बाढीपहिरो क्षति: काभ्रेमा ६ जना बेपत्ता, ७८ को मृत्यु
काभ्रेपलाञ्चोक | कात्तिक १, २०८१

काभ्रेपलाञ्चोक: गत असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी यहाँ ७८ जनाको ज्यान गएको छभने छजना अझै बेपत्ता छन् । धेरै दिनसम्म खोजी गर्दा पनि फेला नपरेपछि खोजी स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।
बाढीपहिरोमा बेपत्ता हुनेमा तेमाल गाउँपालिका–२ का ३ र ६ वर्षीया दुई बालिका प्रिया तामाङ र अप्रिया तामाङ छन् । उनीहरु पहिरोले घर पुरिँदा बेपत्ता भएका हुन् ।
त्यस्तै, चौँरीदेउराली गाउँपालिका–६ का ४० वर्षीया शान्ता रिमाल बेपत्ता छिन् । एक हप्तासम्म खोजी गर्दा उनी फेला नपरेको प्रहरीले जनाएको छ ।
धुलिखेल नगरपालिका–८ निवासी ४२ वर्षीया गीता श्रेष्ठ पनि अझै बेपत्ता रहेको जनाइएको छ । बेथान्चोक गाउँपालिका–४ की ३८ वर्षीया ज्ञानु परियार र खानीखोला गाउँपालिका–६ की ३७ वर्षीया देवीमाया सिंतान अझै बेपत्ता छन् ।
बेपत्ताको खोजतलास गरिए पनि फेला पर्न नसकेको जिल्ला प्रहरी प्रमुख वसुन्धरा खड्काले बताउनुभयो । उहाँका अनुसार बाढीपहिरोमा परी ७५ जना घाइते भएका थिए ।
बाढीपहिरोमा मृत्यु हुनेमा सबैभन्दा बढी पनौती नगरपालिकाका १८ जना छन् । रोशी गाउँपालिकाका १३, तेमालका १२, बेथान्चोकका १२, मण्डनदेउपुर र नमोबुद्ध नगरका सात÷सात तथा बनेपा र भुम्लुका तीन÷तीनजनाले ज्यान गुमाए ।
धुलिखेल नपाका दुई र चौँरीदेउरालीका एकजनाले बाढीपहिरोमा ज्यान गुमाए । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये पाँचखाल, खानीखोला र महाभारतमा भने मानवीय क्षति हुन पाएन ।
काभ्रेपलाञ्चोकमा बाढीपहिरोमा परी ३३ महिला, २९ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको छ । यसमध्ये २१ विद्यार्थी हुन् ।
सरकारद्वारा बाढीपहिरो र डुबानबाट अतिप्रभावित स्थानीय तह घोषित गरेकामध्ये ‘विपद् सङ्कटग्रस्त क्षेत्र’अन्तर्गत यहाँको रोशी, तेमाल, बेथानचोक, चौँरीदेउराली र महाभारत गाउँपालिका तथा पनौती, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिका छन् ।
सरकारले बाढीपहिरोमा मृतक परिवारलाई तत्काल उपलब्ध गराउने रु दुई लाख जिल्ला प्रशासन कार्यालयमार्फत प्रदान गरिसकिएको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालकाअनुसार मृतक परिवारलाई सरकारद्वारा उपलब्ध रकम दसैँअघि बुझाइएको हो । बेपत्ताको हकमा कुनै निर्णय भएको छैन ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...