दाङ: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य रेखा शर्माले पार्टीलाई आगामी चुनावमा एक्लै लड्ने अवस्थामा पु¥याउन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । मङ्गलबार माओवादी केन्द्र तुलसीपुरले आयोजना गरेको भेटघाट कार्यक्रममा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रहनुभएका शर्माले एक्लै चुनाव लड्नका लागि माओवादी घटकबीच एकता आवश्यक रहेको बताउनुभयो । “आगामी निर्वाचनसम्म सरकारको नेतृत्व नगर्ने र माओवादी घटकबीच एकताबद्ध गरेर एक्लै चुनाव लड्ने वातावरण निर्माण गर्नेगरी पार्टीले छलफल अघि बढाएको छ”, उहाँले भन्नुभयो । पार्टीभित्र अन्तरविरोध रहने विषयलाई ठूलो रुप बनाउन नहुने उल्लेख गर्दै उहाँले पार्टीभित्रको छलफललाई स्वाभाविक रुपमा लिनुपर्नेमा जोड दिनुभयो । त्यस अवसरमा पार्टीका निर्वाचन आयोग संयोजक कुवेर वलीले पार्टीभित्र गुटबन्दी हुन नहुने बताउनुभयो । पार्टी केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वअर्थमन्त्री धनबहादुर मास्कीले माओवादी केन्द्रको जनमत घट्दै गएकोप्रति समीक्षा हुनुपर्ने बताउनुभयो ।
म्याग्दी: चीन र भारत जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुबारी क्षेत्रको पहिरोले दुर्घटनाको जोखिम बढेको छ । कालीगण्डकी किनारको पाखोमा निर्माण भएको सडकमा खस्ने पहिरोका कारण बेनी–जोमसोम सडकमा नियमित यातायात सञ्चालन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम बढेको हो । स्तरोन्नतिका क्रममा रहेको बेनी–जोमसोम–सडक आयोजनाका सबइन्जिनियर सोहनजङ्ग कार्कीले गत वर्षदेखि सृजना भएको सिरुबारीको पहिरोले दुःख दिइरहेको बताउनुभयो । “करिब एक किलोमिटरमाथिको पाखो बगेको छ”, उहाँले भन्नुभयो “खसेको पहिरो पन्छाउदै सावधानी अपनाएर यातायात सञ्चालन गरिएको छ ।” आकाशबाट पानी पर्नेबित्तिकै पाखोबाट ढुङ्गा, लेदो र गेगरसहितको पहिरो खसेर सडकमा थुप्रिन्छ । हिलोमा सवारीसाधन फस्ने, गुुडिरहेका सवारीमाथि ढुङ्गा खस्ने, यात्रीलाई चोटपटक लाग्ने जोखिम छ । यही भदौ ४ गते पोखराबाट बेनी हुँदै जोमसोमतर्फ जाँदै गरेको ग१ख ७७१७ नम्बरको बस सिरुबारीको पहिरोमा गुडिरहेको अवस्थामा ठूलो ढुङ्गा खसेर च्यापिदा दुईजना यात्रा घाइते भएका थिए । पहिरोले सयौँ रोपनी खेतीयोग्य जमिन र जङ्गल नष्ट भएको छ । सवारी चालक तम परियारले त्रासैत्रासमा गाडीलाई पहिरो पार गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । सिरुबारी क्षेत्रमा करिब पाँच सय मिटर सडक पहिरोले छियाछिया बनाएको छ । मुस्ताङ जिल्ला, म्याग्दीको अन्नपूूर्ण गाउँपालिकाका बासिन्दाका साथै पर्यटक र तिर्थयात्रीलाई पहिरोका कारण जोखिम र सास्ती भएको छ । सिरुबारी, महभिर, बैसरी, गुइँठेभिरलगायत ठाउँमा पहिरोको उच्च जोखिम भएकाले रातको समयमा यात्रा नगर्न र सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय, रघुगङ्गा, अन्नपूूर्ण गाउँपालिका र बेनी–जोमसोम–कोरला सडक आयोजनाले अपिल गरेका छन् । ती ठाउँमा खस्ने पहिरो पन्छाएर यातायात सञ्चालन गर्न सडक विभागको डोजर, लोडर, ब्याकुहोलोडर तयारी अवस्थामा राखिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख धु्रवकुमार झाले बताउनुभयो । पहिरो, कटान र बाढीको जोखिम भएको ठाउँमा दीर्घकालीन समाधानका लागि अध्ययन गरेर भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा योजना माग गरिएको उहाँले बताउनुभयो । योजना र बजेटको अभावमा पहिरो रोकथामका लागि दीर्घकालीन काम गर्न नसकेको झाले बताउनुभयो ।
म्याग्दी: धौलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट आज साँझ पुन:हिउँपहिरो खसेको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मूलखर्कमा यही असोज ७ गते अपराह्न पनि हिउँ पहिरो खसेको थियो । थासाङ गाउँपालिका–२ का वडाध्यक्ष समेत रहेका थासाङ गाउँकार्यपालिकाका प्रवत्ता गौतम शेरचनले हिउँपहिरोले बोक्सीखोला पूर्ण रुपमा थुनिएको बताउनुभयो । “यसअघिको पहिरो मूलखर्क क्षेत्रमा थुप्रिएको थियो, आजको हिउँपहिरो बोक्सीखोलाको नजिकै धेरै तलसम्म आएको छ”, उहाँले भन्नुभयो, “हिउँपहिरोले बोक्सीखोला पूर्ण रुपमा थुनिएकाले सतर्कता अपनाइएको छ ।” बोक्सीखोला कालीगण्डकीको सहायक नदी हो । आज साँझ ५ः४५ मा हिउँपहिरो खसेको थियो । आसपासमा बस्ती नभए पनि बेनी–जोमसोम सडक बोक्सीखोलामा पर्दछ । यसअघि विसं २०७८ कात्तिक २८ र फागुन २१ गते थासाङ गाउँपालिका–२ कोवाङमा टुकुचे हिमालबाट आएको हिमपहिरोले एक सय ५० भन्दाबढी चौँरीगाई मरेका थिए ।
काठमाडौं: दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनपसिप फुटबल प्रतियोगिताको उपाधि भिडन्तमा नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुने भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० कम्प्लेक्सको खेल मैदानमा भोलि फाइनल भिडन्तमा दुवै टोलीले उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् । नेपाली राष्ट्रिय यु–२० टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले करिब ४५ दिन एन्फा मुख्यालयमा नै साफ च्याम्पियनसिपका लागि तयारी गरेको हुँदा फाइनल खेल पनि सोही स्थानमा हुने भएकाले आफ्नो टोलीलाई फाइदा पुग्ने बताउनुभयो । यही भदौ ६ गते भएको समूह चरणको खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । प्रशिक्षक श्रेष्ठले समूह चरणको जितले केही अर्थ नराख्ने भन्दै फाइनल खेलका लागि आफ्नो टोलीको तयारी अवस्थामा रहेको बताउनुभयो । श्रेष्ठले भन्नुभयो, “बङ्गलादेश एकदमै राम्रो टोली हो । हिजो भारतजस्तो बलियो टोलीलाई उसले हराएको छ । त्यसैले भोलि निकै प्रतिस्पर्धात्मक खेल हुने अनुमान गरेको छु ।” हिजो भएको सेमिफाइनल खेलमा बङ्गलादेशले भारतलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । त्यस्तै बङ्गलादेशका मुख्य प्रशिक्षक एकेएम मरुफुल हाकीले नेपाललाई मैदानको फाइदा रहे पनि आफूहरुको मनोबल उच्च रहेको र जितकै लागि खेल्ने प्रतिक्रिया दिनुभयो । प्रशिक्षक हाकीले यसअघि समूह चरणको खेलमा नेपालसँग आफ्नो टोली पराजित भए पनि भोलिको खेलमा उपाधि जित्ने मनोबलका साथ खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल र बङ्गलादेशबीचको फाइनल खेल दिउँसो २ः३० बजेदेखि सुरु हुनेछ ।
पोखरा: गण्डकी प्रदेशको वैदेशिक रोजगार शाखा संरक्षण संघले पोखरामा आयोजित तीज विशेष कार्यक्रममा राष्ट्रिय महिला भलिबलकी कप्तान अरुणा शाही र नेपाल पत्रकार महासंघ कास्कीकी उपाध्यक्ष जमुना वर्षा शर्मालाई सम्मान गरेको छ। कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य सरस्वती अर्याल तिवारीले शाही र शर्मालाई प्रशंसा पत्र र नगदसहित सम्मान गरेका थिए। कप्तान शाहीलाई ५० हजार र पत्रकार शर्मालाई १० हजार नगदले सम्मान गरिएको हो । अरुणा शाहीलाई उनको कप्तानीमा विदेशमा उत्कृष्ट भलिबल खेल प्रदर्शन गरेको भन्दै सम्मान गरिएको थियो भने जमुना वर्षा शर्मालाई पत्रकारिताको माध्यमबाट महिला सशक्तिकरणमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । सम्मान कार्यक्रममा प्रमुख अतिथि तिवारीले कडा परिश्रम र मिहिनेतको परिणामस्वरूप समाजमा सफलता प्राप्त गरेका महिलाहरुलाई सम्मान गर्ने यो कार्यक्रम प्रसंशनीय रूपमा स्थापित गरेको बताइन्। उनले महिलाहरु अघि बढ्नका लागि अझै धेरै चुनौतीहरू रहेको उल्लेख गर्दै, यी चुनौतीहरूको सामना गरेर मात्रै सफलता प्राप्त गर्न सकिनेमा जोड दिइन्। उनले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउनु पर्ने , गैह्रकानुनी र सीप बिना बिदेश जाने कुरालाई निरुत्साहित गर्दै विदेश भन्दा स्वदेशमै स्वरोजगार बन्न प्रेरित गर्नु पर्नेमा जोड दिइन । सम्मानित पत्रकार जमुना वर्षा शर्माले सम्मानले पत्रकारीता क्षेत्रमा अझ जिम्मेवार भएर काम गर्न प्रेरित गरेको बताइन । सो अवसरमा पत्रकार शर्माले रोजगारीको लागि संघर्ष गर्ने महिलाहरूको समस्यालाई सम्बोधन गर्दै वैदेशिक रोजगार शाखा संरक्षण संघले समस्यामा परेका नेपाली श्रमिकहरूलाई सहयोग गर्न आग्रह गरिन्। सम्मानित कप्तान अरुणा शाही सम्मानले आफुलाई थप हौसला र उर्जा मिलेको धारणा राख्दै देशको नाम राख्न आफुले निरन्तर मिहिनेत गर्ने बताइन । संघका अध्यक्ष सुजन श्रेष्ठले हरितालिका तिज पर्व को महत्व र महिमा विशेष रहेको जनाउदै महिला सम्मान गरेको बताए । उनले २०६६ सालमा स्थापना भएको सस्थाले गण्डकी प्रदेशका वैदेशिक रोजगार सम्बद्ध शाखाहरुलाई नियमन गर्दै सरकार र व्यवसायीबीच समन्वय गर्दै आइरहेको जानकारी दिए । उनले वैदेशिक रोजगारको नाममा हुने ठगिलाई रोक्दै कानुनी र व्यवस्थित माध्यमबाट रोजगार प्रदान गर्न सस्था सक्रिय रहेको र संघमा ८० वटा सस्था आवद्ध रहेको उनको भनाइ थियो । सो कार्यक्रममा संघका सल्लाहकार, सदस्य, कर्मचारी र अन्य विशिष्ट व्यक्तित्वहरूलाई पनि मायाको चिनोसहित सम्मान गरिएको थियो ।
काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही भदौ १६ गते दिउँसो २ बजे बस्ने भएको छ । उक्त बैठक यसअघि भदौ १२ गते बस्ने निर्धारण गरिएकामा यस अवधिमा सङ्घीय संसद् बैठक नियमित भएकाले कांग्रेसको बैठक भदौ १६ गतेका लागि तोकिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उक्त बैठकमा कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।
सुनसरी: सुनसरीको धरानमा खुकुरी प्रहार गरेर हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सङ्खुवासभा खाँदबारी नगरपालिका–२ का ३३ वर्षीय बविन बराल पक्राउ परेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो । बरालले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा धरान २ का ३३ वर्षीया सिर्जना साहीकी १४ वर्षीय छोरी इनिसा साहीको मृत्यु भएको छ भने आमा सिर्जना घाइते भएको उपरीक्षक भण्डारीले बताउनुभयो । खुकुरी प्रहारबाट आमाछोरी घाइते भएकामा उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारका क्रममा छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले आज पोखराका विभिन्न क्षेत्रमा चल्ने दुई सय २३ वटा स्कुल बसमा जाँच गरेको छ । जाँचका क्रममा सिट क्षमताभन्दा बढी विद्यार्थी बोकेका १७ वटा बसलाई ट्राफिक नियमअनुसार कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए । जाँचका क्रममा सम्पूर्ण चालकलाई ट्राफिक नियम उल्लङ्घनगरी सवारी नचलाउन सम्झाइबुझाइ गरिएको उनले बताए ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गास्थित भुरुङ्दी खोलामा एक विदेशी नागरिक मृत फेला परेका छन् । खोलामा मृत फेला परेका नागरिक स्पेनका इरिक कासानोभास (पुरुष) रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । आइतबार स्पेनबाट नेपाल आएका इरिक कासानोभास (पुरुष) र मोलास जुन्का मेसी (महिला) तिखेढुङ्गाबाट उल्लेरी हुँदै घोरेपानी जाने क्रममा सम्पर्कबिहीन भएको खुल्न आएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख मोहन कुमार थापाले आइतबार तिखेढुङ्गास्थित मौजाखोला नजिकै गोरेटो बाटोमा २ वटा वेवारिसे झोला भेटिएको सूचनापछि खटिएको प्रहरीको टोलीसहित जनप्रतिनिधि र एक्यापका प्रतिनिधिको रोहबरको झोला हेर्दा स्पेनका नागरिकको भएको खुल्न आएको बताए । ‘आइतबार हामीलाई कास्कीको अन्नपूर्ण गाउँपालिका–९ स्थित तिखेढुङ्गास्थित मौजाखोला नजिकै गोरेटो बाटोमा २ वटा वेवारिसे झोला भेटिएको सूचना आएको थियो’, कास्की प्रहरी प्रमुख थापाले भने, ‘वेवारिसे अवस्थामा भेटिएको झोला, प्रहरी, जनप्रनिधि र एक्यापको प्रतिनिधिको रोहबरमा झोला खोली हेर्दा स्पेनका नागरिकको २ वटा पासपोर्टसहित सामान मात्र भेटिएपनि उनीहरु सम्पर्कमा थिएन ।’ यो पनि पढ्नुहोस घोरेपानी हिँडेका स्पेनिस पर्यटक बेपत्ता उनका अनुुसार वेवारिसे अवस्थामा झोला मात्र भेटिएपछि वरिपरि खोजतलाज गर्ने क्रममा नजिकै रहेको खोला र झरणामा टोपी, टिसर्ट, स्टिक, जिपिएस मात्र फेला परेको बताए । आज (मंगलबार) अन्नपूर्ण गाउँपालिका–९ भुरुङ्दी खोलामा कास्की प्रहरी र सशस्त्र प्रहरी बल मालेपाटनबाट खटिएको प्रहरीको टोलीले खोजतलाज गर्ने क्रममा इरिक कासानोभास (पुरुष) मृत फेला परेको उनले बताए । सोही स्थानमा बेपत्ता भएका मोलास जुन्का मेसी (महिला) को भने खोजतलाज जारी रहेको प्रहरीले जनाएको छ ।

