मनाङ: हिमाली जिल्ला मनाङको एक मात्र स्थलमार्ग डुम्रे–बेँसीसहर–चामे सञ्चालनमा आएको छ । अविरल वर्षापछि असार १८ मा आएको बाढीले हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–१ तिमाङ खोलाले काठेपुल बगाएपछि अवरुद्ध सडक पुनः सञ्चालनमा आएको हो । प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानले तिमाङ खोलामाथि २४ दिनपछि शुक्रबार नयाँ काठेपुल राखेपछि डुम्रे–बेँसीसहर–चामे सडक सञ्चालनमा आएको जानकारी दिनुभयो । उहाँका अनुसार काठेपुल निर्माण भएपछि सवारीसाधन सञ्चालनमा अएको हो । उहाँले भन्नुभयो, “तिमाङ खोलामा पानीको सतह कम हुनासाथ पर्खाल लगाएर काठेपुल निर्माण गरिएको छ । डुम्रे–बेँसीसहर–चामे सडक योजनाले यातायात सञ्चालनका लागि पूर्ण रुपमा सहयोग गरेको छ । मनाङको मेरुदण्डको सडक निर्माणका काम पनि यस योजनाले नै गरिरहेको छ । जसले गर्दा पनि योजनाले काम समयमा गरेको हुनसक्छ ।” प्रजिअ लामिछानेले तिमाङ झरनाको मोटरेबल पुलमा पनि कल्भर्ट राखेर यातायात सञ्चालन भएको बताउनुभयो । तिमाङ छहरा पनि गत असार १८ गते ग्रेग्यान तथा ढुङ्गा खसेर पुलमा क्षति पुर्याउँदा सञ्चालन आउन सकेको थिएन । यहाँ योजनाले नयाँ पुलका लागि पनि काम गर्ने जिम्मा पाइसकेको डुम्रे–बेँसीसहर–चामे योजनाका सबइन्जिनियर सुमन अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार सदरमुकाम जानुपर्ने काममा पनि सकस भएकाले चाँडो यहाँको यातायात तथा पैदलयात्रा गर्ने वातावरण बनाउने लक्ष्य पूरा भएको छ । पर्यटकीय क्षेत्र भएकाले जोखिम मोलेर पनि केही पर्यटक आवतजावत हुने भएकाले चाँडो पुल निर्माण गर्नुपर्ने र तल्लो मनाङ तथा माथिल्लो मनाङबीचको विच्छेद भएकामा सहज बनाउन २४ दिन लागेको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षमा मनाङमा एक सय १६ पुल बनाउने तयारी भइरहेको पनि उहाँले जनाकारी दिनुभयो ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज दिएको सुझावपत्रमा नेपाल सरकारले तत्काल चाल्नुपर्ने कदम र आगामी तीन वर्षभित्र गर्नुपर्ने कामको सूचीसहित विस्तृत विषय समावेश गरिएको छ । एमालेका महासचिव शङ्कर पोखरेल नेतृत्वको टोलीले आज एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीलाई सिंहदरबारमा भेटी आज सुझावपत्र बुझाएको हो । सुझावपत्रमा सुशासन, विकास निर्माणका काममा तीव्रता, रोजगारी सिर्जना, आर्थिक शिथिलताकोे अन्त्य, अर्थतन्त्र चलायमान बनाउँदै उच्च आर्थिक वृद्धि हासिल गर्ने विषय, सेवाप्रवाहमा सहजता र झण्झटिलो प्रशासनिक प्रक्रियालाई अन्त्य गर्ने विषय तथा सामाजिक न्याय र सुरक्षाका विषयहरू विषय रहेका छन् । यस्तै झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्राका क्रममा प्राप्त भएका सुझावदेखि जनतामा कायम रहेको निरासा चिर्न तथा आर्थिक क्षेत्रलाई चलायमान बनाउनका लागि सरकारले गर्नुपर्ने कामलाई समेटिएको छ । नेपाली कांग्रेससँग गत असार १७ गते भएको सहमतिपछि अध्यक्ष ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभन्दा डेढ साता अगावै एमालेले गत असार २१ गते ओली नेतृत्वको सरकारले आगामी तीन वर्षभित्र गर्नुपर्ने कामका विषयमा सुझाव दिन उपमहासचिप प्रदीप ज्ञवालीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले पार्टीका विभिन्न २८ विभागसँग सरकारले गर्नुपर्ने कामका विषयमा सुझावसहित प्रतिवेदन मागेको थियो । सोही प्रतिवेदनको आधारमा एमालेले सरकारलाई सुझावपत्र दिएको हो । उपमहासचिव ज्ञवालीका अनुसार असार २१ गते बसेको पार्टी केन्द्रीय विभागहरूको बैठकले दिएको सुझावका आधारमा प्रधानमन्त्रीलाई १० ठोस कार्यक्रमसहित ३१ बुँदे सुझाव बुझाइएको छ । उक्त बैठकले सात दिनको समय सीमा तोकेर प्रधानमन्त्रीलाई सुझाव दिन विभागहरूलाई निर्देशन दिएको थियो । एमालेले यसै वर्षको बजेटको दायराभित्र सञ्चालन गर्न सकिने कार्यक्रमहरू, सम्बन्धित मन्त्रालयमा गर्नुपर्ने नीतिगत र कानुनी सुधारहरू, हाल संसद्मा विचाराधीन सम्बद्ध मन्त्रालयसँग सम्बन्धित विधेयकको अवस्था र त्यससम्बन्धी दृष्टिकोण, निर्वाचन घोषणापत्र २०७९ मा त्यस क्षेत्रसँग सम्बन्धित पार्टीका मुख्य प्रतिबद्धताहरू, सम्बन्धित मन्त्रालयबाट हुने सेवा प्रवाह र विकास निर्माणमा देखा परेका मुख्य अवरोध र समाधानका उपाय तथा महिला, युवा, सहरी जनमत, प्रवासी नेपाली र भूमिहीन लगायतलाई आकर्षित गर्न सकिने नयाँ र सिर्जनशील कार्यक्रमलगायत विषय सुझावमा समावेश गरिएका छन् ।
मुस्ताङ: मुस्ताङको घरपझोङ गाउँपालिका–५ ढुम्बामा ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु भएको छ । ढुम्बाको कुछपतेरङ्गा गुुम्बाको नाली खन्ने क्रममा माटोको ढिस्कोले पुरिँदा उनीहरुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुसार सर्लाहीको लालबन्दी नगरपालिका–१५ का २३ वर्षीय होमबहादुर बुढाथोकी र दाङको गडवा गाउँपालिका–१ का २३ वर्षीय रवि दर्लामी मगरको मृत्यु भएको हो । नेपाल प्रहरी, स्थानीयवासीलगायतको सहयोगमा मजदुरको शव माटोबाट बाहिर निकालिएको हो ।
काठमाडौं: नेपालले एसिसी महिला एसिया कप क्रिकेट २०२४ प्रतियोगिताअन्तर्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)लाई पराजित गरेको छ । श्रीलङकाको दम्बुल्ला अन्तर्राष्ट्रिय रङ्गशाला भर्खरै सम्पन्न खेलमा नेपालले युएईलाई छ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो । जितका लागि एक सय १६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १६ दशमलव एक ओभरमा चार विकेट गुमाउदै पूरा गर्यो । नेपाललको लागि सम्झना खड्काले सर्वाधिक ७२ रनको योगदान दिइन । उनले ४५ बल खेल्ने क्रममा ११ चौका प्रहार गरिन् । त्यस्तै रुबिना क्षेत्रीले १० रन बनाइन भने सीता रानामगर र पुजा महतोले समान सात÷सात रनको योगदान गरे । बलिङतर्फ युएईकी कभिशा इगोडागेले तीन विकेट लिइन भने लभन्या केनीले एक विकेट लिइन । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय १५ रनको योगफल बनाएको थियो । युएईका लागि खुसी शर्माले ३९ बल दुई चौका प्रहार गर्दै ३६ रन बनाइन । त्यस्तै कविशा इगोडागो २२, समाइरा धरनिधर्कले १३ तथा कप्तान इशा रोहित ओजाले १० रन बनाइन । रिथिका राजित छ तथा लावन्या केनी दुई रनमा अविजित रहे । नेपालको लागि इन्दु बर्माले सर्वाधिक तीन विकेट लिइन् । त्यस्तै कृतिका मरासिनी, सबनम राई र कविता जोशीले समान एक÷एक विकेट लिए । नेपालले अब आफनो दोस्रो खेल यही साउन ६ गते पाकिस्तानसँग खेल्नेछ ।
काठमाडौं: उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै आधार र प्रमाण नपुग्दा सफाइ हुने ठहर गरेको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले गत जेठ २ गते गरेको फैसलाको आज सार्वजनिक गरेको पूर्णपाठमा आधार र प्रमाण नपुगेका कारण सफाइ दिएको उल्लेख छ । फैसलाको पूर्णपाठमा भनिएको छ, “आधार र कारण समेतबाट यसमा प्रतिवादी सन्दीप लामिछानेले अनुसन्धानका क्रममा र अदालतमा गरेको इन्कारी बयान, परिवर्तित नाम गौशाला २६ ले पठाएको म्यासेज, निजको शारीरिक परीक्षण प्रतिवेदन, निजको शारीरिक अवस्था, घटनास्थल मुचुल्का, घटना विवरण कागज गर्ने होटल काठमाडौँ इन होटलका सेक्युरिटी कार्ड राजन राणाले गरेको वकपत्रका साथै मिसिल संलग्न परिस्थितिजन्य प्रमाणहरुबाट पुनरावेदक प्रतिवादीले अभियोग मागदाबी बमोजिमको कसुर गरेको पुष्टि हुन आएन ।” फैसलामा पीडितले प्रतिकार गरेको, कराएको, चिच्चाएको, तेस्रो व्यक्तिसँग आत्मरक्षाका लागि कुनै सहयोगको याचना गरेको नदेखिएको उल्लेख छ । त्यस्तै, उमेर पुगेका व्यक्तिहरूबीच जबर्जस्ती करणीको १ नं विपरीत नभई सहमतिमा भएको करणीलाई जबर्जस्ती करणी नमानिने भनेर सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तलाई प्रस्तुत मुद्दाको उल्लिखित तथ्यहरूले अनुमोदन गरेको इजलासको ठहर छ । फैसलाको पूर्णपाठको भनिएको छ, “प्रतिवादीसँग पीडितले आर्थिक संरक्षण मागेको, प्रतिवादीले पछि सकेको सहयोग गर्छु भनेको तर कुनै सहयोग नगरी प्रतिवादी केन्यातर्फ गएको घटनाक्रमले रिसको आवेगमा प्रतिवादी उपर यस्तो जघन्य कसुरमा जाहेरी दिएको होला भनी यो तथ्यलाई ठाडै इन्कार गर्न सकिने अवस्था पनि देखिँदैन ।” पीडितले प्रतिवादीले आफूलाई जबर्जस्ती करणी भने पनि निज वारदातको समय १८ वर्ष पूरा भएको देखिएको फैसलामा उल्लेख गरिएको छ । अदालतले मिसिल संलग्न सिसिटिभी फुटेजको स्क्रिप्टसमेतका प्रमाणबाट अभियोग दाबी शङ्कारहित तवरले पुष्टि नभएको, पीडित र प्रतिवादीबीच होस्टल नजिकबाट प्रतिवादीको गाडीमा बसी नगरकोट गएको, रातको समयमा काठमाडौँ होटल इनमा बसी भोलिपल्ट प्रतिवादीले पीडितलाई निजको होस्टलमा पुर्याउँदाका अवस्थासम्मका उल्लिखित घटनाक्रमलाई विश्लेषण गरी हेर्दा जबर्जस्ती करणीको कसुर भएको मान्न मिल्ने अवस्था नदेखिएको ठहर छ । फैसलामा भनिएको छ, “प्रतिवादीलाई पीडित बालक ठहर गरी जबर्जस्ती करणी गरेको ठहर्याइ काठमाडौँ जिल्ला अदालतबाट भएको फैसला सो हदसम्म मिलेको देखिन आएन ।” फैसलामा पीडित आफैँले प्रतिवादीलाई ‘फ्रेन्ड रिक्वेस्ट’ पठाएको, प्रतिवादीलाई ‘स्न्याप च्याट’मार्फत फोटो पठाउने गरेको, प्रतिवादी आफूले क्रिकेट खेल्न विदेश गई दुई महिनापछि फर्केर आएर भेट्नेभन्दा पीडितले मलाई सहयोग गर्नुपर्यो भनेर तुरुन्तै भेट्न चाहेको विषयलाई पनि अदालतले लामिछानेमाथि जबर्जस्ती करणीको कसुर प्रमाणित नहुने आधारका रूपमा व्याख्या गरेको छ । फैसलामा लामिछानेले गाडी लिएर आउँदा स्वस्फूर्त रूपमा पीडित गाडीमा गइबसेको, नगरकोट जाँदासमेत पीडितले कुनै प्रतिकार नगरेको र प्रतिवादीले नगरकोटबाट पीडितलाई ‘चाँडै जाउँ, तिम्रो होस्टेल बन्द हुन्छ’ भन्दा ‘होस्टेल जुनसुकै बखत खुला हुन्छ’ भनी प्रतिवादीलाई विश्वास दिलाएको र नगरकोटको होटल प्रतिवादी ९सन्दीप०ले ‘बुक’ गराएको भन्ने तथ्य पुष्टि नभएको जस्ता आधारमा टेकेर अदालतले सन्दीपलाई सफाइ दिएको उल्लेख छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासले गत पुस २५ गते आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति गरी पाँच लाख भराउने र गौशाला २६ को कमजोर आर्थिक अवस्थाको फाइदा उठाएको ठहर गरेको थियो । सो फैसलाविरुद्ध लामिछाने उच्च अदालत पाटन जानुभएको थियो । सो अदालतमा उक्त मुद्दाको सुनुवाइपछि लामिछानेलाई सफाइ हुने ठहर गरेको हो । गौशाला २६ माथिको बलात्कारको अभियोगमा लामिछानेविरुद्ध २०७९ भदौ २१ गते उजुरी परेपछि उहाँलाई गत असोज २० गते अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको थियो । उक्त मुद्दामा लामिछानेलाई अदालतले सफाइ दिएको छ ।
पोखरा: पोखरा महानगरपालिका–८ नागढुङ्गास्थित होटल युनिक एण्ड भान्साघरमा भएको हत्याकाण्ड सुन र आइफोन लुट्नको लागि भएको प्रहरीले निष्कर्ष निकालेको छ । गतसालको मंसिर ५ गते नागढुङ्गास्थित होटल युनिक एण्ड भान्साघरमा तनहुँको भिमाद घर भएकी ३८ वर्षीय सुकु विक मृत फेला परेकी थिईन् । विकको हत्या भएको ८ महिनापछि जिल्ला प्रहरी कार्यालय कास्कीले सुन र आइफोन लुत्ने योजनासहित हत्या गरेको अभियुक्तले साबिती बयान दिएको बताएको छ । । सुकु विकको हत्या गरेको अभियोगमा प्रहरीले बागलुङको गलकोट नगरपालिका–९ मल्मका २९ वर्षीय सञ्जय विकलाई पक्राउ गरेको हो । ... त्यसपछि भयो हत्या तनहुँको भिमादकी ३८ वर्षिया सुकु विकको साथमा मंसिर ५ गते होटल युनिकमा गएका सञ्जयले सुकुको हत्या गरेर फरार रहेको खुल्न आएको कास्की प्रहरीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले बताए । ‘गतवर्षको मंसिर ५ गतेसँगै होटलमा गएका सञ्जयले सुकुको हत्या गरेको साबिती बयान दिएका छन्, प्रहरी उपरीक्षक थापाले भने, ‘हत्या लुटपाटको लागि भएको देखिएको छ, सञ्जयको पृष्ठभुमी अपराधिक किसिमको देखिएकाले हत्यापछि सुन र आइफोन लुटेर गएका छन् ।’ होटलमा सुकुको हत्यापछि सञ्जयले आइफोन १३ प्रो म्याक्स र सुनको २ थान टप र सिक्री लुटेर गएको देखिएको छ । त्यसपछि उक्त फोन काठमाडौंमा गएर ४० हजार ५ सय बेचेपछि अनुसन्धानको क्रममा सञ्जयले नै हत्या गरेको खुल्न आएको एसपी थापाले बताए । यो पनि पढ्नुहोस नागढुंगाको युनिक होटलमा भिमादकी सुकु मृत फेला, अनुसन्धानका लागि ५ जना नियन्त्रणमा युनिक होटलमा सुकु मृत्यु प्रकरण: अझै खुलेन रहस्य नागढुङ्गा सुकु हत्याकाण्ड: हत्या गरेर भारत छिरेका थिए सञ्जय फलोअप: सुकुको ‘आइफोन १३ प्रो म्याक्स’ बेचेपछि सञ्जयसँग ठोक्कियो अनुसन्धान ‘सुकुको हत्यापछि सञ्जयले लुटेको मोबाइल काठमाडौंमा गएपछि महोत्तरीका एक व्यक्तिलाई ४० हजार ५ सय बिक्री गर्छन, उनले भने, ‘बिक्री भएको फोन केन्द्रिय अनुसन्धान ब्यूरोले राजेश बुढाथोकीको साथबाट फेलापछि उक्त फोन सञ्जयले बिक्री गरेकाले उनले नै हत्या गरेको अनुसन्धानको खुल्न आएको हो ।’ अनुसन्धानको क्रममा प्रहरीले सुकु वि.कलाई होटल लैजाने र आइफोन बिक्री गर्ने व्यक्ति सञ्जय नै एकिन भएकाले उनको कोठा खान तलासी गर्दा हत्या गर्दाको समयमा लगाएको कपडा र मोबाइल बराम भएको एसपी थापाले बताए । सञ्जयको कोठामा बरामद भएको मोबाइलमा सुकु विकको मोबाईल स्क्रिनसट गरी राखिएको तस्वीर र विकको आइफोन समाई फोटो खिचेको तस्वीर समेत फेला परेको उनले बताए । एसपी थापाका अनुसार सञ्जयको पृष्ठभुमी आपराधिक गतिविधिको भएकाले सुन र आइफोन लुत्नको लागि सुकुको हत्या गरेको हुन सक्ने बताए । अनुसन्धानको क्रममा संकलन भएको कागजातको आधारमा सुकु वि.कको हत्या संजय विकले नै गरेको पुष्टी भएपछि जाहेरीवालाबाट जाहेरी दिएपछि जिल्ला अदालत कास्कीबाट पक्राउ अनुमति लिएर टोली खटाएको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई चितवनको गैडाकोट नगरपालिका १२ हर्कपुरबाट गत २ गते पक्राउ गरेको हो । सञ्जय यसअघि २०७२ सालमा चोरी मुद्धामा २ वर्ष जेल सजाय भोगेर निस्केका थिए । भने उनीविरुद्ध २०७३ साल ५ महिना १ गते वडा प्रहरी कार्यालय बैदाममा अभद्र व्यवहार कसुरमा मुद्धा चलेको थियो ।
पोखरा: पोखरा महानगरपालिका–२३ घाँटीछिनास्थित हर्पनखोलामा पौडी खेल्न गएका २ जनाको डुबेर मृत्यु भएको छ । शुक्रबार हर्पन खोलामा पौडी खेल्न गएका १८ वर्षीय प्रकृत बुद्धचार्य र स्वयं ताम्राकारको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–१ मोहरिया टोल बस्ने प्रकृत बुद्धचार्य र पोखरा–२ बस्ने १८ वर्षीय स्वयं ताम्राकार रहेका छन् । ६ जनाको समूहमा हर्पन खोलामा पौडी खेल्न गएका ४ जना भने सकुशल रहेको प्रहरीले जनाएको छ । यस्तै पोखरा महानगरपालिका–२६ गुदेतालमा एक बालकको डुबेर मृत्यु भएको छ । लमजुङको मध्य नेपाल करापुटार घर भई पोखरा–२६ बस्ने ३४ वर्षीइ बिकाश परियारको ६वर्षीय छोरा सचिन परियारको गुदेतालमा डुबेर मृत्यु भएको हो । बुवासँग माछा मारेको हेर्न गएका सचिन अचानक तालमा डुबी रहेको अवस्थामा बुवा र स्थानीयले देखेपछि उद्धार गरेर उपचारको लागि लेखनाथ सिटी अस्पताल पु¥याएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरीको टोली खटिएको कास्की प्रहरीले जनाएको छ ।
बागलुङ: वर्षाले बाटो बन्द हुँदा बागलुङमा सञ्चालित घरबास (होमस्टे) सुनसान बनेका छन् । असार दोस्रो सातापछिको निरन्तर वर्षाका कारण ग्रामीण सडक अवरुद्ध भएसँगै घरबासमा पाहुनको आगमन नहुँदा सुनसान बनेका हुन् । हिउँदको समयमा बढी चहलपहल हुने घरबासमा यति बेला पाहुनाको सङ्ख्या शून्य छ । जिल्लाका ग्रामीण क्षेत्रमा घरबास बढी सञ्चालनमा छन् । अधिकांश घरबासमा पुग्ने सडक बाढी र पहिरोले ठप्प भएका छन् । वर्षाका कारण अवरुद्ध भएका ग्रामीण सडक असोज पछाडि मात्रै खुल्छन् । अधिकांश सडक कच्ची भएको हुँदा यात्रा गर्नसमेत असहज हुने हुँदा पाहुन घरबासमा पुग्न चाहँदैनन् । वर्षाले सडक तथा पदमार्ग हिलाम्मे बन्दा घरबाससँगै पर्यटकीयस्थल सुनसान भएका बागलुङ नगरपालिका–१० भकुण्डेका अतिथी सत्कार होमस्टे सञ्चालक यामबहादुर थापा मगरले बताउनुभयो । “जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै रहेको भकुण्डेमा पनि पर्यटक पुग्न सकेका छैनन् । घरबासमा पाहुन आउनछोडेपछि सञ्चालक खेतबारीको काममा व्यस्त छन् । सडक नियमित सञ्चालन नहुँदासम्म गाउँमा पाहुन आउने अवस्था रहँदैन”, उहाँले भन्नुभयो । जेठ अन्तिम सातासम्म फाट्टफुट्ट पर्यटक पुगे पनि अहिले शून्य भएको मगरले बताउनुभयो । आन्तरिकसँगै विदेशी पर्यटकसम्म यहाँ आउने गरेका सुजनउन्दै वर्षाले सडक बिगारेपछि अहिले कोही पनि नआएका उहाँको भनाइ छ । हिउँदमा मासिक करिब दुई हजारदेखि तीन हजारसम्मको सङ्ख्यामा पाहुन भकुण्डे पुग्ने गरेका थापाले जानकारी दिनुभयो । “वर्खामा गाउँसम्म पुग्ने बाटो ठाउँठाउँमा अवरुद्ध हुने गरेको छ । करिब दुई÷तीन महिना यहाँका घरबास र पर्यटकीय क्षेत्र खाली हुन्छन् । पदमार्ग र पूर्वाधारको अवस्थाका कारण असार लागेपछि पाहुनको सङ्ख्या शून्य भएको हो”, उहाँले भन्नुभयो । काठेखोला गाउँपालिका–३ धम्जास्थित बेलढुङ्गा सामुदायिक घरबासमा पनि असार लागेपछि पाहुना पुग्न छोडेका छन् । बागलुङ बजारबाट पश्चिममा पर्ने यो घरबासमा हिउँदका बेला मासिक दुई हजारदेखि तीन हजारसम्म पाहुन आउने गरेकामा अहिले सुनसान रहेको बेलढुङ्गा सामुदायिक घरबासकी सचिव माया घर्ती पुनले बताउनुभयो । असोज लागेपछि मात्रै पर्यटकको आगमन बढ्ने उहाँले उल्लेख गर्नुभयो । वर्षाका कारण बेलढुङ्गासम्म पुग्ने सडकको विभिन्न स्थानमा पहिरो जाँदा गाडी सञ्चालन हुन नसकेको घर्तीले बताउनुभयो । पर्यटक आउन छोडेपछि अधिकांश अहिले आलु खन्ने, कोदो रोप्ने र पशुपालनमा व्यस्त रहेका छन् । “यो ‘अफसिजन’ भयो, सडकको अवस्था गतिलो छैन, बजारबाट आउँदा पनि धेरै ठाउँमा गाडी अड्किने, ठाउँ–ठाउँमा फस्ने हुँदा यहाँ आउन चाहने पनि बीच बाटोबाटै फर्किनु हुन्छ, राज्यले कम्तिमा गाउँमा आउने सडकस्तरीय बनाइदिए बाह्रै महिना पाहुन भित्र्याउन सक्थ्यौँ”, उहाँले भन्नुभयो, “अब आउन दसैँतिहारको बेला पहुना आउनुहुन्छ ।”
म्याग्दी: गत असार २७ गते रातिदेखि खस्न थालेको पहिरोका कारण बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध बनेको छ । उक्त खण्डको तातोपानीमा गएको पहिरोका कारण यातायात सञ्चालन नहुँदा पश्चिम म्याग्दीका सयौँ नागरिकले दैनिक यात्रामा सास्ती भोग्दै आएका छन् । पिठ्युमा भारी र काँधमा छोरीलाई बोकेर तातोपानी परको घुमाउने भिरपारी पैदल हिडेर यात्रा गर्नुभएकी धवलागिरि गाउँपालिका–७ धारापानीकी जमुना थापाले लामो सुस्केरा हाल्दै बेनी–दरबाङ खण्डको पहिरोलाई नियाल्नुभयो । सदरमुकाम बेनीबाट खाद्यपदार्थका साथै दैनिक उपभोग्य सामग्री गाउँतर्फ लैजान नसक्दा खाद्यान्नलगायत विकास निर्माणमा आवश्यक पर्ने सामग्रीको अभाव भएको छ । गाउँमा उत्पादित तरकारी, फलफूल तथा अन्य कृषिजन्य वस्तु बिक्रीका लागि बजारसम्म ल्याउन नसक्दा खेतबारीमा खेर गएका कृषकले बताएका छन् । वर्षासँगै म्याग्दीको बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सीमानामा पर्ने फापरखेतमा गत असार २७ गते राति खसेको पहिरोले सडक अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालय, यातायात व्यवसायीले मेसिन र जनशक्ति परिचालन गरेर पटकपटक पहिरो पन्छाउने प्रयास गरेपनि पहिरो खस्ने क्रम नरोकिएको तातोपानीका व्यवसायी कुमार केसीले बताउनुभयो । यसले पश्चिम म्याग्दीका नागरिकलाई आवागमनमा सास्ती हुँदै आएको उहाँले बताउनुभयो । यातायात सञ्चालन हुन नसकेपछि पश्चिम म्याग्दी जाने सयौँ यात्रु बेनीबाट तातोपानीसम्म गाडीमा र त्यहाँबाट पैदल हिडेर म्याग्दी नदीको झोलुङ्गे पुल हुँदै सिमलचौर निस्केपछि अर्को गाडीमार्फत गन्तव्यमा जाने गरेका छन् । पश्चिम म्याग्दीको ‘लाइफ लाइन’का रूपमा लिने गरिएको बेनी–दरबाङ सडकको फापरखेतमा सामान्य वर्षा हुँदा पनि आवागमन अवरुद्ध हुने समस्याले स्थानीयले सास्ती खेप्दै आएका यातायात व्यवसायी टेकबहादुर राम्जालीले जानकारी दिनुभयो । उन्नाइस वर्षअघि सडकको मार्ग खोल्नुपूर्व यहाँ पहिराको जोखिम थियो । पहिरो रोकथाम गर्न दीर्घकालीन योजना नहुँदा यस खण्डमा बर्खायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको स्थानीय बताउँछन् । धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले बताउनुभयो । “बेनी–दरबाङ खण्ड पाखो र भिरको बीचमा खनिएको छ । सडकमुनि म्याग्दी नदी छ । सडकमाथिको भिरमा ढुङ्गा र ग्रेगर छ । खोल्सामा पर्ने सडकमाथितर्फ पर्खाल बनाएर पहिरो रोक्ने प्रयास सफल भएको छैन”, अध्यक्ष रोकाले भन्नुभयो “म्याग्दी नदीको किनारमा बनाइएका पक्की पर्खालले कटान रोकिएको छ ।” उहाँका अनुसार सडकदेखि करिब दुई सयमाथि र एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ । पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नतिको काम रोकिएको र यातायात अवरुद्ध हुन नदिन डोजर तैनाथ राखेर पहिरो खस्दाबित्तिकै पन्छाउने गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले बताउनुभयो । “फापरखेत, लाम्पाटा र बाङ्गेको पहिरो नियन्त्रणका लागि बायोइन्जिनियरिङसहितको छुट्टै काम गर्नुपर्छ, ठूलो पहिरो भएकाले लगानी पनि बढी लाग्छ ।” बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेतअन्तर्गत बेनी–दरबाङ्ग खण्डको वैकल्पिक माग खोजिने म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले बताउनुभयो । पहिरोको दीर्घकालीन समाधान गर्न वैकल्पिक मार्ग र बेलिब्रिज निर्माण गर्नुपर्ने भएकाले तीनै तहका सरकारले यसतर्फ ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । वर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको भन्दै वैकल्पिक मार्ग निर्माणमा ध्यान दिन सरोकार भएका निकायलाई अनुरोध गरिएको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । “वर्खाको समयमा वैकल्किप मार्ग आवश्यक छ, पालिकाले धेरै पहल गरेको छ”, उहाँले भन्नुभयो, “अहिले मोटरसाइकललाई सहज हुने गरी वैकल्पिक बाटो मर्मतमा जुटेका छौँ ।”