१३ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ । बिहीबारसम्म करिव ४५ हजारले महोत्सव अवलोकन गरेकोमा एक हजार दूई सय २५ घरपरिवारले आलु किनी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक जयराम तिम्सिनाले जानकारी दिए । जसमध्ये प्रति घरपरिवारले सबैभन्दा कम १० देखि बढीमा २ सय केजीसम्म आलु किनी लगेको तिम्सिनाको भनाई छ। हेमजाको आलु बढी स्वास्थ्यकर मानिने, छिटो पाक्ने तथा खानमा पनि स्वादिलो र मिठो हुने भएकाले अधिकाशं उपभोक्ताको रोजाईमा पर्दै आएको बिहीबार महोत्सव स्थलमा आलु खरिद गर्दै गरेकी स्याङजा आधिखोलाकी पार्वती शर्माको भनाई छ । आलु खरिद गर्नकै लागि त्यहाँ पोखरा लगायत छिमेकी अन्नपूर्ण एवम् माछापुच्छे« गाउँपालिका, स्याङजा, चितवन, तनहुँ, पर्वत, मुस्ताङ, बाग्लुङ, सुनसरी, रुपन्देही लगायतका जिल्लाबाट समेत मानिसहरु महोत्सव स्थल विष्णुपादुका खेल मैदान पुगेका छन् । आयोजकलाई त्यहाँ आलु बिक्री गर्न भ्याइनभ्याई भइरहेको छ भने बिहीबार साँझसम्म १३ लाख बढीको आलु कारोवार भएको छ । प्रतिकेजी रु.४२ मा आलु बिक्री गरिएको छ । महोत्सव मध्येतिर आइरहदाँ दर्शक सहभागिता पनि बढ्दै गएको हो । महोत्सवको पाँचौ दिन बिहीबार मात्रै १० हजार बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् । दर्शक सहभागिता बढ्दै जाँदा आयोजक समेत हैसिएको छ। महोत्सव अन्तर्गत बिहीबार कलाकारहरु एलिना चौहान, जीवन दाहाल, रेशम निर्दोष, सरस्वती लामिछाने, परशुराम अधिकारी, सुभद्रा श्रेष्ठका प्रस्तुतिहरु रहे ।त्यस्तै शुक्रबार शान्तारानी परियार, कुमार पुन, जीवन दाहाल, लक्ष्मी नेपाली, विजय केसी, कृष्ण सुवेदी, गगन गुरुङ, वसन्ती थापा लगायत कलाकारहरुका प्रस्तुति रहनेछन् ।त्यस्तै रत्यौली गीत प्रतियोगिता पनि जारी छ। महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान रहेका छन्। त्यस्तै कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि छन्।महोत्सव यही बैशाख ३ गतेसम्म चल्नेछ ।
पोखरामा चैत अन्तिममा मिडिया कप किङ्गस बुद्धिचाल प्रतियोगिता हुने भएको छ । चैत ३० गते शनिबार प्रतियोगिता हुन लागेको हो । माईन्ड फ्रेस चेस क्लब पोखरा कास्कीको आयोजनामा हुने प्रतियोगिता नेपाल पत्रकार महासंघको भवनमा हुनेछ । प्रतियोगिता सहभागीता जनाउनका लागि आयोजक माईन्ड फ्रेस चेस क्लबका अध्यक्ष युवराज भण्डारीले आग्रह गरेका छन् । प्रतियोगिताको बिजेताले नगद ५ हजार मेडल र ट्रफि प्राप्त गर्ने छन् । प्रतियोगित दोस्रो, तेस्रो हुनेल नगद ३ हजार, २ हजार र मेडल प्राप्त गर्ने छन् । त्यसै गरी सातौं स्थान सम्म प्राप्न गर्ने खेलाडी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितालाई पोखराको महेन्द्रपुलमा रहेको किङ्गस इन्स्टिच्युटले मुख्य प्रायोजना गरेको छ । प्रतियोगितालाई अन्नपूर्ण गाउँपालिका कास्की, रुपा गाउँपालिका, फेदीखोला गाउँपालिका, नेपाल पत्रकार महासंघ कास्कीले सघाएका छन् ।
पोखरा: गण्डकी मेडिकल कलेज (जीएमसी), पोखराका आवासीय चिकित्सकहरु अस्पताल प्रशासनविरुद्ध आन्दोलनमा उत्रिएका छन् । समान ज्यालाको माग गर्दै आन्दोलित चिकित्सकहरुले बिहीबार साँझ अस्पताल परिसरमा मैनबत्ति बाल्दै १ घण्टा धर्ना बसे । आन्दोलनको पाँचौ दिन चिकित्सकहरुले समान ज्याला र सुरक्षित कार्यस्थलको माग गर्दै अस्पताल प्रशासनको ध्यानाकर्षण गराएका हुन् । गत माघ २५ गते प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको १६औं बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह)को निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको आयोगको बैठकमा यसअघि सम्बन्धित पक्षसँग भएका छलफल र प्राप्त प्रतिवेदनसमेतका आधारमा आवासीय चिकित्सकको समान सुविधा (मासिक रु ४८ हजार ७००) कायम गर्नुपर्ने निर्णय गरिएको हो । त्यसअघि देशैभरका आवासीय चिकित्सकहरु आन्दोलनमा थिए । समान ज्यालाको मागसहित हप्ता दिन आन्दोलित भएको परिणाम आयोगको बैठकले उक्त निर्णयपछि विभिन्न क्षेत्रबाट काठमाण्डौं पुगेका चिकित्सकहरु सेवामा फर्किएका थिए । तर, निजी मेडिकल कलेजले आयोगको निर्णय नमानेपछि २ महिना नबित्दै पुनः आन्दोलनमा उत्रनुपरेको डा। रवि लामिछानेले बताए । ‘केन्द्रिय संघर्ष समितिकै निर्देशनअनुसार आन्दोलनमा उत्रिएका हौं’ डा. लामिछाने भन्छन् ‘जीएमसीले सरकारकै निर्णय नमानेपछि आन्दोलनलाई निरन्तरता दिएका हौं ।’ जीएमसीसँगै पोखराकै मणिपाल मेडिकल कलेजका आवासीय चिकित्सकसमेत समान मागसहित आन्दोलनमै छन् । ‘मणिपाल र गण्डकी मेडिकल कलेज (जीएमसी)का साथीहरु पुनः आन्दोलित भएका छौं’ मणिपालका डा। वामदेव पराजुलीले भने ‘अब काडमाण्डौं केन्द्रित आन्दोलनको तयारीमा रहेका छौं ।’ ‘कुनै मेडिकल कलेजमा २२ त कतै १९ हजार रुपैयाँ दिने गरेको बताउँदै पराजुलीले मणिपालमा भने १७ हजार रुपैयाँ मासिक दिइने गरेको जनाएका छन् ।
खोटाङ: ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ का अवसरमा आगामी सोमबारदेखि खोटाङमा आयोजना हुने दुईदिने ‘रेडपाण्डा तथा थार महोत्सव–२०८२’ को तयारी प्रायः पूरा भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा हुने महोत्सवको उद्देश्य लोपोन्मुख रेडपाण्डा र थारको संरक्षण तथा प्रवद्र्धन भएकोे नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्डको हुर्लुङमा आयोजना हुने महोत्सवमा विभिन्न जातजातिको संस्कार–संस्कृति अनुसारका खाना, वेशभूषा, रहनसहन तथा स्थानीय उत्पादन पनि समावेश गरिने उहाँले जानकारी दिनुभयो । स्थानीय कच्चा पदार्थबाट उत्पादित सामग्री तथा रेडपाण्डा र थारसम्बन्धी तस्बिर तथा भिडियो स्टलका रुपमा प्रदर्शनी गरिने जनाइएको छ । मध्यपहाडी लोकमार्गको दिक्तेल–हलेसी सडकखण्डको हुर्लुङबाट सुरु हुने ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’को शुभारम्भ ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ का सद्भावनादूत अभिनेता दयाहाङ राईले गर्नुहुने छ । गत पुसमा शुभारम्भ भएको ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ मा आन्तरिक तथा बाह्य गरी करिब एक लाखको हाराहारीमा पर्यटक भित्र्याउने लक्ष्य छ । किराती मिथक तथा संस्कार–संस्कृतिसँग जोडिएको मुन्दुम ट्रेललाई सरकारले १०० पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरेको छ । यसैबीच, मुन्दुम टे«ल भ्रमण वर्षको अवसर पारेर खोटाङ र भोजपुरका विभिन्न स्थानीय तह तथा सङ्घ–संस्थाले विभिन्न महोत्सवहरू आयोजना महोत्सवको पनि तयारी गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँगै केपिलासगढी गाउँपालिकामा हनी हन्टिङ तथा गोठस्टे महोत्सव र साकेला गाउँपालिकाले उँधौली–उँभौली साकेला तथा अन्य सांस्कृतिक महोत्सव आयोजना जनाएको छ । भोजपुरको भोजपुर नगरपालिकामा अल्ट्राम्याराथन तथा माउन्टेन साइक्लिङ, साल्पा सिलिछो गाउँपालिकामा नाछोङ धामी साहित्यिक महोत्सव, षडानन्द नगरपालिकामा रुद्राक्ष महोत्सव, महाकुलुङ गाउँपालिकामा चाकचाकुर महोत्सवलगायतका कार्यक्रम आयोजना गर्ने बताएका छन् । दुई जिल्लाका स्थानीय तहहरुले आ–आफ्नो क्षेत्रमा महोत्सवको आयोजना गरेसँगै मुन्दुम ट्रेलमा आन्तरिक तथा बाह्य पर्यटक पनि आउन थालेका छन् । खोटाङ र भोजपुरको सीमामा पर्ने यो ‘मुन्दुम ट्रेल’ तीन हजार १६५ मिटर अग्लो टेम्केडाँडा हुँदै मैयुङ, तीन हजार ७५० मिटरको साल्पापोखरी तथा चार हजार १६५ मिटरको सिलिचुङसम्म पुगेर टुङ्गिन्छ । पहाडै पहाडको चुचुरामा निर्माण गरिएको ‘भर्जिन’ गन्तव्यको रुपमा चिनिने ‘मुन्दुम ट्रेल’ पूरा गर्न विदेशी पर्यटकका लागि करिब १३ दिन तथा नेपालीका लागि दश दिन लाग्ने मैयुङ–टेम्क–साल्पा–सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष रमेश राईले बताउनुभयो ।
काठमाडौं: चीनको चोङकिङ भ्रमणमा रहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को उच्चस्तरीय भ्रमण दलले चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)को चोकिङ सहरका वरिष्ठ अधिकारीसँग भेटवार्ता गरेको छ । बिहीबार साँझ चोङकिङ सहरको पार्टी स्कुल विभागमा भएको भेटवार्तामा माओवादी केन्द्रका सचिव दीनानाथ शर्मा, केन्द्रीय सदस्य रामद्वीप आचार्य, लेखनाथ न्यौपाने र नेताहरू सहभागी हुनुहुन्थ्यो । सो अवसरमा सचिव शर्माले माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टी ९सिपिसी० बीच गहिरोे सम्बन्ध रहेको बताउनुभयो । “यो पार्टी–पार्टीबीचको मात्र सम्बन्ध होइन, हामीबीच जनस्तरको सम्बन्ध पनि घनिष्ट छ । चीनप्रति सबै नेपालीले गहिरो माया, प्रेम र सम्मान प्रकट गर्दै आएका छन्”, उहाँले भन्नुभयो । सचिव शर्माले चिनियाँ विद्वानले इतिहासमा नेपालमा बुद्ध जन्मेको विषय बाहिरी विश्वलाई जानकारी गराएर नेपालको महत्त्व बढाएको उल्लेख गर्दै चीन र नेपालको सम्बन्ध सांस्कृतिक, धार्मिक, आर्थिकसहित बहुआयामिक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यस्ता भेटवार्ताले नेपाल–चीन मित्रतालाई थप गहिरो र घनिष्ट बनाउने छ, यहाँको विकासले हामीलाई प्रभावित गरेको छ । नेपालले चीनसँग सिक्ने विषय धेरै छन् । कतिपय विषयमा नेपालले चीनसँग समझदारी गरेर अगाडि बढ्ने नीति लिएको छ ।” भेटवार्तामा चीनको चिनियाँ कम्युनिष्ट पार्टी र माओवादी केन्द्रले वैचारिक विषयमा अनुभव आदानप्रदान र तालिम कार्यक्रमलाई थप व्यवस्थित तरिकाले सञ्चालन गर्न दुवै दल सहमत भएका छन् । सो अवसरमा चोङकिङ नगरका पार्टी स्कुल विभागका प्रमुख लियु सियोउले चीनले नेपालसँगको सम्बन्धलाई ज्यादै महत्त्व दिएको र दुई देशबीचका जनतालाई पारस्पारिक लाभ हुनेगरी काम गर्न र सहकार्यका लागि आफूहरू सदैव तत्पर रहेको बताउनुभयो । नेपाल चीनबीचको ७०औँ वर्षगाठको प्रसङ्ग उल्लेख गर्दै नेता लियुले दुई देशबीच शिक्षा, व्यापार, संस्कृति र जनस्तरका क्षेत्रमा सम्बन्ध विस्तार गर्ने र व्यावहारिक सहकार्यलाई बलियो बनाउने धारणा व्यक्त गर्नुभयो । जनसङ्ख्याका हिसाबले चोङकिङ विश्वकै सबैभन्दा ठूलो र गतिशील सहर हो । पश्चिम चीनको यो सहरको जनसङ्ख्या तीन करोड छ लाख छभने आर्थिक हिसाबले पनि यो सहर महत्त्वपूर्ण रहेको छ । भेटवार्तामा चिनियाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागका सदस्यहरू र चोङकिङ सहरका अन्य वरिष्ठ अधिकारीको सहभागिता रहेको थियो । यसअघि बिहीबार नै माओवादी केन्द्रको प्रतिनिधिमण्डलले चोङकिङ कृषि प्रविधि पार्कको भ्रमण गरेको छ । उच्चस्तरीय वैज्ञानिक प्रविधियुक्त सो कृषि पार्कसँग भरतपुर महानगरपालिकाले साझेदारीमार्फत काम गरिरहेको छ । उक्त आधुनिक कृषि अनुसन्धान केन्द्रमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत भ्रमण गर्नुभएको थियो ।
म्याग्दी: कालीगण्डकी, म्याग्दी, राहुघाट र निलगिरि खोलामा १२ जलविद्युत् आयोजना निर्माणाधीन छन् । यी आयोजना निर्माण सकिएपछि राष्ट्रिय प्रसारण लाइनमा ४५६ दशमलव ५ मेगावाट विद्युत् थपिने छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाबाट पछिल्लो पाँच वर्षमा चारवटा आयोजनाले १११ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा पठाएका छन् । निर्माणाधीन आयोजनामध्ये केही यसै आर्थिक वर्ष र केही आउँदो वर्ष केन्द्रीय प्रसारण लाइनमा जोडिँदै छन् । केही आयोजनाले भने पहुँचमार्ग निर्माण गरी टनेल खन्ने तयारी गरेका छन् । त्यस्तै ४० दशमलव ७ मेगावाट क्षमताको निलगिरि पहिलो, ३७ दशमलव ५ मेगावाटको मङ्गले राहुघाट र छ मेगावाट क्षमताको रेलेखोला आयोजना अन्तिम चरणमा छन् । अन्नपूर्ण गाउँपालिकामा निर्माण भएका ७१ मेगावाटको निलगिरि दोस्रो, ४२ मेगावाटको मिस्त्रीखोला, १४ मेगावाटको घारखोला र पाँच मेगावाटको घलेम्दीखोला जलविद्युत् आयोजनाको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिइसकेको छ । अन्नपूर्ण गाउँपालिकामा ६६ दशमलव ५ मेगावाटको मध्यकालीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । कुल रु ३९ अर्ब ५० करोड २४ लाख लागत अनुमान गरिएको १८० मेगावाटको कालीगण्डकी जलविद्युत् आयोजनाले वित्तीय स्रोत व्यवस्थापन गरेर निर्माणको तयारी गरेको छ । रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना, ४८ दशमलव ५ मेगावाटको माथिल्लो राहुघाट, २१ दशमलव ३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजना र सबैभन्दा माथि २२ दशमलव ५ मेगावाट क्षमताको ठूलोखोला माथिल्लो ‘ए’ जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन् । यी सबै आयोजनाले एक वर्षभित्र विद्युत् उत्पादन सुरु गर्ने रघुगङ्गाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । उहाँका अनुसार ३७ दशमलव ५ मेगावाटको मङ्गले राहुघाटले परीक्षण उत्पादनको तयारी गरेको छ । म्याग्दीखोला जलाधार क्षेत्रमा रहेका २५ मेगावाटको दरबाङ म्याग्दीखोला आयोजना, ५३ मेगावाटको अपर म्याग्दी–१ र ३७ मेगावाटको अपर म्याग्दीले धमाधम टनेल निर्माण गरिरहेका छन् भने ५७ मेगावाटको म्याग्दीखोला जलविद्युत् आयोजनाले पहुँचमार्ग निर्माण गरिरहेका धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । म्याग्दीको उत्तरी भेगमा बेनीबाट मुस्ताङ सीमावर्ती घाँसासम्मको ३७ किमी खण्डमा बग्ने कालीगण्डकी नदीमा १८० मेगावाटको कालीगण्डकी गर्ज, ६६ दशमलव ५ मेगावाटको मध्यकालीगण्डकी, ५८ मेगावाटको तिप्ल्याङ कालीगण्डकी, ६५ मेगावाटको अपरकालीगण्डकी तथा ५० दशमलव ५३ मेगावाटको बेनी कालीगण्डकी गरी करिब ३८८ मेगावाट क्षमताका आयोजना विद्युत् विकास विभागसँग खरिद सम्झौता गरी निर्माण प्रक्रियामा छन् । बेनी कालीगण्डकीको ‘एलाइमेन्ट’मा म्याग्दी सदरमुकाम बेनीको अवरोध रहेकाले प्रक्रिया रोकिएको छ । म्याग्दीमा निर्माण भएका र निर्माणाधीन जलविद्युत् आयोजनाको केन्द्रीय ग्रिडमा जोड्नका लागि २२० केभी क्षमताको कालीगण्डकी करिडोर दाना–खुर्कोट प्रसारण लाइन र सबस्टेशन निर्माण भइसकेको छ । एक सय ३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइन र सबस्टेशन निर्माणाधीन छ । सबस्टेशन र प्रसारण लाइन निर्माणसँगै जलविद्युत् आयोजनाले गति लिन थालेका गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताउनुभयो ।
मनाङ: टिपरको ठक्करबाट चाइनिज कामदारको मृत्यु भएको छ । मनाङको चामे गाउँपालिका–३ क्युपारमा निर्माणाधीन मनाङ–मस्र्याङ्दी जलविद्युत् आयोजनाका कामदार यु युन योङ्गको मृत्यु भएको हो । मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनाको (ब्यूरो सात) कम्पाउन्डभित्र काम गरिरहेको अवस्थामा १० नम्बरवाला चाइनिज टिपर ब्याक गर्ने क्रममा ५३ वर्षीय योङ्गको टाउको ठोक्किएर चोट लागेको र घाइते भएका उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार गम्भीर घाइते भएका योङ्गको उपचारका क्रममा मृत्यु भएको हो । उहाँले भन्नुभयो, “योङ्गको प्रदेश अस्पताल चामेमा उपचारका क्रममा ७ः३५ बजे मृत्यु भएको छ । योङ्गको शव अस्पतालमा नै रहेको छ ।” टिपरचालक दार्चुला शैलेशिखर नगरपालिका–१ बारिलका ४३ वर्षीय दशरथ खडायत प्रहरीको नियन्त्रणमा रहेका छन् । टिपरको कागजात प्राप्त नभएको र साङ्केतिक नम्बर मात्र रहेको पाइएको प्रहरीले जनाएको छ ।
काठमाडौं: सङ्घीय संसद्, प्रतिनिधिसभाले रुपन्देही निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य दीपक बोहराको यही चैत १९ गते निधन भएपछि उक्त पद रिक्त रहेको जानकारी गराएको छ । सङ्घीय संसद् सचिवालयले नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त हुन आएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१५ को उपनियम (२) बमोजिम आज सूचना प्रकाशन गरी उक्त पद रिक्त रहेको जानकारी गराएको हो । विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट रुपन्देही जिल्ला क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बोहराको यही चैत १९ गते मङ्गलबार निधन भएको थियो ।
खोटाङ: चट्याङ लागेर दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीका दुई महिला गम्भीर घाइते भएका छन् । बिहीबार वर्षासँगै परेको चट्याङका कारण छितापोखरीका कृष्णमाया खड्का र देविका भुजेल गम्भीर घाइते हुनुभएको हो । छितापोखरीकी कृष्णमायाको घरमाथि र देविकाको केही मुनि पर्छ । कृष्णमाया घरभित्र भान्छाको काम गरिरहेको बेला चट्याङ परेको जनाइएको छ । चट्याङको असरका कारण कृष्णमाया बेहोस बन्नुभएको आफन्तले बताएका छन् । स्थानीयका अनुसार चट्याङ परेको बेला कृष्णमायाको घरभित्र आगोको ज्वाला पसेजस्तो देखिएको थियो । चट्याङ परेको केही समयपछि घरभित्र गएर हेर्दा कृष्णमायालाई बेहोस अवस्थामा भेटिएको बताइएको छ । देविकाको भने अत्तालिएर ठोक्किन पुग्दा टाउकोमा गहिरो चोट लागेको दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रवक्ता भूपेन्द्र बस्नेतले जानकारी दिनुभयो । चट्याङका कारण घाइते बनेका दुवै महिलोको वडा नं २ डाँडागाउँस्थित आधारभूत अस्पताल ओख्रेमा उपचार भइरहेको छ । देविकाको टाउकोमा पाँच टाँका लगाइएको छ । उनीहरू दुवै जनालाई गाउँपालिका प्रमुख लोकेन्द्र राईले गाडीमा राखेर आधारभूत अस्पताल पुर्याउनुभएको प्रवक्ता बस्नेतले बताउनुभयो । यसैबीच, खोटाङमा करिब सात महिनापछि वर्षा हुँदा किसानलाई राहत मिलेको छ । गत असोजपछि वर्षा नभएको जिल्लामा पहिलोपटक बिहीबार वर्षा भएको हो । लामो समयपछि वर्षा भएसँगै हिउँदे बाली लगाएका किसान खुसी भएका छन् । करिब छ घण्टा लामो वर्षा भएपछि किसान वर्षेबालीका लागि खेतबारी खनजोत गर्ने तथा बाली लगाउने तयारीमा जुटेका छन् ।