पोखरा: पोखरामा आज बिहान स्कुटर दुर्घटना हुँदा पर्वत घर भएका सुसान गुरुङको मृत्यु भएको छ । पोखरा महानगरपालिका– ८ सभागृह चोकबाट सृजनाचोकतर्फ आउँदै गरेको ग २१ प ५४५० नम्बरको स्कुटर आकाशे पुलको पोलमा ठोक्किन जाँदा गम्भिर घाइते भएका गुरुङको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पोलमा ठोक्किएर गम्भिर घाइते भएका गुरुङको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पर्वतको पैयू गाउँपालिका ७ घर भएका गुरुङ पोखराको धौलागिरी दोहारी साँझ पोखराका व्यवस्थापक रुपमा रहेका थिए । यता पोखरा लोक दोहोरी रेष्टुरेण्ट व्यवसायी संघले गुरुङको निधनप्रति शोक व्यक्त गरेको छ । संघले आज पोखराका सबै लोक दोहोरी रेष्टरेण्ट बन्द रहने समेत जनाएको छ ।
तनहुँ: तनहुँको आँबुखैरेनीमा शुक्रबार बिहान भएको भारतीय बस दुर्घटनामा मृत्यु हुनेको संख्या २१ पुगेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपककुमार रायका अनुसार २१ जनाको मृत्यु भएको हो। बसमा चालक र सहचालकसहित ४३ जना भारतीय यात्रु सवार थिए। मृतकको शव नेपालस्थित भारतीय दूतावासको टोलीले बुझेर पोखरा लगेको छ । आँबुखैरेनी अस्पतालमा चार वटा मात्रै शव राख्ने क्षमता भएकाले दूतावासले सबै शव पोखरा लगेको प्रहरीले जनाएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय यात्रु बोकेको युपी ५३ एफटी ७६२३ नम्बरको बस मस्याङ्दी नदीमा खसेको हो। बसमा सवार यात्रु सबै भारतको महाराष्ट्रका भएको खुलेको छ। घाइतेमध्ये १८ जनालाई उपचारका लागि तनहुँ जिल्लाको आँबुखैरेनी अस्पतालमा लगिएको छ। ११ जना गम्भीर घाइतेलाई काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ। यात्रुको उद्धारका लागि १० जनाको गोताखोर टोली घट्नास्थलमा परिचालन भएको छ। अप्ठ्यारो भीर भएका कारण घाइतेको उद्धारमा कठिनाइ भएको प्रहरीले बताएको छ। घटनास्थलबाट बसमा सवार ४३ यात्रुकै उद्धार भइसकेको डिएसपी रायको भनाइ छ । घाइतेको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएको छ। बस शुक्रबार बिहान ११ः३० बजेतिर बाटोबाट करिब डेढ सय मिटर तल नदीमा खसेको हो।
पोखरा: पोखराको रोलिङ स्टोन बारमा आज पूर्ण राई एण्ड दाजुभाईको कन्सर्ट हुने भएको छ । भिजुअल जोनको आयोजनामा रोलिङ स्टोन्स बारमा आज बेलुकी ८ बजेदेखि साढे १२ बजेसम्म कन्सर्ट हुने आयोजक कमिटीका सदस्री सन्तोष श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रवेश शुल्क नगद रु १ हजार २ सय ५० निर्धारण गरिएको छ । पूर्ण राई एण्ड दाजुभाईले यस अघि अस्ट्रेलियामा सांगीतिक प्रस्तुति दिएको थिए।
पोखरा: पोखरामा आज दिउँसो स्कुल बस दुर्घटना हुँदा चालक घाइते भएका छन् । पोखरा महानगरपालिका–१७ घारीपाटनस्थित हिमालय आँखा अस्पतालको भित्री सडक खण्डमा ग१ क ४६६१ नम्बरको स्कुल बस दुर्घटना हुदा बस चालक घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बस दुर्घटना हुँदा बस चालक स्याङ्जाको भिरकोट नगरपालिका–२ बयरघारी घर भई पोखरा–९ कृष्ण टोल बस्ने ५४ वर्षीय दलबहादुर गुरुङ घाइते भएका छन् । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते चालको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । चालकले नियन्त्रण गुमाउँदा नागढुङ्गास्थित न्यू मोडल सेकेण्डरी स्कुलको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा २० जना विद्यार्थीहरु सकुशल रहेको बताइएको छ । बस दुर्घटना हुँदा पार्किङमा राखिएका ग १ ज २९३४, ग १ ज २२४१ र ग १ ज ४१८० नम्बरको ट्याक्सीमा क्षति पुगेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: पोखरा टेलिभिजन र कृषि विकास निर्देशनालय पोखराको संयुक्त आयोजनामा आयोजित सातौं कृषि तीज गीत प्रतियोगिताको ग्राण्ड फिनाले भाद्र १४ गते पोखरामा हुने भएको छ । गण्डकी प्रदेशका ११ जिल्लाबाट कृषि ज्ञानकेन्द्रले पठाएको जिल्लाको उत्कृष्ट टिमहरु विच पोखरा उद्योग बाणिज्य संघको सभाहलमा ग्राण्ड फिनाले हुने भएको हो । प्रदेश स्तरीय प्रतियोगितामा प्रथम हुने जिल्लाले नगद ३५ हजार साथमा प्रमाण पत्र र दित्तिय हुने जिल्लाले २० हजार नगद र प्रमाण पत्र तृतीय हुनेले १० हजार र सान्तवनाले नगद पाँच हजार सहित प्रमाण पत्र प्राप्त गर्ने कार्यक्रम संयोजक घनश्याम पाण्डेयले बताए । कल्चर र एग्रिकल्चर संगसंगै अगाडि बढाउने उद्देश्य सहित अहिले आफुहरु सातौं संस्करण सम्म आइपुगेको पाण्डेले बताए । कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरूको गीत मार्फत प्रचार प्रसारमा योगदान पु¥याउन प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताले कृषिको महत्व र यसको विविध पक्षहरूको बारेमा जनमानसलाई थप जानकारी दिन मद्दत गर्ने विश्वास गरिएको छ । किसानहरूको सफलतासँग सम्बन्धित प्रतियोगिताले अन्य किसानहरूलाई प्रेरितसँगै यसले नयाँ विधिहरू अपनाउन र कृषि उत्पादनमा सुधार ल्याउन उत्प्रेरित गर्ने कृषि विकास निर्देशनालयका महानिर्देशक बासुदेव रेग्मीले बताए । अहिले जिल्ला जिल्लामा टिम छनोट भइरहेको कृषि विकास निर्देशनालयका कृषि प्रसार अधिकृत विनोद शर्माले जानकारी दिए । कृषि गीत प्रतियोगिताले जिल्ला जिल्लामा कृषक समुहहरुमा उत्साह थपेको उनको भनाई छ । प्रतियोगिता सन्देश मुलक हुने भएकोले पनि जिल्लामा धेरै मेहनत गरेर टिम छनोट भइरहेको बताए ।
काठमाडौं: नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने स्पोर्टस अवार्डअन्र्गत पिपल्स च्वाइसमा विभिन्न विधाका पाँच खेलाडी मनोनयनमा परेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य गुल्शन झा, राष्ट्रिय भलिबल महिला खेलाडी कविता भटृ, कबड्डीकी मानमति विष्ट, राष्ट्रिय फुटबल खेलाडी प्रीति राई र रग्बी खेलका श्रीराम श्रेष्ठ मनोनयनमा परेका हुन् । यस्तो छ खेलाडीको विगत सोह्र वर्षे उमेरमा सिनियर राष्ट्रिय टोलीबाट डेब्यु गरेका गुल्शनले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा उत्कृष्ट खेल प्रर्दशन गर्दै आएका छन् । आइसिसी एसिया टि ट्वान्टी विश्वकप एसिया छनोटको फाइनल ओमानविरुद्धको खेलमा उनले उत्कृष्ट खेल प्रर्दशन गरेका थिए । त्यतिबेला गुल्शनले २५ बलमा पाँच चौका र चार छक्का प्रहार गरी सर्वाधिक ५४ रन बनाएका थिए । सर्लाही मलंगवामा जन्मिएका गुलशनले ३२ ट्वान्टी ट्वान्टी र २७ एकदिवसीय अन्तराष्ट्रिय खेल खेलिसकेका छन् । देब्रेहाते ब्याटर एवम दाहिने हाते बलर झा नेपाल पुलिस क्लबमा आबद्ध छन् । यसैगरी राष्ट्रिय महिला भलिबल टोलीकी नियमित सदस्य भट्ट सहभागी काभा महिला नेसन्स लिग–२०२४ मा नेपाल उपपविजेता बन्दा महत्वपूर्ण योगदान दिएकी थिइन् । त्यस्तै उनी चीनमा भएको १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी भएकी थिइन् । त्यसैगरी नेपालमा नै आयोजना भएको १६औँ ढोरपाटन डबल लिग भलिबल २०८०, चौथो टाइगर कप २०८० लगायतको विभिन्न प्रतियोगिताको उपाधि एपिएफले जित्दा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन । डडेलधुरामा जम्मिएकी भट्ट हाल एपिएफ क्लबमा आबद्ध छिन् । सोह्र वर्षको उमेरमा राष्ट्रिय टोलीबाट डेब्यु गरेकी राईले अन्तराष्ट्रिय प्रतियोगितामा नेपालले सहभागिता जनाउदाँ महत्वपूर्ण योगदान गरेकी छन् । साउदी अरेबियामा भएको आठौ वाफ वुमेन्स च्याम्पियनसिपमा नेपाल उपविजेता हुँदा उनको खेल प्रर्दशन उत्कृष्ट रहेको थियो । त्यस्तै यु–१५, यु– १८ र यु–२० नेपाली राष्ट्रिय टोलीमा कप्तानको भूमिका निर्वाह गरेकी उनले विभिन्न प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गरेकी छन् । सोलुखुम्बुमा जन्मिएकी उनी एपिएफ क्बलमा आबद्ध छिन् । यसैगरी नेपालमा आधुनिक रग्बी खेल सुरु गर्दादेखि नै महत्वपूर्ण योगदान दिएको रग्बी खेलाडी श्रीरामले चीनमा भएको १९औँ एयिसाली खेलकुद प्रतियोगितामा सहभागिता जनाएका थिए । यसैगरी भारतको चेन्नईमा सन् २०१५ मा भएको ओलम्पिक छनोटमा सहभागिता जनाएका उनले २०१६ मा चेन्नईमा नै भएको एसियन रग्बी सेभेन्स, २०१७ मा कतारमा भएको एसियन रग्बी सेभेन्स र सन् २०१८ मा सिङ्गापुरमा भएको एसियन रग्बी सेभेन्समा सहभागिता जनाएका थिए । उनले सन २०२२ मा भारतमा भएको विश्व रग्बी फिप्टिन्स डिभिजन ३ मा कप्तानीको भूमिका निर्वाह गरेका थिए । उक्त प्रतियोगिता रग्बी खेलको डिभिजन ३ मा नेपाल पहिलो पटक प्रवेश गरेको थियो । उनी काभ्रेमा जन्मिएका हुन् । भीमदत्त नगरपालिका–३ कञ्चनपुरमा जन्मिएकी मानमतिले चीनको हाङझावमा भएको १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाललाई कास्य पदक दिलाएकी थिइन् । त्यसैगरी काठमाडौँमा नै भएको १३औँ सागमा कबड्डी खेलबाट रजत पदक जितेकी थिएन् । उनी नेपाल पुलिस क्लबमा आबद्ध छिन् । मनोनित हुने उक्त पाँच जना खेलाडीमध्ये एक जना खेलाडीले पिपल्स च्वाइस अवार्डको उपाधि जित्नेछन् । पिपल्स च्वाइस विजेतालाई नेपाल खेलकुद पत्रकार मञ्चमा आबद्ध खेलपत्रकार, राष्ट्रिय प्रशिक्षक, समर्थक र इ सेवाको भोटिङमार्फत मत दिन पाइनेछ । यसमा इ सेवाको मतभार ५० प्रतिशत हुनेछ भने सामाजिक सञ्चाल फेसबुक मतभार–२५ प्रतिशत, नेपाल ओलम्पिक कमिटिमा आबद्ध राष्ट्रिय खेल सङ्घका मुख्य प्रशिक्षकको मतभार १२ दशमलव प्रतिशत तथा नेपाल खेलकुद पत्रकार मञ्चका सदस्यको मतभार १२ दशमलव ५ प्रतिशत रहने आयोजक मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले जानकारी दिनुभयो । उक्त विधाका विजेताले पल्सरको एनएस चार सय सिरिज मोटरसाइकल प्राप्त गर्नेछ ।
मुस्ताङ: मुस्ताङको साङ गाउँपालिका–२ कोवाङमाथि धौलागिरी आइसफल नजिकै हिमपहिरो खसेको छ । हिमपहिरोले बोक्से खोला थुनिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए। दुई घण्टा पहिले बोक्सेखोला थुनिएपछि निरीक्षणमा पुग्दा हिमपहिरो खसेको फेला परेको प्रमुख जिल्ला अधिकारी पन्तको भनाइ छ। ‘तल खोला बन्द भाको कारणले के कारणले बन्द भयो भनेर आउँदा माथि हिमपहिरो खसेको रहेछ’, उनले भने। हिमपहिरो खसेकै ठाउँमा भने पुग्न नसकेको उनले सुनाए। हिमपहिरो खसेपछि बोक्से खोलाको तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी पन्तले बताए। पहिरोस्थल जोमसोमबाट झन्डै १७ किलोमिटर पर रहेको उनले जानकारी दिए।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बङ्गलादेशबाट फर्केका मेडिकल विद्यार्थीलाई नेपालमा इन्टर्नको व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । केही समयअघि बङ्गलादेशमा आएको असहज परिस्थितिका कारण स्वदेश फर्केका विद्यार्थीसँग आज भएको भेटमा अध्यक्ष दाहालले विशेष परिस्थितिका कारण एकपटकका लागि नेपालमा इन्टर्नको व्यवस्था गर्न सकिने भएकाले आफूले सरकारसँग छलफल गर्ने बताउनुभयो । उहाँले यसबारेमा सरकारसँग छलफल गर्ने र विशेष परिस्थितिका कारण एकपटकलाई मुलुकमै इन्टर्नको व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । भेटमा विद्यार्थीहरुले बङ्गलादेशमा असहज अवस्था आएपछि इन्टर्न छाडेर आएको र विशेष परिस्थितिमा नेपालमा इन्टर्न गर्न पाउने कानुनी व्यवस्था रहेकाले त्यसका लागि पहल गरिदिन आग्रह गरेका थिए । सोही क्रममा अध्यक्ष दाहालले मेडिकल काउन्सिलका रजिस्ट्रार सतिशकुमार देवलाई फोन गरी सोसम्बन्धमा जानकारी लिनुभएको थियो । रजिस्ट्रार देवले शिक्षा, परराष्ट्र र स्वास्थ्य मन्त्रालयले विशेष परिस्थितिका कारण एकपटकका लागि इन्टर्न गर्न दिने निर्णय गरिसकेको उल्लेख गर्दै र मन्त्रिपरिषद्बाट निर्णय भएको खण्डमा यो व्यवस्था मिलाउन सकिने जानकारी गराउनुभएको थियो ।
म्याग्दी: परम्परादेखि भेडा पाल्दै आएका बागलुङको तमानखोला गाउँपालिका–५ खुङखानीका ७२ वर्षीय रनबहादुर विकले भेडाबाख्राको संख्या घटाउदै जानु भएको छ । पूर्वी रुकुम, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटन शिकार आरक्षको गर्पाछोडाको बुकी पाटनमा गत साउन अन्तिम साता भेटिएका विकले ३२ वर्र्षदेखि पाल्दै आएको भेडाको गोठ बेच्ने योजना रहेको जानकारी दिनुभयो । “पहिले एक सय भेडाबाख्रासँगै आठ/दश वटा गाईभैँसीको गोठ लिएर बुकी र बेशी गर्दथे । गाईभैँसी बेचेर सकिए । ४० भेडाबाख्रा छन,” उहाँले भन्नुभयो “छोराछोरीले यो पेशा रोजेनन् । विदेश तिर लागे । बढ्दो बुढ्यौलीसँगै हिडडुल गर्न गाहे हुन थालेकाले म पनि भएका भेडाबाख्रा बेचेर विश्राम लिने योजनामा छु ।” ढोरपाटनका ७४ वर्षीय लक्षुमन थापाले पनि भएका भैँसीहरु छोराछोरीलाई दिएर आउँदो वर्षदेखि बुकी नउक्लने तयारी गर्नुभएको छ । “छोराछोरी विदेश र सरह पसेपछि हामी बुढाबुढीले घर कुर्नेकी गोठ कुर्ने भएको छ,” उहाँले भन्नुभयो “घुम्ति गोठमा गाईभैँसी पाल्ने चलन हाम्रो पुस्तासँगै हराउने भयो ।” १५–२० वर्षअघि बर्खामा गाईभैसी, भेडाबाख्रा र घोडाले भरिने गर्पाछेडा, दहखर्क, टिकाधुरी लगायत ढोरपाटनका बुकीका खर्कहरु अहिले रित्ता हुदै गएका थापाले बताउनुभयो । खुङखानीका रनबहादुर र ढोरपाटनका लछुमन थापा जस्तै ६० वर्ष उमेर पुगेका वृद्धहरुले धानेको घुम्ती गोठहरु उनिहरुको बढ्दो उमेरसँगै घट्दै गएका छन् । युवा र बयस्क उमेरका गोठाला भेटिदैनन् । वैदेशिक रोजगारी प्रतिको आकर्षण, स्वदेशमै मेहनत गर्नुपर्छ भन्ने भावना र काम गर्ने वातावरण नहुँदा जिविकोपार्जनसँगै आम्दानीको राम्रो स्रोत घुम्ती पशुपालन पेशा संकटमा परेको ढोरपाटनको छेन्तुङमा बस्दै आउनुभएका धवलागिरी गाउँपालिका–७ ताकमका पुर्व प्रधानपञ्च बिष्णुबहादुर थापाले बताउनुभयो । ८३ वर्षीय थापाका अनुसार धारापानी, ताकम, मुना, मुदी, लुलाङबाट केही वर्षयता बर्खामा बुकीमा गोठ लैजान छाडेका छन् । गर्मी बढेपछि हिमाली क्षेत्रको जडिवुटीयुक्त चरन क्षेत्रको पोषीलो घाँस खुवाउन बुकीमा पशु चराउन लैजाने चलन छ । बुकीमा चरेका पशुहरु निरोगी, मोटा हुने, दूध धेरै दिने र मासु स्वादिष्ट हुने थापाले बताउनुभयो । असारदेखि भदौसम्म लेकाली क्षेत्रमा रहने पशु गोठहरु चिसोसँगै बेशीतर्फ झार्ने चलन छ । अस्थायी टहरामा महिनौसम्म घरपरिवारसँग सम्पर्क बिहिन भएर पशुहरुसँगै बुकीमा बस्न नयाँ पुस्ताले दुःख र झञ्जट मानेका छन् । पाँच वर्ष साउदीमा काम गरेर फर्किएर पुख्यौली गोठाला पेशालाई निरन्तरता दिएका ढोरपाटनका शक्तिबहादुर कायत भने जहाँ गएपनि दुःख नगरी आम्दानी नहुने भएकाले विदेश भन्दा गोठनै राम्रो भएको अनुभव सुनाउनुहुन्छ । “दुखः त यहाँ भन्दा विदेशमा कति हो कति,” उहाँले भन्नुभयो “मलाई खाडीको तुलनामा बुकीमै भैँसी पाल्दा सजिलो लागेको छ ।” २१ भैँसी पालेका शक्तिबहादुरले घ्यु, रागा भैसी, छुर्पी बेचेर छ जना छोराछोरी पढाउने र घरखर्च चलाउने गरेको बताउनुभयो ।