काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले रिक्त रहेको उपाध्यक्ष पदमा गुरु बराललाई मनोनीत गर्ने निर्णय गरेको छ । एमालेको आज बसेको सचिवालय बैकठले स्थायी कमिटी सदस्य बराललाई उपाध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको एमाले महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो । उपाध्यक्ष सुभासचन्द्र नेम्बाङको निधन भएपछि उक्त पद रिक्त रहेको थियो । यस्तै, मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा मनोनीत गर्ने निर्णय गरिएको छ । सत्रजना केन्द्रीय सदस्यमा मनोनीत महासचिव पोखरेलले बैठकले पार्टी प्रवेश, महिला र विभिन्न जनवर्गीय सङ्गठनबाट १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको जानकारी दिनुभयो । उहाँका अनुसार सुवास कर्माचार्य (सिन्धुपाल्चोक), कुन्दन कुशवाह (रौतहट), जितेन्द्र देव (सप्तरी), रामप्रीत पासवान (सिरहा), कृष्णभक्त पोखरेल (चितवन), कमलकृष्ण तिमिल्सिना (अछाम) र गोविन्द पुन (सल्यान) रहनुभएको छ । यस्तै, केदार सिग्देल (तनहुँ), मनमोहन पौडेल (पर्वत), हरदेव जोशी (दार्चुला), हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर), सरिता भुसाल–किसान महासङ्घ, प्रभा बराल (कास्की), मञ्जु शर्मा चालिसे (बागलुङ) र आशा जवेगु (पाँचथर) रहनुभएको छ ।
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) २५ वर्षमा प्रवेश गरेको छ । २०५६ साउन २७ मा स्थापना भएको फोनिजले रजत वर्ष मनाउने तयारी गरेको छ । सोही अनुसार फोनिज गण्डकी प्रदेशको बिहीबाको बैठकले विभिन्न कार्यक्रम गरी रजत वर्ष मनाउने निर्णय गरेको छ । सोही अनुसार फोनिज गण्डकीले कास्की शाखासँग सहकार्य र समन्वय गरी सरसफाई, मैत्रीपूर्ण भलिबल, छलो प्रतियोगिता, पुरस्कार अर्पण र सम्मान कार्यक्रम गरी रजत वर्ष मनाउने तयारी गरेको फोनिज गण्डकीका महासचिव धनबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार साउन १९ गते नेपाल पत्रकार महासंघ कास्की शाखा परिसर सरसफाई गरिनेछ । साउन २४ गते खेलकुद पत्रकार मञ्चको पुरुष टोली र फोनिजको पुरुष टिम साथै नेपाल पत्रकार महासंघ कास्की शाखाको महिला टिम र फोनिजको महिला टिमसँगै पुरुष भेट्रान्स पत्रकार बिच मैत्रीपूर्ण भलिबल प्रतियोगिता गर्ने भएको छ । खेलकुद उपसमितिमा संयोजकमा फोनिज गण्डकी सचिव अर्जुन गाहा ‘सुशान्त’ संयोजक र सदस्य प्रविन मगरलाई सहसंयोजक तोकिएको छ । खेलकुद उपसमितिमा कृष्ण आले, मणिलाल गुरुङ, सुरज थापा, सुमन थापामगर, गिता राना र दिलप्रसाद गुरुङ सदस्य छन् । सोही दिन पत्रकारहरु बिच (महिला÷पुरुष) खुला छेलो प्रतियोगिता पनि हुनेछ । रजत वर्ष मनाउने क्रममा साउन २७ गते मुल कार्यक्रम हुने महासचिव गुरुङले जानकारी दिए । उक्त दिन पोखराका प्रतिष्ठित व्यवसायी विमलमान गुभाजु र उनका परिवारले आफ्ना स्व. बावुआमा वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा स्थापना गरेको तथा फोनिज गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८१’ अर्पण गरिनेछ । उक्त पुरस्कार यो वर्ष कास्कीका पत्रकार दीपेन्द्र श्रेष्ठ र नवलपुरकी पत्रकार कमला रानामगरलाई प्रदान गरिनेछ । उनीहरुलाई जनही २५ हजार रुपैयाँ राशि रहेको पुरस्कारसहित सम्मान गरिनेछ । भने, सुरुवाती समयमा अनिज स्थापनादेखि फोनिज हुँदासम्म योगदान, साथ, सहयोग र सल्लाह दिने अग्रजहरुलाई पनि सम्मान गरिने महासचिव गुरुङले जानकारी दिए ।
पोखरा: पोखरा महानगरपालिका–१ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा नेपाली हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । ‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विद्यालयले विद्यार्थीहरुको प्रतिभालाई प्रस्फुटन गर्न प्रतियोगिता आयोजना गरेको हो । हिज्जे प्रतियोगितामा धौलागिरि सदनबाट कक्षा १० की छात्रा अनिता बि.क., कक्षा ९ का छात्राहरुद्वय ममता गुरुङ , प्रशंसा सुनार प्रथम र अन्नपूर्ण सदनबाट कक्षा १० का छात्र शिशिर तिमिल्सिना, कक्षा ९ का छात्रछात्राद्वय आशिका देवकोटा र शिरिष बुद्धाचार्य द्वितीय भएका छन् । प्रतियोगिताको हिज्जेकर्ता नेपाली शिक्षिका माया क्षेत्री रहनुभएको थियो । साथै विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठ तथा सह–प्राचार्य नीलकण्ठ पौडेलले उक्त विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । भने यस कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप संयोजक राजु बयलकोटीले गर्नुभएको थियो ।
पोखरा: किर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठलाई पब्लिक फोरके टेलिभिजनले सम्मान गरेको छ । टेलिभिजनले एकै सिजनमा तीन पटक सगरमाथा आरोहण गरेर विश्व किर्तिमान बनाएकी श्रेष्ठलाई बिहीबार एक लाख रुपैयाँ नगदसहित सम्मान गरेको हो । पोखराको न्युरोडस्थित टेलिभिजनको कार्यालयमा आयोजित कार्यक्रममा प्रबन्ध निर्देशक मन क्षेत्रीले नगद एक लाख रुपैयाँसहित दोसल्ला ओडाएर सम्मान पत्र प्रदान गरे । श्रेष्ठले गएको मे १२, मे १९ र मे २५ मा सगरमाथाको सफल आरोहण गरेकी थिइन् । गोरखाको आरुघाट गाउँपालिका–१० की श्रेष्ठले सन् १०१८ मा पहिलो पटक सगरमाथामा पाइला राखेकी हुन् । यस पटकको बसन्त याममा सगरमाथा आरोहणमा विश्व किर्तिमान राख्न सफल भएकी श्रेष्ठलाई पब्लिक फोरके टेलिभिजनका अध्यक्ष सविन भट्टले एक लाख रुपैयाँसहित सम्मान गर्ने घोषणा गरेका थिए । पत्रकारिता क्षेत्रबाट मिलेको सम्मानले हौसला मिलेको पूर्णिमाले बताइन् । ‘पत्रकार भएपनि यसरी पत्रकारिता क्षेत्रबाट नगदसहित सम्मान पाएको थिइनँ’, उनले भनिन् । गोरखाको गाउँमा जन्मिएर सगरमाथाको चुचुरोमा पुग्दासम्म अनुभूति पब्लिककर्मीसँग साटिन् । उनले हरेक क्षेत्रमा काम गर्दा कामलाई भारी सम्झन नहुने सुझाव दिइन् । पूर्णिमाकोे अदम्य साहसलाई बढवा दिन सम्मान गरिएको टेलिभिजनका प्रबन्ध निर्देशक क्षेत्रीले बताए । ‘हामीले गरेको सम्मान अदम्य साहस भएको पत्रकारलाई गरेको सम्मान हो । धेरैै जनाकोे प्रेरणाको स्रोत भएकी पर्वतारोहीलाई सम्मान हो’, क्षेत्रीले भने । हिमाल आरोहणमा नयाँ पुस्ताको प्रेरणाको स्रोत बन्न उनले शुभकामना व्यक्त गरे । श्रेष्ठ आरोहीसँगै फोटो पत्रकारसमेत हुन् । उनले ७ वर्ष अघि पर्वतारोहण सुरु गरेकी हुन् । सुरुवातमा मनास्लु हिमाल चढेकी उनले आठ हजार मिटरभन्दा अग्ला ८ वटा हिमाल आरोहण गरेकी छन् ।
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८१’ दीपेन्द्र श्रेष्ठ (कास्की) र कमला रानामगर (नवलपुर) लाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिले गरेको सिफारिसअनुसार फोनिज गण्डकीको बिहीबारको बैठकले श्रेष्ठ र रानामगरको नाम अनुमोदन गरेको फोनिज गण्डकी महासचिव धनबहादुर गुरुङले जानकारी दिए । पुरस्कार राशि जनही २५ हजार र सम्मानपत्र छ । फोनिजका संघीय सल्लाहकार हुमबहादुर तमुको संयोजकत्वमा रहेको प्रतिभा छनोट समितिले श्रेष्ठ र रानामगरको नाम सिफारिस गरेको हो । समितिको सदस्यमा फोनिज गण्डकीका इन्चार्ज पत्रकार एमबी आस्था मगर, सल्लाहकार शान्ति गुरुङ, फोनिज गण्डकी अध्यक्ष रुद्र श्रीस मगर र महासचिव धनबहादुर गुरुङ थिए । पुरस्कृत हुने दीपेन्द्र पोखराको एभरेष्ट एफ.एममा कार्यरत छन् । उनी नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमात अध्यक्ष हुने भने हाल पत्रकार महासंघ कास्की र गण्डकी प्रदेशका सल्लाहकार छन् । यस्तै रानामगर नवलपुरको मध्यविन्दु एफ.एममा कार्यरत छिन् । उनी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) की संघीय सदस्य हुन । भने, फोनिज गण्डकी प्रदेशकी संस्थापक उपाध्यक्ष पनि हुन् । उनीहरुलाई फोनिजको स्थापनाका दिवसका दिन साउन २७ गते पोखरामा सम्मान समारोह आयोजना गरी पुरस्कृत गरिनेछ । पोखराका प्रतिष्ठित व्यवसायी विमलमान गुभाजु र उनका परिवारले आफ्ना स्व. बावुआमा वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हुन् । गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाई क्रियाशील २ पत्रकारलाई हरेक वर्ष यो पुरस्कार प्रदान गरिँदै आएको छ । यसअघि कास्कीका रुद्रबहादुर थापा, शान्ति गुरुङ, उदयबहादुर अमात्य, हुमबहादु तमु, बागलुङका राजेशचन्द्र राजभण्डारी, नवलपुरका केबी राना, लमजुङका आश गुरुङ र मुस्ताङका सुन्दरकुमार थकालीलाई यो पुरस्कार अर्पण गरिसकिएको छ ।
पोखरा: सरकारले बिक्री वितरणमा रोक लगाएको ट्रामाडोल (लागूपदार्थ) सहित प्रहरीले पोखराबाट २ जनालाई पक्राउ गरेको छ । प्रहरीले पोखराको न्यूरोडस्थित दिप दर्शन होटलका सञ्चालक र म्यानेजरलाई बिक्री वितरणमा रोक लगाएको औषधी ट्रामाडोल (लागूपदार्थ) सहित हिजो (बुधबार) पक्राउ गरेको हो । प्रहरीले दिप दर्शन होटलका सञ्चालक तनहुँ शुक्लागण्डकी नगरपालिका ५ स्थायी घर भई पोखरा बस्ने ३७ वर्षीय इन्दु देवी श्रेष्ठ र होटलका म्यानेजर स्याङ्जा घर भई पोखरा–१७ विरौटा बस्ने २५ वर्षीय मिलन पौडेललाई ट्रामाडोलको ४३ हजार २ सय ट्याबलेटसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख मोहन कुमार थापाले होटलमा ग्राहक बनेर जाँदा बिक्री वितरणमा रोक लगाएको औषधी ट्रामाडोलसहित २ जनालाई नियन्त्रणमा लिएको बताए । ‘सरकारले यस औषधीको दुरुपयोग बढेपछि बिक्री बितरणमा रोक लगाएको छ’, थापाले भने, ‘हामी होटलमा ग्राहक बनेर जाँदा प्रतिबन्ध लगाइएको औषधी बिक्री बितरण गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हौ ।’ कास्की प्रहरी प्रमुख थापाले प्रारम्भिक अनुसन्धानको क्रममा पक्राउ परेका उनीहरुले औषधी पसलमा बाँकी रहेको औषधी राखेको खुलाएको जानकारी दिए । ‘प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरुले औषधी पसलमा बिक्रीमा राखिएको औषधी स्टक रहेको बताएका छन्’, उनले भने, ‘सरकारले यो औषधी विक्री वितरणमा रोक लगाएको छ तर उनीहरुले हामी ग्राहक बनेर जाँदा बिक्री गरेको अवस्थामा रङ्गेहात पक्राउ गरेका हौं ।’ उनले होटलबाट बरामद गरेको ट्रामाडोल अहिले अवैध रुपमा बिक्री गर्दा ४० देखि ५० लाख पर्नेे देखिएको बताए । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । कास्की प्रहरीले सरकारले बिक्री वितरणमा रोक लगाएको औषधीहरु पसलमा भए नष्ट गर्न समेत अनुरोध गरेको छ ।
पोखरा: ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले संस्थामा आवद्ध कम्पकीका सञ्चालकहरुलाई एक दिने फोटोग्राफी तथा भिडियोग्राफी तालिम दिएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (Sustainable Tourism for Livelihood Recovery Project) अन्तर्गत बुधबार तालिम प्रदान गरिएको हो । फोटोपत्रकार राम गुरुङ र प्रेम थापाले प्रशिक्षण दिइएको उक्त तालिममा संस्थाका पूर्व अध्यक्षहरु तथा टानमा आवद्द ७२ कम्पनीका सन्चालकहरुको सहभागिता रहेको थियो । तालिममा सहभागिहरुले एक दिने कार्यक्रमबाट पनि धेरै ज्ञान पाएको सुनाए । टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष कृष्णप्रसाद आचार्यले स्वागत मन्तव्यसहित तालिमको बारेमा प्रकाश पारेका थिए भने कार्यक्रम सञ्चालन सचिव तिर्थराज सुवेदीले गरेका थिए ।
पोखरा: सूचीकृत स्वास्थ्य संस्थाबाट गर्भपतन सेवा लिनेको सङ्ख्या गण्डकी प्रदेशमा वृद्धि हुँदै गएको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा प्रदेशअन्तर्गतका ११ जिल्लाको दुई सय ५३ स्वास्थ्य संस्था गर्भपतन सेवाका लागि सूचीकृत भएका थिए । देशभर यस्ता सूचीकृत संस्थाको सङ्ख्या भने एक हजार पाँच सयभन्दा बढी रहेको जनाइएको छ । निर्देशनालयका अस्पताल नर्सिङ प्रशासक अञ्जु पौडलका अनुसार गत आवमा १२ हजार एक सय ६७ जनाले सुरक्षित गर्भपतन सेवा लिएका थिए । यसरी सेवा लिनेमध्ये २० वर्षभन्दा कम उमेरका पाँच सय ७३ थिए । पोखरा महानगरपालिकाभित्र गत आवमा एक हजार पाँच सय १७ ले सुरक्षित गर्भपत सेवा लिएका थिए । विसं २०५९ मा सुरक्षित गर्भपतन सेवालाई कानुनी मान्यता दिइएको थियो भने २०७३ देखि सबै सूचीकृत स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवालाई निःशुल्क गरिएको थियो । सरकारले आधारभूत स्वास्थ्य सेवाका रुपमा सुरक्षित गर्भपतन सेवालाई लिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाका अनुसार ४३ प्रतिशतले मात्र सूचीकृत स्वास्थ्य संस्थाबाट गर्भपतन सेवा लिने गरेका छन् । अर्थात् असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या ५७ प्रतिशत छ । असुरक्षित गर्भपतनले महिलाको समग्र स्वास्थ्यमा गम्भीर असर पुग्ने बताइएको छ । अर्कोतर्फ सुरक्षित गर्भपतन सेवा निःशुल्क पाइन्छ भन्ने सेवाग्राहीलाई जानकारी नै छैन । सुनौलो परिवार नेपालका कार्यकारी निर्देशक डा केपी उपाध्याय सेवाग्राहीलाई सुरक्षित गर्भपतन सेवा निःशुल्क छ भन्ने जानकारी नहुँदा असुरक्षित गर्भपतनको सङ्ख्या वृद्धि भएको हुनसक्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “ अझै अनधिकृत औषधिबाट गर्भपतन गराउनेक्रम रोकिएको छैन । अनधिकृत औषधिले महिलाको ज्यान नै खतरामा पर्छ, यसतर्फ सरकार थप गम्भीर बन्नुपर्छ । ” यसैबीच, सुरक्षित गर्भपतन सेवाका बारेमा रहेको अनभिज्ञतालाई कसरी अन्त्य गर्न सकिन्छ भन्ने ध्येयले बुधबार यहाँ छलफल आयोजना गरिएको छ । बिएनबी मिडिया र सुनौलो परिवार नेपालद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रमका सहभागीले सुरक्षित गर्भपतन सेवा परिवार नियोजनको साधन होइन, यो महिलाको आधारभूत स्वास्थ्य सेवाका रुपमा रहेको विषयलाई प्राथमिताका साथ समुदायलाई बुझाउन र सञ्चारमाध्यमले उठान गर्नुपर्नेमा जोड दिएका थिए । सहभागीले सरकारले अनुमति दिएका अर्थात् सूचीकृत स्वास्थ्य संस्थाबाट मात्र गर्भपतन सेवा लिन र असुरक्षित गर्भपतनले निम्त्याउने जोखिमलाई अन्त्य गर्न जनचेतना जगाउन सञ्चारमाध्यमको भूमिका अहम् हुने सुझाव दिएका थिए । कार्यक्रममा गण्डकी प्रदेश, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा विनोदविन्दु शर्माले सूचीकृत संस्थाबाट मात्र गर्भपतन सेवा लिनका लागि सेवाग्राहीलाई जानकारी गराउन मन्त्रालयले जनचेतना जगाउने काम गरिराखेको बताउनुभयो । उहाँले भन्नुभयो, “किशोरी र आमालाई सुरक्षित बनाउन सुरक्षित गर्भपतन सेवालाई थप प्रभावकारी बनाउने नीति मन्त्रालयको छ । गर्भवती हुने बित्तिकै स्वास्थ्य सस्थाको पहुँचमा महिलालाई ल्याउन मन्त्रालयले सबै जिल्लामा विशेष कार्यक्रम सञ्चालन गरिराखेको छ ।” उहाँका अनुसार प्रदेशमा गत आवमा ४१ हजार गर्भवती भएका थिए । स्वास्थ्य निर्देशनालयका अस्पताल नर्सिङ प्रशासक पौडेलले सुरक्षित गर्भपतनसम्बन्धी राष्ट्रिय नीति, सेवाको अवस्था र अगामी योजनाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुहँुदै सुरक्षित गर्भपतन सेवाका बारेमा विद्यमान अनभिज्ञतालाई हटाउन सामूहिक प्रयासको खाँचो औँल्याउनुभयो । उहाँले भन्नुभयो, “गर्भपतन सेवा लिने अथवा नलिने भन्ने अधिकार स्वयं महिलालाई हुनुपर्छ । यसलाई गर्भनिरोधकको साधनका रुपमा बुझ्नु हुँदैन । गर्भपतन सेवा महिलाको अधिकार हो ।” उहाँले बिस वर्षभन्दा कम उमेरमा गर्भपतनको सङ्ख्या बढ्नुमा असुरिक्षत यौनसम्पर्क, अस्थायी साधनको प्रयोग नगर्नु र यौन तथा प्रजनन शिक्षाबारे पर्याप्त ज्ञान नहुनुजस्ता कारण रहेको बताउनुभयो । उहाँले भन्नुभयो “जनचेतनाको कमी, सामाजिक र सांस्कृतिक अवरोध, स्वास्थ्य सेवाको पहुँचमा कमी र चिकित्सक र स्वास्थ्यकर्मीको अभावलगायत चुनौती सुरक्षित गर्भपतन सेवामा रहेको छ । ” पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका वरिष्ठ स्त्रीरोग विज्ञेषज्ञ डा प्रेम पँगेनीले पछिल्लो समय सूचीकृत स्वास्थ्य संस्था सङ्ख्यामा वृद्धिभएसँगै सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या पनि वृद्धि भइरहेको छ भन्नुभयो । उहाँले “किशोरी तथा आमालाई अकालमा मृत्युको मुखबाट जोगाउने विभिन्न उपायमध्ये सुरक्षित गर्भपतन सेवा हो । यसलाई समुदायस्तरमा चेतना पु¥याउनुपर्छ । सकभर गर्भपतन गर्नुपर्ने अवस्था नै आउन दिन हुँदैन । गर्भपतनलाई परिवार नियोजनको विकल्प बनाउनु हुँदैन ।” उहाँका अनुसार अस्पतालमा असुरक्षित गर्भपतनबाट हुने गम्भीर अवस्थामा समेत सेवाग्राही आउने गरेको जानकारी दिँदै गत वर्ष एकजनाको पनि निधन नभएको बताउनुभयो । डा पँगेनीले सरकारी अस्पतालमा सेवा निःशुल्क भएकाले यसका बारेमा धेरैभन्दा धेरै महिलालाई जानकारी दिनु आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “ र्भपतन सेवा निःशुल्क भएकाले यसका बारेमा धेरैभन्दा धेरै महिलालाई जानकारी दिनु आवश्यक छ । समस्या परेर नै महिलाले गर्भपतन सेवा लिने हुन् । यसमा समाजमा रहेका सरोकारवालाहरुको सकारात्मक धारणा आवश्यक छ ।” कार्यक्रममा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका सिनियर अहेब अधिकृत हरिलाल आचार्यले सुरक्षित गर्भपतन सेवाका लागि सूचीकृत स्वास्थ्य संस्थाको समय समयमा अनुगमन गर्ने गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सेवालाई प्रभावकारी, गुणस्तरीय बनाउनका लागि सूचीकृत सरकारी स्वास्थ्य संस्था अनुगमन गर्ने गरेका छौँ । सेवालाई कसरी राम्रो बनाउन सकिन्छ भनेर लागिपरेका छौँ ।” कार्यक्रममा सुनौलो परिवार नेपालका प्रबन्धक कुमार आचार्यले सुनौलो परिवार नेपालद्वारा प्रदान भइरहेका परिवार व्यवस्थापन र सुरक्षित गर्भपतन सेवा सम्बन्धी विभिन्न सेवा एवं कार्यक्रमका बारेमा जानकारी दिँदै सुरक्षित गर्भपतन सेवामा पुहँच वृद्धि गर्न असुरक्षित गर्भपतनलाई निरुत्साहन गर्न आवश्यक छ भन्नुभयोे । उहाँले “आफ्नो संस्थाले सुरक्षित गर्भपतन सेवा प्रदान गरिराखेको, यसका लागि दक्ष जनशक्ति उत्पादनका लागि तालिम सञ्चालन एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको सहकार्यमा ११४३ हट लाइन टेलिफोन सेवा सञ्चालन गरिराखेको छ ।” प्रबन्धक आचार्यका अनुसार सुनौलो परिवार नेपालले सन् २०२३ मा आफ्ना विभिन्न शहरमा रहेका क्लिनिक मार्फत् ४६ हजार आठ सय ३५ लाई सुरक्षित गर्भपतन सेवा प्रदान थियो । परिवार व्यवस्थापन र सुरक्षित गर्भपतन सूचना तथा सेवाका बारेमा जानकारी दिने सो हटलाइन सेवा अत्यन्त प्रभावकारी मानिन्छ । सुरक्षित मातृत्व तथा स्वास्थ्य अधिकारसम्बन्धी ऐन २०७५ अनुसार गर्भवतीको अवस्थाअनुसार १२ देखि २८ हप्तासम्मको गर्भपतन गराउन सकिन्छ । गर्भवतीको मञ्जुरीमा १२ हप्तासम्म जस्तो प्रकारको गर्भ पनि पतन गराउन सकिन्छ । गर्भपतन नगराएमा गर्भवतीको ज्यानमा खतरा पुग्न सक्छ वा निजको शारीरिक वा मानसिक स्वास्थ्य खराब हुन सक्छ, जबर्जस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भलार्ई गर्भवतीको मञ्जुरीले २८ हप्तासम्मको गर्भपतन गराउन पाइन्छ । यसैगरी, रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जीवाणु (एचआइभी) वा त्यस्तै प्रकृतिको अन्य निको नहुने रोग लागेको महिलाको मञ्जुरीमा २८ हप्तासम्मको गर्भ, वंशाणुगत (जेनेटिक) खराबी वा अन्य कुनै कारणले अशक्तता हुने अवस्था रहे उपचारमा संलग्न स्वास्थ्यकर्मीको रायबमोजिम गर्भवतीले सुरक्षित गर्भपतन गर्न पाउने व्यवस्था रहेको छ । गर्भवतीको मञ्जुरी बिना कुनै करकाप, धम्की, ललाइफकाइ, झुक्याइ वा प्रलोभन देखाई, लिङ्ग पहिचान गरी लिङ्गका आधारमा गर्भपतन गर्न नपाउने व्यवस्था ऐनमा छ । ‘मिफेप्रिस्टोन’ र ‘मिसोप्रोस्टोल’ नामक औषधिको प्रयोगद्वारा गरिने सुरक्षित गर्भपतन सेवा (एमए) नेपालमा बढी प्रयोगमा छ । यो दश हप्ताभित्रको गर्भको सुरक्षित मानिन्छ । तालिम प्राप्त र अनुमति प्राप्त नर्सले मात्र यो औषधि वितरण गर्न सक्ने प्रावधान छ । यसैगरी, १२ हप्तासम्मको गर्भपतनलाई ‘म्यानुअल भ्याकुम एस्पिरेसन’ (एमभिए) विधिमार्फत तालिम प्राप्त स्वास्थ्यकर्मीद्वारा औजारको माध्यमबाट गरिन्छ । १३ देखि १८ हप्तासम्मको गर्भलाई कम्पिहेन्सिव इमरजेन्सी अब्सटेठी नियोनेटल कियर सुविधा भएको सूचीकृत स्वास्थ्यमा तालिम प्राप्त स्वास्थ्यकर्मीद्वारा डाइलेटेसन एन्ड इभ्याकुएसन ९डिएन्ड० गरिन्छ ।
पोखरा: पोखरामा क्रियाशिल रहेको बुद्धटोल युवा (बिटी) क्लबले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पहिलाे पटक रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । बुद्धटोल युवा क्लबका अध्यक्ष अशिम थापाले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा यही साउन २८ गते खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिने जानकारी दिए । उनका अनुसार पोखरा महानगरपालिका–१ स्थित पुरानो टुडिखेलमा बिहान ७ बजेदेखि खुल्ला रक्तदान कार्यक्रम हुनेछ । खेलकुदको क्षेत्रमा निकै सक्रिय रहेको यस क्लबले युवा दिवसको अवसरमा पहिलाे पटक रक्तदान आयोजना गर्न लागेको क्लबको कोषाध्यक्ष दीपक कार्कीले जानकारी दिए । उनका अनुसार क्लबले सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । क्लबले यसअघि सामाजिक कार्यक्रम अन्तरगत कोरोना भाइरसको महामारीको समयमा राहात वितरण, सरसफाई, टोटोलको सडकबत्तीको मर्मत-संभार, सिसिटिभी जडान, विभिन्न विषयमा जनचेतनामूलक अन्तरक्रिया लगायतका कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।