काभ्रेपलाञ्चोक:   बिपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको छ । जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकोमा भदौ १५ गतेसम्म १२ घण्टा रोक लगाइएको ज...

चितवन:    पछिल्लो समय नेपाल नेत्रज्योति संघ चितवनले आफ्नो सञ्जाल शहरदेखि ग्रामीणतहसम्म विस्तार गरेको छ । यहाँस्थित भरतपुरमा संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले छिमेकी जिल्लाहरुमा समेत आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ ।  भरतपुर आँखा अस्पताल बाहेक अन्य दुई  सेकेण्डरी अस्पताल, एउटा सिटी क्लनिक र १८  आँखा उपचार केन्द्र संघद्वारा सञ्चालित छ । भरतपुर अस्पतालले चितवनका सातै पालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । भरतपुर महानगरपालिकाको चनौली र शिवनगर, माडी, राप्ती, खैरहनी, रत्ननगर, कालिका नगरपालिका र ईच्छाकामना गाउँपालिकामा यस्ता केन्द्र सञ्चालित छन् ।  संघद्वारा भरतपुरको नारायणगढमा ‘सिटी क्लिनिक’ सञ्चालित छ । नवलपरासी (सुस्ता बर्दघाट पूर्व) को हुप्सिकोट, मध्यविन्दु, बौदिकाली, गैंडाकोटमा केन्द्र छन् । कावासोतीमा सेकेण्डरी अस्पताल सञ्चालित छ ।  धादिङको सल्यानटार र बेनिघाट, तनहुँको आँबुखैरहनी र भानु नगरपालिका, सर्लाहीको ईश्वरपुर, सिन्धुलीको दुधौली र बाराको सिम्रनगढमा आँखा उपचार केन्द्र छन् भने पर्साको ठोरीमा सेकेण्डरी अस्पताल छ ।  संघका सभापति एवं अस्पताल सञ्चालक समितिका अध्यक्ष जयराम श्रेष्ठले आवश्यक स्थानमा आँखा उपचार केन्द्र विस्तार गर्दै लगिएको बताउनुभयो । अधिकांश केन्द्र र अस्पतालका प्रमुख पालिकाका प्रमुख एवं अध्यक्ष रहेको व्यवस्था गरिएका छन् । स्थानीयहरुको आँखा उपचार केन्द्र सहयोग समितिले केन्द्रको रेखदेख गर्दै आएको छ । स्थानीय पालिकाको सहकार्यमा अधिकांश केन्द्र सञ्चालन गरिएको छ । सेकेण्डरी अस्पतालमा चिकित्सक हुन्छन् भने केन्द्रहरुमा नेत्र सहायकले सेवा प्रदान गर्दछन्  । दुईदेखि तीन जनाको टिमले केन्द्र सञ्चालन गर्दछ । जटिल समस्या आएमा टेलिमिडिसिन मार्फत् विशेषज्ञ चिकित्सकसँग परामर्श लिने व्यवस्था सबै केन्द्रमा छ । यसबाट पनि समाधान नभएमा बिरामीलाई मुख्य अस्पताल पठाउने गरिन्छ । मध्यम अवस्था रहेमा नजिकको अस्पतालमा पठाउने गरिन्छ ।  मुख्य अस्पतालमा विशेषज्ञ चिकित्सकहरु छन् । अस्पतालमा १२ जना विशेषज्ञ चिकित्सक, ८ जना अध्ययनरत आवासीय चिकित्सक, ८ जना अप्टोमेट्रिक्स (दृष्टि विशेषज्ञ), ५९ जना नेत्र सहायक सहितको टिमले उपचार दिंदै आएको छ । अध्यक्ष श्रेष्ठका अनुसार यहाँ कार्यरत चिकित्सकहरुले जलविन्दु, मोतियाविन्दु, दृष्टिपर्दा, कर्निया, अकोलोप्लास्टिक (नक्कली आँखा राख्ने) विषयमा फेलोसिप समेत गरेका छन् । अस्पतालले नै दुई जनालाई ‘फेलोसिप’ अध्यापन गराउँदैछ ।  अस्पतालका मेडिकल निर्देशक डा.पुष्पा गिरी श्रेष्ठका अनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का विद्यार्थीहरु यहाँ आँखामा एमडि तहको अध्ययन गर्दछन् । यसका अतिरिक्त अन्य संस्थाहरुले पनि अध्ययनका लागि यहाँ पठाउने गर्दछन् । हिरालाल सन्तुदेवी प्रधान नेत्रविज्ञान अध्ययन संस्थान मार्फत् शैक्षिक कार्यक्रम सञ्चालन हुने गरेका छन् । नेत्र सहायक अध्यापन हुने गर्दछ ।  अस्पतालले चितवन र छिमेकी जिल्लाहरुमा शिविरहरु मार्फत् सेवा दिंदै आएको छ । निर्देशक डा गिरीका अनुसार हरेक वर्ष १२÷१३ जिल्लामा शिविर मार्फत् सेवा दिने गरिएको छ । अस्पतालले आँखा बैंक स्थापना गर्ने तयारी गरेको छ । भीराज उषामाया पाठक आँखा बैंक नाम दिइएको छ । अहिले नानी संकलन गरेर तिलगंगा पठाउने गरिएको छ । अहिलेसम्म एक हजार २५३ जनाले आँखा दानका लागि प्रतिबद्धता जनाइसकेका छन् ।  २७ जनाको नानी संकलन गरेर पठाईएको छ भने १३१ जनाको यहाँ नानी मगाएर प्रत्यारोपण गरिएको निर्देशक डा गिरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“मानव अंगको महत्वपूर्ण अंग आँखा हो । अन्धोपना हुनु जीवनका लागि निकै कठिन हुन्छ । समयमा उपचार पाएमा अन्धोपना हुनबाट जोगाउन सकिन्छ । ” अन्धोपन हुनबाट जोगाउँदै अस्पतालले गत आर्थिक वर्षमा तीन लाख ४० हजार दुई सय ६२ जनालाई आँखाको उपचार गरेको छ । अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या तीन लाख २१ हजार छ रहेको थियो । झण्डै छ प्रतिशत बढी बिरामीलाई अस्पतालले सेवा दिएको हो ।  अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार बाह्य शिविरबाट ३९ हजार २३ जनालाई सेवा दिइएको छ । विद्यालयमा पुगेर ३५ हजार चार सय ८० बालबालिकाको आँखा परीक्षण गरिएको उहाँले बताउनुभयो ।  आँखा उपचार केन्द्रबाट ५२ हजार एक सय ४९ जनाले सेवा लिएका छन् । अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या ३४ हजार एक सय रहेको थियो । यो अघिल्लो वर्ष भन्दा ५२ दशमलव ९१ प्रतिशतले बढी हो । मुख्य अस्पताल रहेको भरतपुरबाट एक लाख ६१ हजार सात सय ७६ जनाले सेवा लिएका छन् । यो अघिल्लो वर्षको भन्दा चार प्रतिशतले बढी हो । सूचना अधिकारी घिमिरेका अनुसार सो अवधिमा ११ हजार चार सय ३५ जनाको आँखाको शल्यक्रिया गरिएको छ । अघिल्लो आर्थिक वर्ष यो संख्या १० हजार चार सय १५ रहेको थियो । अघिल्लो वर्ष भन्दा गत आर्थिक वर्षमा नौ दशमलव ७९ प्रतिशत बढीको आँखाको शल्यक्रिया गरिएको छ । अस्पतालमा देशका विभिन्न भूभागसँगै भारतबाट समेत बिरामी आउने गर्दछन् । स्वयंसेविहरुको संस्था भएकाले न्यून शुल्कमा उपचार हुने गर्दछ । सरकारी र गैरसरकारी संघ संस्थाहरुले आआफ्नो क्षेत्रबाट सहयोग गर्ने भएकाले अस्पताल सञ्चालन गर्न कठिनाईका बाबजुद सहज बनेको संघका सचिव केशव अधिकारीले बताउनुभयो ।  उहाँले भन्नुभयो “अस्पताल आउने बिरामी आर्थिक अभावका कारण फर्किनु पर्दैन ।” स्वास्थ्य बीमा कार्यान्वयन  भएकाले बिरामीलाई सहज हुने गरेको सचिव अधिकारीको भनाइ छ । अस्पताल विसं। २०४४ चैत्र १८ गते स्थापना भएको हो । 

इलाम:    छेकी शेर्पा १९ वर्षकी हुनुभयो । उहाँ इलामको कच्ची सडकमा सवारी चलाउनुहुन्छ । साहस र आँटिलो स्वभावकी छेकीले डेढ वर्षयता निरन्तर बोलेरो जिपमा यात्रु बोक्ने काम गर्दै आउनुएको छ ।            त्यसो त सवारी चलाउने महिला नभएका हैनन् । तर पहाडी जिल्लाको कच्ची बाटोमा सार्वजनिक यातायातको साधन चलाउने महिलाको सङ्ख्या नगण्य छ । यात्रुसहितको सवारी चलाउने उहाँ इलाम जिल्लाको मात्र नभई पूर्वी पहाडीकै एकमात्र किशोरी हुनुहुन्छ ।            पहाडको कच्ची सडकमा खोलानाला र भिरालो सडकमा गाडी चलाउन जो कोहीले हिम्मत गर्दैनन् । घरपरिवारले गाडी खरिद गरिदिएपछि उहाँले गाडी चलाउन थाल्नुभएको हो । बोलेरो डबल क्यापको जिपमा यात्रु र भारीसहित उहाँ बिहान इलाम सन्दकपुरको जमुनास्थित सिस्नेबाट इलाम सदरमुकाम जानुहुन्छ । दिउँसो सदरमुकाम तथा बिब्ल्याँटेबाट जमुना फिर्ने गर्नुहुन्छ ।            उहाँको बुवा पहिलेदेखि सवारी चालकको काम गर्नुहुन्थ्यो । घरमा तीन छोरी भएका कारण बुवाकै सहयोगमा चालक बनेको उहाँ बताउनुहुन्छ । सुरुमा बुवाले नजिकैको दूरीमा गाडी चलाउन सिकाएपछि उहाँले विस्तारै राम्रोसँग चलाउन थाल्नुभयो । छोरीले राम्रोसँग गाडी चलाउन जानेपछि छोरीलाई चलाउन दिएको फुर्वा शेर्पाले बताउनुभयो ।       “मलाई बुवाले नै गाडी चलाउन सहयोग गर्नुभएको छ । परिवारको साथ पाएरै म राम्रोसँग गाडी चलाउन सक्ने र यही पेसा गर्नसक्ने भएकी छु”, उहाँले भन्नुभयो । छेकीले गाडी चलाउँदा केही यात्रुहरुले सुरुमा विश्वास गर्दैनथे । उहाँले चलाएको गाडीमा चढ्नै मान्दैनथे । तर, हिजोआज यात्रुहरुले छेकीमाथि यति विश्वास गर्न थाले कि उहाँले चलाएको गाडी खोजी खोजी चढ्न थालेका छन् ।       उहाँले बर्खायाममा पनि खर्च कटाएर मासिक रु ३० हजारभन्दा बढी कमाउने गर्नुभएको छ । बर्खामा हिलो बाटोका कारण गाडी मर्मत धेरै गर्नुपर्ने हुँदा पैसा थोरै बच्ने गरेको छ । हिउँद याममा धेरै आम्दानी हुने गरेको उहाँको भनाइ छ । सिजनमा मासिक रु एक लाख हाराहारी कमाउने गरेको सो क्षेत्रका सवारी चालकहरु बताउँछन् ।            कक्षा १२ सम्म अध्ययन गर्नुभएकी उहाँले पढ्दै गरेको समयमा पनि गाउँमा गाडी कुदाएको स्थानीयको भनाइ छ । उहाँले गाडी चलाएरै बहिनीलाई डाक्टर बनाउने सपना देख्नुभएको छ । “दाजुभाइ नहुँदा सानैदेखि हामीले छोरा र छोरी दुवैको काम गर्दै आएका छौँ”, उहाँले भन्नुभयो । रोजगारीको खोजीमा धेरै नेपाली महिला विदेसिने गरेका छन् । तर महिलाले गाउँमै सवारीचालकको काम पनि गर्न सकिने काम रहेछ भनेर उदाहरण दिनुभएको छ छेकीले ।           जोखिमपूर्ण सडकमा पनि एकदमै सरल तरिकाले गाडी चलाउने गरेकाले यात्रुहरूले  उहाँको गाडी रोज्ने गरेको बताउँछन् । “केही पुरुष चालकहरुले मादक पदार्थ सेवन गरेर पनि सवारी चलाएको पाएका छौँ”, स्थानीय यात्रु दावा शेर्पाले भन्नुभयो, “तर उहाँले त मदिरा सेवन समेत नगर्ने हुँदा हामी ढुक्कले यात्रा गर्छौँ ।” 

काठमाडौं:    बङ्गलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको कूटनीतिक राहदानीलाई बिहीबार रद्द गरेको छ । संयुक्त राष्ट्रसङ्घको एक टोली कथित मानव अधिकार उल्लङ्घनको अनुसन्धान गर्ने कि नगर्ने भनेर मूल्याङ्कन गर्न ढाका पुगेको एक दिनपछि हसिनाका दस्तावेजहरू रद्द गर्ने कदमले उहाँको भविष्यको योजनालाई अन्योलमा पार्नसक्छ । सरकारी जागिरमा व्यवस्था गरिएको आरक्षण दुरूपयोग गरिएको भन्दै यसको विरोधमा सुरू भएको विद्यार्थी आन्दोलनमा सहभागिता बढ्दै जाँदा पूर्व प्रधानमन्त्री हसिना आफ्ना अति निकटस्थ सदस्यसहित हेलिकप्टरमार्फत् नयाँदिल्लीमा शरण लिन पुग्नुभएको थियो । आन्दोलनकारी ढाकास्थित उहाँको सरकारी निवासमा पुगी तोडफोडसमेत गरेका थिए ।  उहाँको १५ वर्ष लामो शासनको अन्त्यमा भएको आन्दोलनका क्रममा ४५० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै हसिनाको राहदानी र सरकारका पूर्वमन्त्री तथा पूर्वसांसदको राहदानी रद्द गर्नुपर्ने जनाएको छ । यसले हसिनालाई शरण दिइरहेको क्षेत्रीय शक्तिराष्ट्र भारतका लागि पनि कूटनीतिक दुविधा खडा गरेको छ । भारतले हसिनालाई शरण दिएपनि प्रधानमन्त्री मोदीले बङ्गलादेशका नयाँ नेता नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई पनि समर्थन गर्नुभएको छ ।  बङ्गलादेशको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पूर्वप्रधानमन्त्री, उनका सल्लाहकार, पूर्व मन्त्रीमण्डल र विघटित राष्ट्रिय सभाका सबै सदस्य आफ्नो ओहदाका आधारमा कूटनीतिक राहदानीका लागि योग्य थिए ।” “यदि उनीहरूलाई पदबाट हटाइएको वा अवकाश दिइएको अवस्थामा उनीहरूको र उनीहरूका पति वा पत्नीको कूटनीतिक राहदानी रद्द गर्नुपर्नेछ,” विज्ञप्तिमा भनिएको छ । ढाकाका नयाँ अधिकारीहरूले हसिना र उहाँको कार्यकालमा अन्य पूर्व उच्च अधिकारीहरूले विशेष राहदानीका लागि आवेदन दिन सक्ने तर ती कागजातहरू स्वीकृतिमा निर्भर रहेको बताएका छन् । “माथि उल्लेखित व्यक्तिले सामान्य राहदानीका लागि नयाँ आवेदन दिँदा दुई वटा सुरक्षा निकायले राहदानी जारी गर्नका लागि आफ्नो आवेदन स्वीकृत गर्नुपर्नेहुन्छ,” मन्त्रालयले भनेको छ। हसिनाको सरकारमाथि विपक्षी नेता तथा कार्यकर्ता र सर्वसाधारणमाथि व्यापक दुव्र्यवहार गरेको आरोप लागेको छ । यसमा राजनीतिक विरोधीहरूको सामूहिक हिरासत र गैरन्यायिक हत्या पनि समावेश छ । संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले गत साता एक प्रारम्भिक प्रतिवेदनमा सुरक्षा बलले अनावश्यक र असमान बल प्रयोग गरेको भन्ने बलियो सङ्केत र थप स्वतन्त्र अनुसन्धानको खाँचो रहेको बताएको थियो । युनुसले आफ्नो प्रशासनले संयुक्त राष्ट्रसङ्घका अनुसन्धानकर्तालाई आवश्यक पर्ने सबै सहयोग उपलब्ध गराउने बताउनुभएको छ ।  प्रर्वप्रधानमन्त्री हसिनाले गठन गरेको बङ्गलादेशी युद्ध अपराध न्यायाधिकरणले हालैको अशान्तिलाई लिएर आफ्ना संस्थापकमाथिको ‘सामूहिक हत्या’ सम्बन्धमा तीनवटा मुद्दामा अनुसन्धान अगाडि बढाएको जनाएको छ । 

तनहुँ:    तनहुँको आँबुखैरेनीमा शुक्रबार बिहान भएको भारतीय बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले घटनास्थलबाट १४ जनाको शव निकालिएको र १६ जनाको उद्धार गरिएको जानकारी दिनुभयो । उहाँले घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाएको र थप उद्धार कार्य जारी रहेको जानकारी दिनुभयो । भारतीय पर्यटक सवार भारतीय बस शुक्रबार बिहान मर्स्याङ्दी नदीमा खसेको थियो । पोखराबाट काठमाडौँ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस ११ः३० बजेतिर बाटोबाट करिब डेढ सय मिटर तल नदीमा खसेको हो ।   यो पनि पढ्नुहोस   काठमाडौं जाँदै गरेको बस मर्स्याङ्दी नदीमा खस्यो

तनहुँ:    जिल्लामा डेङ्गी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । यही भदौ १ गते एक हजार ८२ जनामा सङ्क्रमण देखिएकामा अहिले एक हजार तीन सय २३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।       छ दिनमा दुई सय ४१ जना नयाँ सङ्क्रमित थपिएका स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुदीप कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको आँबुखैरेनीमा सबैभन्दा बढी नौ सय ८८ जनामा सङ्क्रमण देखिएको छ ।       शुक्लागण्डकीमा एक सय ४९, व्यासमा ९८, बन्दीपुरमा ७१, म्याग्देमा सात, भीमाद र भानुमा पाँच÷पाँच जनामा डेङ्गी पुष्टि भएको  छ । चार नगरपालिका र छ गाउँपालिका गरी १० पालिका रहेको जिल्लामा सात पालिकामा डेङ्गी सङ्क्रमण देखिएको सूचना अधिकारी कँडेलले बताउनुभयो । ऋषिङ, घिरिङ र देवघाटमा हालसम्म सङ्क्रमितको सङ्ख्या शून्य छ ।       सङ्क्रमण बढेपछि आँबुखैरेनी गाउँपालिकाले लामखुट्टेको बासस्थान ‘खोज र नष्ट गर’ अभियानलाई तीव्रता दिँदै आएको छ । पालिका डेङ्गी सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गएकाले जनचेतनासँगै अभियानलाई तीव्रता दिइएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले बताउनुभयो । विभिन्न टोल तथा बस्तीमा पुगेर लामखुट्टेले फुल पार्ने सम्भावित ठाउँको खोजीगरी नष्ट गरिएको उहाँले जानकारी दिनुभयो ।       डेङ्गी सङ्क्रमण बढ्दै गएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । आँबुखैरेनी अस्पतालमा लक्षित वर्गका सङ्क्रमितको निःशुल्क उपचारको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक अवस्था कमजोर भएका, नवजात शिशु, गर्भवती, सुत्केरी, बेवारिसे, अपाङ्गता भएका, सहाराविहीन, अशक्त तथा ज्येष्ठ नागरिकलाई औषधि उपचारमा निःशुल्क गरिएको छ ।       बिरामीलाई आवश्यक परेमा अस्पतालमा भर्ना, औषधिलगायत सम्पूर्ण खर्च गाउँपालिकाले व्यर्होर्ने बताउँदै अध्यक्ष चुमानले पालिकाले सिफारिस गरेपछि सोका आधारमा अस्पतालले सेवा उपलब्ध गराउने जानकारी दिनुभयो । 

धनुषा:     गृहमन्त्री रमेश लेखकले मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्न बर्तमान सत्ता गठबन्धन बनेको बताउनुभएको छ ।  जिल्ला प्रशासन कार्यालय धनुषाको नयाँ भवनको आज यहाँ शिलान्यास गर्दै गृहमन्त्री लेखकले नेपाली कांग्रेस र नेकपा (एमाले) एकठाउँमा आएर सरकार निर्माण गर्दा मुलुकमा व्याप्त समस्या समाधान गर्न सहज भएको बताउनुभयो । दुई ठूला दल एकठाउँमा आएर सरकार निर्माण गर्दा मुलुकमा व्याप्त समस्या समाधान गर्न सहज हुने उहाँको भनाइ थियो ।       गृहमन्त्री लेखकले दुई ठूला दलको समिकरणबाट निर्माण भएको अहिलेको सरकारले देशलाई नयाँ आयामतर्फ लैजाने बताउनुभयो । “बर्तमान समिकरणबाट बनेको सरकारले मुलुकका जटिल समस्या समाधान गर्न सघाएको छ”, उहाँले भन्नुभयो, “ अहिले नेपाली जनतामा सरकारप्रति विश्वासको वातावरणको सिर्जना भएको छ ।”      अठार वर्षदेखि निष्कर्षविहीन रहेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विषय अहिलेको दुई ठूला दल नेपाली कांग्रेस र नेकपा ९एमाले० एक ठाउँमा उभिँदा निष्कर्षमा पुग्न सफल भएको गृहमन्त्री लेखकले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो,  “समिकरण बन्ने र भत्किने क्रम चलिरहँदा देशले राजनीतिक रुपमा स्थायित्व पाएन, यसले नागरिकको सेवा प्रवाहलाई समेत प्रभावित ग¥यो ।”      अहिले निर्माण गरिएको सत्ता समिकरण मुलुकका लागि निर्विकल्प रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले तत्कालै यसको विकल्प खोज्नु उचित नहुने बताउनुभयो । “यसले जटिल समस्या समाधान मात्रै गरेको छैन, मुलुकमा राजनीतिक स्थायित्व समेत प्रदान गरेको छ”, उहाँले भन्नुभयो  ।           गृहमन्त्री लेखकले सत्तापक्ष र प्रतिपक्ष दुवै लोकतन्त्रका अपरिहार्य आधार भएकाले विकास, आर्थिक समृद्धि, कानुनको सासन सुनिश्चित गर्नेलगायतका कुरामा सबै सँगै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले राजनीतिक अस्थिरताको प्रभावले विगतमा केन्द्र र प्रदेशमा असर परेकाले बाँकी रहेका विकास निर्माणका काम  अब दुई ठूला पार्टी मिलेर बनेको वर्तमान सरकारले पूरा गर्ने बताउनुभयो ।

धादिङ:    काठमाण्डौंबाट पोखरा जाँदै गरेको गरेको इभी माईक्रो बस धादिङको गल्छी गाउँपालिकास्थित पृथ्वी राजमार्गमा पर्ने सिम बजारमा दुर्घटना हुँदा १५ जना घाईते भएका छन् । वर्षाका कारण सडक चिप्लो हुँदा सो माइक्रो बस दुर्घटनामा परेको हो । सो माईक्रो बस सडकमा पल्टिएको छ । माइक्रो बस दुर्घटनाका घाईतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

काठमाडौं:    नेपाली सेनामा रिक्त अधिकृत पद (सहायक सेनानी र उपसेनानी) मा खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त आह्वान गरिएको छ । रिक्त २८० पदका लागि आवेदन आह्वान गरिएको हो ।  भर्ना छनोट निर्देशनालयले आज एक सूचना जारी गर्दै योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइटबाट अनलाइन दरखास्त फाराम भर्न सक्ने जनाएको छ ।  फारम भरी सो को प्रिन्ट सहित स्वयम् उपस्थित भई तोकिएको भर्ना केन्द्रमा दरखास्त पेस गर्न आह्वान गरिएको छ ।  आगामी असोज ६ गतेसम्म दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।  

कैलाली:    जमिनको भोगाधिकार विवाद समाधान नहुँदा घोडाघोडी नगरपालिकामा निर्माणाधीन १५ शय्याको नगर अस्पताल भवन अलपत्र परेको छ । घोडाघोडी नगपालिका प्रमुख खडकबहादुर रावतले जमिन भोगाधिकार नगरपालिकामा कायम गर्न नभएकाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरिएको जानकारी दिँदै सकारात्मक परिणाम आउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।  जमिनको स्वामित्व निक्र्योल नगरी सरकारले स्थानीय तहको स्वास्थ्य संस्था स्तरोन्नतिका क्रममा १५ शय्याको आधारभूत अस्पताल निर्माण थालनी गरेको थियो ।  तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल मङ्सिर १५ गते देशभरका तीन सय ९६ अस्पतालको एकसाथ शिलान्यास गर्नुभएको थियो । सोही अनुरुप घोडाघोडी नगरपालिकाले पनि वडा नं २ साडेपानीमा १५ शय्याको नगर अस्पताल बनाउने निर्णय भएको हो ।  नगर अस्पताल निर्माणको सम्झौता राजेन्द्र निर्माण सेवा प्रालि डडेलधुरासँग गरिएको थियो । कम्पनीले रु नौ करोड ८६ लाख पाँच हजार पाँच सय ७० मा दुई वर्षभित्र भवन निर्माण गर्न २०७८ वैशाख २९ गते सम्झौता गरेको थियो । अस्पताल भवन निर्माण अलपत्र परेपछि पालिकाले स्वास्थ्यचौकीको भवनमा नगर अस्पताल सञ्चालन गरेको छ ।