झापा:  पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कमल गाउँपालिका–३ सानो केर्खास्थित गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्का...

काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र रोजगारी वृद्धि गर्नेगरी जनताका आवश्यकता र प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको बजेट ल्याउन निर्देशन दिनुभएको छ । आगामी आर्थिक वर्षको बजेट तर्जुमा तथा प्राथमिकता निर्धारणका सम्बन्धमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित छलफलमा उहाँले उत्पादन र रोजगारी वृद्धि गर्न ठोस योजनासहित अबको बजेट ल्याउनुपर्नेमा जोड दिनुभयो ।  शान्ति सुरक्षा, भ्रष्टाचार अन्त्य र जनतालाई सहज रूपमा सेवा दिएर सुशासन कायम गर्ने विषयलाई प्रामथिकतामा राख्न निर्देश गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा शान्ति खल्बल्याउने तत्वहरू पनि सक्रिय भएकाले सुरक्षा प्रबन्ध र उचित स्रोतसाधनको तयारी गर्नुपर्ने बताउनुभयो ।  सङ्घीय सरकारले हरेक जेठ १५ गते सङ्घीय संसदमा आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्दछ । सोअघि बजेटका प्राथमिकता र सिद्धान्तबारे सदनमा छलफल हुन्छ । सोको तयारीका लागि प्रधानमन्त्री ओलीले आज सबै मन्त्रालयका मन्त्री र सचिवहरूसँग छलफल गर्नुभएको थियो ।  “सुशासन कायम गर्ने विषयमा कसैसँग कुनै सम्झौता गर्नुहुँदैन । राजस्व सङ्कलनमा बदमासी पाइएमा संलग्न जोकोहीलाई तुरुन्त कारबाही गर्नुपर्छ । पर्याप्त राजश्व उठेपछि जनता केन्द्रत विकासमा खर्च गर्न सकिन्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “स्रोतको आधारविना बजेट ल्याउने हालको प्रवृत्ति अन्त्य गर्नुपर्छ । आग्रह र पूर्वाग्रह राखेर बजेट तर्जुमा गर्न मिल्दैन । बजेट जनता केन्द्रित विकास, वर्तमान आवश्यकता र प्राथमिकताका आधारमा उत्पादन र रोजगारी वृद्धि गर्नेगरी ल्याउनुपर्छ ।” उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोत सुनिश्चितताविना धेरै योजना राखिने, भएको पुँजीगत खर्च गर्न नसक्ने तर थप बजेट माग्नेलगायत अवस्था सुधारेर विधि र मापदण्डमा आधारित रही बजेट तर्जुमा गरिने बताउनुभयो ।  सोका लागि मन्त्रालयले आवश्यकता अनुसार सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरी सुझाव सङ्कलन गरिरहेको उहाँको भनाइ छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको हालसम्म राजस्व सङ्कलन ५५ प्रतिशत, कूल खर्च ५२ प्रतिशत र पुँजीगत खर्च २८ प्रतिशत भएको छ ।

पोखरा: तेस्रो एबिसी भेट्रान्स ४५ वर्षमाथि एट ए साइड भेट्रान्स कप रनिङ शिल्डको उपाधि हेटौंडा भेट्रान्सले हात पारेको छ ।  अमरसिंह ब्वाइज क्लबले आयोजना बिहिबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा हेटौंडा भेट्रान्सले रुपन्देही ११ लाई  २ – ० गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो ।  उपाधिसंगै हेटौंडाले नगद  १ लाख ५५ हजार ५ सय ५५, शिल्ड, मेडल र प्राप्त गरे । उपबिजेता रुपन्देही ११ ले नगद  ७७ हजार ७ सय ७७, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । फाइनल खेलमा पहिलो हाफको १९ औं मिनेटमा हेटौडाका उमल मोक्तानले पहिलो गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए ।   त्यस्तै  दोश्रो हाफको २७ औं मिनेटमा अटल बर्माले दोश्रो गोल गर्दै हेटौडाको उपाधी सुनिश्चित गराए । उक्त खेलमा प्लेयर अफ दी म्याच हेटौडाका उमल मोक्तान घोषित भए । त्यस्तै प्रतियोगितामा मोस्ट भ्यालुयबल प्लयेर अफ द टुर्नामेन्टको उपाधि हेटौडाकै उदय गुरुङले हात पारे । गुरुङले नगद १० हजार प्राप्त गरे ।  प्रतियोगिताका विजेताहरुलाई गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ, एबिसी क्लबका अध्यक्ष राजेश गुरुङ,  पोखरा महानगरपालिका वडा नं १० का सदस्य परमेश्वर बहादुर  कार्की, एबिसी हङकङका सल्लाहकार रक्षा गुरुङ, एबिसी युकेका सल्लाहकार भोज बहादुर गुरुङ, गण्डकी प्रदेश फुटबल संघका महासचिव विनोद गुरुङ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङ, लगायतले पुरस्कार वितरण गरेका थिए । सो अवसरमा बोल्दै गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले समाज रुपान्तरण र खेल क्षेत्रको बिकासको लागि एबिसी क्लबले महत्वपूर्ण योगदान पु¥याएको बताइन ।  एबिसी क्लबले भेट्रान्स फुटबल प्रतियोगिताको आयोजना गरी एक आपसमा भाइचारा अभिवृद्धि संगै शारिरीक तन्दुरुस्तका लागि समेत प्रौढ उमेर समुहलाई प्रेरिरत गर्ने काम गरेको समेत बताइन ।  अमरसिंह ब्वाइज क्लब एबिसीका अध्यक्ष राजेश गुरुङले बिगतका संस्करणहरु जस्तै तेस्रो संस्करणको भेट्रान्स कप सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्ने प्रति आभार ब्यक्त गरे ।

पोखरा:    ग्रिनहिल युवा क्लबको आयोजनामा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ पर्यटकीय ल्वाङगाउँमा जारी ऐतिहासिक ३१ औं चैत्र दशैं मेलामा पुरुष भलिबल अन्तर्गत क्वाटरफाइनलका ३ खेल सकिएका छन् ।   क्लबका अध्यक्ष सुजन गुरुङका अनुसार युके लण्डन, टि गार्डेन र घाचोक सेमिफाइनलमा प्रवेश गरेका हुन् ।    युके लण्डनले घाचोक टिम ‘बि’लाई २–० को सोझो सेटमा पाखा लगाउदै युके लण्डन सेमिफाइनलमा प्रवेश गर्याे ।    टि गार्डेनले सिदिङलाई पनि २–० कै सेटमा हराउँदै टि गार्डेन अन्तिम चारमा प्रवेश गर्याे । अब सेमिफाइनलमा टि गार्डेनले युके लण्डनको सामना गर्नेछ ।   यस्तै अर्काे क्वाटरफाइनल खेलमा पञ्चासेलाई घाचोकले २–१ को सेटमा पराजित गर्दै घाचोक पनि सेमिफाइनलमा प्रवेश गर्याे ।   खेल संयोजक अनोद गुरुङका अनुसार प्रिक्वाटर र क्वाटर गरी २ खेल अझै बाँकी रहेको छ ।   उक्त खेलहरु शुक्रबार सम्पन्न भएपछि सेमिफाइनलमा घाचोकसँग भिड्ने टिमको टुंगो लाग्नेछ ।    यसअघि महिलातर्फ हिमशिखर क्लब धम्पुस र बौद्धसिर्जना क्लब घलेल फाइनलमा प्रवेश गरिसकेको छ ।   बुधबार बेलुकी लाइभ कन्सर्टतर्फ निष्कर्ष ब्याण्डले प्रस्तुती दिएको थियो ।   पुरुषतर्फको विजेता टिमलाई नगद  १ लाख १० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।   यस्तैे उपविजेता टिमलाई नगद रु ६० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । तृतीय स्थान हाँसिल गर्ने टिमले नगद रु २० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । भने, सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई नगद रु १० हजारले पुरस्कृत गरिनेछ ।   यसैगरी महिलातर्फ प्रथम हुने टिमलाई नगद रु २० हजार, द्वित्तियलाई १० हजारसहित शिल्ड, मेडल तथा प्रमाणत्र प्रदान गरिनेछ । 

पोखरा:  नवौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ को मिति नजिकिँदै गर्दा अवार्डलाई सहयोग आउने क्रम जारी रहेको छ ।  नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बैशाखमा हुने अवार्डको वर्ष उत्कृष्ट खेलकुद संस्था विधाको प्रायोजन निट डेन्टल एण्ड केयरले गर्ने भएको छ ।  पोखराको महेन्द्रपुल मेडिकललाईनमा रहेको डेन्टलका सञ्चालक बिरेन राना र खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरले बिहीबार सम्झौता पत्रमा हस्ताक्षर गरे । मञ्चले अवार्डमा गण्डकी प्रदेशको एक उत्कृष्ट संस्थालाई नगद ३५ हजारसहित सम्मान गर्दै आएको छ । खेलकुद र स्वास्थ्य एक अर्काका परिपुरक भएकाले स्वस्थ रहन खेलकुद आवश्यक भएको हुँदा खेल विकासको क्षेत्रमा काम गर्ने संस्थाले आयोजना गरेको स्पोर्टस् अवार्डलाई सदैव साथ रहेको निट डेन्टल एण्ड केयरका सञ्चालक बिरेन रानाले बताए । सबैको साथ र सहयोगले नै स्पोर्टस् अवार्डको गरिमा उच्च रहेको बताउँदै सहयोगीहरुप्रति  नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबि आस्था मगर धन्यवाद ज्ञापन गरे । यसैगरि नेकपा एमाले जिल्ला समिति कास्कीका सचिव तथा समाजसेवी दर्शन लामाले अवार्डलाई नगद रु १० हजार सहयोग गरेका छन् । यस पटकको अवार्डमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको विशेष सहयोग रहेको छभने उदीयमान खेलाडी विधाको लागि सहारा क्लब पोखरा र उत्कृष्ट प्रशिक्षक विधाको प्रायोजन टाइगर ग्रुप पोखराले गरिसकेको छ । खेलाडी तथा खेल क्षेत्रमा क्रियाशिललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोट्र्स अवार्ड गर्दै आइरहेको छ ।  अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिदै आएको मञ्चका सचिव राजु गिरीले जानकारी दिएका छन् ।  

काठमाडौं:  चाइना साउदर्न एयरलाइन्सले यही अप्रिल १० देखि नेपाल–चीन उडान सेवा विस्तार गर्ने भएको छ । एयरलाइन्सले यही अप्रिलदेखि अक्टोबरसम्म काठमाडौँ–ग्वाङ्झाउमा रात्रिकालीन उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ ।  कम्पनीका अनुसार काठमाडौँ–ग्वाङ्झाउ दैनिक राति ११ः३० बजे उडान हुनेछ । साथै दिउँसो भइरहेको उडान तालिका समायोजन गरिएको छ । जसअनुसार अब काठमाडौँ ग्वाङ्झाउका लागि दिउँसो १२ः५० बजे उडान हुने छ ।       “अप्रिल १० देखि मे महिनासम्म दिउँसोको उडान आइतबार, सोमबार, बुधबार र बिहीबार मात्र हुने छभने जुनदेखि अगस्टसम्म आइतबार र बिहीबार मात्र हुने छ । साथै सेप्टेम्बरदेखि अक्टोबरसम्म दिउँसो हुने उडान दैनिक सञ्चालन हुनेछन्”, कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । चाइना साउदर्नले उक्त अवधिमा उल्लेखनीय रूपमा सिट सङ्ख्या बढाउने योजनासमेत बनाएको छ । काठमाडौँ–ग्वाङ्झाउतर्फ करिब ४५ हजार सिट र ग्वाङ्झाउ–काठमाडौँ ४६ हजारभन्दा बढी सिट उपलब्ध गराइने छन् ।  कम्पनीका अनुसार गत वर्षको तुलनामा काठमाडौँ–ग्वाङ्झाउमा १६ दशमलव पाँच प्रतिशत अर्थात् छ हजार सिट बढी हो भने ग्वाङ्झाउ–काठमाडौँमा १३ हजार अर्थात् ३९ दशमलव नौले बढी हो । उडान र सिट सङ्ख्यामा भएको वृद्धिले चीन–नेपालबीचको व्यापार, पर्यटन तथा सांस्कृतिक आदानप्रदानलाई थप बल पुर्याउने एयरलाइन्सको अपेक्षा छ ।       “यो उडान क्षमता वृद्धि चीन–नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव र चीन–नेपाल पर्यटन वर्षको अवसरमा गरिएको हो, चाइना साउदर्नले सधैँ दुई देशबीचको पारस्परिक सम्बन्धलाई प्रवर्द्धनमा प्रतिबद्ध रहँदै आएको छ, जसले दुई देशका जनतालाई अझ सहज, सुविधाजनक र कुशल हवाई यात्रा अनुभव प्रदान गर्दै आएको छ । यसले नेपाल पर्यटन उद्योगको विकासमा योगदान पुर्याउनुका साथै, चीन–नेपाल मित्रता अझ प्रगाढ बनाउनेछ”, कम्पनीले भनेको छ ।

काठमाडौं:   नेपालले म्यानमार सरकारलाई २७ टन बराबरको राहत सामग्री उपलब्ध गराएको छ । भूकम्पबाट प्रभावित म्यानमारका नागरिकलाई सहयोगस्वरुप उक्त राहत सामग्री उपलब्ध गराइएको हो ।  यान्गुन अन्तरराष्ट्रिय विमानस्थलमा आज बिहान नेपाली टोलीले म्यानमारका सरकारी अधिकारीलाई उक्त राहत सामग्री हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयका सहसचिव एवं दक्षिणपूर्वी एसिया महाशाखा प्रमुख तापस अधिकारीले जानकारी दिनुभयो । राहत सामग्रीमा खाद्यान्न, दैनिक उपभोग्य वस्तु, औषधि, स्वास्थ्य उपकरणलगायत छन् ।  सहसचिव अधिकारीका अनुसार म्यानमारका लागि नेपाली राजदूत हरिशचन्द्र घिमिरे र म्यानमारका सरकारी प्रतिनिधिलगायतको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको हो ।  सामग्री हस्तान्तरणपछि दुई देशका सरकारी प्रतिनिधिबीच छलफलसमेत भएको थियो । सोह्र सदस्यीय नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका उच्चपदस्थ कर्मचारी र पत्रकारलगायत हुनुहुन्थ्यो । त्यसअवसरमा सहसचिव अधिकारीले भूकम्पमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै म्यानमार सरकार र जनताप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको थियो । उहाँले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै नेपालमा २०७२ सालको भूकम्पको समयमा म्यानमार सरकारले गरेको सहयोग स्मरणसमेत गर्नुभयो ।  “म्यानमारमा भूकम्पले ठूलो क्षति गरेको छ, यस्तो अवस्थामा नेपाल सरकार र निजी क्षेत्रबाट प्राप्त २७ टन बराबर राहत सामग्री यहाँको सरकारलाई उपलब्ध गराइएको हो”, सहसचिव अधिकारीले भन्नुभयो, “नेपाल सरकारले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिनेछ, यसप्रकारको सहयोग आदानप्रदानले दुई देशबीचको मित्रता अझ प्रगाढ बन्नेछ ।” त्यस अवसरमा म्यानमारका सरकारी प्रतिनिधि हेयू वाई लुविनले उक्त सहयोगका लागि नेपाल सरकारलाई धन्यवाद दिनुभयो । उहाँले भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिबारे संक्षिप्त जानकारी दिनुभएको थियो । उहाँका अनुसार भूकम्पमा परी हालसम्म तीन हजार ५९० भन्दा बढीको मृत्यु भइसकेको छभने चार हजार ८०० भन्दा बढी घाइते र १४८ बेपत्ता छन् ।  म्यानमार लागि नेपाली राजदूत घिमिरेले वैदेशिक रोजगारीको सिलसिलामा करिब एक लाख ५० हजार नेपाली म्यानमारमा रहेको उल्लेख गर्दै भूकम्पमा परी १८ जना नेपालीको मृत्यु भएको जानकारी दिनुभयो ।  म्यानमारको सघाइ प्रान्तलाई केन्द्रविन्दु बनाएर यही अप्रिल २८ मा सात दशमलव सात रेक्टर स्केलको भूकम्प धक्का महसुस भएको थियो । “भूकम्पका कारण अझै १५ जना नेपाली नागरिक बेपत्ता छन्, उहाँहरुको खोजी भइरहेको छ, घाइतेहरुको उपचार जारी छ”, राजदूत घिमिरेले भन्नुभयो ।  म्यानमारस्थित नेपालीहरूको छाता सङ्गठन अखिल म्यानमार गोर्खा हिन्दू धार्मिक संस्थामा करिब २५० जना भूकम्प प्रभावित नेपालीहरूले आश्रय लिएको पनि उहाँले जानकारी दिनुभयो ।  नेपाली सेनाको चिकित्सकको टोलीले विगत सात दिनदेखि म्यानमारको भूकम्प प्रभावित क्षेत्रमा पुगी सेवा दिइरहेको छ । नेपाली सेनाको टोलीले हालसम्म एक हजार ३०० भन्दा बढीको उपचार गरिसकेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त टोलीले आठ जना जटिल अवस्थाका घाइतेको सफल शल्यक्रिया गरिसकेको छ । 

काठमाडौं: पछिल्लो समय सामाजिक सञ्जालमार्फत केही बैंकको वालेट प्रयोगकर्तालाई चेतावनीसहितका विभिन्न म्यासेज पठाई अनलाइन ठगी गर्ने क्रम बढेकाले सचेतता अपनाउन साइबर ब्यूरोले अनुरोध गरेको छ । ब्यूरोले आज सूचना जारी गर्दै सामाजिक सञ्जाल तथा म्यासेजमा पठाइएका लिङ्क क्लिक गरी आफ्ना विवरण सेयर नगर्न र कुनै पनि सफ्टवेयर आफ्नो मोबाइल, ल्यापटपलगायत उपकरणमा ‘इन्स्टल’ नगर्न सूचित गरेको हो । पछिल्लो समय सामाजिक सञ्जालमार्फत अनलइन माध्यमबाट लोन भुक्तानी गर्ने, सेयर बजारसम्बन्धी तालिम लिन सकिने र सोका लागि उपलब्ध गराइएको लिङ्क खोलेर आवश्यक सफ्टवेयर इन्स्टल गर्नुपर्ने भनी अवैध लिङ्क पठाउने गरेको पाइएको ब्यूरोका प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिनुभयो ।

उदयपुर:   आज बिहानदेखि परेको अविरल वर्षापछिको बाढीले यहाँको कटारी नगरपालिका–२ स्थित अमाहा खोलामा निर्माणाधीन पक्की पुलमा क्षति पुर्याएको छ ।  सिद्धिचरण राजमार्गअन्तर्गत सिमानपुर र कल्याणपुर जोड्ने निर्माणाधीन पक्की पुलमा क्षति पुगेको सो वडाका वडाध्यक्ष प्रेम थापा क्षेत्रीले जानकारी दिनुभयो । ‘प्रिस्टेड’ प्रविधिद्वारा निर्माणाधीन पुल बाढीका कारण भाँचिएको छ । इलाका  प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक कमल बजगार्इँका अनुसार पुल भाचिँदा रु दुई करोड बराबरको क्षति भएको अनुमान गरिएको छ । “रु दुई करोड बराबरको क्षति पुगेको “प्रारम्भिक अनुमान गरिएको छ, अर्को बनाउनुको विकल्प छैन”, उहाँले भन्नुभयो, “प्राविधिक मूल्याङ्कनपछि वास्तविक क्षतिको विवरण आउँला ।” मिर्चैया–कटारी–घुर्मी सडक योजनाका इन्जिनियर महेश साहका अनुसार पुल ढलान गरिएको १८ दिनमात्र भएको थियो । “त्यहाँ राखिएका तारहरु २८ दिनपछि तन्काउनुपर्ने हुन्थ्यो तर बाढीले क्षति पुर्याइदियो”, उहाँले भन्नुभयो ,“यसको बिमा गरिएको हुन्छ अब निर्माण कम्पनीले दाबी गरेर काम अघि बढाउँछ ।” पचास मिटर लम्बाइ र ११ मिटर चौडाइको पुलमुनि लगाइएको हृयुमपाइपमा थुनिएर जम्मा भएको पानीले फर्मा र टेका बगाउँदा पुल भाँचिएको उहाँको भनाइ छ । सूर्य एन्ड सन प्रालि धरानले दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी २०७९ असार २९ गते उक्त सडकखण्डअन्तर्गत पर्ने चारवटा पुल एकमुष्ट रु २८ करोड ९९ लाख ५२ हजारमा ठेक्का लिएको थियो । 

ढोरपाटन:   बितेका आठ वर्षमा बागलुङमा एक लाख ३४ हजार ६७३ जनाले स्वास्थ्य बिमा गराएका छन् ।  विसं २०७३ असारमा सुरु भएको स्वास्थ्य बिमामा हालसम्म जिल्लाका ५४.०३९ प्रतिशत नागरिक आबद्ध भएका हुन् । जिल्लाको जनसङ्ख्या २०७८ को जनगणना अनुसार दुई लाख ४९ हजार २११ रहेको छ ।  यहाँका १० वटै स्थानीयत तहमा ६४ हजार १५३ परिवार रहेकामा हालसम्म ४० हजार ९४५ परिवारले स्वास्थ्य बिमा गरेको स्वास्थ्य बिमा बोर्डका जिल्लास्थित कार्यालय प्रमुख नारायणप्रसाद पौडेलले जानकारी दिनुभयो ।  हालसम्म ६७.६३ प्रतिशत घरपरिवार स्वास्थ्य बिमाको पहुँचमा रहेको उहाँको भनाइ छ । पौडेलका अनुसार ७१ हजार ८६ महिला र ६३ हजार ५६७ जना पुरुषले स्वास्थ्य बिमा गरेका छन् । सबैभन्दा बढी बागलुङ नगरपालिका र सबैभन्दा कम तमानखोलाका नागरिकले स्वास्थ्य बिमा गरेका छन् । जिल्लाका सबै नागरिकलाई स्वास्थ्य बिमाको पहुँचमा ल्याउन स्वास्थ्य बिमाका सामाजिक परिचालकलाई जिल्लाको ८५ वडामा खटाएको प्रमुख पौडेलले बताउनुभयो ।  उहाँले भन्नुभयो, “बागलुङमा स्वास्थ्य बिमा ‘पाइलट प्रोजेक्ट’का रूपमा सुरु भएको थियो, पहिले नागरिकको चासो कम थियो, अहिले बढ्दै गएको छ ।”  निसीखोला गाउँपालिका–५ का प्रेमबहादुर पुनले दूरदराजमा स्वास्थ्य बिमा प्रभावकारी बन्न नसकेको गुनासो गर्नुभयो । स्वास्थ्य बिमा गरे पनि नजिकमा सुविधा लिने स्वास्थ्य संस्था नहुँदा घण्टौँ लगाएर बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पुग्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।  “ज्वरो आयो भने स्वास्थ्य बिमाको सुविधा लिन बुर्तिबाङ जाँदा आउँदा पाँच–सात हजार खर्च लाग्छ, त्यही भएर गाउँकै स्वास्थ्य चौकीबाट औषधि लिएर खान्छु” पुनले भन्नुभयो, “गाउँकै स्वास्थ्य चौकीबाट स्वास्थ्य बिमाको सुविधा दिनुपर्ने हो, हामीहरू त स्वास्थ्य बिमा गर्ने सेवा नलिने मात्रै भइयो, सरकारले गाउँका स्वास्थ्य संस्थाबाट सेवा दिने व्यवस्था गर्नुपर्छ ।”