जलेश्वर: महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको सवारी दुर्घटनामा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष यादवको मोटरसाइकल दुर्घटनामा आज बिहान मृत्यु भएको हो । जलेश्वर–बर्दिबास सडकअन्तर्गत बर्दिबास नगरपालिका–८ स्थित कल्भर्टमा वडाध्यक्ष यादव चढेको लु प्र ०१–००१प ६३६२ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । वडाध्यक्ष यादवको शव कल्भर्टसँगै भेटिएको हो । वडाध्यक्ष यादव नेपाल कम्प्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित हुनुभएको थियो ।
काभ्रेपलाञ्चोक: अरनिको राजमार्गअन्तर्गत काभे्रपलाञ्चोकको भुम्लु गाउँपालिका–८ बन्देउमा र हेलम्बु राजमार्गको पाँचखाल नगरपालिका–४ स्थित फेदीमा सुक्खा पहिरो खस्दा अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान पहिरो खस्दा दुवै राजमार्ग अवरुद्ध भएका हुन् । बाटो खुलाउने प्रयास जारी छ । वैकल्पिक मार्गबाट साना सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको उक्त कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताउनुभयो । उक्त राजमार्गको जिरोकिलो–दोलालघाट खण्ड पटकपटक अवरुद्ध हुँदै आएको छ ।
तनहुँ: व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही मन्दिर रु ७० लाखको लागतमा पुनर्निर्माण भएको छ । पाली निकालेर पुनर्निर्माण भएको मन्दिर आकर्षक देखिएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोग र छाब्दीवाराही विकास कोषको आन्तरिक कोषबाट मन्दिरको पुनर्निर्माण गरिएको कोषका अध्यक्ष प्रेमबहादुर थापाले जानकारी दिनुभयो । एक वर्षमा पुनर्निर्माण पूरा भएको मन्दिरमा गत शुक्रबार छाब्दीवाराहीको मूर्ति प्रतिस्थापन गरिएको छ । मन्दिर निर्माणका लागि गण्डकी प्रदेश सरकारले रु २४ लाख सहयोग गरेको छभने कोषले रु ४६ लाख लगानी गरेको छ । छाब्दीबाराहीमा सुनको टीका भएको माछाको रूपमा जलदेवी बसेको जनविश्वास छ । मन्दिर बाहिर खोलामा हजारौँ माछा छन् । मन्दिरमा तीन जना मगर जातिका पुजारी छन् । यहॉ साउन, एकादशी र औँसी बाहेकका दिन हाँस, परेवा, बोका, राँगाको बलि दिइने गरिन्छ । छाब्दीवाराही मन्दिर परिसरमा पुरानो छाब्दी वाराही मन्दिर, माछाको मुखको धारा, पोखरीमा माछा, पोखरीको बीचमा मस्त्यगन्धाको मूर्ति छ । यो मन्दिर दमौली बजारबाट सात किलोमिटर ढाढा छ । मन्दिरमा पूजाअर्चनाका लागि देशका विभिन्न भागबाट भक्तजन आउने गरेका छन् ।
म्याग्दी: शनिबार रातिको मुसलधारे वर्षाले बेनीबजार आसपासका क्षेत्रमा बाढीबाट प्रभावित भएका छन् । यहाँका विद्यालय, ज्येष्ठ नागरिक आश्रमको भवन, सडकलगायत भौतिक संरचनामा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पोखराबाट बेनीतर्फ आइरहेकोे ग२च ९३५५ नम्बरको बोलेरो जिपलाई बागलुङ–बेनी सडकअन्तर्गत बेनी नगरपालिका–१ हुलाकेको खोल्साको बाढीले बगाएको छ । यात्रु र चालकले भागेर ज्यान जोगाएका छन् । बेनी नगरपालिका–९ मा रहेको जडभरत संस्कृत माध्यमिक विद्यालयको पाँचकोठे भवनको कक्षाकोठाभित्र बाढी पसेर पुरिएको छ । सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरका प्रहरी नायब उपरीक्षक नवराज नेपालका अनुसार बेनी–जोमसोम सडकमा पहिरो खसेपछि खोल्सा र नालीको पानी बस्तीतर्फ सोझिँदा विद्यालयसँगै रहेको पुलहपुलत्स्य अन्नक्षेत्र र गलेश्वर ज्येष्ठ नागरिक आश्रमको भोजनालयमा बाढी पसेको छ । राति नै बाढी तर्काएका सशस्त्र प्रहरी, स्थानीयवासी बिहानैदेखि कक्षाकोठा र भोजनालयमा पसेको बाढी पन्छाउन जुटेका प्रनाउ नेपालले बताउनुभयो । बेनी नगरपालिका–८ कालीपुल बसपार्क र प्रवेशद्वार क्षेत्रमा पनि खोल्सामा आएको बाढीले क्षति भएको छ । बाढी र पहिराका कारण म्याग्दीका प्रमुख सडक अवरुद्ध भएका छन् । बागलुङ–बेनी सडक हुलाकेमा, बेनी–जोमसोम सडक गलेश्वरमा, बेनी–दरबाङ सडक अग्निखेत, सिङ्गा, घुमाउनेमा, मालढुङ्गा–बेनी सडक जलजला गाउँपालिकाको विभिन्न ठाउँमा खसेको पहिराका कारण अवरुद्ध बनेको प्रहरी निरीक्षक राजन रायमाझीले बताउनुभयो । सम्बन्धित स्थानीय तह, पूर्वाधार विकास कार्यालय, बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत पहिरो पन्छाउने र सडक मर्मत गरेर यातायात सञ्चालनका लागि समन्वय भएको प्रहरी निरीक्षक रायमाझीले बताउनुभयो । जिल्ला सदरमुकाम बेनीदेखि ग्रामीण क्षेत्र, छिमेकी जिल्ला बागलुङ, पर्वत र मुस्ताङसँगै म्याग्दीको यातायात सम्पर्कविच्छेद भएको छ ।
रामेछाप: दोरम्बा शैलुङ गाउँपालिका–३ मा गएराति पहिरोले तीन घर पुरिँदा दुई जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त पालिकाको वडा नं ३ मा खसेको पहिरोमा परी ३० वर्षीया चण्डीका श्रेष्ठ र निजका १८ महिनाका छोरा आयुषको मृत्यु भएको हो । एघार वर्षीया अञ्जना श्रेष्ठ घाइते भएकी छन् । उनको कम्मरभन्दा मुनिको भाग चलेको छैन । सो गाउँपालिकाकी उपाध्यक्ष खमला थापामगरले दिनुभएको जानकारीअनुसार गएराति पहिरो खसेको हो । घटनाबारे जानकारी पाउनासाथ स्थानीय, प्रहरी र नेपाली सेनाका जवान उद्धार र खोजीमा जुटेका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिनुभयो । पहिरोले वडा नं २ र ३ को सिमाना भएर बग्ने अँधेरी खोलको पक्की पुल पनि बगाएको छ । यसैबीच, पुष्पलाल राजमार्गअन्तर्गत चरीकोट–मन्थली सडक बाढीका कारण अवरुद्ध भएको छ ।
गण्डकी: सेती नदीको कटानका कारण पोखरा महानगरपालिका–३२ स्थित सतीघाटमा बाटो भत्कँदा समस्या भएको छ । परापूर्वकालदेखि तल्लो गगनगौडा, लामेआहाल, कालिकानगर, मजुुवा र आसपासका व्यक्तिको अन्तिम संस्कार गरिने घाटमा पुग्ने बाटो सेती नदीको कटानसँगै भत्केपछि समस्या भएको हो । घाटसम्मको बाटोलाई विगत दुुई वर्षयता लगातार रुपमा बजेट विनियोजनगरी ढलान गरिएको भए पनि नदीको कटानका कारण बाटो नै भत्कँदा त्यहाँबाट आवतजावत पूर्ण रुपमा अवरुद्ध भएको पोखरा महानगरपालिकाका वडाध्यक्ष अक्कलबहादुुर कार्कीले बताउनुुभयो । “घाटसम्मको बाटो ढलानका लागि यसअघिका दुुई आर्थिक वर्षमा क्रमशः १५ लाख र २३ लाख रुपैयाँ बजेट विनियोजन भई काम भएको थियो”, उहाँले भन्नुुभयो, “नदी कटानले बाटोको धेरै भाग भत्किएको छ ।” वडामा बाढी नियन्त्रणका लागि रु ७० लाख बजेट विनियोजन भए पनि उक्त रकमले त्यहाँको समस्या समाधान गर्न असम्भव भएको बताउँदै उहाँले घाटसम्मको आवतजावत सहज बनाउन धेरै रकम चाहिने जानकारी दिनुुभयो ।
चितवन: नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । महेन्द्रनगरबाट काठमाडौँतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो । घाइते सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
पाल्पा: पाल्पाको बगनासकाली गाउँपालिका १ घोरबन्दामा आज (शनिबार) देखि नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । हरितालिका तीजको अवसरमा नव जागृति युवा क्लबको अयोजनामा घोरबन्दास्थित कोठीचौर खेलमैदानमा आजदेखि फुटबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा सराई एफसीले भगवती एफसी तानसेनलाई २–१ गोल अन्तरले पराजित गर्दै सराई दोस्रो चरणमा प्रवेश गरेको क्लबका कोषाध्यक्ष मनिक गाहामगरले जानकारी दिए । उनका अनुसार सराईको जीतमा म्यान अफ द म्याच घोषित भएका सुमित मल्ले २ गोल गरे । यता हार व्यहोरेको भगवती एफसीका लागि प्रेम रानाले १ गोल फर्काए । भोलि (आइतरबा) दिउँसो ३ बजे खल्लुकधारा एफसी र दमकडा एफसीबीच प्रतिस्पर्धा हुने गाहामगरले बताए । उनका अनुसार फाइनल खेल भने २१ गते हुनेछ । यसअघि बगनासकाली गाउँपालिकाका उपप्रमुख हरि पाठकले कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै उनले खेलकुदले गाउँपालिकाकै विकासमा टेवा पुर्याउन मद्दत गर्ने धारणा राखे । उपप्रमुख पाठकले गाउँपालिकाभित्रका क्लबहरुमध्ये नव जागृति युवा क्लब तुलनात्मक रुपमा अन्य क्लबभन्दा सक्रिय रहेको बताउदै आगामी दिनमासेत खेलकुदका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे । उनले उक्त प्रतियोगिताबाट स्थानीय स्तरका खेलाडीलाई राम्रो अवसर भएको बताउदै खेलाडीहरुलाई मौकाको सदुपयोग गर्नसमेत सुझाव दिएका थिए । सो प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ६० हजार प्राप्त गर्नेछ । यस्तै उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३० हजार हात पार्नेछ । भने, प्रतियोगितामा विधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा कुल १३ टिमको सहभागिता रहेको छ । नव जागृति युवा क्लब वि.स २०३८ सालदेखि निरन्तर रुपमा सामाजिक तथा खेलकुदको क्षेत्रमा सक्रिय रहदै आएको छ ।
म्याग्दी: बेनी नगरपालिका–९ तोरीपानीका फूलमाया र चन्द्रबहादुर परियारका आँखा ओभानो नभएको करिब आठ महिना भयो । विसं २०८० पुस १६ गते राति घरबाट बेपत्ता कान्छी छोरी मीना जिउँदो नभएको निष्कर्ष निकालेका परियार दम्पती न्यायको प्रतिक्षामा छन् । घर नजिकैको जङ्गलमा गत साउन २७ गते भेटिएको शव र सँगैका गहना तथा कपडा मीनाको भएको सनाखत गरेका उनीहरू न्यायका लागि हारगुहार गरिरहेका छन् । “छोरीको खोजबिन र न्यायका लागि भौतारिन थालेको करिब आठ महिना भयो”, फूलमाया भन्नुहुन्छ, “साउन २७ गते गाउँ नजिकैको आँखखेत कालीमुलको जङ्गलमा गाडेको, सडेगलेको अवस्थामा भेटिएको शव, सिक्री, स्वीटर, चप्पललगायत सामग्री मीनाकै भए पनि सबै दोषीलाई पक्राउ र अनुसन्धानमा भएको ढिलाइले कतै न्याय नपाइने त होइन भन्ने शङ्कामा छौँ ।” चन्द्रबहादुर र फूलमायाका तीन छोरी र एक छोरामध्ये कान्छी मीना तोरीपानीको गलेश्वर मावि कक्षा १२ मा पढ्थिन् । गङ्गटो खोज्न गएका स्थानीयले देखेको बेनी नगरपालिका–९ र १० नम्बर वडाको सिमानामा पर्ने उत्तिसको जङ्गलमा भेट्टाएको शव र सामग्रीलाई सङ्कलन गरेर प्रहरीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरेको छ । मीनाको ज्यान लिने कार्यमा संलग्नलाई कारबाहीको सुनिश्चित नभएसम्म शव दाहसंस्कार नगरी बेनी अस्पतालका शवगृहमा राखेको मीनाकी भाउजु कमला बर्देवा परियारले बताउनुभयो । “अहिलेसम्म हत्याराहरू सार्वजनिक गरिएको छैन, एउटा मान्छले मात्र यसरी घटना घटाएको होइन, न्यायका लागि धाउँदाधाउँदै थाकिसकेका छौँ”, कमलाले भन्नुभयो, “छिमेकी राम खत्रीको प्रेममा रहेकी मीना करिब छ महिनाको गर्भवती भएको उनीहरू दुईजनाबीच बेपत्ता हुँदाको राति भएको म्यासेन्जर कुराकानीबाट प्रमाणित भएको छ”, २५ वर्षीय राम विवाहित हुन् । अनुसन्धानको उपलब्धि परिवार, आफन्त र नातागोता सबैको क्षमताले भ्याएसम्म खोजतलास गर्दा मीनाको अवस्थाबारे पत्ता लाग्न नसकेपछि २०८० साल पुस २२ गते जिल्ला प्रहरी कार्यालयमा हुलियासहित खोजतलासका लागि निवेदन दिएका थिए । अनुसन्धानकै क्रममा मीना र रामको ‘म्यासेन्जर’ कुराकानी भेटिएपछि माघ २१ गते मीनाका बुबा चन्द्रबहादुरले रामले छोरीलाई बेपत्ता बनाएको किटानी जाहेरी दिनुभयो । जाहेरी परेको दुई दिनपछि माघ २३ गते मुद्दा दर्ता गरेको प्रहरीले सोही दिन आरोपी रामलाई पक्राउ गरेको थियो । व्यक्ति बेपत्ता पार्ने कसुरमा जिल्ला अदालतको २०८० फागुन १७ गतेको थुनछेक आदेशबाट राम पुर्पक्षका लागि कारागार चलान भएका थिए । शव भेटिएपछि घटनाले नयाँ मोड लियो साउन २७ गते मीनाको शव भेटिएपछि यो घटनाले नयाँ मोड लिएको छ । थुनामा रहेका रामसहित उनका परिवारका सदस्य र आफन्तसहित पाँचजनालाई प्रतिवादी बनाएर मीनाका परिवारले साउन ३० गते दर्ता गरेको किटानी जाहेरीका आधारमा थप तीनजनालाई फरक–फरक मितिमा पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखिएको निरीक्षक राजन रायमाझीले बताउनुभयो । “पहिले व्यक्ति बेपत्ता बनाएको कसुरमा मुद्दा चलाए पनि भेटिएको शवको सनाखत गरेर परिवारले किटानी जाहेरी दिएपछि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ”, उहाँले भन्नुभयो, “मीनासँगको प्रेम सम्बन्ध स्वीकार गरेका आरोपी रामले प्रहरी, सरकारी वकिल कार्यालय र अदालतमा भने बेपत्ता बनाएको र हत्या गरेको घटनामा इन्कारी वयान दिएका छन्”, फरार एकजनाको खोजी भइरहेको छ । चिकित्सकको शव परीक्षण, विधि विज्ञान प्रयोगशालाको प्रतिवेदन, शवसँगै भेटिएका सामग्री, म्यासेन्जर कुराकानीलगायत तथ्य, प्रमाणलाई आधार मानेर अनुसन्धान अघि बढाइएको रायमाझीले बताउनुभयो । उहाँका अनुसार भेटिएको शव महिलाको भएको, धारिलो हतियार प्रयोग गरेर हत्या भएको र पेटमा भ्रुणसमेत रहेको पुष्टि भएको छ । घटनाको थप अनुसन्धान गर्नका लागि डिएनए परीक्षणका लागि प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाउने तयारी गरिएको रायमाझीले बताउनुभयो । ‘न्यायका लागि हारगुहार’ मीना हराएदेखि नै यस घटनामा प्रहरी प्रशासनले गम्भीरताका साथ अनुसन्धान र खोजतलास नगरेका कारण अवस्था पत्ता लगाउन र न्यायमा ढिलाइ भएको भन्दै पीडित पक्षले तत्कालीन गृह तथा उपप्रधानमन्त्री रवि लामिछाने, विभिन्न राजनीतिक दलका नेता, सांसद र अधिकारकर्मीलाई भेटेर दबाब दिएका थिए । पक्राउ परेका आरोपीलाई सार्वजनिक, थप आरोपी पक्राउ, सत्यतथ्य अनुसन्धान, कारबाही र पीडितलाई न्यायका लागि दबाब दिन बेनीमा पछिल्लो एक हप्तायता दैनिकजसो धर्ना र प्रदर्शन भइरहेको छ । अन्तरजातीय प्रेम सम्बन्ध हुँदै गर्भवती बनाएपछि नियोजित रूपमा हत्या गरेको प्रमाण भेटिए पनि प्रहरीले गहिरो गरी अनुसन्धान नगरेका कारण न्यायका लागि हारगुहार गर्नुपरेको संयुक्त दलित राजनीतिक सङ्घर्ष समितिका सल्लाहकार लालु किसानले बताउनुभयो । “दलित भएकै कारण किटानी लिएर जाँदा यो र त्यो मिलेन भन्दै पन्छाउने काम भयो, सांसद र मन्त्रीलाई गुहार मागेपछि प्रहरीले मुद्दा दर्ता गरेको हो”, उहाँले भन्नुभयो, “न्याय पाइन्छ भनेर आश्वस्त हुनसक्ने अवस्था नभएकाले दबाब र खबरदारी गरिरहेका छौँ ।” संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले शुक्रबार बेनीमा राजनीतिक दल र जनप्रतिनिधिसँग मीना हत्या प्रकरणमा दोषीमाथि हदैसम्मको कारबाही हुने सुनिश्चिताको प्रतिबद्धताका लागि छलफल तथा अन्तक्र्रिया गरेको थियो । दोषीमाथि कडा कारबाही गर्न र पीडितलाई न्याय दिन आ–आफ्नो क्षेत्रबाट सम्बन्धित निकायमा ध्यानकर्षण गराउने छलफलमा सहभागी राजनीतिक दल र जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । सङ्घर्ष समितिका अध्यक्ष पदम किसानले मीनाको हत्या घटनामा संलग्नलाई कारबाहीको सुनिश्चितता नभएसम्म विभिन्न दबाबमूलक कार्यक्रमलाई जारी राख्ने र आवश्यक परे चरणबद्ध आन्दोलन गरिने बताउनुभयो । संविधान र कानुनले जातीय विभेद तथा छुवाछूतलाई अपराध माने पनि अन्तरजातीय प्रेम र विवाहका कारण व्यक्तिको हत्या, आत्महत्या, विस्थापित हुने अवस्था आउनुले पीडा र समाजमा अझै चेतनाको स्तर उकास्नुपर्ने आवश्यकता महसुस भएको दलित अगुवा टेकबहादुर विश्वकर्माले बताउनुभयो ।