पोखरा: नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व महामन्त्री शंशाङ्क कोइरालाले नेपाल कृषि उत्पादनका लागि उपयुक्त स्थान भएकाले कृषि क्षेत्रबाट नै समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ । वीपी चिन्तन प्रतिष्ठानद्धारा आज (विहीबार) पोखरामा आयोजित गण्डकी प्रदेश स्तरीय नेपालमा कृषि क्रान्ति:सम्भावना र चुनौती विषयक विचार गोष्ठीमा आफ्नो भनाइ राख्दै कोइरालाले भन्नुभयो– सरकारले कृषिलाई पहिलो प्राथामिकतामा राख्नुपर्छ । युवालाई कृषितर्फ आकर्षण गर्न जरुरी भएको बताउँदै उहाँले आफ्नो परिवारको मुख्य पेशा पनि कृषि नै भएको भनाइ उहाँको छ । वीपी कोइराला कृषि पेशाप्रति आकर्षण हुने गरेको भनाइ पनि उहाँले राख्नुभयो । नेपालमा थुपै कृषियोग्य भूमि भएकाले त्यसको सदुपयोग गर्दै विदेशबााट आयात गरिने खाद्यान्न तथा तरकारी घटाउँदै जानुपर्ने भनाइ उहाँको छ । कृषिमा आत्म निर्भर हुन सक्यौ भने नेपालको खरबौ रुपैयाँ नेपालमा नै रहने उहाँले बताउनुभयो । नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले वीपीको विचारलाई आत्मसाथ गर्दै कृषि क्रान्ति ल्याउन सकयौ भने नेपालीको भविष्य यसैमा हुने बताउनुभयो । प्रजातन्त्रमा नेपाली जनतामा मालिक हुने भएकाले उनीहरुकै सेवामा दलका नेताहरु लाग्नुपर्ने भनाइ उहाँको छ । कृषिलाई केन्द्र बिन्दुमा राखेर सरकारले अनुदान र कृषिमा आधुनिकीकरण गर्न आवश्यक भएको बताउनुभयो । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता एवं गण्डकी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले ६८ प्रतिशत जनता कृषिमा आवद्ध भएको नेपालमा कृषिलाई बैज्ञानिकीकरण गर्दै मध्यम वर्गका युवालाई त्यसतर्फ आकर्षण गर्न जरुरी हुने बताउनुभयो । दिगो विकास र अर्थतन्त्र सुधारको लागि सरकारले कृषिलाई नै पहिलो प्राथामिकाता दिनुपर्ने बताउँदै रेमिट्यान्सको भर पर्दा देशको अर्थतन्त्र कुनै पनि बेला ढल्न सक्ने भनाई उहाँको छ । नेकपा (माओवादी ) केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले नेपाललाई कृषिमा आत्म निर्भर बनाउन कृषिमा ठूलो क्रान्ति ल्याउनुपर्ने बभताउनुभयो । जमिन भएर पनि हामीले कृषि क्षेत्रमा विकास गर्न नसक्नु विडम्बना भएको बताउनुभयो । कृषि नीति बलियो भयो भने देशले कृषि क्षेत्रमा काचुली फेर्ने भनाइ उहाँको छ । उक्त कार्यक्रम वीपी चिन्तन प्रतिष्ठानका केन्द्रीय सदस्य ऋषि काफ्लेको अध्यक्षता एवम् नेपाली काँग्रेस कास्कीका सहसचिव शंकर ढुुङ्गानाले सञ्चालन गर्नुभएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य शारदा पौडेल, विपी चिन्तन प्रतिष्ठानका सह अध्यक्ष पुष्पराज पराजुली, केन्द्रीय सदस्य नवराज गुुरुङ, पूर्व मन्त्री यज्ञबहादुर थापा, नेपाली काँग्रेस गण्डकी प्रदेश महामन्त्री विष्णु लामिछाने, डा. लक्ष्मीकान्त पौडेल, गणेशमान फाउन्डेशनका गण्डकी प्रदेश संयोजक दुर्गा तिमल्सिना, प्रतिष्ठानका बाग्लुङ अध्यक्ष गोविन्द कंडेल, स्याङ्जा अध्यक्ष जीवलाल काफ्ले लगायतले बोल्नुभएको थियो ।
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अपाङ्गताको क्षेत्र गण्डकी सरकारको प्राथमिकतामा रहेको बताउँदै यस विषयमा सरकार संवेदनशील रहेको बताएका छन् । लक्षित वर्गलाई समेट्न गरी नीति, कार्यक्रममा सरकारले विषेश ध्यान दिएको उनले बताए । ‘प्रादेशिक अपाङ्गता नीति निर्माण भएर कार्यन्वयन भईरहेको छ, अपाङ्गताको क्षेत्र केन्द्रित भएर काम गर्ने गरी अपाङ्गता निर्देशन समिति छ’ बिहिवार राष्ट्रिय अपाङ्ग कोषले आयोजना गरेको ह्विलचेयर वितरण कार्यक्रममा मुख्यमन्त्री पाण्डेले भने ‘अपाङ्गता संम्बन्धी ऐनको तयारी भईरहेको छ ।’ प्रदेश सरकारले निर्माण गर्ने संरचना अपाङ्गमैत्री हुनुपर्ने नीति लिइएको बताउँदै उनले कार्यन्वयनकालागि प्रदेश सरकार मातहतका सबै निकायलाई निर्देशन दिइएको बताए । ‘यसअघि बनेका पुराना संरचना धेरैजसो अपाङ्गमैत्री छैनन्, अब बन्ने संरचना अपाङ्गमैत्री बनाउने नीति सरकारको छ ।’ अपाङ्गता भएका व्यक्तिहरुको संरक्षण, सशक्तीकरण, क्षमता विकास, सहायता सामग्री वितरण लगायतका काम सामाजिक बिकास तथा युवा खेलकुद मन्त्रालय मार्फत प्रदेश सरकारले गरिरहेको उनले बताए । ‘सबै खालको अपाङ्गता भएकाहरुलाई समेट्ने गरी अपाङ्गता निर्देशन समितिमा १० प्रकारको अपाङ्गता प्रतिनिधित्व गर्नेहरु हुनुहुन्छ’ मुख्यमन्त्री पाण्डेले भने ‘यो समितिले नीति निर्माणदेखि कार्यक्रम कार्यान्वयनमा सरकारलाई सहयोग गर्नेछ ।’ जिल्लास्थित सामाजिक विकास कार्यलय मार्फत अपाङ्गता क्षेत्रमा सहयोग पुग्ने गरी हक अधिकारलागि बहस, पैरवी, समुदायमा आधारित पुर्नस्थापना, विउ पुँजी वितरण लगायतका कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री पाण्डेले अनुरोध गरे । प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, व्यवशाय संचालन लगायत कार्यक्रम र अपाङ्गता भएकालाई प्राथमिकता दिने गरी नीतिगत व्यवस्था गरेको बताउँदै उनले भने ‘सरकारको साधन स्रोत, क्षमताले भ्याउँदा सम्म सहयोग थप्दै लगिनेछ ।’ यस क्षेत्रमा काम गर्ने दातृ निकाय, बिभिन्न संघ संस्थासँगको सहकार्यमा सरकारले समन्वय र नीतिगत सहजीकरण गर्दै जाने उनले बताए । राष्ट्रिय अपाङ्ग कोषले दैनिक आवश्यक पर्ने सहायक सामग्री कृतिम हात खुट्टा, क्यालिपर, बैशाखी, वाकर, एल्वो, सेतो छडी ह्विलचेयर जस्ता विकासात्मक सहायक सामग्री उत्पादन गरी वितरण गर्दै आएको सभापति डेकराज भट्टराईले बताए । बिहिवार कोषले विषेशज्ञवाट नापजाँच एवं तालिम सहित ओम हङ्ग गिल ह्यूमन फाउण्डेशनसँगको समन्वयमा उपलब्ध गराइएको ह्विलचेयर मुख्यमन्त्री पाण्डेले ३२ जनालाई बितरण गरेका हुन् ।
पोखरा: कास्की प्रहरीले ड्रग्ससहित लामाचौरबाट एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका १९ लामाचौर जिमिरे बस्ने २८ वर्षीया सन्तु घर्ति मगर रहेकी छिन् । प्रहरीले उनको कोठा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा लागू औषध बुप्रिनर्फिन १२७ एम्पुल, डाईजापाम १२७ एम्पुल, फेनरागन १२७ एम्पुल गरी जम्मा ३८१ (तिन सय एकासी) एम्पुल र नाइट्रोभ्याट १० लेखेको ८ चक्की बरामद गरिएको हो । कास्की प्रहरीलाई लामाचौरमा लागूऔषध विक्री वितरण भइरहेको भन्ने सूचना पुगेको थियो । सोही सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो । पक्राउ परेका उनलाई कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धि मुद्दामा दिन दश (१०) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि राज्यलाई दबाब दिन जरुरी रहेको बताएका छन् । पोउवासंघको अध्यक्ष पदका उम्मेदवारी दिएका कार्कीले पोखराको उद्योग तथा व्यवसाय सँगै आर्थिक चलायमानका लागि अन्तर्राष्ट्रिय उडान अत्यावश्यक रहेको बताउँदै पोखरामा लगानी सम्मेलन गरि अन्तर्राष्ट्रिय लगानीलाई समेत भित्राउन आवश्यक रहेको धारणा राखे । पोखरेलीले लामो संघर्ष र त्याग पश्चात अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपनि विभिन्न पक्षले उडान हुन नदिएको बताएका हुन् । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट निमित अन्तर्रांष्ट्रिय उडानको लागि लविङ गर्ने, स्वदेश िर विदेशी च्याम्बरहरुसँग सहकार्य र भगिनी सम्बन्धको विस्तार तथा लगानी सम्मेलन गरि लगानीको वातावरण तयार गछौ’ उनले भने, ‘अहिले युवा विदेशिने वाध्यतालाई पनि न्युनिरण गर्न आवश्यक छ । युुवा लक्षित कार्यक्रमहरु आजका आवश्यकता हुन् ।’ पोखराका अधिकांश सटर खाली हुनु आर्थिक मन्दी मुख्य कारण रहेको र यसका लागि नीति नियमको आवश्यकता रहेको कार्कीको भनाइ छ । कार्कीका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भएमा यहाँको पर्यटनसँगै उद्योग, कृषि र व्यापारले ठुलो फड्को मार्नेमा आफु आशावादी रहेको बताए । संघको उपाध्यक्षसम्म अमुल्य मतले विजयी गराउने सम्पुर्ण उद्योग व्यवसायी तथा व्यापारिहरुले अब एक पटक आफुलाई अध्यक्षका लागि भारी मत दिनेमा समेत आशावादी रहेको र नेतृत्वमा रहुन्जेल आफ्नो कुनैपनि व्यवसायमा नलाग्ने समेत प्रतिबद्धता व्यक्त गरे । पछिल्लो समय कार्कीलाई समर्थन गर्नेको लर्को चलिरहेको छ । गुट–उपगुट नसमाइ स्वतन्त्र रुपमा उठेकाले आफुहरुले पनि साथ दिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
काठमाडौं: चित्रकार एससी सुमन श्रीलङ्कामा भइरहेको ‘कोलम्बो आर्ट एक्स्पो–२०२४’ सहभागी हुनुभएको छ । अन्तराष्ट्रियस्तरको कला प्रदर्शनीमा सहभागी हुनुभएका सुमनले मिथिला चित्रकला प्रदर्शन गर्नुभएको छ । उहाँको कलामा मिथिला संस्कृतिसँगै इतिहास, मानव सभ्यता, प्रकृति, राजनीतिदेखि ब्रहमाण्ड जगत्को भाव समेटिएको छ । एक्स्पोमा सहभागी कलाकार सुमनका अनुसार अन्तर्राष्ट्रियस्तरमा कला प्रदर्शनीमा सहभागी हुँदा एकअर्काको कलासंस्कृति अनुशरण गर्न पाइने बताउनुभयो । एक्स्पोमा कला शिविर, कार्यशाला र प्रत्यक्ष प्रस्तुतीकरण पनि गरिएको उहाँले राससलाई बताउनुभयो । “सबै देशका कलाकार एकै ठाउँमा जम्मा हुँदा सिक्ने र सिकाउने मौका पाएका छौँ”, उहाँले भन्नुभयो, “यो एक्स्पोको अर्थ पनि कलाको विश्वव्यापीकरण गर्नु र मित्रताको सन्देश दिनु हो ।” एक्स्पोमा आठ देशका ४० जना कलाकारको कला प्रदर्शनी गरिएको सुमनले जानकारी दिनुभयो । चारदशकदेखि मिथिला कलामा सक्रिय उहाँले बेलायत, चीन, श्रीलङ्कामा ४० पटकभन्दा बढी सामूहिक कला प्रदर्शन गरिसक्नु भएको छ । नेदरल्याण्ड, अष्ट्रेलियाजस्ता देशमा १८ भन्दा बढी एकल प्रदर्शन गर्नुभएको छ । ‘एनएसजी कलाकार समूह बङ्गलादेश, फ्याकल्टी अफ भिजुअल आर्ट र भिजुअल एण्ड पर्फमेन्स विश्वविद्यालय, श्रीलङ्काको कला सङ्कायको सहकार्यमा एक्स्पो आयोजना गरिएको हो । एक्स्पोमा चित्रकला, मूर्तिकला, सिरामिक र प्रिन्टमेकिङलगायतका विधामा कला प्रदर्शन गरिएका छन् । सेप्टेम्बर ६ तारिखदेखि सुरु भएको उक्त अन्तर्राष्ट्रिय कला प्रदर्शनी सेप्टेम्बर १४ सम्म चल्नेछ ।
काठमाडौं: श्रीलंकामा अर्को महिना हुने काभा यू–२० पुरुष भलिबल च्याम्पियनसिपका लागि १२ खेलाडीको नेपाली टोली घोषणा भएको छ । नेपाल भलिबल संघले बिहीवार १२ खेलाडीको नाम सार्वजनिक गरेको छ। संघले बन्द प्रशिक्षणमा रहेका १८ मध्ये १२ खेलाडीको अन्तिम छनोट गरेको हो । भदौ ८ गतेबाट बन्द प्रशिक्षण गरिरहेको थियो । च्याम्पियनसिप असोज १७ देखि २३ गतेसम्म श्रीलंकाको कोलम्बोमा हुनेछ। केहि महिनाअघि काठमाडौंमा भएको यू– १९ भलिबल च्याम्पियनसिपमा गरेको प्रदर्शनको प्रदर्शनबाट खेलाडी छनोट गरिएको हो । सो प्रतियोगिताको महिला प्रतियोगितामा भाग लिएर छनोट भएका टोलीले गत महिना माल्दिभ्समा सम्पन्न काभा यू–२० च्याम्पियनसिपमा कास्य पदक जितेको थियो। नेपाली यू–२० टोली पहल गहतराज, सुरेश मल्ल, शैलेन्द्र यादव, सूर्य विक, अर्जुन नेपाली, विश्वास अधिकारी, सागर रसौली, अशोक राना, जितबहादुर कार्की, सुजन सुनार, रेसमन राहादी र दिनेश कुँवर ।
काठमाडौं: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार विकासलाई प्राथमिकताका साथ अगाडि बढाउन पुँजीगत खर्च बढाउने सरकारको नीति रहेको बताउनुभएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नेपाल उद्योग परिसङ्घ र लगानी बोर्डको संयुक्त आयोजनामा आजदेखि सुरु भएको नेपाल पूर्वाधार सम्मेलनको पाँचाँै संस्करणमा उहाँले पूर्वाधार विकासका लागि विनियोजित बजेटको आधार बढाउने प्रतिबद्धता जनाउनुभएको हो । “सरकारले पूर्वाधार विकासका लागि पुँजीगत खर्च विनियोजनलाई बढाउँदै जाने नीति लिएको छ, पुँजीगत खर्च बढाउन विभिन्न कानुनी तथा प्रक्रियागत सुधारलाई अगाडि बढाउने र वैदेशिक सहायतालाई भौतिक पूर्वाधार विकासमा केन्द्रित गर्ने नीति छ”, उहाँले भन्नुभयो, “समस्त नेपालीको आकाङ्क्षा ‘समृद्ध नेपाल र सुखी नेपाली’ हो । सरकार यही आकाङ्क्षा साकार पार्न अनवरत लागिरहेको छ । समृद्ध नेपाल निर्माणको मूल आधार नै पर्याप्त, गुणस्तरीय, दिगो र उत्थानशील भौतिक पूर्वाधार विकास हो ।” एक्काइसौँ शताब्दी अनुकूल एवं नागरिकको चाहनाबमोजिम पूर्वाधार विकास एवं निर्माणमा सरकार केन्द्रित हुने उहाँको भनाइ छ । मन्त्री पौडेलले आर्थिक तथा वित्तीय अनुशासन एवं वित्तीय उत्तरदायित्व कायम गर्दै सार्वजनिक वित्त परिचालन एवं उपयोग गर्न चाहेको जानकारी दिनुभयो । “सरकारको एक्लो प्रयासबाट पूर्वाधार विकासको कमी पूरा गर्न सम्भव छैन । यसमा निजी क्षेत्र, बाह्य लगानीकर्ता, अन्तर्राष्ट्रिय समुदाय एवं विकास साझेदारसमेतको उत्तिकै भूमिका रहन्छ”, उहाँले भन्नुभयो, “यसका लागि सरकारले वित्तीय नीति, मौद्रिक नीति एवं नियामकीय नीतिहरुमा समयानुकूल परिवर्तन एवं परिमार्जन गर्दै आएको छ । आगामी दिनमा यसलाई अझ अनुकूल बनाउँदै लैजाने प्रतिबद्धता यस अवसरमा व्यक्त गर्न चाहान्छु ।” पूर्वाधार विकासमा पर्याप्त लगानी जुटाउन तथा निजी क्षेत्रलाई आकर्षित गरी पुँजी परिचालन गर्न नीतिगत तथा प्रक्रियागत सुधार आवश्यक रहेको मन्त्री पौडेलले बताउनुभयो । सरकारी क्षेत्रको साथसाथै नवीन उपकरणहरुको उपयोग गर्दै आवश्यक लगानी जुटाउन सरकार सबै प्रकारको सहजीकरण गर्न तत्पर रहेको उहाँको भनाइ छ । “हामी पूर्वाधार विकासको हिसाबले कमजोर अवस्थामा छौँ । भू–परिवेष्ठित अवस्थिति र जटिल भू–बनोटलाई हाम्रो पूर्वाधार विकासको मुख्य चुनौतीका रुपमा लिने गरिएको छ”, उहाँले भन्नुभयो, “सरकारले गुणस्तरीय तथा दिगो भौतिक पूर्वाधार र त्यसका विविध पक्षबीचको अन्तर आबद्धतालाई महत्वपूर्ण रुपमा लिएको छ । सरकारले यातायात, ऊर्जा, जलस्रोत, सूचना प्रविधिजस्ता प्रमुख पूर्वाधार क्षेत्रलाई केन्द्रित गर्दै बजेट विनियोजन तथा कार्यान्वयनलाई प्राथमिकता दिँदै आएको छ ।” उहाँका अनुसार एकीकृत एवं समन्वयात्मक पूर्वाधार विकासका लागि तहगत सरकारबीच आपसी समन्वय, सहकार्य एवं सहयोगको उत्तिकै भूमिका रहन्छ । यसका लागि विकास नीति, योजना र कार्यक्रमबीच उपयुक्त सामञ्जस्यता कायम गर्न वर्तमान सरकार प्रतिबद्ध र क्रियाशील रहेको उहाँको भनाइ छ । “सीमित स्रोतसाधन र पूर्वाधार विकासका आकाङ्क्षाबीचको सन्तुलन कायम गर्न आन्तरिक स्रोतबाट मात्र सम्भव छैन । पछिल्लो समय आन्तरिक राजस्व परिचालनको अवस्था दबाबमा रहेको र सार्वजनिक ऋणको भार बढ्दै गएकाले पूर्वाधार विकासका लागि स्रोतको जोहो गर्नु सरकारका लागि चुनौतीपूर्ण बन्दै गएको छ”, उहाँले भन्नुभयो, “यसैले हामीले निजी क्षेत्रको लगानी आकर्षित गर्न सम्मिश्रित वित्त, सार्वजनिक निजी साझेदारीलगायत अन्य सम्भाव्य विधिहरुको उपयोगका लागि आवश्यक प्रबन्ध गर्न प्राथमिकता दिएका छौँ ।” उहाँले विकास सहायतालाई छनोटपूर्ण बनाउँदै यसलाई राष्ट्रिय आवश्यकता र प्राथमिकताका क्षेत्रमा केन्द्रित गर्न जोड दिइएको बताउनुभएको छ । “सहायता परिचालनका नवीन उपकरणको प्रयोग र परिचालनमा विशेष ध्यान दिइएको छ, सहायता परिचालनलाई थप प्रतिफलयुक्त बनाउन नयाँ विकास सहायता परिचालन नीति तर्जुमा गर्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो । सम्मेलन भोलिसम्म चल्नेछ ।
पोखरा: ६०औं राष्ट्रिय बाल दिवसको अवसरमा गण्डकी प्रदेशमा ‘बालबालिकासँग मुख्यमन्त्री’ कार्यक्रम सञ्चालन हुने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानमा शुक्रबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे बालबालिकासँग मुख्यमन्त्री कार्यक्रममा सहभागी हुनेछन् । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजना तथा प्रदेश बाल परिषद्को सहकार्यमा हुने कार्यक्रममा शुक्रबार बिहान ८ बजेदेखि सुरु हुनेछ । बालबालिकाको सवाललाई प्रदेश सरकारले कसरी लिएको छ ? अघिल्लो वर्ष भएका बाचाको वस्तुस्थिति र आगामी दिनमा बालबालिकालाई प्रदेश सरकारले हेर्ने दृष्टिकोणलाई स्पष्ट पार्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको मन्त्रालयकी महिला विकास अधिकृत देवी शर्माले जानकारी दिइन् । कार्यक्रममा बालबालिकाले आफुलाई लागेको प्रश्न वा जिज्ञासा मुख्यमन्त्रीलाई प्रत्यक्ष रुपमा राख्न सक्नेछन् । कार्यक्रममा प्रदेशभरबाट करिब एक सय बालबालिका सहभागी हुने शर्माले बताइन् । मन्त्रालयले यसअघि पनि उक्त कार्यक्रम गर्दै आएको छ । कार्यक्रमको प्रत्यक्ष प्रशारण पब्लिक फोरके टेलिभिजनले गर्नेछ ।
पोखरा: गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले परिणाममुखी कार्य गनुपर्ने बताएकी छिन् । वुमन चेम्बर अफ कमर्स कास्कीको वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको अवसरमा बोल्दै मन्त्री श्रेष्ठले योजनाहरु निर्माण भएपनि अपेक्षित परिणाम प्राप्त हुन नसकेको उल्लेख गर्दै अब परिणाममुखी योजनाहरुमा जोड दिनुपर्ने बताएकी हुन् । मन्त्री श्रेष्ठले भनिन्,‘अर्थतन्त्र सुदृढीकरणको सुरुवात अब कृषिबाट गर्नुपर्छ । कृषिजन्य दैनिक उपभोग्य वस्तुहरु समेत हामीले आयात गनुपर्ने अवस्था छ । यो आयात गनुपर्ने अवस्थाको अन्त्य गर्दै अब आत्मनिर्भर मात्रै होइन निर्यात उन्मुख हुनुपर्छ । अब हामी ठूला ठूला कुरा मात्रै होइन, परिणाममुखी कार्य गर्दै अघि बढ्नुपर्छ । परिणाम नै आजको आवश्यकता हो ।’ वुमन चेम्बर अफ कमर्समा संगठित महिलाहरुलाई विविध कार्यक्रमहरुसँग जोड्दै थप सशक्त रुपमा अघि बढाउन उनले सुझाइन् । कास्कीसँगै प्रदेशभरका महिलाहरुलाई कृषि उत्पादनमा जोडिन आग्रह गर्दै मन्त्री श्रेष्ठले मन्त्रालयको तर्फबाट साथ सहयोग रहने प्रतिबद्धता समेत ब्यक्त गरिन् । ‘यो संस्थामा आवद्ध रहनुभएका सम्पूर्ण महिला दिदीबहिनीहरुलाई थप सशक्तताका साथ अघि बढ्न आग्रह गर्दछु । कुनै एक क्षेत्रमा मात्रै होइन, अब विविध क्षेत्रमा महिलाहरुको सहभागिता रहनुपर्छ । यसका लागि मेरो पूर्ण रुपमा साथ सहयोग रहन्छ,’उनले भनिन् । सो अवसरमा वुमन चेम्बर अफ कमर्स कास्कीका उत्कृष्ट सदस्य र स्मारिका प्रकाशनमा सहयोग गर्ने दाताहरुलाई मन्त्री श्रेष्ठले सम्मान समेत गरेकी थिइन् । कार्यक्रममा पोखरा चेम्बर अफ कमर्स कास्कीका पदाधिकारी, वुमन चेम्बर्स अफ कमर्स कास्कीका पदाधिकारी एवं सदस्यहरुको उपस्थिती रहेको थियो ।

