पोखरा: हरेक वर्ष आयोजना हुँदैं आएको मिस मगर नेपालको प्रशिक्षण पोखरामा सुरु भएको छ । एसटी क्रियशन म्यानेजमेन्ट प्रालिको आयोजना तथा नेपाल मगर संघ कास्कीको संरक्षकत्वमा हुँदैं आएको मिस मगर नेपाल २०२४ को प्रशिक्षण सुरु भएको कार्यक्रमका टिम संयोजक प्रियन्का गर्बुजा मगरले जानकारी दिइन् । उनका अनुसार सातौं संस्करणमा देशका विभिन्न जिल्लाबाट अन्तिम प्रतिस्पर्धाका लागि १२ जना छनौट भएका छन् । अहिले प्रारम्भिक चरणमा मातृभाषा (मगर ढुट) को प्रशिक्षण भइरहेको उनले बताइन । उनका अनुसार कार्यक्रम संयोजक तथा नेपाल आदिवासी जनाजाति पत्रकार महासंघ (फोनिज) गण्डकीका रुद्र श्रीसमगले मगर ढुटको प्रशिक्षण दिइरहेका छन् । मिस मगरका प्रतिस्पर्धीहरुलाई मातृभाषाको तालिमसँगै नेतृत्व विकास भेषाभूषा, कला संस्कृति लगायतका विभिन्न तालिमहरु पनि प्रदान हुँदैं आएको आयोजकले जनाएको छ । यसअधि सम्पन्न भएको छैटौं संस्करणमा तनहुँकी विनु रानामगरले मिस मगरको ताज जितेकी थिइन् ।
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा तीन दिनदेखि विद्युत् आपूर्ति अवरुद्ध भएको छ । अन्नपूूर्ण गाउँपालिका–६ धिरच्याङमा कालीगण्डकीले शनिबार राति ३२÷११ केभी क्षमताको प्रशारण लाइनका तीन वटा पोल र तार बगाएपछि गाउँपालिका विद्युत्विहीन बनेको हो । अन्नपूूर्ण गाउँपालिका–२ कटुञ्जेको भिरबाट खसेको पहिरोले कालीगण्डकीमा छाल उठ्दा २० मिटर माथि रहेको एउटा कृषि फार्म र विद्युत्को प्रशारण लाइनका पोल, तारमा क्षति पुगेको थियो । अन्नपूूर्ण गाउँपालिका–६ का वडा अध्यक्ष रामबहादुर खड्काले विद्युत् अभावमा गाउँपालिकाको सेवा प्रवाह, मोबाईल, इन्टरनेट सेवा प्रभावित बनेको बताउनुभयो । विद्यालयमा कम्प्युटर विषयका पठनपाठन सञ्चालन हुन सकेको छैन् । मोबाईलको टावरले काम गर्न छाडेको घोडेपानीका होटल व्यवसायी वीरेन गर्बुजा पुनले बताउनुभयो । विद्युत् आपूर्ति अवरुद्ध हुँदा अन्नपूर्ण गाउँपालिकाको दोवा, भुरुङ तातोपानी, दाना, नारच्याङ, शिख, पाउद्वार, घार, हिस्तान, राम्चेका तीन हजार दुई सयभन्दा बढी घरधुरी अन्धकार भएका छन् । नेपाल विद्युत् प्राधिकरणको म्याग्दी बितरण केन्द्रका सूचना अधिकारी प्रकाश झाले नयाँ पोल राख्न प्रस्ताव गरिएको ठाउँका जग्गाधनीको विरोधका कारण लाइन मर्मतमा ढिलाई भएको जानकारी दिनुभयो । गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनको अगुवाईमा विवाद समाधान गरी सोमबार दिउँसोदेखि पोल गाड्न र तार तान्न थालिएको उहाँले बताउनुभयो ।
गण्डकी: पोखरादेखि तनहुँको दमौलीलगायत छोटो दूरीका गन्तव्यमा दैनिक सयौँ गाडी ओहोरदोहोर गर्छन् । प्रदेश राजधानीमा बढ्दो जनघनत्वको तुलनामा सार्वजनिक यातायातको गुणस्तर भने सुधार हुन सकेको छैन । सर्वसाधारण यात्रु थोत्रा गाडीमा कोचिएरै यात्रा गर्न बाध्य छन् । पर्यटकीय राजधानीसमेत रहेको पोखरामा २० वर्ष नाघेका सवारी साधन निर्वाध चलिरहेका भेटिन्छन् । यान्त्रिक अवस्था ठीक नभएका (थोत्रा) सवारी साधन सडकमा गुड्दा प्रदूषण, दुर्घटनाको जोखिम बढ्नाका साथै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ । बिहान र बेलुका कार्यालय छुट्ने समयमा पोखराको सार्वजनिक यातायात अस्तव्यस्त देखिन्छ । घुमफिर, किनेमेल आदिका लागि पोखरा आएका सर्वसाधारण पनि साँझ गाडीमा कोचाकोच गरेर घर फर्कनुपर्ने अवस्था छ । बागलुङ बसपार्कदेखि दमौलीका लागि छुट्ने बस पृथ्वीचोकसम्म पुग्दा यात्रु खचाखच भइसकेका हुन्छन् । बसका चालकले भने यात्रु चढाउन छोड्दैनन् । बसमा सिट नभए पनि ठाउँठाउँमा रोक्दै यात्रु डाकिरहेका हुन्छन् । ट्राफिक प्रहरी भेटिँदा बसको ढोका बन्द गर्छन् । उभिएका यात्रुलाई भुइँतिर निहुरिएर बस्न अ¥याउँछन् । अर्को विकल्प नभए पनि यात्रु पनि घर जाने हतारले गाडीमा उभिन तयार हुन्छन् । यात्रु चढ्न र झर्न पनि मुस्किल हुनेगरी बसले यात्रु ओसारिरहन्छन् । कोचाकोच हुनेगरी यात्रु नचढाउन गरेको आग्रहलाई चालक र सहचालकले टेर्दैनन् । उल्टै नमीठो जवाफ फर्काउँछन् । दिउँसोको समयमा कम यात्रु लिएर हिँड्नु परेकाले साँझ–बिहान सिट सङ्ख्याभन्दा बढी यात्रु चढाउनुपर्ने बाध्यता रहेको उनीहरु सुनाउँछन् । ट्राफिक प्रहरीले बेवास्ता गर्ने भएकाले चालकलाई नियम मिच्न पनि सजिलो छ । दमौलीका लागि छुट्ने बसले अधिकांश स्थानीय यात्रुलाई सेवा दिँदै आएको पोखरा–दमौली चल्ने बसका सहचालक दीपक परियारले बताउनुभयो । दमौली जाने बसमा पोखराकै चलाउँथे, विजयपुर, अर्घौं, तालचोक, भण्डारढिक, गगनगौँडालगायत ठाउँमा पुग्ने यात्रुलाई सेवा दिँदै आएको उहाँको भनाइ छ । पोखरा–मुग्लिन राजमार्ग विस्तार तथा स्तरोन्नतिमा भइरहेको ढिलाइले पनि सो क्षेत्रको आवातजावात कठिनाइपूर्ण रहेको उहाँले बताउनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका वरिष्ठ हबल्दार आशिष क्षेत्रीले कुनै पनि सवारी साधनले सिट सङ्ख्याभन्दा बढी यात्रु बोक्न नपाइने बताउनुभयो । पोखरा–दमौली, पोखरा–बेगनासलगायतका रुटमा चल्ने सवारी साधनले क्षमताभन्दा बढी यात्रु बोक्ने गरेको गुनासो आइरहेकाले ट्राफिक अनुगमनलाई कडाइ गरिने उहाँको भनाइ छ । “लामो दूरीका गाडीमा त यो समस्या छैन”, उहाँले भन्नुभयो, “पोखरा महानगर र बाहिरका नजिकका गन्तव्यसम्मको सार्वजनिक यातायातमा देखिएको समस्या समाधानका लागि सबै पक्ष जिम्मेवार हुनुपर्छ ।” स्थानीय रुटमा चल्ने सवारी साधनले विशेष समय र परिस्थितिमा एक÷दुई यात्रुलाई उभ्याएर यात्रा गराउँदा ट्राफिक प्रहरीले व्यवहारिता हेर्ने गरेको वरिष्ठ हबल्दार क्षेत्रीले बताउनुभयो । “खचाखच यात्रु उभिएरै यात्रा गरेको अवस्थामा ट्राफिक प्रहरीले कारबाही गर्छ”, उहाँले भन्नुभयो, “ट्राफिक व्यवस्थापन र अनुगमनलाई अझ चुस्त पार्छौँ ।” उहाँले ट्राफिक प्रहरीको आँखा छलेर ट्राफिक नियम उल्लङ्घन नगर्न यातायात व्यवसायी र सवारी चालकहरुलाई आग्रह गर्नुभयो । तोकिएको सिट सङ्ख्याभन्दा बढी यात्रु बोक्दा गाडी दुर्घटनाको जोखिम बढी हुने उहाँको भनाइ छ । पोखरा–मुग्लिन सडक निर्माणको चरणमा रहेकाले उक्त सडकमा बढी यात्रु बोकेर सवारी साधन गुडाउँदा यात्रा कष्टकर हुने र दुर्घटनाको खतरा रहने ट्राफिक प्रहरीको भनाइ छ । जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक भानु शर्माले यान्त्रिक धेरै पुराना र प्रदूषणयुक्त सवारी साधन सञ्चालनमा कडाइ गरिएको बताउनुभयो । यान्त्रिक हिसाबले सही अवस्थामा नरहेका धेरै पुराना सवारी साधन सञ्चालन गर्दा दुर्घटनाको जोखिम बढी हुने उहाँले उल्लेख गर्नुभयो । “पुराना सवारी साधनबाट वायु र ध्वनी प्रदूषण पनि बढी हुन्छ, सवारी व्यवस्थापनमा पनि असहजता ल्याउँछ”, प्रहरी निरीक्षक शर्माले भन्नुभयो । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयका अनुसार गण्डकी प्रदेशमा दर्ता भई २० वर्ष नाघेका झण्डै चार सय सवारी साधन छन् । प्रदेश सवारी तथा यातायात व्यवस्थापन ऐन २०७६ ले समेत २० वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक लगाए पनि कतिपय सवारी धनीले अटेर गरी त्यस्ता सवारी साधन सञ्चालन गरिरहेको मन्त्रालयले जनाएको छ । बीस वर्ष पुराना सवारी साधन सञ्चालन गरेमा प्रदेशको सवारी तथा यातायात व्यवस्थापन ऐन २०७६ मा भएको व्यवस्थाअनुसार कारबाही हुने व्यवस्था छ । मन्त्रालयले २० वर्ष नाघेका सवारी साधनको लगतकट्टा गरी दर्ता खारेजीको प्रक्रियामा आउन सवारी धनीलाई अनुरोध गर्दै आएको छ ।
पोखरा: २५ औं अन्तर्राष्ट्रिय युवा दिवस आज नेपालमा पनि मनाइँदै छ । ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने नारासहित नेपालमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा नेकपा एमाले कास्कीले आज पोखरामा एउटा भव्य कार्यक्रमको आयोजना गरेको छ । ‘अघि बढ्छ युवा’ नाम दिएर पार्टीले पोखराको न्यूरोडस्थित सिटी स्क्वायरमा सम्मान, बहस, सांगीति प्रस्तुति र मोटिभेस्नल स्पिचसहितको कार्यक्रम राखेको छ । कार्यक्रम दिउँसो ४ बजे सुरू हुनेछ । गायन, स्वास्थ्य, शिक्षा, खेलकुद र कानुन क्षेत्रका गरेर ६ जनालाई सम्मान गर्न लागिएको कार्यक्रम संयोजक एवं एमाले कास्की सचिव दर्शन लामाले जानकारी दिए । सम्मानित हुनेमा नेपाल आइडलका विजेता करण परियार, प्रथम रनरअप सलोमी गुरूङ, राष्ट्रिय भलिबल टोलीकी कप्तान अरूणा शाही, डाक्टर विकास गौचन, प्राध्यापक शुष्मा रञ्जित र अधिवक्ता कुञ्जनी परियार प्यासी छन् । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले ‘परिवर्तनमा युवा’ शीर्षकमा राजनीतिक वक्तव्य दिने र अधिवक्ता कुञ्जनी परियार प्यासीले आफ्नो न्यायीक यात्राका बारेमा बताउनेछिन् । उनले आफू कसरी अधिवक्ता बनिन्, न्यायीक क्षेत्रको सम्भावना के छ ? युवा कानुन व्यवसायीलाई हेर्ने नजर कस्तो छ ? र कहाँ सुध्रने, को सुध्रने ? बारेमा आफ्नो भनाइ राख्नेछिन् । चार्टर एकाउन्टेन्ट दीपक भुर्तेलले पोखराको आर्थिक सम्भावनाबारे बोल्ने छन् । कार्यक्रममा निकेश गिरी र कुशल गौतमले गजल प्रस्तुत गर्ने कार्यतालिका छ । यस्तै, रोहित मल्लले युवाहरुलाई सकारात्मक ऊर्जा प्रदान गर्ने गरेर मोटिभेस्नल स्पिच दिने कार्यक्रम रहेको संयोजक लामाले जानकारी दिए ।
भारतको एक मन्दिरमा सोमबार भएको भागदौडमा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएका छन् । बिहार राज्यको जेहनाबाद जिल्लाको मखदुमपुरस्थित बाबा सिद्धनाथ मन्दिरमा भागदौडपछि उक्त दुःखद् घटना भएको हो । घटनाको पुष्टि गर्दै जेहानाबादका जिल्ला प्रशासक अलङ्कृता पाण्डेले बाबा सिद्धनाथ मन्दिरमा भएको भागदौडमा मृतक तथा घाइतेको पुष्टि गर्दै हाललाई स्थिति नियन्त्रणमा रहेको बताउनु भएको छ । भागदौड कसरी सुरू भयो भन्ने बिषयमा तत्काल कुनै जानकारी प्राप्त हुनसकेको छैन । जेहानाबादका प्रहरी प्रमुख दिवाकर कुमार विश्वकर्माले “जिल्ला प्रशासक र प्रहरी उपरीक्षक घटनास्थलमा गई घटनाको जानकारी लिइरहेको बताउनुभएको छ । उहाँहरूका अनुसार शवहरू पोस्टमार्टमका लागि पठाइँदै छ । यसैबीच, जेहानाबादका प्रहरी अधिकारी विकास कुमारले घटना प्रति दुख: व्यक्त गर्दै उचित व्यवस्था सुरक्षा हुदाँहुदै पनि दुखद: घटना घट्न पुगेको उल्लेख गर्नुभएको छ । उहाँका अनुसार घटनाको बारेमा अनुसन्धान भइरहेको छ ।
काठमाडौं: ज्यान मार्ने उद्देश्यले खुकुरी प्रहार गरी फरार रहेका २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१८ बस्ने संखुवासभा खादवारी नगरपालिका-५ भोटेबास घर भएका २५ वर्षीय मिङमा शेर्पा र ३० वर्षीय रिन्जी शेर्पा रहेका छन् । काठमाडौं महानगरपालिका-२५ उग्रतारा मन्दिर अगाडि रूकुम पूर्व सिस्ने गाउँपालिका-५ ठेगाना भएका २४ वर्षीय पुरूषलाई शुक्रबार राति खुकुरी प्रहार गरी घाइते बनाई फरार थिए । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२८ पुरानो बसपार्कबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त जनसेवा पठाइएको छ ।
वीरगञ्ज: वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दगाह भन्सार कार्यालयको ‘यार्ड’ मा लामो समयसम्म खाली कन्टेनर नहटाइँदा व्यवस्थापनमा चुनौती थपिएको छ । कोभिड–१९ महामारीदेखिका खाली कन्टेनर रोटेसन नहुँदा भन्सार यार्डमा खाली कन्टेनरको चाङ देखिएको छ । सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले बन्दगाहको भन्सार यार्डमा एक हजार पाँच सय ७६ खाली कन्टेनर हुँदा ठाउँ व्यवस्थापनमा समस्या भएको जानकारी दिनुभयो । “विशेष गरेर कोभिड महामारीको समयमा कार्गाे रेलले मालवाहक कन्टेनर छाडेर खाली र्याक रित्तै फर्किँदै गए । त्यही बेलादेखि थुप्रिएको खाली कन्टेनर अहिलेसम्म पनि यथावत रुपमा नै रहेका छन्”, उहाँले भन्नुभयो, “अहिले मालवाहक कन्टेनर सामान बोकेर आउने गर्छन् । जति सामान बोकेर आउँछन् । त्यत्ति नै खाली कन्टेनर बोकेर जाँदा पहिलाको खाली कन्टेनर यथास्थितिमा रहिरहने प्रवृत्ति देखिएको हो ।” कार्यालयका अनुसार दुई सय कन्टेनरमा भने लिलामी गर्नुपर्ने विभिन्न सामान तथा उपकरण रहेका छन् । प्रमुख भन्सार अधिकृत बरुवालले खाली रहेका कन्टेनर लैजानका लागि र्याक खाली भएको कार्गाे रेल आउनुपर्ने बताउनुभयो । “कार्गाे रेलले एकपटकमा कम्तीमा पनि ६० कन्टेनर ओसार्न सक्ने क्षमता रहन्छ”, उहाँले भन्नुभयो, “यहाँ रहेका खाली कन्टेनर हटाउनका लागि कम्तीमा पनि २० देखि ३० पटक खाली र्याक भएको कन्टेनर ल्याउनुपर्ने हुन्छ । खाली र्याकमात्र ल्याउँदा लागत खर्च धेरै लाग्ने भएकाले पनि व्यवसायी आनाकानी गर्दै आइरहेको देखिन्छ ।” प्रमुख भन्सार अधिकृत बरुवालले नेपाल इन्टरमोडल यातायात विकास समिति र भारतको प्रिष्टिन भ्याली ड्राइपोर्टलाई खाली भएका कन्टेनर हटाउनका लागि छलफल गर्दै आइरहेको जानकारी दिनुभयो । सुक्खा बन्दरगाह भन्सार कार्यालयमा कन्टेनर भरिभराउ देखिए पनि अधिकांश खाली रहेको उहाँको भनाइ छ । “बाहिरबाट हेर्दा भन्सार यार्ड भरिभराउजस्तै देखिन्छ । तर, रित्तो कन्टेनरका कारण यार्ड व्यवस्थापनमा पनि समस्या थपिरहेको छ”, उहाँले भन्नुभयो । यहाँ विशेषगरी विशाखापट्टानम र कोलकाताबाट धेरै मालवाहक कन्टेनर आउने गर्छन् । सुक्खा बन्दरगाह ५७ बिघा क्षेत्रफलमा अवस्थित छ । यो यस्तो खालको बन्दरगाह हो, जहाँ कार्गाे रेलबाट मात्र मालसामान ल्याउने गरिन्छ । यो सन् २००० विश्व बैंकको ऋण सहयोगमा रु ८२ करोड लागतमा निर्माण गरिएको हो । भारत सरकारको २० करोड लागतमा रक्सौलबाट बन्दरगाहसम्म रेल लिङ्क निर्माण गरिएको हो । अहिले सुक्खा बन्दरगाह व्यवस्थापनको काम भने इन्टरमोडल यातायात विकास समितिमार्फत हुँदै आइरहेको छ । नेपाल इन्टरमोडल यातायात विकास समिति र भारतको प्रिष्टिन भ्याली ड्राइपोर्टबीच पाँच वर्षका लागि रु तीन अर्ब ३३ करोडमा ठेक्का सम्झौता भएको छ । प्रिष्टिनले सुक्खा बन्दरगाह सञ्चालन र व्यवस्थापन गरेबापत औसतमा वार्षिक रु ६६ करोड समितिलाई उपलब्ध गराउने गर्छ ।
नवलपुर: गैँडाकोटका किसान गोपिचन्द्र रिमालले गँड्यौलापालनबाट मासिक रु दुई लाख आम्दानी गर्दै आउनुभएको छ । तीन वर्षअघि गैँडाकोट–५ वैकुण्ठपथमा १२ वटा ब्याड निर्माण गरी गँड्यौलापालन सुरु गर्नुभएको हो । एक कठ्ठा क्षेत्रफलमा १२ वटा ब्याड निर्माण गरी तीन वर्षदेखि व्यावसायिक गँड्यौलापालन गर्दै आएको ६३ वर्षीय रिमालले बताउनुभयो । पछिल्लो दुई महिनामा रु तीन लाख ६० हजार आम्दानी भएको उहाँले जानकारी दिनुभयो । एउटा ब्याडमा गँड्यौला राखेको दुई महिनामा मल तयार हुने भन्दै प्रतिब्याड रु ३० हजार आम्दानी भइरहेको रिमालले उल्लेख गर्नुभयो । प्रतिब्याडमा दुई ट्याक्टर मल, श्रमिकको ज्याला, प्याकिङका लागि प्लास्टिकसहित करिब रु १५ हजार लागनी हुने जनाउँदै दुई महिनाभित्र प्रतिब्याडबाट १२ क्विन्टलसम्म मल उत्पादन हुने उहाँले गरेको उहाँले जानकारी दिनुभयो । रिमालका अनुसार प्रतिकिलो रु २५ का दरले गँड्यौलाको मल बिक्री हुन्छ । “मैले दुई किलो र पाँच किलोको ‘प्याकेट’ बनाएर प्रतिकिलो रु २५ का दरले बिक्री गर्दै आएको छु”, उहाँले भन्नुभयो, “त्यसबाहेक खुला मल २५ किलो र ५० किलोको बोरामा राखेर बिक्री गरिरहेको छु ।” गैँडाकोटमा उत्पादित गँड्यौलाको मल जिल्लाका अधिकांश एग्रोभेट, नर्सरीमा खपत हुने गरेको भन्दै केही गोरखा, चितवनलगायत जिल्लामा समेतमा बिक्री गर्दै आएको किसान रिमालले जानकारी दिनुभयो । उत्पादन भएको एक वर्षसम्म गँड्यौलाको मलमा विभिन्न १६ प्रकारका तत्व रहने भन्दै कृषकले एक वर्षसम्म उक्त मल प्रयोग गर्न सक्ने उहाँले बताउनुभयो । “किसानले गँड्यौलाको मलको महत्व नबुझेकाले आफैँले गाडीमा राखेर पसलमा पु¥याउने गरेको छु”, रिमालले भन्नुभयो, “गँड्यौलापलनबाट जीविकोपार्जनमा सहज भएको छ । मेहनत गरेअनुसार आम्दानी पनि भइरहेकाले खेतबारीमा काम गर्न रमाइलो लाग्छ ।” गँड्यौलापालन भएको ठाउँमा टनेल निर्माण गरिएको भन्दै मनसुन सकिएपछि टनेल बाहिरसमेत गँड्यौला पाल्ने योजना बनाएको उहाँले जानकारी दिनुभयो । “अहिले हरेक १० दिनमा १२ क्विन्टल मल तयार हुने गरेको छ”, उहाँले भन्नुभयो, “उत्पादित मल प्याकिङ गरेपछि आफँैले गाडीमा राखेर बिक्रीका लागि बजारमा लैजाने गरेको छु ।” पशुपालक किसानको फार्मबाट गाईको मल ल्याएर राखेको छ दिनसम्म मललाई बाहिर चिसो बनाइसकेपछि ब्याडमा राखेर त्यसमाथि गँड्यौला राखेपछि मल तयार हुने उहाँले उल्लेख गर्नुभयो । “ब्याडमा प्लास्टिक राखेपछि त्यसमाथि बाहिर चिसो बनाएको मल मिलाएर राख्नुपर्छ”, रिमालले भन्नुभयो, “मल राखेपछि माथिबाट गँड्यौला राखेर जुटको बोराले छोप्नुपर्छ । बेलाबेलामा पानी छम्किँदै गएपछि मल तयार हुन सुरु हुन्छ ।” ब्याडमा मल राखेको ३० दिनपछि मल निकाल्न सुरु गरिने उल्लेख गर्दै उहाँले ६० दिनमा ब्याडको सबै मल निकालेर बिक्री गर्न तयार हुने जानकारी दिनुभयो । ब्याडबाट निकालिएको तयारी मललाई कृषि ज्ञान केन्द्र नवलपुरले ७५ प्रतिशत अनुदानमा दिएको मेसिनले छानेर प्याकिङ गरेपछि बजारमा पठाउँदै आएको रिमालको भनाइ छ । पोखराबाट ल्याएको तीन किलो गँड्यौलाबाट व्यावसाय सुरु गरेको स्मरण गर्दै उहाँले कुनै औपचारिक तालिम नलिएको जानकारी दिनुभयो । रिमालले भन्नुभयो, “तीन वर्ष अघि प्रतिकिलो रु दुई हजार पाँच सयका दरले गँड्यौला किनेर ल्याएको थिएँ । तालिम वा कुनै व्यावसायिक ज्ञान थिएन । युट्युब हेर्दै गँड्यौलापालनलाई अगाडि बढाएँ ।” अहिले गँड्यौलापालन गर्न इच्छुक कृषकलाई प्रतिकिलो रु एक हजार पाँच सयमा उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो । साथै कृषकलाई गँड्यौलापालनसम्बन्धी तालिम निःशुल्क प्रदान गर्दै आएको जानकारी दिनुभयो । फार्मबाट उत्पादित गँड्यौलाको मललाई प्रयोगशालामा परीक्षण गर्दा माटोलाई आवश्यक पर्ने नाइट्रोजन, फसफोरस, पोटास, कपरसहित विभिन्न १६ तत्व भएको प्रमाणित भएपछि बजारमा पठाउन सुरु गरेको रिमालले जानकारी दिनुभयो । यहाँका कृषक तथा सङ्घसंस्थालाई गँड्यौलाको मलबारे प्रशिक्षण दिएपछि गैँडाकोट इङ्लिस स्कुल, हुप्सेकोट गाउँपालिकाको झ्यालबास, मौलाकालिका मन्दिरलगायत स्थानमा व्यावसायिक गँड्यौलापालन सुरु भएको उहाँले उल्लेख गर्नुभयो । गाईको गोबरबाट मात्रै नभई भान्साबाट निस्कने कुहिने फोहरबाटसमेत गँड्यौलाको मल तयार पार्न सकिने भन्दै रिमालले यसबाट फोहर उत्सर्जनमा समेत कमी आउने बताउनुभयो । स्थानीयस्तरमा स्वरोजगारका अवसर सिर्जना गर्न सरोकार भएकाले गँड्यौलापालन, पशुपालन, तरकारीखेतीलगायत क्षेत्रमा लगानी बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
चितवन: मजदुरी गरेर परिवार चलाउँदै आउनुभएका भरतपुर महानगरपालिका–३ बाह्रघघरे निवासी भीमबहादुर पण्डित क्षेत्री स्वास्थ्य बीमा गराएपछि पहिलोपटक भरतपुर अस्पतालमा उपचार गराउन आउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य बीमाका बारेमा आफूलाई ज्ञान नहुँदा वडा कार्यालयको सहयोगमा बीमा कार्यक्रम समावेश भएको हुँ ।” अहिले उपचारमा लाग्ने खर्चको जम्म १० प्रतिशतमात्र आफूले व्यहोर्नुपर्ने भन्ने सुन्दा दङ्ग पर्नुभयो । लाइन लामो भए पनि आफू उपचार गराएरै जाने उहाँले बताउनुभयो । माडी नगरपालिका–७ बाट उपचारका लागि भरततपुर अस्पताल आउनुभएका देवराज बराल पैसा हुने र नहुने दुवैलाई स्वास्थ्य बीमाले फाइदा गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “ग्रामीण क्षेत्रमा थोरै पैसा हुनेहरूका लागि स्वास्थ्य बीमा फलदायी छ ।” पहिला आफूलाई पनि बीमा गर्दा के हुन्छ भन्ने लागेको भए पनि बीमाबाट उपचार सेवा लिँदा आफ्नो पैसाको बचत हुने गरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीजस्तालाई बीमा कार्यक्रम प्रभावकारी छ । उपचार गर्दा लाग्ने रकम बच्ने गरेको छ ।” यस्तै भरतपुर महानगरपालिकाका केदार पन्थले विगत तीन वर्षदेखि बीमामार्फत उपचार गराउँदै आएको बताउनुभयो । अस्पतालको टिकट काउन्टर अगाडि भेटिनुभएका उहाँ पेटमा समस्या भएर अस्पताल आउनुभएको हो । उहाँले भन्नुभयो, “स्वास्थ्य बीमा कार्यक्रममले धाने जति उपचार गर्न पाइएको छ ।” थोरै रकममा धेरै सेवा लिन पाइएको जनाउँदै उहाँले खुसी व्यक्त गर्नुभयो । आफूले सहुलियतामा उपचार गर्न पाएको जनाउँदै उहाँले थोरै पैसाले हुने भएकाले सबै यो कार्यक्रममा जोडिन सके राम्रो हुने बताउनुभयो । यहाँको भरतपुर अस्पतालमा आउने अधिकांश बिरामी स्वास्थ्य बीमामा जोडिएका हुन्छन् । गत आर्थिक वर्षमा यस अस्पतालमा दुई लाख ६० हजारपटक बीमाका बिरामीको उपचार गरिएको अस्पतालको बीमा कार्यक्रम प्रमुख लीलाधर पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बीमा गरेका कमजोर आर्थिक अवस्था भएकाहरूलाई उपचारका लागि पैसा छैन भन्ने अवस्था छैन ।” आव २०७९/८० मा अस्पतालमा बीमामार्फत दुई लाख ५० हजार छ सय १७ पटक उपलब्ध गराइएको पौडेलले जानकारी दिनुभयो । एउटै व्यक्ति धेरैपटक पनि बीमामा आउने गर्दछन् । पौडेलका अनुसार सो वर्ष रु ५२ करोड ५३ लाख ३७ हजार पाँच सय १२ रकम भुक्तानी अस्पतालले पाएको थियो । बीमा कार्यक्रमले पैसा नहुँदा पनि उपचार सेवा लिन सक्ने गराएको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षको साउनदेखि स्वास्थ्य बीमामा जोडिएको चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटा बीमाले विपन्नका लागि उपचारमा ठूलो सहयोग गरेको बताउनुहुन्छ । अति विशिष्टिकृत सेवा लिन केही खर्चिलो हुने भए पनि स्वास्थ्य बीमा भएसँगै ग्रामीण क्षेत्रबाट उपचारका लागि ‘रेफर’ लिएर बिरामी आउन थालेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बीमा नहुँदा उपचारका लागि खर्च अभाव भयो भन्दै धेरै गुनासो आउँथ्यो, बीमा सुरु भएसँगै यस्तो समस्या कम भएको छ ।” स्वास्थ्य बीमाले गर्दा पैसा अभावमा रोग पालेर बस्नुपर्ने बाध्यताको अन्त्य भएको प्रमुख प्रशासक देवकोटाको भनाइ छ । उहाँले भन्नुभयो, “स्वास्थ्य बीमा विशेषगरी विपन्नका लागि बरदान सावित भएको छ ।” बीमा कार्यक्रम लागू भएसँगै बिरामीको सङ्ख्या पनि ह्वात्तै बढेको उहाँको भनाइ छ ।