काठमाडौं: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर साधारणतया बदली रही गण्डकी, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बागमती तथा लुम्बिनी प्रदेशका केही भेगमा भारी वर्षा भइरहेको छ । विभागले आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाउँदै ती स्थानका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा आज राति भारी वर्षा हुने विभागको पूर्वानुमान छ । आज दिउँसो र राति देशभर आंशिकदेखि साधारणतया बदली हुने छ ।
महोत्तरी: महोत्तरीको पिपरामा ट्याक्टर दुर्घटना हुँदा त्यसमा सवार २७ जना घाइते भएका छन् । मुस्लिमको मोहरम्म पर्वका अवसरमा महोत्तरीको पिपरा गाउँपालिकामा लागेको दाहा (ताजिया) मेला हेर्न उनीहरू ट्याक्टरमा त्यसतर्फ गइरहेका थिए । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलाल जैसवारका अनुसार आज दिउँसो करिब ४ बजे जलेश्वर नगरपालिका–६ धबौली गाउँबाट ज१त८०४४ नम्बरको ट्याक्टरमा २७ जना सवार भई पिपरा गाउँपालिका–५ मा लागेको दाहा मेला हेर्न गइरहेका क्रममा जलेश्वर नपा–९ स्थित परिकौली चौक नजिकै ट्याक्टर दुर्घटना भएको थियो । चालकले तीव्र गतिमा ट्याक्टर कुदाउँदा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये २६ जनाको उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भइरहेको छ भने गम्भीर घाइतेलाई उपचारका लागि जनकपुर पठाइएको छ । प्रहरीका अनुसार घाइतेमध्ये धेरैको हातखुट्टा चोट लागेको छ भने केहीको टाउको, अनुहार र शरीरको विभिन्न भागमा चोट लागेको छ । घटनापश्चात् चालक फरार रहेका छन् भने उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
तनहुँ: तनहुँको बन्दीपुर गाउँपालिका–५ फलाम डाँडामा चितुवाको आक्रमणबाट आज साँझ एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा १३ वर्षीय सुन्दर अछामी रहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो । घर नजिकै चितुवाको आक्रमणमा परेका अछामीलाई बन्दीपुर अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । अध्यक्ष थापाले भन्नुभयो, “साँझको बेला घर नजिकैबाट चितुवाले आक्रमण गरेर लगेछ, थाहा पाउने बित्तिकै जाँदा बालक गम्भीर घाइते अवस्थामा भेटिएका थिए ।” मृतक बालकको शव अस्पतालमा राखिएको छ । सो वडाका अध्यक्ष ध्रुवप्रसाद लामिछानेले साँझका बेला घरबाहिर ननिस्कन तथा बालबालिकालाई एक्लै नछाड्न आग्रह गर्नुभएको छ ।
काठमाडौं: ‘भिजिट भिसा’मा कुवेत पु¥याई बेचबिखन गरेको अभियोगमा मोरङ रङ्गेली नगरपालिका–३ का ५७ वर्षीय कृष्ण अधिकारी भन्ने झयन्द्रकुमार अधिकारीलाई प्रहरीले बुधबार पक्राउ गरी आज सार्वजनिक गरेको छ । पीडितको उजुरीका आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरी टोलीले अधिकारीलाई ललितपुर महानगरपालिका–२४ बाट पक्राउ गरेको हो । अधिकारीले पीडितलाई दुबइमा मासिक रु ४० हजार तलब हुने काममा लगाइदिने प्रलोभन देखाइ रु दुई लाख नगद लिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार पीडितलाई दुबइमा रहेका अर्का अभियुक्तसँग मिलेमतोगरी अन्तर्वार्ता लिएको र भिजिट भिसामा विसं २०७९ जेठ १६ गते दुबई पु(याइ बन्धक बनाइएको थियो । बन्धक बनाएपछि घरेलु काममा लगाई चरम श्रम शोषण तथा यौनशोषणगरी गर्भपतन गराएको पाइएको छ । “युएइमाभन्दा कुवेतमा राम्रो तलब हुन्छ, अफिसमा क्लिनरको काम हो भनि प्रलोभन देखाइ २०८० वैशाख २८ गते दुबईबाट कुवेत पु¥याइ एजेन्ट अफिसलाई जिम्मा लगाएको र एजेन्ट अफिसले पीडितलाई बन्धक बनाई चरम श्रमशोषणगरी यौनशोषण गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ”, प्रहरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पीडितले नेपाल फर्काइदिन अनुरोध गर्दा रु छ लाख ७५ हजार रकम बुझाउन भनेपछि आफन्तमार्फत उक्त रकम बुझाइ २०८० मङ्सिर ३ गते नेपाल फर्कन सफल भएका थिए ।” अधिकारी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट पाँच दिन म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देश र व्यवस्थालाई अप्ठ्यारो पर्दा कांग्रेस–एमाले एक ठाउँमा उभिने गरेको बताउनुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज लमजुङका एमालेका नेता कार्यकर्ताको बधाई तथा शुभकामना ग्रहण गर्दै मन्त्री गुरुङले २०४६ सालमा पञ्चायत फाल्न, २०६२–०६३ सालमा राजतन्त्र फाल्न र २०७२ मा गणतान्त्रिक संविधान बनाउन पनि कांग्रेस–एमाले एकै ठाउँमा उभिएका बताउनुभयो । उहाँले अहिले मुलुक राष्ट्रिय स्वतन्त्रता र स्वाधीनताको हिसाबले कमजोर भएको कारण कांग्रेस–एमाले एक ठाउँमा उभिनु परेको बताउनुभयो । ठूला राजनीतिक दल एकताबद्ध हुनु पर्ने स्थिति देशमा बनेको उहाँले धारणा राख्नुभयो । “राष्ट्रिय आवश्यकताले गर्दा हामी यो गठबन्धनमा सामेल छौँ”, उहाँले भन्नुभयो । देशको अर्थतन्त्र धेरै जर्जर बन्दै गएको कारण विकास र समृद्धिका काम अहिले अवरुद्ध अवस्थामा रहेका गुरुङले बताउनुभयो । विकास, सुशासन, स्थिरता, संविधान परिवर्तनका लागि सबै राजनीतिक दल मिलेर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । “प्रतिपक्षमा बसेको माओवादी केन्द्रको पनि सहमतिका आधारमा सबै राष्ट्रिय समस्याको समाधान गर्नुपर्छ”, उहाँले भन्नुभयो । सञ्चारमन्त्री गुरुङले अहिले बेजेट आइसकेकाले धेरै ठूलो अपेक्षा नगर्न आग्रह गर्नुभयो । यस वर्ष ट्र्याकबाट बाहिर गएको अर्थतन्त्रलाई ठीक बाटोमा ल्याउनका लागि सरकारले काम गर्ने उहाँले बताउनुभयो । “सुखी नेपाली समृद्ध, नेपालको अभियानलाई साकार पार्ने कुरामा हामी लाग्छौँ”, उहाँले भन्नुभयो । अहिलेको गठबन्धनलाई जोगाएर मुलुकले खोजेको राजनीतिक स्थिरता दिने कुरामा आफूहरूको ध्यान जाने सञ्चारमन्त्री गुरुङले बताउनुभयो । राजनीतिक अस्थिरताका कारण अवसरवादी गठबन्धन भइरहेकाले त्यसलाई अन्त्य गरेर जनतामा टुटेको विश्वास फर्काउनका लागि आफूहरूले सकेको काम गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
काठमाडौं: उनीहरु अधिकांशको बाल्यकाल पहाडी र हिमाली क्षेत्रमा घाँसदाउरालगायतका दैनिकीमै बित्यो । पहाडका उकाली र ओराली छिचोल्दै अघि बढेका उनीहरुका पाइला कतिबेला दौडिन थाले उनीहरु आफैँले मेसो पाएनन् । गाउँघरका अप्ठ्यारा बाटोमा हिँड्न सिकेका उनीहरुका पाइला यतिबेला विश्वका विभिन्न देशमा आयोजना हुने प्रतियोगितामा दौडिरहेका छन् । कति लहैलहैमा त कतिपय रहरले दौडिन सुरु गरेका उनीहरु अहिले यसैमा करिअर खोजिरहेका छन् । त्यति मात्रै होइन, दौडिएरै नेपाल र नेपालीको नाम विश्वमा चम्काइरहेका छन् । धावकका रुपमा करिअर बनाउँदै गरेका उनीहरुलाई थप प्रतिष्पर्धी बनाउन र अन्तर्राष्ट्रियस्तरमा अवसर दिलाउने सहयोगी भूमिका निर्वाह गरिरहेको छ, मञ्जुश्री ट्र«ेल रेसले । मञ्जुश्रीले विभिन्न आयोजनामार्फत उनीहरुलाई विभिन्न अवसर प्रदान गर्नुका साथै थप प्रतिस्पर्धी पनि बनाउँदै लगेको छ । आज हामी केही नेपाली महिला धावकबारे चर्चा गर्दैछौँ । निर्मला राई, खोटाङ खोटाङकी ३३ वर्षीया निर्मला राईले नेपालको सबैभन्दा लामो मञ्जुश्री ट्रेल रेस एक सय माइल अर्थात् एक सय ७० किलोमिटरको दूरी ३४ घण्टा ५४ मिनेट ३० सेकेण्डमा पूरागरी कीर्तिमानी जीत दर्ता गरिन् । उनले यस रुटमा कायम यसअघिको कीर्तिमानलाई बिना कुनै प्रशिक्षण एक घन्टाभन्दा बढी समयले तोडेकी हुन् । उनी अब आफूलाई अन्तर्राष्ट्रिय धाविकाका रुपमा स्थापित गर्ने योजनामा छिन् । निर्मलाले अल्ट्रा रेस दौडन थालेको धेरै समय भएको छैन । तर छोटो समयको अथक प्र्रयासमा उनले कैयौँ दौड जितेकी छन् । यस क्षेत्रमा लाग्नुको श्रेय भने उनी अन्तर्राष्ट्रिय धाविका प्रिया राईलाई दिन्छिन् । प्रियाले नै आफूलाई दौडनका लागि जहिल्यै हौसाएको उनको भनाइ छ । गाउँबाट काठमाडौँ आएकी उनी दौडामा लाग्नुअघि जीविकोपार्जनका लागि कहिले मार्केटिङ त कहिले सुरक्षागार्डको पनि काम गरिन् । विभिन्न पसल चाहर्दै फाइनान्सका लागि पैसा उठाउनेदेखि होटेलमा भाँडासमेत माझिन । निर्मलाले पहिलोपटक नुवाकोटको झिल्टुङ क्रस कन्ट्री दौडमा भाग लिइकी थिइने । बाह्र दशमलव पाँच किलोमिटर दौडमा उनी चौथो भएकी थिइन् । उनी आफूलाई पहिलो सहभागिताबाटै अपेक्षाकृत सफलता मिलेपछि थप हौसला मिलेको हो भन्छिन् । उक्त दौडपछि प्रियाले विभिन्न प्रतियोगितामा भाग लिन थालिन् । वीर गणेशमान दौड प्रतियोगितामा शीर्ष दशमा परेपछि उनको तारिफ भयो । निर्मलाले गत वर्ष अप्रिलमा एक सय ३० किलोमिटरको मनास्लु ट्रेलमा सहभागी भइन् तेस्रो भइकी थिइन् । धावकका लागि मुख्य सहयोगी जुत्ता नै हो । जति राम्रो जुत्ता भयो दौडनका लागि त्यति नै सहज हुन्छ । धावनका लागि जुत्ता किन्न निकै महँगो हुने गरेको उनको भनाइ छ । त्यसैले विदेशी प्रायोजक भएका प्रतियोगितामा दौडन सहज हुने उनले सुनाइन् । दौडलाई निरन्तरता दिनका लागि पनि राम्रो प्रायोजकको साथ आवश्यक भएको उनको बुझाइ छ । अनिता राई, भोजपुर भोजपुर षडानन्द नगरपालिकाकी अनिता राईलाई सुरुमा मानिस किन दौडिन्छन् भन्ने थाहै थिएन । पोखरामा पर्यटक पथप्रदर्शकका रुपमा कार्यरत रहँदा कहिलेकाहीँ धावकहरु भेटिन्थे । तर उनलाई यी धावकहरुको यो दौडाइको उद्देश्य बुझ्दिनथिन् । तर सन् २०११ मा अरु कसैले उक्साएकै भरमा दौडने योजना बनाइन् । उनी आफ्नो पहिलो प्रतियोगिताको अघिल्लो दिन आयोजकको सम्पर्कमा आइकी थिइन् । आयोजकले दौडनुपर्छ मात्रै भनिदिए । भोलिपल्ट दौड सुरु हुने ठाउँमा पुगिन् । अरु धावकले सोहीअनुसारको पोशाक र जुत्ता लगाए पनि उनी भने सामान्य टिसर्ट, हाफ पाइन्ट र चप्पलमै पुगिन् । रातको समय पनि दौडनका लागि लाइट हुनुपर्ने भए पनि उनीसँग केही थिएन । थियो त केबल शक्ति र आत्मबल । उनी ५० किमीको उक्त दौडमा तेस्रो भइन् । पुरस्कारस्वरुप पाँच हजार पाइन् । आफू कार्यरत अफिसबाट पनि सम्मान पाएपछि भने दौडको महत्व बुझ्न थालिन् । उनले त्यसपछिका प्रायः दौडमा भाग थालिन् । केही दौडमा विजयी पनि भइन् । उनी सन् २०२१ मा दौड प्रशिक्षणका लागि काठमाडौँ आइन् । नौ महिना प्रशिक्षण लिएर मञ्जुश्री ट्रेल रेसमा सहभागी भइन् । उक्त दौडमा उनी दुई पटकसम्म एक सय माइलको महिलातर्फ पहिलो र तेस्रो पटक दोस्रो भइन् । मञ्जुश्री ट्रेल रेसमा दुई पटकसम्म प्रथम हुँदा उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने अवसर पाइन् । दौडकै सिलसिलामा स्वीजरल्याण्ड, थाइल्याण्ड, फ्रान्सलगायतका मुलुक पुगिन् । अहिले उनी आफ्नो दौडलाई निरन्रतता दिँदै अरुलाई प्रशिक्षण पनि दिँदै आएकी छन्् । आङ फुर्बा शेर्पा, सोलुखुम्बु सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिकामा जन्मिएकी आङ फुर्बा शेर्पा स्नातक अध्ययन गरिरहेकी छन् । विद्यालयमा छँदै दौड प्रतियोगितामा भागि लिएकी उनले अहिले पनि दौडलाई निरन्तरता दिएकी छन् । उनले साढे दुई वर्षअघि दाईको सुझावमा एभरेष्ट ट्रेलमा भाग लिइन् । त्यसपछि २५ किमीको दौडमा उनले दुई वर्षसम्म लगातार उपाधि जितिन् । शेर्पा गत वर्षको एभरेष्ट म्याराथनमा विजेता बनिन् । बेसक्याम्पदेखि नाम्चेसम्मको ७० किमी दौडको महिला धावकमा उनी उत्कृष्ट ठहरिन् । त्यति मात्रै होइन, उनले आर्मी र पुरुषहरुसँगको दौडसमेत भाग लिएकी छन् । जहाँ उनले दुवैतर्फमा १०औँ स्थानमा परेकी थिइन् । सोलुखुम्बुमै रहँदा उनी आमाबुबासँगै चौँरी चराउन जान्थिन् । विद्यालय जान मात्रै दुई घण्टा लाग्थ्यो । उनी भन्छिन्, “सायद त्यही बेलादेखि नै दौडने बानी परेको थियो । उकाली ओराली गर्दा दौडने बानी परेको हुनसक्छ ।” विगतमा भलिबल, फुटबललगायतका खेलमा सक्रिय उनी अहिले आफूलाई दौडमा मात्रै सीमित गरेकी छन् । उनी हालै सम्पन्न मञ्जुश्री ट्रेल रेसमा पहिलो पटक सहभागी हुँदै एक सय माइलतर्फ तेस्रो भइन् । उनी अब दौडको प्रशिक्षण पनि लिने योजनामा छिन् । त्यसपछि अन्तर्राष्ट्रिय दौडमा भाग लिने सपना पनि देखेकी छन् । पदमकुमारी सुनुवार, ओखलढुङ्गा ओखलढुङ्गाकी पदमकुमारी सुनुवारलाई सामान्य दौड प्रतियोगितामा भाग लिए पनि ट्रेल रेसबारे जानकारी नै थिएन । दौडमा रुचि राख्ने उनले अन्तर्राष्ट्रि«य धाविका मिरा राईलगायतको नाम भने सुनेकी थिएन् । उनले सन् २०२१ उनले आफूले देखेको सपना पूरा गर्ने अवसर पाइन् । गाउँमै सम्पन्न ४२ किमी दूरीको दौडमा भाग लिएकी उनी पाँचौँ भइन् । सो प्रतियोगिताको अतिथिमा मिरा राईलगायत खेलाडी थिए । सुनुवारले देखाएको उत्कृष्ट प्रदर्शनपछि उनीहरुले नै प्रशिक्षणको अवसर दिएका थिए । प्रशिक्षणका लागि सुनुवार काठमाडौँ आइन् । केही समय प्रशिक्षण लिएपछि दौडलाई निरन्तरता दिइन् । उनले हालै सम्पन्न मञ्जुश्री ट्रेलको एक सय किमीको दौड २३ घण्टा ५६ मिनेट २२ सेकेण्डमा पूरा गरी महिलातर्फ प्रथम भइन् । उक्त प्रतियोगितामा भाग लिने रहर पूरा भएकामा उनी निकै खुसी देखिन्थिन् । पछिल्लो समय उनी काठमाडौँमै रहेर दौडलाई निरन्तर अगाडि बढाएकी छन् । हालै मात्र पनि उनले २८ दिनमा नौ सय किलोमिटर दौडिइन् । जसमा उनी महिला तथा पुरुष दुवैमा पहिलो भइन् । अन्तर्राष्ट्रिय मुलुकमा समेत दौडिसकेकी उनले आगामी दिनमा पनि दौडलाई नै अगाडि बढाउने योजनामा छिन् । अनिता राई, सोलुखुम्बु सोलुखुम्बु महाकुलुङकी अनिता कुलुङ राई पोखरामा दिदीसँग बस्दै गर्दा आम्दानीका लागि साइकल सर्भिसिङको काम गर्थिन् । साइकल सर्भिसिङका क्रममा उनी साइकल दौडाउन सिपालु भइसकेकी थिइन् । यही क्रममा उनले नेपालका विभिन्न स्थानमा जस्तै भारतका केही स्थानमा साइकल कुदाउँदै पुगिन् । यसै क्रममा उनले साइकल चलाएर केही प्रतियोगिता पनि जितिन् । तर उनी यतिमा मात्रै सीमित हुन चाहन्नथिन् । उनको मनमा अझै केही गर्न पाएहुन्थ्यो लागिरहेको थियो । सोही समयमा पोखरामा दौड प्रतियोगिता आयोजना हुँदैछ भन्ने समाचार उनको कानमा प¥यो । विद्यालयमा अध्ययनरत उनको परीक्षा पनि नजिकिँदै थियो । यस्तो अवस्थामा शिक्षकहरुले पनि उनलाई उक्त प्रतियोगितामा भाग लिन सुझाव दिए । उनले शिक्षकको सुझाव ग्रहण गरिन् । चार हजार मिटरको दौडमा पहिलो पटक भाग लिएकी उनी विजेता बनिन् । त्यहाँबाट पाएको हौसलाले उनलाई दौडलाई निरन्तरता दिन हौसल दियो । तर घर परिवारले भने दौडेर जीवन खर्च गर्नुभन्दा विदेश गएर पैसा कमाउन भनिरहेका थिए । परिवारको उक्त सुझावविपरीत भाइले भने दौडनका लागि उत्सह भरिदिए । सोही समयदेखि दौडमा होमिएकी उनले हालसम्म दौडेरै कैयौँ सफलता पाइसकेकी छन् । केही समयअघि सम्पन्न काठमाडौँमा सम्पन्न मञ्जुश्री ट्रेल रेसअन्तर्गतको एक सय माइलको दौडमा उनी दोस्रो भइन् । यो सफलताले उनलाई अब अन्तर्राष्ट्रिय प्रतियोगितामा दौडनका लागि ऊर्जा थपेको छ । प्रिया राई, खोटाङ खोटाङकी प्रिया राई कक्षा ९ पढ्नका लागि काठमाडौँ आएकी थिइन् । अध्ययनका क्रममा उनले तेक्वान्दो प्रशिक्षण लिइन् । तेक्वान्दो प्रशिक्षणका क्रममा उनलाई अब यही क्षेत्रमा लाग्नुपर्छ भन्ने लागेको थियो । तर यसैबीच उनलाई कसैले ट्रेल रनिङबारे सुनाइदिएको थियो । तेक्वान्दोमा रमाइरहेकी उनले एक्कासी भोजपुरमा आयोजना भइरहेको ट्रेल रनिङमा पहिलो पटक भाग लिन पुगिन् । उनका अनुुसार त्यो बेलासम्म दौडमै पनि करिअर बनाउन सकिन्छ भन्ने थाहा थिएन रे । “पहाडका उकालो र ओरालोमा दौडनुपर्ने रहेछ । उक्त प्रतियोगितामा भाग लिइसकेपछि उनले अब तेक्वान्दो नभई यसै क्षेत्रलाई करिअर बनाउँछु भन्ने लागेको हो”, उनले भनिन् । हाल उनी यसै क्षेत्रमा निरन्तर क्रियाशील छन् । रसिला तामाङ, धादिङ धदिङकी सन् २०१५ मा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा ललितपुरको जाउलाखेलस्थित आयोजना गरिएको एउटा तालिममा रसिला तामाङले भाग लिने अवसर पाएकी थिइन् । कार्यक्रममा सँगै गएकी दिदीले त्यो कार्यक्रम छाडेर अर्को कार्यक्रममा जान कर गरिन् । दिदीले भनेको अर्को कार्यक्रम दौड प्रतियोगिता रहेछ । सोही दिवसको आयोजनामा महिलाबीच दौड प्रतियोगिता आयोजना गरिएको रहेछ । तर सहभागीले अधिकांश जिन्स पाइन्ट र जुत्ता पहिरिएका थिए । उनी तुरुन्तै कोठामा पुगिन् र सोही पोशाकमा पुनःकार्यक्रममै फर्किइन् । लाइनमा करिब चार सय महिला दौडनका लागि तयारी अवस्थामा थिए । उनी पनि त्यही भीडमा मिसिइन् । दौडने सङ्केत पाएसँगै उनी पनि भीडमा दौडिइन् । त्यो दौड रसिलाका लागि पहिलो थियो । पाँच किलोमिटर दूरीको उक्त दौडमा रसिला दोस्रो भइन् । पहिलो दौडमै सफलता पाएकी उनले त्यसपछि दौडमै आफूलाई केन्द्रित गरिन् । पछि विस्तारै अन्य प्रतिस्पर्धामा पनि भाग लिन थालिन् र अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि भाग लिन थालिन् । हालै सम्पन्न मञ्जुश्री ट्रेल रेसमा ५० किलोमिटरतर्फ उनी दोस्रो भइन् । उनले दौडकै सिलसिलामा एक दर्जनभन्दा बढी मुलुक पुगिसकेकी छिन् । हाल उनी दौडमै करिअर बनाउनेगरी सक्रिय छन् । छोकी शेर्पा, ओखलढुङ्गा ओखलढुङ्गाकी छोकी शेर्पा एसएलसी सकेर उच्च शिक्षाका लागि काठमाडौँ आएकी थिइन् । गाउँकै साथीहरु दौड प्रतियोगितामा भाग लिएको देखेर उनी पनि यसमा आकर्षित भएकी रहिछन् । साथीहरुको सङ्गतले उनी पनि यसैमा जोडिँदै गइन् । सन् २०१८ मा उनले पहिलो पटक औपचारिक रुपमा दौड प्रतियोगितामा सहभागी भइन् । उनको पहिलो दौड तीन सय किमीको अन्नपूर्ण सर्किटमा थियो । सात किलोसम्मको भारी बोकेर १२ दिनमा पूरा गर्नुपर्ने सो दौडमा उनी सफल भइन् । त्यसपछि हो दौडप्रति उनको लगाव अझ बढ्यो । दौडका क्रममा उनी विभिन्न देश पुगेकी छन् । हालै सम्पन्न मञ्जुश्री ट्रेल रेसको ५० किमी दौडमा उनी पहिलो भइन् । उनी दौडकी कारण आफू सङ्कुचीत हुन नपाएको बताउँछिन् । दौडमार्फत प्रकृतिको अवलोकन गर्न पाएको र त्यससँगै आफूलाई जोडुन पाएको उनको बुझाइ छ । उनले पहिलो दौडमा लगाएको कन्भर्स जुत्ताले बनाएको घाउको अझै पनि सम्झना आउँछ । पछिल्लो समय उनले भाग लिएको काठमाडौँ भ्याली रिम च्यालेञ्जमा उनी पहिलो बनिन् ।
तनहुँ: मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पृथ्वीराजमार्गमा वर्षायामभरी सडक स्तरोन्नतिका बन्द गरिने भएको छ । मनसुन अवधिभरि कालोपत्र तथा सडक विस्तारको काम रोकेर पानीले असर नगर्ने नाला, कल्र्भट र पर्खाल निर्माणलाई जोड दिइएको हो । असारदेखि असोज महिनासम्म मनसुन सक्रिय रहने भएकाले कालोपत्र र सडक विस्तार रोकी अन्य निर्माणलाई प्राथामिकता दिइएको मुग्लिन–पोखरा सडक आयोजनाअन्तर्गत पूर्वी खण्डका इञ्जिनियर विष्णु पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरो जान सक्ने स्थानमा भूक्षय रोक्ने किसिमका बिरुवा लगाउने, सडकको छेउमा दुबो रोप्नेलगायत कार्य भइरहेका छन् । “बाढीपहिरोले राजमार्गमा अवरुद्ध हुनसक्छ, पहिरोले भौतिक तथा मानवीय क्षतिसमेत हुनसक्ने भएकाले क्षतिलाई मध्यनजर गर्दै दिउँसोको समयमा सर्तकता अपनाएर काम गर्ने गरिएको छ”, इञ्जिनियर पाण्डेले भन्नुभयो, “हालसम्म पूर्वीमा ६२ र पश्चिम खण्डमा २८ प्रतिशत कार्य प्रगति भइसकेको छ । राजमार्गको ८० किलोमिटर सडकमध्ये करिब ५३ किमी सडकमा कालोपत्र भइसकेको उहाँले जानकारी दिनुभयो । “पूर्वीमा ३३ र पश्चिम खण्डमा २० किमी कालोपत्र भइसकेको छ”, पाण्डेले भन्नुभयो, “राजमार्गको पूर्वीमा ४१ दशमलव सात किमी र पश्चिममा ३८ दशमलव ८८ किमीलाई दुई खण्डमा विभाजन गरी काम गरिरहेका छौँ ।” पश्चिम खण्डमा दुई लेनको गरी २० किमी सडकमा कालोपत्र गरिएको छ । असारदेखि असोजसम्म मनसुन सक्रिय रहेकाले कालोपत्र कार्य रोकेर अन्य काम गर्न लागिएको आयोजनाको पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कालोपत्र गर्न ‘सबबेस’ र ‘बेस’ विछ्याउने समयमा वर्षा भएमा थप समस्या हुने भएकाले काम बन्द गरिएको हो । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई विसं २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । राजमार्ग सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक एडिबीको ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको आयोजना कार्यालयले जनाएको छ । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा भएको आयोजनाले जनाएको छ ।
काठमाडौँ: नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले संविधान र कानुनको दायरमा रहेर पीडितलाई न्याय महसुस हुनेगरी कार्यसम्पदान गर्ने बताउनुभएको छ । उहाँले आज पदवहालीका क्रममा संविधान र कानुनले निदृष्ट गरेका अधिकार पालना गर्दै पीडितलाई न्याय हुनेगरी कार्यसम्पादन गर्ने बताउनुभयो । “पीडितलाई न्याय दिने दायित्व यस कार्यालयको हो, संवैधानिक दायराभित्र रहेर आफ्नो दायित्व पूरा गर्नेछौँ”, महान्यायाधिवक्ता बडालले भन्नुभयो, “मुद्दाको अभियोजन गर्दा दोषी व्यक्तिलाई मात्र गर्ने गर्छौँ ।” उहाँले सरकारी वकिललाई पहिलो न्यायाधीश मानिने भएकाले मुद्दाको राम्रो अध्ययन गरेर अघि बढ्न सुझाव दिनुभयो । महान्यायाधिवक्ता कार्यालयले अभियोजन र सरकारलाई उचित कानुनी सल्लाह दिने, सरकारलाई परेको मुद्दाको प्रतिरक्षा गर्नेलगायत काम गर्ने भएकाले आफूले संवैधानिक दायित्व पूरा गर्ने बडालले प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले बिगो प्रणालीमा मापदण्ड निर्धारण गरी क्षतिपूर्ति निर्धारण गर्ने विषयमा छलफल गर्ने र अभियोजनमा एकरुपता ल्याई अदालतलाई न्याय प्रदान गर्ने काममा सबैबाट सहयोग पाउने विश्वाससमेत व्यक्त गर्नुभयो । राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महान्यायाधिवक्ता रमेश बडाललाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको थियो । प्रधानमन्त्रीको सिफारिसमा बुधबार राष्ट्रपतिले सरकारको कानुनी सल्लाहकारका रूपमा बडाललाई नियुक्त गर्नुभएको थियो । यसअघि, बडाल छोटोे समयका लागि महान्यायाधिवक्ता हुनुभएको थियोे ।
काठमाडौँ: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले मुलुकमा स्थायित्व कायम गर्नकै लागि ठूला दल मिलेर नयाँ सरकार बनेकाले राजनीतिक समीकरणलाईसमेत हेरेर आशावादी हुन निजी क्षेत्रलाई आग्रह गरेका छन् । नेपाल उद्योग परिसङ्घ (सीएनआई) आज अर्थमन्त्रालयमा भएको छलफलमा उनले नीतिको स्थिरता र कार्यान्वयनको स्थायित्व आवश्यक रहेकाले यसमा केन्द्रित भई सरकारले काम गर्ने बताए । “प्रधानमन्त्री पटक भूतपूर्व प्रधानमन्त्रीको फोटो टाँस्न आउनुभएको होइन । समस्या देखेर त्यो समाधानका लागि सरकार आएका हौँ”, अर्थमन्त्री पौडेलले भने, “अर्थतन्त्रमा आशाको दियो बाल्ने प्रयास हुनेछ ।” उनले समस्या मात्र नभई समाधानका लागि निजी क्षेत्रसँगसँगै बसेर छलफललाई केन्द्रित गर्नेसमेत उल्लेख गरे । परिसङ्घको तर्फबाट सफल कार्यकालको शुभकामना दिँदै अध्यक्ष राजेशकुमार अग्रवालले विगत तीन वर्षदेखि शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको बनोबल बढाउनुपर्ने सुनाए। उत्पादनशील र निर्माण क्षेत्र बढी प्रभावित हुँदा बाह्य क्षेत्र उत्साहजनक भए पनि आन्तरिक अर्थतन्त्र अझै समस्यामा रहेको उनको भनाई थियो। विगत तीन वर्षदेखि उद्योग ३०÷४० प्रतिशत क्षमतामा सञ्चालन भइरहेको र समग्र बजार मागमा सङ्कुचन आउँदा अर्थतन्त्र चलायमान हुन नसकेको अध्यक्ष अग्रवालले बताए। परिसङ्घले अर्थतन्त्रलाई चलायमान बनाउन समग्र माग बढ्ने नीति लिनुपर्ने, पुँजीगत खर्च बढाउन सुनिश्चितता प्रदान गर्नुपर्नेमा जोड दिएको छ । सो अवसरमा परिसङ्घका निर्वतमान अध्यक्ष विष्णुकुमार अग्रवाल, पूर्व अध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरु वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, रोहित गुप्तालगायतले मन्त्री पौडेलको सफल कार्यकालका लागि शुभकामना दिएका थिए ।