काठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी र बागमती प्रदेशका पहाडी भू–भागलगायत गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका केही स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । विभागका अनुसार सुदूरपश्चिम प्रदेशका धेरै स्थान, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै सुदूरपश्चिम प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिराबाट बच्न विभागले अनुरोध गरेको छ । विभागले आज बिहान जारी गरेको मौसम बुलेटिनमा भारी वर्षाका कारण ती क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
बागलुङ: बागलुङ बजारमा खानेपानीको अभाव भएको छ । भूदीखोलाले पानीको पाइप बगाएपछि एक सातादेखि नगरवासी खानेपानीको समस्याबाट पिरोलिएका हुन् । बागलुङ नगरपालिकाले काठेखोला गाउँपालिकाको भूदीखोला मुहान, रेशखोला मुहान र रिठेखोला मुहानबाट खानेपानी आपूर्ति गर्दै आएको मुख्य मुहानको पाइप बगाउँदा समस्या भएको हो । भूदिखोलाको मुहानको पाइप बगाउँदा खानेपानीको अभाव भइरहेको बताउँदै बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव जीवन आचार्यले पाइप मर्मत थालिएकाले शीघ्र समस्या समाधान हुने आश्वासन दिनुभयो ।
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गलादेशमा अध्ययनरत १७ जना विद्यार्थीलाई आज काठमाडौँ ल्याइने बताउनुभएको छ । प्रधानमन्त्रीले सम्बन्धित परिवारको मागबमोजिम बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीहरूलाई आज स्वदेश फर्काउन प्रबन्ध मिलाइएको बताउनुभएको हो । प्रधानमन्त्री ओलीले शनिबार राति सामाजिक सञ्जालमा जारी गर्नुभएको सन्देशमा भनिएको छ, “बङ्गलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले आफू असुरक्षित भएको बताइरहेका छन् । ती विद्यार्थीका परिवारसँग आज मेरो भेट भयो । परिवारको मागबमोजिम सवार एरियाको इनाम मेडिकल कलेजमा पढ्ने १७ जना नेपाली विद्यार्थीलाई भोलि बिहान ४ बजे ढाका एयरपोर्ट ल्याएर त्यसपछि काठमाडौ फर्काउने प्रबन्ध गरिएको छ ।” प्रधानमन्त्री ओलीले नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले अनलाइन फारम भर्न सूचना जारी गरिसकेको पनि उल्लेख गर्नुभएको छ । बङ्गलादेशमा सरकारी सेवा प्रवेशमा निर्धारित गरिएको आरक्षणको विरोध गर्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन् । करिब तीन हजार नेपाली विद्यार्थी बङ्गलादेशमा रहेका ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ ।
काठमाडौँ: यो वर्षको मनसुन अवधिमा विपत्तिमा परेर आजसम्म एक सय २८ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार मनसुन सुरु भएको दिन गत जेठ २८ गतेदेखि आजसम्म ४२ दिनको अवधिमा अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्परी आज दिउँसोसम्म एक सय २८ जनाको मृत्यु र एक सय ४३ जना घाइते भएका छन् । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा २२, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ । बाढीका कारण जम्मा एक सय ८२ घर डुबानमा परेका तथा दुई सय २८ वटा घर, ८३ वटा गोठ, ४३ वटा पुल, एक विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ । विपद्मा परी पाँच सय ८९ वटा पशुचौपाया मारिएका छन् । उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार सात सय ७९ घरपरिवार विस्थापित भएका छन् ।
काठमाडौं: मनसुनी विपद्मा परी ज्यान गुमाएका ६९ जनाका परिवारलाई मापदण्ड अनुरुप रु दुई लाखका दरले राहत वितरणका लागि जिल्ला विपद् व्यवस्थापन कोषमा निकासा गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म मृत्यु भएका ६९ जनाका परिवारका लागि एक करोड ३८ लाख निकासा भएको र उक्त रकमबाट कतिपय जिल्लाले प्रक्रिया पु¥याएर पीडितपरिवारलाई राहत वितरण पनि गरिसकेका छन् । मनसुनको अवधिमा सबै प्रकृतिका विपद्मा परेर अहिलेसम्म एक सय २५ भन्दा बढीको मृत्यु भइसकेको छ । त्यसमा सबैभन्दा बढी बाढीपहिरो र चट्याङका कारण मानवीय क्षति भएको छ ।मनसुनका समयमा यही देशभर परेको भारी वर्षाका कारण विपद्का घटना बढेपछि उच्च जोखिममा रहेका एक सय २५ जनालाई सुरक्षा निकायद्वारा जीवित्तै उद्धार गर्न सफल भएको पनि प्राधिकरणले जानकारी गराएको छ । प्राधिकरणका प्रवक्ता उपसचिव डा डिजन भट्टराईले ओखलढुङ्गा, ताप्लेजुङ, कालीकोट र बझाङलगायत जिल्लाबाट हेलिकप्टरमार्फत उद्धार गरिएको पनि जानकारी दिनुभयो । शुक्रबार मात्रै गएको एक महिनामा भएको मनसुनी विपद्को अवस्था प्रतिवेदन सार्वजनिक गर्दै प्राधिकरणले जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समिति, नेपाल रेडक्रसलगायत सङ्घ संस्थाद्वारा प्रभावित परिवारलाई खाद्यान्न तथा गैरखाद्यान वस्तु वितरण गरिएको जानकारी दिएको छ । प्रतिवेद अनुसार मनसुनबाट प्रभावित परिवारलाई तत्काल राहतस्वरुप रु १५ हजारदेखि २० हजारसम्म वितरण गरिएको जनाइएको छ । प्रवक्ता भट्टराईका अनुसार रेडक्रसबाट हालसम्म सात सय ४५ थान तारजाली, दुई सय ९५ थान ब्ल्याङ्केट, दुई सय पाँच थान म्याट्रेस, एक सय २५ थान भाँडाकुँडा, एक सय थान झुल, दुई सय २५ थान सरसफाइ किट, एक हजार एक सय ३८ मिटर कपडा उपलब्ध गराइएको र गृह मन्त्रालयमातहत निकायबाट पाँच सय २० थान त्रिपाल, ५० थान टेन्ट, तीन सय थान ब्ल्याङ्केट, उक सय थान म्याट्रेस र ५० थान स्लिपिङ ब्याग उपलब्ध गराइएको छ । उहाँले समन्वयात्मक रुपमा विपद् व्यवस्थापनको काम जारी रहेको पनि जानकारी दिनुभयो । यसपाली बढी वर्षा हुने आँकलन रहेको थियो । मनसुनको सुरुआत महिनामै भारी वर्षाले जनधनको क्षति गराएको छ ।
काठमाडौं: गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायसँग सम्बन्धित कानुनलाई समयक्रमसँगै संशोधन गर्न आवश्यक भएकाले सरकारले यसलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय कार्यालय हलचोकको शुक्रबार निरीक्षण गर्दै गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बलको सुदृढीकरण र वृत्तिविकास गर्न मन्त्रालय सधैँ साथमा रहेको बताउनुभयो । “राजस्व चुहावट रोक्न सशस्त्र प्रहरी बलको ठूलो योग्दान छ । प्राकृतिक प्रकोपका बेला पनि सशस्त्र प्रहरीको काम प्रशंसा गर्न लायक छ”, उहाँले भन्नुभयो । सुरक्षा निकायलाई स्रोतसाधन सम्पन्न बनाउन लागिपरेको उहाँको भनाइ थियो । तेइस वर्षअघि सशस्त्र प्रहरी बलको स्थापना अध्यादेशबाट भएको स्मरण गर्दै गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बल स्थापनाबारे अध्ययन गर्न स्व सुवासचन्द्र नेम्वाङको नेतृत्वमा बनेको समितिमा कांग्रेसका तर्फबाट सदस्यका रुपमा सहभागी भएर काम गरेको बताउनुभयो । “सशस्त्र द्वन्द्वका समयमा सशस्त्र प्रहरी बलको भूमिका मुख्य रह्यो । देशमा शान्तिसुरक्षा कायम गर्नमा सबैभन्दा पछि स्थापना गरिएको सुरक्षा सङ्गठनको धेरै योगदान छ”, उहाँले भन्नुभयो । निरीक्षणका क्रममा गृहसचिव एकनारायण अर्यालले मन्त्रालय सशस्त्र प्रहरी बल नेपालको साथमा रहेको बताउनुभयो । “सशस्त्र प्रहरी बल नेपालको कानुन छिट्टै संसद्मा पेस हुन्छ”, उहाँले भन्नुभयो । सीमित साधन स्रोतका बीचमा सशस्त्र प्रहरी बलले सीमासुरक्षामा तदारुकता देखाएको उहाँले बताउनुभयो । उच्च मनोबलका साथ काम गर्न गृहसचिव अर्यालले निर्देशन दिनुभयो । विपद्का समयमा अहोरात्र खट्न उहाँले आग्रह गर्नुभयो । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल आफ्नो काममार्फत जनताको मनमा बस्न सफल भएको बताउनुभयो । सरकारले सशस्त्र प्रहरी बलप्रति राखेको विश्वासलाई कायमै राखेर काम गर्ने उहाँले उल्लेख गर्नुभयो । सीमासुरक्षा बलसँगसम्बन्धी कानुनमा सुधारको आवश्यकता रहेको महानिरीक्षक अर्यालको भनाइ थियो ।
काठमाडौं: नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते दिउँसो १ बजे संसदमा विश्वासको मत लिन लागेसँगै कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । बैठक दिनको १२ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनको ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलले जनाएको छ । गत असार १७ गते कांग्रेस र एमाले मिलेर नयाँ समीकरण बनाएसँगै गत असार ३० गते एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
काठमाडौं: नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालबाट पहिरोसँगै त्रिशूलीमा खसेको दुई बस र यात्रुको खोजीका लागि भारतको खोज तथा उद्धार टोली नेपाल आइपुगेको छ । भारत सरकारको नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ) को १२ सदस्यीय टोली सिमलताल घटनाको खोज तथा उद्धारका लागि नेपाल आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार गएराति सुनौली नाका हुँदै नेपाल भित्रिएको टोली भैरहवामा बसेर आज बिहानै घटनास्थलतर्फ आइरहेको छ । टोलीले आजैदेखि काम थाल्ने प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले बताउनुभयो । पानीमुनि खोजतलासमा प्रयोग हुने यन्त्र उपकरणलगायत सेटसहित उनीहरु आएका हुन् । उनीहरुले तीन वटा अत्याधुनिक सोनार उपकरण पनि ल्याएका बताइएको छ । उनीहरु सशस्त्र प्रहरीको एक टोलीका साथ घटनास्थल पुग्दै छन् । कार्यकारी प्रमुख पोखरेलका अनुसार नेपालको स्रोतसाधनले बसको अवस्था पत्ता लगाउन नसकेपछि सरकारले खोजीका लागि अन्तर्राष्ट्रिय उद्धार टोली मगाएको हो । गृह मन्त्रालयले परराष्ट्रमार्फत भारतीय उद्धार टोली मगाएको थियो । गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख डा भीष्मकुमार भुसालका अनुसार गएको असार ३१ गते भारतबाट विज्ञसहतिको उद्धार टोली मगाउन परराष्ट्रमार्फत पत्राचार गरिएको थियो । सोही आधारमा भारतीय खोज तथा उद्धार टोली नेपाल आएको हो । यही असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस चितवनको सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा यात्रु बेपत्ता भएका थिए । उक्त बसमा सवार ६५ जनामध्ये ३ जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । आजसम्म २३ जनाको शव विभिन्न क्षेत्रमा फेला पारिएको छ । अझै ३९ यात्रुको दुईवटै बसको अवस्था पत्ता लाग्न सकेको छैन । उक्त घटनाको अध्ययन गर्न गृहमन्त्रालयले गठन गरेको कार्यदलले अहिले काम गरिरहेको छ ।
काठमाडौं: गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल र अमेरिकाबीच रहिआएको आपसी सम्बन्धका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा गृहमन्त्री लेखकले नेपाल र अमेरिकाबीच विगत ७० वर्षदेखि रहिआएको द्विपक्षीय सम्बन्ध सौहाद्र्रपूर्ण रहेको उल्लेख गर्दै लोकतन्त्र, मानव अधिकार, कानुनी शासनजस्ता विषयमा दुवै देशको साझा धारणा रहेको बताउनुभयो । नेपालको सामाजिक–आर्थिक विकास तथा गृह मन्त्रालयका विभागीय सुरक्षा निकायहरूको क्षमता अभिवृद्धिमा अमेरिकाले उल्लेख्य सहयोग गर्दै आएको बताउँदै गृहमन्त्री लेखकले अमेरिकी सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो । जलवायु परिवर्तनको असरका कारण नेपाल उच्च जोखिममा रहेको र यस विषयमा नेपालको उच्च चासो र चिन्ता रहेको उल्लेख गर्दै उहाँले यस विषयमा समर्थन गर्न आग्रह गर्नुभयो । राजदूत थम्पसनले गृहमन्त्री पदमा नियुक्त हुनुभएकामा लेखकलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । नेपालको सामाजिक–आर्थिक विकासका विविध क्षेत्रमा सहयोग गर्न अमेरिका सधैँ इच्छुक रहेको उल्लेख गर्दै उहाँले नेपालको आर्थिक विकासमा एमसिसी परियोजना महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । राजदूत थम्पसनले एससिसी परियोजना कार्यान्वयनमा नेपाल सरकारका तर्फबाट सधैँ सहयोग रहने आफूहरूको अपेक्षा रहेको उल्लेख गर्नुभयो । उहाँले अपराध नियन्त्रण तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा सहकार्य र समन्वय गर्न अमेरिकी सरकार तत्पर रहेको बताउनुभयो ।