चितवन: मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्न ड्रोन र हात्तीको प्रयोग गर्ने तयारी गरिएको छ । आज बिहान नारायणगढस्थित मानवबस्ती नजिक नारायणी नदी किनारमा मान्छेलाई आक्रमण गरेको बाघलाई नियन्त्रण गर्ने तयारी गरिएको हो । जिल्ला वन कार्यालय चितवनका प्रमुख थिरबहादुर कार्कीका अनुसार नारायणी किनारमा रहेको झाडीमा बाघ लुकेको आशङ्का गरिएको छ । उक्त बाघ खोजी गर्नका लागि ड्रोन क्यामराबाट हेर्ने तयारीसहित चितवन राष्ट्रिय निकुञ्ज कार्यालयबाट ड्रोन मगाइएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार ड्रोनले बाघ पहिचान गरेपछि हात्तीको सहायताले डार्ट (बेहोस) गर्ने योजना छ । नारायणी किनारमा नदीमा मिसिनुअघि ढललाई प्रशोधन गर्न बनाइएको ट्याङ्क क्षेत्रको नर्कट झाडीमा बाघ रहेको अनुमान गरिएको प्रमुख कार्कीले जानकारी दिनुभयो । सो क्षेत्रमा एकातर्फ मानवबस्ती छ भने अर्कोतर्फ नारायणी नदी पर्दछ । चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ भेटेनरी चिकित्सक डा विजयकुमार श्रेष्ठले कसराबाट ड्रोन र तीन वटा हात्ती आउँदै गरेको बताउनुभयो । उहाँका अनुसार सुरुमा ड्रोनबाट पहिचान गरेर बाघ देखिएमा डार्ट गर्ने तयारी गरिएको छ । सो क्षेत्रमा मानव आवतजावत गर्न रोकिएको छ । पाइलालाई हेर्दा माउबाट भर्खरै छुटेर सिकार गर्न सुरु गरेको बाघ हुनसक्ने चिकित्सक श्रेष्ठले जानकारी दिनुभयो । “बाघ कहाँबाट आयो यकीन हुन सकेको छैन । यद्यपि नगर वन क्षेत्रबाट आएको हुनसक्ने आशङ्का गरिएको छ”, उहाँले भन्नुभयो । आज बिहान हिँड्ने क्रममा भरतपुर महानगरपालिका–२ बेलटाँडीका ६० वर्षीय पशुपति श्रेष्ठलाई बाघले आक्रमण गरेको थियो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ५ः२० बजे बिहान भरतपुर–१ नारायणी किनारमा बाघले श्रेष्ठलाई आक्रमण गरेको हो । बाघको आक्रमणबाट घाइते हुनुभएका श्रेष्ठको तीन ठाउँमा हड्डी भाँचिएको छ भने पाँच वटा दाँत फुत्केर घाँटीमा पुगेका छन् । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा उपचार गराइरहनुभएका श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार श्रेष्ठको पाँच वटा कृत्रिम दाँत फुत्केर घाँटीमा गएर अड्किएको थियो । बाघको आक्रमणबाट दाहिने हातको हत्केला र नाडीको हड्डी भाँचिएका छन् । यस्तै दाहिने कुहिनाको नजिकको (केल्भिकल) हड्डीसमेत भाँचिएको छ । श्रेष्ठको स्वास्थ्यावस्था खतरामुक्त रहेको डा लम्सालले जानकारी दिनुभयो । श्रेष्ठको अहिले शल्यक्रिया गर्ने तयारी गरिएको बताउँदै घाँटीमा पुगेका दाँत खोक्दा बाहिर निस्किएका उहाँले जानकारी दिनुभयो ।
प्युठान: माण्डवी गाउँपालिका–१ गर्जेनीको पहिरोले प्युठान, रोल्पा र गुल्मीका सडकयात्रीले सास्ती भोग्नुपरेको छ । प्युठान र रोल्पाका अधिकांश भाग तथा गुल्मीको मदाने गाउँपालिका क्षेत्रका स्थानीय आवतजावत गर्ने मार्ग पहिरोका कारण पटकपटक अवरुद्ध हुँदै आएको छ । दाङ देउखुरीको भालुवाङ–प्युठानको खलङ्गा, रोल्पाको लिवाङ जोड्ने मुख्य सडक हो । प्युठानी र रोल्पालीका दैनिक जीवनसँग जोडिएको यो सडक पटकपटक अवरुद्ध हुँदा उनीहरूको दैनिकी प्रभावित भएको छ । दाङ हुँदै बुटवल, काठमाडौँ, भैरहवा, भरतपुर, नेपालगञ्जलगायत स्थानमा उपचारका लागि जाने तथा अन्य कामले विभिन्न स्थानमा जाने यात्री अलपत्र पर्ने गरेका छन् । प्रत्येक वर्ष बर्खा लागेसँगै गर्जेनीमा पहिरो जाँदा बर्सेनि सास्ती खेप्नुपरेको रोल्पा सुनिल स्मृति गाउँपालिका–२ खुङ्ग्रीका मनबहादुर पुनले गुनासो गर्नुभयो । भालुवाङ–चकचके खण्डमा पर्ने गर्जेनी, खहरेखोलालगायत स्थानमा निरन्तर पहिरो खस्दा समस्या भएको छ । भालुवाङ–प्युठान सडकअन्तर्गत बडडाँडा–चकचके खण्डमा असार १९ यता २१ पटक बाटो अवरुद्ध भएको छ । सडक डिभिजन कार्यालयले सामाजिक सञ्जालमा सार्वजनिक गरेको सूचनाअनुसार २१ पटक गरी कम्तीमा ९१ घण्टा सडक अवरुद्ध भएको छ । एकैपटक धेरै ठाउँमा पहिरो झर्ने समस्याका कारण पहिरोको सङ्ख्या भने २१ भन्दा धेरै छ । हिजो शनिबार मात्र गर्जेनीको पहिरो नौ घण्टापछि हटाएर यातायत सञ्चालन गरिएको थियो । प्युठान नगरपालिका–७ का टीकाराम पोख्रेलले गर्जेनीमा पहिरो गयो कि गएन भनेर समाचार, सूचना हेरेर मात्र यात्रा गर्नुपर्ने बाध्यता सुनाउनुभयो । सडक डिभिजन कार्यालय प्युठानका इन्जिनियर कमल पुनका अनुसार अवरुद्ध सडक सञ्चालन गर्न रु छ लाख खर्च भइसकेको छ । “ सोइलमेलिङ प्रविधिबाट पहिरो रोकथाम गर्न सकिन्छ”, इन्जिनियर पुनले भन्नुभयो, “त्यसका रु पाँच करोड ५० लाख लाग्ने देखिन्छ, विभागबाट रकम प्राप्त भएको छैन ।” कुनै प्रविधि प्रयोग नगरे गर्जेनीले सताइरहने उहाँको ठम्याइ छ ।
काठमाडौं: ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै केसीले उपाधि जित्नुभएको हो । उहाँलाई गत वर्षकी मिस नेपाल श्रृच्छा प्रधानले ताज पहिराइदिनुभयो । प्रतियोगितामा सुमना केसीले ‘मिस नेपाल अर्थ २०२४’ र करुणा रावतले ‘मिस नेपाल इन्टरनेशलन २०२४’ को उपाधि जित्नुभयो । यस वर्ष ‘मिस वर्ल्ड’मा भने ‘मिस नेपाल २०२३’ प्रधानले नेपालको प्रतिनिधित्व गर्दै प्रतिष्पर्धा गर्नुहुनेछ । प्रतियोगितामा डा रुपक घिमिरे, लक्ष्मी भण्डारी, रेना रिजाल, विजय कर्मचार्य, साहारा बस्नेत राणा, कलाकार दिव्य देव, प्रिङ्का रानी जोशी, शरद भेषवाकर, रियासा दाहाल, विष्णुहरि पाण्डे, सकुन भण्डारीलगायत ११ जना निर्णायकको भूमिकामा हुनुहुन्थ्यो । मिस नेपालको आयोजना द हिडन ट्रेजरले गर्दै आएको छ ।
काठमाडौं: स्वयम्भूमा भोलि सोमबारदेखि एक महिनासम्म जारी रहने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले विश्वसम्पदा स्वयम्भू तथा त्यस आसपास क्षेत्रका सम्पदास्थलमा दर्शनका लागि आउने भक्तजनको सुरक्षा, भीड व्यवस्थापन, सरसफाइ, रङरोगन, सडकबत्ती व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्राचीन सम्पदास्थलका चैत्य तथा विभिन्न भाग मर्मत तथा जीर्णोद्धार सम्पन्न गरिएकाले मेलामा आउनेको सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ । महासमितिका महासचिव अशोक बुद्धाचार्यले मन्दिर आसपासमा अस्थायी पसल हटाइएको तथा सहयोगापेक्षीलाई बस्न नदिने व्यवस्था गरिएको बताउनुभयो । थेरवाद, महायान र वज्रयान सम्प्रदायका अनुयायीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट पाँच लाख मानिस आउने अपेक्षा गरिएको महासमितिले जनाएको छ । काठमाडौँ महानगरपालिका–१५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले महासमितिसँग समन्वय गरी मेला व्यवस्थापनको प्रबन्ध भएको जानकारी दिनुभयो । स्वयम्भूस्थित महानगरीय प्रहरी वृत्तले ट्राफिक प्रहरीसँगको सहकार्यमा सडक जामलाई व्यवस्थापन गर्ने जनाएको छ । गुँला पर्वका रूपमा बौद्ध धर्मावलम्बीले मनाउने चाडका अवसरमा आयोजित मेलाअवधिभर हरेक दिन बिहान गुँला बाजा बजाउँदै स्वयम्भू महाचैत्यको दर्शन परिक्रममा, शोभाभगवतीसँगै विजेश्वरी र सेतो मत्स्येन्द्रनाथको परिक्रमा तथा करुणामयको नामबाट पनि चिनिने सेतो मत्स्येन्द्रनाथको दर्शन गर्ने परम्परा छ ।
बागलुङ: निसीखोला गाउँपालिका–२ अर्नाकोटका स्थानीय व्यावसायिक स्याउखेती गर्न थालेका छन् । समुद्री सतहबाट करिब दुई हजार मिटर उचाइमा रहेको बागलुङ अर्नाकोटमा तीन वर्ष अगाडि परीक्षणका लागि लगाइएको स्याउ फलेपछि व्यावसायिक खेती गर्न थालिएको हो । विसं २०७८ मा गाउँका अगुवा किसानले परीक्षणका लागि स्याउखेती सुरु गरेका थिए । हाल गाउँका धेरै किसान यसप्रति आकर्षित भएका छन् । पोखराबाट इटिलियन गालाफुजी जातका बिरुवा ल्याएर लगाएको एक वर्षमा फल लागेपछि किसान उत्साहित भएका हुन् । पहिलो वर्ष गाउँमा किसानले कृषि ज्ञान केन्द्रबाट ६० बिरुवा अनुदानमा लिएर लगाएका थिए । बिरुवा हुर्किएर फल दिन थालेपछि दोस्रो वर्ष थप ९० वटा बिरुवा अनुदानमा लिएर लगाए । यस वर्ष निसीखोला गाउँपालिकाबाट ५० प्रतिशत अनुदानमा सात सय बिरुवा लगाएको अगुवा किसान चेतबहादुर कुँवरले बताउनुभयो । गाउँमा स्याउखेतीको सम्भावना देखेपछि गाउँका अधिकांशले स्याउका बिरुवा लगाउन थालेका उहाँले बताउनुभयो । अर्नाकोटमा खानेपानीको अभाव हुँदा बिरुवा हुर्काउन समस्या भएको सुनाउँदै अब सिङ्गो गाउँ नै स्याउ उत्पादनबाट आत्मनिर्भर बन्ने आशा पलाएको कुँवर बताउनुहुन्छ । खानेपानी अभावमा धेरै नागरिक बसाइँसराइ गर्न बाध्य भएको सन्दर्भमा गाउँमा स्याउ उत्पादनको ठूलो सम्भावना देखिएपछि धेरै गाउँमै बस्न थालेको उहाँ बताउनुहुन्छ । तीन वर्ष अगाडि लगाएको स्याउ थोरै भए पनि बजारमा पठाउन थालेको कुँवरले सुनाउनुभयो । उहाँका अनुसार अहिले अर्नाकोटमा करिब एक सय ५० बोटमा स्याउ फलेका छन् । स्थानीय किसान दुर्गाबहादुर ओलीले पहिलो वर्ष २२ वटा स्याउका बिरुवा लिएर लगाएको सुनाउँदै अहिले बिरुवा बढाउँदै गएको बताउनुभयो । वर्षौँदेखि पशुपालनसँगै निर्वाहमुखी खेतीपाती गर्दै आएका उहाँ पछिल्लो समय स्याउखेतीलाई नै बढी जोड दिएको बताउनुहुन्छ । “यहाँको हावापानी स्याउखेतीका लागि उपयुक्त रहेछ, पोहोर लगाएका बिरुवाले फल दिएका छन्, यसले हामीलाई हर्षित बनाएको छ”, ओलीले भन्नुभयो, “खानेपानी नभएको ठाउँमा स्याउ लगायौँ, सिँचाइको व्यवस्था हुने हो भने व्यावसायिक रूपमा उत्पादन गर्न सकिन्छ ।” निसीखोला गाउँपालिकाका कृषि प्राविधिक तारा परियारले स्याउखेतीतर्फ किसानको चासो बढेपछि इटालियन जातको स्याउका बिरुवा जुम्लाबाट ल्याएर वितरण गरिएको बताउनुभयो । गाउँपालिकाले रु चार लाख ११ हजार दुई सय ५० मा बिरुवा खरिद गरी ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराएका हो । यहाँका किसानले करिब ४० रोपनी क्षेत्रफलमा स्याउका बिरुवा लगाएका उहाँले बताउनुभयो ।
काठमाडौं: वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आइतबार देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छिन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आउनुभएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले राससलाई जानकारी दिनुभयो । भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ । भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागेको उहाँले बताउनुभयो । मच्छिन्द्रनाथको यात्रा भने करिब एक हजार तीन सय वर्षअघि नै सुरु भएको हो । किंवदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे । डराएका किसानले मच्छिन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रूपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । पुरस्कारस्वरुप मणि माणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो । किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले । मनुष्यरुपी भूत आएर भोटो लग्यो । किसानले खोजे । पाएनन् । मच्छिन्द्रनाथको जात्रा हेर्न जाँदा आपूmले पुरस्कारस्वरुप पाएको भोटो मनुष्यका रूपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे । भूतले दिन नमानेपछि विवाद भयो । कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छिन्द्रनाथको जिम्मा लगाइयो । आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छिन्द्रनाथको रथयात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो । त्यो वर्षदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास छ । अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किंवदन्ती छ । पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ । यो जात्रा हेर्न आइतबार राष्ट्रपति रामचन्द्र पौडेल जानुहुनेछ । यस अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
चितवन: बाघको आक्रमणबाट भरतपुर महानगरपालिका–२ बेलटाडीका ६० वर्षीय पशुपति श्रेष्ठ घाइते हुनुभएको छ । प्रातभ्रमणका क्रममा उहाँ बाघको आक्रमणमा पर्नुभएको हो । भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा हिँडिरहेका बेला उहाँलाई बाघले आक्रमण गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो । आक्रमणबाट घाइते श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उहाँको मुख र हातमा चोट लागेको र अवस्था स्थिर रहेको जानकारी उहाँले दिनुभयो । प्रमुख जिल्ला अधिकारी यादवका अनुसार बाघको खोजीका लागि जिल्ला वन कार्यालयबाट एउटा टोली परिचालन भएको छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘नमेटिने घाउ’का लागि स्वराङ्कन गर्नुभएको छ । आज अनामनगरमा रहेको एक स्टुडियोमा पुगेर उहाँले आफ्नो दृश्यको स्वराङ्कन गर्नुभएको हो । एसिड आक्रमणमा पर्नुभएका ३३ किशोरीको कथालाई समेटेर तयार गरिएको चलचित्रमा उहाँले केही अगाडि अभिनय गर्नुभएको थियो । “एसिड आक्रमणका पीडितले न्याय पाउनेछन्, तपाईंहरुको समस्याको समाधान म गर्छु, न्याय दिन्छु । तपाईंहरुले एसिड आक्रमणविरुद्ध सञ्चालन गर्नुभएको अभियानलाई निरन्तरता दिनुहोस्...”, यस्तै संवादमा प्रधानमन्त्री ओलीले स्वराङ्कन गर्नुभएको चलचित्रका निर्देशक तथा अभिनेता रमित ढुङ्गानाले जानकारी दिनुभयो । चलचित्रमा अभिनयका लागि आफूले गरेको अनुरोधलाई प्रधानमन्त्री ओलीलाई सहर्ष स्वीकार गर्नुभएकोप्रति उहाँले आभार व्यक्त गर्नुभयो । “प्रधानमन्त्रीज्यूले कला क्षेत्रलाई गर्ने मायाको यो एउटा सानो उदाहरण हो । व्यस्त तालिकाबाट चलचित्रमा स्वराङ्कन गर्नुभयो । यस चलचित्रले एसिड आक्रमणमा पर्नुभएकी किशोरीहरूलाई आत्मबल प्रदान गर्नुका साथै यो यस्ता अपराध नगर्न सचेतना बढाउँछ”, निर्देशक ढुङ्गानाले भन्नुभयो । चलचित्रमा प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र सांसद ज्ञानेन्द्र शाहीले पनि अभियन गर्नुभएको छ । शिवम् अधिकारीको कथा लेखन रहेको चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभातपाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह, सुरवीर पण्डित, सुनिल कटुवाललगायतका कलाकारले अभिनय गर्नुभएको छ ।
पोखरा: कास्कीको माछापुच्छ«े गाउँपालिका–९ स्थित मर्दी हिमाल ट्रेकको वेस क्याम्प नजिक मानव कंंकाल फेला परेको छ । मर्दी हिमाल ट्रेकको वेस क्याम्प नजिक रहेको निगालोको घारी नजिक मानव कंकाल भेटिएको माछापुच्छ«े गाउँपालिका–९ का वडाध्यक्ष राजेन्द्र क्षेत्रीले जानकारी दिए । ‘मर्दी हिमाल ट्रेकको वेस क्याम्प नजिक रहेको निगालो घारी नजिक मावन लासको अवशेष फेला परेको भन्दै स्थानीय भेडिगोठका सञ्चालक गोविन्द गौतमले फोन गर्नुभएको थियो, गौतमको भनाई उद्धत गर्दै वडाध्यक्ष क्षेत्रीले भने, ‘मावन लासको अवशेष फेला परेको सूचना आएपछि कास्की प्रहरी र गाउँपालिकालाई खवर गरेको छु छिटै नै अवशेष फेला परेको स्थानमा समन्वय गरेर जान्छौं ।’ वडाध्यक्ष क्षेत्रीले वेस क्याम्प पुग्न २ दिन लाग्ने र मौसममा आएको परिवर्तनका कारण चुनौती भएकाले सुरक्षा निकाय र गाउँपालिकासँग समन्वय गरेर बेस क्याम्प तर्फ लाग्ने बताए । ‘मर्दी हिमालको वेस क्याम्प पुग्न यहँ करिव २ दिन लाग्छ, मौसमका कारण सबैसँग समन्वय गरेर जानुपर्छ, कास्की प्रहरीलाई खवर गरेको छु’, उनले भने, ‘मानव लासको अवशेष भेटिएको स्थान मर्दि हिमाल वेस क्याम्पको मुख्य बाटो भन्दा १२ सय मिटर पूर्व मर्दी खोलाका उद्गम स्थल माथि पर्ने लाम डाडाको खोँचमा हो ।’ उनले मर्दी हिमाल वेस क्याम्प नजिक भेटिएको मानव लासको अवशेष २०८० पुस १४ गते देखि हराएका विदेशी नागरिक स्विडेनका मिचेल लुई ब्लम्बर्ज हुन सक्ने अनुमान गरे । गत पुस १४ गतेदेखि मर्दी हिमाल पदयात्राको क्रममा स्विडेनका नागरिक बेपत्ता छन् । एक्लै पदयात्रामा रहेका स्विडेनका नागरिकलाई भालुले आक्रमण गरेको हुन सक्ने वडाध्यक्ष क्षेत्री आशंका गरे । मर्दी हिमाल पदयात्राको क्रममा बेपत्ता भएको विदेशी नागरिक मिचेलको खोजी कार्य भएपनि उनको अवस्था अहिले सम्म अज्ञात छ । मर्दी हिमालको वेस क्याम्प नजिक खुट्टाको हाड कपडा र मोबाइल मात्र भेडा गोठालाले हिजो मात्र फेला पारेको वडाध्यक्ष क्षेत्रीले बताए ।