पोखरा:  भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले गण्डकी प्रदेशमा समावेशी, सन्तुलित र दिगो विकास सुनिश्चित गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभएको छ । भौतिक पूर्वाधार विकास तथा य...

पोखरा:     जिल्ला प्रहरी कार्यालय कास्कीको सूचना अधिकारी हुँ भन्दै सर्वसाधारणसँग रकम माग गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।  प्रहरी हुँ भन्दै सर्वसाधारणसँग रकम माग गरेको आरोपमा लामाचौरका २१ वर्षीय सुजित क्षेत्रीलाई हिजो (आइतबार) पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।  ‘कास्की प्रहरीको सूचना अधिकारी हुँ,तपाईहरुको केही काम काम छ भने भन्नुहोस् गरिदिन्छु, भन्दै ह्वाटएप र टेलिग्रामबाट सम्पर्क गरी विभिन्न व्यक्तिहरुलाई रकम माग गरेको सूचनाको आधारमा पक्राउ गरेका हौं ।’, डिएसपी शर्माले भने ।  पक्राउ परेका उनलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूरमा ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि कास्की प्रहरीले जनाएको छ ।   

काठमाडौं:     सर्वोच्च अदालतमा महिला प्रहरीलाई अभद्र व्यवहार गर्ने एक जनालाई पक्राउ गरिएको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीकानुसार आज अपराह्न भएको उक्त घटनामा संलग्न रहेको आरोपमा काठमाडौँको माइतीघरमा रहेको लिङ्कन ल फर्ममा कार्यरत २८ वर्षीया लुमा चौधरीलाई पक्राउ गरिएको हो । सर्वोच्च अदालतका बेन्च सहायक देवीप्रसाद प्रधानसँग छत्रप्रसाद लुइँटेलको रिट निवेदन फैसलाको नक्कल लिने विषयमा भनाभन भएपछि सुरक्षाकर्मी बोलाई सोधपुछ गर्ने क्रममा चौधरीले सर्वोच्च अदालत सुरक्षा एकाइमा कार्यरत महिला प्रहरी कर्मचारीमाथि हातपातका साथै अभद्र व्यवहार गरेपछि पक्राउ गरिएको प्रवक्ता अधिकारीले बताउनुभयो । उनलाई आवश्यक कारबाहीका लागि प्रहरीवृत्त सिंहदरबारमा ल्याई अनुसन्धान थालिएको उहाँले जानकारी दिनुभयो ।

दाङ:     लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् ।  प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नवनियुक्त मुख्यमन्त्री आचार्यले आजै नेकपा (एमाले) का २९ र नेपाली कांग्रेसका २७ सहित ५६ जना प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका थिए ।  निवर्तमान मुख्यमन्त्री जोखबहादुर महराले आइतबार प्रदेश प्रमुख समक्ष बुझाएको राजीनामा स्वीकृतसँगै नयाँ सरकार गठनका लागि नेपालको संबिधान धारा १६८ (२) बमोजिम प्रदेशसभामा रहेका दुई वा दुईभन्दा बढी दलको समर्थनमा आज बेलुका ६ः ३० बजेसम्म मुख्यमन्त्री दाबी गर्न आह्वान गरेका थिए।   

काठमाडौं:    साङ्ग्रिला होटलका संस्थापक तथा वरिष्ठ पर्यटन व्यवसायी श्यामबहादुर पाण्डेको निधन भएको छ । होटल सङ्घ नेपालका पूर्वअध्यक्षसमेत रहनुभएका पाण्डेको ग्राण्डी अस्पतालमा उपचारको क्रममा आज निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।       यसैबीच होटल सङ्घ नेपाललले नेपाली पर्यटन क्षेत्रका अग्रणी व्यक्तित्व पाण्डेको निधनप्रति गहिरो दुःख प्रकट गर्दै स्व पाण्डेप्रति श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।  नेपालको पर्यटन प्रवर्द्धनमा सदा सक्रिय रही प्रभावकारी नेतृत्व प्रदान गर्नुभएका स्व पाण्डेको निधनबाट देशले पर्यटन विकासको अविभावक तथा सच्चा पर्यटन व्यवसायी गुमाएको सङ्घले जनाएको छ । निजामती सेवा छोडेर होटल व्यवसाय गर्नुभएका स्व पाण्डेले मुलुकमा अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न तारे होटेल तथा रिसोर्टहरूको सञ्चालन गरी पर्यटन प्रवर्द्धनमा विशेष योगदान गर्नुभएको छ । यसवापत उहाँले राष्ट्रिय, अन्तर्राष्ट्रिय पदक तथा सम्मानहरू प्राप्त गर्नुभएको थियो ।

काठमाडौं:     बङ्गलादेशमा आन्दोलन चर्किएपछि स्वदेश फर्किएका नेपाली  विद्यार्थीहरुले आज परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई भेट गरी त्यहाँको अवस्थाका बारेमा जानकारी गराएका छन् ।      ढाकामा जारी आन्दोलनका कारण समस्यामा परेका नेपाली विद्यार्थी स्वदेश फर्किरहेका छन् । परराष्ट्र मन्त्रालयले आइतबारसम्म एक हजार दुई सय विद्यार्थी स्वदेश फर्किसकेका जनाएको छ ।       आइतबार नेपाल फर्किएका ढाकास्थित विभिन्न कलेजमा चिकित्साशास्त्र विषयमा अध्ययनरत केही विद्यार्थीले आज परराष्ट्र मन्त्रालय पुगेर मन्त्री डा राणासँग भेट गरेका थिए । उनीहरुले आन्दोलनका कारण त्यहाँका विभिन्न कलेजमा अध्ययनरत नेपाली तथा विदेशी विद्यार्थीले असुरक्षित महसुस गरेको जानकारी गराएका थिए ।      हाल ढाका र त्यस वरपरका क्षेत्रमा इन्टरनेट तथा टेलिफोन सेवा समेत काटिएकाले आफ्ना परिवारसँग पनि सम्पर्क गर्न नसकिएको, आफू रहेका स्थानबाट बाहिर निस्कन नपाएको र त्यहाँ रहेका विद्यार्थी सम्पर्कविहीन हुँदा आत्तिएका उनीहरुले जानकारी गराए ।      उनीहरुले ढाकास्थित नेपाली दूतावासले त्यहाँ अप्ठेरोमा परेकाहरुका लागि सम्पर्क र समन्वय गरेको, नेपाल आउन चाहनेलाई आवश्यक सहयोग गरेको जानकारी दिँदै कलेजभित्रै रहेका विद्यार्थीलाई त्यस्तो कुनै असुरक्षाको अवस्था नभए पनि इन्टरनेट, फोन आदि नभएकाले आफ्ना परिवारसँग सम्पर्क गर्न नपाएर उनीहरु आत्तिएको बताए ।          हाल त्यहीँ रहेका आफ्ना नेपाली साथीहरुलाई सुरक्षित रहनका लागि पहल गर्न र आन्दोलनका कारण आफ्नो अध्ययनमा परेको असरलाई कम गर्नका लागि कूटनीतिक माध्यमबाट पहल गरिदिन विद्यार्थीहरुले मन्त्री डा राणासँग आग्रह गरेका छन् ।  अहिलेको जस्तो समस्या भोलि पनि आउन सक्ने भएकाले त्यहाँ रहेका सबै नेपालीको सम्पर्क एवं तथ्याङ्क ढाकास्थित नेपाली दूतावासले राख्ने र समय समयमा अप्ठेरो परेका बेला सहयोग गर्न सक्ने वातावरण निर्माण गरिदिन विद्यार्थीले आग्रह गरेका छन् ।      त्यस अवसरमा परराष्ट्रमन्त्री डा राणाले शान्तिपूर्ण अवस्था नभएसम्म नफर्किन सुझाव दिँदै नेपाल सरकारले त्यहाँ रहेका नेपाली विद्यार्थीको सुरक्षाका साथै उनीहरु घर आउन चाहेमा त्यसका लागि पनि आवश्यक सहयोग र समन्वय गरिरहेको जानकारी गराउनुभयो ।      मन्त्रालयमा ‘हेल्प डेस्क’ राखेर र ढाकास्थित नेपाली दूतावासलाई सक्रिय बनाएर त्यहाँका नेपालीलाई आवश्यक सहयोगका लागि निर्देशन दिइएको जानकारी दिँदै उहाँले नेपाली विद्यार्थीको अध्ययनका सम्बन्धमा नेपाल सरकारले कूटनीतिक माध्यमबाट गर्न सकिने सहयोग गर्ने उल्लेख गर्नुभयो । सरकारी सेवा प्रवेशमा निर्धारित आरक्षणको विरोधमा हाल बङ्गलादेशमा आन्दोलन जारी रहेको छ ।

काठमाडौं:    सबै मान्छेले बोल्ने भाषा एउटै भए के हुन्थ्यो होला? आजका दिनमा सायद यो एउटा स्वैरकल्पना मात्र हुनसक्छ । मानव सृष्टिका चरणसँगै आवश्यकताका आधारमा विभिन्न समुदायमा आआफ्नै ढङ्गले भाषाको विकास भएको पाइन्छ । तर यहाँ भाषाको इतिहास र विकासबारे चर्चा गर्न खोजिएको होइन ।  यहाँ त मण्डला नाटकघरमा शनिबारदेखि मञ्चन सुरु भएको नाटक ‘मेषी दण्ड’ (मेखी दण्ड)बारेमा चर्चा गर्न खोजिएको हो । आफूइतरको भाषा नजान्दा समुदायले भागेको समस्या नाटकमार्फत देखाउने प्रयास गरिएको छ ।  किराँत राई समुदायअन्तर्गतको खालिङ राई भाषीमाथि करिब एक सय ५० देखि दुई सय वर्षअघि तत्कालीन शासकहरुले कसरी निर्मम दमन गरे भन्ने नाटकमा देख्न सकिन्छ ।       नेपाली भाषा नजान्दाको घटनालाई मूल विषयवस्तु बनाएर निर्माण गरिएको नाटक हो ‘मेषी दण्ड’ । सोलुखुम्बुको सुदूरउत्तरी गाउँ हालको माप्य दूधकोशी गाउँपालिकाको राप्छा गाउँको कथा हो यो ।    नाटक सोही गाउँका कवि तथा नाटककार गिलु रातोसले लेख्नुभएको हो । जसलाई कलात्मक ढङ्गबाट निर्देशन गर्नुभएको छ अनिल सुब्बाले । लेख्य इतिहास नभए पनि किराँत समुदायको मौखिक इतिहास अर्थात् मिथक जीवित पाइन्छ ।  पुर्खाहरुका अनुसार सम्भवतः नेपाल–तिब्बत युद्धका बेला हुनुपर्दछ, तत्कालीन श्री ३ सरकारका फौजहरु सोलुखुम्बुको नाङपाला नाका जाने आउने क्रममा राप्छा गाउँमा आइपुगेका थिए । खालिङ भाषी समुदायले भरिएको राप्छामा उनीहरुले राज्यको नीति निर्देशनहरु उर्दी गरे । तर, त्यहाँ कोही पनि नेपाली भाषा जान्दैनथे । शासकहरुले जे भने पनि उनीहरुले ‘मेषी माका’ अर्थात् ‘त्यही त हजुर’ भनेर जवाफ फर्काए ।      राणा शासकहरुले मेषी माकाको अर्थ बुझेनन् । नेपाली भाषा बोल्न नजानेको भन्दै उनीहरु रुष्ट भए । त्यसपछि त्यहाँ बसोबास गर्ने खालिङहरुलाई बर्सेनि मेषी दण्ड तिर्नुपर्ने आदेश गरे । सोही समयदेखि राप्छाका खालिङ समुदायले राणाशासन अन्त्य नभएसम्म मेषी दण्डबापत श्री ३ सरकारलाई जरिवाना बुझाइरहे ।       यसरी एउटा आदिवासी जनजाति समुदायमाथि तत्कालीन शासकहरुले भाषाकै कारण कसरी दमन गरे भन्ने विषयलाई करिब डेढ घण्टा लामो नाटकबाट बुझ्न सकिन्छ । नाटक यही साउन २७ गतेसम्म सोमबारबाहेक नियमित मञ्चन हुने मण्डला नाटकघरले जनाएको छ ।       नाटकका मुख्य पात्रका रुपमा खालिङ समुदायका तालुकदार सुजम्बर र उनैले नेपाली भाषा सिक्न अन्यत्रबाट राप्छा ल्याएका सिंहवीर कार्की छन् । नेपाली भाषा बोल्न जाने मेषी दण्ड तिर्नुनपर्ने आशामा भाषा सिक्नकै लागि आफूले आवाद गरेको भूमि सिंहवीर कार्कीलाई सुम्पिएर गाउँको प्रमुख बनाउछन् । कार्की गाउँ प्रमुख भएपछिका सामाजिक द्वन्द्व नाटकमा प्रस्तुत गरिएको छ ।      सिंहवीरले आफूमात्र नभई आफ्ना पण्डित, कपडा सिलाउने दमार्इं, फलाम पिट्ने विश्वकर्मासहित राप्छा पुगेपछि खालिङ राईहरुमा कसरी धार्मिक, सांस्कृतिक हस्तक्षेप र प्रभाव प¥यो ? खालिङ समुदायभित्रको एकता कसरी खल्बलियो र सामाजिक विभेदका कस्ता रङहरु देखा परे ? शान्त तलाउ जस्तो आफ्नै लयमा बाँचिरहेको राप्छामा सिंहवीरको प्रवेशसँगै कसरी उथलपुथल सुरु भयो रु भन्ने विषय नाटकमा देख्न सकिन्छ ।       राई समुदायमा पनि फलामको काम गर्ने, कपडा सिउने व्यक्ति हुन्थे । तर, उनीहरुमा कुनै विभेद वा छुवाछुत हुन्न थियो । कतिपयका लागि यस्ता नयाँ जानकारी मेषी दण्डले दिएको छ ।  नाटकमा कलाकारद्वारा प्रस्तुत खालिङ भाषा र लवज, वेषभूषा, शैलीले नाटकलाई जीवन्त बनाएको छ । मुन्दुमी परम्परा, उधौली उभौलीमा नाचिने नृत्य, सङ्गीत र रैथाने जीवनशैलीले जोकोहीलाई स्थानीय परिवेशमा पु¥याउँछ ।  नाटकमा प्रस्तुत कतिपय नृत्य र कथाको संयोजन सामान्य दर्शकले सजिलै बुझ्न सक्दैनन् । साकेला सिलीमा राई मात्र नभएर अन्य खस जातिजस्ता देखिने अनुहार भएकाले दर्शकलाई थोरै अस्वाभाविक लाग्नसक्छ । सिंहवीर कार्कीका नाति र शिरिषलालका नातिनीबीचको प्रेम सम्बन्ध अचानक देखाइँदा कथाको सिलसिला थोरै नमिले जस्तो अनुभव दर्शकले गर्न सक्छन् ।      पात्रका रुपमा सुजम्बरको श्रीमतीको अभिनय गर्नुभएकी जुनमफूल (प्रतिना राई)ले दर्शकको ध्यान खिच्न सफल हुनुभएको छ । प्रयुक्त रङ, प्रकाश, स्थान, तत्कालिक समुदायको भावभङ्गिमाले नाटकको मूल कथालाई न्याय गरेको छ । लेखक गिलु रातोसको पहिलो नाटक लेखन भए पनि नाटककारका रुपमा रातोस् परिपक्व देखिनुभएको छ । नाटकको वास्तविक स्वाद लिन एकपटक मण्डला पुग्नैपर्ने हुन्छ ।       त्यसो त इतिहासमा संसारभर आदिवासी समुदायमाथि अनेकन् दमन भएका छन् । दमनका विविध रुप छन् । आदिवासीमाथि शासकहरुले भाषा, संस्कृति, धर्म, जात, वर्णमाथि प्रहार गर्दा आदिवासीको अस्तित्व क्षत्विक्षत हुँदै आएको छ ।  नेपालमा विसं १९१० को मुलुकी ऐनमा तामाङ जातिलाई मासिन्याको रुपमा उल्लेख गर्नु नेपालका लागि एउटा जबर्जस्त उदाहरण छँदैछ । सोही ऐनले गाईगोरु बधलाई निषेध गर्नु आदिवासीका प्राचीन धर्ममाथिको प्रहार थियो ।      भाषामाथिको दमनविरुद्ध काठमाडौँ उपत्यकाका नेवार समुदायहरुले लामो समयदेखि विद्रोह गर्दै आएको इतिहास छ । शाहवंशको आगमनपछि काठमाडौँ उपत्यकामा गोर्खाली भाषा अदालतको भाषा बन्यो । नेपाल भाषा ९नेवारी०लाई प्रशासनको भाषाका रूपमा प्रतिस्थापित गरियो । शाह वंशीय राजाले दमनकारी नीति अवलम्बन गरे ।       नेपाल भाषीले राणा वंश (१८४६–१९५१ इस्वी) को दमनकारी नीतिअन्तर्गत भारी पीडा भोगे । सन् १९०६ मा नेपाल भाषामा लेखिएका कानूनी कागजातहरू लागू गर्न नसकिने घोषित गरियो । यो भाषामा कुनै पनि प्रमाण अवैध घोषित गरियो । शासकहरूले नेवारी साहित्य प्रतिबन्ध लगाए र लेखकहरूलाई जेल पठाइयो । सन् १९४४ मा नेपाल भाषामा लेख्ने लेखकहरुलाई देशबाट निष्कासित गरियो ।      मातृभाषामाथिको दमनको एउटा उदाहरण हो यो । विसं २००७ सालमा प्रजातन्त्र स्थापनापछि रेडियो नेपालमा नेपाल भाषाको समाचार र कार्यक्रम प्रसारण हुन्थ्यो । पञ्चायतसँगै रेडियो नेपालबाट उक्त भाषाको समाचार र कार्यक्रम दुवै हटाइयो ।       उपत्यकाका नेपाल भाषीहरुले विभिन्न चरणमा आन्दोलन गरे । सोही आक्रोशले विसं २०४६ सालको जनआन्दोलन सफलता प्राप्तिमा नेवार समुदायको भूमिका अह्म रह्यो । यसरी भाषाकै कारण भएका दमनहरुको शृङ्खलामा खालिङहरुमाथि भएको दमनलाई मेषी दण्डले नाटकका माध्यमबाट अभिलेखित गरेको छ ।       पछिल्ला वर्षमा आदिवासी तथा पिछडिएका समुदायको पहिचानसँग जोडिएका विविध आन्दोलन राजनीतिकभन्दा बढी कलाका माध्यमबाट तुलनात्मक रुपमा सशक्त देखिएका छन् । मण्डलामै मञ्चन भएका पछिल्ला नाटकहरु बाखाम्मा, खुवालुङ त्यसका उदाहरण हुन् । मेषी दण्ड त्यही आन्दोलनको एउटा निरन्तरता हो ।       यस नाटकमा रमिता राई, सौजन लिम्बू, प्रतिना राई, मणि के राई, अरुण पौडेल, पूर्णबहादुर गन्दर्भ, जय ढकाल, प्रशंसा गुरुङ, सलिना भुजेल, शायोक मुकारुङ, संजिप योगी, अमर बुढाथोकी, रमिता राई, सञ्जय विश्वकर्मा, लहना राई, जंजीत थुलुङ राई, अजय लामा, प्रविण मगरलगायतले अभिनय गरेका छन् ।       नाटकको अन्त्यमा कवि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईको आफ्नै स्वरमा वाचित कविताले नाटक‍लाई थप सशक्त बनाएको छ । राईको कविताको एउटा अंशले भन्छ.. ओ आगन्तुक युगौँदेखि बोकिरहेछु मैले आफ्नो शरीरमाथि तिम्रो जुत्ताको डाम भोगिरहेछु तिम्रो दण्ड विधान लामो निन्द्रापछि बल्ल म ब्युँतिएको छु सम्झ अब म ब्युँतिएपछि सुरु हुनेछ अर्को कथा...

चितवन:     चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरासँगै बगेर त्रिशूली नदीमा खसेका दुईवटा बस तथा यात्रुको आज ११औँ दिन पनि खोजी कार्य तीव्र पारिएको छ । गृहको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले छिमेकी राष्ट्र भारतको ‘राष्ट्रिय आपदा मोचन बल–नेशनल डिजास्टर रेष्पोन्स फोर्स’ बाट १२ जनाको प्राविधिक टोली नेपाल आएर संयुक्त रूपमा उद्धार जारी राखेको जानकारी दिएको छ ।  प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले शनिबार चितवनका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला सुरक्षा समिति र भारतीय प्राविधिक टोलीबीच संयुक्त बैठक बसी आइतबार बिहानदेखि खोजी कार्य सुरु भएको जानकारी दिनुभयो । आइतबार बिहान ८ः४५ बजेदेखि सोनार क्यामरासहित खोजी कार्य थालेको संयुक्त टोलीले सिमलतालदेखि घुमाउनेसम्म करिब ३ दशमलव ५ किलोमिटर र देवघाटदेखि काभ्रेघाटसम्म करिब १० किलोमिटर क्षेत्रमा खोजी कार्य गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार टोलीले आज साँझसम्म घुमाउनेदेखि देवघाटसम्म करिब १६ किलोमिटर क्षेत्रमा खोजेको थियो । प्राधिकरणले आज एक विज्ञप्ति जारी गरी विपद्को यस्तो विषम अवस्थामा दक्ष प्राविधिकको टोली पठाइ खोजी कार्यमा सहयोग उपलब्ध गराएकोमा भारत सरकार र खोजी कार्यमा संलग्न उद्धारकर्ताप्रति धन्यवाद दिएको छ ।  उक्त दुःखद् घटनामा परी हराइरहेका यात्रुमध्ये हालसम्म २५ वटा शव प्राप्त भएको छ । भेटिएका शवमध्ये दुई वटा भारतीय भूमिमा भेटिएका हुन् । हालसम्म १८ वटा शव सनाखत भइ परिवारको जिम्मा लगाइएको छ ।  सनाखत भएका शवमा १६ वटा पुरुषको छ भने दुई वटा महिलाको छ । त्यस्तै, सनाखत भएका शवमध्ये १३ नेपाली नागरिकका छन् भने पाँच वटा भारतीय नागरिकका रहेको प्राधिकरणले जनाएको छ । 

काठमाडौं:     प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय भ्रमणका अवसरमा नेपाल र भारतका प्रधानमन्त्रीबीच भएका भेटवार्तामा समेत सीमासम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रहरूमार्फत् समाधान गर्ने गरी अगाडि बढ्ने समझदारी भएको बताउनुभएको छ ।      प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग सांसदको प्रत्यक्ष प्रश्नोत्तरको जवाफ दिँदै प्रधानमन्त्री ओलीले नेपालको अन्तर्राष्ट्रिय सीमाका सम्बन्धमा सङ्घीय संसद्, नेपाल सरकार तथा सबै नेपाली स्पष्ट र दृढ रहिआएको उल्लेख गर्नभयो ।  उहाँले भन्नुभयो, “नेपालको संविधानको २०७७ साल असार ४ गते भएको दोस्रो संशोधनमार्फत् नयाँ नक्सा समेटी संविधानको अनुसूची–३ मा राखिएको तथा सीमासम्बन्धी विषयमा हामीबीच अभूतपूर्व राष्ट्रिय सहमति रहेको छ । सुगौली सन्धि, १८१६ बमोजिम लिम्पियाधुरा, कालापानी  लिपुलेकलगायत काली (महाकाली) नदी पूर्वका सबै भूभाग नेपालका हुन भन्ने कुरामा नेपाल सरकार दृढ र स्पष्ट रहेको छ ।”      प्रधानमन्त्री ओलीले २०८० पुस १९ गते सम्पन्न परराष्ट्र मन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा समेत सिमानाको विषयमा छलफल भएको र नेपाल–भारत सीमाको बाँकी खण्डका काम छिटोभन्दा छिटो सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त भएको बताउनुभयो ।  उहाँले नेपाल–भारत सीमा कार्य समूहबाट नेपाल–भारत सिमानामा सीमा स्तम्भहरूको निर्माण, पुनःस्थापना र मर्मतका साथै दशगजा एवं ‘क्रस होल्डिङ’को लगत तयार गर्ने जस्ता प्राविधिक कार्य निरन्तर रूपमा हुँदै आएका जानकारी गराउनुभयो । द्विपक्षीय अनुकूलतामा यसका बैठक सुचारू गर्ने सम्बन्धमा पहल भइरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।      सुगौली सन्धि, विभिन्न नक्सा, ऐतिहासिक तथ्य तथा प्रमाण समेतका आधारमा सीमा समस्यालाई भारत सरकारसँग वार्ता र कूटनीतिमार्फत समाधान गर्ने नेपाल सरकारको निरन्तर अडान र प्रतिबद्धता रहिआएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सोही अनुरूप हाम्रो सक्रिय पहल रहने कुरा म स्पष्ट पार्न चाहन्छु ।”      दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बल, नेपालको गुल्म स्थापना गरिएको र दार्चुलामा भारततर्फ पाँचवटा र चीनतर्फ एउटा ‘बिओपी’ समेत थप गरिएको प्रधानमन्त्री ओलीले बताउनुभयो । सुशासन सेवाप्रवाह र विकास निर्माणको बाधकको रूपमा रहेको भ्रष्टाचार निवारण वर्तमान सरकारको प्रमुख प्राथमिकताको विषय भएको उहाँले बताउनुभयो ।  “भष्ट्राचार निवारणका लागि सरकारले सम्भाव्य सबै उपायको अवलम्बन गर्नेछ,” प्रधानमन्त्री ओली भन्नुभयो, “सुन काण्ड, सहकारी ठगी, नक्कली भुटानी शरणार्थीलगायतका विषयमा सांसदहरुले उठाउनुभएका विषयमा म के प्रष्ट गर्न चाहन्छु, भने आम जनताको चाहनाबमोजिम राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न सरकार प्रतिवद्ध छ ।”      जोसुकै दोषीलाई पनि कानुनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले यससम्बन्धी कतिपय विषय न्यायिक निकायमा विचाराधीनसमेत रहेकाले सोही बमोजिम न्याय निरूपण हुने बताउनुभयो ।

गण्डकी:     अस्तित्व सङ्कटबाट गुज्रिरहेको मनाङको गङ्गापूर्ण हिमताल जोगाउने योजना बजेट अभावमा अलपत्र परेको छ । एकातिर हिमनदीको कटान, अर्कातिर माटोको लेदो र गेग्र्यान थुप्रिँदा बर्सेनि तालको सौन्दर्य खस्किरहेको छ ।  बेलैमा संरक्षण योजना अगाडि नबढे ताल नै नामेट हुने अवस्था रहेको मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताउनुभयो । उहाँका अनुसार तीन वर्षअघि सुरु भएको ताल संरक्षण योजनाले गति नलिँदा तालको अस्तित्व झन्झन् सङ्कटमा परेको हो ।       संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मनाङ ङिस्याङ गाउँपालिकाको साझेदारीमा ताल संरक्षणको काम अगाडि बढेको थियो । मन्त्रालयको ७० र गाउँपालिकाको ३० प्रतिशत लागत रहनेगरी सुरु गरिएको उक्त योजना बजेट अभावका कारण अलपत्र परेको गाउँपालिका अध्यक्ष घलेले बताउनुभयो । “पहिले वर्ष अलिअलि काम भयो, त्यसपछि माथिबाट बजेट पनि आएन, निर्माण कम्पनी पनि काममा फर्केन”, उहाँले भन्नुभयो ।       विसं २०७८ को अधिक वर्षा र बाढीले पुरिएको ताल संरक्षणमा स्थानीयले समेत पहल लिएका थिए । जनश्रमदान जुटाएर तालको ड्याम लगाउनेलगायत काम भएको अध्यक्ष घलेले बताउनुभयो ।  विसं २०७८ असोजमा ताल संरक्षणका लागि आवश्यक संरचना बनाउने जिम्मा निर्माण कम्पनी जलजला÷शिवशक्ति÷अधिकारी जेभीले पाएको थियो । रु चार करोड आठ लाखको ठेक्का खुलेकामा उक्त कम्पनीले भ्याटसहित रु दुई करोड ९५ लाखमा ठेक्का लिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवीन क्षेत्रीले जानकारी दिनुभयो ।       पर्यटन मन्त्रालयबाट पहिलो वर्ष रु २५ लाख बजेट आए पनि त्यसपछि बजेट निकासा हुन नसकेको उहाँले बताउनुभयो । “सुरु बजेटले ग्याबिन जाली लगाउने, ताल सफाइलगायतका काम भए, त्यसपछि बजेट आएन, निर्माण कम्पनीले पनि काम गर्न सकेन”, निमित्त प्रमुख प्रशासकीय अधिकृत क्षेत्रीले भन्नुभयो, “लागत साझेदारीका लागि गाउँपालिका तयार रहे पनि सङ्घीय मन्त्रालयले बजेट दिन नसकेपछि ताल संरक्षणको कामले गति लिन नसकेको हो ।”      उहाँका अनुसार हालसम्म योजनाको झन्डै २० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । उक्त योजनाअन्तर्गत तालको ड्याम उठाउने, हिमनदीको कटान रोक्न ग्याबिन पर्खाल, ताल परिसरमा पदमार्गलगायत पर्यटकीय पूर्वाधार निर्माण गरी तालको दिगो संरक्षणको लक्ष्य लिइएको उहाँको भनाइ छ ।       मन्त्रालयलबाट बजेट नआएमा गाउँपालिकाको बजेटले भ्याउनेसम्मका संरचना बनाउने विषयमा छलफल भइरहेको अध्यक्ष घलेले बताउनुभयो । “मन्त्रालयले गङ्गापूर्ण हिमतालको अहिलेको अवस्था र संरचना निर्माणको कार्य प्रगतिबारे विवरण मागेको छ, हामीले सबै विवरण पठाएको छौँ, मन्त्रालयसँगको साझेदारीमा उक्त योजनालाई निरन्तरता दिने÷नदिनेबारे केही दिनमा थाहा हुन्छ”, उहाँले भन्नुभयो ।      अध्यक्ष घलेले पर्यटकीय आकर्षणको गङ्गापूर्ण ताल सङ्कटमा पर्दा स्थानीय चिन्तित रहेको बताउनुभयो । उहाँले मस्र्याङ्दीलगायत त्यस क्षेत्र भएर बग्ने नदीको स्रोतसमेत रहेको उक्त हिमताल जोगाउन सङ्घ र प्रदेश सरकारले गम्भीरता देखाउनुपर्ने बताउनुभयो ।  गण्डकी प्रदेश सरकारको ताल संरक्षण तथा विकास प्राधिकरणका प्रमुख शम्भुकुमार मिश्रले गङ्गापूर्ण हिमतालको संरक्षणमा अहिलेसम्म प्राधिकरणकातर्फबाट कुनै काम नभएको जानकारी दिनुभयो ।       पर्यटक पथप्रदर्शक दिवस गुरुङले गङ्गापूर्ण हिमताल विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको आकर्षक गन्तव्यस्थलका रुपमा रहेको उल्लेख गर्नुभयो । “पछिल्लो समय उक्त हिमतातालको स्वरुप नै खल्बलिएको छ, बर्सेनि ताल पुरिने क्रम बढ्दो छ”, उहाँले भन्नुभयो, “जलाधार संरक्षण र पर्यावरणीय सन्तुलनका लागिसमेत गङ्गापूर्ण हिमताल जोगाउनुपर्छ ।” हिमनदी र हिमतालहरु पृथ्वीको पानीको समेत स्रोत भएकाले तिनको संरक्षण गर्नुपर्ने उहाँको भनाइ छ ।       केही वर्षअघि गङ्गापूर्ण हिमतालमा अभिनेता अमिताभ बच्चन, अनुपम खेरलगायतद्वारा अभिनित बलिउड चलचित्र ‘उचाइ’को छायाँकन गरिएको थियो । मनाङ ङिस्याङ–६ मा पर्ने उक्त हिमताल समुद्री सतहदेखि तीन हजार पाँच सय ४० मिटर उचाइमा अवस्थित छ ।  गङ्गापूर्ण हिमालबाट बगेर आउने हिमनदीबाट उक्त ताल बनेको हो । जाडो याममा हिमताल जम्ने गरे पनि बर्सातका बेला भने हिमालको फेदबाटै हिउँ पग्लेर पानी तालसम्म आइपुग्ने गर्छ । मनाङ गाउँदेखि पैदल १५ मिनेटमा पुग्न सकिने उक्त हिमतालमा अहिले सडक पनि पुगेको छ ।       अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द (इसिमोड) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ९युएनडीपी०ले संयुक्त रुपमा गरेको अध्ययनअनुसार नेपालमा दुई हजार ८६ हिमताल रहेको पाइएको छ ।  तीमध्ये २१ हिमताल जोखिममा रहेको देखाएको जलवायु विज्ञ डा विमल रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार च्छो रोल्पा, इम्जा, मनास्लु हिमशृङ्खलाको ठुलागी, वरुण, चामलाङलगायतका हिमताल उच्च जोखिममा छन् । विश्वव्यापी तापमानमा भइरहेको वृद्धिबाट हिमालय क्षेत्र प्रत्यक्ष प्रभावित छ ।       माटो, बालुवा र गेग्र्यानसहितको संवेदनशील भूगोलमा हिमतालहरु रहेकाले जुनसुकै बेला हिमताल फुट्ने र बाढीपहिराको रुप लिन सक्ने डा रेग्मीले बताउनुभयो । हिमताल रहेका क्षेत्रमा पूर्वसूचना प्रणाली जडान गर्नुपर्ने उहाँको भनाइ छ । “मानिस पुग्न नसक्ने ठाउँमा स्याटेलाइट, राडार जस्ता प्रविधिमार्फत हिमतालको नियमित अनुगमन र अध्ययन गर्नुपर्छ”, डा रेग्मीले भन्नुभयो, “फुट्ने जोखिममा रहेका हिमतालको पानीको सतह घटाउनुपर्छ ।”