काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समिति बैठकले आगामी असोज पहिलो साता केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज सम्पन्न स्थायी समिति बैठकले आगामी भदौ महिनाभित्र प्रदेश, जनवर्गीय सङ्गठन, मोर्चा, सल्लाहकार समिति र आयोगको परामर्श बैठक सम्पन्न गरी असोज पहिलो साता केन्द्रीय समिति बैठक राख्ने निर्णय गरेको हो । बैठकले सबै प्रदेशमा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीबीच संयुक्त परामर्श बैठक राख्ने निर्णय गरेको पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सबै पदाधिकारी सबै प्रदेशका बैठकमा सहभागी हुने निर्णय भएको उहाँको भनाइ छ । “बैठकमा जनताका पीरमर्का बुझ्ने काम हुनेछ । पार्टीका अवधारणा जनतासम्म लैजाने र जनताका विषय पार्टीसम्म ल्याउने बारेमा बृहङ्गम छलफल हुनेछ”, उहाँले भन्नुभयो । आगामी भदौ ५–६ बागमती, भदौ ७–८ विशेष र सम्पर्क समन्वय, भदौ ९–१० गण्डकी, भदौ १२–१३ सुदूरपश्चिम, भदौ १४–१५ कर्णाली, भदौ १६–१७ लुम्बिनी प्रदेश, भदौ १८ गते तीनवटा केन्द्रीय आयोग, भदौ २२–२३ मधेस, भदौ २४–२५ कोशी प्रदेश तथा सल्लाहकार, भदौ २७–२८ जबस, मोर्चा र भदौ २९–३० ज्येष्ठ कम्युनिष्ट मञ्च र आयोगको परामर्श बैठक बस्ने माओवादीले जनाएको छ ।
काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज बसेको निगम सञ्चालक समितिको बैठकले शुक्रबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर रु पाँच तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु तीन घटाएको जनाएको छ । निगमका अनुसार पहिलो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ६७ रहेकामा रु एक सय ६२ कायम भएको छ । दोस्रो वर्गका लागि प्रतिलिटर रु एक सय ६९ रहेकामा रु एक सय ६४ र तेस्रो वर्गका लागि प्रतिलिटर रु एक सय ७० रहेकामा रु एक सय ६५ कायम गरिएको छ । साथै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि रु एक सय ५५ रहेकामा रु एक सय ५२ कायम गरिएको छ । साथै दोस्रो वर्गका लागि रु एक सय ५७ रहेकामा रु एक सय ५४ र तेस्रो वर्गका लागि रु एक सय ५८ रहेकामा रु एक सय ५५ कायम गरिएको निगमले जनाएको छ । पहिलो वर्गमा चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज छन् । साथै दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा पोखरा, काठमाडौँ, दीपायललाई राखिएको छ ।
काठमाडौं: दक्षिण एसियाली राष्ट्रहरुबीच हुने यु–२० पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता यही भदौ २ गतेदेखि नेपालमा सुरु हुँदैछ । प्रतियोगिता सुरु हुन तीन दिन बाँकी रहँदा पनि खेल कुन मैदानमा हुने अझै टुङ्गो लागेको छैन । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता सुरेश शाहले खेल दशरथ रङ्गशाला वा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने हो भन्ने अझै टुङ्गो नलागेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले दशरथ रङ्गशालामा प्रतियोगिताका खेल गर्ने तयारी गरेका थियौँ, तर सहिद स्मारक ए डिजिभन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लब र भुटानी लिग च्याम्पियन पारो एफसीको खेलमा मैदान बिग्रिएकाले साफ च्याम्पियनसिपको खेल कुन मैदानमा गर्ने टुङ्गो लागेको छैन ।” उक्त खेलमा बिग्रिएको खेलमैदानका कारण चर्को आलोचना भएको थियो । उहाँले आज एएफसीबाट दशरथ रङ्गशाला मैदानको निरीक्षण हुने र भोलिसम्म खेल मैदानको टुङ्गो लाग्ने बताउनुभयो । प्रवक्ता शाहले प्रतियोगिताको उद्घाटन खेल दशरथ रङ्शालामा हुन नसके वैकल्पिक रुपमा रहेको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनसक्ने बताउनुभयो । प्रतियोगिताको उद्घाटन खेल भदौ २ गते नेपाल र श्रीलङ्काबीच हुनेछ । प्रतियोगिताको सेमिफाइनल र फाइनल भने दशरथ रङ्गशालामै हुने उहाँको भनाइ छ । भदौ १२ गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न छ राष्ट्रको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसमा नेपाल समूह ‘ए’मा परेको छ । नेपालको समूहमा बङ्गलादेश र श्रीलङ्का छन् । त्यसैगरी समूह ‘बी’मा भारत, माल्दिभ्स र भुटान छन् । प्रतियोतिगामा सहभागिता जनाउन माल्दिभ्स आजै नेपाल आइपुगिसकेको छ । त्यसैगरी भुटान, श्रीलङ्का र भारत भोलि नेपाल आइपुग्नेछन् भने बङ्गलादेश आगामी भदौ १ गते नेपाल आइपुग्ने तय भएको आयोजक एन्फाले जनाएको छ ।
पोखरा: गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुु कुमार थापाले भारतीय स्वतन्त्रताको लडाईमा नेपालीद्वारा दिइएको बलिदान अभूतपूर्व भएको बताए । ७८ औँ भारतीय स्वतन्त्रता दिवसका अवसरमा भारतीय राजदूूतावास पेन्सन वितरण कार्यालय पोखराले विहिबार आयोजना गरेको स्वतन्त्रता दिवस समारोहलाई उदघाटन गर्दै मन्त्री थापाले यस्तो बताएका हुन् । “भारतको विकासमा नेपालको ठूलो योगदान छ । चाहे भारतको स्वतन्त्रताको लडाइँमा होस् वा भारतीय सीमाको सुरक्षामा, नेपालीद्वारा दिइएको बलिदान अभूतपूर्व छ ।”, उनले भने । नेपाल–भारत सम्बन्ध प्राचीन भएको बताउँदै उनले गौरवपूर्ण अतीतले भरिएको उल्लेख गरे । नेपालको भौगोलिक विशिष्टता तथा समान आर्थिक–सामाजिक परिवेशका कारण हिन्दुस्तानका प्रायः सबै राज्यसँग कुनै न कुनै प्रकारको सम्बन्ध भएको उनले बताए । मन्त्री थापाले नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी भएको बताए । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण भएको भनाई उनको छ । भारतले द्विपक्षीय सहयोग अन्तर्गत स्वास्थ्य र शिक्षाको क्षेत्रमा गरेको सहयोगको मन्त्री थापाले प्रशंसा गरेका छन् । ७८ वर्षअघि अंग्रेज साम्राज्यबाट अलग भएको भारत अहिले एउटा बलियो गणतन्त्रात्मक विश्वशक्तिको रूपमा स्थापित भइसकेको छ । विश्वको सबैभन्दा ठूलो लोकतन्त्रका रूपमा भारतको सफलता संसदीय राजनीतिक पद्धतिको स्थायित्वको उदाहरण मानिन्छ ।
नवलपरासी: नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा निजी वनको रुख काट्ने अनुमति लिएर सामुदायिक वन र सार्वजनिक स्थानमा भएको खयरका रुख कटानी भएको छ । कालीगण्डकी करिडोरमा पर्ने जिल्लाको बौदीकाली गाउँपालिका–१ र बुलिङटार गाउँपालिका–६ मा रहेका खयरका रुख काटिएका हुन् । खयरको रुख कटानीबाट गाउँको एउटा डाँडो नै रित्तिएको स्थानीयको भनाइ छ । निजी वनको रुख कटान गर्ने अनुमति लिएर सामुदायिक वन र सार्वजनिक स्थानको रुख काट्ने व्यक्तिलाई पक्राउ गरी डिभिजन वन कार्यालय कावासोतीमा बुझाइएको प्रमुख जिल्ल अधिकारी अरुण पोखरेलले जानकारी दिनुभयो । “दुई पालिकाको दुई वडामा पर्ने सामुदायिक वन र सार्वजनिक स्थानमा रहेका खयरका रुख कटानी भएको सूचना पाएपछि ठेकेदारसहितका केही व्यक्तिलाई पक्राउ गरेका छौँ” उहाँले भन्नुभयो, “पक्राउ परेकाहरुलाई कारबाहीका लागि डिभिजन वन कार्यालयलाई बुझाएका छौँ ।” डिभिजन वन कार्यालयले अनुसन्धान अधिकृत तोकेर घटनाको बारेमा अध्ययन गरिरहेको प्रजिअ पोखरेलले बताउनुभयो । डिभिजन वन कार्यालय नवलपुरका प्रमुख डिभिजन वन अधिकृत वसन्त केशव अधिकारीले घटनामा संलग्न ६ जना पक्राउ परेका जानकारी दिनुभयो । “अवैध रुपमा रुख कटानी गरेको उजुरीको आधारमा ठेकेदारसहित ६ जनालाई पक्राउ गरिएको छ” उहाँले भन्नुभयो, “घटनामा संलग्न दुई जना फरार छन्, उनीहरुको खोजीकार्य जारी छ ।” ठेकेदारले अवैध रुपमा रुख कटानी गरे पनि बिक्री गर्न नपाएको उहाँको भनाइ छ । बुलिङटार गाउँपालिकाका पूर्व अध्यक्ष शशिकिरण बस्ताकोटीले काटिएका खयरका रुखमध्ये आधाभन्दा बढी बिक्री भइसकेको बताउनुभयो । “करिडोरसँगै पर्ने स्थानको सामुदायिक वनबाट काटिएका खयरको रुखमध्ये ६ ट्रक बिक्री भइसकेको छ”, उहाँले भन्नुभयो, “कटानी भएको ठाउँमा अब साढे दुई ट्रक जति काठ बाँकी छ ।”
काठमाडौं: सभामुख देवराज घिमिरेले सङ्घीय संसद्को संयुक्त समितिका नवनिर्वाचित दुई जना सभापतिलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । सिंहदरबारमा आज आयोजित कार्यक्रममा राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति ठाकुरप्रसाद गैरे र संसदीय सुनुवाइ समितिका सभापति ईश्वरीदेवी न्यौपानेले शपथ लिनुभयो । समिति सभापतिमा निर्वाचित भइसकेपछि कार्यभार सम्हाल्नुअघि सभामुखसँग शपथ लिनुपर्ने प्रावधान छ । शपथपछि सभामुख घिमिरेले नवनिर्वाचित सभापतिलाई बधाई तथा कार्यकाल सफलताको कामना व्यक्त गर्नुभयो । न्यौपाने नेपाली कांग्रेस र गैरे नेकपा (एमाले) सँग आबद्ध हुनुहुन्छ । शपथपछि सञ्चारकर्मीसँगको कुराकानीमा उहाँहरूले समितिको कार्यक्षेत्रभित्र रहेर उद्देश्य प्राप्तिमा लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, राष्ट्रियसभा उपाध्यक्ष बिमला घिमिरे, नेपाली कांग्रेस र नेकपा (एमाले)का प्रमुख सचेतक र मुख्य सचेतकलगायत उपस्थित हुनुहुन्थ्यो ।
भक्तपुर: भक्तपुरको गठ्ठाघरमा ना६ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एक महिलाको घट्नास्थलमै मृत्यु भएको छ । प्रत्यक्षदर्शीका अनुसार कौशलटारबाट गठ्ठाघरतर्फ गइरहेको ट्रकले ट्राफिक चेकिङ्गमा रोकिराखेको स्कुटरलाई ठक्क दिँदा स्कुटर चालक घट्नास्थलमै मृत्यु भएको हो । तीव्र गतिको ट्रकले करिब एक सय परसम्म स्कुटरलाई घिसारेको प्रत्यक्षदर्शीले बताएका छन् । चालकको शरीर क्षतविक्षत भएको छ भने परिचय अझै नखुलेको प्रहरीले जनाएको छ । घटनास्थलमा झोला र किताब–कापी भेटिएका छन् । दुर्घटनापछि आक्रोशित भीडले ट्रकमा तोडफोड गरेका छन् । स्थानीय आन्दोलित भएपछि भक्तपुर–कोटेश्वर सडकखण्ड र सानोठिमी–जडीबुटी–पेप्सीकोला सडकमा यातायात ठप्प भएको प्रहरीले जनाएको छ ।
पोखरा: हरेक वर्ष आयोजना हुँदै आएको मिस मगर नेपाल २०२४ को शिर्ष प्रायोजन निट डेन्टल केयर प्रालिले गर्ने भएको छ । एसटी क्रियसन म्यानेजमेन्ट प्रालिको आयोजना तथा नेपाल मगर संघ कास्कीको संरक्षकत्वमा हुँदै आएको सातौ संस्करणको मिस मगर नेपाल २०२४ को शिर्ष प्रायोजनको रुपमा निट डेन्टल केयर प्रालिले गर्ने कार्यक्रमका टिम संयोजक प्रियन्का गर्बुजा मगरले जानकारी दिईन् । मिस मगर नेपालको शिर्ष प्रायोजन सम्झौता पत्रमा आज (बिहीबार) निट डेन्टल केयर प्रालिका निर्देशक बिरबहादुर राना (विरेन) र मिस मगर नेपालका कार्यक्रम निर्देशक सुरज थापामगरले हस्ताक्षर गरे । सातौ संस्करणको मिस मगर नेपालमा २० जना प्रतिस्पर्धीहरु मध्ये ११ जना फाइनल चरणमा प्रवेश गरेका छन् । अहिले ११ जना प्रतिस्पर्धीहरुलाई विभिन्न तालिमहरु दिँदै आएको कार्यक्रम टिम संयोजक गर्बुजा मगरले जानकारी दिईन् । उनका अनुसार फाइनल चरणमा दिपिका आले मगर (रामेछाप), आशिका गर्बुजा मगर (म्याग्दी), अनुजा पुन मगर ( बागलुङ), नरिशा पुन मगर (म्याग्दी), सरिता थापामगर (रामेछाप), माया दर्लामी मगर (स्याङ्जा), रश्मि आले मगर (महोत्तरी), जानकी राजकोटी मगर (महोत्तरी), अस्मिता बुढा मगर (रोल्पा), कृष्टिना पुन मगर (म्याग्दी) र जेरुशा सारु मगर (काठमाडौं) रहेकी छिन् । अहिले मिस मगर नेपाल २०२४ का सातौ संस्करणका प्रतिस्पर्धीहरुलाई मगर मातृभाषा, कला, संस्कृतिहरु बारे प्रशिक्षण भइरहेको छ । प्रतिस्पर्धीहरुलाई कार्यक्रम संयोजक तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीका अध्यक्ष रुद्र श्रीसमगरले भाषा, कला र संस्कृतिको प्रशिक्षण दिइरहेका छन् । मिस मगरका प्रतिस्पर्धीहरुलाई मातृभाषाको तालिमसँगै नेतृत्व विकास भेषभुषा, कला र संस्कृति लगायतका विभिन्न तालिमहरु समेत प्रदान गर्दै आएको आयोजकले जनाएको छ । मिस मगर नेपालको सातौं संस्करणको ग्राण्ड फिनाले भदौ २२ गते होटल पोखरा ग्राण्डमा हुनेछ । कार्यक्रमको मिडिया पाटर्नरमा फेवा टेलिभिजन, सुनगाभा न्यूज र मगर संसार फोटो ग्यालरी रहेको छ ।
काठमाडौंः काठमाडौंस्थित भारतीय राजदूतावासमा आज भारतको ७८औं स्वतन्त्रता दिवस मनाइएको छ । सो अवसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी समारोहको शुभारम्भ गर्नुभएको थियोे । कार्यक्रममा भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले राष्ट्रका नाममा गर्नुभएको सम्बोधन भिडियोमार्फत प्रस्तुत गरिएको थियोे । राष्ट्रपतिको उक्त सन्देशमा विगत ७७ वर्षमा विभिन्न क्षेत्रमा भएको प्रगतिमाथि प्रकाश पारिएको र भारतको स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान दिने स्वतन्त्रता सेनानीहरुलाई श्रद्धान्जली अर्पण गरिएको थियो । कार्यक्रममा राजदूत श्रीवास्तवले भारतीय सशस्त्र बलका मृतक गोर्खा सैनिकका श्रीमती र निकटतम नातेदारलाई रु पाँच करोड ५० लाख र कम्बल वितरण गरी सम्मान गर्नुभएको थियो । साथै भारतीय सशस्त्र बलका मृतक सैनिकका श्रीमती एवम् एक सय सात मृतक सदस्यका निकटतम नातेदारका लागि रु १२ करोड ५५ लाख भुक्तानी दिइएको छ । सो भुक्तानीमा आर्मी ग्रुप इन्स्योरेन्स ९एजीआई० कार्यक्रमअन्तर्गत सन् २०२४, का लागि ‘डेथ–इन–सर्भिस’, ‘एक्सटेन्डेड इन्स्योरेन्स’ र एजीआई परिपक्वता भुक्तानीलगायतका लाभहरु समावेश छन् । दूतावासले नेपालका पाँच प्रदेशका २१ शैक्षिक संस्था र पुस्तकालयका लागि पुस्तक अनुदानको पनि घोषणा गरेको छ । यस पहलले प्राप्त अनुरोधको प्रत्युत्तरमा दुर्गम क्षेत्रका विद्यार्थीका लागि शैक्षिक सामग्रीमा पहुँच बढाउने लक्ष्य राखेको छ । दूतावासका अधिकारी तथा उनीहरुका परिवारका अतिरिक्त नेपालमा रहनुभएका भारतीय समुदायका सदस्य तथा शुभेच्छुकहरूको भारतको ७८औं स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागिता थियो । सो अवसरमा दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौँका शिक्षक तथा विद्यार्थीले देशभक्ति गीत र नृत्य प्रस्तुत गरेका थिए ।