पोखरा: नेपाल आइडल सिजन ५ का विजेता करण परियार लेकसाइडमा गुञ्जिदैं छन् । पोखरा ६ लेकसाइडस्थित प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलमा आज बेलुकी करण परियार तथा द व्याण्डले प्रस्तुती दिनेछन् । नेपाल आइडलको विजेता बनेपछि परियार पोखरामा पहिलो पटक आउन लागेका हुन् । परियारलाई द व्याण्ड तथासुनिल बस्याल र सञ्जित सेवानले साथ दिनेछन् ।
काठमाडौँ: काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरको विमान दुर्घटनापछिको जोखिमपूर्ण अवस्थाबाट विमान चालकलाई सकुशल उद्धार गर्ने ६ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् । प्रहरी प्रधान कार्यालयले उक्त जोखिमपूर्ण अवस्थामा पाइलट मनीषरत्न शाक्यलाई सकुशल उद्धार गर्न सफल प्रहरी कर्मचारीलाई नगद पुरस्कारसहित सम्मान गरिएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरी नायब उपरीक्षक सुकेदेव खनाल र टङ्क राउत तथा प्रहरी जवान श्रीराम परियार, करणसिंह चाइसिर, भीमप्रसाद गौतम र कृष्ण जोशीलाई पुरस्कृत गरिएको हो । साउन ९ गते बिहान ११ बजेर १३ मिनेटको समयमा काठमाडौँबाट पोखरा जान लागेको उक्त विमान उड्ने बित्तिकै खसेर दुर्घटना भएको थियो । दुर्घटनामा पाइलट शाक्यबाहेक सबै १८ जनाको मृत्यु भएको थियो । मृत्यु हुने सौर्य एयरका कर्मचारी, इन्जिनियर तथा उनीहरुका आफन्त रहेका प्रहरीले जनाएको छ ।
काठमाडौँ: पाइलट मनीषरत्न शाक्यलाई सघन उपचार कक्ष (आईसीयू) बाट सामान्य वार्डमा सारिएको छ । सौर्य जहाज दुर्घटनामा घाइते भएका पाइलट शाक्यलाई स्वास्थ्यमा सुधार आएपछि सामान्य वार्डमा सारिएको हो । काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पतालका निर्देशक प्रा.डा.मीना थापाका अनुसार अस्पतालको आकस्मिक कक्षमा प्राथमिक उपचारपछि उनलाई निगरानीका लागि आईसीयूमा राखिएको थियो । तर, हिजो (बिहीबार) साँझ उनलाई क्याबिनमा सारिएको हो । शाक्यलाई न्युरो र हाडजोर्नी विशेषज्ञ चिकित्सकहरूको निगरानीमा राखिएको छ ।
काठमाडौँ: स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला रु एक लाख ४५ हजारमा कारोबार भएकामा आजका लागि रु एक लाख ४४ हजार सात सय निर्धारण भएको छ । तेजाबी सुन बिहीबार प्रतितोला रु एक लाख ४४ हजार तीन सयमा कारोबार भएकामा आज रु १ लाख ४४ हजार निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु २० ले घटेको छ । बिहीबार प्रतितोला रु एक हजार सात सय ५० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु एक हजार सात सय निर्धारण भएको छ ।
काडमाडाैं: ओखलढुंगाको चिसङ्खुगढीका भुवन श्रेष्ठ नेपाल फर्किएका छन्। संयुक्त अरब एमिरेट्स (यूएई) मा मृत्युदण्ड सुनाइएका भुवन बिहीबार बिहान ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएका उनका बुबा यमनारायण श्रेष्ठले जानकारी दिए। भुवन र धादिङको नेत्रावती ४ का पहलमान थापा मगरलाई नेपालीकै हत्या अभियोगमा युएईको अदालतले दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो। तर, हत्या गरिएका भनिएका पीडित परिवारलाई ब्लडमनी बुझाएर भुवन नेपाल फर्किएका हुन् भने पहलमान पनि फर्किदै छन् । उनीहरूविरुद्ध नवलपरासीको मध्यविन्दु ११ का बाबुराम आलेमगरको हत्या गरेको आरोप छ। युएईको कानून अनुसार पीडित परिवारले अदालतले दिने सजायमा रोज्न पाउँछन्। कसुरदारलाई मृत्युदण्ड नै दिने कि, त्यसबापत रकम तिराउने (ब्लडमनी) भनेर अदालतले पीडित परिवारलाई सोध्छ। त्यसपछि दुई परिवारले तीन लाख युएई दिराम बराबरको (एक करोड ८ लाख रुपैयाँ) बुझाएपछि जेलमुक्त गरिएको हो । याे समाचार नेपालअबरमा उजिर कार्कीले लेखेका छन् ।
म्याग्दी: म्याग्दीको मालिका गाउँपालिका–७ बिमको डाडागाउँमा निजी धारासहितको खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । नेपाल पानीको लागि स्वास्थ्य (नेवा) संस्था, मालिका गाउँपालिका र उपभोक्ताको रु ३२ लाख ९७ हजार सात सय ३२ को लागतमा आयोजना निर्माण सम्पन्न भएको हो । आयोजनाबाट ५६ घरपरिवार, एक विद्यालय, एक स्वास्थ्यचौकीमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको वडाध्यक्ष टकलाल पुनले जानकारी दिनुभयो । तीन सय ३४ जनसङ्ख्या लाभान्वित भएका उहाँले बताउनुभयो । यसअघि सार्वजनिक धारामार्फत खानेपानी वितरण हुने गरेको थियो । घरआँगनकै धारामा नियमित पानी आपूर्ति हुन थालेपछि उपभोक्ताको समयको बचत भएको स्थानीयवासी टुकमान जुग्जालीले बताउनुभयो । “धाराबाट पानी ओसार्दा हुने दुःख र झञ्जट हटेको छ”, उहाँले भन्नुभयो, “स्थानीयवासीको दैनिकी र जीवनशैली परिवर्तन भएको छ ।” स्वास्थ्य र सफा खानेपानी आपूर्ति हुन थाले पनि दूषित पानीका कारण हुने स्वास्थ्य समस्या कम हुने अपेक्षा गरिएको छ । खानेपानीको व्यवस्थित र मितव्ययी प्रयोगका लागि मिटर जडान गरी हेरालु राखिएको छ । नेवाको रु १७ लाख ४० हजार आठ सय १३, गाउँपालिकाको रु छ लाख दुई हजार छ सय ४९ लगानी भएको आयोजना निर्माणका लागि रु एक लाख ६८ हजार छ सय ९३ नगद सङ्कलन गरेका उपभोक्ताहरुले रु सात लाख ८५ हजार पाँच सय ७७ बराबरको श्रमदान गरेका उपभोक्ता समितिले जनाएको छ । आयोजनाको बिहीबार मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्ती पुनले शुभारम्भ गर्दै स्वस्थ र स्वच्छ खानेपानी सुविधामा पहुँच बढाउन नेवासँगको साझेदारीमा डाँडागाउँसहित मालिका गाउँपालिकामा छवटा एक घर, एक धारासहितको खानेपानी आयोजना निर्माण भएको बताउनुभयो ।
काठमाडौँ: गण्डकी प्रदेश भ्रमण गर्ने विदेशी पर्यटकहरूको औसत बसाइ अवधि १२ दिन हुने गरेको छ भने उनीहरूले दैनिक ८ हजार ३५५ रुपैयाँ २९ पैसा (अमेरिकी डलर ६२.८९) रहने गरेको छ । नेपाल राष्ट्र बैंक, पोखरा कार्यालय अन्तर्गतको अनुसन्धान इकाइले तयार पारेको अध्ययन प्रतिवेदन अनुुसार गत आर्थिक वर्ष विश्वका विभिन्न ४१ देशबाट गण्डकी प्रदेशमा पर्यटक आएका छन् । तीमध्ये सबैभन्दा धेरै भारत, फ्रान्स, अमेरिका, बेलायत र अस्ट्रेलियाका पर्यटक आएका छन् । महादेशका आधारमा सबैभन्दा बढी यूरोपबाट पर्यटक आएका छन् । गत आर्थिक वर्ष गण्डकीमा आएका विदेशी पर्यटकमध्ये यूरोपबाट आएका ४६.२५ प्रतिशत छन् भने अमेरिकाबाट ०.७५ प्रतिशत आएका छन् । अफ्रिकाबाट भने गत वर्ष गण्डकी प्रदेशमा पर्यटक नै नआएको प्रतिवेदनमा उल्लेख छ । गण्डकी आउने विदेशी पर्यटकमा ३१ देखि ४५ वर्ष उमेर समूहका सबैभन्दा धेरै अर्थात् ३३ प्रतिशत छन् भने सबैभन्दा कम २० वर्षसम्म उमेर समूहका १.५ प्रतिशत छन् । यस्तै, सबैभन्दा बढी पर्यटक साहसिक क्रियाकलापमा संलग्न हुन गण्डकी आउने गरेका छन् । साहसिक क्रियाकलापमा संलग्न हुन गण्डकी आउने पर्यटक ४०.१८ प्रतिशत रहेका छन् भने व्यापारिक प्रयोजनका लागि आउने पर्यटक २.९८ प्रतिशत छन् । गत वर्ष गण्डकीमा पहिलो पटक आउने पर्यटक ६८ प्रतिशत रहँदा ३२ प्रतिशत भने एक पटकभन्दा बढी आइसकेको वर्गमा परेका छन् । यस्तै, एकल भ्रमण गर्ने पर्यटक ३४.७५ प्रतिशत, साथीसँग भ्रमण गर्ने २८.७५ प्रतिशत, परिवारसँग भ्रमण गर्ने २२.५० प्रतिशत र समूहमा भ्रमण गर्ने १४ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । सर्वेक्षणमा संलग्न गण्डकी प्रदेश भ्रमण गर्ने पर्यटकको नेपालमा औसत बसाइ २२ दिन रहेकोमा त्यसमध्ये १२ दिन गण्डकीमा बस्ने गरेको पाइएको छ ।
पाल्पा: जिल्ला प्रहरी कार्यालय पाल्पाले ९ जनालाई जुवाखालबाट पक्राउ गरेको छ । तानसेन नगरपालिका ६ भिमसेन टोल बस्ने ४९ वर्षीय शैलेन्द्र भन्ने अनन्त बहादुर थापाको घरमा जुवातास खेलिरहेका थापासहित ९ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद २९ हजार १ सय २५ रूपैयाँ र १ सय ६३ थान तास बरामद गरेको छ । सो विषयमा थप अनुसन्धान भइरहेको पाल्पा प्रहरीले जनाएको छ ।
विश्व खेलकुदको महाकुम्भ ‘पेरिस ओलम्पिक २०२४’ प्रतियोगिताको औपचारिक उद्घाटन आज हुने भएको छ । ३३ औं संस्करणको खेलकुदको महाकुम्भ फ्रान्सको राजधानी पेरिसमा आजदेखि औपचारिक सुरु हुँदैछ । सो प्रतियोगितामा २ सय ६ देशका करिब ११ हजार बढि खेलाडीहरु सहभागि हुदैंछन् । उक्त प्रतियोगिता अगष्ट ११ तारिखसम्म चल्नेछ । उक्त ओलम्पिकमा नेपालका ७ खेलाडीले चार खेलमा प्रतिस्पर्धा गनेछन् । नेपालबाट एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीमा डुवाना लामा र एलेक्जेन्डर शाह, टेबलटेनिसका स्यान्टु श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र जुडोकी मनिता श्रेष्ठ प्रधानले ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।