो । ठगुन्ना र चन्द दुवै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्थामा सामान्य रहेको प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयो ।
गोरखा: गोरखामा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । गोरखा नगरपालिका–६, पाटेचौरस्थित निर्माणाधीन घरको छतमा रेलिङ राख्ने क्रममा करेन्ट लागेर गोरखा नगरपालिका–९ लक्ष्मीबजार घर भएका २४ वर्षीय सुनील मगरको मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते हुनुभएका मगरको तत्काल उद्धार गरी गोरखा अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि भरतपुर मेडिकल कलेजमा पु¥याइएको थियो । उहाँका उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक ९डिएसपी०रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । करेन्ट लागेसँगै काम गरिरहेका भारत घर भई गोरखा नगरपालिका–८, पेट्रोल पम्प बस्दै आएका २८ वर्षीय अर्मन खान घाइते हुनुभएको छ । उहाँको एपोलो अस्पतालमा उपचार भइरहेको डिएसपी श्रेष्ठले बताउनुभयो । छतमा काम गरिरहेका बेला फलामको रडले नजिकै रहेको बिजुलीको नाङ्गो तारमा छोइन पुग्दा दुवैलाई करेन्ट लागेको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: नेपाल सरकारले शर्तसहित सामाजिक सञ्जाल ‘टिकटक’ खोल्न दिने निर्णय गरेको छ । नेपाल सरकार (मन्त्रिपरिषद् को आज बसेको बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । सबै सामाजिक सञ्जाललाई समान व्यवहार गर्न र आवश्यक नियम, कानुन बनाउन गत साउन २४ गते सञ्चारमन्त्री, सचिव र नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको निर्देशनका आधारमा सञ्चार मन्त्रालयले उक्त प्रस्ताव तयार गरेको थियो । टिकटकको प्रयोग गरेर बिकृती बढाएको भनी टिप्पणी भएपछि तत्कालीन सरकारले गत कत्तिक २७ गते टिकटिकमाथि प्रतिबन्ध लगाएको थियो ।
तनहुँ: पृथ्वीराजमार्गअन्तर्गत तनहुँको घाँसीकुवा–डुम्रे सडकखण्ड २४ घण्टापछि सञ्चालनमा आएको छ । व्यास नगरपालिका–१२ घाँसीकुवामा बुधबार साँझ ५ बजे गएको पहिरो आज साँझ हटाइएपछि उक्त खण्ड एकतर्फी सञ्चालनमा आएको हो । सडकमाथिको डाँडा खसेर उक्त खण्डअवरुद्ध भएकामा आज बिहान ८ बजेदेखि पहिरो हटाउने काम सुरु गरिएको थियो । निर्माणाधीन मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)को सहयोगमा पहिरा हटाएर राजमार्ग पुनःसञ्चालन गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो । दुईतर्फी बाटो सञ्चालन गराउनका लागि काम भइरहेको उहाँले बताउनुभयो । निर्माणाधीन सो सडक विस्तारका क्रममा डाँडा खार्ने काम हुँदा यो क्षेत्रमा पहिराको जोखिम रहँदै आएको छ । पहिरोका कारण लामो समयसम्म सडक अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको थियो । पृथ्वी राजमार्ग भएर यात्रा गर्नेलाई दमौली हुँदै घाँसीकुँवा निस्कन तालघरे, दरैपधेँरा हुँदै घाँसीकुवाको बाटो प्रयोग गराइएको थियो ।
काठमाडौं: सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह गरेको छ । अर्थ मन्त्रालयले ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्दै चिनियाँ पक्षलाई पत्र लेखेको छ । अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले सो पत्र चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेईकुनलाई हस्तान्तरण गर्नुभएको हो । पत्र हस्तान्तरण गर्नु अघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चीन नेपालको असल छिमेकी भएको र नेपालको अर्थतन्त्रको अवस्थालाई विशेष ध्यान दिँदै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा बदल्न चिनियाँ पक्षलाई आग्रह गर्नु भएको थियो । उहाँले नेपाल सरकारले गरेको आग्रह चिनियाँ पक्षबाट पूरा हुने विश्वास व्यक्त गर्नभुयो । सो अवसरमा अर्थ सचिव डा रामप्रसाद घिमिरे, नेपालका लागि चीनका राजदूत चेन सोङलगायत उपस्थित हुनुहुन्थ्यो । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि नेपाल सरकारले चीनको एक्जिम बैंकबाट करिब हालको विनिमय दरअनुसार करिब रु २५ अर्ब ८८ करोड ऋण लिने सम्झौता गरेको थियो । विसं २०७२ चैत ८ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ऋण सम्झौता भइ २०७३ साल पुस २७ गतेबाट निर्माण सुरु भएको थियो । विसं २०७९ पुस १७ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिएको थियो । कार्यक्रममा काठमाडौँ चक्रपथको कलङ्कीदेखि बसुन्धरा महाराजगञ्जसम्मको आठ दशमलव दुई किलोमिटर सडक निर्माण, हिल्सा–सिमिकोट सडक खण्डलाई दुई लेनमा स्तरोन्नति, मुस्ताङको कोरला नाकामा आइसिपी र आइसिडी निर्माण र अरनिको राजमार्गको मर्मत सुधार तथा पहिरो नियन्त्रणसम्बन्धी कार्यको सम्भाव्यता अध्ययनसम्बन्धी चारवटा छुट्टाछुट्टै सहयोग आदान प्रदानसम्बन्धी पत्रमा हस्ताक्षर भयो । सरकारको तर्फबाट अर्थ सचिव डा घिमिरेले र चीनको तर्फबाट चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेइहुनले हस्ताक्षर गर्नुभयो । अर्थ मन्त्री पौडेलले वीर अस्पतालको पूर्वाधार निर्माण, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पूर्वाधार निर्माणको सम्भाव्यता अध्ययन गरी डिपिआर तयार तथा पूर्वाधार निर्माण लगायतमा चीन सरकारको सहयोगका लागि अनुरोध गर्नु भयो । उपाध्यक्ष याङ वेइहुनले नेपाल सरकारको तर्फबाट अनुरोध प्राप्त भइसकेको र यसलाई चिनियाँ पक्षले अध्ययन गरी थप प्रक्रिया अगाडि बढाउने जानकारी दिनु भएको थियो ।
काठमाडौं: परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आफ्नो भारत भ्रमणले नेपाल र भातरबीचको आपसी सद्भाव अभिबृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको बताउनुभएको छ । भारतको चार दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले यस भ्रमणबाट दुई मुलुकका बीचमा रही आएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ट सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप मजबुत तुल्याउन योगदान गरेको बताउनुभयो । मन्त्री डा राणाले भन्नुभयो, “भ्रमणले आगामी दिनमा उच्चस्तर एवं विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा द्विपक्षीय संयन्त्रहरु समेतका माध्यमबाट आपसी हितका लागि सहयोग र सहकार्य प्रबद्र्धन गर्न मार्गदर्शन समेत गरेको मैले विश्वास लिएको छु ।” उहाँले भारतका विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा गत आइतबार नयाँ दिल्ली गएको र दुई देशको उच्चस्तरीय भ्रमण आदानप्रदानको कार्यक्रमअनुसार नै यो भ्रमण भएको बताउनुभयो । उहाँले भारतका प्रधानमन्त्री र विदेशमन्त्रीसँग सौहार्दपूर्ण रुपमा भेटवार्ता भएको तथा ती भेटमा नेपालको हित र चासोका साथै आपसी हितका विविध विषयहरुमा कुराकानी भएको जानकारी दिनुभयो । भ्रमणकाक्रममा सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नयाँ दिल्लीमा शिष्टाचार भेट भएको र नेपाल र भारतबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ तुल्याउने एवं आपसी हितका विषयमा विद्यमान सहकार्य विस्तार गर्ने वषयमा विचारको आदानप्रदान भएको उहाँले जानकारी दिनुभयो । साथै त्यसअवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भारतका प्रधानमन्त्री मोदीलाई नेपालको राजकीय भ्रमणको निमन्त्रणा पत्र पनि हस्तान्तरण गरेको मन्त्री डा राणाले बताउनुभयो । सोही दिन मन्त्री डा राणाले भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करसँग पनि भेटवार्ता गर्नुभएको थियो । सो भेटवार्तामा द्विपक्षीय सम्बन्ध र आपसी हितका साथै ऊर्जा, व्यापार तथा पारवहन, कनेक्टिभिटी, लगानी, हवाईमार्ग, पूर्वाधार निर्माण, बाढी तथा डुबान समस्या, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, खेलकूद, सीमा पूर्वाधारलगायत सहयोग आदानप्रदान र सहकार्यबारे छलफल भएको उहाँले जानकरी दिनुभयो । यो उहाँ परराष्ट्रमन्त्री नियुक्त भएपछिको पहिलो विदेश भ्रमण हो । मन्त्री डा राणा आज नियमित उडानबाट अपराह्न ४ बजे काठमाडौँ आइपुग्नुभएको हो ।
काठमाडौं: बंगलादेशलाई हराउँदै नेपाल समूह विजेताको रुपमा साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले २–१ को जित दर्ता गरेको हो । एन्फा कम्प्लेक्समा सम्पन्न पहिलो हाफमै नेपालले २–१ को अग्रता लिएको थियो । २ मिनेटको अन्तरमा नेपालका लागि समिर तामाङ र निराजन धामीले गोल गरेका हुन् । हाफको अन्त्यतिर बंगलादेशले पेनाल्टीमा गोल गर्दै खेलमा फर्कने संकेत दियो । खेलको १७ औं मिनेटमा नेपालले अग्रता लियो । बंगलादेशका गोलरक्षक मेहेदी हसन स्रबनले आफ्नो हाफको मध्य भागमा समिर तामाङको दबाबमा बल फुस्काए । समिरले त्यसपछि बल अघि बढाउँदै खाली पोस्टमा गोल गरे । त्यसको दुई मिनेटपछि नै नेपालले अग्रता दोब्बर पार्यो । अभिनाश स्याङतानले दायाँ विगंबाट दिएको क्रसलाई निराजन धामीले पहिलो टचमै गोल गरे । ४३ औं मिनेटमा बंगलादेशका लागि मिराजुल इस्लामले पेनाल्टीमा गोल गरे । राम थापाले पेनाल्टी क्षेत्रभित्र मिराजुललाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । दोस्रो हाफमा दुवै टोलीले पाएको अवसर सदुपयोग गर्न सकेनन् । बंगलादेशले तुलनात्मक रुपमा बढी अवसर सिर्जना गरेपनि गोल गर्न सकेन । इन्ज्युरी समयको अन्तिम मिनेटमा गोलरक्षक जियारत शेखले फ्रिकिकमा आएको हेडरमा सानदार बचाउ गर्दै नेपालको जित पक्का गरे । यससँगै नेपालको २ खेलमा ६ अंक भएको छ । बंगलादेश ३ अंकका साथ उपविजेता बन्दा श्रीलंका अंकविहिन रहँदै बाहिरियो । समूह बी मा भारत र भुटानको समान ३(३ अंक छ । भारतले शुक्रबार समूहको अन्तिम खेलमा माल्दिभ्सको सामना गर्नेछ ।
काठमाडौं: संक्रणकालीन न्यायसम्वन्धी विधेयक (टीआरसी) संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाबाट पनि पारित भएको छ। आज बसेको राष्ट्रियसभाको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो । यसअघि उक्त विधेयक प्रतिनिधि सभाबाट पारित भएको थियो । लगत्तै माथिल्लो सदन राष्ट्रिय सभामा पेस भएको थियो । दुवै सदनबाट पारित भएपछि अव राष्ट्रपतिबाट प्रमाणीकरण हुँदै लागू हुनेछ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणको ‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’को बक्यौता एक रुपैयाँ नछाडेर उठाउने स्पष्ट गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “बक्यौता उठाइन्छ, छोडिँदैन, तर उद्योग बन्द गरेर होइन सञ्चालन नै गरेर उठाइन्छ । विगतमा किन समयमै महसुल उठाइएन, किन लाइन काटियो र किन फेरि लाइन जोडियो भन्ने प्रश्न सम्बन्धित निकायसँग जोडिन्छ । यसमा सरकार स्पष्ट छ, लाइन बन्द नगरी बक्यौता उठाइनेछ ।” उहाँले सरकार र प्राधिकरणबीच कुनै मतभेद नभएको पनि स्पष्ट गर्नुभयो । उहाँले यस विषयमा अहिले सामाजिक सञ्जाल र कतिपय मिडियामा आधारहीनप्रचार भइरहेको उल्लेख गर्दै विद्युत् प्राधिकरणले महसुल उठाउन खोजेको र सरकारले मिनाहा गरेको भन्दै झुठो प्रचार अर्थहीन भएको टिप्पणी गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “उद्योग नै बन्द हुँदा बक्यौता उठ्ने आधार पनि बन्द हुन्छ, रोजगारी बन्द हुन्छ, उत्पादन पनि घट्छ, व्यापार घाटा बढ्छ । बक्यौता उठाउन पनि त उद्योग चलाउनै पर्छ । औद्योगिक ग्राहकसँग लिनुपर्ने खपत अनुसारको महसुल मिनाहा गरिएको भन्ने झुठो सूचनाको पछि नलाग्न म सबैलाई आग्रह गर्छु । खपतअनुसारको महसुल उठाएरै छोडिन्छ ।”