काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको छ । प्रधानमन्त्री ओलीद्वारा नेपालको संविधान २०७२ को धारा ७६ को उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम राख्नुभएको प्रस्तावलाई बहुमतले पारित गरेको हो । बैठकमा भएको मतदानको परिणाम घोषणा गर्दै सभामुख देवराज घिमिरेले सभामा तत्काल कायम रहेको सङ्ख्याको बहुमतले सो प्रस्ताव स्वीकृत भएको जानकारी गराउनुभयो । मतदानमा कुल दुई सय ६३ सदस्यले भाग लिएकामा प्रधानमन्त्रीले राख्नुभएको विश्वासको मतको प्रस्तावका पक्षमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले)लगायतका राजनीतिक दल सम्वद्ध सांसदको गरी कूल एक सय ८८ मत परेको थियो । विपक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीलगायतका दलका गरी ७४ मत परेको छ । प्रधानमन्त्रीले प्राप्त गर्नुभएको उक्त मत संसदमा रहेका कूल सदस्यको दुई तिहाइ हो । मतदानमा एक सदस्य तटस्थ रहनुभएको थियो । गत असार २८ गते एमालेका अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुनु भएको थियो । गत असार १७ गते कांग्रेस र एमालेबीच सात बुँदे सहमति भएको थियो ।
काठमाडौं: नेकपा (एमाले)का सांसद गोकर्णराज विष्टले मुलुकले भोगेको समस्या समाधान गर्दै जनतामा आशा जगाउने उद्देश्यका साथ वर्तमान सरकार गठन भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा विश्वासको मत माग्दै उहाँले आर्थिक विकास, समृद्धि र जनताको बृहत्तर हितका लागि साझा दृष्टिकोणका साथ अगाडि बढ्न सबै राजनीतिक दललाई आग्रह गर्नुभयो । खुसुक्क लुकेर संविधानको संशोधन नगरिने जानकारी दिँदै उहाँले समयको माग जनताको चाहना अनुसार गरिने बताउनुभयो । सांसद विष्टले जनताले प्राप्त गरेको अधिकार कोही कसैले खोस्न नसक्ने स्पष्ट पार्नुभयो । एमाले जनताका पक्षमा विगतदेखि संघर्ष गर्दै आएको पार्टी भएकाले समावेशी, समानुपातिक प्रतिनिधित्वको विपक्षमा कहिल्यै जान नसक्ने दृढता व्यक्त गर्नुभयो । जनताको समर्थनमा आफूहरुले विश्वास गर्ने र जनतालाई साथमा लिएर अगाडि बढ्ने भएकाले नेपाली कांग्रेस र एमाले एकआपसमा मिल्दा लोकतन्त्र धरापमा पर्छ कि भनेर आशङ्का नगर्न उहाँले प्रतिपक्षी दललाई आग्रह गर्नुभयो । वर्तमान गठबन्धन मुलुकमा व्याप्त निराशालाई चिरेर आशामा परिणत गर्ने, संविधानलाई समृद्ध पार्ने, जनताको चाहनालाई सम्बोधन गर्ने लक्ष्य राखिएको उहाँको कथन छ । सांसद विष्टले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा मुलुक सबल बन्ने विश्वास व्यक्त गर्नुभयो । अघिल्ला दुई वटा कार्यकाल भन्दा यस पटक प्रधानमन्त्रीको कार्यकाल थप सफल हुने र नेपाली जनताको पक्षमा काम गर्ने उहाँको भनाइ छ । सांसद विष्टले वर्तमान गठबन्धनले जनतामा पैदा भएको निराशालाई चिरेर आशा जगाउने र मुलुकलाई थप समृद्ध बनाउने दृढता व्यक्त गर्नुभयो ।
काठमाडौं: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थिर र मजबुत सरकारका पक्षमा कांग्रेस र नेकपा ९एमाले० रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्नका लागि प्रस्तुत गर्नुभएको प्रस्तावमाथि समर्थन जनाउँदै सभापति देउवाले नेपाली जनताको अपेक्षाअनुसार स्थिर सरकार, तीव्र आर्थिक विकास, रोजगारी सिर्जना तथा भौतिक संरचनाको शीघ्र निर्माण गर्न वर्तमान सरकार गठन भएको उल्लेख गर्नुभयो । सभापति देउवाले संविधान संशोधन लोकतन्त्रको स्वभाविक अभ्यास रहेको उल्लेख गर्दै संविधान संशोधन गर्दा सबै दलको सहमति खोजिने स्पष्ट पार्नुभयो । “संविधान कार्यान्वयनको आठ वर्ष पूरा भएको छ । यसको सबल र दुर्बल पक्ष एवम् जटिलताको समीक्षा गरी संविधानमा आवश्यक परिमार्जन गर्नु लोकतन्त्रको स्वभाविक अभ्यास हो”, सभापति देउवाले भन्नुभयो– “संविधान संशोधन गर्दा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ गरिनेछ । नेपालमा क्रियाशील सबै राजनीतिक दलबीच संवाद र सहमतिबाट संविधान संशोधन गर्न उचित हुन्छ भन्नेमा हामी स्पष्ट छौँ ।” सभापति देउवाले संसदका दुई ठूला दल कांग्रेस र एमाले मिलेर बनेको सरकारले राजनीतिक स्थिरता, तिव्र आर्थिक विकास र समृद्धिका लागि काम गर्ने अपेक्षा गर्नुभयो । “देश विकासका लागि सबैभन्दा पहिलो आवश्यकता स्थिर र मजबुद सरकार निर्माण गर्नु हो । आजको संसद्को संरचनालाई देष्टिगत गरी स्थिर सरकारका लागि संसद्को पहिलो र दोस्रो दल मिलेर सरकार निर्माण भएको छ”, उहाँले भन्नुभयो । नयाँ सरकारले मुलुकमा देखिएको आर्थिक शिथिलतालाई चिर्दै समग्र अर्थतन्त्रलाई चलायमान बनाउने र दिगो शान्ति कायम गरी गतिशील अर्थतन्त्रको माध्यमबाट देशभित्रै रोगजारीका अवसर सिर्जना गर्ने विषयलाई प्राथमिकतामा राख्ने सभापति देउवाले विश्वास व्यक्त गर्नुभयो । यसबाट राजस्व सङ्कलनमा थप वृद्धि भई विकास निर्माणका जनआकांक्षा पूरा गर्न सकिने उहाँको भनाइ थियो । भष्ट्राचार नियन्त्रण गर्दै मुलुकलाई सुशासनतर्फ लैजान आवश्यक रहेको उल्लेख गर्दै सभापति देउवाले विधिको शासन र संविधानको पूर्ण कार्यान्वयनका लागि कानुनको निर्माण, लगानीको वातावरण बनाएर अहिले देखिएको आर्थिक शिथिलता चिरेर आन्तरिक उत्पादन बढाउने तथा रोजगारीका अवसर सिर्जना गरिने बताउनुभयो । “प्रधानमन्त्री ओली अत्यन्त मेहनती, अध्ययनशील र अनुभवी हुनुहुन्छ । उहाँको मन्त्रिमण्डलमा रहेका साथीहरु पनि योग्य र सक्षम हुनुहुन्छ,” सभापति देउवाले भन्नुभयो, “ओलीको नेतृत्वमा मुलुकले उन्नतिको नयाँ बाटो समात्ने छ भन्ने मैले विश्वास लिएको छु । राजनीतिलाई स्थिरताको बाटोतर्फ उन्मुख गराउन गठन भएको वर्तमान सरकार सफल हुने विश्वास लिएको छु ।” गत असार १७ गते कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिको कार्यान्वयनप्रति कांग्रेस दृढ रहेको र दृढ रहिरहने अवगत गराउँदै सभापति देउवाले एमाले पनि यस कुरामा दृढ रहने विश्वास व्यक्त गर्नुभयो । कांग्रेसले प्रधानमन्त्री ओलीले माग्नुभएको विश्वासको मतको पक्षमा मतदान गर्ने उल्लेख गर्दै उहाँले अन्य दललाई पनि प्र्रधानमन्त्री ओलीले राख्नुभएको विश्वासको मतको पक्षमा मतदान गर्न अपिल गर्नुभयो ।
गण्डकी: साँझ छिप्पिँदै थियो । मधुरो उज्यालोमुनि कलाकार भुइँमा पलेँटी कसे । बागलुङ बजारको एक प्रतिक्षालयमा सङ्गीतप्रेमी व्यग्र थिए, गीसङ्गीत सुन्न र त्यसको तालमा रमाउन । विस्तारै गुञ्जियो ‘तिमी रामराम भजी बाँच’ । यही भजनबाट शनिबार गायक अरुण थापा मगरको २५औँ स्मृति दिवस ‘अरुण स्मृति साँझ’ आरम्भ भयो । दिवसका अवसरमा नेपाल मगर युवा सङ्घ, नेपाल मगर विद्यार्थी सङ्घ, नेपाल मगर सांस्कृतिक सङ्घ र नेपाल मगर विद्यार्थी सङ्घ धवलागिरि बहुमुखी क्याम्पस एकाइ समिति बागलुङले संयुक्त रुपमा ‘अरुण स्मृति साँझ’ आयोजना गरेका हुन् । भजन गायक रमेश राजभण्डारीले अरुणले गाएको भजनसँगै उहाँसँगका स्मृतिलाई कोट्याउनुभयो । अरुणले आफ्नो जीवनकालमा यही एउटा मात्र भजन गाउनुभएको उहाँले सुनाउनुभयो । उहाँहरुबीच विसं २०३० तिर पोखरामा भेट भएको थियो । त्यो बेला अरुणले पोखराको डाँफे कला मन्दिरमा गीत गाउनुहुन्थ्यो । “गायनसँगै गितारवादनमा पनि उहाँ सिद्धहस्त हुनुहुन्थ्यो”, राजभण्डारीले भन्नुभयो, “भारतीय गायक किशोरकुमारबाट बढी प्रभावित हुनुहुन्थ्यो अरुण थापामगर ।” राजभण्डारीले नेपाली सङ्गीत जगत्का अमर प्रतिभाका रुपमा उहाँलाई स्मरण गर्नुभयो । अरुणका गीत युवा पुस्तामाँझ बढी लोकप्रिय रहेका राजभण्डारीले बताउनुभयो । अरुणका अधिकांश गीतमा मानवीय संवेदना, प्रेम र वियोगको अभिव्यक्ति पाइन्छ । कार्यक्रममा राजभण्डारीपछि पालैपालो अरु कलाकारले अरुण थापा मगरका गीत सुनाए । आफ्ना मनप्रिय गायकका गीत सुन्दा दर्शक मुग्ध देखिन्थे । उनीहरु साँझ अबेरसम्म सङ्गीतमा झुमिरहे । प्रेक्षालयमा घरी गहिरो मौनता छाउँथ्यो, घरी वाहीवाही चल्थ्यो । प्रेम र वैवाहिक सम्बन्धको दुःखान्त अन्त्यपछि अरुणले गाएका ‘जति माया लाए पनि...’, ‘चोट के हो व्यथा के हो...’ जस्ता लोकप्रिय गीतमा कलाकारलाई दर्शकले खुलेर साथ दिए । आफ्ना आदर्श गायकको सम्झनामा गायक शुभराम भारी, ताराप्रसाद श्रेष्ठ, किशोर थापालगायत पलेँटीमा प्रस्तुत भए । अरुण थापाको चर्चित गीत ‘ऋतुहरुमा तिमी...’ गायक श्रेष्ठले सुनाउनुभयो । किशोर थापाले ‘भुलुँभुलुँ लाग्यो मलाई...’, ‘चोट के हो व्यथा के हो...’लगायत गीत गाउनुभयो । कलाकार प्रेम बुढामगरले थापाको लोकप्रिय गीत ‘जति माया लाए पनि...’ र सागर सुनारले ‘आँखाको निद...’ सुनाउनुभयो । शुभराम भारीले अरुण थापालाई समर्पित गर्दै नारायणगोपालद्वारा स्वरबद्ध ‘आजै र राति के देखेँ सपनी...’ र ‘अल्झेछ क्यारे पछ्यौरी...’ प्रस्तुत गर्नुभयो । वाद्यवादनमा कलाकार सूर्य घतानेलगायतले साथ दिनुभयो । अरुण थापाका दर्जन बढी चर्चित गीत कार्यक्रममा प्रस्तुत भए । अरुणले आफ्नो जीवनकालमा झण्डै ५० गीत गाउनुभएको छ । गायक अरुण थापामगरको सम्मानमा स्मृति साँझको आयोजना गरिएको नेपाल मगर विद्यार्थी सङ्घ बागलुङका कार्यवहाक अध्यक्ष डम्मर बुढामगरले बताउनुभयो । कार्यक्रममा नेपाल मगर सङ्घका जिल्ला सदस्य सङ्गम घर्तीमगरले अरुणको व्यक्तित्वबारे चर्चा गर्नुभएको थियो । उहाँले अरुण थापा जनमानसमा लोकप्रिय गायकका रुपमा स्थापित भए पनि तत्कालीन समयमा राज्यको उपेक्षामा परेको उल्लेख गर्नुभयो । “सुरुको कालखण्ड सुखद् रहे पनि अरुण थापाको जीवन वियोगान्त ढङ्गले टुङ्गिन पुग्यो”, उहाँले भन्नुभयो, “उहाँ जत्तिको गायकलाई राज्यकै तवरबाट सम्मान दिइनुपथ्र्यो तर आज मगर समुदायले मात्र सम्झनुपर्ने बिडम्वनापूर्ण अवस्था छ ।” अरुणले विसं २०३४ मा गाएको ‘ऋतुहरुमा तिमी हरियाली वसन्त हौँ’ बिबिसीले गरेको सर्वेक्षणमा विश्वका उत्कृष्ट १० गीतमध्ये सातौँ स्थानमा पर्न सफल थियो । नेपाली सुगम सङ्गीतलाई विश्वजगत्मा चिनारी गराउने श्रेय पनि गायक अरुणलाई दिइन्छ । जन्म विसं २००९ माघ ११ गते भारतको कलकत्तामा जन्मनुभएका अरुणको विसं २०५६ साउन ५ गते काठमाडौँको एक होटलमा देहान्त भएको थियो । जीवनको आखिरीतिर गम्भीर रुपमा अस्वस्थ भई उहाँले मुत्युवरण गर्नुपरेको थियो । ४७ वर्षको छोटो आयु बाँचे पनि गायक अरुण थापामगरले नेपाली सुगम सङ्गीतलाई कालजयी गीतहरु छोडेर जानुभएको छ । अरुणले विसं २०३२ मा रेडियो नेपालमा स्वरपरीक्षा उत्तीर्ण गरेपछि आश्विन गुरुङको रचना र ओमविक्रम विष्टको सङ्गीतमा ‘कतै टाढा तिमीबाट पुगेँ भने सम्झेर नरुने ठूलो छ संसार’ बोलको गीत ‘रेकर्ड’ गराउनुभएको थियो । यही गीतबाट अरुणको साङ्गीतिक यात्रा सुरु भएको थियो । उहाँको पहिलो गीतले सोचेजति सफलता पाउन सकेन । विसं २०३४ को अन्त्यतिर गाएको ‘ऋतुहरुमा तिमी’ र २०३६ मा सार्वजनिक ‘जति माया लाए पनि’ बोलको गीतले अरुण थापालाई एकाएक चर्चामा ल्याएको थियो । नेपाल मगर विद्यार्थी सङ्घलगायतका सङ्घसंस्थाले बर्सेनि अरुण स्मृतिका दिवसका अवसरमा ‘अरुण स्मृति साँझ’को आयोजना गर्दै आएका छन् ।
मकवानपुरः बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन् । प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री जम्कट्टेलले सम्बोधन गर्दै आफ्नो नेतृत्वमा रहेको मौजुदा अल्पमतको सरकारले अविश्वासको प्रस्तावलाई निकास दिने उद्देश्यले आजै बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष राजीनामा दिने घोषणा गरेका हुन् । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सो बैठक सञ्चालन भएलगत्तै मुख्यमन्त्री जम्कट्टेललाई अविश्वासको प्रस्तावको पक्षमा बोल्ने समय दिएका थिए । प्रदेशसभाका सभामुख पाठकले अर्को सूचना जारी नभएसम्मका लागि आजको बैठक स्थगित गरेका छन् ।
पोखरा: गण्डकी प्रदेशको नीति तथा योजना आयोगको सदस्यमा नवलपुरका दीपक भण्डारी नियुक्त भएका छन् । गत बुधबार बसेको मन्त्रिपरिषदको बैठकबाट योजना आयोगको सदस्यमा नवलुरका भण्डारीलाई नियुक्तलाई गर्दै योगले पूर्णता पाएको हो । उनी राप्रपाको कोटाबाट नियुक्त भएका हुन् । नवलपुरको कावासोती नगरपालिका ७ का भण्डारी ग्रामीण विकासमा स्नातकोत्तर हुन् । उनीसँग मध्यविन्दु बहुमुखी क्याम्पसमा पढाएको अनुभव छ । योजना आयोगको सदस्यमा नियुक्त भएका भण्डारी चेम्वर अफ कमर्स नवलुरकाका अध्यक्ष समेत हुन् । नीति तथा योजना आयोग गण्डकी प्रदेशको सदस्यमा नियुक्त भएका भण्डारीलाई चेम्बर अफ कमर्शले बधाई ज्ञापन गरेको छ । यसअघि पाण्डे सरकारले आयोग सदस्यमा असार २१ गते नेपाल समाजवादी पार्टीको कोटाबाट माया तिम्सिनालाई नियुक्त गरेको छ । उपाध्यक्षमा जेठ १७ गते गोरखाका डा कृष्णचन्द्र देवकोटा नियुक्त भएका थिए ।
काठमाडौँ: बङ्गलादेशमा जारी रहेको विद्यार्थी आन्दोलनका कारण प्रभावित भएका नेपाली विद्यार्थी काठमाडौँ फर्किन थालेका छन् । यसैक्रममा आज ५७ जना नेपाली विद्यार्थी काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । ती विद्याथीहरु बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजलगायत स्थानबाट स्वदेश फर्किएका परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले जानकारी दिनुभयो । आज केहीबेर अघि यहाँ आइपुगेका ती विद्यार्थीलाई परराष्ट्र मन्त्रालयका अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो । परराष्ट्र मन्त्रालयले स्वदेश फर्कन चाहने विद्यार्थीको सहजीकरण गरिरहेको छ । मन्त्रालयले बङ्गलादेशको राजधानी ढाकास्थित नेपाली दूतावासका अधिकारीहरुलाई नेपाली विद्यार्थीको सुरक्षित वातावरण तथा नेपाल फर्कन चाहनेका लागि आवश्यक समन्वय गर्न निर्देशन दिएको छ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा परेका नेपाली विद्यार्थीको सहयोगका लागि मन्त्रालयमा ‘हेल्प डेस्क’ स्थापना गर्न लगाउनाका साथै ढाकास्थित नेपाली दूतावाससँग आवश्यक समन्वय गर्न निर्देशन दिनुभएको छ । परराष्ट्रमन्त्री डा राणा आफैँले ढाकास्थित नेपाली राजदूतावाससँग निरन्तर सम्पर्कमा रही त्यहाँ रहेका नेपाली विद्यार्थी एवं अन्य नेपाली नागरिक कुनै समस्यामा परेका भए उनीहरुलाई सहजताका लागि समन्वय गर्न निर्देशन दिनुभयो । साथै नेपाल आउन चाहनेहरुका लागि पनि आवश्यक वातावरण मिलाउन पनि उहाँले निर्देशन दिनुभयो । परराष्ट्र मन्त्रालयले शनिबार नै एक सूचना जारी गरी त्यहाँ रहेका विद्यार्थीको सहजताका लागि आवश्यक सम्पर्क व्यक्तिसहित हेल्प डेस्कको व्यवस्था गरिएको जनाएको थियो । मन्त्रालयले समस्यामा परेका विद्यार्थी तथा अभिभावक एवं आफन्तका लागि आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि इमेल वा फोन नम्बरमा सम्पर्क गर्न एवं अनलाइन फाराम भर्न अनुरोध गरेको छ । यस प्रयोजनका लागि नेपाली राजदूतावास ढाकामा द्वितीय सचिव योजना बम्जन र रिया क्षेत्री तथा सिंहदरबारस्थित मन्त्रालयमा शाखा अधिकृत महेश्वरमणि त्रिपाठीलाई सम्पर्क गर्न अनुरोध गरिएको छ । उता दूतावासले पनि विज्ञप्ति जारी गर्दै अत्यावश्यकबाहेक बाहिर ननिस्कन विद्यार्थीलाई सूचित गर्दै आवश्यक सहयोगका लागि दूतावासमा सम्पर्क गर्न भनिएको छ । सरकारी सेवा प्रवेशमा निर्धारित आरक्षणको विरोधमा भएको आन्दोलनका कारण शनिबारसम्म करिब आठ सय नेपाली विद्यार्थी नेपाल आइसकेका मन्त्रालयले हिजो जनाएको थियो ।
कास्की: पोखरा महानगरपालिका २५ को नयाँ प्रशासनिक भवनबाट सेवा सुरु भएको छ । पहिले सेवा दिदै आएको कार्यालयबाट सेवा दिन कठिनाई भएको हुदा नयाँ कार्यालयबाट सेवा प्रदान गरिएको हो । नयाँ भवनकाो उद्घाटन मेयर धनराज आचार्यले गरे । सो अवसरमा बोल्दै मेयर आचार्यले भूगोलको हिसाबले पोखरा ठुलो महानगरपालिका भएको बताउदै जनसंख्या पनि धेरै भएको बताए। सेवाग्राहीको सेवाका लागि भवन आवस्यक रहेको बताउदै अब नागरिकले नयाँ भवनबाट सहज सेवा पाउने विश्वास व्यक्त गरे । कार्यक्रममा पोखरा २ का वडाध्यक्ष दिवसमान प्रधानांग, साबिक हेमजा गाविसका अध्यक्ष रामचन्द्र त्रिपाठी र गौरीशंकर माविका अध्यक्ष भोजराज पौडेल लगायतले बोलेका थिए ।
काठमाडौं: नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा दुईवटा बस खस्दा बेपत्ता भएका यात्रुहरुको खोजी गर्न दुई सयभन्दा बढी सुरक्षाकर्मी खटिएका छन् । खोजीकार्यमा सुरक्षाकर्मीसँगै चितवन पुगेको भारतीय प्राविधिक टोलीले आज बिहानैदेखि घटनास्थल सिमलतालबाट खोजी थालेको हो । चितवनका प्रहरी उपरीक्षक भावेश रिमालले नेपाली सुरक्षाकर्मीसहित भारतीय प्राविधिक टोलीले खोजीकार्य अघि बढाएको जानकारी दिनुभयो । शनिबार आवश्यक उपकरणसहित चितवन पुगेको टोलीले जिल्लास्थित सुरक्षा समितिसँत छलफल गरेको थियो । भारतको ‘राष्ट्रिय आपदा मोचन बल (एनडीआरइफ)’ का १२ जनाको प्राविधिक टोली चितवन आइपुगेको हो । “टोलीले ३० मिटर गहिराइसम्मको वस्तु सङ्केत गर्नसक्ने सोनार क्यामेरालगायत प्रविधि प्रयोग गरिरहेको छ”, प्रहरी उपरीक्षक रिमालले भन्नुभयो, “जिल्ला सुरक्षा समितिको बैठकपछि शनिबार नै टोली कुरिनटार पुगेको थियो ।” गृहमन्त्री रमेश लेखक र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच केही दिनअघि भएको शिष्टाचार भेटमा सिमलताल पहिरोमा परी बेपत्ता भएका यात्रुको खोजी गर्न अत्याधुनिक प्रविधिसहित सहायता उपलब्ध गराउनेबारे छलफल भएको थियो । घटनापछि लगातार सुरक्षा निकाय खोजी कार्यमा जुटेको छ । हालसम्म बेपत्ता २५ जनाको शव भेटिएको छ । सात जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खोजीकार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र भारतीय प्राविधिक टोली परिचालन गरिएको छ ।