पोखरा:  भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले गण्डकी प्रदेशमा समावेशी, सन्तुलित र दिगो विकास सुनिश्चित गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभएको छ । भौतिक पूर्वाधार विकास तथा य...

देशभर मनसुनको प्रभाव यथावत छ।   बिहीबार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।    मनसुनी वायुको प्रभावका कारण हाल देशभर साधारणतया बदली रही गण्डकी प्रदेशका केही र कोशी, बागमती र लुम्बिनी  प्रदेशका थोरै तथा मधेस, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।    दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।     साथै कोशी, बाग्मती  र सुदुरपश्चिम प्रदेशका एक-दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको पनी महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ।   बिहीबार राति पनि देशभर आंशिक देखि साधारणतया बदली रही कोशी,बागमती,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश,गण्डकी र सुदूरपश्चिम  प्रदेशका एक-दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

पोखरा:    गण्डकी विश्वविद्यालयमा एमआइटी एआई कार्यक्रम सार्वजनिक भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै विश्वविद्यालयले मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी आर्टिफिसियल इन्ट्लीजेन्स कार्यक्रमको सार्वजनिक गरेको हो ।  अब सो सम्बन्धि अध्ययन गर्न इच्छुक विद्यार्थीले उक्त अवसर गण्डकी विश्वविद्यालयमा पाउनेछन् । सेप्टेम्बर महिनाबाट एमआइटी एआईको कक्षा सुरु हुने जानकारी गराइएको छ ।  कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले एमआइटी एआई विषय समय सान्दर्भिक भएको बताए ।  प्राविधिक शिक्षा आजको आवश्यक्ता रहेको भन्दै उनले बजारले खोजेको शिक्षा उपलब्ध गराउन विश्वविद्यालयलाई निर्देशन दिएका छन् ।  “प्रविधि मैत्री शिक्षा आजको आवश्यकता हो । बजारले खोजेको जस्तो शिक्षित जनशक्ति उत्पादनमा जोड गरौं ।“, उनले भने । मन्त्री थापाले रोजगारीका लागि विदेश जाने बाध्यात्मक परिस्थितिको अन्त्य गर्न यस्ता कार्यक्रम सहायक सिद्ध हुने विश्वास लिएका छन् ।  एमआइटी एआई कार्यक्रमको सार्वजनिकिकरण सङ्गै प्रचारप्रसारको समेत आवश्यक्ता रहेको भनाई उनको छ । विश्वविद्यालयलाई समन्वयात्मक हिसाबले अगाडी बढाउनुपर्ने विषय उनले उठाएका छन् ।  गुणस्तरीय शिक्षालाई आत्मसात् गर्दै शैक्षिक आयाम र आयतनमा बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको भनाई मन्त्री थापाको छ ।  विश्वविद्यालयका डीन कपील अधिकारीले एमआईटी एआईको आवश्यक्ता ठानेर नै कार्यक्रम सार्वजनिक गरिएको उल्लेख गरे । उनले विश्वविद्यालयले प्राविधिक विषयलाई प्राथमिकतामा राखेको बताए । एआईको अध्ययन गर्ने विद्यार्थी पछाडी नपर्ने भनाई उनको छ । नेपालको अर्थतन्त्र सुधारमा एआईको भूमिका महत्वपूर्ण रहेको उनले बताए ।  सरकारी तथा गैरसरकारी क्षेत्रमा एआईको प्रयोगलाई बढाउने उदेश्य सहित विश्वविद्यालयले एमआईटी एआई कार्यक्रम सार्वजनिक गरेको भनाई उनको छ । आइटीमा जति धेरै उत्पादन गरिएता पनि खपत हुने उनले बताए ।  रजिस्ट्रार कैलाश तिमिल्सिनाले २०७६ सालबाट संचालनमा आएको गण्डकी विश्वविद्यालयले छोटो समयमा नै फड्को मारेको जानकारी गराए । पोखरा ३२ मा आफ्नै संरचना खडा गरि आइटी र फार्मेसीको क्षेत्रमा अध्ययन अध्यापन गराउदै आएको उनले बताए । विश्वविद्यालयले आविस्कार केन्द्रको समेत स्थापना गरेको छ । गण्डकी विश्वविद्यालयमा ५२ जिल्लाका विद्यार्थीको आबद्धता रहेको उनले उल्लेख गरे ।  कुलपति गणेशमान गुरुङले आइटी पार्कलाई समेत अगाडि बढाउनुपर्ने आवश्यकतालाई औंल्याएका छन् । ५७६ रोपनी जग्गा विश्वविद्यालयको नाममा प्राप्त भएको उनले जानकारी गराए । विश्वविद्यालयले प्राप्त गर्ने अनुदानमा उदार हुन प्रदेश सरकारलाई उनको आग्रह छ ।  

पोखरा:     युुनाइटेड क्लब पोखराले पोखरा बहुमुखी क्याम्पसमा छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । क्लबले क्याम्पसमा अध्ययनरत जेहेन्दार तथा विपन्न  विद्यार्थीहरुलाई लक्षित गरी एक लाखको अक्षयकोष स्थापना गरेको हो । अक्षयकोषका लागि क्लबका अध्यक्ष राजु श्रेष्ठ, क्लबका शिक्षा उपसमिति संयोजक गणेश तिमिल्सिना लगायतले पोखरा बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष नरेन्द्र लालचन, क्याम्पस प्रमुख सिशुकला पराजुली, क्याम्पस आइ क्यू ए सी प्रमुख महेन्द्र प्रसाद रिमाललाई चेक हस्तान्तरण गरिएको हो । सो अवसरमा बोल्दै पोखरा बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष नरेन्द्र लालचनले युुनाइटेड क्लबले जेहेन्दार विद्यार्थीहरु अध्ययन गर्ने पोखरा बहुमुखी क्याम्पसमा आएर अक्षयकोष स्थापना गरेकोमा धन्यवाद ब्यक्त गरे ।  युनाइटेड क्लबको सहयोगले क्याम्पसमा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीहरुलाई कालान्तर सम्म शिक्षामा सहयोग पुुग्ने उनको भनाइ रहेको थियो । युुनाइटेड क्लवले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटनको क्षेत्रमा पुु¥याएको योगदानको कदर गर्दै आफ्नो क्याम्पसमा दिउसोको समयमा विभिन्न ठाउँमा जागिर गर्दै बिहानको समयमा विद्यार्थीहरु अध्ययन गर्ने गरेको बताउदै युनाइटेड क्लव पोखराको सहयोगले उनीहरुको शिक्षामा थप उर्जा मिलेको समेत लालचनले बताए । त्यस्तै क्याम्पसका प्रमुख सिशुकला पराजुलीले शिक्षाबाट बञ्चित भएका जो कोही बिद्यार्थीलाई शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना गरेको पोखरा बहुमुखी क्याम्पसको अभियानमा जोडिन पुुगेकोमा युनाइटेड क्लव परिवार प्रति आभार  प्रकट  गरिन । युनाइटेड क्लबले युवाको जाँगर राष्ट्र निर्माणको आधार भन्ने मुल अभिप्रायका साथ अगाडी बढेकाले त्यसको सिको गर्न समेत बिद्यार्थीहरुलाई पराजुलीले आग्रह गरिन । क्याम्पस आइ क्यू ए सी प्रमुख महेन्द्र प्रसाद रिमालले युनाइटेड क्लवले देशभरिमा सामाजिक काम गर्दै आइरहदा पोखरा बहुमुखी क्याम्पसको शैक्षिक बिकासको लागि अक्षयकोष स्थापना गरेकोमा आभार प्रकट गरे । अक्षयकोषले विद्यार्थीहरुले विउको रुपमा लिनुपर्ने वताउदै पोखरा महोत्सवमा टिकट काटेर सहभागी भएकाहरुलाई सो रकम फिर्ता अभियानका रुपमा आफुले लिएको बताए । आगामी मंसिर १६ गते क्याम्पसको वार्षिकोत्सवको अवसरमा अक्षयकोषबाट जेहेन्दार तथा विपन्न परिवारका विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण कार्यक्रममा क्लबलाई समेत निमन्त्रणा गर्ने रिमालले बताए । सो अवसरमा वोल्दै क्याम्पसमा अध्ययनरत छात्रा  अस्मिता ठकुरीले युनाइटेड क्लब पोखराले आफुहरुको क्याम्पसमा आएर अक्षयकोष स्थापना गरी सम्पूर्ण विद्यार्थीहरुलाई पढाइ प्रति लगाव राख्न थप मदत गर्ने बताइन । क्लबका अध्यक्ष राजु श्रेष्ठले युनाइटेड क्लबले स्थापना कालदेखी हाल सम्म आइपुुग्दा एक दर्जन वढी विद्यालयहरुमा आर्थिक अभावका बावजुद पनि जेहेन्दार रुपमा पढाइ गरिरहेका विद्यार्थीहरुलाई लक्षित गरी अक्षयकोष स्थापना गरिसकेको बताए । क्लवले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन, सेती नदी संरक्षण र प्राकृतिक प्रकोप र विपदमा सहयोग गर्दै आइरहेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनको भनाइ रहेको थियो । पछिल्लो समय नेपालबाट उच्च शिक्षाको नाममा विदेशिने क्रम वढ्दै जाँदा विद्यार्थीहरुले पनि ब्यवहारिक शिक्षाका लागि पहलकदमी थाली स्वदेशमै व्यवहारिक शिक्षाको लागि सरकारलाई सचेत गराउन विद्यालय स्तरबाटै विद्यार्थीहरु लाग्नुपर्ने उनको भनाइ रहेको थियो ।  क्लबका पूर्व अध्यक्ष सुक बहादुर गुरुङ, क्लबका कोषाध्यक्ष सुुर्य बहादुर बानियाँ, क्लबका कार्यसमिति सदस्यहरु सन्तोष कार्की, जयराम आचार्य लगायतको सहभागीता रहेको कार्यक्रममा शिक्षा उपसमिति संयोजक गणेश तिमिल्सिनाले स्वागत मन्तब्य राखेका थिएभने कार्यक्रमको सञ्चालन युनाइटेड क्लबका महासचिव दिनेश सुनारले गरेका थिए ।  

पोखरा:    नेपाल राष्ट्र बैंकद्धारा आर्थिक वर्ष २०८१/०८२ लागि जारी हुने मौद्रिक नीतिका लागि नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले ७ बुँदे सुझाव दिएको छ ।  नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष किसान सुनारले आज (बुधबार) प्रेस विज्ञप्ती जारी गर्दै आर्थिक वर्ष ०८१/०८२ का लागि जारी हुने मौद्रिक नीतिका लागि ७ बुँदे सुझाव दिएका हुन् ।   महासंघका अध्यक्ष सुनारले हस्ताक्षर गरिएको विज्ञप्तीमा भनिएको छ, ‘सुनको माग र आपूर्ति बीच अत्यन्तै असामञ्जस्यपूर्ण असंतुलन रहेको, गैह्र कानूनी पैठारीमा प्रभावकारी नियन्त्रण हुन नसकेको, बैंकबाट सुनको खरीदको लागि सिफारिश गर्न पाउने अधिकार विभिन्न संस्थाहरुलाई प्रदान गरिएकोले एउटै फर्मले विभिन्न संघहरुको सदस्यता लिने प्रवृत्ति रहेको, १६औं दिन देखि सिफारिश विना नै सम्बन्धित बैंकले सिधै सुन विक्री गर्न सक्ने प्रावधान रहेकोले त्यस दफाको गलत उपयोग गर्दै अपारदर्शी ढंगले सुन विक्री वितरण भइरहेको, वहुल निकास विन्दु (Plural Outlet)को परिपाटीले गर्दा विचलन र विसंगतिको संभावना अधिक रहेको र त्यसको वास्तविक दोषी को हो भन्ने पनि किटान गर्न कठिनाई हुने अवस्था रहेको, एउटा फर्मले बैंकबाट किनेको सुन अर्को सुन व्यवसायी फर्मलाई जस्ताको तस्तै (ढिक्का सुन) विक्री गर्न पाउने प्रावधानले बजारमा नकारात्मक असर पर्ने गएकोले यस दफाको अन्यथा प्रयोग गरी ढिक्का सुनको अन्तर–व्यवसाय कारोवार वढ्न गएको प्रति महासंघले ध्यानाकर्षण गराएको छ । सुनको आयातलाई ओ.जि.एल अन्तर्गत राखिनुपर्ने जोड दिँदै ओ.जि.एल.मा नराखि हालकै व्यवस्था कायम गरिएको अवस्थामा सुनको आपूर्ति तथा बिक्री वितरणलाई न्यायोचित तुल्याउन महासंघले सुझाव दिएको अध्यक्ष सुनारले बताए ।  यस्ता छन् ७ बुँदे सुझाव: १. “सुन आयात तथा विक्री वितरण सम्बन्धि व्यवस्था”को लागि नेपाल राष्ट्र बैंकद्वारा जारी भएको “एकिकृत इ.प्रा. परिपत्र: ३.२०७९”मा “सुन आयात तथा विक्री वितरण सम्बन्धि कार्यविधि– २०६८” को दफा १०.ख.३ मा “अर्को व्यवस्था नभएसम्म साविक वागमती अञ्चलका आठ जिल्ला बाहेकका अन्य सबै जिल्लाहरुको लागि छुट्टाइएको ५० प्रतिशतको हकमा सो परिमाणलाई शतप्रतिशत मानी नेपाल सुनचाँदी व्यवसायी संघले ६५ प्रतिशत, नेपाल रत्न तथा आभुषण संघले २० प्रतिशत, नेपाल सुनचाँदी कला व्यवसायी संघले ७.५ प्रतिशत तथा नेपाल हस्तकला महासंघले २.५ प्रतिशतको सीमाभित्र रही सिफारिश गर्नु पर्नेछ” भनि उल्लेख गरिएको छ ।        प्रत्येक जिल्लामा गहना व्यवसायीहरुका प्रतिनिधिमूलक संघहरु कार्यरत रहेको र मुलुकभरका संपूर्ण जिल्लाहरु र गहना व्यवसायीहरुको प्रतिनिधित्व गर्दै संघीय तहमा महासंघहरु एवं अन्य संघ संस्थाहरु समेत कार्यरत रहेको वर्तमान अवस्थामा यस्तो जिम्मेवारी केही संस्थाहरुलाई मात्रै दिइनु न्यायोचित देखिदैंन । राज्यले दिएको सुविधा सबै संघ संस्थाहरुले समान रुपमा उपभोग गर्न पाउनु पर्दछ ।  समानस्तरका संघ संस्था मध्ये कसैले पाउने र कसैले नपाउने अवस्था हुनुहुदैंन । तसर्थ उक्त जिम्मेवारी सम्बन्धित लाभग्राहीले नै प्रत्यक्ष र समानुपातिक रुपमा सीधै उपभोग गर्न सक्ने गरी महासंघलाई वा महासंघमा आवद्ध सबै संघ संस्थाहरुलाई समान रुपमा दिइनु पर्दछ । त्यसैले एकद्वार प्रणाली नै सबै भन्दा पारदर्शी, व्यावहारिक र बैज्ञानिक हुने हुँदा उक्त प्रणाली लागू हुनु पर्दछ । २. गहना उत्पादनकर्ता व्यवसायीले मात्रै बैंकबाट सुन खरीद गर्न पाउनुपर्दछ । ३. वाणिज्य बैंकहरुले प्रदान गर्ने पुनर्कजा आदिमा आभुषण व्यवसायलाई पनि समावेश गरिनु पर्छ । ४. गहना व्यवसायीले वाणिज्य बैंकबाट सुन खरीद गर्न प्रत्येक बैंकमा खाता खोल्नुपर्ने र यो व्यवसायलाई नै उच्च जोखिममा राखिएकोले खाता खोल्न झन्झटिलो प्रक्रिया पुरा गर्नुपर्ने भएकोले उक्त प्रावधानलाई सरलिकरण गरिनुपर्ने ।   ५. १६औं दिन पछिको सुन पनि गहना उत्पादनकर्ता व्यवसायीले मात्रै खरीद गर्न पाउनु पर्दछ । साथै त्यस्तो सुन विक्री गर्दा नेपाल राष्ट्र बैंकले तोके वमोजिम दैनिक विक्रीको सीमा उल्लंघन गर्न नपाउने र क–कसले सुन खरीद गरेको हो, सोको पूर्ण विवरण सार्वजनिक गर्नुपर्ने । ६. आधिकारिक मूल्य निधार्रण सम्बन्धमा: क. सुनको मूल्य निर्धारणको लागि कानूनी व्यवस्था गर्ने हुनुपर्ने । ख. बैंकले लिन पाउने मूल्य, दैनिक मूल्यमा एक रुपता हुनुपर्ने । ग. बैंकहरुले लिने गरेको होल्डिङ्ग चार्ज खारेज हुनुपर्ने । विक्रीको लागि राखिएको वस्तुमा होल्डिङ्ग चार्ज थप्दै जाने कार्य न्यायोचित छैन । यस्तो कार्य अन्य वस्तुका विक्रेताले पनि गर्न पाउने छुट दिने हो भने संपूर्ण बजार व्यवस्था नै अराजक हुनेछ । घ. एउटै मितिमा बैंकबाट फरक भाउमा खरीद भएको सुनबाट बनेका गहनाहरुको मूल्यमा एक रुपता कायम हुन सक्तैन । तसर्थ दैनिक मूल्य निर्धारणमा नियामक निकायको हस्तक्षेप अपरिहार्य देखिन्छ । ७. आपूर्ति सहज बनाउने अन्य उपायहरु:      विदेशी मुद्रा माथि पर्ने प्रतिकूल चापलाई कम गर्न निम्न उपायहरु अवलम्बन गरिएमा सुनको आपूर्ति क्रमिक रुपमा सहज हुन सक्ने देखिन्छ क. झिटी–गुण्टा अन्तरगतको आयातलाई फराकिलो बनाउने । त्यस्तो आयातमा भंसार आदि शुल्क लगाई मूल्य समायोजन गर्ने । उक्त प्रावधान अन्तर्गत पैठारी भएको सुन सहज रुपमा खरीद विक्रीमा ल्याइनु पर्ने । ख. Buy Back  मार्फत बजारमा आउने सुनको खरीद प्रक्रियालाई सरल बनाउने उपभोक्ताले बेच्न ल्याउने सुन खरीद गर्दा "KYC" को आधारमा कारोवार गर्न सकिने र उक्त बस्तुको स्वामित्व प्रमाणित गर्ने दायित्व विक्रेता–उपभोक्ताको हुने स्पष्ट कानूनी व्यवस्था हुनुपर्ने ।   

चितवन:      चितवनमा रेलमार्ग सर्भे गर्न पुगेका प्राविधिकहरू सम्मिलित टोलीको गाडी स्‍थानीयबासीले जलाइदिएका  छन्। बुधबार दिउँसो भरतपुर महानगरपालिका–७ मा पुगेको आरएच कन्सल्टेन्सीको गाडीलाई स्‍थानीयले नियन्त्रणमा लिएर प्रहरीकै अगाडि जलाइदिएका हुन् । गाडीमा लागेको आगो भरतपुर महानगरपालिकाको दमकलले निभाएको छ । रेल मार्ग पीडित संघर्ष समितिका सचिव दिव्य नेपालले गुगल म्याप सर्भे गर्न आएको टोलीलाई आफूहरूले रोक्न खोजेको बताए । सचिव नेपालका अनुसार टोलीले मंगलबार भरतपुर महानगरपालिका ८ मा सर्भे गरेको थियो । बुधबार  वडा नं. ७ मा सर्भे गर्दागर्दै भेला भएका करिब २ सय स्थानीयले प्राविधिकहरूलाई नियन्त्रणमा लिएका थिए । पूर्व(पश्चिम रेलमार्ग भरतपुरका घना बस्ती भएका वडाबाट जाने गरी सर्भे गरिएको स्थानीयको आरोप छ । त्यसपछि उनीहरू चरणबद्ध आन्दोलमा छन् । बस्तीलाई उजाड बनाएर रेल मार्ग लैजान नदिने बताउँदै उनीहरूले अहिलेको सर्भे नै परिवर्तन गर्नुपर्ने माग गरेका छन् । चितवनमा रेलमार्गको प्रस्तावित रुट भरतपुर महानगरपालिका- ४, ७ र ८ हुँदै नवलपरासीतर्फ लाने योजना छ ।  यसअघि भरतपुर महानगरपालिकाको पहलमा संघर्ष समिति र रेल विभाग तथा सरकारी निकायबीच छलफल भएको थियो । छलफलमा रेलमार्गको सर्भे रुट परिवर्तन गरेर बस्तीलाई कम क्षति गराउने विकल्पमा जाने सहमति भएको थियो । तर, पुरानै क्षेत्रमा सर्भे थालिएपछि स्थानीय आक्रोशित छन् ।

काठमाडौं:     प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आइतबार विश्वासको मत लिने भएका छन् । ओलीले साउन ६ गते आइतबार बस्ने प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेको एमाले सचेतक महेश बर्तौलाले बताएका हुन् ।   आइतबार नै ओली प्रधानमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेशी तोकिएको छ । ७६ (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । तर, ओलीले एक हप्तामै विश्वासको मत लिने तयारी गरेको बर्तौलाले बताए । 

तनहुँ:   तनहुँको व्यास नगरपालिका–१ स्थित भादगाउँमा खिरखाँदी मुहानबाट ल्याइएको खानेपानीको पाइप बाढीपहिरोले बगाएपछि एक सातादेखि खानेपानी आपूर्ति बन्द भएको छ ।  खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले चौध किलोमिटर दूरीमा रहेको व्यास–१३ खिरखाँदी मुहानबाट ल्याइएको खानेपानीको पाइप बाढीपहिराले बगाएपछि पानी आपूर्ति बन्द भएको हो ।  असारको अन्तिम सातादेखिको अविरल वर्षाका कारण गएको बाढीपहिरोले खानेपानीको पाइपमा क्षति पुर्‍याएपछि नियमित पानी वितरण रोकिएको समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले बताउनुभयो ।  उहाँका अनुसार खानेपानीको मुहानसम्म जाने बाटो पहिरोले बगाएपछि मर्मत गर्न ढिलाइ भएको हो । “संस्थाका चार र बाहिरबाट नौ जना मिलेर पाइन मर्मतसम्भारको काम गर्दै आइरहेका छन् । कतिपय स्थानमा पाइप बाढीपहिराले पूरै पुरिएका छन्”, व्यवस्थापक श्रेष्ठले भन्नुभयो, “सम्भव भएसम्म पुरिएका पाइप खोजी पुनः प्रयोग गर्ने र क्षति भएका पाइपमा नयाँ जडान गर्ने काम भइरहेको छ ।”  डाँडा माथिबाट खसेको पहिरोले कतिपय पाइप सेतीनदी किनारसम्म बगाएको बताउँदै श्रेष्ठले जिआई र एचडिपी गरी करिब ५० मिटर पाइपमा क्षति पुगेको जानकारी दिनुभयो ।  नियमित पानी आपूर्ति गर्न मर्मत गर्नाका साथै कतिपय स्थानमा नयाँ पाइप जडान भइरहेको उहाँले बताउनुभयो । लामो दूरी, भौगोलिक विकटता, जनशक्ति अभाव, प्रतिकूल मौसमलगायत कारणले काम गर्न कठिनाइ हुँदा केही समय लागेको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले जनाएको छ ।  सानाठुला गरी चार आयोजनाबाट पानी सङ्कलन गरी व्यास(१ र १२ का दुई हजार छ सय ८० घरमा खानेपानी आपूर्ति गर्दै आइरहेको थियो । खरखाँदी मुहानको पानीको क्षमता प्रतिसेकेन्ड नौ लिटर रहेकामा पहिरोले अवरुद्ध भएपछि पानी वितरणमा समस्या भइरहेको समितिका अध्यक्ष चिजबहादुर दरैले जानकारी दिनुभयो । “छाब्दी मुहान, छाब्दी खोलाका दुई बोरिङ र धुपखोला मुहानका पानी प्रयोग गर्दा प्रतिसेकेन्ड १५ लिटर सङ्कलन हुँदै आएको थियो । अहिले पानी सङ्कलनमा समस्या भएपछि वितरण बन्द भएको हो”, उहाँले भन्नुभयो ।  यसअघि बिहान र बेलुका दुई(दुई घण्टा पानी वितरण हुँदै आएकोमा पानीको स्रोत घटेकाले समय पनि घटाइएको अध्यक्ष दरैले बताउनुभयो । “खिरखाँदी मुहानको पानी नियमित सङ्कलन नहुँदासम्म आपूर्तिमा सहज हुने देखिएको छैन”, उहाँले भन्नुभयो ।  उक्त मुहानको पानी पूर्णरुपमा सञ्चालनमा ल्याउन केही समय लाग्ने देखिएकाले फारो गरेर पानी प्रयोग गर्न खानेपानी उपभोक्ता समितिले सबैलाई अनुरोध गरेको छ ।

काठमाडौं:     ढाकास्थित नेपाली राजदूतावासले बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीहरुलाई सुरक्षित रहन, अत्यावश्यक काममा बाहेक छात्रावास वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आ–आफ्नो कलेज प्रशासनको निर्देशन पालना गर्न अनुरोध गरेको छ । बङ्गलादेशमा जारी ‘कोटा’विरोधी प्रदर्शनहरुमा भएका झडपका कारण बङ्गलादेश सरकारको शिक्षा मन्त्रालयले सम्पूर्ण सरकारी तथा निजी विश्वविद्यालय र शैक्षिक संस्थाहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द रहने भनी गरेको निर्णयको सन्दर्भमा उक्त दूतावासले त्यस्तो अनुरोध गरेको हो । कुनै कारणवश कलेज प्रशासनले छात्रावासबाट अन्य सुरक्षित स्थानमा जान निर्देशन दिएमा वा आफू बसेको स्थानमा सुरक्षा अवस्था प्रतिकूल भएमा दूतावासका द्वितीय सचिव योजना बम्जन र रिया क्षेत्रीलाई क्रमशः+ 880180691013 र + 8801745407958 मा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ । दूतावासले आज सूचना जारी गर्दै बङ्गलादेशमा विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको र सम्पूर्ण नेपाली विद्यार्थीको शान्ति, सुरक्षा सनिश्चित गर्न बङ्गलादेश सरकारका निकाय एवं सम्बन्धित कलेज प्रशासनसँग निरन्तर सम्पर्क एवं समन्वय गरिरहेको बताएको छ ।

काठमाडौं:     गत असार २८ गते चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा दुई बस खसेर यात्रु बेपत्ता भएका घटनाको अध्ययन गर्न गृहमन्त्रालयद्वारा गठित कार्यदलले आफ्नो काम थालेको छ । गृहमन्त्री रमेश लेखकले पद बहालीका क्रममा उक्त घटना अध्ययन गरी प्रतिवेदन दिन मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गर्नुभएको थियो । दश दिनको कार्यादेश दिइएको कार्यदलले आज घटनास्थल पुगेर अध्ययन थालेको कार्यदलका सदस्य नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले घटनास्थलको अध्ययन भइरहेको छ । रिजाल संयोजक रहेको कार्यदलमा प्रहरी वरिष्ठ उपरीक्षक खत्रीसहित सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक शङ्कर खनाल, विपद् प्राधिकरणबाट सन्ध्या सिग्देल, यातायात व्यवसायी सरोज सिटौला र भौतिक पूर्वाधार मन्त्रालयका प्रतिनिधिका रूपमा प्रकाश भण्डारी रहनुभएको छ । आवश्यक घटनास्थल अध्ययन, प्रत्यक्षदर्शी, बाँचेका व्यक्ति, उद्धार टोली, स्थानीय प्रशासनलगायतसँग छलफल गरेर प्रतिवेदन तयार पार्ने कार्यदलले जनाएको छ । बसमा सवार ६५ जनामध्ये तीनजना बाँच्न सफल भएका थिए भने अरु सबै बेपत्ता भएका थिए । अहिलेसम्म १७ जनाको शव फेला परेको छ । अन्य यात्रुको अवस्था अज्ञात छ ।