पोखरा:  भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले गण्डकी प्रदेशमा समावेशी, सन्तुलित र दिगो विकास सुनिश्चित गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभएको छ । भौतिक पूर्वाधार विकास तथा य...

काठमाडौं:     प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बधाई तथा शुभकामना दिन चाहनेलाई डिजिटल माध्यमबाट दिन अनुरोध गर्नुभएको छ । उहाँले आज सामाजिक सञ्जाल फेसबुकमार्फत समयको बचतका लागि त्यसो गर्न अनुरोध गर्नुभएको हो ।   प्रधानमन्त्री ओलीले भेटमा बधाई तथा शुभकामना दिन चाहनेलाई पनि खादा प्रयोग नगर्न अनुरोध गर्नुभएको छ । उहाँले आफ्ना शुभेच्छुकलाई सकेसम्म म्यासेञ्जरबाट सन्देश पठाउन अनुरोध गर्नुभएको छ ।  “विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन्, प्रत्यक्ष भेटेरभन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरूको समयको पनि बचत हुन्छ, शुभेच्छुक सबैलाई सकेसम्म  म्यासेञ्जरबाट सन्देश पठाउन र भेटमा पनि खादामाला प्रयोग नगर्न अनुरोध गर्छु”, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत उल्लेख  गर्नुभएको छ । गत असार ३० गते उहाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको होे ।

पोखरा:   अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परि देशभर गत जेठ २८ गतेदेखि साउन १ गतेसम्म कुल १ सय २० जनाले ज्यान गुमाएका छन् ।   प्रहरी हेडक्वाटरको तथ्याङ्क अनुसार विपद्मा परि काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा १५ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ८ जना गरी कुल १ सय २० जनाको मृत्यु भएको हो ।    यस्तै विपद्मा परी १ सय ३५ जना घाइते भएका छन् ।   प्रहरीको तथ्याङ्क अनुसार काठमाडौं उपत्यकामा ८ जना, कोशी प्रदेशमा ३४ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २८ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा २९ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १ सय ३५ जना घाइते भएका छन् ।    घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्दार गरिएको छ ।   बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ८ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।    बाढीको कारण जम्मा १ सय ८२ घर डुबानमा परेका छन् । २ सय १३ वटा घर, ७९ वटा गोठ, ४३ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।   ५ सय ८१ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट ३ हजार ६ सय ५२ घर परिवार विस्थापित भएका छन् ।   साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्यसमेत प्रहरीले गरिरहेको छ ।

काठमाडौं:    प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चर्तुमासा पनि भनिन्छ । एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुमासका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् । हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चारनारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ । एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ । वैज्ञानिक रुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा प्रयोग गरिन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता छ भने तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्य वैज्ञानिक रूपमा पुष्टि भएको छ । चार महिनासम्म विधिपूर्वक पूजाआराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ । तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चर्तुमासा व्रतको उद्यापनका लागि हवनसमेत गरिन्छ । कोरोनाबाट बच्न मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न पनि तुलसीलगायत जडीबुटीले काम गर्ने जनाइएको छ । दुई वर्षअघिदेखि सिंहदरबार वैद्यखाना विकास समितिले बनाएको तुलसी चियाको माग बजार बढेको छ । यी तथ्यले तुलसीको महत्व स्पष्ट पार्छ ।

काठमाडौं:     मुगु जिल्लाको दार्मा आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको दार्मा आसपास केन्द्रविन्दू भएर आज बिहान ४ बजेर ४० मिनेटमा तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत असार २६ गते नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङको तापेथोक केन्द्रविन्दू भएर भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ ।

पोखरा:    पोखरा महानगरपालिका–२३ घाँटीछिनास्थित हर्पन खोलामा डुबेर बेपत्ता भएका युवकको शव सशस्त्र प्रहरीको गोताखोरले मंगलबार दिउँसो फेला पारेको छ । धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–७ घर भई पोखरा महानगरपालिका–८ नागढुङ्गा बस्ने २५ वर्षीय सन्तोष सिंखडा पौडी खेल्ने क्रममा सो खोलामा डुबेर बेपत्ता भएका थिए । सो घटनाबारे जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट गोताखोरसहितको विपद् व्यवस्थापन टोलीले डिप ड्राइभ गरी झण्डै २० फिट गहिराइबाट उनको शव बाहिर निकालेको हो ।  उनको शव पोष्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

काठमाडौं:    महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले राजीनामा दिनुभएको छ । मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता डा। दीनमणि पोखरेलले महान्यायाधिवक्ताको पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले राष्ट्रपति पौडेलसमक्ष प्रधानमन्त्रीमार्फत महान्यायाधिवक्ता डा। पोखरेलले महान्यायाधिवक्ताको पदबाट दिनुभएको राजीनामा स्वीकृत भएको जानकारी दिनुभयो । महान्यायाधिवक्ता डा. पोखरेलले प्रधानमन्त्रीमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नियुक्त हुनुभएपछि पदबाट राजीनामा दिनुभएको हो । महान्यायाधिवक्ता प्रधानमन्त्रीको कानुनी सल्लाहकार पद हो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भएपछि उहाँले  पोखरेललाई महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको थियो ।  

काठमाडौं:    राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनका बैठकबाट पारित तीन विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपतिले आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुल विधेयक, २०८१ आज प्रमाणीकरण गर्नुभएको हो । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम ती विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

पोखरा:   पोखरा महानगरपालिकाले सुन्तला कृषकहरूलाई अनुदान प्रदान गरेको छ । नगर प्रमुख धनराज आचार्यले किसानहरूलाई सुन्तला बगैँचा व्यवस्थापन प्रोत्साहन कार्यक्रम अन्तर्गत नगद रु.२५ लाख बराबरको अनुदान प्रदान गर्नुभएको हो । नगरप्रमुख आचार्यले कृषकहरूलाई व्यवसायीकरण गर्दै उत्पादन वृद्धि र पेसाप्रतिको आकर्षण बढाउनका लागि महानगरपालिकाको तर्फबाट अनुदान सहायता प्रदान गरिएको बताउनुभयो । उहाँका अनुसार वडा स्तरमा सुन्तलाको पकेट कार्यक्रम सञ्चालन गरी कृषकहरूलाई व्यवसायीकरण र उत्पादन वृद्धिमा महानगरले जोड दिएको बताउनुभयो । महानगरको आर्थिक विकास महाशाखा प्रमुख प्रमुख मनोहर कडरियाले सुन्तला कृषकहरूलाई महानगरपालिकाले विगत पाँच वर्षदेखि अनुदान उपलब्ध गराउँदै आएको बताउनुभयो । ताकिएको मापदण्ड अनुसार किसानबाट प्राप्त निवेदनका आधारमा प्राविधिक टोलीको स्थलगत अनुगमन पश्चात् योग्य कृषकहरूलाई अनुदान प्रदान गरिएको कडरियाले जानकारी दिनुभयो ।  पोखरा महानगरपालिकाको कृस्ती, निर्मलपोखरी, खाल्टे, मासपाटन, फेदीपाटन लगायत स्थानका दुई सय ८० किसानलाई अनुदान प्रदान गरिएको छ । महानगरपालिकाले सुन्तला बगैँचा व्यवस्थापनका लागि विभिन्न मापदण्ड बनाइ प्रतिबोट अधिकतम एक सय ५० का दरले १० हजार ६ सय ५२ बोटका लागि अनुदान वितरण गरेको हो । अनुदान प्राप्त गर्न प्रत्येक बोटमा एक सय किलो प्राङ्गारिक मल अनिवार्य राख्न रु.५०, बोडो पेस्ट गरेबापत रु।४०, बोडो मिक्स्चर स्प्रेबापत रु.३० र बोटको वरपर बाक्लो छापो लगाएबापत रु।३० गरी एक सय ५० प्रदान गरिएको हो । सुन्तलालाई असिनाको प्रभाव कम गर्न आर्थिक वर्ष २०८१/०८२ मा महानगरपालिकाले ७ं प्रतिशत अनुदानमा जाली उपलब्ध गराउने छ ।

पोखरा:     पोखरा महानगरपालिकाले चैते धान लगाउने कृषकहरूलाई प्रोत्साहन रकम प्रदान गरेको छ ।  महानगरको वडा नं.२६ र २७ का २२६ जना कृषकहरूलाई नगद रु.६ लाख ८१ हजार ३ सय बराबरको प्रोत्साहन रकम प्रदान गरेको हो । उनीहरूलाई सोमबार आयोजित एक कार्यक्रमका बिच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य उक्त प्रोत्साहन प्रदान गर्नुभएको हो ।  प्रोत्साहन रकम प्रदान गर्दै नगर प्रमुख आचार्यले कृषिलाई पोखरा महानगरपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो । कृषिको यान्त्रीकरण तथा व्यवसायीकरण, उत्पादकत्व वृद्धि, बाँझो जमिनमा खेतीपाती, विभिन्न बालीहरूको क्लष्टरमा खेती, वडा स्तरमा पकेट कार्यक्रमहरू, कृषक सम्मान तथा प्रोत्साहन, अुनदात र साझेदारी लगायतका कार्यक्रमहरू मार्फत महानगरको कृषि प्रवर्द्धन गरिएको उहाँले बताउनुभयो ।  कृषि उपजको बजारीकरणका लागि समेत महानगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गरेको उहाँले बताउनुभयो । निर्वाहमुखी कृषिलाई बिस्तारै व्यवसायीकरणका लागि कृषकहरूसँग महानगरपालिकाले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको उहाँले बताउनुभयो । पछिल्लो समय पोखरामा चैते धानको उत्पादन राम्रो भएको उल्लेख गर्दै उहाँले यसप्रति कृषकहरूको आकर्षण समेत बढिरहेको नगरप्रमुख आचार्यले बताउनुभयो । कृषकहरूलाई प्रदान गरिएको प्रोत्साहन रकमले उनीहरूलाई थप हौसला मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । पोखरा महानगरपालिका आर्थिक विकास समितिका संयोजक बोध बहादुर कार्कीले कृषकहरूको हौसला अभिवृद्धि गर्दै उद्यमशीलता प्रवर्द्धनका लागि महानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । वडा नं.२७ का वडा अध्यक्ष पूर्णकुमार गुरुङले महानगरपालिका कृषकहरूको साथैमा रहेको बताउनुभयो । यस प्रकारका प्रोत्साहन कार्यक्रमहरूले कृषकहरूलाई  पेसा प्रति आकर्षण बढाउने उहाँले बताउनुभयो ।  यस वर्ष पोखरा महानगरपालिका वडा नं.२६ मा ४३९ रोपनी र वडा नं।२७ मा ३१८ रोपनी गरी ७५७ रोपनी क्षेत्रफलमा चैते धान लगाइएको छ । सोमबार वडा नं.२६ का १२३ जना कृषकहरूलाई ३ लाख ९५ हजार १ सय र वडा २७ का १०३ जना कृषकहरूलाई २ लाख ८६ हजार २ सय रुपैयाँ प्रोत्साहन प्रदान गरिएको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो । उहाँका अनुसार महानगर क्षेत्रको करिब १ सय हेक्टर क्षेत्रफलमा ५ सय मेट्रिक टन चैते धान उत्पादन हुने अनुमान गरिएको छ ।  कार्यक्रममा विभिन्न संघसंस्थाहरुलाई सम्मान गरिएको छ भने, सूचिकृत व्यवसायीक कृषकहरूलाई किसान परिचय पत्र समेत प्रदान गरिएको छ ।