पोखरा:  भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले गण्डकी प्रदेशमा समावेशी, सन्तुलित र दिगो विकास सुनिश्चित गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभएको छ । भौतिक पूर्वाधार विकास तथा य...

पोखरा:   कास्की जिल्ला अदालतले विभिन्न मुद्धामा फैसला सुनाएको १ सय २९ जना फरार प्रतिवादीहरुलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गत असार महिनाभरी विभिन्न मुद्धामा फैसला भएका ति फरार प्रतिवादीहरुलाई पक्राउ फैसला अनुसार कैद भुक्तानका लागि कारागार पठाएको छ भने जरिवाना असुल गर्ने प्रतिवादीहरुलाई अदालत पठाएको छ ।   पक्राउ भएकामध्येका केही प्रतिवादीहरुलाई ९ वर्ष ७ महिना १० दिन कैद सजाय र नगद रु २ करोड ९० लाख ३ हजार ७ सय ८३ जरिवाना स्वरुप असुल गर्न अदालतले फैसला सुनाएको थियो ।   कुन मुद्धामा कति जना फरार थिए ?   १.    चेक अनादार – ३३ जना २.    बैंकिङ कसूर – ६ जना ३.    वन पैदावार (काठ) को अनियमित निकासी – २ जना ४.    घरेलु हिंसा – १ जना ५.    बिगो – ५ जना ६.    सवारी ज्यान – १ जना  ७.    नकवजनी चोरी – ६ जना ८.    अभद्र व्यवहार – ४ जना ९.    लागू औषध – ५ जना १०.    साधारण चोरी – २ जना ११.    केही सार्वजनिक अपराध – १३ जना १२.    जुवातास – ९ जना १३.    ज्यान मार्ने उद्योग – १ जना  १४.    पशुपंक्षी सम्बन्धी कसूर – ६ जना १५.    सम्बन्ध विच्छेद – १८ जना १६.    नाता कायम – ५ जना १७.    जालसाजी – ५ जना  १८.    झुट्टा बखपत्र गरेको – २ जना  १९.    कुटपिट – १ जना  २०.    लेनदेन – ४ जना  

सङ्खुवासभा:     सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।  पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेहवाहाङले  जानकारी दिए । पहिरोसँगै खसेको विशाल ढुङ्गाले किचेर ५५ वर्षीया मोतिमाया र उनकी बुहारी समीक्षाको मृत्यु भएको गाउँपालिका अध्यक्ष मेवाहाङले बताए । ढुङ्गाले किचेर २९ वर्षीया रविना राई गम्भीर घाइते भएकी छिन् ।  उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए । 

काठमाडौं:     उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्री सिंहको कार्यकक्षमा भएको उक्त भेटमा उहाँहरुबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको थियो ।   उक्त मन्त्रालयका अनुसार राजदूत श्रीवास्तवले मन्त्री सिंहलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पारस्परिक सहयोग अभिवृद्धिका निम्ति भारत सरकार तयार रहेको बताउनुभयो ।   मन्त्री सिंह र राजदूत श्रीवास्तवबीच सहरी विकास, नदी प्रदूषण नियन्त्रण र फोहरमैला व्यवस्थापनमा भारतले गर्न सक्ने सहयोग बारेमा पनि छलफल भएको उक्त मन्त्रालयका सचिव मणिराम गेलालले राससलाई बताउनुभयो ।  भारत सरकारको सहयोगमा नेपालमा निर्माणाधीन आयोजनाको समीक्षा भएको थियो । दुई देशका सीमा क्षेत्रमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकीका बारेमा छलफल भएको सचिव गेलालले जानकारी दिनुभयो । 

काठमाडौं:    नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त हुनुभएकामा भारतका बाह्य मामिलामन्त्री डा।सुव्रमन्यम जयशङ्करले हार्दिक बधाई ज्ञापन गर्नुहुँदै उहाँको कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ । परराष्ट्र मन्त्रालयका अनुसार ‘भारतका बाह्य मामिलामन्त्रीले बहुआयामिक साझेदारीयुक्त नेपाल–भारत सम्बन्धलाई अझ सुमुधर तुल्याउनका खातिर मन्त्री राणासँग सहकार्य गर्न प्रतीक्षारत छु’ भन्नुभएको छ । यसैगरी, पाकिस्तानका विदेशमन्त्री इशाक दारले पनि आफ्ना नेपाली समकक्षी डा. राणालाई मङ्गलबार एक शुभकामना सन्देश पठाउँदै आपसी हित र चासोका मामिलामा निकट सम्पर्कमा रहेर उहाँसँग काम गर्न आफू तयार रहेको बताउनुभएको यहाँस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ । 

चितवन:    गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये १५ जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये ८ जनाको परिचय खुलेको  सशस्त्र प्रहरीले जानकारी दिएको छ ।  अन्य शव र बसको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।  खोजी कार्यमा सबै सुरक्षा संयन्त्र र प्रविधिको प्रयोग गरिए पनि दुई बस अझै फेला पर्न सकेका छैनन् ।  काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगन्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा शनिबार बिहान दुवै बस त्रिशूलीमा बगेका थिए ।  गौरतर्फ गइरहेको बसमा ३८ जना र काठामाडौँतर्फ गइरहेको बसमा सवार २७ जना बेपत्ता भएका थिए ।        

काठमाडौंः     प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुशासन कायम गराउनुका साथै शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रलाई प्राथमिकतामा राख्ने बताउनुभएको छ । नवनियुक्त प्रधानमन्त्री ओलालाई बधाई तथा शुभकामना दिन नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौँ जिल्ला कमिटिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सबै पक्षको साथ लिएर मुलुकको सुशासन र विकासलाई प्राथमिकता दिन सरकार कटिवद्ध रहेको बताउनुभयो । उहाँले दुवै छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्ध सुमधुर बनाउन पनि लाग्ने उल्लेख गर्नुभयो । त्यसअवसरमा जिल्ला कमिटिका अध्यक्ष दीपक निरौलाले प्रधानमन्त्री ओलीलाई कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।

रुकुम पश्चिम:    रुकुम पश्चिममा गएराति आएको बाढीले घर बगाउँदा पुरिएका तीन बालिकाको शव निकालिएको छ । आठविसकोट नगरपालिका १२ को झिन्चौर बगरमा झिन्चौर खोलामा आएको बाढीले घर बगाउँदा तीन बालिका पुरिएका थिए । बाढीले घर बगाउँदा पुरिएर मृत्यु भएका १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनिषा सार्कीको शव निकालिएको आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीले घर बगाउँदा बेपत्ता भएका ४० वर्षीय डिल्लीबहादुर बुढाथोकीको खोजी भइरहेको छ । उहाँ बसेको घरमै पुरिएको हुनसक्ने आशङ्का गरिएको छ । लेदोसहितको बाढीले घर पुरिएपछि डोजर लगाएर लेदो हटाउने तयारी भइरहेको नगरप्रमुख केसीले जानकारी दिनुभयो । बाढीमा परेर घाइते भएका सात जनाको आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको छ । स्थानीय १२ वर्षीय विनय सार्की, २२ वर्षीया मनिषा पुन, २९ वर्षीय जनक खत्री, छ वर्षीया मनसरी पुन, चार वर्षीय मेक्सन पुन, २८ वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पना कामी घाइते हुनुभएको छ । घटनाको पूर्ण विवरण सङ्कलन जारी रहेको र घटनास्थलमा सुरक्षाकर्मी, स्थानीयवासीलगायतले बेपत्ताको खोजी गरिरहेको नगरप्रमुख केसीले जानकारी दिनुभयो ।

झापा:     झापाको कनकाई नगरपालिका–२ स्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।  मृत्यु हुनेमा कमल गाउँपालिका वडा नम्बर ५ का ४१ वर्षीय लक्ष्मीप्रसाद सुब्बा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।  सोमबार बेलुका कनकाई–२ पवित्रा पेट्रोलपम्प नजिक पूर्वपश्चिम राजमार्गमा विराटनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३४२३ नम्बरको बसले बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको को १९प ६२८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। कण्डक्टरले बस चलाउँदा दुर्घटना भएको बसका चालक र सहचालकले प्रहरी समक्ष बयान दिएका छन् । उक्त दुर्घटनामा सुब्बाको दाहिने खुट्टा भाचिएको थियो भने टाउको र छातीमा चोट गम्भीर चोट लागेको थियो। घाइते उनको उपचारका क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा राति ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।  प्रहरीले बस चालक इलाम माई नगरपालिका वडा नम्बर ८ का २२ वर्षीय सागर थुलुङ राई र सहचालक विराटनगर महानगरपालिका वडा नम्बर २ का १९ वर्षीय दिपेश दर्जीलाई नियन्त्रणमा लिएको छ। बेलबारीबाट उक्त बस शिवसताक्षी नगरपालिका–६ का २७ वर्षीय बसका कण्डक्टर पुण्य सिटौलाले चलाई ल्याउने क्रममा दुर्घटना भएको जनाइएको छ। 

चितवन:     चितवनको भरतपुर–२९ सिमलतालमा शुक्रबार बिहान गएको पहिराले बगाएर बेपत्ता भएकामध्ये १३ जनाको शव भेटिएको छ । नवलपुरमा नौवटा शव भेटिएका छन् । चितवनमा तीन र नवलपरासी, बर्दघाट–सुस्तापश्चिममा एउटा शव भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले हिजो मात्रै जिल्लामा चारवटा शव भेटिएको जानकारी दिनुभयो । नवलपुरमा हालसम्म भेटिएका नौ शवमध्ये पाँचको पहिचान खुलेको र ती बेपत्ता बसका यात्रु रहेको पुष्टि भएको पौडेलले जानकारी दिनुभयो । शव पहिरोमा परेर बेपत्ता भएका यात्रुको हुनसक्ने भन्दै सोहीअनुसार अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक पौडेलको भनाइ छ । हिजो बिहान गण्डक ब्यारेज पुलमा भेटिएका दुई शवमध्ये एउटा करिब १९ वर्षीया महिला र अर्को करिब ३० वर्षीय पुरुष रहेका प्रहरीले जनाएको छ । यस्तै मध्यविन्दु–२ भुताहास्थित नारायणी नदीको टापुमा भेटिएको शव करिब ४५ वर्षीय पुरुषको तथा विनयी त्रिवेणी गाउँपालिका–७ गण्डक ब्यारेजको पुलमा करिब १३ वर्षीय बालकको रहेको पौडेलले जानकारी दिनुभयो । जिल्लाको गैँडाकोट–७ गैरीमा भेटिएका दुईवटा शवमध्ये एउटा सर्लाहीको बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमित कसुर माझी र अर्को चितवनको माडी–१ का २२ वर्षीय विकास परियारको भएको पौडेलले बताउनुभयो । माझीको शव बुवा रवीन्द्र कुसर माझीले तथा परियारको शव दाजु विजय परिवारले पहिचान गर्नुभएको थियो । माझी काठमाडौँबाट रौतहट जाने गणपति डिलक्स र परियार वीरगञ्जबाट काडमाडौँ जाँदै गरेको एन्जल डिलक्समा सवार यात्रु भएको जनाइएको छ । शनिबार गैँडाकोट–७ गैरीमा भेटिएको अर्को शव भारतको बिहार राज्यस्थित बेतियाका ३० वर्षीय सजाद अन्सारी भएको पौडेलले जानकारी दिनुभयो । यस्तै आइतबार साँझ जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित ब्यारेजको गण्डक नहरमा भेटिएका दुवै शवको पहिचान भएको छ । गण्डक नहरमा भेटिएकामध्ये एउटा चितवनको भरतपुर–२२ का २३ वर्षीय सुदीप विक रहेको बुवा सोमबहादुर विकले पहिचान गर्नुभएको थियो । सुदीप वीरगञ्ज जाँदै गरेको एन्जल डिलक्सका यात्रु हुनुहुन्छ । यसैगरी अर्को शव रौटहटको जमुनामाई गाउँपालिका–४ का १७ वर्षीय राहुम मियाको भएको उहाँका बुवा इस्लम मियाले पहिचान गर्नुभएको छ । पहिरामा परी बेपत्ता भएकामध्ये चितवनतर्फ भारतको सीतामाडी बर्गिनियाका २८ वर्षीय ऋषिपाल साह, भारतकै सीतामाडी बेतियाका ३० वर्षीय जयप्रकाश ठाकुर रहेका छन् । आइतबार नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) मा भेटिएको शव बाराको साविक विश्रामपुर गाविस–४ का ४३ वर्षीय परमानन्द पण्डितको भएको र अर्का करिब ३५ वर्षीय पुरुषको पहिचान हुन नसकेको जनाइएको छ । हालसम्म तीनवटा जिल्लामा भेटिएका १३ वटा शवमध्ये पाँचवटा शवको पहिचान हुन सकेको छैन । पहिचान खुलेका सबै शव चितवनको भरतपुर अस्पताल पठाइएको र बाँकी शवको पहिचान खुलेपछि भरतपुर पठाइने प्रहरी नायब उपरीक्षक पौडेलको भनाइ छ । सिमलताल पहिरोमा परेर हराएको वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एन्जल डिलक्सको बसमा कम्तिमा २४ जना र काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको गणपति डिलक्समा कम्तीमा २७ यात्रु रहेको चितवन प्रशासनले जनाएको छ । बसमा सवार यात्रुमध्ये तीनजना त्रिशूली नदीमा पौडी खेलेर बाँच्न सफल भएका थिए ।