गोरखा: गोरखाको अजिरकोट गाउँपालिकाले पालिकाभित्रका विपन्न तथा दलित घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरुआत गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक नीति तथा कार्यक्रममार्फत आवश्यक बजेट विनियोजन गरी पालिकाभित्रका सबै विपन्न र दलित घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गर्न थालनी गरेको गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिनुभयो । “स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका दलित तथा विपन्न घरपरिवारमा सहज स्वास्थ्य उपचार सेवा पु¥याउन पालिकाले निःशुल्क स्वास्थ्य बीमा गरिदिने कार्यक्रम अगाडि बढाएको हो”, उहाँले भन्नुभयो, “यसबाट पालिकाभित्रका करिब ६ सय दलित तथा विपन्न घरपरिवार लाभान्वित हुनेछन् ।” स्वास्थ्य बीमा गराउन सबै वडामा एक–एकजना बीमा दर्ता सहयोग परिचालन गरिएको छ । गाउँपालिका–१ र २ मा निःशुल्क स्वास्थ्य बीमा गराउने कार्यक्रम सुरु भइसकेको र अन्य वडामा केही दिनभित्रै कार्यक्रम सुरु हुने उहाँको भनाइ छ । गाउँपालिकाले दलित घरपरिवारमध्ये रोजगारीमा रहेका वा सार्वजनिक पद धारण गरेका व्यक्तिका परिवारले भने आफैँले बीमाबापतको रकम बुझाएर अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था गरेको छ । आर्थिक अवस्था कमजोर भएका एवं सामान्यदेखि जटिल स्वास्थ्य समस्यामा परेका समुदायका नागरिकहरुमा सहज स्वास्थ्य सुविधाको पहुँच विस्तार गर्न पालिकाले निःशुल्क बीमा कार्यक्रम ल्याएको हो । गाउँपालिकाले संविधानमा उल्लेख गरिएको नागरिकको स्वास्थ्य उपचारको मौलिक हक कार्यान्वयन गर्न निःशुल्क बीमा कार्यक्रमको थालनी गरेको अध्यक्ष देवकोटाले बताउनुभयो । “आफैँले बीमा गर्न नसक्ने अवस्थामा रहेका सबै विपन्न तथा दलित घरपरिवारको गाउँपालिकाले निःशुल्क स्वास्थ्य बीमा गरिदिनेछ”, उहाँले भन्नुभयो, “यो कार्यक्रम पूर्णरुपमा कार्यान्वयन भएपछि आर्थिक अवस्था कमजोर भएका अजिरकोट गाउँपालिकाभित्रका कोही पनि दलित तथा विपन्न समुदायका नागरिकहरु अब स्वास्थ्य उपचार सेवाबाट वञ्चित हुनुपर्ने छैन ।” गाउँपालिकाले निःशुल्क बीमा गरिदिन सुरु गरेपछि लक्षित समुदायका घरपरिवार पनि खुसी भएका छन् । विपन्न एवं दलित घरपरिवारलाई स्वास्थ्य निःशुल्क स्वास्थ्य बीमामा आबद्ध गराउन गाउँपालिकाले मुटु फाउन्डेसनसँग पनि सहकार्य गरेको छ ।
सङ्खुवासभा: सङ्खुवासभाको जिल्ला अस्पताल खाँदबारीमा भाइरल ज्वरो र डेङ्गीका बिरामी बढेका छन् । असारको अन्तिम सातादेखि अस्पतालमा ज्वरो र डेङ्गीका बिरामी बढ्न थालेपछि शय्या अभाव हुन थालेको हो । साउनयता भाइरल ज्वरो र डेङ्गीका बिरामीको सङ्ख्या ह्वात्तै बढेपछि उपचार गर्ने शय्या अपुग हुन थालेको अस्पतालका सूचना अधिकारी शेखर खत्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “शय्या नहुँदा अहिले बिरामीलाई भुईमा राखेर उपचार गरिरहेको छौँ ।” जिल्ला अस्पतालमा ज्वरोका बिरामीको सङ्ख्या अत्याधिक बढेकाले भुइँ, खाली स्थान र हलमा राखेर उपचार गरिरहेको अस्पताल प्रशासनले जनाएको छ । अहिले अस्पतलमा आउने अधिकांश बिरामी ज्वरो, डेङ्गी र स्क्रब टाइफसका भेटिएका सूचना अधिकारी खत्रीले बताउनुभयो । उहाँका अनुसार वैशाखयता स्क्रब टाइफसका एक सय ६० र डेङ्गीका २७ जना बिरामी भेटिएका छन् । गत आर्थिक वर्षमा एक हजार एक सय ४४ जनामा डेङ्गु, पाँच सय २० जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको थियो । भाइरल ज्वरोले टाउको दुख्ने, ज्वरो आउने, वान्ता हुने, वाकवाकी लाग्ने र रुघाखोकी लाग्ने जस्ता लक्षण देखिने चिकित्सक बताउँछन् । भाइरल ज्वरोले सङ्खुवासभाका सरकारी तथा निजी अस्पतालमा समेत बिरामीको सङ्ख्या वुद्धि हुँदै गएको छ । यो वर्ष जिल्लामा भाइरल ज्वरोको सङ्क्रमण अत्यधिक बढेको अस्पतालका सूचना अधिकारी खत्रीले बताउनुभयो । विसं २०३३ मा निर्माण भएको अस्पताल अहिले ५० शय्यामा सञ्चालित छ । जिल्लाका १० स्थानीय तहकाका साथै छिमेकी जिल्ला भोजपुरका आधाभन्दा बढी भागका सेवाग्राही जिल्ला अस्पताल सङ्खुवासभा उपचारका लागि आउने गरेका छन् ।
काठमाडौं: इजराइली सेनाले बिहीबार अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको आक्रमणका क्रममा गाजा पट्टीमा बन्धक बनाइएका पाँच जनाको शव फेला पारेको बताएको छ । सेनाले बन्धक बनाइएका माया गोरेनका साथै सैनिकहरू रविद आर्ये काट्ज, ओरेन गोल्डिन, तोमर अहिमास र किरिल ब्रोडस्कीको शव इजरायललाई फिर्ता गरिएको जनाएको छ । गाजा पट्टीको मुख्य सहर खान युनिसमा अपरेसनका क्रममा ती शव बुधबार बरामद गरिएको सेनाको भनाइ छ । सेनाले अक्टोबर ७ मा हमास लडाकूहरूले गरेको आक्रमणमा चार सैनिक मारिएको बताएको छ । डिसेम्बरमा सेनाले गोरेनको मृत्यु भएको घोषणा गरेको थियो । उनलाई अक्टोबर ७ मा अपहरण गरी गाजा लगिएको थियो । दुई इजरायली किबुत्ज, निर ओज र निर यित्ज्याकको फरक फरक बयानमा सेनाले गोरेन र गोल्डिनको शव बरामद गरिएको बताएपछि बिहीबार उक्त घोषणा आएको हो । किबुत्ज निर ओजले भन्नुभयो, “हिजो राति सेनाको उद्धार कार्यमा दिवङ्गत माया गोरेनको शव फेला परेको हामीलाई सूचित गरिएको थियो ।” उहाँले गोरेनको परिवारलाई सूचित गरिएको र थप जानकारी दिइने बताउनुभयो । पछि अर्को छुट्टै बयानमा किबुत्ज निर यित्ज्याकले सेनाले गोल्डिनको शव फिर्ता गरेको बताउनुभयो । “आज साँझ किबुत्ज आपत्कालीन टिमका सदस्य दिवङ्गत ओरेन गोल्डिनको उद्धार कार्यबारे हामीलाई सूचित गरिएको थियो, उनी अक्टोबर ७ मा हमास लडाकूहरूको आक्रमणमा मारिएका थिए ।”
काठमाडौं: स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु दुई हजार चार सयले घटेको छ । बुधबार प्रतितोला रु एक लाख ४७ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४५ हजार निर्धारण भएको छ । यस्तै, बुधबार प्रतितोला रु एक लाख ४६ हजार सात सयमा कारोबार भएको तेजाबी सुन आजका लागि रु एक लाख ४४ हजार तीन सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला रु ५५ ले घटेको छ । बुधबार प्रतितोला रु एक हजार आठ सय पाँचमा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने एक हजार सात सय ५० निर्धारण भएको छ
पोखरा: पोखरा महानगरपालिका वडा नं ३३ शिववस्तीस्थित शुक्लेश्वर धाम प्राङ्गणमा यही साउन १४ गतेदेखि २४ गतेसम्म श्रीमद्भागवत महापुराण, सप्ताह ज्ञान महायज्ञ, शिव महापुराण, बृहत धार्मिक श्रावण मेला एवम् बोलबम महोत्सव हुने भएको छ । महायज्ञबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा मन्दिरको सर्वाङ्गिण, भौतिक पूर्वाधार विकास निर्माण सहयोगार्थ महायज्ञ गर्न लागिएको शुक्लेश्वरधाम क्षेत्र विकास संस्था, शिववस्तीका अध्यक्ष पदमराज पौडेलले जानकारी दिनुुभयो । कथा शिरोमणि पण्डित दीपकप्रसाद पौडेलको प्रमुख बाचकत्वमा हुने महायज्ञमा विभिन्न देवलिला, जनचेतनामूलक नाटक सहित संगीतमय कथा प्रवचन हुने उहाँले बताउनुुभयो । महायज्ञका क्रममा श्रीमद्भागवत सतचण्डी, बेदपाठ, रुद्राभिषेक, सहस्र जलधारा, बेलपत्र अर्पण, ग्रहशान्ति पूजा, चौरासी पूजा, अन्नदान, भूमिदान, ब्राह्मण भोजन सहित पितृको फोटो राखी पितृ तर्पण तुलादान, विवाह, ब्रतबन्ध, गुन्युुचोली सहित आरती अर्पण गर्दै धार्मिक सम्बन्धी सम्पूर्ण कार्य सञ्चालन गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो । महायज्ञलाई भव्य र सभ्य बनाउन पदमराज पौडेलको संयोजकत्वमा १५१ सदस्यीय मूल समारोह समिति एवम् ३१ सदस्यीय सल्लाहकार समिति तथा १० वटा उपसमिति गठन गरिएको प्रचारप्रसार उपसमितिका संयोजक दिनेश आचार्यले जानकारी दिनुुभयो । उहाँका अनुसार अन्य उपसमितिका संयोजकहरू मध्ये अर्थ संकलनमा खगेश्वर आचार्य, प्रचारप्रसारमा दिनेश आचार्य, मञ्च व्यवस्थापनमा तिलबहादुर विक, कलश यात्रामा चन्द्र कुमारी आचार्य चापागाइँ, प्रसाद व्यवस्थापन र अतिथि सत्कारमा सम्पूर्ण आमा समूह, यातायातमा जीवन पौडेल, सरसफाई तथा खानेपानीमा मथुरा भण्डारी, स्वयम् सेवक परिचालनमा कुुष्माखर भण्डारी, प्राथमिक उपचारमा प्रकाश पौडेल रहनुुभएको छ । कार्यक्रमको तयारी अन्तिम चरणमा पुुगेको उहाँले बताउनुुभयो । स्थानीय समाजसेवीका अजुुसार ऐतिहासिक महत्व र गरिमा बोकेको शुक्लेश्वर धामस्थित शिव मन्दिर २०१४ सालमा स्थापना भएको हो । मन्दिर बनेकै वर्ष बाढीका कारण भत्किएपछि हाल रहेको मन्दिर २०१५ सालमा स्थापना गरिएको हो । सामाजिक एवम् बौद्धिक व्यक्तित्व साविक भोटे पोखरी ९ (हाल पोखरा ३३ सिस्ने) का स्व.टीकारम पौडेलले स्थापना गर्नुुभएको हो । तत्काली समयमा नै मन्दिरको दैनिक पूजाआजा सञ्चालनका लागि स्व.होमनाथ पाध्यालाई जिम्मा दिनुुभएको र हालसम्म उहाँकै परिवारबाट पूजाआजा हुँदै आएको छ । उक्त कार्यका लागि गुठी समेत राखिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । स्व.टीकारम पौडेलले यसै स्थानमा रहेको सरस्वती मा.वि.लाई २० लाख ६८ हजार रुपैयाँ दान दिएर उहाँकै नामबाट सरस्वती टीका मा.वि. र सरस्वती टीका बहुुमुखी क्याम्पस सञ्चालन हुँदै आएको छ । महायज्ञको शुुभकामना व्यक्त गर्दै पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले वडा भित्रका सम्पूर्ण संघ संस्था तथा सामाजिक व्यक्तित्वलाई महायज्ञ सफल बनाउन साथ र सहयोगका लागि आग्रह गर्नुुभयो । समितिका अध्यक्ष पदमराज पौडेलको सभापतित्व एवम् सचिव खगेश्वर आचार्यले सञ्चालन गर्नुुभएको कार्यक्रममा समाजसेवी एवम् राजनीतिक व्यक्तित्वहरू पिताम्बर पौडेल, तिलकप्रसाद अधिकारी, श्रीभद्र बराल लगायतले विभिन्न शुुभकामना तथा सुुझाव व्यक्त गर्नुुभएको थियो ।
काठमाडौं: पछिल्लो तीन महिनामा नेपाल प्रहरीका २९ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । विभिन्न तहका २९ कर्मचारी आफूखुसी गैरहाजिर भएको र सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । गैरहाजिर हुनेहरूमा कार्यालय सहयोगीदेखि नायव निरीक्षक (सई)सम्मका कर्मचारी रहेको प्रधान कार्यालयले जनाएको छ । उनीहरू २०८० चैत तथा २०८१ वैशाख र जेठदेखि सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहीन भएपछि पहिलोपटक सूचना टाँस हुँदा पनि हाजिर नभएपछि प्रधान कार्यालयले पुन स्पष्टीकरणसहित उपस्थित हुन सूचना जारी गरेको छ । सात दिनभित्र उपस्थित नभए सेवाबाटै हटाउने कारबाही गरिने सूचनामा उल्लेख छ ।
मुस्ताङ: घरपझोङ गाउँपालिका—३ स्याङमा सम्पन्न खिल्हा मेला खुल्ला पर्वतीय ‘हाइअल्टिच्युड’ भलिबल प्रतियोगिता २०८१ मा ब्रदर युनाइटेड च्याम्पियन बनेको छ । स्याङको खेलमैदानमा भएको फाइनल खेलमा ब्रदर युनाइटेडले मुस्ताङ टाइगर समूलाई ३–० सहित सोझो सेटमा पराजित गर्दै ब्रदर युनाइटेड च्याम्पियन बनेको हो । च्याम्पियन बनेको युनाइटेडले नगद रु १ लाख ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्याे । उक्त टोलीमा विभागीय टोलीका खेलाडीसमेत सम्मिलित थिए । यस्तै उपविजेता बनेको मुस्ताङ टाइगरले नगद रु ८५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र हात पार्याे । कुल ९ वटा टिमको सहभागिता रहेको प्रतियोगिता लिगकम नकआउट चरणमा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगिताबाट ब्रदर युनाइटेडका हिमाल सुनारीमगर सर्वोउत्कृष्ट खेलाडी घोषित हुँदै नगद रु १० हजार र ट्रफीसहित पुरस्कृत भए । सनारीमगर गण्डकी प्रदेशको क्विक स्पाइकर हुन् ।
पोखरा: गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले सिमित स्रोत साधनको उच्चतम प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह गरेका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको बुधबार बसेको बैठकमा मन्त्री थापाले उक्त कुरा व्यक्त गरेका हुन् । परिषदका अध्यक्षसमेत रहेका मन्त्री थापाले प्रदेशलाई गौरवको प्रदेशको रुपमा स्थापित गर्न खेलकुद महत्वपूर्ण रहेको जनाउँदै भने–“सबै क्षेत्रमा बजेट घटेको छ । हामी बजेट घट्यो भनेर चिन्ता गर्नु भन्दा सिमित स्रोत साधनको उच्चतम उपयोग गर्दै त्यसबाट अधिकतम फाइदा लिनु शसक्त रुपमा अघि बढौं ।” बैठकलाई सम्बोधन गर्ने क्रममा मन्त्री थापाले प्रदेशको गौरब बढाउने विषयमा प्रदेश सरकार र मन्त्रालय गम्भीर रहेको धारणा अघि सार्दै कुनै पनि विकासका कार्यमा प्रतिकुल असर नपर्ने गरी सहयोग गर्न तयार रहेको बताए । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु गर्न र आवश्यक खेल मैदान मर्मत सम्भारका कार्यहरु गर्न समेत निर्देशन दिंदै चालु आर्थिक वर्षमा बजेटमा सम्बाेधन हुन नसकेका कार्यक्रमहरुलाईसमेत मन्त्रालयको तर्फबाट पहल गर्न आफूले सहयोग गर्ने उनले प्रतिवद्धता जनाए । सो अवसरमा परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले दशौं राष्ट्रिय खेलकुदमा नवौंको जस्तै गरी नतिजा ल्याउन परिषद गम्भिर रुपमा अघि बढ्नु पर्ने सुझाव राख्दै प्रशिक्षण अभियानलाई तिव्रता दिनुपर्ने कुरामा जोड दिए । उनले सबै प्रदेशहरुले आफ्नै रंगशाला निर्माण कार्य अघि बढाइरहेकोले गण्डकी प्रदेशले समेत् आफ्नै व्यवस्थित रंगशाला निर्माण कार्यका लागि पहल सुरु गर्नुपर्ने जनाए । उनले भने–“सबै प्रदेशमा आफ्नै रंगशाला निर्माणका प्रक्रिया अघि बढेका छन् । अब गण्डकी प्रदेशले त्यसको सुरुवात गर्नुछ । दक्ष खेलाडी उत्पादनका लागि समेत रंगशाला निर्माण कार्य महत्वपूर्ण छ ।” बैठकमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेलले जिल्लाहरुमा रहेका खेलकुद मैदानहरुको निर्माण खेलाडी उत्पादनका लागि महत्वपूर्ण रहेको जनाउँदै चालु बजेटले विगतमा जस्तै गरी सम्बोधन गरेको बताए । उपलब्ध बजेटको समुचित प्रयोग गरी खेलकुद विकासका लागि अघि बढ्न आग्रह गर्दै त्यसबाट लाभान्वित हुने विषयलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाई थियो । बैठकमा परिषदका सदस्य सचिव श्रीधर शर्माले गत आर्थिक वर्ष सम्पन्न कार्यक्रमहरु र चालु आर्थिक वर्षका बजेट तथा कार्यक्रमहरुका बारेमा जानकारी दिएका थिए । बैठकमा गत वर्ष २०८०/०८१ को प्रगती समिक्षा र चालु आर्थिक वर्ष २०८१/०८२ को कार्यक्रम र तयारी बारे संगै दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको रणनितिक तयारी थाल्ने गरी छलफल भएको परिषदका महाशाखा प्रमुख राम प्रसाद आचार्यले जानकारी दिए । बैठकमा परिषद आर्थिक प्रशासन विभागका अधिकृत निलकण्ठ ढकालले समेत आफ्ना भनाई राखेका थिए ।
म्याग्दी: राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक दैनिक अवरुद्ध हुन थालेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमाना बैसरी अँधेरीखोलामा पहिरो रोकथामको काम थालिएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत बैसरीको सडकमा खस्ने पहिरो पन्छाएर थप खस्न नदिन ‘रक एङ्करिङ’ प्रविधि प्रयोग गरेर रोकथामको काम थालिएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजना सबइन्जिनियर सोहनजङ्ग कार्कीले सडक माथिको पहाडमा ड्रिलिङ गरेर रड राखी, ढलानसहितको बेस बनाएर पहिरो रोकथामको काम थालिएको हो । रक एङ्करिङ गर्न ३० मिटर ‘ड्रिलिङ’ गरेर धमाधम रड राखिदैछ । पहाडमाथि पर्खाल बनाएर पहिरो रोक्ने संरचना बनाउन लागिएको सबइन्जिनियर कार्कीले बताउनुभयो । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी खण्डको ५० भन्दा बढी ठाउँमा पहिरो खस्ने, सहायक खोलाबाट आएको बाढीले बगाउने र कालीगण्डकीले कटान गर्ने समस्या छ । बैसरीलगायतका ठाउँको पहिराले स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्रीलाई आवतजावत गर्न समस्या भएको छ ।