काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक सुरू भएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक सुरू भएको हो । बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत पार्टीका शीर्ष नेता सहभागी हुनुहुन्छ । आजको बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । दिउसो १ बजेका लागि बोलाइएको बैठक झण्डै डेढ घण्टा ढिलो सुरू भएको छ ।
काठमाडौं: विसं २०८२ भित्र स्वयं आफ्नो लागि आफैँ केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभएका सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने अभियानमा जुटेको मानवसेवा आश्रमले आज आफ्नो १३औँ स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । समाजलाई सकारात्मक दिशातर्फ रुपान्तरण गर्दै मानवीय सेवामा समर्पित मानवसेवा आश्रम स्थापनाको १२औँ वर्ष पूरा भई १३औँ वर्षमा प्रवेश गरेको अवसरमा राष्ट्रव्यापी रुपमा बृहत् रक्तदान कार्यक्रम सञ्चालन गरेको जनाएको छ । देशका १९ ओटै जिल्ला शाखाको आयोजना तथा स्थानीय अभिभावक, शुभेच्छुक तथा विभिन्न सामाजिक सङ्घसंस्थाहरुको सहयोगमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको सो संस्थाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । विश्व शान्तिको कामना गर्दै सेवा केन्द्रहरुमा साँझ दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ । खुला आकाशमुनि सडकपेटी एवं सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरुको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको सेवामा समर्पित मानवसेवा आश्रम २०६९ भदौ १३ गते स्थापना भएको थियो । मकवानपुर, हेटौँडामा मुख्य कार्यालय रहेको यसका २४ ओटा सेवा केन्द्र रहेका छन् । हालसम्म यस संस्थाले १० हजार दुई सय ३६ जना सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार गरी चार हजार ३७ जनाको सुखद पारिवारिक पुनर्मिलन गरिसकेको छ भने आठ सय ४९ जनाको सामुदायिक पुर्नस्थापना भएको छ । उद्धार गरिएकामध्ये उपचारात्मक सेवा पाई स्वास्थ्य लाभ गरेर बाहिरिनेको संख्या तीन हजार चार सय ६२ रहेको र मानसिक अस्वस्थताका कारण पारिवारिक पुनर्मिलन हुन नसक्ने अवस्थाका एक हजार सात सय २० जना संस्थाको २४ वटै शाखामा आश्रित भई स्वास्थ्य लाभ लिइरहेको संस्थाले जनाएको छ । आजीवन सन्तानका लागि मरिमेट्ने अभिभावकलाई जीवनको उत्तराद्र्धमा अपहेलना गरी घरबाट बाहिर छोड्ने कुसंस्कार मौलाउँदै गएको समयमा मातृत्व र मातृभूमिप्रतिको दायित्वबोध गराउँदै अशक्त, अपाङ्ग, जेष्ठ नागरिक, मानसिक तथा शारीरिक रुपमा कमजोर पारिवारिक सदस्यप्रति करुणाभाव जागृत गराउन देशका विभिन्न सहरमा ५० भन्दा बढी आमा सेमिनार आयोजना गरिएको संस्थाका संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो । यसमा राज्यको समेत ध्यानाकर्षण गर्दै हरेक वर्ष पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म यात्रा गर्दै सहयोगापेक्षी सडक आश्रित मानवहरुको खोज, अध्ययन र उद्धार गरी ‘मिसन २०८२’ को लक्ष्य हासिल गर्न अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार २०८२ सम्म मुलुकलाई सडक मानवमुक्त राष्ट्र घोषणा गर्ने क्रममा प्रदेशमा गण्डकी र कर्णाली प्रदेश, जिल्लाहरुमा मकवानपुर, बाजुरा, झापा, पालिकाहरुमा गोरखा, हेटौँडा उपमहानगर, भरतपुर महानगर, वुटवल उपमहानगर, विराटनगर महानगर, वीरगञ्ज महानगर घोषणा भइसकेका छन् भने पशुपति क्षेत्र, सिद्धबाबा मन्दिर धाम पनि सहयोगापेक्षी सडकआश्रित मानवमुक्त क्षेत्र घोषणा भइसकेका छन् । मानवसेवा आश्रमले कुनैपनि वैदेशिक दातृ निकायहरुको सर्तसहितको सहयोग स्वीकार नगर्ने नीतिबमोजिम देशविदेशमा रहनुहुने परोपकारी उदारमना नेपाली दाता दातव्यहरुले स्वेच्छिक रुपमा अर्पण गर्ने योगदान र नेपाल सरकारका विभिन्न निकायको सहयोग, सहकार्य र अनुदानबाट सञ्चालन हुँदै आइरहेको छ । ‘मानवीयताको कुनै सिमाना हुँदैन’ भन्ने तथ्यलाई चरितार्थ गर्दै संस्थाको अभियानलाई राष्ट्रभित्र मात्र सीमित नगरी विभिन्न मुलुकमा मानवता प्रवद्र्धनका विविध कार्यक्रमहरु सञ्चालन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं: देशभरका यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यातायात क्षेत्रका समस्या समाधानका लागि पहल गर्न गृहमन्त्रीलाई आग्रह गरेको छ । महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला नेतृत्वमा तीनै यातायात मजदुर सङ्गठनका अध्यक्षको टोलीले बुधबार गृहमन्त्री रमेश लेखकलाई भेटेर नजिकिँदो चाडपर्वलाई ध्यान राखेर यातायात क्षेत्रका समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेको हो । महासङ्घका महासचिव डेकनाथ गौतमले यातायात क्षेत्रमा निम्न, मध्यम र स्वरोजगार व्यवसायीको चार लाख सवारीसाधनमा रु १० खर्बभन्दा बढी लगानी रहेकाले यसको सुरक्षा र यसभित्रका समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरिएको जानकारी दिनुभयो । सडक दुर्घटनाबाट अहिले दैनिक सातजनाको मृत्यु हुनुका साथै ४० जना घाइते हुने गरेका छन् । उहाँले चाडपर्व नजिकिँदै गर्दा कतिपय राष्ट्रिय राजमार्ग र सहायक मार्ग बिग्रिएको जनाउँदै उक्त राजमार्गलाई चाँडो मर्मतसम्भार गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएको बताउनुभयो । महासङ्घले गत असार २८ गते चितवनको सिमलतालमा पहिरोबाट दुईवटा सवारीसाधन पुरेको घटनाको अध्ययन गरी प्रतिवेदन बुझाएकाले उक्त प्रतिवेदनलाई तत्काल कार्यान्वयन गर्न माग गरेको हो । यस्तै २०७८ माघ ११ गते पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा गठित यातायात सुधार सुझाव कार्यदलले बुझाएको प्रतिवेदन यथाशक्य कार्यान्वयन हुनुपर्ने बताएको हो । महासङ्घले यातायात क्षेत्रलाई व्यवस्थित, मर्यादित, उपभोक्ता, मजदुर, प्रविधिमैत्री र दुर्घटना न्यूनीकरण गर्नका लागि यातायात प्राधिकरण गठन गर्नुपर्ने, पेट्रोलियम पदार्थको मूल्यवृद्धि र पाटपुर्जाको मूल्य वृद्धि भएकाले यातायात भाडा समायोजन गर्नुपर्ने, २० वर्ष पुराना सवारीको हकमा सर्वोच्च अदालतले फैसला गरिसकेकाले उक्त फैसलाको कार्यान्वयन हुनुपर्ने माग गरेको छ । यसैगरी, रातो नम्बरप्लेटका सवारीसाधनलाई सार्वजनिक सवारीसरह यात्रु ओसारपसार गर्न दिइएको जनाउँदै उक्त कार्य रोक्नुपर्ने, भारतीय मालवाहक सवारीसाधनले सामान ओसारपसार गर्दा नेपाली मालवाहक सवारीसाधन मर्कामा परेकाले यसलाई रोक्नुपर्ने बताइएको छ । यस्तै, टिपरलाई काठमाडौँ उपत्यका प्रवेशमा निश्चित समय तोकिँदा बैंकको ब्याजदर, किस्तामा समस्या देखिएकाले उक्त समय पुनरावलोकन हुनुपर्ने, दुर्घटना उद्धार तथा राहत कोष निर्माण गर्न माग गरेको छ । सो अवसरमा गृहमन्त्री लेखकले सडक दुर्घटना न्यूनीकरणका लागि सबैले आ–आफ्नो ठाउँबाट काम गर्न र यात्रुलाई चाडपर्वलक्षित प्रभावकारी सेवा प्रवाह गर्न व्यवसायीलाई आग्रह गर्नुभएको थियो । उहाँले भन्नुभयो,“दुर्घटना एकदमै बढ्यो, यो भएन, सडक सुरक्षा परिषद्, सडक विभाग, मन्त्रालय, नेपाल प्रहरीलाई भन्न चाहन्छु, आगामी दुई÷तीन महिनामा दुर्घटना कम भएको देखिनुपर्छ, मलाई परिणाम चाहिन्छ ।”
नेपालगञ्ज: बाँकेको राँझा चोक नजिकै रत्न राजमार्गको सुर्खेत सडकखण्डमा आज बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । दाङबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे१ख २१२८ नम्बरको यात्रुबाहक बस सडकमा अनियन्त्रित हुँदा भएको दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । उक्त दुर्घटनामा परी दाङको तुल्सीपुरका ६० वर्षीय धनबहादुर ओली र तुलसीपुरकै बसका सहचालक २४ वर्षीय सन्तोष भुसालको मृत्यु भएको उहाँले बताउनुभयो । बस अनियन्त्रित भएको बारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक डाँगीले बताउनुभयो । उक्त दुर्घटनामा घाइते भएकाहरुको नेपालगञ्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बागलुङ: विद्यालय उमरेका बालबालिकामा लेखन सीप अभिवृद्धिका लागि बागलुङ सदरमुकाममा सृजनात्मक लेखन कार्यशाला बुधबारदेखि सुरु भएको छ । विद्यामन्दिर पुस्तकालय, बागलुङको आयोजनामा बिहीबारसम्म सञ्चालन हुने कार्यशालाको बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले उद्घाटन गर्नुभयो । उहाँले बालबालिकाको सृजनात्मक र मनोवैज्ञानिक विकासमा कार्यशालाले मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभयो । नगरप्रमुख श्रेष्ठले बागलुङ नगरपालिकालाई बालमैत्री नगर घोषणको तयारी भइरहेको बताउनुभयो । कार्यक्रममा पुस्तकालय संरक्षक समितिका सदस्य प्रेम छोटा, पूर्वअध्यक्ष श्यामप्रसाद श्रेष्ठ, विद्यामन्दिर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्य, एनप्याब्सन बागलुङ नगर अध्यक्ष चन्द्रबहादुर क्षेत्रीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यशालामा सामुदायिक र निजी विद्यालयका गरी ६० जना बालबालिका सहभागी रहेका छन् । कार्यशालामा बाल साहित्यकार यशु श्रेष्ठले कथा, निबन्ध, कवितालगायत विधामा सृजनात्मक लेखन र प्रयोगबारे अभ्यासमूलक प्रशिक्षण दिने पुस्तकालयले जनाएको छ । बालबालिकामा मोबाइलको नकारात्मक लत न्यूनीकरण गरी सकारात्मक सिकाइमा मोबाइलको सदुपयोगबारे पनि अभिमुखीकरण गरिने पुस्तकालयका सचिव राजनप्रसाद शर्माले बताउनुभयो । विद्यालय तहमा अध्यापन गर्ने शिक्षकलाई शिक्षणमा कथावाचनको महत्व र प्रयोगका विषयमा पनि प्रशिक्षित गरिने उहाँको भनाइ छ । “विद्यालय उमेरका बालबालिकामा सृजनात्मक क्षमता अभिवृद्धिका लागि कार्यशाला आयोजना गरिएको हो”, उहाँले भन्नुभयो, “कार्यशालाले लेखन सीपसँगै बालबालिकाको अभिव्यक्ति कलासमेत विकास हुने हाम्रो विश्वास छ ।” १७औँ राष्ट्रिय पुस्तकाल दिवसको अवसरमा प्याब्सन, एनप्याब्स, विद्यामन्दिर माध्यमिक विद्यालय र बागलुङ जेसीजसँगको सहकार्यमा पुस्तकालयले कार्यशाला आयोजना गरेको हो । ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्यसहित यही भदौ १५ गते मनाइने उक्त दिवसलाई पाँच दिवसीय कार्यक्रमसहित मनाउन लागिएको पुस्तकालयका सचिव शर्माले बताउनुभयो । दिवसका अवसरमा मङ्गलबार पुस्तकालय परिसर सरसफाइसहित सदरमुकामका चोकमा दिवसको प्रचारात्मक ब्यानर प्रदर्शन गरिएको थियो । शुक्रबार पुस्तकालय दिवससँग सम्बन्धित शीर्षकमा बागलुङ नगरपालिकास्थित माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता आयोजना गरिएको पुस्तकालयले जनाएको छ । सोही दिन पुस्तकालयको बालविकास केन्द्रमा रहेका बालबालिकाको निःशुल्क स्वास्थ्य परीक्षण तथा शैक्षिक सामग्री वितरण गरिने भएको छ । दिवसका सन्दर्भमा जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा प्रयोग हुने गरी पुस्तक उपहार दिने कार्यक्रमसमेत तय गरिएको छ । भदौ १५ गते सम्मान र पुरस्कार वितरणसहित मूल समारोह आयोजना गरिएको सचिव शर्माले जानकारी दिनुभयो । सोही समारोहमा पुस्तकालयको विभिन्न पदमा रही झण्डै ४० वर्षसम्म सेवा पु¥याउनुभएका पुस्तकालयका संरक्षक समिति सदस्य एवं पूर्वअध्यक्ष हरिहर श्रेष्ठलाई दीर्घ सेवा सम्मान प्रदान गरिने भएको छ । विसं २००३ सालमा स्थापना भएको देशकै अग्रणीमध्येको विद्यामन्दिर पुस्तकालय राणाकालको प्रतिकुल समयमा खुलेका कारण पनि यसको अलग पहिचान छ । धवलागिरि क्षेत्रको शैक्षिक, सामाजिक र राजनीतिक जागरणको केन्द्रका रुपमासमेत यस पुस्तकालयलाई लिने गरिन्छ । स्थापनाकालमा काठमाडौँ उपत्यका हुँदै भारतको दिल्ली, गोरखपुरसम्मबाट भरिया लगाएर ल्याइएका पुस्तक सङ्ग्रह गरेर सुरु गरिएको पुस्तकालयमा अहिले विभिन्न विधा र भाषाका गरी करिब १७ हजार बढी पुस्तक छन् । पुस्तकालयमा विद्युतीय पुस्तकालय (ई–लाइब्रेरी) पनि सञ्चालित छ । प्रारम्भिक चरणमा विद्यालयको कोठा हुँदै सार्वजनिक पौवामा चलेको पुस्ताकालयले अहिले आफ्नै सुविधासम्पन्न भवनबाट सेवा दिँदै आएको छ । यस पुस्तकालयका संस्थापक दिवङ्गत ओमप्रसाद गौचन र मेघकुमार वैद्य हुनुहुन्छ । पुस्तकालयमा छुट्टै बाल पुस्तकालय स्थापनाको तयारी अगाडि बढेको छ । कार्यशालाको उद्घाटन सत्र पुस्तकालयका अध्यक्ष राम थापा ‘अविरल’को अध्यक्षता, उपाध्यक्ष रामचन्द्र शर्माको स्वागत र सचिव राजनप्रसाद शर्माको सञ्चालन सम्पन्न भएको थियो ।
काठमाडौं: जापान सरकारले मानव संसाधन विकास छात्रवृत्ति (जेडिएस) परियोजनाअन्तर्गत नेपाल सरकारलाई करिब रु ४२ करोड ३० लाख (४५ करोड ४० लाख जापानी येन) बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ । यससम्बन्धी सम्झौतापत्रमा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरे र जापान सरकारका तर्फबाट नेपालका लागि जापानी राजदूत किकुता युताकाले नोट आदानप्रदान पत्रमा हस्ताक्षर गर्नुभयो । उक्त छात्रवृत्ति कार्यक्रमअन्तर्गत नेपाल सरकारका प्रतिस्पर्धी युवा अधिकृत कर्मचारीहरूले जापानका विभिन्न विश्वविद्यालयमा दुई वर्षको स्नातकोत्तर (मास्टर्स) तह तथा तीन वर्षको विद्यावारिधि (पीएचडी) तहमा अध्ययन गर्ने अवसर प्राप्त गर्नेछन् । सन् २०१६ देखि उपलब्ध हुँदै आएको उक्त छात्रवृत्ति कार्यक्रमअन्तर्गत यसअघि एक सय ६५ विद्यार्थीले उच्च शिक्षा हासिल गरेका छन्भने नयाँ सम्झौताअन्तर्गत थप २२ विद्यार्थीले अध्ययनका लागि छात्रवृत्ति प्राप्त गर्नेछन् । हस्ताक्षर समारोहमा अर्थमन्त्रालयका सचिव डा घिमिरेले छात्रवृत्ति कार्यक्रमले नेपालको निजामती सेवाको क्षमता अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रसेवक कर्मचारीले हासिल गरेको ज्ञान र सीपले सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउनाका साथै नेपालको सामाजिक–आर्थिक विकासमा योगदान पु¥याउने उल्लेख गर्दै उहाँले नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ तुल्याउन योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । राजदूत युताकाले जेडिएस स्नातकहरूले नेपालको विकासमा महत्वपूर्ण प्रभाव पार्ने र दुई देशबीचको लामो समयदेखिको सहयोगात्मक सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो । हस्ताक्षर समारोहमा अर्थ मन्त्रालयका अधिकारी, काठमाडौँस्थित जापानी राजदूतावास र जाइका नेपालका अधिकारीको पनि उपस्थिति थियो ।
म्याग्दी: जोमसोम–पोखरा हवाई सेवा दुुई महिनापछि आजदेखि पुनः सञ्चालनमा आएको छ । गण्डकी प्रदेशको राजधानी पोखरादेखि पर्यटकीय जिल्ला मुस्ताङको जोमसोम विमानस्थलमा हुुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण गत असार १७ गतेदेखि स्थगित भएको थियो । जोमसोम विमानस्थलका प्रमुख केशव लम्सालले दुई महिनापछि समिट एयरलायन्सले आज पाँचवटा उडान भरेको जानकारी दिनुभयो । “मौसममा सुुधार आएको छ । पर्यटकीय याम सुरु हुन लागेकाले पनि पोखरा–जोमसोम हवाई सेवा पुनः सुरु गरिएको हो,” उहाँले भन्नुभयो “निजी क्षेत्रको यति एयरलायन्सको भगिनी कम्पनी तारा एयरको जहाजले यही भदौ १८ गतेदेखि उडान भर्ने तयारी गरेको छ ।” पाँच उडानमार्फत ९० जना मुुस्ताङ भित्रिएका प्रमुख लम्सालले बताउनुभयो । बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा पहिरोका कारण यातायात सेवा प्रभावित भइरहेको अवस्थामा हवाई सेवा पुनः सुरु भएपछि मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटकलाई सहज भएको छ । सडक अवरुद्ध हुने र हवाई सेवा नभएको अवस्थामा महँगो शुल्क तिरेर हेलिकप्टरमार्फत यात्रा गर्नुपर्ने बाध्यता छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ मा सहभागी राष्ट्रिय महिला भलिबल खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कृत गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले महिला भलिबल टोलीका कप्तान अरुणा शाहीसहित १४ खेलाडी, मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट, सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलमसिंह बज्राचार्य र फिजियो लोकेन्द्र कुँवरलाई पुरस्कार वितरण गर्नुभएको हो । खेलाडीलाई जनही रु तीन लाख, मुख्य प्रशिक्षक भट्टलाई रु दुई लाख तथा सहायक प्रशिक्षक यादव, व्यवस्थापक बज्राचार्यलाई र फिजियो कुँवरलाई जनही रु एक लाख २० हजार राशिसहित पुरस्कार प्रदान गरिएको हो । गत साउन १७ गतेदेखि २३ गतेसम्म काठमाडौँमा भएको उक्त खेलमा नेपालले उत्कृष्ट प्रदर्शनसहित दोस्रो स्थान हासिल गरेको थियो । मन्त्रिपरिषद्को गत साउन ३१ गते बसेको बैठकले सहभागी खेलाडी, प्रशिक्षलगायतलाई गरी कूल रु ४७ लाख ६० हजार पुरस्कार दिने निर्णय गरेको थियो । यसअघि प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा यही भदौ २ गते सहभागी खेलाडी, प्रशिक्षकलगायतसँग भलिबल खेलको विकासका लागि छलफल गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले महिला भलिबल खेलाडीले हालसम्म पाएको सफलताप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा नयाँ कीर्तिमान कायम गर्ने गरी मेहनत गर्न आग्रह गर्नुभयो । “हाम्रा खेलाडी छोरीलाई थप सफलता र प्रगतिका लागि उत्साह मिलेको छ भन्ने मैले विश्वास लिएको छु”, उहाँले भन्नुभयो, “यो पुरस्कारमा थप सफलताको शुभकामना जोडिएको छ । खेलाडीलाई निरन्तर अभ्यास र प्रेरणाको वातावरण तथा पूर्वाधारका लागि सरकारले सक्दो प्रयत्न गर्नेछ । तपाईँहरु जहाँ जाँदा पनि जित्छौँ भन्ने उच्च मनोबलका साथ अन्तिम समयसम्म लाग्नुस् ।” आफ्नो पदबहालीका दिन कीर्तिपुर खेल मैदानलाई तीन सय दिनभित्र स्तरोन्नति गर्ने निर्णय गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले त्यसको कार्यान्वयन गरिने अवगत गराउँदै दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको राम्रो तयारी गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो । उहाँले दशरथ रङ्गशालामा खेल हुँदा मैदान हिलाम्मे हुनु दुःखद् भएको र उक्त रङ्गशालालाई स्तरीयबाहेक अन्य खेलमा दुरुपयोग नगराउन सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले महिला भलिबल खेललाई आजको अवस्थामा ल्याउन योगदान दिनेहरुलाई धन्यवाद दिँदै सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकता दिन नीतिगत र व्यवहारिकरुपमा व्यवस्था हुनुपर्ने बताउनुभयो । मन्त्रालयका सचिव सुमनराज अर्यालले सीमित स्रोत साधनबीच नेपाली खेलाडीले देखाएको उत्कृष्ट प्रदर्शनप्रति आभार व्यक्त गर्नुभयो । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले नेपाली खेलकुदलाई प्राथमिकता दिँदै प्रधानमन्त्री ओलीले लिनुभएको अग्रसरता प्रशंसनीय रहेको बताउनुभयो । नेपाल भलिबल सङ्घका महासचिव रोशन श्रेष्ठले भलिबलको विकासका लागि के गर्न सकिन्छ भन्नेमा प्रधानमन्त्री ओलीको प्रतिबद्धताबमोजिम कभर्ड हल बन्ने विश्वास व्यक्त गर्नुभयो । पुरस्कृत कप्तान शाहीले पुरस्कारबाट प्रोत्साहन मिलेको र आगामी खेलमा राम्रो प्रदर्शन गरी राष्ट्रलाई चिनाउने सङ्कल्प गर्नुभयो ।
पोखरा: सत्तारुढ नेपाली कांग्रेस र नेकपा (एमाले)बीच गण्डकी प्रदेश सरकारमा नौ मन्त्रालय बनाउने सहमति भएको छ । गण्डकी प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री रहनुभएको हालको मन्त्रिपरिषद् सात सदस्यीय रहेको छ । नयाँ सत्ता समीकरण अनुसार एमाले पनि सरकारमा सहभागी हुने भएपछि मन्त्रालयको सङ्ख्या बढाउने सहमति भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिनुभयो । “कांग्रेसले मुख्यमन्त्रीसहित पाँच र एमालेले चार मन्त्रालय लिने सहमति भएको छ”, उहाँले भन्नुभयो, “आगामी आइतबारसम्ममा मन्त्रालयको बाँडफाँड टुङ्गाएर मन्त्रीहरुको शपथ गराउने तयारी भइरहेको छ ।” कुन दलले कुन मन्त्रालय लिने भन्ने विषयमा अझै सहमति हुनसकेको छैन । मख्यमन्त्री पाण्डेले आफूलाई विश्वासको मत दिने नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह लिएर निर्वाचित नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङलाईसमेत समेटेर सरकार पुनःगठन गर्ने कांग्रेसले जनाएको छ । यसअघि एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री हुँदा मन्त्रालय सङ्ख्या १२ बाट घटाएर सातमा पु¥याइएको थियो । अहिले दलहरुबीच मन्त्रालयको बाँडफाँड मिलाउन फेरि मन्त्रालय थप्ने सहमित भएको छ । मन्त्रालयको सङ्ख्या र बाँडफाँडमा सहमति नजुट्दा सङ्घीय सरकार बनेको दुई महिना बित्नलाग्दासमेत गण्डकीमा नयाँ समीकरण अनुसारको सरकार बन्न सकेको थिएन । गण्डकी प्रदेशसभामा एमाले संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले मन्त्रालय थप गर्दा त्यसको औचित्य पुष्टि गर्ने चुनौती भने दलसामु रहेको बताउनुभयो । उहाँले संविधानले दिएको अधिकार भन्दैमा धेरै मन्त्रालय बनाउनु उपयुक्त नहुने र त्यसलाई नागरिकले पनि नरुचाउने बताउनुभयो । प्रदेशसभा सदस्य देवकोटा र गुरुङको निर्णायक समर्थनमा मुख्यमन्त्री पाण्डेले गत जेठ २८ गते प्रदेशसभाबाट विश्वासको मत पाउनुभएको थियो । मुख्यमन्त्री पाण्डे संविधानको धारा १६८ (३) बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलका हैसियतमा गत जेठ १६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँले कांग्रेसका २७, राप्रपाका दुई र एक स्वतन्त्र प्रदेशसभा सदस्य गरी ३१ प्रदेशसभा सदस्यको समर्थन पाउनुभएको थियो । एमालेका २२ र माओवादी केन्द्रका ६ प्रदेशसभा सदस्यले विश्वासको मतको विपक्षमा मत दिएका थिए । त्यसअघि मुख्यमन्त्री बन्नुभएका नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारीले प्रदेशसभाबाट प्राप्त गरेको विश्वासको मतलाई सर्वोच्च अदालतले असंवैधानिक रहेको फैसला गरेपछि पाण्डे पुनः मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । अधिकारीले पाएको विश्वासको मतविरुद्ध दायर भएको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताका हैसियतमा पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो । ६० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २७, एमालेका २२, नेकपा (माआवादी केन्द्र) का सात (सभामुखबाहेक), राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक स्वतन्त्र प्रदेशसभा सदस्य हुनुहुन्छ ।

