काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले भोलि बिहीबार सचिवालय बैठकको ‘एजेन्डा’ तय गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बसेको केन्द्रीय कार्यालय बैठकले कार्यसूची तय गरेको हो । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सचिवालय बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावसम्बन्धी कार्यसूचि तय गरिएको छ । केन्द्रीय कार्यालयको बैठक पार्टी महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा बसेको थियो । बैठकमा महासचिव पोखरेलसहित तीन उपमहासचिव र ६ जना सचिव सहभागी हुनुहुन्थ्यो । एमालेले भोलि दिउँसो १ बजेका लागि पार्टी कार्यालयमा सचिवालय बैठकको आह्वान गरेको छ ।
बागलुङ (गलकोट): गालामा अनेकथरी पोतिएको रङ, शिरमा श्रीराम लेखिएको रातोपट्टी, शरीरको माथिल्लो भागमा रातो र तल्लो भागमा सेतो पहिरन, पछाडि पुच्छर जोडेर हनुमान जस्तै देखिने एक हूल मानिस जोडी बनेर बागलुङ बजारमा नाच्दै हिँड्छन् । एकापसमा लौरो ठोक्दै हनुमानको भेषमा सजिएका युवाहरू २६ जना युवा १० तालको सुरुमा नाच्दै हिँड्ने परम्परा यहाँका नेवार समुदायले झन्डै तीन सय वर्षदेखि बचाउँदै आएका छन् । नाच्नेहरू ‘हनुमानको स्वरूप’मा उत्रिन्छन् भने विभिन्न तालमा बाजा बजाउँदा अन्य व्यक्तिहरूको पनि शरीरमा कम्पन पनि हुने गर्छ । उनीहरूले ‘वीर चढेको भनिन्छ । उनीहरू अचेत जस्तै बनेर हल्लिन्छन् । नाचमा सहभागी पुजारीले वीर उठेका हनुमानलाई नियन्त्रणमा लिन्छन् । हनुमान नाचमा संलग्न पुजारीले सेता गन्जी र कछाड बाँध्ने गर्छन् । दुई÷दुई जनाको जोडी बनाएर सङ्गीतको तालमा नाच्नुलाई हनुमान नाचको रूपमा लिइन्छ । हनुमान नाच नेवार समुदायमा प्रचलित सांस्कृतिक नाच हो । भूपतिन्द्र मल्लको पालामा भक्तपुरबाट सुरु गरेको ‘हनुमान नाच’ बागलुङका नेवार समुदायले संरक्षण गरेका हुन् । खर्चिलो नाचको रूपमा रहेको यो नाच व्यवस्थापनमै कठिन भएपछि तीन वर्षमा देखाइने नाच बिस्तारै पाँच वर्ष, सात वर्ष र अहिले नौ वर्षमा पुगेको स्थानीय मुकेशचन्द्र राजभण्डारी बताउनुहुन्छ । पुर्खाले आफ्नो उद्गमस्थलबाट लिएर आएको धार्मिक संस्कार जोगाउन मुस्किल भएको श्रेष्ठको भनाइ छ । यस नाच रामायण कथामा आधारित रहेको हनुमान नाच र देखाउने तालका कारण बुझ्न र देख्न सकिन्छ । रामको सेवकका रूपमा रहेको हुनमान रहेको भन्दै नाच शुभारम्भको दिन बागलुङ बजार परिक्रमासँगै बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित राम मन्दिर परिक्रमा गरेर फर्कने राजभण्डारीको भनाइ छ । अष्टचिरञ्जीवीका रूपमा हनुमानलाई पूजा गर्ने र उनैको नाच प्रदर्शन गर्दा जीवनभर शक्ति प्राप्त हुने विश्वास रहेको छ । भक्तपुरका नेवार समुदाय १७६८ सालमा व्यापार तथा व्यवसाय गर्नका लागि बागलुङ आएसँगै हनुमान नाच नाच्न थालिएको इतिहास रहेको पाइन्छ । बीचमा केही वर्ष हराएको नाचले २०१३ सालदेखि निरन्तरता पाउन थालेको हो । बागलुङ बजारको नारायण चोकबाट सुरु हुने उक्त नाचमा बागलुङ बजार हुँदै उपल्लाचौरको राम मन्दिर पुगेर फर्कने गरिन्छ । मङ्गलबारदेखि सुरु गरिएको हनुमान नाच चैतसम्म नाचिने हनुमान नाच संरक्षण परिषद् बागलुङले जनाएको छ । कोरोना कहरलगायतका कारण बीचमा केही वर्ष नाच रोकिएको मूल व्यवस्थापक ईश्वर मलेपतीले जानकारी दिनुभयो । २०७२ सालमा विधिवत नाचिएको नाच अहिले आएर नाचिन थालिएको छ । हनुमान नाच संरक्षण परिषद् बागलुङको पहलमा यहाँका नेवार समुदायका युवाहरू साउन महिनादेखि नै यसको तयारीमा जुटेका थिए । यस नाचमा कम्तीमा १३ र बढीमा १५ जोडी युवा हनुमानको भेषधारण गरी नाच्ने गर्दछन् । पुस्तान्तरण नहुँदा हनुमान नाच संरक्षणमा चुनौती बढेको भन्दै यसवर्ष नेवार समुदायका युवा पुस्तालाई हनुमानको रूपमा अगाडि सारिएको हनुमान नाच संरक्षण परिषद् बागलुङका अध्यक्ष तीर्थप्रसाद श्रेष्ठले बताउनुभयो । हनुमान नाचमा कलाकार बनेर सहभागी हुन कडा अनुशासन र आचारसंहिता पालना गर्नुपर्ने हुन्छ । नाचमा सहभागी हुने कलाकारलाई शपथ खुवाएर मात्रै सहभागी गराउने गरिन्छ । बागलुङ नगरपालिका–३ नारायणचोकको भीमसेन मन्दिरभित्र नास्योध्योलाई पूजा गरेर हनुमान पौवामा गएर हुनमानको पूजा गरेपछि विधिवत् रूपमा हनुमान नाच शुभारम्भ हुने मूल व्यवस्थापक मलेपतीले बताउनुभयो । “यो नाच नेपालबाटै लोप हुने अवस्थामा छ, संरक्षणका लागि ढिलै भएपनि नाच देखाउन थालिएको छ” उहाँले भन्नुभयो । उहाँका अनुसार हुनमानको मूर्ति लिएर बजार परिक्रममा गरी नारायणचोक चौतारीमा स्थापना गर्ने र नाच विर्सजन गरेपछि पुनः मूर्तिलाई हनुमान मन्दिरमा लगेर राख्ने परम्परा रहेको छ । बाजाको तालमा एक अर्काले लठ्ठी ठोकेर पुच्छर हल्लाउदै हनुमानको भेषमा हिड्नु पर्दछ । हनुमान नाचमा विभिन्न प्रकारका ताल छोपेर नाच्नुपर्छ । हनुमान नाचमा १० ताल हुने गरेको मलेपतीको भनाइ छ । कुनै पनि ताल बजाउँदा कलाकारहरूले बरिब दुई इन्चको मोटाइ भएको १.५ फिट लामो गोलो आकारको डण्डीको एक छेउको टुप्पा भूईंमा टेकाई अर्को छेउमा आफ्नो दुवै हातले टेकी घोप्टो अवस्थामा अनुशासित र मर्यादित ढङ्गबाट अखेडामा रहनु पर्दछ । यसमा पहिलो ताल, सलामी ताल, छ ताल, १२ ताल, १६ ताल, घेरा हाल्ने ताल, आठ ताल, भजन ताल र २४ ताल र प्रस्थान ताल रहेका छन् । आर्थिक रूपमा र कलाकार जोहो गर्न पनि कठिन हुन थालेपछि जोगाउनै मुस्किल परेको मंकाः खल बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताउनुभयो । हुनमान नाचमा यस पटक रु १५ लाखसम्म खर्च हुने अनुमान गरिएको छ । जनशक्तिको हिसाबले धेरै जना कलाकार आवश्यक पर्ने र आर्थिक रूपमा पनि खर्चिलो हुने गरेको हनुमान नाच जोगाउन कठिन भएको उहाँको भनाइ छ । रामायण कथामा रहेको राम वनवास भएको समयमा सीतालाई हरण गरेपछि रावणले रामसँग गरेको टकरावलाई लिएर नाचको उदय भएको मानिन्छ । पौराणिक ग्रन्थ रामायणअनुसार मर्यादा पुरुष भगवान रामचन्द्रकी पत्नी सीतालाई लङ्काका राजा रावणले हरण गरी लग्दा हनुमानको सहयोगबाट सीतालाई फर्काउन सफल भएको खुसीयालीमा हनुमान नाचिएको इतिहास रहेको छ । हनुमानले रामका भाइ लक्ष्मण बेहोस हुँदा सञ्जीवनी बुटीका लागि पर्वतै उचाली उनको प्राण बचाउनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । वीर हनुमानमा निहित पराक्रम, विरता, अनुशासन, भक्तिभावलाई नृत्यको माध्यमबाट आराधना र प्राथना गर्नाले शक्ति मिल्छ भन्ने हिन्दू धर्मावलम्बीहरूको विश्वासले मल्लकालदेखि नै यो नाच नाचिने गरेको छ । बागलुङ नगरभित्र मात्रै नाचिने हनुमान नाचलाई बागलुङ नगरपालिकाले विश्व सम्पदामा सूचीकरण गर्न पहल गर्ने जनाएको छ । नगरपालिकाले हनुमान नाचलाई विश्व सम्पदामा सूचीकरणको आवश्यक काम अगाडि बढाइने जनाउँदै संरक्षणका लागि बजेटसमेत विनियोजन गरेको नगर उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो । पर्यटन प्रवद्र्धनका लागि उक्त नाचको संरक्षण र पुस्तान्तरण गर्न आवश्यक भएकाले नगरपालिकाले चासो दिएको हो ।
काठमाडौं: बङ्गलादेशले नेपाललाई हराउँदै साफ (दक्षिण एसियाली फुटबल महासङ्घ) यु–२० च्याम्पियनपसिप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बङ्गलादेशले सो उपाधि पहिलो पटक जितेको हो । ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को मुख्यालयको खेलमैदानमा आज भएको फाइनल खेलमा बङ्गलादेशले नेपालमाथि ४–१ गोलको जित निकाल्दै उपाधिमाथि कब्जा जमाएको हो । यसअघि दुईपटक फाइनलमा पुगेको बङ्गलादेश दुवै पटक पराजित हुँदै उपविजेता बनेको थियो । सन् २०१९ र सन् २०२२ मा भएको साफ च्याम्पियनपसिपमा बङ्गलादेश फाइनलमा पुगेको थियो । त्यतिबेला दुवै पटक भारतसँग पराजित हुँदै बङ्गलादेश उपविजेतामा सीमित बनेको थियो । बङ्गलादेशको जितमा आजको खेलमा मिराजुल स्लामले दुई गोल गरे भने रब्बी होसेन राहुल र मोहम्मद पिस अम्मद नोभाले समान एक–एक गोल गरे । खेलको पहिलो हाफको अतिरिक्त समयमा मिराजुलले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ५५औँ मिनेटमा अस्दुल मोल्लाले दिएको पासलाई सदुपयोग गर्दै मिराजुलले हेडमार्फत व्यक्तिगत दोस्रो गोल गरे । खेलको ७१औँ मिनेटमा बङ्गलादेशका अर्का खेलाडी रब्बीले गोल गर्दै टोलीलाई तेस्रो अग्रता दिलाए । त्यस्तै, खेलको ८१औँ मिनेटमा नेपालका समीर तामाङले गोल गरे । बङ्गलादेशका गोल किपर अगाडि गएको अवस्थामा सान्त्वना गोल गरे । यसैगरी, बङ्गलादेशका अर्का खेलाडी नोभाले खेलको दोस्रो हाफको अतिरिक्त समयमा एक गोल थपे । त्यसपछि खेलमा गोल हुन सकेन र अन्ततः बङ्गलादेशले नेपालमाथि ४–१ को ऐतिहासिक जित हासिल ग¥यो । हारसँगै साफ च्याम्पियनपसिपको उपाधिमाथि ‘ह्याट्रिक’ गर्ने नेपालको सपना अधुरै रहन पुगेको छ । नेपालबाटै सन् २०१५ मा साफ यू–१९ च्याम्पियनपसिपका नामबाट सुरुआत भएको उक्त च्याम्पियनशिपको उपाधि सुरुआतमा नेपालले जितेको थियो । उक्त च्याम्पियनपसिपको फाइनल खेलमा नेपालले भारतलाई ‘टाइब्रेकर’मा पराजित गर्दै उपाधिमाथि कब्जा जमाएकोे थियो । उक्त च्याम्पियनपसिप यसअघि कहिले साफ यू–१८ र कहिले साफ यू–२० को नामबाट सञ्चालन हुँदै आएको छ । त्यसैगरी, सन् २०१७ मा भूटानमा आयोजना भएको साफ यू–१८ च्याम्पियनपसिपमा पनि नेपालले उपाधि जितेको थियो । त्यतिबेला राउन्ड रोबिन लिगका आधारमा खेलाइएको उक्त प्रतियोगितामा नेपालले शीर्ष स्थानमा रहँदै प्रतियोगिताको उपाधि जितेको थियो । छैटौँ संस्करणको उक्त प्रतियोगिताको लिग चरणका खेलमा भने नेपालले बङ्गलादेशलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । त्यसैगरी, सेमिफाइनलमा नेपालले भूटानलाई तथा बङ्गलादेशले भारतलाई पराजित गर्दै साफ यू–२० च्याम्पियनपसिपको फाइनलमा स्थान बनाएका हुन् । यही भदौ २ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा नेपालसँगै बङ्गलादेश, श्रीलङ्का, भारत, माल्दिभ्स र भूटानले सहभागिता जनाएका थिए । उक्त प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने तालिका थियो तर वर्षाका कारण खेलमैदान हिलाम्य हुँदा एन्फाले प्रतियोगिताको सम्पूर्ण खेल सातदोबाटोमा खेलाइएको हो । विजेतालाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुल परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्बाङलगायतले पुरस्कार वितरण गरेका थिए ।
काठमाडौं: सभामुख देवराज घिमिरेले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक प्रमाणित गर्नुभएको छ । सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार उहाँले ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१’ प्रमाणित गर्नुभएको हो । सो विधेयक सङ्घीय संसद्का दुवै सदनबट पारित भइसकेको छ । गत साउन ३० मा प्रतिनिधिसभाबाट पारित भएको विधेयक यही भदौ ६ गते राष्ट्रियसभाले पारित गरेको थियो । सभामुखले प्रमाणित गर्नुभएको यो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइनेछ । राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएपछि विधेयकले कानुनको मान्यता पाउने व्यवस्था छ ।
काठमाडौं: प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुबीच ‘हिंसा’ शब्दलाई लिएर सवाल जवाफ भएको छ । नेकपा (एमाले) का सांसद योगेशकुमार भट्टराईले विशेष समयमा बोल्ने क्रममा माओवादीको १० वर्षको ‘हिंसा’ का कारण मुलुकको प्रगति हुन नसकेको तथा जलविद्युत् आयोजना निर्माण गर्नेलाई चन्दा मागेर धम्क्याएको आरोप लगाउनुभयो । उहाँले प्रयोग गर्नुभएको ‘हिंसा’ भन्ने शब्दलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसदहरुले नियमापत्ति गर्नुभयो । उहाँहरुले उक्त शब्द संसदको अभिलेखबाट हटाउनुपर्ने माग गर्नुभयो । सत्तापक्ष एमालेका सांसदहरुले उक्त शब्द असंसदीय नभएको भन्दै हटाउन नहुने धारणा राख्नुभयो । “मैले केही दोष दिएको हैन । अध्ययनले भन्छ कि यदी यो देशमा माओवादी हिंसा १० वर्षसम्म नभएको भए नेपालमा विद्युत् उत्पादनका क्षेत्रमा योभन्दा ठूलो क्रान्ति हुने थियो । असुरक्षाले विद्युत्मा लगानी भएन । दश वर्षको हिंसा नभएको भए २०६५ सालमै लोडसेडिङ अन्त्य हुने थियो”, सांसद भट्टराईले भन्नुभयो । सांसद भट्टराईले बोल्दै गर्दा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नियमापत्ति गर्नुभयो । उहाँले सांसद भट्टराईले गैरसंसदीय शब्द बोलेको टिप्पणी गर्नुभयो । सांसद सापकोटाले नियमापत्ति जनाउदै भन्नुभयो, “संसद सञ्चालनको नियमावली विपरीत नियमापत्ति हुने गरी शब्दहरु बोल्नु हुँदैन । माननीयले गैरसंसदीय अमर्यादीत शब्द बोल्नुभएको छ ।” सभामुख देवराज घिमिरेले हिंसा शब्दको प्रयोगबारे आफनो ध्यानार्कषण भएको उल्लेख गर्दै नियमित प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभयो । माओवादी केन्द्रका सचिव समेत रहनु भएका सांसद देवेन्द्र पौडेलले उक्त शब्द संविधान प्रतिकुल भएको भन्दै संसदको अभिलेखबाट फिर्ता लिन सभामुख घिमिरेसमक्ष अनुरोध गर्नुभयो । “सत्तापक्षमा रहेर बोलिरहनु भएका माननीयलाई खबरदारी गर्न चाहन्छु । यस प्रकारका शब्दको प्रयोग गरेर नेपालको शान्ति प्रक्रियालाई तलमाथि गर्ने अधिकार अहिलेको संविधानले दिँदैन”, सांसद पौडेलले भन्नुभयो । यस्तै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाउँदै सदनमा नियमको उल्लङ्घन भइरहेको बताउनुभयो । उहाँले उक्त शब्द संसदको अभिलेखबाट हटाउन माग गर्नुभयो । एमालेका सांसद रघुजी पन्तले सांसद भट्टराईले प्रयोग गर्नुभएको शब्द असंसदीय नभएको जिकिर गर्नुभयो ।
गण्डकी: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समाजमा शान्तिसुरक्षा कायम गर्न र कानुनी राज्यको अनुभूति दिलाउन नागरिकको पनि महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ । मुस्ताङस्थित इलाका प्रहरी कार्यालय मुक्तिनाथको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उहाँले सरकारसँगै नागरिक समाजसँगको सहकार्यमा शान्तिसुरक्षाका प्रभावकारितासँगै कानुनी राज्यको अनुभूति दिलाउन सकिने बताउनुभयो । भवन निर्माणसँगै धार्मिक पर्यटकीय तीर्थस्थल मुक्तिनाथ आउने पर्यटक र स्थानीयको शान्तिसुरक्षामा सेवा गर्न प्रहरीलाई सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । संविधानअनुसार कानुन नबन्दा प्रहरी समायोजन हुन नसकेको बताउँदै उहाँले समायोजन नहुँदा चाहेर पनि प्रदेश सरकारले आवश्यकता र अपेक्षाअनुसार प्रहरीलाई सबै सहयोग गर्न नसकिएको उल्लेख गर्नुभयो । प्रदेशको शान्तिसुरक्षाका लागि सरकारले सुरक्षा निकायलाई भौतिक पूर्वाधार, उद्धार सामग्री, यन्त्र उपकरण, क्षमता विकासका कार्यक्रममा सीमित साधनस्रोतका बीच प्रदेश सरकारले निरन्तर सहयोग गर्दै आएको उहाँको भनाइ छ । प्रदेश सरकारको रु तीन करोड ६० लाख लगानीमा निर्माण भएको भवन छ रोपनी चार आना क्षेत्रफलमा रहेको छ ।
तनहुँ: पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मस्र्याङ्दी नदीमा गत शुक्रबार भएको बस दुर्घटनामा बेपत्ता एकजना पाँच दिनसम्म फेला पर्न सकेका छैनन् । पोखराबाट काठमाडौँतर्फ गइरहेको भारतीय नम्बर प्लेट युपी५३एफटी ७६२३ नम्बरको बस मस्र्याङ्दीमा खस्दा बेपत्ता भएका २२ वर्षीय गोकर्णी सन्दीप सरोदे मङ्गलबारसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिनुभयो । दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । बेपत्ता भएको सरोदेको खोजी भइरहे पनि फेला पर्न नसकेको प्रहरीले जनाएको छ । सोमबार नदीमा खसेको बस निकाल्ने क्रममा बसले च्यापिएको अवस्थामा छ कि भन्ने आशङ्का रहे पनि उनी फेला नपरेको प्रहरीको भनाइ छ । बेपत्ता भएका सरोदेका बुबाआमाको सोही दुर्घटनामा परी मृत्यु भएको छ । प्रनाउ रायले भन्नुभयो, “घाइतेहरूले दिएको विवरणका आधारमा उनी फेला परेका छैनन् । सम्भावित ठाउँमा खोजी भइरहेको छ ।” प्रहरीले गत सोमबार आठ घण्टाको प्रयासमा नदीबाट बस निकालेर सडक नजिकको भागसम्म ल्याएको थियो ।
लुम्बिनी: लुम्बिनी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता यमलाल खनालले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथ कार्यक्रममा प्रदेश प्रमुख कृष्णबहादुर घर्तिमगरको उपस्थितिमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेयले नवनियुक्त मुख्य न्यायाधिवक्ता खनाललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । शपथ ग्रहण समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तिमगर, उपसभामुख मेनुका खाँड केसीलगायत उच्चपदस्थ व्यक्तिहरुको विशेष उपस्थिति थियो । मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाका अन्य सर्तसम्बन्धी ऐन, २०७५ बमोजिम खनाललाई शपथग्रहण गराइएको थियो । मुख्यमन्त्री आचार्यको सिफारिसमा प्रदेश प्रमुख घर्तिमगरले बुटवल उपमहानगरपालिका–९ निवासी खनाललाई यही भदौ ६ गते मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको थियो । नेपालको संविधानको धारा, १६० को उपधारा, २ बमोजिम खनाललाई मुख्य न्यायाधिवक्ता प्रदेश प्रमुखले नियुक्त गर्नुभएको हो ।
लमजुङ: पहिरोले अवरुद्ध पोखरा–सिङ्दी–पसगाउँ सडक सञ्चालनमा आएको छ । कास्कीको मादी गाउँपालिका–८ उगीकुनासहित लमजुङको विभिन्न स्थानमा रुदी खोलाले कटान गर्दा एवं पहिरो खस्दा गत साउन १२ गतेदेखि सो सडक अवरुद्ध भएको थियो । सडक सञ्चालन हुन नसक्दा लमजुङ क्व्होलासोथर गाउँपालिका–५ सिङ्दी र वडा नं ६ पसगाउँ क्षेत्रका स्थानीयलाई समस्या हुँदै आएको क्व्होलासोथर–५ का वडाध्यक्ष गितबहादुर गुरुङले बताउनुभयो । डोजरको सहयाताले करिब एक हप्तामा सडक मर्मत गरेर सडक सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो । पोखरा र रामबजार हुँदै बेँसीसहर जानका लागि पनि यही बाटो प्रयोग हुने गरेको छ । यहाँका अधिकांश स्थानीय पोखरा आवतजावत गर्ने गर्दछन् । त्यहाँका स्थानीयलाई बेँसीसहर आउनुभन्दा पोखरा जानलाई सहज र छोटो हुने भएकाले नागरिकता बनाउन, मालमोतलगायत मुख्य कामबाहेकका लागि यही सडकबाट पोखरा जाने गर्दछन् । सडक सञ्चालनसँगै स्थानीय हर्षित बनेका छन् ।