काठमाडौं:  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । शनिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश ल...

काठमाडौं: सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा मृत्यु भएकाहरूको पोस्टमार्टम सुरु भएको छ ।   त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीका अनुसार पोस्टमार्टमका लागि तीन टोली खटिएका छन् ।   उनले फिंगर प्रिन्ट लगायतका आधारमा पोस्टमार्टम गर्न सुरु गरेका बताए ।   डा. चौधरीका अनुसार पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भक्तपुर अस्पतालका चिकित्सक खटिएका छन् ।   उनका अनुसार एक वटा शवलाई पोस्टमार्टम गर्नका लागि चार घन्टाभन्दा बढी समय लाग्छ ।   सबैको पोस्टमार्टम गरेर तीन दिनपछि मात्र आफन्तलाई शव जिम्मा लगाउन सकिने उनले बताए ।   बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज उड्नेबित्तिकै दुर्घटना भएको थियो ।   जसमा परेर १८ जनाको मृत्यु भएको छ । घाइते पाइलट मनिष शाक्यको सिनामंगलस्थित केएमसी शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

विराटनगर:   कोशी प्रदेशमा ट्राफिक व्यवस्थापनअन्तर्गत आर्थिक वर्ष २०८०/०८१ मा कूल रु १७ करोड ३१ लाख १५ हजार राजस्व सङ्कलन भएको छ ।   कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सो अवधिमा ट्राफिक प्रहरीले ८० दशमलव ५५ प्रतिशत प्रगति हासिल गरी दुई लाख ५५ हजार नौ सय १२ वटा सवारी चालकलाई कारवाही गरेको थियो ।   उक्त आवमा तीन हजार पाँच सय ६३ वटा दुर्घटना हुँदा तीन सय ९७ जनाको मृत्यु भएको थियो ।   दुर्घटनामा परी छ हजार ७६ जना घाइते भएको कोशी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिनुभयो ।   उहाँका अनुसार आव २०७९/०८० मा दुई लाख ६९ हजार आठ सय २३ सवारी चालक कारवाहीमा परेका थिए । उक्त कारबाहीबाट रु १८ करोड एक लाख ५९ राजस्व सङ्कलन भएको थियो ।   सो अवधिमा २ लाख ६९ हजार आठ सय २३ सवारी चालक कारबाहीमा परेका थिए ।   ३ हजार ८ सय २० सवारी दुर्घटना हुँदा पाँच सय ३१ जनाको ज्यान गएको थियो । ६ हजार ६ सय ४८ जना घाइते भएका थिए ।

पोखरा:    विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्येयनजर गर्दै पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोखरा ग्राण्डले शैक्षिक सामाग्री उपलव्ध गराएकोे छ । विद्यालयको कक्षा १० मा अध्ययनरत १७ जना एसइईको तयारी गरि रहेका छात्रछात्रालाई पोखरा ग्राण्डले करिव ३० हजार रुपैया मुल्य बराबरका बिभिन्न बिषयको प्रश्नपत्रको संगालो टेनशेट, गणित र विज्ञानको अभ्यास पुस्तिका वितरण गरेको हो । पोखरा १७ का वडासदस्य शिवराम भण्डारीले विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्दै गुणस्तरीय शिक्षाका लागि सवैको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । होटल पोखरा ग्राण्डका एचआर मेनेजर कल्पना बरालले सामाजिक उत्तरदायित्व अन्तर्गत सामुदायिक विद्यालयका विद्यार्थीलाई पठनपाठनमा सहयोगी पुस्तक उपलव्ध गराएको जानकारी दिनुभयो ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र गुरुङ, सदस्यहरु हरिप्रसाद बास्तोला, डिलमाया भण्डारी, प्रधानाध्यापक अर्जुन कडेल, कमल आचार्य, भिम रिजाल, पोखरा ग्राण्डका प्रेम कुमार कटुवाल, विष्णुप्रकाश श्रेष्ठ र तिलक शर्मा लगायतले विद्यार्थीलाई पुस्तक वितरण गर्नुभएको थियो ।     पुस्तक एक बर्षपछि फिर्ता गरि कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई पुनः वितरण गरिने कार्यक्रम रहेको विद्यालयका शिक्षक तुलसी गिरीले  कार्यक्रममा जानकारी दिनुभयो ।   

काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।       नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको निधनबाट आफूलाई अत्यन्त दुःख लागेको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् उल्लेख गर्नुभएको छ । उहाँले दुर्घटनाको यस दुःखद घडीमा सवैलाई धैर्य रहन अनुरोध गर्नुभएको छ ।       सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई भेटेर विमान दुर्घटनाको कारण बुझ्न आफू घटनास्थलमा पुगेको जानकारी दिनुभएको छ । आज बिहान ११:११ बजे काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको हो ।

पोखरा:     गुरुङ पर्यटन व्यवसायी सङ्घ, गण्डकी प्रदेशले कास्कीको मादी गाउँपालिकाबाट सुरु भई मनाङको चामे गाउँपालिकाको तिमाङ जोडिने गुरुङ सम्पदा मार्गको औपचारिक घोषणा गरेको छ ।      सङ्घले नेपाल पर्यटन बोर्डको प्रवर्द्धन एवं पर्यटन मन्त्रालय गण्डकी प्रदेश, मादी गाउँपालिका कास्की, लमजुङको क्होलासोँथर र मस्र्याङ्दी गाउँपालिका र चामे गाउँपालिका मनाङको सहयोगमा आज पोखरामा आयोजित समारोहमा उक्त पदमार्ग घोषणा गरेको हो ।      पदमार्गको गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले नक्शा सार्वजनिक गर्दै औपचारिक रुपमा घोषणा गर्नुभयो । उहाँले पछिल्लो समय पदमार्गहरू मासिँदै गएका अवस्थामा घोषित गुरुङ सम्पदा पदमार्ग गण्डकी प्रदेशसहित पदयात्रा पर्यटनका लागि महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्नुभयो ।      पर्यटन क्षेत्रको विकासलाई दृष्टिगत गर्दै प्रदेश सरकारले प्रदेशस्तरीय पर्यटन गुरुयोजना तयार गर्ने मन्त्री गुरुङले बताउनुभयो । गण्डकी प्रदेशमा आठ हजार मिटर भन्दामाथि तीनवटा हिमाल रहेका चर्चा गर्दै उहाँले यहाँको पर्वतीय र पदयात्रा पर्यटनको सम्भावनालाई उजागर गर्नुपर्नेमा जोड दिनुभयो ।      गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष किसमकुमारी गुरुङले गत जेठ २१ देखि ३० गतेसम्म ताङतिङबाट तिमाङसम्म जोडिने गुरुङ सम्पदा पदमार्गमा इञ्जिनियर, अन्वेषक, जिपिएस एक्सपर्ट, सञ्चारविज्ञ, पर्यटक पथप्रदर्शकसहित ३७ सदस्यीय टोलीले स्थलगत अनुसन्धान गरेको जानकारी दिनुभयो ।       सङ्घका संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङले गुरुङ समुदायको ऐतिहासिक उद्गमस्थल क्होलासोँथरसँगै जोडिएका पुरानो बस्तीसँगै प्राचीन नुन व्यापारिक मार्गलाई यस पदमार्गले समेट्ने बताउनुभयो । प्रकृति र संस्कृतलाई पर्यटनसँग जोड्ने यो पदमार्गको संरक्षण, प्रवर्द्धन र उपयोगमा राज्य तथा निजी क्षेत्रको सामूहिक प्रयास आवश्यकरहेकामा उहाँले जोड दिनुभयो ।      सङ्घका केन्द्रीय सदस्य सञ्जीव गुरुङले हिमाललाई नजिकबाट नियाँल्दै पदयात्रा गर्न सकिने यस पदमार्गको पर्यटकीय दृष्टिकोणबाट पनि प्रवद्र्धन गर्न सकेमा नेपालको उत्कृष्ट गन्तव्यका रुपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो ।      गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री बेदबहादुर गुरुङले यसको संरक्षणसहित पर्यटकीय उपयोगमा सबैको सामूहिक प्रयास हुनुपर्ने बताउनुुभयो ।      प्रदेशसभा सदस्य देवका पहारी, मादी गाउँपालिका अध्यक्ष देवीजङग गुरुङ, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख नवीन पोखरेल, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, गुरुङ पर्यटन व्यवसायी सङ्घ केन्द्रका कार्यवाहक अध्यक्ष बाबुराम गुरुङ, गण्डकी प्रदेशका महासचिव तुल गुरुङ, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप) का प्रमुख रवीन कडरिया, नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीलगायत सहभागीले पोखरासहित समग्र गण्डकी प्रदेशमा पर्यटकको बसाइँ लम्ब्याउन पदमार्ग सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभएको थियो ।  -RSS

पोखरा:     पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता जसोदा सुवेदीले पोखरामा सुविधा सम्पन्न ‘ह्याङ्गर’ भएका कारण सौर्य एयरलाइन्सको जहाज प्राविधिक परीक्षण लागि आउन लागेको  जानकारी दिनुभएको छ  ।   काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सो एयरलाइन्सको ९ एन एएमई जहाज आज विहान  दुर्घटना भएको थियोे । दुर्घटनामा विमानमा सवार १८  जनाको निधन भएको छ । उक्त जहाज उड्नेक्रममा  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।   यो पनि पढ्नुहोस   सौर्य एयरको विमान दुर्घटनामा १८ यात्रुको निधन “जहाजमा कुनै खराबी आएर नभइ निश्चित घण्टा उडेपछि नियमित तालिका अनुसार गर्नुपर्ने प्राविधिक परीक्षणका लागि पोखरा आउन लागेको थियो”, उहाँले भन्नुभयो, “पोखरामा रहेको सुविधासम्पन्न ह्याङ्गरमा राखेर जहाज परीक्षण गर्न एयरलायन्सका कर्मचारी र प्राविधिकहरु जहाजमा सवार रहेको जानकारी आएको छ ।”   

दाङ:     दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताललाई धेरैले ‘रेफर’ सेन्टर भन्ने गर्छन् । सामान्य ज्वरो आउँदा पनि बिरामीहरु सकेसम्म काठमाडौँ उपचार गर्न जान खोज्छन् ।  बिरामी र बिरामीका आफन्तलाई यही अस्पतालमा राम्रो उपचार सम्भव छ भनेर विश्वास दिलाउन यहाँ कार्यरत डा. प्रमिला गुप्ता र डा. रोशन गुप्ताले आफ्नै आमाको सफल शल्यक्रिया गर्नुभएको छ । डा. प्रमिला र रोशन दिदी–भाइ हुनुहुन्छ ।  “काठमाडौँ लगेर उपचार गर्ने हैसियत नभएको होइन्, हामीले हाम्रो ठाउँको अस्पताललाई विश्वास गर्न सकेनौँ”, डा. प्रमिलाले भन्नुभयो, “यहीँ गुणस्तरीय उपकरण छन्, चिकित्सक छौँ, त्यसैले ठूला उपचार हुन्छन्, भन्ने सन्देश दिन हामीले आमाको शल्यक्रिया यहीँ गरेका हौँ ।”  डा. प्रमिला आफैले आमाको शल्यक्रिया गर्नुभएको हो । डा. रोशन सोही अस्पतालको एनेस्थिेसियामा हुनुहुन्छ । डा. प्रमिला स्त्रीरोग विशेषज्ञ हुनुहुन्छ । उहाँले ६६ वर्षीय आमा अर्जुनकुमारी गुप्ताको पाठेघरको शल्यक्रिया गर्नुभएको हो ।  गएको बुधबार आमाको शल्यक्रिया गर्नुभएपछि अहिले आमाले घरमा आराम गरिरहनु भएको  डा. प्रमिलाले बताउनुभयो । दुई महिनादेखि लगातार पिसाब नलीबाट रगत बगेपछि जाँच गर्दा पाठेघरमा क्यान्सर देखिएको थियो । त्यसपछि घरपरिवारको सल्लाह बमोजिम प्रादेशिक अस्पतालमै शल्यक्रिया गरिएको हो ।  “धेरैले यो अस्पताललाई रेफर अस्पताल भन्नुहुन्छ, यही सुधार गर्न म अन्य जिल्ला छोडेर सेवा गर्न आफ्नै ठाउँमा आएकी छु”, डा. प्रमिलाले भन्नुभयो, “सामान्य ज्वरो आउँदा पनि बाहिर जानुपर्दैन, ठूलाठूला शल्यक्रिया गरिन्छ, भन्ने सन्देश दिन हामीले यहीँ उपचार गरेका हौँ ।”  डा. प्रमिलाले यसअघि बारा, पर्सा, वीरगञ्ज, घोराही प्रतिष्ठानलगायतका स्थानमा बसेर चिकित्सकको रुपमा सेवा दिनुभएको छ । उहाँ पछिल्लो छ महिनादेखि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कार्यरत हुनुहुन्छ । उहाँ तुलसीपुर–५ का स्थायी निवासीसमेत हुनुहुन्छ ।  उहाँले बिरामीका आफन्त सकारात्मक भएमा प्रादेशिक अस्पतालमै प्रभावकारी सेवा दिन सकिने बताउनुभयो । “डाक्टरले कहिल्यै बिरामीलाई नराम्रो होस्, भन्ने चाहँदैनन्, जसरी हुन्छ सन्चो बनाएर पठाउने  डाक्टरले सोचिरहेको हुन्छ”, उहाँले भन्नुभयो “तर, केही अप्रिय घटना भएमा डाक्टरमाथि आक्रमण हुन्छ, यसले गर्दा डाक्टरले जोखिम लिन मान्दैनन् ।”  अहिले पनि पाठेघरमा समस्या भएका दैनिक पाँच÷सातजना बिरामी आउने गरेका छन् । तर, तीमध्ये सरदर एक जना बिरामीको मात्रै प्रादेशिकमा उपचार हुने गरेको छ, अन्य सबै बाहिरी जिल्लामै उपचारका लागि जाने गरेको डा गुप्ताले बताउनुभयो । सर्वसाधारणमा सकारात्मक सन्देश प्रवाह गर्न सकिएमा अहिले जस्तो रेफर दर नबढ्ने उहाँको भनाइ छ । 

बझाङ:     गएको शुक्रबार श्रीलङ्काको रनगिरी डम्बुल्ला इन्टरनेशनल स्टेडियममा एसिया कप महिला क्रिकेट चलिरहेको थियो । नेपाली समयअनुसार दिउँसो २ः१५ बजेबाट सुरु खेलमा नेपाल र युएईबीच प्रतिस्पर्धा थियो ।  खेलमा नेपालका तर्फबाट उत्कृष्ट ब्याटिङ गरिरहनुभएको थियो, बझाङकी सम्झना खड्काले । उहाँको खेल प्रदर्शनले नेपाली क्रिकेटप्रेमीहरुको मन जितिरहेको थियो ।  तर, जय पृथ्वी नगरपालिका–९ बझाङमा रहनुभएका उहाँका बुबाआमा भने उक्त खेलबारे अनभिज्ञ हुनुहुन्थ्यो । खेल चलिरहँदा बुवा देवेन्द्रबहादुर र आमा कालीदेवी खड्का लेकतिर पणीतोलामा घेराबारको काम गरिरहनुभएको थियो । उहाँहरुलाई छोरीले क्रिकेट खेल्छिन् भन्ने मात्रै थाहा थियो । अघिल्लो साँझ भोलि छोरीको खेल छ भन्ने चर्चा भएको थियो ।  तर, भोलि कति बेला खेल्ने, कता हेर्ने टुङ्गो थिएन । बिहानको खाना खाएर बुवा आमा लेकतिर जानुभयो । सम्झनाका भाइहरूले जयपृथ्वी नगरपालिकाको हलमा खेल हेर्ने अवसर पाउनुभयो ।  “दिनभर घरमा बसेर केही हुन्न । घरमा छोरीको खेल हेर्नलाई केही माध्यम भएन । त्यसैले हामी लेकतिर गयौँ,” सम्झनाका बुवा देवेन्द्रले भन्नुभयो, “पछि छोरीले राम्रो खेली भनेर फोनमा खबर पाएपछि मोबाइलमा छोरीको खेल हे¥यौँ ।” खेल खासै नबुझे पनि राम्रो खेलेको थाहा पाउँदा बुवाआमा खुसीले दङ्ग हुनुहुन्छ । छोरीलाई जागिरका लागि दबाब दिइरहेको खड्का परिवार आजभोलि खेल खेलेर नाम कमाएकोमा खुसी छ । “घरका कसैले त जागिर खानुपर्छ भनेर अनमी पढायौँ । पढाइ सकेर जागिर पनि खान थाली । बीचमै जागिर छोडेर खेलतिर लागि । त्यो बेलामा घरमा कसैलाई चित्त बुझेको थिएन । आजभोलि अरुले फलानाका छोरीभन्दा निकै खुसी लाग्छ”, बुवा देवेन्द्रले भन्नुभयो ।  पहिलो खेलमा सम्झनाले युएईविरुद्ध नेपाललाई जित दिलाउनुभएको थियो । उहाँले ४५ बलमा ११ चौकासहित ७२ रन बनाउनुभयो । सम्झना खेलको प्लेयर अफ दि म्याचसमेत बन्नुभएको थियो । त्यसपछि उहाँको चर्चा चुलियो । उहाँलाई नचिन्नेले चिन्ने अवसर पाए । उहाँलाई जिल्लामै प्रशिक्षण गर्ने सुरेन्द्र सिंह र प्रविन्द धामीको पनि चर्चा भयो ।  किशोरावस्था प्रवेशसँगै क्रिकेट खेल्न थाल्नुभएकी सम्झनालाई सफलता मिल्दै गएपछि परिवारमा खुसी छाएको उहाँका दाजु नवीन खड्काले बताउनुभयो । सम्झनालाई मोजाको बलले बलिङ गराउँदै १३ वर्षअघि सिंह र धामीले क्रिकेट खेल्न सिकाउनुभएको थियो । खेलमैदान नहुँदा बन्द  विमानस्थलमा उनीहरु खेल अभ्यास गर्थे । त्यसै बेलादेखि बझाङमा क्रिकेट खेलको सुरुवात भएको थियो । खेल सिकेको छ महिनामै धामी र सिंहले सम्झनालाई बझाङको महिला टिम कप्तान बनाउनुभएको थियो । बिहान स्कुल जाने, स्कुलबाट फर्किएपछि घरायसी काम सकेर क्रिकेट खेल्ने उहाँहरुको दैनिकी भएको प्रविन्द धामी सम्झनुहुन्छ ।  उहाँले भन्नुभयो, “सम्झनालाई बझाङ टिमको कप्तान बनाएर जिल्लाबाट धनगढी, महेन्द्रनगर, बैतडीलगायतका ठाउँमा हुने क्षेत्रीय खेलमा सहभागी गराउथ्यौँ । पछि उसको खेल सुध्रिँदै गयो र राष्ट्रिय टिमबाटै खेल्ने अवसर मिल्यो ।” त्यो बेलामा खेलको महत्व कसैले नबुझेको उहाँको अनुभव छ । “बहिनीहरु खेल्न जाँदा परिवारकै सदस्यले अवरोध गर्थे,” धामीले भन्नुभयो, “त्यो बेलामा कुनै दिन हाम्रा खेलाडी अन्तर्राष्ट्रिय रङगशालामा सबैको अगाडि देख्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । अहिले आएर हाम्रो सपना पूरा भएको छ । त्यो बेलामा हामीसँग रिसाउनेहरुले अहिले बुझेका छन् ।” सम्झना राष्ट्रिय टिमबाट खेल्न थालेको दुई वर्ष भयो । यसपटकको एसिया कपको दोस्रो खेल गरी उहाँले अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताका १८ खेल खेलिसक्नुभयो ।  आइतबार भएको खेलमा नेपालले पाकिस्तानसँग लज्जास्पद हार व्यहो(यो । नेपाललाई पाकिस्तानले नौ विकेटले हरायो । नेपालले निकै आशा गरेकी खेलाडी सम्झनाले पाकिस्तानसँगको खेलमा उत्कृष्टता देखाउन सक्नुभएन । पाँच बल खेल्नुभएकी सम्झनालाई पाकिस्तानी कप्तान निदा डारको बलमा नाशरा सन्धुबाट मिडविकेटमा क्याच आउट हुनुभयो । मङ्गलबार भारतसँग भएको खेलमा नेपाल ८२ रनले पराजित भयो । जितसँगै भारत प्रतियोगिताको सेमिफाइनमा प्रवेश ग(यो भने नेपाल हारसँगै प्रतियोगिताबाट बाहिरियो ।  क्रिकेट खेलको चर्चा माझ सम्झनाका आमाबुवाले कुनैपनि खेलको प्रत्यक्ष प्रसारण हेर्न पाउनुभएन । “घरको टिभिमा आउँदैन । मोबाइल छैन । अरुले भनेको आधारमा छोरीले खेल जितेको÷हारेको थाहा पाउँछौँ ।” उहाँका बुवा देवेन्द्रले भन्नुभयो । छोरीले जुनसुकै ठाउँमा पुगेपनि क्रिकेट खेलबाट गरिरहेको प्रगतिबाट उहाँको परिवार सन्तुष्ट हुनुहुन्छ ।

बाँके:    साउन महिनाको दोस्रो हप्तासम्म पनि बाँकेमा पर्याप्त वर्षा नहुँदा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको छ । आकाशे पानीको भरमा धानखेती गर्दै आएका जिल्लाका सबै किसानले धानको बीउ रोप्न पाएका छैनन् ।  रोपेको खेतमा पनि वर्षा नहुँदा धान सुक्न थालेको छ । पानी नपरेका कारण धान रोपाइँ अझै नसकिएको डुडुवा गाउँपालिका–६ हिरमिनियाका किसान केलाराम महाउतले बताउनुभयो ।        सिँचाइको व्यवस्था नभएकाले धान रोपाइँ गर्न नसकिएको उहाँको भनाइ छ । डुडुवाका हिरमिनिया, होलिया, बेतहनीलगायत क्षेत्रमा पर्याप्त वर्षा नभएका कारण किसानले अहिलेसम्म धान रोप्न नसकेको महाउतले जानकारी दिनुभयो ।  बोरिङबाट पानी तानेर जसोतसो रोपाइँ सके पनि वर्षा नहुँदा खेतमा धजा फाट्न सुरु भएको हिरमिनियाका किसान अशोक थापाले बताउनुभयो । “बिजुलीको भोल्टेज कम भएर मोटरले पानी तान्दैन, आकाशबाट पानी आउँदैन, रोपेको बीउ जोगाउन पनि गाह्रो भएको छ”, उहाँले भन्नुभयो ।      आकाशे पानीको भर पर्नुपर्ने किसानलाई यस वर्ष धानको बीउ राख्नेदेखि रोपाइँ गर्नसम्म समस्या भएको खजुराका किसान गेहेन्द्र धितालले बताउनुभयो । सिँचाइको व्यवस्था नभएकाले किसानले धान रोप्न आकाश हेरेर बस्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।  “प्रकृतिले पनि ठगिरहेको छ, धानखेतीका लागि आवश्यक सिँचाइ, बीउ र मल नपाउँदा बर्सेनि गरिखाने किसानले दुःखमाथि दुःख झेल्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो ।       बाँकेमा सिँचाइ सुविधा नपुगेको क्षेत्रमा घरायसी प्रयोजनका लागि राखिएका मोटर र कतिपय क्षेत्रमा खानेपानीको धाराको पानी प्रयोग गरेर पनि रोपाइँ गरिएको छ । हालसम्म बाँकेमा जम्मा ६० प्रतिशत बढी रोपाइँ भएको कृषि ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख शकिल अहमदले जानकारी दिनुभयो ।    उहाँका अनुसार यसपटक हालसम्म पनि आवश्यक पर्ने वर्षा नभएकाले सबैतिर रोपाइँ हुन सकेको छैन । हालसम्म भएको रोपाइँ पनि अधिकांश सिक्टा सिँचाइको नहर भएको ठाउँ वरिपरि र कृषि ज्ञान केन्द्रको अनुदानबाट सिँचाइ भएको क्षेत्रमा नै गरिएको छ ।      बाँकेमा सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहरबाट राप्ती सोनारी र पश्चिमी नहरबाट कोहलपुर नगरपालिका तथा बैजनाथ गाउँपालिकाका केही वडामा सिँचाइको व्यवस्था भए पनि अधिकांश किसान अहिले पनि आकाशे पानीको भरमा धानखेती गर्न बाध्य छन् ।  धानको बीउ राख्ने समयलाई दृष्टिगत गरेर पूर्वी र पश्चिमी दुवै नहरमा नियमित रूपमा पानी छाडिएको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी डिभिजनल इन्जिनियर सन्देश पौडेलले जानकारी दिनुभयो ।  बाँकेमा ३६ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । यस वर्ष नभएका कारण बाँकेमा धान रोपाइँमै किसानलाई कठिनाइ भएको छ ।